साहित्यकार विष्णु बहादुर सिंहसँग कुराकानी

- पेशल आचार्य

१. अहिलेका आफ्ना छोराछोरीको बाल्यकाल र आफ्नो बाल्यकालमा केही समानता वा असमानता छन् कि बताईदिनुहोस न ?
उत्तरः मेरो बाल्यकाल पूर्ण रुपले गाउँले वातावरणमा बित्यो । खान लाउन दूःख झेल्नु नपरेपनि विना चप्पल हिड्ने, सरसफाईमा त्यति ध्यान नपूर्याउने, पोषणतत्व युक्त खाना खाने वातावरण थिएन । जानेर वा नजानेर त्यहि वातावरणमै रमाउन हामी बाध्य थियौं । तर अहिले आफ्ना छोराहरु शहरी वातावरणमा हुर्किए । सरसफाईमा बढि ध्यान केन्द्रित गरियो । पढाई पनि सानै देखि वोर्डिङ स्कुलमा पढ्न पाए । हाम्रो पालामा उही सिल्पाटी उही मास्टरका छडी ,उही साँघुरो कक्षकोठा, उहि अवैज्ञानिक शिक्षकहरु बिच नै हाम्रो दैनिकी वित्थ्यो । त्यसैले धेरै समानता भन्दा पनि असमानताका बिच हाम्रो जीवन बित्यो भन्दा अत्युक्ती नहोला कि ?

२. यहाँनेर आईपुग्न के कति मेहनत गर्नुभयो त यहाँले ?
उत्तर ः अहिलेको अवस्थासम्म आईपुग्न मैले दुई किसिमले प्रस्तुत गनुपर्ने हुन्छ । एउटा मेरो पेशागत हिसाबले र अर्को साहित्यिक हिसावले । पढाईमा राम्रै गरेको कारणले उच्चशिक्षा पूुर्ण छात्रवृत्तिमा रुसमा पढ्ने अवसर मिल्यो । जागिरका हिसावले पनि त्यसवेला इन्जिनियरको कमीले तुरुन्तै जागिर पाईयो । अहिलेको जस्तो पापड बेल्नु परेन । त्यसैले पेशागत हिसावले मेहनत अनुसारको फल पाउँदै गएँ । पुर्ण सन्तुष्टि त कसैलाई पनि हुँदैन तै पनि सन्तुष्ट नै छु । साहित्यिक हिसाबले अलि बढि भाग्यमानी भएको महसुस गरेका छु । छोटो समयमा साहित्यिक ब्यक्तित्वको पगरी पाएको छु । सवै साथीहरुले मलाई यो उचाईसम्म पुर्याउन अत्यन्त हार्दिकतासाथ सहयोग गर्नु भएर नै होला । अर्को कुरा म पनि निरन्तर साहित्यिक यात्रामा पाईला चालिरहेको छु । त्यसैले पनि बढी सन्तुष्टी मानिरहेको छु । मान्छेले चाहे अनुसारको त कहिले पनि पाईदैन नि जति पाईएको छ, त्यसलाई ग्रहण गर्दै अझ बढि मेहनत गरे,बढी प्रतिफल पाईन्छ भन्ने मनोविज्ञानले मलाई सान्त्वना दिईरहेको छ । आफ्नो इच्छा भन्दा पनि पाठकलाई मन पर्ने साहित्यको श्रृजना गर्न मैले अहिले भन्दा पनि धेरै मेहनत गनु पर्छ । त्यो कुरा मेरो हृदयभित्र घुमिरहेको छ ।

३. जीवनलाई बुझ्दै हुनुहुन्छ ? वा बुझिसक्नुभयो ?
उत्तर ः जीवन अपरंपार छ । यो बुझ्न जति सजिलो छ त्यति नै कठिन पनि छ । मेरो विचारमा जीवन एउटा नाटक हो । मलाई नाटकमा कस्तो चरित्र निर्वाह गर्ने भुमिका मिल्छ त्यसलाई कलात्मक ढंगले रंगमंचमा दर्शकको मनमा पसेर केहि हलचल ल्याउन सकियो भने मात्र त्यो पात्र सफल हुन्छ । त्यहि हिसावले मैले जीवनलाई बुझ्नु पर्ने हुन्छ । मानव भएर यस धर्तिमा पर्दापण गरेपछि उस्का पनि केहि मुल्य र मान्यता हुन्छन, त्यसलाई अंगिकार गर्नुपर्ने हुन्छ । मृत्यू पश्चात धेरै नसंझिएपनि छि ! छि ! दुर ! दुर ! को पात्र बन्नु नपरोस ,त्यहि किसिमले मैले अहिलेको जीन्दगीलाई अगाडी बढाउनु पर्छ । त्यहि हो मैले बुझेको जीवन ।

