तुहिएको आस्था

- गनिन्द्र "बिबश"

मोवाईलको स्क्रिनभरी ‘शुभयात्रा’ लेखिएको एसएमएस आउने क्रम रोकिएको छैन । विदाईको क्षण शुभेच्छुक मित्रहरुको सन्देशहरु थपिदै छ ।
श्यामे तीन बर्ष साउदी अरवमा बस्दा भोगेका तिता–मिठा भोगाईहरु बिर्सेर गाउँघरको सम्झनाले तानिदै थियो । दाह्री जुँगा फालेर चाउरिएको गालामा क्रिम दल्दादल्दै सम्झिएको थियो, आहा ! त्यो मंसीर पुषको कठ्याग्रिदो जाडो अनि मेरी कालेकी आमा ।’
घुंग्रिएको कपालमा जेल घस्दाघस्दै कम्पनीको गाडी आईपुग्यो । झोला गुन्टाहरु चढाएर एयरपोर्ट लाग्यो श्यामे । बोर्डिङ्ग पास लिएर सामान बुझाएपछि उ नेपाल रमनाका लागि उड्यो ।
रत्नपार्क क्षेत्रको विशाल जुलुस, भिड, ब्यानर, तुल, झण्डा ईत्यादी देखेपछि भने श्यामेलाई नेपाल आईपुगेछु भने पक्का भयो । र, खुशीहुदै नियालेर चारैतिर हे¥यो । उफ अझै उस्तै खोई त परिवर्तन ? मुख बिगार्दै मन कुडायो । काठमण्डौ उत्रिएकै साँझ उ घर पुग्ने सुरमा बाटो लाग्यो, बस चढेर । मध्यराततिर हर्षको फोहरा छर्दै श्याम घर पुग्यो । उसको आगमनमा स–परिवार उठे । छोरा काले उसलाई हेरेर बिरानो मान्दै हजुर आमा सँग टाँसिएर बस्यो । स्वागतार्थ उभिएका सबैजनामाथि उसले एकपल्ट नजर डुलायो । कालेकी आमा नजरमा नपरेसी श्यामेले आमालाई सोध्यो, आमा खोई त कालेकी आमा ? देख्दिन नि ?
श्यामेको सोधाईले आमा झस्की । सोधी, हँ भेट भएन र ? तँलाई लिन भनेर हिडेकी थिई । तीन दिन भयो अरु पनि काम छ भन्थी उतै भुलियो कि ?
केही दिन अघिदेखि श्यामले फोन सम्पर्क गर्दा कम्प्युटरले कालेकी आमाको फोन स्विचअफ भएको संकेत दिएको थियो । त्यतिबेलै श्यामेको मन काँडाले घाचिदै थियो । तत्कालै एनटिसीको सीम फेरेर उसले नम्बर डायल गर्यो । लामो घण्टी पछि बल्ल फोन रिसिभ भयो ।
‘कालेकी आमा हो ? भनेको सुन्ने बित्तिकै स्पष्ट नसुनिएको ढोंग गर्दै हेल्लो...हेल्लो...गरी । उतीखेरै वयस्क मोटो पुरुष स्वर पनि सुनियो, ‘आच्छु छुछुछु सिरकबाट चिसो छि¥यो हौ, तिघ्रा लेऊ न यता । यो मध्यरातमा फोन गर्ने को हो हँ ?’
फोन काटियो । फेरी डायल गर्दा कम्प्युटरले स्विचअफको संकेत दियो । श्यामे आकासबाट खस्यो, स्वास्नी माथिको प्रेम र आस्था तुहिएको थाहा पाएर ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 13 माघ, 2070

लेखकका अन्य रचनाहरु