मञ्च, आसनग्रहण र छुचो प्रवृति

- राजेन्द्र पहाडी

केही महिना अघि नेपाल सरकारका मुख्य सचिव लिलामणी पौडेलले आफू विशिष्ठ अतिथि भएर गएको पुस्तक विमोचन कार्यक्रमका आयोजकलाई नराम्रोसँग हपारे । कार्यालय समयमा कार्यक्रमको आयोजना गरेको, अनावश्यक रुपमा अतिथिहरुलाई ब्याच लगाइदिएको, आसनग्रहणको कार्यक्रमलाई बीस–पच्चिस मिनेटसम्म लम्व्याइएको र असम्बन्धित व्यक्तिलाई मञ्चमा आसनग्रहण गराउँदै मन्तव्य राख्न दिइएकोप्रति उनले नाराजगी प्रकट गरेका थिए । उनको तर्क थियो– अनावश्यक तडकभडकमा पैसा खर्च गर्नुभन्दा उपयोगी काममा उक्त रकम लागाउनु जाती हुन्छ, हुँदानहुँदाका र कार्यक्रमको सन्दर्भ तथा औचित्यसँग मेल नखाने व्यक्तिलाई आसनग्रहण गराउँदै धेरै समय खेर फाल्नुभन्दा कार्यक्रमको उद्देश्य प्राप्तिमा समय खर्चिनु राम्रो हो ।

पाँचबर्ष अघि पर्वत जिल्ला सदरमुकाम कुश्मा बजारको बन्दना होटलमा आयोजित एउटा साहित्यिक कार्यक्रमका उद्घोषकले पौनेघण्टा लगाएर हलभरी भएका मानिसलाई आसनग्रहण गराएकोमा एकजना चर्चित साहित्यकार तथा गीतकार राजेन्द्र थापाले आफ्नो सिर्जनामार्फत उद्घोषक र आयोजकको झ्याँको झारेका थिए ।

गतबर्ष पर्वत विकास समाजले जिल्ला विकास समिति पर्वतको सभाहलमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा राजनीतिज्ञ तथा बौद्धिक व्यक्तित्व ऋषिकेश तिवारीले व्यक्ति किटाएर कसैलाई पनि सम्बोधन नगरी एकमुष्टमा ‘उपस्थित महिला तथा सञ्जनबृन्द’ सम्बोधन गर्दै कसैलाई खुशी पार्नकै लागि लामो सम्बोधन गर्न समय खर्चिने र विषयमा प्रवेशनै नगर्ने प्रवृत्ति तोड्नुपर्ने कुरामा जोड दिएका थिए ।

उपरोक्त तीन प्रसङ्गले पछिल्लो समयमा बुज्रुकहरु अनावश्यक औपचारिकतामा समय, साधन र स्रोत खेर फालेको रुचाउँदैनन् भन्नेतर्फ सङ्केत गर्दछ । तर सबैतिर अवस्था यस्तो सपाट छैन । केही व्यक्तिहरुले चाकडी, चाप्लुसी र मुलाहिजामा आधारित परम्परागत अभ्यासलाई तोड्न तथा छोड्न चाहेपनि आफूलाई सबैभन्दा जान्नेबुझ्ने र सर्वज्ञानी भन्ठान्ने एउटा ठूलो समूह यही चाकडीवादी संस्कारलाई जोगाउन तथा थप मलजल गर्न चाहान्छ । अवस्था यतिसम्म भयङ्कर बनिरहेको छ कि आफूलाई स्वघोषित नेता, अगुवा, ज्ञानी, उपरी–बुद्धिजीवी, उद्योगी, समाजसेवी आदि उपनाम दिन रुचाउनेहरु आफूलाई निम्ताइएको कार्यक्रममा त पुग्छन् तर मञ्चमा आसनग्रहण गर्न पाएनन् वा यथास्थानमै भएपनि आयोजकले आसनग्रहणका लागि नाम बोलाएनन् भने फन्केर कार्यक्रमबाट बाहिरिन्छन् । यतिमात्रले तिनको रिसको पारो घट्दैन । तिनले खुल्लम खुल्ला आयोजक र कार्यक्रम उद्घोषकको उछितो काड्छन् । लौ त परे केही समय बोलीचाली नै बन्द गरिदिन्छन् ।

