कवि भोजराज न्यौपानेसँग साहित्यिक संवार्ता

- पेशल आचार्य

१) अहिलेका आफ्ना छोराछोरीको बाल्यकाल र आफ्नो बाल्यकालमा केही समानता वा असमानता छन् कि बताइदिनुहोस् न ?
उत्तर — समानता हुने कुरै भएन । मेरो बाल्यकालको परिवेश अति सामान्य थियो । म कालोपाटी प्रयोग गर्ने मेरो परिवारको अन्तिम पुस्ता हूँ । तर अहिले मेरा छोराहरू आइप्याड र ल्यापटप प्रयोग गर्छन् । २ वर्षको छोरो समेत यू ट्युबमा गीत सुन्छ । अब कसरी भनौं मेरो र अहिलेको बाल्यकालीन समानता ? अनि असमानता त आफैँ स्पष्ट नै छ नि ।
२) यहाँनेर आइपुग्न केकति मेहनत गर्नुभयो त यहाँले ?
उत्तर — म मात्रैले मेहनत गरेर होइन । देशको राजनीतिक परिवर्तन, आर्थिक सामाजिक परिवर्तनले समय फेरियो । यसैमा मैले पनि आफूलाई समाहित गर्ने मौका पाएँ । अहिलेपनि देशका अधिकांश विकट क्षेत्रका युवाहरूको तुलनामा मैंले धेरै सुविधा पाएको छु । यो मेरो सौभाग्य हो ।
३) जीवनलाई बुझ्दै हुनुहुन्छ ? वा बुझिसक्नुभयो ?
उत्तर — जीवन भनेको अनन्तयात्रा हो । कसले कसरी बुझ्ने ?
४) के रहेछ त बास्तवमा जिन्दगी भनेको ?
उत्तर — असल चरित्र, उपकारी भावना, सकारात्मक सोच र सबैको दुःखलाई आफ्नो दुःख ठानिदिने सुन्दर विचार मनमा आइरह्यो भने जीवनको सार्थकता त्यही हुनेछ ।
५) कृतिहरू कति छन् ? तपाईं अझै कुनकुन विधाका कति कृतिहरू लेख्ने र प्रकाशन गर्ने योजनामा हुनुहुन्छ ?
उत्तर — आकाश माथिको देवता (कविता सङ्ग्रह), सपनामाथि उभिएर (संयुक्त गीतसङ्ग्रह ) मेरा प्रकाशित कृतिहरू हुन् । कवितासङ्ग्रह र व्यङ्ग्यसङ्ग्रह प्रकाशनका तयारीमा छन् ।
६) तपाईंलाई आफ्नो मौलिक कृतिहरू निकालेपछि कस्तो अनुभूति हुने गर्छ ?
उत्तर— आत्म सन्तुष्टि । आफूलाई मन लागेको काममा सबै नै सन्तुष्ट हुन्छन् नि होइन ?
७) जीवनबाट कतिको सन्तुष्ट हुनुहुन्छ ? सन्तुष्ट हुने कारणहरू बताइदिनुहोस् न ।
उत्तर— एकदम सन्तुष्ट छु । धन्य छ, आमाबाको काखमा जन्मिन हुर्किन पाएँ । असल कुराहरू लेख्न÷पढ्न पाएँ । असल श्रीमती र उनको साथ पाएँ । यति त हो । बाँकी त सबैको आआफ्नै कर्म हुन्छ । त्यो गर्नै पर्छ ।
८) मोफसलीय साहित्यिक गतिविधिलाई कसरी मूल्याङ्कन गर्नु भएको छ ?
उत्तर —साहित्यमा मोफसल भन्ने हुँदैन । राजधानीबाहिर अहिले राम्रा गतिविधिहरू भैरहेका छन् । साहित्यिक मेलाहरू भएका छन् । राम्रा लेखक कविहरू सक्रिय छन् । राम्रा कृतिहरू आइरहेका छन् ।
९) साहित्यमा यौनको उपस्थिति कत्तिको आवश्यक ठान्नुहुन्छ ? सार्थक या निरर्थक ?
उत्तर — यौनको उपस्थिति निरर्थक भन्ने त हुँदैन । यसको अर्थ जबर्जस्ती सार्थक तुल्याउन खोज्ने लेखकीय प्रवृत्ति पनि राम्रो होइन । जस्तो, पछिल्लो समयमा केही नाम चलेका लेखक कविहरूले प्रयोग गरिरहेका छन् ।
१०) सम्वत् २०४६ अगाडिका साहित्यिक कृतिहरू र समकालीन साहित्यिक कृतिहरूमा गुणवत्ता र प्रभावकारिताका हिसाबले कत्तिको फरक पाउनुभएको छ त ?
