सङ्कटमा कथा

- राजेन्द्र पराजुली

कुनै बेला कथाको परिभाषा सङ्कुचित थियो । यसलाई प्रेमप्रसङ्ग, वीरता वा साहसिकता, नैतिक शिक्षा दिन प्रयोग गरिन्थ्यो । नायक-नायिका तिलस्मी चरित्रयुक्त हुन्थे । भूतप्रेतका सन्दर्भ पनि कथामा जोडिन्थ्यो । कथा सुन्दा कौतूहल, विस्मय, उल्लासजस्ता कुरा पैदा हुने भएकाले साना उमेरका मान्छे यसप्रति आकषिर्त हुन्थे । त्यसबेलासम्म कथा सबैका निम्ति पि्रय वस्तु थियो । कुनै बेला त कथावाचन गर्नु एउटा पेशाकै रूपमा स्थापित भएको इतिहास पनि छ । तर समयक्रमसँगै कथाले जब लेख्य विधाका रूपमा फड्को मार्न थाल्यो यसका रूप पनि फेरिन थाले । लेख्य रूपमा यसले प्रवेश गरेको केही समयसम्म पनि उल्लिखित तत्त्व कथामा निहित थियो । कथा कुनै लगाम चुँडालेर हिँडेको विधा होइन । कथा लेख्नुको एउटा कुनै उद्देश्य हुन्छ । कथाकारले कुनै कथा बिनाउद्देश्य लेख्दैन । र कथामा कथानक, कौतूहल, चरित्र, क्रियाकलाप, घटना, सङ्घर्ष, परिवेश, चरमोत्कर्षलगायतका उपकरणको प्रयोग भएको हुन्छ । कुशल कथाकारले कथामा आफ्नो निजी अवधारणा लादेर सोही उद्देश्य पूर्ति गर्नतिर कहिल्यै पनि लाग्दैन ।

बिस्तारै नेपाली कथाले पनि आधुनिक दुनियाँमा प्रवेश गर्न थाल्यो । खुला आकाशमा विचरण गर्न थाल्यो । नेपाली कथाले आफ्नो बन्धन चुँडालेको पनि अबको एक दशकमा शताब्दी पुग्नेछ । कुनै बेला पाठकको पहिलो रोजाइ बन्न सक्षम कथा यतिखेर भने सङ्कट झेलिरहेको छ । कथासङ्ग्रह किन्ने पाठकहरूको उत्सुकता क्षीण हुँदै गएको छ ।

हामीसँग कथालेखनको विशिष्ट परम्परा छ । गुरुप्रसाद मैनाली, पुष्कर शमशेर, विश्वेश्वरप्रसाद कोइराला, पारिजात, भवानी भिक्षु, दौलतविक्रम विष्ट, गोविन्दबहादुर मल्ल गोठाले हुँदै रमेश विकल, परशु प्रधान, धु्रवचन्द्र गौतम, भाउपन्थी, धु्रव सापकोटा, मनु ब्राजाकीका साथै पछिल्लो पुस्तामा महेशविक्रम शाह, नयनराज पाण्डेजस्ता सशक्त कथाकारले यसलाई उचाइमा टेकाइरहेका छन् । नयाँ पुस्ताको प्रवेश पनि आशालाग्दो छ । मणि लोहनी, अभय श्रेष्ठ, आन्बिका गिरि, मनीषा गौचनहरूले समर्पित ढङ्गमा कथामै लाग्ने लक्षण देखाइरहेका छन् । एकातिर सङ्ख्यात्मक हिसाबले यो विधामा समर्पित लेखक कम देखिन्छ भने अर्कोतिर कथाका पाठकहरूको बढोत्तरी पनि हुन नसकेको अवस्था छ ।

कथा पाठकको पि्रय किन हुन सकेन ?

