अर्की आइमाई: अमेरिकाको अलिखित वास्तविकताको कथाव्यथा

- डा. गोबिन्दसिंह रावत

प्राक्कथन:
निलम कार्की निहारिकाको अर्की आइमाई पढेपछि भारतीय मूलकी क्यानेडियन निर्देशिका दीपा मेहताको हेबेन अन अर्थ चलचित्रको सम्झना आयो । यस चलचित्रमा पनि एकजना पंजाबीले नायिका प्रिटी जिन्टालाई पंजाबबाट बिहे गरेर क्यानाडा ल्याएर दासी बनाएको कथाव्यथा देखाइएको थियो । अमेरिका र क्यानाडा दुवैतिर यहाँको पर्मानेन्ट रेसिडेन्सी (पि.आर.) कार्ड पाउनका लागि कागजी विवाह, अस्थाई विवाह, सम्झौता विवाहबाट लिएर स्वार्थका लागि विवाहसमेत गरेर यहाँ प्रवेश गरेपछि शारीरिक तथा मानसिक शोषण गर्दै आएका घटनाहरु सुन्न र पढ्न पाइन्छ । यहाँको तथ्याङ्कले देखाए अनुसार यस्ता घटनाहरु विशेष गरेर दक्षिण एशियाली मूलका महिलाहरुमाथि हुने गरेको पाइन्छ ।
विषय प्रवेश ः
नेपाली साहित्यमा उपन्यास विधाले आजको मितिमा द्रुतगतिले विकास गर्दै गई रहेको पाइन्छ । कुनै पनि साहित्यकारले आफ्नो जीवनकालमा एउटा उपन्यास चाहि लेखेरै जाउ भन्ने ईच्छा राखेको पाइन्छ । यस लाममा पत्रकारहरु पनि थपिदै गएका छन् । त्यस्तै आफ्नो जीवनमा वा आफ्नो जीवनकालमा घटेका यथार्थवादी घटनाहरुलाई समेटेर उपन्यास लेख्नेहरु पनि भेटिन्छन् भने राष्ट्रमा देखापरेका सामाजिक, राजनैतिक वा आर्थिक विसङ्गतिहरुलाई समेटेर उपन्यासको खोल ओडाई दिनेहरु पनि देखिन्छन् । अझ विगतका परिवेशलाई वर्तमानमा आएर मनन गर्दै ऐतिहासिक उपन्यास लेख्नेहरुको संख्या पनि नेपाली साहित्यमा बढ्दै गएको पाइन्छ । वास्तवमा उपन्यास भनेको के हो ? विभिन्न श्रृङ्खलामा उनिएर मूलकथा संगसंगै अघि बढ्ने कथात्मक गद्य साहित्यलाई उपन्यास भनिन्छ । उपन्यासको भूमी व्यापक हुने गर्दछ । उपन्यासले जीवनको समग्रता र सम्पूर्णतालाई समेट्ने गर्दछ । उपन्यासमा जीवनको यर्थाथ पक्षको चित्रण गरिएको हुन्छ । नेपाली साहित्यमा उपन्यास विधा पाश्चात्य साहित्यको देन हो । नेपालमा परापूर्वकालदेखि नै कथा सुन्ने सुनाउने परम्परा रहेको थियो । लोककथा त्यसैको एउटा उदाहरण हो । पूर्वीय साहित्यमा पनि लामा कथाको परम्परा रहेको पाइन्छ तर उपन्यास रहेको पाइदैन । नेपाली साहित्यमा उपन्यास लेखनको थालनी १८ औं शताब्दीमा आएरमात्र भएको देखिन्छ । वि.सं. १८२७ मा शक्तीबल्लभ अर्यालको महाभारत विराटपर्वदेखि नेपाली साहित्यमा उपन्यास विधाले प्रवेश पाएको थियो । वि.सं. १८२७ देखि २०७० सम्म आईपुग्दा नेपाली साहित्यमा हजारौंको संख्यामा उपन्यासहरु लेखिएका छन् । त्यसै पंक्तीमा पछिल्लो उपन्यासका रुपमा आप्रवासबाट अर्की आइमाई देखापरेको छ ।
लोकार्पण परम्परा ः
