बरबोटे !

- माधव काफ्ले

न त मेरा बाजे बराजुले नै देख्या सुन्या हुन्, न त मेरा पिता पुर्खा नै पुग्या हुन्, न त मैले जिन्दगीमा कहिल्यै त्यस स्थानको दृश्यपान गर्ने नै मौका पाएको छु अझसम्म, न त मेरा खुट्टाले त्यस पवित्र धर्तीमा उभिने सौभाग्य नै पाएका छन् । बरबोटे भनेपछि म हुरुक्क हुन्छु । बरबोटे मलाई अचाक्ली मोहनी लगाएर लट्ठ पारेको छ, मन र मस्तिष्कलाई नै उडाएको छ, सोचाइ र सम्झनालाई नै कुत्कुती लगाएर आन्दोलित पारेको छ । बरबोटेको उच्चारण कसैको मुखबाट भयो भने पनि अनायास मेरो मनमा सद्भावनाका सयपत्री र सम्मानका लालुपाते ढकमक्क फुल्छन्, उमङ्गका जाई, जुही र सुनाखरी मगमगाउन थाल्छन् । वसन्तकालीन कोइली फूलका कोपिला र बिरुवाका मुजुरासँग मितेरी गाँस्दै को–हो को–हो भन्दै डालीडालीमा चढेर बटुवाहरुको मन,मुटुलाई वशन्तको मनमोहक सौन्दर्यले छोप्तै र छिप्छिप्याउँदै सृङ्गारको शिखरमा पुगेर जंगल थर्काउँदै असीम हर्षोद्गार व्यक्त गर्दै सङ्गीतका पञ्चम स्वरकोराग उरालेर डाँडा पाखालाई नै लठ्याए झैं मेरो मन पनि खुसी र उन्मादको पोखरीमा चुर्लुम्म डुब्न थाल्छ मेरा आराध्यदेव गुरुवरको आकृति स्मृतिमा छचल्किनासाथ ।
कसैले मलाई नेपालको मानचित्र पल्टाएर देखायो भने अझैं पनि म असमर्थ छु बरबोटेको भौगोलिक अवस्थिति पत्ता लगाउन । मेरा साना गुलुप जस्ता आँखाले ठम्याउनै सक्दैनन् बरबोटेको सीमारेखालाई छुट्याउन । म यति अभागी छु कि बरबोटेको कुनै पनि व्यक्तिसँग परिचयको लगनगाँठो चाहेर पनि अहिलेसम्म गाँस्न सकिनँ । यदि कुमारै रहन पाएको भए सायद पुत्रीपीडित परिवारको मर्कामा उत्साहको चर्खा चलाएर आशाको फिरफिरे झैं फननन धुकधुकी भित्र बाहिरको दुर्भेद्य नाका पार गर्न सकिन्थ्यो होला तर अहिले समय घड्किसकेको छ । बाटामा हिंड्दा पनि र एकै उमेरका भए पनि बाजेको सम्बोधनले मेरो सुक्सुकाउँदो सुकुमार भावनाको मुन्टालाई बटुवाहरुले परक्क बटारेर, निमोठेर हिंड्न थालेको पनि वर्षौंवर्ष हुन थालेको अवस्थामा मैले बिताउन त कुरै छाडोेैं चिताउन पनि नहुने परिवेश मेरो अगाडि बूढो सालको रुखझैं ठिङ्ग उभिन आइपुगेको हुनाले यो बाटो पनि मेरो लागि काँसी जान कुतीतर्फ हिंडेसरह नै हुँदै गएको छ । त्यसमा पनि किच्चक बनेको कानुन छ, साइँदुबा बनेको समाज छ, प्रेत बनेर हिंडेको परिवार छ शिशुपाल बनेको संस्कार छ, त्यसमाथि राजनीतिकोे राँके भूत विखण्डित भेषभुषामा दारा नङ्ग्रा तिखारेर बाटो–दोबाटोमा बसेको बेला बलीको बोको बनेर पर्सिने आँटै उमार्न सकिनँ बरबोटेसँग साइनो गाँस्न ।