यस्ता आसनग्रहणका लोभीहरु आफूलाई सरोकार नभएको, जानकारी नभएको वा आफ्नो कतैबाट पनि साइनो नजोडिने प्रकृतिको कार्यक्रममा छेक न छन्दका मन्तव्य राख्न लालायित हुन्छन् । आसनग्रहण गराएर पनि बोल्न दिइएन भने यिनको उग्ररुप फेरी सतहमा प्रकट भैहाल्छ । यिनीहरु कित मञ्च छोडेर हिँड्छन्, कित आयोजकलाई आफूलाई पनि बोल्न समय उपलव्ध गराइदिनका लागि दबाव दिन्छन् । बोल्न पाए भने विषयप्रसङ्ग छोडेर नानाभाँतीका अर्ति उपदेश फलाक्छन् । आफ्नैमात्र महिमा गाउँछन् । आफू नभए यो दुनियाँमा केही पनि हुने थिएनकि झैं पार्छन् । श्रोता दर्शकको मनोभाव बुझ्न नसक्ने यस्ता उप–बुज्रुक बोलक्कडहरु आफ्नै अभिव्यक्तिका कारणले श्रोता तथा सहभागीबाट नरुचाइएको तथा तिरस्कृत भएको भेउसम्म पनि पाउँदैनन् । बोल्दाबोल्दै आफ्नै धोती फुस्केको पत्तो नपाउनेहरु अरुलाई आदेश र उपदेशका सानदार पुलिन्दा थपाउन रत्तिभर असहज मान्दैनन् ।

आयोजकले मञ्चमा बोलाउँछन् या बोलाउँदैनन्, प्रमुख अतिथि, विशिष्ठ अतिथि वा अतिथिहरु को को छन् केही थाहा नहुँदै पहिल्यै गएर मञ्चमा गजधुम्म बस्नेहरुले कार्यक्रम व्यवस्थापकलाई कसरी पीर पार्छन् भन्ने कुरा त भोगेर खल्ली भएका उद्घोषक तथा आयोजकलाई नै थाहा हुन्छ । हामी नै सबैभन्दा ठूला हौँ भन्ने सामन्ती एवम् अटेरी सोचले घर गरेकाहरुले पहिले नै गएर मञ्च ओगट्छन् र कार्यक्रम सञ्चालकलाई अप्ठ्यारोमा पार्छन् । कुनै एउटा अमुक पद लिएर बसेकाहरु सबै क्षेत्रमा आफूलाई हिरो नै सम्झँदा रहेछन् कि कुन्नी ? तिनलाई कार्यक्रम कसले आयोजना गरिरहेको छ, यसको उद्देश्य के हो, यसका सहभागी को छन्, यहाँ छलफल हुने विषय के हो, कस्ता व्यक्तिले यो कार्यक्रम कसरी योगदान पु¥याउन सक्छन् आदि कुरामा ख्याल नै हुँदो रहेनछ । जहाँ गएपनि एउटै विषयवस्तुमात्र ओकल्ने बानी परेकाले त आफ्नो जानकारीभन्दा बाहिरको विषयमा बोल्न मरिहत्ते नगरेपनि हुनेथ्यो नि । तर त्यस्तो हुँदैन । व्यवहारमा देखिँदैन । मलाई यो विषयमा जानकारी छैन, म नबोलौं क्यारे भनेर आफ्नो नाम हटाउन कोही तयार हुँदैनन् । सबैलाई ओभर जान्नेसुन्ने (ओजासु) हुन परेकै छ । आफूलाई सबै क्षेत्रको विज्ञ भन्ठान्ने रोगले सबैलाई गाँजेकै छ ।

हाम्रा धेरैजसो कार्यक्रमहरुमा औपचारिकताका लागि बढी समय र साधनस्रोत खर्चिएको देखिन्छ । मञ्च सजावट, व्याच बनाउने, खादा पहि¥याउने, माला लगाइदिने, अविरजात्रा गर्ने, ठूला–साना सबै पदाधारीहरुलाई आसनग्रहण गराउने आदि हाम्रो संस्कार नै बनिसकेको अवस्था छ । निरुपित विषयवस्तुमा गहन र घनिभूत ढंगले बहश छलफल हुनुपर्ने ठाउँमा केवल देखावटी सम्मान र चाकडीका कर्म गरेरमात्र कार्यक्रम समापन गर्ने तथा पत्रपत्रिका र एफएम रेडियोहरुमा हरेक व्यक्तिका नामसहित समाचार (भएसम्म फोटो पनि) प्रकाशन प्रसारण गर्ने दिशामा हाम्रा अधिकांश कार्यक्रम, सभा, गोष्ठीहरु लक्षित भएको देख्न पाइन्छ अचेल । हुँदा हुँदा फ्लोरमा बस्ने सहभागीभन्दा मञ्चमा आसनग्रहण गर्ने व्यक्ति धेरै हुँदा समेत हामी लाज पचाएरै कार्यक्रम गरिरहेका हुन्छौं । पत्रपत्रिका र रेडियोमा ‘भब्य समारोह सम्पन्न’ भनी समाचार टिपाउन पछि पर्दैनौं ।