आजको मितिमा नेपालमा उपन्यास विधाले विज्ञापन शैलीको प्रतिष्पर्धाको सामना गर्नु गरिरहेको छ । उपन्यास प्रकाशित भएपछि भव्यताका साथ लोकार्पण कार्यक्रमको आयोजना गरेर उपन्यासको सकारात्मक पक्षहरुमाथि प्रतिक्रिया दिने काम प्रतिष्ठित पत्रकार, साहित्यकार र समीक्षकहरुबाट गराइन्छ । ठूला ठूला पोस्टर, होडिङ्गबाट लिएर पत्रिकामा पानाभरीनै विज्ञापन छपाएर पाठकलाई आकर्षित गराउने काम गरिन्छ । उपन्यास विकाउने एउटा नयाँ व्यवसायनै बन्दै गईरहेको छ । त्यसैले छपाईसँगै लेखक वा प्रकाशकले उपन्यासको विज्ञापनका लागि पनि मोटै रकम खर्च गर्ने गरेको पाइन्छ । अन्य विधाका कृतिहरुमा पनि यस्तै प्रचारप्रसार गर्ने परम्परा नेपालमा बढ्दै गएको छ । तर २०१३ सालको अन्तिम महिनाको पहिलो दिन अमेरिकाको डि.सीबाट महिला आख्यानकार निलम कार्की निहारिकाको पहिलो उपन्यास अर्की आइमाईको लोकापर्ण एउटै बेग्लै शैली पहिल्याउँदै भएको थियो ।
बालकोट, भक्तपुरको शब्दहार क्रियशन्सबाट प्रकाशित अर्की आइमाई उपन्यासलाई दुई अध्यायमा विभाजित गरिएको छ । चार पृष्टको प्रारम्भलाई उपन्यासको पृष्ठभूमिका रुपमा राखेर १७७ पृष्ठमा पुरै उपन्यास टुङ्ग्याईएको छ । प्रारम्भलाई छोडेर गणना गर्दा पहिलो अध्यायमा १७ अंक र दोस्रो अध्यायमा १३ अंकसहित प्रस्तावना १, प्रस्तावना २, अन्तिम पातो र अध्याय लेखकको गरी १७ को संख्यामा नै पु¥याइएकोले कतै उपन्यासकारले यही १७ अंकलाई मनन गरी यसको लोकार्पण पनि विभिन्न पेशा र क्षेत्रका क्रियाशिल १७ जना महिलाहरुबाट गराएको आभास हुन्छ । यदी यो कागताली हो भने पनि उत्तम नै मान्नु पर्छ ।
आख्यानकारका रुपमा निलम कार्की निहारिका ः
निलमको साहित्य लेखनको थालनी कक्षा ६ अध्ययनरत् रहदा आमा कविताबाटनै भएको थियो । उनको पहिलो सिर्जनामा नै जननीको महिमाको बयानसँगै महिलाको पीडालाई उजगार पारिदिएको थियो । त्यसपछि साहित्य सेवाप्रति अग्रसर हुँदै रेडियो नेपालबाट दाहाल यज्ञनिधीसँग साहित्य कार्यक्रम संचालनमा आफ्नो योगदान दिदै कविता सिर्जनालाई निरन्तरता दिदै गएकी थिईन् । काव्यात्मक अनुभव बटुलेर आख्यानतिर कलमलाई मोड्दै निलमले कथा लेखन शुरु गरेको पाइन्छ । निलमले हवन, कागजमा दस्तखत र बेली तीनवटा कथा संग्रहका माध्यमबाट नेपाली आख्यान साहित्यमा एक सशक्त र यथार्थवादी कथाकारका रुपमा आफ्नो स्थान बनाइसक्नु भएको छ । नेपालबाहिरको नेपाली साहित्यको वास्तविक मूल्याङ्न भएको खण्डमा निलम कार्की एक जुझारु र परिपक्क नारी हस्ताक्षरका रुपमा देखा पर्ने छिन् । कथा साहित्यबाट आख्यान यात्रा शुरु गरेकी निलम कार्की निहारिकाको पहिलो उपन्यास अर्की आइमाई आज नेपाली साहित्यमा चर्चाको विषय बन्दै गएको छ । आफ्नो पहिलो उपन्यासलाई निलमले नियतिका रुपमा लिएकी छिन् ।