अहिलेका पाठक निकै सचेत छन् । तिनले छनोटको प्रशस्त सुविधा पाएका छन्, त्यसैले रचनामा सामान्य खोट पाएमात्र भने पनि लेखकको उछित्तो काढ्न पछि पर्दैनन् । यसले लेखकलाई सचेत बनाएको छ । पछिल्लो समय उपन्यास तथा आत्मकथाको बजार हेर्दा पठनसंस्कृतिको मनग्गे विकास भएको देखिन्छ । तर कथाको हालत किन यस्तो ? बुढो प्रकाशन गृह साझा प्रकाशन तथा सरकारी संस्था नेपाल प्रज्ञा-प्रतिष्ठानले छापेका कथासङ्ग्रह हजार प्रति बिक्नु ठूलै आश्चर्य हो । यी संस्थाले वर्षौंअघि छापेका कपितय लोकपि्रय कथाकारका कथासङ्ग्रह अहिले पनि तिनका स्टोरहरूमा ढुसी लागेर बसेका भेटिन्छन् । बग्रेल्ती खुलेका निजी प्रकाशन गृह पनि कथासङ्ग्रह छाप्न त्यतिविधि उत्सुक हुँदैनन् । र, कतिपय पत्रिकाहरू कथासङ्ग्रहको समीक्षा गर्न आवश्यक ठान्दैनन् । कुनै पनि कथासङ्ग्रहमा प्रायः पूर्वप्रकाशित कथा नै राखिन्छ । यो विश्वव्यापी प्रचलन हो । पहिला विभिन्न पत्रपत्रिकामा प्रकाशित भइसकेका कथालाई सङ्कलन गरेर नै एउटा सिङ्गो कथासङ्ग्रह तयार पारिन्छ । तर पाठकहरूले भने 'पहिला पत्रपत्रिकामा पढिसकेको, पुरानो कथा' भनेर पन्छाइदिने गरेका छन् । पाठकहरूको जस्तै धारणाका कारण प्रकाशकले पनि कथासङ्ग्रह छाप्न उत्सुकता देखाउँदैनन् ।

लामो कथा

केही समयदेखि नेपालमा पनि लामो कथा लेखनमा कथाकारहरू आकषिर्त हुन थालेका छन् । लामा कथा -करिब ४०-५० पृष्ठका) आवधिक पत्रिकाहरुले छाप्न सक्दैनन् । त्यसैले त्यस्ता कथासङ्ग्रहमा आउँदा नयाँ नै हुन्छन् । र, पाठकलाई ताजा लाग्छन्, रुचिकर लाग्छन् । यसले प्रश्न उठाएको छ, के अब कथासङ्ग्रह प्रकाशित गर्नका लागि सबै नै नयाँ कथा आवश्यक हुन थालेको हो ? यसो गर्नु सम्भव छ ?

कथालाई अब सफिर्क्सन -अधिकथा) र मेटाफिक्सन -पराकथा) का आधारमा पनि हेर्न थालिएको छ । पाश्चात्य साहित्यको देन हो कथा । पाश्चात्य साहित्यको देन हुँदाहुँदै पनि हडसन तथा एड्गर एलेन पोका परिभाषाअनुरूप कथा अहिले लेखिदैन । तिनले यसको आकार लघु हुनुपर्ने -एकै बसाइमा पढिसकिने), एउटै मूल चरित्रमा केन्दि्रत हुनुपर्ने भनेका थिए । अब कथा एकै बसाइमा पढेर नसकिने पनि हुन थालिसकेको छ । कतिपय पाश्चात्य तथा भारतीय साहित्यमा त लामा कथाको परम्परा पुरानो भइसकेको छ । बिस्तारै नेपाली साहित्यमा पनि यसको प्रयोग सुरु भएको छ । कतै कथाले लामो रूप लिएपछि नै यसको बजार विस्तार हुने त हैन ! जेहोस् 'मिनिङफुल' नभई कथाको पाठक नबढ्नेचाहिँ पक्का छ । निश्चय नै यो समय कथाकारका निम्ति जटिल समय हो । यो बेलामा बढीभन्दा बढी कथा लेखिनु र कथामा जमिन, समय तथा देश, मान्छेका मनोविज्ञानको चित्रण हुनु जरुरी छ ।