४. के रहेछ त वास्तवमा जिन्दगी भनेको ?
उत्तर ः जीन्दगी भनेको त साँच्चिकै रंगमंच रहेछ । मेरो भुमिकाले कसैलाई राम्रो गर्न नसके पनि नराम्रो गर्न नपरोस यहि नै मैले बुझेको जिन्दगी हो । पूर्खाहरुको इतिहाँसमा मेरो नराम्रो दाग नलागोस ,अरु सरल जिन्दगी बितोस । खान लाउन अर्काको शरणमा जान नपरोस । औषधी मूलो समयमै गर्न पाइयोस । छोराहरुको सम्मान पाइयोस । जीवन सरल रेखा जस्तो होस । बक्ररेखाहरु थोरै होउन । जीन्दगीमा नकारात्मक सोंचहरु कहिल्यै नपलाउन । सकारात्मक भावनाका पातहरु कहिल्यै नझरुन । धेरै उतार चढाव पनि नहोस ।स्वस्थ्य भएर जिउन पाइयोस । बस यत्ति मात्र ।

५. कृतिहरु कति छन् ? तपाई अझै कुनकुन विधाका कृतिहरु लेख्ने र प्रकाशन गर्ने योजनामा हुनुहुन्छ?
उत्तरः अहिले सम्म विविध विधाका १९ वटा कृतिहरु प्रकाशित भईसकेको छ । केहि कृतिहरु संयुक्त रुपमा लेखि प्रकाशित भएका छन् भने धेरै जसो मेरो एकल लेखनका छन् । जीन्दगीमा सोंचे जस्तो केहि नभएपनि अव केहि नियात्राहरु , कोरियन शैलीमा लेखिने सिंजो कविता लेख्ने कार्य भईरहेका छन् । तीनीहरुलाई प्रकाशन गर्ने ,त्यस्तै नेपालीवाट अँग्रेजी र रसियन भाषमा मेरा कविताहरुलाई अनुवाद गराई एउटा संग्रह प्रकाशित गरुँ कि जस्तो लागिरहेछ ।

६. तपाईलाई आफ्नो मौलिक कृतिहरु निकालेपछि कस्तो अनुभुति हुने गर्छ ?
छोटकरीमा भन्दा खुशी लाग्छ । तर गहिरिएर मनन गर्दा डर पनि लाग्छ । पहिले रचिएका रचनाहरु भन्दा अलि उच्च होउन भन्ने सोच्दा सोच्दै प्रकाशित कृतिहरुले चर्चा पाएनन भने अलि दुःख पनि लाग्छ । तर आफ्नो लेखन अझ राम्रो गर्दै जाउँ जस्तो लाग्छ ।

७. जीवनवाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ? सन्तुष्ट हुने कारणहरु बताईदिनुहोस न ।
उत्तरः जीवन सन्तुष्टी र असन्तुष्टीको विचको सम्मिश्रण हो जस्तो लाग्छ । सधै सन्तुष्टी मात्र हुने गरी काम गर्न पनि सकिदैंन । कहिले चाहेर पनि गर्न सकिदैन । कहिले प्रयाश गर्दागर्दै पनि विग्रन्छ । तर सधै असन्तुष्टी मात्र वोकेर हिड्ने हरु मध्ये चाँहि म होइन । म अलि अलि असन्तुष्टी हुँदाहुँदै पनि धेरै सन्तुष्ट हुने मान्छे भएकोले सन्तुष्टी नै मेरो प्लस प्वाईन्ट हो जस्तो लाग्छ ।

८. मोफसलीय साहित्य गतिविधिलाई कसरी मुल्यांकन गर्नुभएको छ ।
उत्तरः कार्यक्रमका हिसावले राजधानीमा धेरै कार्यक्रम हुने भएता पनि सहभागिता र गुणस्तरका हिसावले मोफसलमा गरिने साहित्यिक कार्यक्रमहरु सबल लाग्छन मलाई । कार्यक्रम शुरुदेखि अन्तिम सम्म सहभागीहरु बढो ध्यानपुर्वक कार्यक्रममा सहभागी हुन्छन । काठमाडौंमा जस्तो विचमा भाग्दैनन् । अर्को कुरा मोफसलमा पनि शायद संचार माध्यम पुगिसकेको हुदा प्रचार प्रसारमा पनि त्यति पछाडि छैनन । गजलको हकमा काठमाडौं भन्दा मोफसल नै तात्तिएको छ । अवसरको दृष्टिकोणले चाँही मोफसल अलि पछाडि परेको छ ,त्यसलाई पनि केन्द्रले ध्यान दिएमा राम्रो हुन्छ ।

९. साहित्यमा यौनको उपस्थिति कत्तिको आवश्यक ठान्नुहुन्छ ? सार्थक या निरर्थक ?
यो सृष्टी संचालन हँदादेखि नै यौनको महत्व रहेको छ । जुन कृया हरेक घरघरमा हुन्छ त्यसलाई नकार्न सकिन्न । तर त्यो शिष्ट र मर्यादित हुनुपर्छ । तयसमा छाडापन हुनु हुन्न । सभ्य शिष्ट यौन साहित्यको आवश्यकता छ र हुनुपर्छ । मायाको अन्तिम विन्दु पनि यौनसँग गाँसिएको हुन्छ । तर सम्पुर्ण परिवेशहरु सामाजिक परिवेश भित्र रहेर गरिनु पर्छ ।