तीनवटा कथा संग्रहपछि उपन्यास लेखन तर्फ ढल्केकी निलमको लेखन शैली विशेष गरेर वस्तु यथार्थतिर ढल्केको पाइन्छ । समाजको वास्तविक तस्वीर उतार्न सफल निलमको कलमले आजको मानिसलाई आजकै धरातलमा उभ्याएर यथार्थपरक जीवनमा बाच्ने बाटो देखाइदिएको हुन्छ । जीवन र मृत्युका बीच अन्तरविरोध देखाउँदै पात्रलाई आशावादी र निराशावादी द्वन्द्वका बीच बाच्न बाध्य बनाउँदै पात्रप्रति सहानुभूति नदेखाउदै उसलाई आफै निर्णायक बनाइ दिएको हुन्छ । उनका कथाहरुमा आएका विचारहरुले मानवताका निम्ति उत्सर्गको कालजयी विचारले उनका आख्यान लेखनलाई उत्कृष्ट मानिएको छ । त्यसैले भन्न सकिन्छ, नेपालबाहिरको नेपाली साहित्यमा एक शसक्त नारी हस्ताक्षरका रुपमा स्थापित नाम हो निलम कार्की निहारिका । उत्तर अमेरिकाको उत्कृष्ट आख्यानकारका रुपमा आफ्नो स्थान निरुपण गरीसकेको नाम हो निलम कार्की निहारिका । अझ भनौ गैरआवासीय नेपालीहरुका माझ आफ्नो बैग्लै छवि बनाउन सफल भएकी नारी आख्यानकारको नाम हो निलम कार्की निहारिका । आप्रवासी नेपाली साहित्यको क्षेत्रमा आख्यान पस्केर आप्रवासी नेपालीहरुका माझ आफ्नो बेग्लै पहिचान बनाउन सफल नाम हो निलम कार्की निहारिका । यिनै निलमको पछिल्लो उपन्यास डिसेम्बर १ का दिन अनेसासको साहित्यिक भेलामा एउटा बेग्लै शैलीमा लोकार्पण गरिएको थियो । सत्रजना महिलाहरुलाई आफ्नो नवीनतम् उपन्यास अर्की आइमार्ई दिएर संयुक्त रुपमा उपस्थित दर्शकलाई देखाएर लोकार्पण गरिएको थियो । त्यही अवसरमा यो उपन्यास पढ्ने ईच्छा भएकोले बडोमुश्किलले ममता कर्मचार्यको सहयोगमा उपन्यासकारबाट हात पार्न सफल भएको थिए । अर्थात निलमको अर्की आइमाई उपन्यास उपन्यासकारबाट सोझै नपाएर अर्की आइमाईको माध्मबाट पाएको थिए ।
तत्वका आधारमा अर्की आइमाईलाई नियाल्दा
उपन्यास पढ्न शुरुगरेपछि त्यसले निर्वाह गरेको कुतुहलताले गर्दा पढ्ने निरन्तरता बढाउदै जान्छ । यो कुतुहलता बेला बेलामा भंग भए तापनि लेखकले निरन्तरता दिने प्रयास गरेकी छिन् । उपन्यासका आवश्यक तत्वका आधारमा निलमको अर्की आइमाईलाई नियाल्दा यसको कथावस्तु एउटी नारीको अविजयी संघर्षमा केन्द्रित रहेको देखिन्छ । उनी आफ्नो अस्तित्व र पहिचानका लागि १९ वर्ष खर्चेर हात लागे शुन्यको नतिजामा पुग्छिन् । फर्केर आएपछि पनि त्यहि नियति भोग्न बाध्य गराउनेहरुको माझमा रुमल्लिन पुग्छिन् । नारीको वेदनालाई यहाँ अन्तर्राष्ट्रियकरण गरिएको छ । अर्थात नारीप्रति गरिने शोषण प्रवृति विदेशमा पनि रहेको देखाइएको छ । नेपालदेखि अमेरिकासम्मको वातावरणलाई समेटेर लेखिएको प्रस्तुत उपन्यासले सरल र