सुन्ने व्यक्ति दुई–चार जनामात्र भएपनि घण्टौं भाषण छाँट्न हामीलाई कसैले रोक्न सक्दैन । आफ्ना अभिव्यक्तिलाई प्रशंसाबाट सुरु नगरी प्रारम्भदेखि नै कटु आलोचनामा उत्रनु हाम्रो विशेषता बनेको छ । राम्रा कुराको खोजी गुर्नुभन्दा नराम्रा र बिग्रेभत्केका विषय हाम्रो दिमागमा आइहाल्छन् । चर्का, उत्ताउला र असम्भवप्राय आश्वासनमिश्रीत भाषण गर्न हामी पोख्त भइरहेका छौं । हतार छ भन्दै आफ्ना कुरा राखेर सभास्थलबाट बाहिरिन हामीलाई कुनै मर्यादाले छेक्दैन । के यसो गरिनु ठीक हो ? साँस्कृतिक रुपान्तरणको विषय उठाउँदा कार्यक्रमहरु सञ्चालनका दौरानमा हामीले गर्ने क्रियाकलापहरु जोडिएर आउँछन् कि आउँदैनन् ? हाम्रो परम्परागत मनोवृत्तिले हामीलाई कतातिर डोराइरहेको छ ? खुट्टामाथि खुट्टा खप्टेर मञ्चमा आसनग्रहण गर्न नपाएको झोंकमा सभा वा कार्यक्रम नै छोडेर हिँड्ने कथित अगुवाहरुलाई समान्य जनताले सधैं मान्नै पर्छ, पूजा गर्ने पर्छ भन्ने के छ ? आफू कहिँ पनि सानो हुन नजान्ने र झुक्न नसक्नेले अरुलाई मात्र एकोहोरो उपदेश थमाउनुको के उपादेयता हुन्छ ? अरुलाई अनुशासन र संस्कार सिकाउनेहरुले आफूहरुले तिनै अनुशासन र संस्कार पालन गर्न पर्ने कि नपर्ने ? यी गम्भीर सवालहरु हुन् । यिनका बारेमा छलफल चलाउन जरुरी छ ।

कुनै सभा, सम्मेलन, समारोह, कार्यक्रम, गोष्ठी, भेला आदिको आयोजना हुने÷गर्ने सन्दर्भमा किसिम किसिमका झाँकी देख्न पाइन्छ हिजोआज । आफू प्रमुख अतिथि बन्न नपाउने भएपछि अनेक बहाना बनाएर कार्यक्रममै नआउने छोटे महाराज प्रवृत्तिका मानिसहरु पनि थुप्रै देखिन्छन् भने सहभागीहरुको संख्या अपेक्षित नहुने भयो भने आफ्ना आसेपासेलाई लगाएर मान्छे थुपार्ने कर्म गर्नेहरुको पनि कमी छैन आजकल । अझ सञ्चारकर्मी भनिएका दुईचारजना लेखनदासलाई अघिपछि लगाएर हिँड्न रुचाउने ठालुहरुको पनि बाक्लो उपस्थिति छ हाम्रो समाजमा । हलभाडा, खाजाखर्च र अन्य खर्चपर्च वेहोरेर कार्यक्रम आयोजना गर्न लगाउने र आफू प्रमुख अतिथि बनेर धक्कु लगाउनेहरुको सान त झन् बेग्लै भैहाल्ने भयो । पत्रपत्रिका, अनलाईन, एफएमजस्ता सञ्चार माध्यममा आफ्नो नाम आएन भने छटपटिने महानुभावहरुले पत्रकारलाई नै उल्टो सराप्ने र भोलीपल्ट भएपनि उक्त समाचार प्रकाशन प्रशारण गर्न दबाव दिने कुरा नौलो होइन ।