अहिले हैन २०२७ सालको कुरा हो । त्यतिखेर भोजपुर सगरमाथाको सौतेनी सन्तान झैं पल्लो कुनामा कुचर्किर कक्रिरहेको थिया,े पछि कोशीको कुम्भिपाकमा कम्लाउन पुगेछ । भोजपुरमा त्यतिबेर दुईवटा अदालत थिए । एउटा जिल्ला अदालत र अर्को अञ्चल अदालत । जिल्ला अदालतमा दुईजना न्यायाधीश थिए । एकजना दाहाल थरका, नाम मैले हेक्का राख्न सकिनँ उनको । अर्का मेरा पिताश्रीका सहोदर अग्रज हुनुहुन्थ्यो । छोरालाई साक्षर बनाउने आन्तरिक इच्छा भएता पनि व्यवहारले कर्तव्यमा सधैँ भाँजी हालिरहको हुनाले “बिहान–बेलुका भात पकाएस्, अनि दिउँसोमा राम्रोसँग पढेस् है बाबै !” भनेर पिताश्रीले सम्माननीय न्यायाधीशज्यूसँगको सम्बन्धको पुच्छर समातेर विद्याको वैतरणी तर्न उत्प्रेरित गर्नुभएको हुनाले थोरै समय भए पनि पाखा–पखेरा, वन–बुट्यान चहार्दै भोजपुरसँग मीठो नाता गाँस्न पाएँ मैले;यद्यपि जुन आशा र आकाङ्क्षालाई सप्तरंगी माला गांसेर म भोजपुर पुगेको थिएं ती ईच्छा र आकांक्षालाई कहिल्यै पनि पोटिलो पारेर फुलाउन सकिनँ । उहाँको कार्यव्यस्तता दम्को बनेर मेरो मुटुमा बिझेको हुँदा उद्देश्यमूलक उहाँको स्निग्ध आचरण काता कता ढुसी झैं गन्हाउन थाले झैं महसूस गर्न थालें । भोजपुर बसाईको क्रममा पारिश्रमिक स्वरुप प्राप्त गरेको उपलब्धीहरु नै कुण्ठा,घृणा,अपमान र तिरस्कारहरु नै हुन पुगे । केही समय पछि उहांको ताप्लेजुड. सरुवा भयो । अत्यासले सुकेर खरपट्ट हुन पुगेका रहरहरुको सालनाल समेटेर पछि लागें ।ईच्छा थियो जो सुकी सकेको थियो ।रहर थियो जुन ओइलाई सकेको थियो । उत्सुकता थियो जुन छरिइसकेको थियो । चाहना थियो जुन धुजाधुजा भएर च्यातिई सकेको थियो । त्यसैले ताप्लेजुड. पुगेपछि भने प्रत्येक दिन ताप्लेजुङ र इलामको दूरी नाप्न थालें ।
कार्यबोझले त नभनौं भित्रभित्रै भुँवरी बनेर सल्कँदै गरेको अनिच्छाको आगोले भत्भती पोलेको हुँदा ताप्लेजुङबाट भागेर इलाम पुग्ने आँट मनभरि लटरम्म फुल्न खोजेता पनि तस्कर बनेर तानिएको तमोरको झोलुङ्गे पुलले मेरो बाल मस्तिष्कमा तामसी भूमिका खेलिदिएको हुनाले भान्साको कुना काप्चाबाट उछिट्टिएर तमोरको किनारामा पुगेता पनि नून खाएर झोक्राउन थालेको निरीह पोथीको टाउको जस्तै निहुरिएर प्रत्येक साँझ पुग्थे टुकीको पिल्पिलाउँदो उज्यालोमा ओसिएको भविष्य सुकाउन । पापी तमोरको पाङ न पुच्छरको डुक््रयाइँले सारै आहत भएको थियो मेरो मस्तिष्क । प्रत्येक पटकको भगीरथ प्रयत्नका बाबजुद पनि तमोर तर्ने आँट बटुल्न नसकेपछि परमधाम प्राप्तिको दिगो प्रयत्न भेट्नुलाई करप्प निमोठेर इलाम पुग्ने चाहनाको झिनो डोरीले मलाई मेरो उद्देश्यमा डुबेर विलीन हुने स्थितिबाट बचाउन सक्दो प्रयत्न गरेको हुनाले नै म आज मात्रै होइन त्यस बेलामा पनि इलामको भक्त भइसकेको थिएँ ।