बोलीचालीको भाषालाई माध्यम बनाए तापनि धेरै ठाँउमा स्थानीय भाषाको प्रयोगद्वारा आञ्चलिकताको आभाष दिने प्रयास पनि गरेको पाइन्छ । तर समग्रमा भन्दा व्याकरणगत त्रुटी र अशुद्ध शब्द प्रयोगले संवादमा क्लिष्टता पनि ल्याएको छ । उपन्यासमा पात्रहरुको भीडनै लागेको छ । मुख्य पात्र र सहपात्रका रुपमा उपन्यासमा देखापरेका सबैपात्रहरुको परिचय राम्ररी भएको छैन् । पहिलो अध्यायको तेहे अंकमा अनावश्यक सुवर्णको घरमा भएकाहरुको विवरण पात्र पचियको रुपमा राखिएको छ जसले उपन्यासमा एउटा केही पाना थप्ने काम मात्र गरेको छ । मुख्य पात्रका रुपमा देखा परेका ताराको परिवारमा ६ जना सदस्य देखाइएको छ भने अर्का मुख्य पात्र सुवर्णको परिवारमानै १३ जना सदस्यहरु देखाइएको छ । त्यसबाहेक आशुतोष, धर्म भाइ, कृष्ण, सावित्री आदिहरु पनि सहपात्रका रुपमा कथावस्तुमा आउनेजाने गरेको पाइन्छ । कतिपय पात्रहरु उपन्यासमा फुत्त आएर बीचमै हराउछन् । यी पात्रहरुको आगमनले उपन्यासलाई गति दिदै गएको छ । कथानकलाई गतिमयता प्रदान गर्न पात्रहरुको प्रवेश र प्रस्थानलाई निरन्तरता दिदै जानु पर्छ र उपन्याससँग उसको सम्बन्ध बाँधी राख्न पात्रको चरित्रचित्रण हुनु जरुरी हुन्छ । जुन यसका भएका देखिदैन । पुरै उपन्यास ताराको चरीत्रमा केन्द्रित भएकोले ताराकै चरीत्रिक आरोह अवरोहमा निर्भर भएको छ । सबै पात्रहरुको सम्बन्ध सोझै ताराकै वरीपरी केन्द्रित भएको देखिन्छ । पात्रको चरित्रचित्रणले उपन्यासलाई गति दिनका साथै कुतुहलता पनि बढाउँदै जान्छ ।त्यसैले पात्रको चरित्रचित्रणमा लेखकले बढी ध्यान पु¥याउन जरुरी मानिन्छ । यस उपन्यासको मूल उद्देश्यका रुपमा नारी शोषणलाई देखाइएको छ । नारीलाई खेलौनाका रुपमा प्रयोग गर्न चाहनेहरु देश विदेश सबैतिर हुने गरेकोबारे प्रकाश पार्न लेखकले अमेरिकाकी छिमेकी ईलियाना र नेपालबाट अमेरिका पुगेकी सावित्रीको चरीत्र निर्माण गरेको देखिन्छ भने घरमा स्वस्नी हुँदाहुँदै विभिन्न कारण देखाएर अर्की आइमाईको चाहना राख्नेहरु देश विदेश सबैतिर सर्वत्र रहेको देखाउन नन्द भाइ, आशुतोष, थोमसको चरित्रलाई माध्यम बनाएको देखिन्छ । त्यस्तै महिलालाई माध्यम बनाएर नै कृष्ण जस्ता धेरैले अमेरिकाको ग्रिन कार्ड हात पारेको र आफुले धर्म भाइ बनाएकाले समेत स्वार्थका लागि दिदीलाई कागजी बिहेको प्रस्ताव जस्ता प्रसङ्गहरुले अमेरिकामा बस्नका लागि मानिसहरु मानवताको सीमा नाघ्न र सम्बन्धको पर्खाल भत्काउन समेत पछी नपर्ने जस्ता अतियथार्थवादी वास्तविकतालाई देखाउन यस उपन्यासको मूल उद्देश्य रहेको देखिन्छ ।
समष्टीमा अर्की आइमाईमाथिको घोत्लाई
