पागल

- रुपेश राई

बिहानै टनटन घाम लागिरहेको छ। निलो आकासमा। विशेष गरी यो आकासमा घाम लाग्नु भनेको केही घटना घट्नु हो। प्रद्युमले सोच्दै चारैतिर हेरिरहेको छ।

आहा! ७ बजेछ....प्रद्युमले नाडी हेरेर मनमनै भन्यो।

हतार हतार गर्दै सुक्खा रोटी डल्लो पारेर मुखमा हाली चियाले ठेल्यो। अड्केर कक्रक्कै पऱ्यो। बल गरेर निलेपछि फुत्त घरबाट निस्केर बजारतिर लाग्यो।

बजारको चिसो हावामा रुमलिँदै नेहरू पथ भएर चौरास्ता पुग्यो। चौरास्ता, त्यो बजारको खुल्ला मञ्च हो। र त्यहाँ कुनै समय कोही पनि आउन सक्छन्। त्यही मञ्चको छेउमा नथमुल छ। ठिक नथमुलको सामु एउटा खुट्टा चोइटिएको चौकीमा बस्यो। नथमुल, दार्जीलिङ चिया बेचबिखन गर्ने दोकान हो। त्यहाँ चियाका परिकार पाइन्छन्।

ऊ त्यहाँ बसेर सर्वाङ्ग देखिने दृश्यतिर विचरण गर्नथाल्यो। मस्त भएर दृश्यावलोक गर्दैगर्दा उसकै छेउबाट गनाउने कम्बल ओढेको पागल पार भयो।

उसको दृष्टिले पागललाई पछ्याइरहेको थियो। चिया... भनेर चियावालाले जोरले कराउँदा ऊ झसङ्ग भयो। चियावाला, यहाँको पक्का नागरिक नभए पनि चिया बनाएर खुवाउनु उसको रोजीरोटी हो।

चिया खाँदै प्रद्युमले सोचिरहेको छ......। पागल?............; .....?

सोचिरहेको छ। बस सोचिरहेको छ।
अहिले पनि प्रद्युमले सोचिरहेको छ....... पागल.....?

पेशोक, दार्जिलिङ

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 28 पौष, 2070

लेखकका अन्य रचनाहरु