त्यसबेला मैले इलाम जाने इच्छा गर्नुका पछाडि दुईवटा कारण थिए । न्यायाधीशज्यूजत्तिकै नजिकका नातेदार इलामको कुनै कार्यालयमा खरिदार वा सुब्बा थाहा थिएन तर हुनुहुन्थ्यो । उहाँले पक्कै पनि केही उदारता देखाएर लक्ष्यमा पुग्ने मेरो उद्देश्यलाई कटमिरो बन्न दिनुहुन्न भन्ने आशाको डोरी बाटेर राखेको थिएँ मनभित्र । पढ्न पाइन्छ कि भन्ने आस पनि थियो, चुलोजुठोबाट मुक्ति नपाएता पनि राहत चाहिं पक्कै पाइन्छ कि भन्ने आशय पनि थियो । त्यतिखेर गएकै भए पनि म इलामसम्म मात्र पुग्ने थिएँ, बरबोटे चाहिं पक्कै पनि पुग्ने थिइनँ । किनभने बरबोटेको नामले इलाम जान इच्छाएको समयभन्दा झण्डै बाह्र वर्ष पछि मात्र लठ्याएको थियो । यस बाहवर्षको वनवास कालखण्डमा यदि कसैले मलाई सित्तैमा इलाम पुयाई दिन्छु भनेको भएपनि म जाने सोचाइमा फिटिक्कै थिइनँ ।
स्याङ्जा बलाम नित्यडाँडाका एकजना बाहुनचरीका बचेरा भुरुरुर्र उडेर इलाम क्याम्पसमा अध्यापन गर्दै भाषा र साहित्यको श्रीवृद्धिमा तरक्क पसिना चुहाउन थालेको भेद विभिन्न पत्र–पत्रिकाहरुले ओकल्न थालेपछि भने सरस्वतीका वरदपुत्रको चरणस्पर्श गर्ने लालसाले सताएपछि इलाम जाने रहर मेरो मनमा कोशी र कर्णालीका छाल जस्तै पुनः उर्लिन थाले, तमोर र तामाकोशीको वेग बनेर हुइँकिन थाले, गंगा र ब्रह्मपुत्रको छाल जस्तै छताछुल्ल भएर बग्न थाले । इलाम पुगेर सिलाम खानु परेता पनि हिंड्ने बेलामा गुन्टा नै लिलाम हुने उखान चरितार्थ भए पनि होस् भन्ने हौसला त कसेको थिएँ तर औकातको आँकडा घाँटीमा घन्टी बनेर बजिरहेको हुँदा गच्छे सधैँ तुहुन पुगिरहेको थियो । स्यालले साँढेको खै के जाति झर्ला र खाउँला भने जस्तै भइरहेको थियो मेरो अवस्था । संयोग मानौं या दुर्भाग्य उहाँ इलाम छोडेर मेरै करेसाको छिमेकी हुन आइपुग्नुभएपछि भने इलाम जाने इच्छालाई अकस्मात् वध गर्नु प¥यो मैले ।
झुटो कुरा गरेर भौतिक सुख र सम्पन्नताका चोइटाहरूलाई टिपेर पाङ्दुरे गफ छाँट्दै फाइँफुट्टी गर्नुभन्दा पुस्तकको छाप्रोमुनि औकातको गाँस टिपेर भुरुरुर्र उड्न पाए आफूलाई सौभाग्यशाली सम्झने काँटको मान्छे परें म । विज्ञानले निकै नै चुरीफुरी गरेको यस अवस्थामा डिस एन्टिना सहितको टेलिभिजन राखेर रिमोटमार्फत् नेटवर्कका विभिन्न च्यानेलहरूका विभिन्न कार्यक्रम हेरेर आफूलाई उपबुज्रुक ठान्ने सम्भ्रान्तहरूको जमातमा यस फिस्टेको घरमा अझै पनि जोईले पोइलाई बोलाउनु पर्दा ‘उठ्ने बेला