उपन्यासको थालनी यात्राको क्रममा रहेको मुल पात्रको नेपाल भ्रमणबाट शुरु भएर नेपालमा नै गएर टुङिगएको छ । कथावाचन शैलीका माध्यमबाट कथावस्तु अगाडि बढ्दै गएको छ । आत्मकथा शैलीमा प्रस्तुत गरिएको अर्की आइमाई उपन्यासले एउटी महिलाको कष्टमय जीवनको चित्रण गरेको छ । उपन्यासलाई फ्ल्यास बैंक शैलीमा प्रस्तुत गरिएको छ भने आख्यान साहित्यको सशक्त पक्ष मानिने कुतुहलताको निर्वाह उपन्यासकारले सजिवताका साथ गरेकोले कथावस्तु र घटनाक्रम एकपछि अर्को गर्दै बग्दै गएको पाइन्छ । तर कतै कतै कुतुहलतामा अवरोधमा आएका छन् । उपन्यासले अमेरिकाको आप्रवासी जीवन शैली र त्यहाँ हुनेगरेको मानव तस्करीका विभिन्न घटनाक्रमलाई उदाङ्गो पारेर देखाइदिएको छ । अमेरिका स्वप्नको देश हो भने अमेरिका संघर्षको पनि देश हो भन्ने वास्तविकतालाई उपन्यासले देखाएको छ । काम नगरी बस्न नसकिने र त्यहाँ बस्नलाई अनैतिकबाट लिएर गैरकानूनी काम गर्नु पर्ने आप्रवासीहरुको बाध्यतालाई उपन्यासले देखाएको छ । अमेरिकामा आप्रवासीहरुको वास्तविक जीवन शैलीलाई देखाउदै त्यहाँ पुगेका र पुग्न चाहनेहरुको ईच्छा आकङ्छाहरुलाई विभिन्न पात्रका माध्यमबाट उपन्यासले समेटेको छ । उपन्यासले नेपालीहरुको अमेरिका गमनप्रतिको चासोको कारण नेपालमा देखा परेको अस्थिर राजनैतिक वातावरण र सुरक्षाको कमी रहेको देखाउन अनन्तका माध्यमबाट माओवादी जनयुद्ध र त्यसबाट उब्जिएको अशान्तीको वातावरणले गर्दा जनताहरु जनयुद्ध र नेपाली सैनिकको दोहोरो मारमा परेर अनि नेपालमा प्रजातन्त्रको पूर्नबहालीपछि पनि नेताहरुको मनोमानी र स्वार्थी रणनितिले गर्दा आफ्नै कार्यकर्ताहरु अलपत्रमा परेको वास्तविक सत्यलाई समेत उपन्यासमा ठाँउ दिएकी छिन् । उपन्यास मुलरुपमा अमेरिकाको बसाँईमा केन्द्रित छ । अमेरिकाको वास्तविक जीवन शैलीमा आधारित छ । अमेरिकामा आएका सुवर्ण मल्ल र उनका सकल परिवारलाई अभिजात्य वर्गका रुपमा देखाइएको छ र उनीहरुको कुटुम्बलाई खानदानी देखाउन बाजेबराजुदेखिको फोटोलाई माध्यम बनाइएको छ । तर तिनै मल्लका सन्तान ओरिकामा पुगेर मानव तस्करी गर्न समेत पछि नपर्ने देखाइएको छ । अमेरिका पुगेका खनाल परिवार जीविकोपार्जनका लागि धर्मनै परिवर्तन गर्न पुग्छन् तर छोराहरु लागुपदार्थका दुव्र्यसनी बन्न पुगेपछि उताको धर्म उतै त्यागेर नेपाल फर्की पशुपतिनाथलाई पुकार्न थाल्छन् । सावित्री कागजी विवाहमा गरेर अमेरिका त पुग्छिन तर कागजी बिहेलाई सरकारी छाप लगाउन आच्छ्यान तताउने माँग लोग्नेको मिलोमतोमा पुरा गरेर लोग्नलाई अमेरिका झिकाएपछि त्यही लोग्नेको तिरस्कारमा परेर बाध्य भई नेपालमा समाज सेवी बन्न पुग्छिन । विशाल र रमीला अमेरिकाको सीपलाई नेपालमा प्रयोग गरेर कृषिक्रान्तीमा लागीपरेका छन् । नेपालमा नेताको गाडीलाई भंसार छुट दिने गरेको तर किसानको उपजनीलाई उपभोक्तासम्म पु¥याउन चाहिने गाडीहरुमा छुट नदिने प्रसङ्गका माध्यमबाट नेपालको फितलो विकास नीति र प्रवृतिमाथि व्यंग्य गरिएको छ भने अर्को तर्फ विदेशबाट स्वदेश फर्केकाहरुबाट भईरहेका विकासका प्रयासमाथि सकारात्मक तरिकाबाट प्रकाश पारिएको छ ।