एउटा लेखकको पि्रय 'तन्त्र' प्रजातन्त्र हो । तर दुर्भाग्य त्यही प्रजातन्त्र बहालीपश्चात् लेखकहरू कमजोर हुन थालेको अनुभूति गर्न थालिएको छ । नेपालमा कथाकारलाई वादको चश्मा लगाएर हेर्न थालेकैले यसको वाञ्छित विकास हुन सकेन । कथाकारमात्र होइन पाठकले पनि वाद र सिद्धान्तको सङ्कुचित घेरो त्यागेर धेरै अगाडि गइसक्नुपर्ने हो । तर त्यसो हुन सकेको छैन । केही समयदेखि कुनै पनि कथाकारका एउटा-दुइटा कथा पढेर उसको समग्र कथाकारितमाथि समीक्षा गर्ने प्रचलन पनि बढेको छ । र, सोही समीक्षाका आधारमा पाठकले कथाकारबारे धारणा बनाउने गरेको पाइन्छ । उपन्यासजस्तो एउटै कृतिबाट कुनै लेखकबारे धारणा बनाउन एउटा कथा पढेर सकिन्न । त्यसो गर्नु हानिकारक हुन सक्छ । एउटा विश्वास के गर्नु जरुरी छ भने, चरम निराशाको वर्तमान अवस्थामा पनि आशाको दियो जलाउन सक्ने सम्भावित कथाकारहरू यहीँ नै छन् । जमिन र जनजीवनलाई कथामा कलात्मक ढङ्गमा उतार्नसक्ने कथाकार पनि यहीं नै छन् । यो धीरताले नै समकालीन कथालेखनप्रति पाठकको आस्था मर्न दिएको छैन । नेपाली कथा आफ्नो समयको साक्ष्य बन्दै एउटा दस्तावेजका रूपमा प्रस्तुत हुने हैसियत राख्दछ ।

छोटा कथालाई नोबेल पुरस्कार

संसारभरका लेखक-पाठकको ध्यान तानिरहेको नोबेल पुरस्कारको घोषणा केही समयअघिमात्रै भएको छ । र, त्यो पुरस्कार पाएकी छन् क्यानडेली कथाकार एलिस मुनरोले । उनका अधिकांश कथा छोटा छन् । करिब हजार शब्दमै उनी आफूले कथामार्फत् प्रवाह गर्न खोजेको सन्देश चित्ताकर्षक ढङ्गले प्रस्तुत गर्छिन् । यसबाट पनि संसारभर छोटा कथाको लोकपि्रयता तथा पाठकको विश्वास चुलिएकै अवस्थामा रहेको स्पष्ट हुन्छ । नोबेल पुरस्कार घोषणा गर्दा उनलाई 'मास्टर अफ मोडर्न सर्ट स्टोरी' ले विभूषित गरिएको छ । मुनरोले आफ्ना अधिकांश कथामा मान्छेको जटिलतालाई मुख्य विषय बनाएकी छन् । उनका कथाका पात्र तिनै हुन् जो उनकै वरिपरि छरिएका छन् । ती पात्र जीवनको जटिलतम अवस्थाबाट गुजि्ररहेका छन् । तिनको मनोविज्ञानलाई सूक्ष्म तरिकाले कथामा उतार्नु उनको वैशिष्ट्य हो ।

रुसी महान् कथाकार एन्टोन चेखभका कथाहरूको सम्झना हुन्छ मुनरो पढिरहँदा । सायद त्यसैले मुनरोलाई क्यानडेली पाठक तथा समीक्षकहरू 'आवर चेखभ' भन्छन् । उनी कथामा पुरुष पात्रभन्दा नारी पात्रले बढी जटिलता भोगिरहेको देखाउँछिन् । जुन हाम्रो परिवेशसँग पनि ठ्याक्कै मेल खान्छ । उनका कथाले एक्ली नारी तथा मान्छेको बुढेसकालको मनोविज्ञानलाई विशेष जोड दिएको पाइन्छ । हामीले पनि कथामा मान्छेका जटिलता, कष्टकर जीवन, असन्तोष तथा मान्छेको मनोविज्ञानका साथै सङ्क्रणकालीन अवस्थालाई केलाउन बढीभन्दा बढी मेहनत गर्ने हो भने यसका पाठक कसो नबढ्लान् !
आज्ञापालक कमरेड आँखा खोल्छ (कविता)
अभय श्रेष्ठ

सोह्र्र वर्षपछि
मेरा आँखामा फर्किएको छ त्यो ज्वाला
जसको रापले कुनै दिन
डढेको थियो कालो संविधानको पुस्तक

सोह्र्र वर्षपछि फेरि
युद्धबन्दी छ दिमागको किल्ला
काटिएका छन् हातका औँलाहरू
गायब छ केशमा शिरको सौन्दर्य