कार्यक्रममा आफ्नो उपस्थिति जनाएर वा मन्तव्य राखेर टाप कसिहाल्नेहरुको कहानी अझ वेतुकको छ । यस्ता भगुवाहरु आफ्नो बाहेक अरुका कुरा सुन्ने धैर्यता राख्दैनन् र आफ्नै कुराप्रति पनि जवाफदेही हुँदैनन् । अन्टसन्टका कुरा बोल्यो, आकाश–पाताल जोड्यो, लम्बेतान बोलेको भएपनि आफ्नो छोटो मन्तव्य यहीँ टुङ्ग्याउँछु भन्यो र अन्य वक्ता तथा सहभागीबाट आउने प्रतिक्रियामा चासो नराखी सुटुक्क बाहिरिँदा कसैको जवाफ दिन पनि परेन, कति हाइसञ्चो । अझ अचम्म त के छ भने आयोजकबाट यसो भत्तासत्ता मिल्ने रहेछ भने सुरुमा हाजिर भएर दश ठाउँको कार्यक्रम÷ काम भ्याएर कार्यक्रम सकिने बेलामा टुप्लुक्क आइपुग्छन् यस्ता भत्तामारा अतिथिहरु । यिनको ध्यान कार्यक्रमबाट लाभान्वित हुने भन्दा पनि नगदनारायणको धन्दामा बेशी केन्द्रीत हुन्छ । सोह्र श्राद्धको पुरेतजस्तो एकै दिनमा दुई–चार ठाउँमा यस्ता कार्यक्रममा सहभागी हुन पाउनु यिनका लागि ठूलो उपलब्धी ठहरिन्छ । कसैकसैले त घरको भात जोगाउने दाउमा होटल–होटल चाहार्ने गरेको पनि देखिन्छ । त्यसो त ‘छाक टार्ने’ मति भएकाहरुबाट ‘झारा टार्ने’ बाहेक के नै अपेक्षा गर्न सकिन्छ र ?

‘आफूलाई मान्द्रो र अरुलाई त्यान्द्रो’ सम्झिने केही अगुवाहरु अन्य जनहरुको विचार, दृष्टिकोण, सोच र दर्शनलाई रत्तिभर गन्दैनन् । आफूले जानेको मात्र ध्रुवसत्य हो भन्ने मान्यता राख्नेहरु विविधतामा विश्वास नै गर्दैनन् । पृथकता र अनेकतालाई नै स्वीकार गर्न नसक्नेको कहिँकतै चिन्तन धरातलमै खोट पो छ कि भनेर किन शंका नगर्ने ? भाषणमा लोकतन्त्र, बहुलवाद, बहुदलीयता, बहुदलीय जनवाद, समावेशी, मूलप्रवाहीकरण, सशक्तीकरणका भक्ती गीत गुन्गुनाउनेहरु नै हदैसम्मका एकलकाटे, एकोहोरा र गुटपरस्त हुँदा रहेछन् भन्ने तिनकै व्यवहारले पुष्टी गरेको तथ्य हो । तथ्यको सहयोगमा सत्य खोज्ने भनिएकाहरुको निम्नस्तरको हविगत वास्तवमै अपत्यारिलो छ । अनेकभाँती तर्कको सहारामा सत्यलाई दुत्कार्नेहरुको संख्या ह्वात्तै बढ्दै जानु समाजका लागि निको कुरा हुँदै होइन । आफूले केही नगर्ने र अरुले गरेकोमा पनि चित्त बुझाउन र सहमत हुन नसक्नेहरुको बाक्लै उपस्थिति छ हाम्रो वरिपरी । व्यक्ति र संगठनपिच्छे फरक–फरक पहिचान, शैली र मौलिकता हुन्छ भन्ने कुरालाई मर्लक्कै बिर्सेर यसरी र उसरी कार्यक्रम सञ्चालन गरेको भए हुन्थ्यो भनेर सुझावका लम्बेतान फेहरिस्त प्रस्तुत गर्न कत्ति नहिच्किचाउनेहरु खोज्न धेरै पर जानुपर्दैन । मानिसलाई अनेक कोणबाट उचाल्ने–उचाल्ने र थचार्ने खेतीमा पारङ्गतहरुको शैली विछट्टै हेर्न एवम् बुझ्न लायकको छ । आफ्ना कुरामात्र माथि पार्न अरुका कुरालाई माकुराझैं सम्झनेहरुले बुझ्नै पर्ने हुन्छ कि हेला होचो गरिएको माकुराको विषले कहिलेकाहिँ नराम्ररी दुःख दिन सक्छ ।