उपन्यासलाई एकै वाक्यमा भन्नु पर्दा पुरुषबाट पीडित एउटी महिलाको जीवनगाथालाई यस उपन्यासले उतार्न खोजेको छ । नेपालको गाँउमा सुकुम्वासी परिवारकी १७ वर्षीय तारालाई विद्यालयबाट छुटाएर आफुभन्दा दोब्बर उमेरका पुरुष दुई सन्तानका बाउ र त्यसमा पनि छोरा र काञ्छी बनाइएकी मुख्य पात्रका बीच ६ वर्षको मात्र फरक देखिन्छ । सुवर्णले तारालाई कागजी बिहे गरेर अमेरिकामा बेबी सिटर (छोराछोरी हेर्ने), हाउस किपर (घरमा काम गर्ने), लिभ–ईन केयर गिभर (घरका मानिसहरुको हेरविचार गर्ने) र बेड पार्टनर (यौन दासी) का रुपमा भित्र्याएका हुन्छन् । अनि आफ्नो स्वार्थ पुरा भएपछि उनलाई ससम्मान नेपाल फर्काई दिन्छन् । १९ वर्षको कन्ट्रेक्ट मेरिजअघि र पछिको घटनालाई समेटेर लेखिएको यस उपन्यासमा अमेरिकाको वास्तविकता मुखारित भएको छ । एनी हाउ अमेरिका जाउ भन्ने विचारमा रहेका नेपालीहरुका लागि अमेरिकाको एउटा पाटाको वास्तविकतालाई उपन्यासले उदाङ्गो पारेर देखाई दिएको छ । सम्पूर्ण उपन्यासको मजनुन भनेको अन्तिम अंकमा रहेको दुई पृष्ठको अध्याय लेखकको रहेको छ । उपन्यासकारले बयान गरेको यही यथार्थवादी घटनालाई विषयवस्तु बनाएर अविकसित राष्ट्रबाट अतिविकसित राष्ट्र अमेरिकामा बसाँई सराई गरेका अविकसित राष्ट्रका बाठाहरुले धेरैनै ताराहरुलाई अमेरिका पु¥याई सकेको र पु¥याउने क्रम जारीनै रहेको वास्तविकताको वयान सरल भाषा शैलीमा गरेकी छिन् । उपन्यासकारले आफ्नो लेखाइलाई प्रभावकारी बनाउन कतै कतै सिनेमेटोग्राफी शैली अर्थात दृश्यात्मक शैलीलाई पनि प्रथमिकताका साथ प्रयोग गरेको देखिन्छ । धेरै ठाँउमा उपन्यासका पात्रहरु आफु अघिल्तिर उभिएर संवाद बोलेझै लाग्छ । निलमले ग्रामिण परिवेशलाई हुबहु उपन्यासमा उतार्न स्थानीय भाषालाई समेत प्राथमिकता दिदै उपन्यासमा आङ्चलिकताको आभाष दिने प्रयास गरेको देखिन्छ ।
उपन्यासकारले तारालाई द्वन्द्वहीन पात्रका रुपमा उभ्याएर अमेरिकामा बसुन्जेल सुवर्णको रखेलमात्र नभएर आशुतोषको मनोरञ्जनको साधन र घरपरिवारका लागि काम गर्ने निशुल्क कामदारका रुपमा प्रस्तुत गराइएको छ भने तिनै तारा नेपाल फर्केपछि एक आदर्श नारीका रुपमा चित्रित हुन पुगेकी छिन् । उनमा पनि नारी मानसिकतानुरुप शारीरिक चाहनाका ज्वारभाटाहरु आउने गरेको