पागल

- तुलसी राई विन्दु

च्याङ्वा है च्याङ्वा ! सुन सुन है च्याङ्वा !!
मैच्याङ्ग है मैच्याङ्ग ! डम्फुले आज के भन्छ ?
जाम कता जाम ? जाम कता जाम ?...
यही गीतमा त हो नि ऋतु र वसन्तले नाँचेर पुरस्कार पाएको, स्कुलको बार्षिक उत्सवमा । वान्समोरमा फुरुक्क हुदै वसन्तले ऋतुलाई हातमा तानेर मञ्चमा ल्याउँदा ‘छि तपाई त कस्तो हौ लाज पनि नभएको’ भनेर कर्के आँखाले हेर्दा वसन्तले आँखा झिम्काई दिए पछि ऋतुले कतिबेला गालामा प्याट्ट दिईन तर नरम हातले कुट्दा दुख्नुको सट्टा आनन्दको अनुभूतिले उनलाई कुनै अर्के संसारमा पुगे जस्तो लाग्यो । उनीहरुको घर पनि टाढा थिएन । एक खोल्सी वारीपारी भएकोले ऋतुले जुठेल्नुमा भाँडा माझ्दा, पखाल्दा झ्यालबाट वसन्तले हेरिरहेको हुन्थ्यो । तव आँखा जुधिदिदा ऋतुले शीरनत गरेर लजाउदा केसरासीले गुलाव फूल झै अनुहारलाई छेकिदिए पनि निलो फ्रकमा टिमिक्क परेको सर्ट भित्रबाट तिनको वैशालु अङ्ग–प्रत्याङ्गले वसन्तलाई चिहाईरहेको हुन्थ्यो । अनि त कता कता काउकुती लागेर आई कहाँ कहा हराएर पागल झै हुन्थ्यो ।
यसरी नै दिनहरु बित्दै गइरहेका थिए । वसन्त तल्लो जातको भए पनि केटीको बाबु जनवादी विचारक भएकाले कुनै बाधा अड्चन थिएन । त्यसकारण पनि वसन्त र ऋतुको सम्बन्ध प्रेममा झन गाढा गाढा बन्दै गईरहेको थियो ।
चुनाव आयो । वसन्त र ऋतुले कम्मर कसेर चुनाव प्रसार प्रचारमा लागि परे । ऋतुको बाबुले विजय हाँसिल गरेर मन्त्री बन्न सफल भयो । त्यसपछि एकदिन यस्तो आँधी बेहरी बटारिएर आयो र वसान्तीक मुना–पालुवालाई निमिट्यान्न पा¥यो । घोडाको आँखा छडीले छेके झै जनवादी नारा लिई जातिय विभेद बिरुद्धको भाषण कुर्लने बाबुले आफ्नै जात र स्तरको केटा खोजेर ऋतुलाई विवाह गरिदिए । त्यसदिन यता वसन्त जिग्रिङ्ग कपाल र च्यातिएको मैला लुगामा प्रायः शहर गल्लीतिर पागल बनी घुम्दैछ ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 6 माघ, 2070

लेखकका अन्य रचनाहरु