कवि तथा कथाकार दिनमान गुर्मछान दिगुसँग साहित्यिक भलाकुसारी

- पेशल आचार्य

१) अहिलेका आफ्ना छोराछोरीको बाल्यकाल र आफ्नो बाल्यकालमा केही समानता वा असमानता छन् कि बताइदिनुहोस् न ?
बाल्यकाल भनेको सबैको लागि रमाइलो क्षणको एक सुन्दर लीला हो । आ–आफ्नो तरिकाले रमाउने हो । रमाउनका लागि इच्छा सबैमा हुन्छ । अहिलेकाहरू नयाँ प्रविधिमा भिजिसकेका छन् । हाम्रो पालामा प्रविधिको उति साह्रो बिगबिगी थिएन । मेरो छोरोले अहिले मोबाइल र कप्युटरमा काम र मनोरञ्जन लिन्छ । त्यो हाम्रो पालामा काहाँ हुनु । समानता भनेको रमाउने इच्छा हुनु हो ।

२) यहाँनेर आइपुग्न केकति मेहनत गर्नुभयो त यहाँले ?
मेहनत मान्छेले जुनसुकै काममा गरेकै हुन्छ । गर्नु पनि पर्छ । अब यहाँको जिज्ञाशा भनेको साहित्य र जीवनसँग सम्बन्धित हो कि भन्ने मलाई लागेको छ । जसका लागि मान्छेले गर्न सक्ने मेहनत गर्ने गरेकै पाइन्छ । मेरो हकमा जीवन बाँच्नकालागि परिवारबाटै मेहनत गर्न सिकी आएको हुँ र गरेकै हुँ । साहित्यमा चाहिँ अनवरत लागि परेकोछु । वास्तवमा साधना, लगन र अथक प्रयास गरेको छु । तर जति गरिनु पर्ने हो त्यो भएको चाहिँ म आफैँलाई लाग्दैन । कोशिस जारी छ ।

३) जीवनलाई बुझ्दै हुनुहुन्छ ? वा बुझिसक्नुभयो ?
जीवनको बुझाई निरन्तर चलिरहने एक प्रक्रिया हो । मलाई लाग्छ मैले जीवनलाई सम्पूर्ण रूपमा बुझिसकेको चाहिँ पक्कै छैन र मान्छे जीवनलाई सजिलै सम्पूर्ण रूपमा बुझ्न पनि सक्दैनन् ।

४) के रहेछ त वास्तवमा जिन्दगी भनेको ?
जिन्दगी भोग्दैजाँदा यो रहस्यमयी लागेको छ । हुन त जिन्दगी घामपानी जस्तै हो भन्छन् । भए पनि सधै घामपानी भैदिदैन । कहिले त चमत्कारै भैजान्छ । मलाई लाग्छ जिन्दगी भोगाइहरूको रहस्यमयी जालो हो जहाँबाट फुत्किन वा उम्कन जान्नुपर्छ ।

५) यहाँका प्रकाशित कृतिहरू कति छन् ? तपाईं अझै कुनकुन विधाका कति कृतिहरू लेख्ने र प्रकाशन गर्ने योजनामा हुनुहुन्छ ?
प्रकाशित कृतिको चाङ मसँग छैन । एक गजलसङ्ग्रह प्रकाशन पछि बालकथा सङ्ग्रह प्रकाशनको लिष्टमा छ । जुन शीघ्र प्रकाशन हुँदैछ । कथासङ्ग्रहको पाण्डुलिपि प्रकाशनको लागि बोकेर हिँडिरहेको छु । एक वर्षभित्र प्रकाशन गर्नेछु ।

६) तपाईंलाई आफ्नो मौलिक कृतिहरू निकालेपछि कस्तो अनुभूति हुनेगर्छ ?
आफ्नो कृति निकालेपछि जोकोही पनि खुशी हुन्छन् नै । खुशी बाँड्न पाउँदा झन् रमाइलो अनुभूति हुन्छ ।

७) जीवनबाट कतिको सन्तुष्ट हुनुहुन्छ ? सन्तुष्ट हुने कारणहरू बताइदिनुहोस् न ।
जीवनबाट सन्तुष्ट छु । मानिसले जीवनबाट सन्तुष्टी हुन सिक्नुपर्छ । सन्तुष्टी नै सफलताको मार्ग पनि हो ।