देखिन्छ । तर लेखकले तारालाई आदर्शनारी बनाउने होडमा उनका चाहनाहरुको हत्या गरेर उपन्यासको अन्त्य फिल्मी शैलीमा जबरजस्ती आदर्शनारीको चरित्रमा देखाएर लेखकले मुख्य पात्रलाई संघर्षहीन नारीका रुपमा परिभाषित गर्न खोजेको आभाष हुन्छ । उपन्यासले व्यक्ती स्वतन्त्रता, महिलाको पीडा र अधिकारको कुरा, परिस्थितिसँग लड्न आफैमा आत्मबल आउनु पर्ने, महिला शसक्तीकरणका कुराहरुलाई उजगार पारेर यसका लागि आफै सक्षम हुनु पर्ने अधिकार बोध गराएको छ ।
लेखकले इमान्दारीतापूर्वक नेपाल र नेपालीहरुको मनस्थितिलाई देशभित्र र बाहिर समानान्तर रुपमा रहेको देखाएको पाइन्छ । जस्तै एक्काइशौं शताब्दीमा पनि छोराको चाहनामा तीनवटा छोरी जन्माउन महिलालाई बाध्य बनाइने सोच डाक्टर आशुतोष जस्ता पढेलेखेका व्यक्तीमा रहेको छ भने अशिक्षित ग्रामिण पुरुषको मनस्थिति कस्तो होला ? भन्ने सोच्न बाध्य गराउँछ । त्यस्तै एउटी अबलालाई आफ्नो स्वार्थका लागि प्रयोग गर्न नन्द भाइ र धर्म भाइ जस्ता चरित्रहरु यत्रतत्र जताततै रहने गरेको यथार्थतासँगै कागजी बिहेले उब्जाएको अलिखित वास्तविकतालाई पनि उपन्यासले देखाइदिएको छ । यस उपन्यासले अमेरिकाली जीवन शैलीको एउटा पाटाको उद्घाटन गरिदिएकोले आप्रवासी नेपाली साहित्यको एउटा महत्वपूर्ण कृतिका रुपमा लिन सकिन्छ ।
कमजोरीहरु ः
उपन्यासलाई विभिन्न शीर्षकमा राखिएको भए तापनि धेरै ठाँउमा शीर्षक दोहोरिएका छन् – पहिलो अध्यायको अंक ११ र १५ एउटै शीर्षक स्यान्टियागो र हिउँ मान्छे, दोस्रो अध्यायको अंक ९ र १० एउटै शीर्षक चिसो घाम, यही अध्यायको अंक ११ र १२ भगवानको प्रङ्गणमा आदि दोहोरिएका छन् ।
व्याकरणगत् र भाषगत् त्रुटीहरु धेरै ठाँउमा देखिन्छन् ।
उपन्यासलाई विभिन्न अध्यायमा विभाजित गर्ने नवीन प्रयास गर्न खोजिएको देखिए तापनि प्रस्तावना १, प्रस्तावना २, अन्तिम पातो जस्ता अनावश्यक शीर्षकमा विभाजित गर्नुको औचित्य देखिएन ।
उपन्यास लेख्न तीन वर्ष खर्चेको जानकारी लेखकले दिए तापनि हतारमा अन्त्य गरेको देखिन्छ । पात्रहरु आउनु जानु र नयाँ पात्र जन्मनुले कथामा गतिमयता आए तापनि त्यसले निरन्तरता नपाउनाले उपन्यासको रफ्तारमा कमजोरी ल्याएको छ ।
कथावाचन शैलीबाट शुरु गरिएको उपन्यासले आत्मपरक शैलीलाई निरन्तरता दिदै जानु पर्नेमा एकरुपता देखिदैन । कतै कतै नाटकीय शैलीको नवीन प्रयोग असफल अनसुरण गर्न खोजिएको देखिन्छ ।
१९ वर्षको अमेरिकावासको क्रममा सबै पक्षलाई समेट्ने प्रयासमा गरे तापनि नकारात्मक पक्षहरुलाई मात्र चित्रण गरिएको देखिन्छ । अमेरिकाको सकारात्मक सामाजिक पक्षको चर्चा गर्न नसक्नुलाई पनि लेखकीय कमजोरीका रुपमा लिन सकिन्छ ।
