च्याट मेनिया

- पञ्च विस्मृत

लु खा त साला ...!
मोबाईल फोन तीन टुक्रा भएर बजारियो, सिमेन्टमाथि । गोलभेडा भएको चेहरा सम्हाल्ने असफल प्रयत्न गर्दै बटुल्न लाग्यो, आफैले बजारेको आफ्नो फोनका टुक्रा शहिद । विवेक मुक थियो शहिदको त्यो दुर्दशा देखेर । दुवैले हेराहेर गरे एक अर्कालाई । तर, रत्ती बोलेनन् ।
प्रवास ! परिवारको सम्झना र काँडे रातहरु । चटारो सधै कामको र कल्पना सुदूर भविष्यको । शहिद र विवेक जस्ता लाखौ प्रवासीहरुले झेल्ने यो एउटा साझा र दुर्दम नियती ।
–‘मुन्नीको कुरा गर्थे नि म ...।’
–‘अँ भन !’
–‘उ त मुन्नी नभएर मुन्नाभाई पो रहेछ ।’
–‘हाँसो थाम्दै सोध्छ विवेक त्यो कसरी ?’
–‘बुझिनस् लाटा ? केटीको नाम राखेर च्याटमा आउने त्यो त केटा पो रहेछ ।’
दुवै हाँस्छन गलललल ।
शहिदसँग च्याटिङ्का यस्ता अनेकन कथा छन । कम्प्युटरको ‘क’ नजान्ने शहिद आजकल ठुलै विशेषज्ञा नै बनेको छ । कसैको फोटोको कान काटेर सिङ जोड्नु प¥यो –शहिद । कसैको घाँटी काटेर शाहरुख खानको टाउको जोड्नु प¥यो –शहिद । कसैलाई च्याटरुम जोइन गर्न आएन –शहिद । आजकल त अझ च्याटरुपमा जान नयाँ नयाँ आइडी बनाउदै अनलाइनमै बाँढ्दै गरेको समेत देखिन्छ उ । जसरी धेरैले उसको नाम जान्दछन । उसलाई धेरैको नाम आउँछ । रानी, करिष्मा, प्रिती, काजल, प्रियङ्का आदि आदि ।
एकदिन मैले उसको अस्ति नै मात्र किनेको फोन चर्केको देखेर सोधे,– ‘यार, झारेछस नि यति राम्रो फोन ?’
दीर्घ श्वास तानेर बोल्यो शहिद,– ‘के गर्ने, कहिले फलाना ठाउँमा छु भन्छे त कहिले ढिस्काना ठाउँमा । कहिले फलाना साथीसँग घुम्न हिडेको भन्छे त कहिले विदेशतिर पो लाग्छु भन्छे । बोल्दाबोल्दै पछारिदिएँ ।’
–‘कसको कुरा हो ? रानी कि काजलको ?’
–‘कहाँको च्याट पार्टनरको कुरा यहाँ, घरकी लाइफ पार्टनरको कुरा भइरा ठाममा !’
एकछिन अवाक टोलाएँ, उसको रुन्चे अनुहारमाथि र हिडे च्याटरुमतिर ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 13 माघ, 2070

लेखकका अन्य रचनाहरु