भएन ? एक सल्ली अर्थात् एक जुवा घाम आइसक्यो’ अनि जोईलाई बोलाउनु परे ‘उठने बेला भएन ? हेर त पूर्व उज्यालो भैसक्यो, कुखुरा बासेको अघिनै हो’ भन्ने प्रचलन अद्यावधि कायमै छ भनेको सुन्दा निश्चय नै तपाईंले मेरो भोगाइको भूगोल थाहा पाउनुहुनेछ । तर यो एउटा कटु यथार्थ हो । त्यस कुराको पुनरावृत्तिले अझै पनि निरन्तरता लिइरहेको छ मेरो घरमा । ‘कस्तो पाजी नामर्द रहेछ जाबो पचास साठी रुपैयाँ हालेर टिक्टिके नै सही एउटा मामुली घडी पनि किन्न नसक्ने हुतिहारा रहेछ’ जस्तो तपाईंलाई लाग्ला ! तपाईंको सोचाइ पनि ठिकै हो तर हामी त प¥यौं गोठाले परिवारका टपरे वर्ग । हामीलाई घडीको आवश्यकता नै परेन कहिल्यै पनि । घडीको तालिकामा आवद्ध भएर बाँधिदै पैसाको पछि लागेर दमित वासनाको पुच्छर समाउँदै भौतिक सुखको सपनामा यान्त्रिक बन्दै लालचको कमारो भएर टाँगाको घोडा हुँदै हिड्नु छैन हामीलाई । हामी त कालिदासका मेघ हौं, नीलगिरिलाई छिचोल्दै विन्ध्याचल पर्वत पुगेर बर्सन्छौं । देवकोटाका मुनामदन हौं, प्रेम र प्रणयका प्रभावकारी पानाहरूमा भविष्यका सुन्दर खापाहरू खन्दै क्यानभासमा सुखमय जीवनको सजीव चित्र कोर्नु छ । त्यसैले प्रभातकालीन चराको सुमधुर स्वरसँगै बिउँझन्छौ । अस्ताचलमा रंगिएको सूर्यको पहेंलो विम्ब हेरेर साँझको अनुमान लगाउँछौं । सूर्यका कलिला किरण आँगनमा छरिन नपाउँदै कर्तव्यको बयलगाडा तान्न हर हमेसा काँधमा जुवा हालेर जुर्मुराउनु पर्छ भने केलाई चाहियो घडी र रेडियो ? गच्छेले नभ्याएर भनौं वा लालचले, मैले आज पर्यन्त घडी र रेडियो किन्ने आँट गर्न सकेको छैन । फेरि घडी र रेडियो भनेको समय सूचक यन्त्र हुन् । समयमा बेरिई सके पछि मान्छेको जीन्दगी यान्त्रिकतामा अनुवाद हुन पुग्दछ । बन्धनयुक्त जीवन भन्दा बन्धनमुक्त जीवन ज्यादै उल्लासमय लाग्दै आएको हुंदा यसैमा बानी बसाल्यौं ।
औकातको तराजुमा जिजीविषालाई हालेर हिंड्नु परेपछि रहर भन्ने वस्तु आफैं चाउरिँदै जाँदोरहेछ । चिसिँदै जाँदोरहेछ । एकताका नारायणदाइको स्वरको मोहनीले लठ्याएको बेला जिन्दगीमा पैसाको अलिकति कतैबाट जोगाड गर्न सकियो भने एउटा क्यासेट प्लेयर किनेर धित्नमरुन्जेल उहांको सङ्ग्रहित स्वर सुन्नेछु भनेर किरिया हाल्न मात्रै बाँकी राखेर प्रतिज्ञा गरेको थिएँ । मेरो आशाको अनुष्ठानलाई अघोरी औकातले भताभुङ्ग पारिदिएको हुँदा मेरो भीष्मप्रतिज्ञा शकुनीमा पुगेर टुङ्गियो । भिंmगाको बोसो निकाल्न सकेको खण्डमा महिनामा एक पटक एकदुईवटा सौ–पचासका नोट गन्न पाइने असन्तोषी अवस्थामा गुज्रान गर्नु परेपछि चिताएको कुरा पुयाउन कहां