आफू आवद्ध भएको सङ्गठन बाहेक अरु सङ्गठनको उपादेयता र औचित्य नदेख्ने रोगबाट केही व्यक्तिहरु बशिभूत भएको पनि देखिन्छ अचेल । खुलेआम रुपमा खासखास सङ्गठनको औचित्यता छैन पनि भन्ने र छेउकुनाबाट केही न केही आशा पनि गरिहाल्ने दोधारे, दहिच्यूरे र चेपारे मानसिकताबाट ग्रसित भएको देखिन्छ केही अगुवाहरु । अर्काको केही भूमिका छैन जस्तो पनि गर्ने र साइडबाट यो वा त्यो गरिदिए हुन्थ्यो भनेर मागपत्र पनि प्रस्तुत गर्नु हदैसम्मको नार्मदी, छुचो र हुतिहारापना हो शायद । जिम्मेवारीलाई अर्कामा सारेर आफू पानीमाथिको ओभानो देखिने रोगले आज सबैतिर घर गरिसकेको अवस्था छ । सकारात्मक प्रतिफल आए सबै मैले गरेको (हामीले होइन) र बिग्रेभत्केको अवस्था देखिए अर्काले गरेर यसो भएको भनेर दोषारोपण गर्ने कुरा कुनै पनि सङ्गठन संघसंस्थाका लागि प्रत्युत्पादक कुरा हो ।

किटान गरिएको तथा परिभाषित खास मुद्दा नै नभइकन गुट–उपगुटमा विभाजित हुने, सोही अनुसार व्यवहार गर्ने, बोलीचाली बन्द गर्ने, हिँड्ने बाटो बदल्ने, अमुक स्थानमा अखडा जमाएर गुटका बैठक सञ्चालन गर्ने, संस्थागत रुपमा बैठक बस्न नसक्ने, बैठकलाई व्यवस्थित तवरबाट सञ्चालन गर्न नसक्ने, छलफलका विषयलाई निर्णयमा पु¥याउन नसक्ने, गरिएका निर्णय कार्यान्वयन गर्न नसक्ने, एउटै मञ्चबाट परस्परमा बाझिने धारणा राख्ने, जिम्मेवारी बाँडफाँड गरेर कार्य नगर्ने, विपरित गुटका आफ्नै सङ्गठनका सहकर्मीहरुलाई कसरी समाप्त गर्ने भनेर योजना बनाउनेजस्ता कुराले नत संस्थाको हित गर्दछ नत देश र जनताकै लागि केही ऊर्जा दिन्छ । सङ्गठनको महत्वपूर्ण पदमा बसेर सार्वजनिक रुपमा बोल्ने कुरालाई बिना तयारी परिस्थितिजन्य जे आउँछ प्वाक्क बोल्ने र त्यसको जिम्मेवारी नलिने प्रवृति ज्यादै घातक हुन्छ । आफू उदाहरण बनेर अरुलाई प्रेरणा दिनुपर्ने अगुवाले नै तदर्थ हिसाबले प्रस्तुत हुँदा सामान्य जनमानसमा त्यसको राम्रो प्रभाव पर्न सक्दैन । तसर्थ कार्यक्रमहरुमा भाग लिन जाँदा निश्चित तयारी गरेर उपस्थित हुँदा राम्रो हुने अपेक्षा गर्नु अन्यथा हुँदैन ।

माथि उठान गरिएको जस्तो केवल आसनग्रहण, मर्यादाक्रम र मन्तब्य राख्ने कुरामा मात्र सीमित भएर अपमानित भएको महशुष गर्ने, फन्केर हिँड्ने, आयोजकको आलोचना गर्ने इत्यादि नकारात्मक सोचले उत्पन्न गरेका तपसिलका विषय हुन् । औपचारिकतालाई कम गर्दै विषयगत र ठोस काममा बढी समय विनियोजन गर्दा हाम्रा लक्ष्य उद्देश्य प्राप्तिमा सहजता आउन सक्दछ । केवल जुँगाको लडाईँमा लागेर सार्वजनिक रुपमा नै तल्लोस्तरको हर्कत देखाउँदा तत्तत् पात्रहरु सर्वसाधारणका दृष्टिबाट गिर्ने कुरालाई कसैले रोक्न सक्दैन । संस्थागत पद, जिम्मेवारी आफ्नो स्थानमा होला, महत्वपूर्ण कुरा त नागरिकको आँखामा कुन पद वा स्थान प्राप्त गरिएको छ भन्ने कुरा प्रधान होइन र ? भित्रभित्रै पाउरोटी फुल्दाझैँ फुलेर गमक्क पर्नुको कुनै महत्व हुँदैन । बस्तुतः मञ्चमा स्थान नपाएपनि, बोल्ने मौका नमिलेपनि नागरिकको मुटुको केन्द्रमा बस्न पाइयो भने त्यो ठूलो कुरा हो । हामी सर्वग्राह्य हुन सकियो भने हामीले बोल्ने विषय लाखौंलाख नागरिकले बोलिदिन सक्दछन् । सानातिना र झिनामसिना कुरामा अगुवाले नै सानो चित्त गरिदिँदा तिनका कार्यकर्ताले कसरी चौडा छाती बनाउन सक्लान् ?