उत्तर — गुणवत्ताका हिसाबले २०४६ अगाडिका कृतिहरू निकै स्तरिय छन् । तर प्रभावकारिताका हिसाबले त्यसपछिका कृतिहरू । किनभने ४६ साल पछिको राजनीतिक परिवर्तनपछि पुस्तकको वितरण, प्रकाशनले व्यापकता मात्रै पाएन । राजनीतिक स्वतन्त्रतापछि त्यसको प्रभावकारिता लेखनमा समेत देखियो । तर यसको अर्थ पुराना लेखक कविका कृतिहरूको प्रभावकारिता नभएको भन्ने आशय पटक्कै होइन । तपाईं हामी स्वयं देवकोटा, लेखनाथ, सम, भूपि , माधव घिमिरेका पुस्तक पढेर हुर्केका पुस्ता हौं ।
११) तपाईंलाई वर्तमान समयमा निस्केका आख्यान÷अनाख्यान कृतिहरूमध्ये कसकसका कुनकुन कृतिहरू कुन हदसम्म मन पर्छन् ?
उत्तर— डा.ध्रुवचन्द्र गौतम, कृष्ण धरावासी, नारायण ढकाल, नारायण वाग्ले र नयनराज पाण्डेका उपन्यासहरू, श्यामल, तीर्थ श्रेष्ठ, श्रवण मुकारुङ र विप्लव ढकालका कविताहरू, रोशन शेरचन, देवेन्द्र भट्टराई, शारदा शर्माका निबन्धहरू राम्रा लाग्छन् ।
१२) यतिका मान्छे साहित्य लेख्छन् ? तपाईंले नै परिश्रमपूर्वक साहित्य किन लेख्नु प¥यो होला ?
उत्तर— आत्म सन्तुष्टिका लागि ।
१३) उत्तरआधुनिकता भनेको के हो ? तपाईंका विचारमा नेपालमा यसको प्रयोग केकसरी भैरहेको छ ?
उत्तर — यस प्रश्नको उत्तर डा.गोविन्दराज भट्टराईसँगै सोध्नु पर्छ ।
१४) अब जीवनको धोको के रहेको छ ?
उत्तर — राम्रा पुस्तक पढ्ने र सुन्दर कविता लेख्ने ।
१५) स्व मूल्याङ्कनका आधारमा तपाईं सफल कि असल मानिस हो ?
उत्तर — म असल मान्छे हूँ ।
१६) विदेशी भूमिबाट अहिले विभिन्न मानिसहरूले लेखिरहेका साहित्यलाई तपाईंको विचारबाट कसरी मूल्याङ्कन गर्नु भएको छ ? विस्तृत रूपमा बताइदिनुहोस् न ?
उत्तर — नेपाली साहित्यलाई विदेशमा बस्नेहरूले अति सक्रियताका साथ ग्रहण गरिरहेका छन् । लेख्ने, प्रकाशन गर्ने, कार्यक्रम गर्ने समाचारहरू आइरहन्छन् । यो सबैभन्दा खुसीको कुरा हो । तर उनीहरूको यो सक्रियता क्षणिक र उन्मादी नबनोस् भन्ने मेरो कामना छ । किनभने घरबाट, आफन्तबाट टाढा हुँदा जवर्जस्ती कनिकुथी कविता लेख्नेहरूको संख्या धेरै छ । खासमा त्यो मनको वह पोखेजस्तै हो । यस्ता सबै खाले मनका वहहरू साहित्य बन्न सक्दैनन् । विदेशी भूमिमा उनीहरूले भोगेका अनुभवलाई राम्रोसँग लेख्न सक्ने हो भने धेरै राम्रा कृतिहरू नेपाली भाषामा पढ्न पाइने संभावना भने छ ।
१७) नेपालका साहित्यिक गुट उपगुटहरूलाई तपाईं कुन रूपमा लिनुहुन्छ ? कसरी ?
उत्तर— लोकतन्त्रको सुन्दर पक्ष नै सबैका विचारलाई गरिने सम्मान हो । यति धेरै उदार राजनीतिक परिवेश भएको मुलुकमा साहित्यका क्षेत्रमा पनि गुटउपगुट हुनु नौलो कुरा होइन । तपाईं गुटउपगुटमा हिँड्ने कि सिर्जनशील बन्ने भन्ने कुरा रोज्न पाउने हक त तिनै सर्जकसँगै छ नि होइन ?
१८) अन्त्यमा, नयाँ लेखकहरूलाई के सल्लाह दिन चाहनुहुन्छ ?
उत्तर– राम्रा पुस्तक पढ्नूस् । तपाईंको सिर्जनशीलता, आवाज उठाउन नसक्नेहरूको आवाज बन्न सक्यो भने सम्झनुस् तपाईं राम्रो लेखक बन्नुभयो ।

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 21 पौष, 2070

लेखकका अन्य रचनाहरु