१०. सम्वत २०४६ अगाडिका साहित्यिक कृतिहरु र समकालीन साहित्यिक कृतिहरुमा गुणवत्ता र प्रभावकारिताका हिसावले कत्तिको परक पाउनुभएको छ त ?
उत्तर ः वि. स. २०४६ अगाडि स्वतन्त्र साहित्य त्यसमा पनि अलि अलि सामाजिक जागरण सम्बन्धी साहित्य लेखन र प्रकाशन गर्न केहि हिम्मत गर्नुपथ्र्यो । राज्यको कर्के आँखा लागेको हुन्थ्यो । तर तत्पश्चात साहित्यले केहि स्वतन्त्रता पायो २०४६ पश्चात । गुणस्तर भन्दा पनि संख्यात्मक हिसावले अत्यधिक वृद्धि भएतापनि गुणातमक हिसावले पहिले भन्दा केहि मात्र वृद्धि भएको जस्तो लाग्छ ।

११. तपाईलाई वर्तमान समयमा निस्केका आख्यान÷अनाख्यान कृतिहरुमध्ये कसकसका कुनकुन कृतिहरु कुन हदसम्म मन पर्छन् ।
उत्तरः हेर्नुस यस सम्बन्धमा मैले भन्दा पनि समालोचकहरुले भन्ने कुरा हो । मैले जे जति पढ्न पाएको छु । त्यसवाट म असन्तुष्टि हुने कुरा छैन । हो, हामीले केहि परिष्कृत गर्दै अगाडि बढ्दै जानुपर्छ ।

१२. यतिका मान्छे साहित्य लेख्छन? तपाईले नै परिश्रमपुर्वक साहित्य किन लेख्नु पर्यो होला?
उत्तरः नेपालमा धेरै जनाले पैसाको लागि भन्दा सौख र अलि अलि नामको लागि लेख्छन जस्तो लाग्छ । साहित्यले समाजको लागि केहि सकारात्मक सोंचको विकास गर्न सकोस भनेर धेरै लेखकहरुको चाहना हुन्छ जस्तो लाग्छ ।

१३. उत्तरआधुनिकता भनेको के हो ? तपाईका विचारमा यसको प्रयोग के कसरी भईरहेको छ ?
उत्तरः आधुनिकता उत्तरआधुनिकता वारे अझै धेरै छलफलको विषय छ जस्तो लाग्छ । यसमा धेरै मेरो खासै भनाई केहि छैन । म पनि यसवारे अध्ययन गर्दैछु ।

१४. अब जीवनको धोको के रहेको छ ?
उत्तरः जीवनको धोको पनि समय समय अनुसार परिवर्तन हुँदा रहेछन् र वाल्यकालको धोको,युवाबस्थाको धोको र प्रौढताको धोको । साहित्यको क्षेत्रमा केहि गहकिलो पुस्तक जसले मलाई पछिसम्म संझियोस त्यस्तो खालको पुस्तक रचना गर्न पाए हुन्थ्यो जस्तो लागेको छ ।

१५. स्वमुल्यांकनका आधारमा तपाई सफल कि असल मानिस हो ?
उत्तर ः मैले भन्दा पनि अरुहरुले मुल्यांकन गर्ने विषय हो जस्तो लाग्छ । तैपनि म आँफुलाई सफलताको शिखरमा पुगेको त भन्दिन । म आँफुलाई मैले मेहनत गरे अनुसारको फल प्राप्त गर्न सफल व्यक्तिको रुपमा उभ्याउन चाहन्छु ।

१६. विदेशी भूमिबाट अहिले विभिन्न मानिसहरुले लेखिरहेका साहित्यलाई तपाईको विचार बाट कसरी मुल्यांकन गर्नुभएको छ ? विस्तृत रुपमा बताईदिनुहोस न ?
उत्तर ः अहिले आएर डायस्पोरा साहित्यले अत्यन्त विकाश गरेको जस्तो लाग्छ । संस्था र गुणस्तर दुवै दृष्टिकोणले विकास गरेको छ । विदेशमा चार पाँच बर्ष बस्यो ,एउटा पुस्तक लेख्यो ,नेपालमा आयो प्रकासित गर्यो – यो एउटा फेसन जस्तो पनि भएको छ । मेरो विचारमा नेपाली साहित्यको लागी एउटा सकारात्मक पक्ष हो जस्तो लाग्छ ।

१७. अन्त्यमा ,नयाँ लेखकहरुलाई के सल्लाह दिन चाहनुहुन्छ ?
उत्तर ः हामीले लेखेर मात्र पनि हुदोरहेनछ । त्यो कृतिलाई सम्पादन पनि गर्नुपर्दो रहेछ । अझ सकिन्छ भने अन्य भाषामा अनुवाद पनि गर्नुपर्ने रहेछ । यतातिर हामी लाग्न सक्यौ भने नेपाली साहित्यले पनि विकास गर्छ ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 6 माघ, 2070

लेखकका अन्य रचनाहरु