बिउँँझिएर उठेका छन्
मृत संविधानका अक्षरहरू
र, टाँसिदै छन् नयाँ संविधानका अक्षरमाथि
जसरी अखबारको पेस्टरले
पुरानै नक्सामा टाँस्छ नयाँ तस्बिर

सुन्दर मुलायम बगैँचामा
सुँगुरहरूले गरिदिएका छन् सर्वत्र फोहोर
तमसुकमा तहबिलदारले जाली अंक थपेजस्तै
शमशेर गणका मौसमी प्रेतहरूले
लेखिदिएका छन् त्यसमाथि– प्रजातन्त्र

भर्खरै प्रेमको नतिजामा
असफल युवतीजस्तै थकित समयको यो मोडमा
सोह्र्र वर्षपछि
बारम्बार म आफैँसँग सोधिरहेछु–
लुटाहा र सामन्तमा
कसले बढी चुसिरहेछ देशलाई?
सुँगुर र शासकमा
को बढी फोहोरी छ देशमा?
सरकार र हत्यारामा
कसले बढी घाउ दिइरहेछ देशलाई?

सोह्र्र वर्षपछि म सोच्दै छु–
प्रेमका नाममा बेइमानी नगरेसम्म
दुष्ट प्रेमिकालाई त्यागेर
सहृदय वेश्यासँग
सम्बन्ध गाँस्न म स्वतन्त्र छु
स्वतन्त्र छु, मेरो ब्रह्मसँगै स्वतन्त्र विचरण गर्न
र, राज्यको अनुहारमा फर्किएको
जंगली आँखाविरुद्ध आँखा लडाउन

सोह्र्र वर्षपछि
कमरेड शासकका आँखाबाट
एकाएक गायब छ निद्रा
ठुटे लोकतन्त्रवादीका आँखामा
हाँस्दै छ कौटिल्य

कमरेड शासकलाई थाहा छ
ठुटे क्रान्तिकारी
र, प्रतिक्रियावादीलाई पनि थाहा छ
गणतन्त्रको जग, डाँठ र जटामा
छ मेरै रगत
यो इँटा, यो छड, यो कंक्रिट
गरिब वृद्धको धर्सा परेको निधारजस्ता
बुट्टेदार यी आधुनिक झ्यालढोका
बनेका हुन् मेरै हाडमासुले

सोह्र्र वर्षपछि
यो छुवाछुतमुक्त गणतन्त्रमा
म कसरी उही अछुत कामी भएँ
जसले चुलो छोएको निहुँमा
फेरि ज्यान गुमाउनुपर्छ?
म कसरी उही चमारे सार्की भएँ
जसले फेरि सिनो उठाउनुपर्छ?
म कसरी उही डुमबहादुर दमार्इं भएँ
जसले फेरि तपाईंको बाजा बजाउनुपर्छ?
म कसरी उही गोरुमुखे गाइने भएँ
जसले फेरि तपाईंको कर्खा गाउनुपर्छ?
म कसरी उही बादी भएँ
जसले फेरि अपमानका सहस्र पाना पल्टाउनुपर्छ?
म कसरी उही पटमूर्ख कमैया भएँ
जसले फेरि तपाईंको सेवामा
आफैँलाई गुमाउनुपर्छ?

त्यो गाउँ,
जहाँ हेर्दाहेर्दै खरानी पारियो मेरो घर
चौपायासरह मारिए मेरा बाबुआमा
खुलमखुला
बलात्कृत भई बहिनी
जसलाई जिउँदै जलाइयो रूखको ठुटाजस्तै
तिनको एउटै दोष,
परिवारको एउटा जवान
अर्थात् म मित्र विश्वकर्मा थिएँ विद्रोही

स्वाभिमान, आत्मसम्मान, मुक्ति
र, न्याय
जसका लागि लडेको थिएँ म
बनेपछि गणतन्त्रको महल
सोह्र्र वर्षपछि एकाएक
म कसरी लुटिनमात्र
लायक भएँ आफ्नै मित्रहरूबाट?
आँखा जुधाउन हिम्मत गर्नुस्!
म कसरी तपाईंको
थोक व्यापारको सामग्रीमात्र भएँ, कमरेड?

सोह्र्र वर्षपछि मेरा आँखामा
फर्किएको छ त्यो ज्वाला
जसको रापले कुनै दिन
डढेको थियो कालो संविधानको पुस्तक।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 20 माघ, 2070

लेखकका अन्य रचनाहरु