८) जे भए पनि या नभए पनि मोफसलीय साहित्यिक गतिविधिलाई कसरी मूल्याङ्कन गर्नु भएको छ ?
साहित्यिक व्यक्तित्वहरू सबै जन्मस्थानले राजधानी बाहिरका नै धेरै छन् । राजधानी बाहिर पनि साहित्यिक गतिविधि हुने गरेका छन् । अझ भन्ने हो भने बाहिरका साहित्यिक कार्यक्रम लक्षपूर्ण हुन्छन् । राजधानीमा व्यक्ति प्रचारात्मक हुन्छन् । मोफसल भन्ने हुदैन भन्दाभन्दै पनि राजधानीले राजधानी बाहिरलाई मोफसल बनाउन जानेको छ तर पनि गतिविधि मोफसलमै जति कम भए पनि पूर्णरूपमा अर्थपूर्ण हुने गरेको पाइएको छ ।

९) साहित्यमा यौनको उपस्थिति कत्तिको आवश्यक ठान्नुहुन्छ ? सार्थक या निरर्थक ?
साहित्य समाजदेखि परको होइन । समाजमा जीवनसँग यौनले सम्बन्ध राख्छ भने यौन किन परको होस् ? समाजमै रहेको विषयबस्तु साहित्यमा उतारिन्छ भने यौन पनि यही समाजको हो । त्यसैले साहित्यमा यौनको उपस्थिति सार्थकनै लाग्छ तर यौनलाई कुन ढङ्गमा कत्तिको प्रस्तुत गर्ने त्यसको सीमा भने अवश्य ख्याल गर्नुपर्ने कुरा हो । जथाभावी रूपमा अश्लील नै बनाउने किसिमले चाहिँ पाच्य हुँदैन ।

१०) सम्वत् २०४६ अगाडिका साहित्यिक कृतिहरू र समकालीन साहित्यिक कृतिहरूमा गुणवत्ता र प्रभावकारिताका हिसाबले कत्तिको फरक पाउनुभएको छ त ? उल्लेख नै गर्नु पर्दाका अवस्थामा कस्तो अवस्था छ ?
साहित्य समयसँगै चल्दो रहेछ । ४६ साल अघिको खुम्चनुपर्ने अवस्थामा समाजसँग सरोकार राख्नेखालका कृति र समाजलाई जागरूक गर्नका लागि लेखिएको थियो भने अहिलेका कृति बदलिदो समय र समाजको नवीन शैलीलाई पछ्याइरहेका हुन्छन् । कृतिको गुणवत्ता र प्रभावकारिता आआफ्नो हिसाबले भएको हुन्छ तर प्रयोगको नाममा टाउँकोमा लगाउने टोपी घुँडामा लगाएर हुँदैन । अहिलेको साहित्य लेखन नै कतै यस्तै हो कि जस्तो लागेको छ ।

११) तपाईंलाई वर्तमान समयमा निस्केका आख्यान÷अनाख्यान कृतिहरूमध्ये कसकसका कुनकुन कृतिहरू कुन हदसम्म मन पर्छन् ? नामै किटेर भन्नु पर्दा केके हुन् ?
वर्तमान समयमा निस्केका आख्यान प्रायःजसो मनपरेका छन् तर नामै भन्नुपर्दा लामो लिष्ट हुन जान्छ । जस्तै–उपन्यासमा सेतो धरती, प्रेतकल्प, कर्णाली ब्लुज, दमिनी भीर, लू, उलार, सकस, उर्गेनको घोडा, राधा आदि । कथामा तान्या ईन्द्रकमल र अन्धकार, मृत्युमेला, फोसिल, ज्याक्सन हाइट, अफ्रिकन अमिगो, तेस्रो किनारा, झोला, सर्वज्ञ र सेक्स, मनु ब्राजाकीका सबै कथासङ्ग्रहहरू । निबन्धमा आफ्नै आँखाको लयमा, रोमको एउटा फूल र प्यारिसको एउटा काँडा, चौबिस रील, चम्पारन ब्जूज, धोबीघाट एक्सप्रेस.....।.

१२) यतिका मान्छे साहित्य लेख्छन् ? तपाईंले नै परिश्रमपूर्वक साहित्य किन लेख्नु प¥यो होला ?
गजबको प्रश्न । वास्तवमा हामी नै किन लेख्नु ? यो गम्भीर प्रश्न हो तर यसको सतही जवाफ आउछ । मेरो पनि त्यही हो । मैले भोगेको र जानेबुझेको समाजको चित्रण गर्न खोज्नुनै मेरो साहित्य प्रतिको लगाव हो । केही गर्न सक्छु र पृथकता दिनसक्छु कि भनेरै लेख्नुपरेको हो ।

१३) उत्तरआधुनिकता भनेको के हो ? तपाईंका विचारमा नेपालमा यसको प्रयोग केकसरी भैरहेको छ ? किन साहित्यकारहरू यो वाद या विचारमा कित्ताकाट गरेर बाँडिएका होलान् ?
(आदरणीय पाठकवृन्द ! यो प्रश्नको जवाफ दिनमानजीले किन दिनु भएन त्यसमा केही थाहा भएन ।)