स्वार्थको सेरोफेरोमा उपन्यास
उपन्यासमा सबै पात्रहरु आआफ्नो स्वार्थमा अघि बढ्दै गएको पाइन्छ । सुवर्णले तारालाई आफ्नो स्वार्थका लागि बिहे गरेर अमेरिका पु¥याएर स्वार्थपूर्ति भएपछि छोडी दिन्छन् र यसमा ईभाको पनि सहभागिता रहेको देखिन्छ । आशुतोषले आफ्नै स्वार्थका लागि अमेरिकामा रहुञ्जेल तारालाई मनोरञ्जनको साधन बनाएर नेपाल फर्केपछि छोरो पाउने आसमा बिहेको प्रस्ताव राख्न पुग्छ । अमेरिका बसुञ्जेल नन्दको डरले मौन बसेको नन्दे भाइले पनि नेपालमा आएर तारालाई आफ्नो स्वार्थका लागि छोरा पाउने प्रस्ताव राख्छ । धर्म भाइ राजिव पनि ग्रिनकार्ड पाउन धर्म दिदी बनाएको तारालाई आफ्नो स्वार्थका लागि कागजी बिहे गर्ने प्रस्ताव राख्छ । अझ ताराका परिवारले पनि आफ्नो स्वार्थका लागि १७ वर्षीय ताराको बिहे दोब्बर र एघार वर्षको छोरासमेत भएको सुवर्णसँग गराइदिन्छन् । गाविस अध्यक्ष पनि आफ्नो स्वार्थका लागि ताराको घरमा नै आएर सरकारी कामकाज गरीदिन्छन् । तारा पनि आफ्नो स्वार्थका लागि अवचेतन मनभित्रको अतृप्त चाहनालाई नजादिदो तरिकाबाट मेटाउन अमेरिकामा आशुतोषसँग नजिकता बनाउन पुग्छिन् । कृष्णबाट लिएर सावित्री र जगन्नाथबाट लिएर थोमस संगसंगै सावित्रीको लोग्ने सबै पात्रहरु उपन्यासमा आआफ्नो स्वार्थका लागि चित्रण भएको पाइन्छ । त्यसैले अन्त्यमा तारा पनि आफ्नो सबै सम्बन्ध त्यागेर एउटा नयाँ जीवनको थालनी गर्ने नयाँ सोच लिएर आशुतोष, नन्दे भाइ र धर्म भाइ राजिवको प्रस्तावलाई त्यागेर सुवर्ण, नन्दे भाइ, धर्म भाइ राजिव, धनराज, दिनेश, रुपक, कृष्ण, जगन्नाथ, चेतन सबैको चारीत्रिक स्वार्थलाई एकपटक मनन् गरेर नयाँ स्वार्थपूर्तिका लागि अग्रसर भएको देखाएर उपन्यास टुङ्गाइएको छ ।
निष्कर्ष ः
एउटी महिलाको १९ वर्षीय संघर्षमय जीवनको जोडघटाउमा आधारित प्रस्तुत उपन्यासले नेपालको सामाजिक यर्थाथवादी स्वरुपको चित्रण गर्दै अस्थिर राजनीति र असुरक्षित सामाजिक अवस्थाले गर्दा सबैमा अमेरिका जाने चाहना रहेको छ । प्रस्तुत उपन्यासले नेपालीहरुको पलायन हुनु पर्ने बाध्यतामाथि प्रकाश पार्दै त्यसक्रममा देखापरेका महिला शोषणका विभिन्न पाटाहरु र अमेरिका पुग्नलाई मानिसहरुले अवलम्बन गर्दै आएका अमानवीय तथा स्वार्थपूर्ण सम्झौताहरुको फेहरिस्त तयार पारेको छ ।
एकै शब्दमा निष्कर्षमा भन्नु पर्दा निलम कार्की निहारिकाको अर्की आइमाई उपन्यासलाई अमेरिकाको अलिखित वास्तविकताको कथाव्यथा समेटिएको आप्रवासी नेपाली आख्यान साहित्यको प्रतिनिधित्व गर्ने कृतिका रुपमा लिन सकिन्छ । (गोसिरा डिसेम्बर ३०)

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 16 पौष, 2070

लेखकका अन्य रचनाहरु