सकिंदो रहेछ र? त्यसमा पनि पाजी सौ–पचासले अहिलेको अवस्थामा आउँछ नैे पो के र ? भाका–उधारोमा थोत्रोमोत्रो क्यासेट पाइए पनि चक्काको जडौरी त मैले स्याहार्नै पर्छ । भाकामा भनौं भने पनि बरु जम्बो जेटमा बे्रक लाग्ला गिएर हाल्दा ब्याक होला, महंगीको कुरा नगर्नुस् । महंगी त सिमभञ्ज्याङको डाँडाबाट ओरालो लाग्दा ब्रेकफेल भएका सवारी साधन झैं हुन पुगेको छ, उँधिमुन्टी लगाउना साथ १००० कि.मि. प्रतिघन्टाको दरले दौडने जुर्मुराउने खालको । दुर्घटनाग्रस्त हुन रुचाउला, ध्वस्त हुन रुचाउला तर थामिने र पछाडि फर्कने नामनिसान नै लिन सकेको छैन। त्यसैले घडी रेडियोलाई भोलिवादको झोलीमा हालेर तृपन्ताम भन्दै तर्पण दिंदैछु ।
कुरा स्थानीय निर्वाचनको भोलिपल्टको हो । गाउँघरमा सन्तोष नामधारी सन्तान दर सन्तानका सस्ता सञ्चार उपकरणहरू आ–आफ्ना बुता र बर्गदले भ्याएसम्मको बल गरेर चिच्याउँदै कोकोहोलो मच्चाइरहेका थिए । कामूको ‘ला सुट’ समाप्त पार्न एकाबिहानैदेखि कम्मर कसेर समाधिस्थ भएता पनि समाचारको चित्कारले मेरो मानसिकता खल्बल्याइरहेको हुँदा शान्त स्थानको खोजीमा सँघार काटेर पाँचदस पाइला चालेको मात्रै के हुन्छु एक्कासि मेरो कानमा दिउँसो परेको चट्याङझैं बनेर बरबोटेको शब्द आएर बज्रन्छ । सुन्नासाथ आशङ्काले मन अमिलो पनि हुन्छ, धमिलो पनि हुन्छ । मनको भित्री कुनामा शङ्का र भयको दुर्गन्ध डुङडुङी गन्हाउन थाल्छ । अत्तालिएको मेरो मन अत्यासको कुइरीमण्डलमा गोताखान पुगे पछि म झसङ्ग हुन पुग्छु । सम्भावित आशङ्काको आवेगात्मक झिरले मेरो मुटुलाई चसक्क घोचेको हुँदा उतर्सिदै अनायास मेरो मुखबाट निस्कन्छ – के भयो हँ मेरो बरबोटेलाई ? हे परमेश्वर ! छौ भने यो अनिष्टको खड्को टारिदेऊ । कतै पातकी कर्मको पराकाष्ठामा पुगेको राजनैतिक उद्दण्डताको कालो कहरले प्रेरणाको पर्याय बनेर मुटुभरिभरि स्वाभिमान र राष्ट्रप्रेमको आलो अनुभूति साँचेर हिड्ने मेरो बरबोटे अर्थात् आराध्य अग्रज ताना शर्मालाई त कसैले केही गरेन ? आफ्नो तरुणाइको तुमुल ध्वनि घन्काएर बर्सिएको जेठ महिनाको उखर्माउलो गर्मीको मुटु फुट्न खोज्ने तातोमा स्वाभिमान संरक्षणार्थ खुइलिएको तालुको पसिना पुच्छदै भोट खसाल्न लाममा उभिनु भएको उहाँको आकृति मेरो कन्तुरे मनमा झलझली आइरहेपछि मलाई लाग्छ म आफ्नो संघारकै मतदान केन्द्रमा नभै बरबोटेको मतदान केन्द्रमा उभिएको छु र मेरो अगाडि एउटा सानू पाठशालाको परिसरमा उद्दण्डताका इदि अमिन र हुल्याहाहरूका नाइके हिटलरहरू निर्लज्जता र निरङ्कुशताको चरमचुलीमा पुगेर बर्बरताको प्रतिनिधित्व गर्दै