साच्चिकै भन्ने हो भने हामीले कति सक्छौं अर्थहीन, मूल्यहीन र असान्दर्भिक औपचारिकतालाई घटाउनु तथा हटाउनु पर्ने नै छ । केही क्षणको तामझाम र रामरमितामा खर्च हुने साधनस्रोतलाई सञ्चय गरेर कुनै अर्थपूर्ण काम गर्न सकिन्छ कि यतातर्फ हाम्रो ध्यान जान जरुरी छ । छोटो समयको झकिझकाउमा रमेर फोटो खिचाउने र पत्रपत्रिकामा छपाउनेभन्दा आम नागरिकको मनमुटुमा बस्ने प्रयत्न गर्नुमा बुद्धिमानी हुन सक्छ । वास्तवमा कुशल अगुवाले थोरै बोल्ने र धेरै सुन्ने नै हो । तर हामी धेरै बोल्ने कुरामा लालायित देखिएका छौं । कार्यक्रमको सन्दर्भ र औचित्यको विविधताका आधारमा अरुका कुरा सुन्दा के बिग्रिन्छ ? के हामी श्रोता बनेर बस्ने धैर्यता गुमाउँदै छौं ? अरुका विचार, दृष्टिकोण र अभिमतलाई श्रवण गर्न नसक्ने हामी । हाम्रा कुरामात्र अरुले ध्यानपूर्वक सुनिदिनुपर्ने के बाध्यता छ ? यी सवालमा हामीले सोच्नै पर्छ । हामी सबैले बुझ्दा फाइदै हुन्छ कि आजको जमानामा मञ्च पायो भने जो कसैले पनि आफ्ना विचारहरु राख्न सक्छन् । तपाईँ हामीले दिनेजस्ता उपदेश र अर्ती आज तृणमूल तहको मान्छेसँग पनि खातका खात छन् । फगत शैली फरक होला । शब्द फरक होलान् । अभिव्यतिको ढंग फरक होला ।

तपाईँ हामी त अगुवा भनेर आफूलाई परिचित गराउँन चाहिरहेका छौं । हामी आफूलाई औसत मानिसभन्दा एकतह माथि उठेको भन्ठान्छौं शायद । चेतना, ज्ञान, दृष्टिकोण, सिद्धान्त, सत्व्यवहारसमेतबाट परिवेष्ठित ठान्ने हाम्रो व्यवहार र आचरणबाट यो कुरा पुष्टी हुन्छ कि हुँदैन ? यो गहन विषय हो । व्यवहारमा छुद्र, अपवित्र र भ्रष्ट तर सिद्धान्तमा शुद्ध, पवित्र र आदर्श भन्नुको कुनै तुक हुँदैन । आफू आर्दश बनेर अरुलाई बाटो देखाउने अगुवाहरु नै बाटो हगुवा हुने हो भने सामान्य नागरिकले के सिक्ने तपाईँ हाम्रो व्यवहार र आचरणबाट ? प्रश्नको श्रृङ्खला लामो हुनसक्छ । तथापि, अवस्थालाई ठीक ठाउँमा ल्याउने काम हामीले नै गर्ने हो । कमिकमजोरी हुन्छन्, तिनलाई सच्चाउँदै अघि बढ्नु महानता हो । प्रश्न हामी सच्चिन तयार छौं कि छैनौं भन्ने मात्र हो । सम्बन्धित सबैलाई चेतना भया ।

कुश्मा, पर्वत

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 28 पौष, 2070

लेखकका अन्य रचनाहरु