कविताहरू

- पेशल आचार्य

कविता हृदयले लेख्छ । जुनजुन कविहरू मस्तिष्कले कविता लेख्छन् उनीहरू बास्तविक रूपका कवि हुन सक्दैनन् । कविता त आँसुले लेख्न सक्नुपर्छ । कविता त हृदयले लेख्न सक्नुपर्छ । कविता त सुखदुःखका अनन्य भावहरूले लेख्न सक्नुपर्छ । कोमल मन मुटुले कविता लेख्छ र बुझ्छ । यो कुरा अब सर्वग्राह्य भैसक्यो ।
अनि कविता सरल र सरस हुन सक्नुपर्छ । जटिल कविता आफ्ना लागि मात्र हुन सक्छ । सरल कविता त जगत्का लागि हो । जीवनका लागि हो । एउटा सफल कवि सरल कवितामै रमाउन सक्छ । सफलताको सूचक सरल र हृदयग्राही कविताहरू नै हुन् ।
एकजना नेपाली कवि भन्छन् –‘कविता लेख्नुभन्दा कविताको विषयवस्तु छनोट गरी लेखनको परिवेश खडागर्नु गाह्रो काम हो ।’ धेरै हिँउदबर्खा कवितामा बिताइसकेपछि मात्रै मैले उपरोक्त उक्तिको गूढार्थ बुझ्न सकेँ । हो, जस्तो लाग्छ अहिले । कविता लेख्न सारै सकसपूर्ण छ । जीवन अनुभूति गरेर पनि मैले धेरै वर्ष कविता लेख्न सकिरहेको थिइनँ । बल्ल बुझेको छु । अब कविता लेखन नै सुस्तसुस्त भैसकेको छ । जति सजिलो उति गाह्रो हँुदो रहेछ । अझ कविताभन्दा गीत लेख्न कडा परिश्रम गर्नुपर्छ ।
देवकोटाले एकपटक दार्जिलिङमा डा. तारानाथ शर्मालाई अटोग्राफमा लेखिदिँदा ‘कविता नलेख, बाबु कविताले जिन्दगीभरि पोल्छ । मलाई पोलिरहेको छ ।’ भनेका थिए । उनी आफैँपनि ‘पागल’ र ‘बाघले बच्चा किन खान्छ’ कविताको लेखनबाट उद्देलित भएका थिए –त्यसबेला । उसो त एउटा लेखकले राम्ररी खेल्न पाउने ठाउँ भनेको आख्यानमा हुन्छ । अझ त्यसमा पनि उपन्यासमा खेल्ने र खेल्न सकिने धेरै ठाउँहरू हुन्छन् । कविता त यति कसिलो र लालित्यपूर्ण शैलीमा लेखिसिध्याउने विधा हो कि त्यहाँ कविले आफ्ना कुराहरु राख्ने गुन्जायस नै पाउँदैन भने पनि हुन्छ ।

‘कविको कर्म नै कविता हो ।’ संस्कृत वाङ्मयमा भनिएको छ ‘कवि कर्मणे इति कविता’ कतिपय अवस्थामा कवि स्वयम् कविताझैँ हुन्छन् । कोमल व्यवहार र माधुर्यपूर्ण उपस्थिति नै कतिपय मानिसको परिचय कविता नै हुने गर्दछ । कोही मिठामिठा कविता लेखे पनि व्यवहारमा कविजस्ता देखिदैँनन् । कविता लेख्नलाई व्यक्तिमा चेतनाको परिपाक हुनुपर्छ । व्यवहारको चास्नीमा ऊ भलिभाँती डुबुल्की मार्न सक्नुपर्छ ।
अहिलेको समयमा रूपैयाँका बलमा जोकोही पनि कवि भएका छन् –मलाई यो प्रवृत्ति निको लाग्दैन । हामीजस्ता अभाव र पीडाका ज्वालामा खारिएका मानिससँग पउलपउल भावनाहरू त छन् तर तिनीहरूलाई प्रकाशन गर्ने सामथ्र्य छैनन् । हामी जीवनलाई थुकतेल गरेर घिटिकघिटिक मात्रामा यात्रा गराइरहेछौं । अहिलेको नेपालको अवस्थालाई सूक्ष्मदृष्टिले नियालेको खण्डमा कवि, कलाकार, लेखक, गायक र सामाजिक उन्नायक भोको, रोगी र निम्छरो छ । संसारको रीति यस्तो छैन । संसारका सौविध्यपूर्ण देशका विभिन्न समाजमा कलालाई उच्च सम्मान प्राप्त त छँदैछ साथै कलाकार र लेखक सम्पन्न छ । अघाएको छ । सुखी छ । यस्तो दिन नेपालमा आउन कि त कवि र कलाकारकै सरकार बन्नु जरुरी छ कि त कवि र कलाकारको मर्म बुझ्ने मानिसहरू सरकारमा जानु प¥यो । अहिलेको समय कम्तिमा त्यस्तो छैन । अहिलेका नेपालका राजनेताका अघि कविता र कलाका बारेमा भन्नू भनेको ‘भैँसीका आगे बिन बजाएको’ जस्तै हो ।
कवि सामाजिक प्राणी हो । उसको जीवन समाज सापेक्ष हुन्छ । जीवन निरपेक्ष कोही पनि कवि हुन सक्दैन । हामी अक्षरकर्मीहरूले समाजबाटै लिने हो र समाजलाई नै दिने हो । हो पनि, आआफ्ना दुःखदर्द समाजको सापेक्षतामा मिसाएर दिने हो । लय र शैली आफ्नै भएपनि त्यो समाजको सापेक्षमा प्रस्तुत हुन सक्नुपर्छ ।
अबको समयमा उभिएर भन्ने हो भने मानिसमा मानवीय सम्वेदना निकै कम हुँदै गएको छ । मानिसलाई आजको युद्धजन्य र संक्रमणकालीन समयले उसका हृदयमा भएको दया, माया र धर्मका रानारुनी लेशहरू पनि हराउँदै जान लागेका छन् । मानिसहरू प्रविधिले पनि हिजोआज अलि पाषणहृदयी भएका छन् । त्यसका लागि हाम्रा परिवेशमा प्रयोग भएका विज्ञान र प्रविधिका सामानहरूको ज्यास्ती प्रयोगले हामै्र यावत् कल्पना र सपनालाई भताभुङ्ग पारेर उडाइदिएका छन् ।

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 28 पौष, 2070

लेखकका अन्य रचनाहरु