१४) अब जीवनको धोको के रहेको छ ?
जीवनमा धोको कहिल्यै सकिदंैन । लेखेरै बस्ने प्रमुख धोको छ । बाँकी सबै निरन्तर हुनेछ ।

१५) स्वमूल्याङ्कनका आधारमा तपाईं सफल कि असल मानिस हो ?
अहिलेनै स्वमूल्याङ्कन गर्ने हो भने कुन पक्षमा हेर्ने भन्ने हुन्छ । परिवारका लागि सफल भएको छु, समाजमा सफलताका लागि अघि बढिरहेकोछु । लेखनमा भन्ने हो भने असफल नै मान्छु ।

१६) विदेशी भूमिबाट अहिले विभिन्न मानिसहरुले लेखिरहेका साहित्यलाई तपाईंको विचारबाट कसरी मूल्याङ्कन गर्नु भएको छ ? विस्तृत रूपमा बताइदिनुहोस् न ?
नेपाली साहित्यलाई सेवा गर्न जुनसुकै भूमिमा बसेर लेखिए पनि त्यसले नेपाली साहित्यलाई टेवा पुग्ने हो । त्यसैले बाहिर पसिना बगाउनु नेपालीको बाध्यता भएपनि लेखिरहेको यो अवस्थालाई राम्रै मान्नु पर्छ । जहाँ बसेर लेखे पनि राम्रो सिर्जना आउनु पर्छ ।

१७) नेपालका साहित्यिक गुट उपगुटहरूलाई तपाईं कुन रूपमा लिनुहुन्छ ? कसरी ?
साहित्यमा गुट उपगुट हुनुले कुनै नराम्रो संकेत गर्दैन । यो त एउटा समुह मात्र हो । तर गुट र उपगुटमा साहित्य सम्बन्धी पूर्वाग्रही भएर टीकाटिप्पणी गरिनु र अर्काे समुहमाथि आरोप लगाउनुजस्ता प्रवृत्तिचाहिँ साह्रै नै नराम्रो हो । हुन त यहाँ मात्रै होइन संसारभर यस्तै चलेको चलन छ ।

१८) कागजका खोस्टामा सिमित रहेका तथाकथित साहित्यिक संस्थाहरू र पुरस्कार लेनदेनमा गनाएका त्यस्ता संस्थाहरूले एउटा ऊर्जाशील लेखकलाई साहित्य लेख्नका लागि के भरथेग गर्न सक्ने स्थिति छ नेपालमा अहिले ?
साहित्यजस्तो पवित्र क्षेत्रलाई केही यस्ता संस्थाहरुले लेनदेनको चक्र चलाएर नाम बदनाम गरेको पाइन्छ तर सबैलाई एउटै तराजुमा जोख्नु पनि हँुदैन । एउटा लेखकको काम लेख्ने हो । यसो भएको हुँदा त्यस्ता संस्थाहरूले गरेको गलत व्यवहार वा प्रचारले एउटा राम्रो लेखकलाई कुनै असर पार्दैन । हुन सक्छ, हल्लाको बजारमा केही दिन नभेटिन सक्छ तर राम्रो लेख्नेलाई पाठकले अवश्य चिन्छन् । पाठकको पठनले ऊर्जा दिने हो ।

१९) प्रकाशन गृहहरूको अहिलेको नेपाली पुस्तक व्यवसायमा भएको आक्रामक उपस्थितिले साहित्य लेखनका लागि लेखकलाई र पठनका लागि पाठकलाई कस्तो दिशानिर्देश गर्दै कतातिर लैजाँदै छन् जस्तो लाग्छ तपाईंलाई ?
प्रकाशनको क्रम बढेको देख्दा खुशी लाग्छ । प्रकाशन र पठनको विस्तारले साहित्यिक क्षेत्रलाई नै टेवा पुग्ने हो तर अहिले चलेको बजार भनेको फ्यान्टासीको छ । किताब बिकाउन प्रकाशकहरू पनि पुस्तकमा फ्यान्टासीलाई जोड दिन्छन् । यसले पाठक ताने पनि भविष्यमा साहित्य भनेकै यही हो । यस्तै हो भनिन के बेर ?

२०) अन्त्यमा, नयाँ लेखकहरूलाई के सल्लाह दिन चाहनुहुन्छ ?
अन्त्यमा, साहित्यलाई माया गरौं भन्छु । म आफैँ त नयाँ छु । के भनौं ? खै !

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 20 माघ, 2070

लेखकका अन्य रचनाहरु