आ–आफ्नो पक्षमा मत खसाल्न आफ्नो पुख्र्यौली बल निकालेर विपक्षीहरूको विचार र विवेकलाई छास्दै र छिमोल्दै नाडी सुर्किरहेका छन् । राजनीतिको कुइगन्धे सिनुलाई शुद्ध पार्ने आकाङ्क्षा लिएर लाइन लागेका हजारौं तारानाथहरू निरीह हुनुपरेको दारुण अवस्थामा न्यायको पुकारा गर्दै अन्यौलको पटाङ्गिनीमा छट्पटाइरहेका छन् मुन्टो छिनेको भाले छट््पटाए झैं अलपत्र परेको बालिगमताधिकारलाई हेरेर । प्रजातन्त्रको दुहाई दिँदै बल मिच्याइँका जङ्गबहादुरहरू अहङ्कारको नाकाबाट निक्लेर प्रत्येक निर्वाचन केन्द्रमा कोतपर्व मच्याउन जिउज्यान अर्पेर लागिपरिरहेको बेला बिचरा लाममा लागेका तारानाथहरूको कस्तो हविगत भयो होला ? के सोचेका थियौं ? के भयो ? बहुदलीय राजनीतिले कति चाँडो आफ्नो सक्कली स्वरूप देखायो । म भावनाको भेलमा हेलिँदै जान्छु, मेरा संवेदनात्मक श्रद्धा शब्दहरू झन्झन् छरिँदै जान्छन् छिरल्लिंदै जान्छन् र वर्तमानको अभिनयी अनुहारमा साटिएर खिल्ली उडाउन थाल्छन् मेरो भावनाको ।
बरबोटे प्रति मेरो मनमा सम्मान छ, सद्भाव छ, सदाशयता छ, किनभने बरबोटेको पावनभूमिले नै मेरा गुरु ताना शर्मालाई अगाडि बढ्दै जान उत्प्रेरित ग¥यो, बरबोटेको ममताले नै मेरो गुरुलाई असतोमा सद्गमयको वाणी सञ्चारित गर्यो,रबोटेको पानीले नै उहाँलाई ‘वसुधैव कुटुम्बकम्’ को बाटो हिड्ने हौसला दियो र बरबोटेको वातावरणलाई पितृप्रसादको रूपमा नेपाली साहित्यका आस्था र प्रेरणाका शिखर व्यक्तित्वको रुपमा उभ्याएर आशीर्वाद दियो । यही पितृ ऋण तिर्न अविश्रान्त पथिककोरुपमा नेपाली साहित्यको फराकिलो मार्गमा हिंडिरहनु पनि भएको छ ।
मतदान आज विथोलिए भोलि हुन्छ । भोलि नभए कुनै दिन हुन्छ । नभए पनि फरक पो के परिहाल्छ र ? तर तारानाथहरूलाई केही भयो भने फरक पर्नेछ । तारानाथहरूलाई अनिष्ट भयो भने साहित्य लङ्गडो हुन्छ । कुँडिन्छ र गति लिन थालेको नेपाली साहित्यले एकजोर दिव्यदृष्टि भएका पारदर्शी निरपेक्ष आँखा गुमाउनेछ र आउने पुस्ता अपाहिज हुनेछ,टुहुरो बन्नपुग्नेछ । साहित्यमा आँच आउनु भनेको राष्ट्रको शिर निहुरनु हो, स्वाभिमान गुम्नु हो । म स्वाभिमानी भएर बाँच्न चाहन्छु शिर झुकाएर हैन । त्यसैले बरबोटेको मतदान स्थगित हुनुभन्दा बढी समाचार सुन्ने धैर्य ममा हराइसकेको हुनाले अनिष्टको कालो बादल बरबोटेको सिरानतिर मडारिएको मैले सुन्नु नपरोस् भनी सकेसम्म हतारिंदै रेडियोको भोल्युम स्विचलाई मरीमरी बटार्न थाल्छु ।

चन्द्रनिगाहपुर, रौतहट ।

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 21 पौष, 2070

लेखकका अन्य रचनाहरु