बाल साहित्यतर्फ अग्रसर हरिदेवी कोइरालाको मन

- तुलसी प्रवास

हरिदेवी कोइराला हरेक नेपालीको मन मस्तिष्कमा छाएको नाम हो । विशेष गरी लोकगायिकाको रूपमा परिचित कोइराला पोखरेली समाजमा लोकसाहित्यकारको रूपमा समेत उत्तिकै परिचित छन् । उनको रगतमा लोकगीत मिसिएर बगेको भएर होला उनले रचना गर्ने अन्य साहित्यमा समेत लोकको सुगन्ध मिसिएको हुन्छ । उनै चर्चित गायिका प्राज्ञ हरिदेवी कोइरालाको ‘कस्का जन्ती आए ?’ नामक बाल गीत संग्रहमा केन्द्रित रहेर यो लेख तयार पारिएको छ ।
वि.सं. २०१५ चैत्र १७ गते आइतबारका दिन कास्की जिल्ला पो.उ.म.न.पा. ६ बैदाम (लेकसाइड)मा पिता योगेन्द्रबहादुर भट्टराई र माता जगतकुमारी भट्टराईको कोखबाट हरिदेवी कोइरालाको जन्म भएको हो । हाल पो.उ.म.न.पा. ४, गणेशटोलमा आफ्ना पति रामबहादुर कोइराला, छोरा शीतल, पवन र छोरी छायाँका साथमा बस्दै आएकी कोइराला पोखराभित्रका धेरै नै संघसंस्थासँग आबद्घ छन् । नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठान (प्राज्ञ सभासद), हरिदेवी साहित्य सम्मान कोषको संरक्षक, लेखनाथ साहित्य प्रतिष्ठानको सल्लाहकार लगायत एक दर्जनभन्दा बढी साहित्यिक साँस्कृतिक र सामाजिक संघ–संस्थामा कुनै न कुनै भूमिकामा संलग्न रहेर उनले आफ्नो क्रियाशील व्यक्तित्वको परिचय स्थापित गरिरहेकी छन् । विभिन्न कवितासंग्रह लोकगीतसंग्रह, तीजगीतसंग्रह जस्ता पुस्तकाकार कृतिहरु यस समाजलाई पस्की सकेकी कोइरालाको वास्तविक पहिचान भने लोकगीत र लोकगायिका नै हो । हरिदेवीलाई नदेख्ने र नजान्नेहरुले पनि उनको ‘पाइन खबर‘ नामको गीत सुनेको हुनुपर्छ । उनी त्यही ‘पाइन खबर, घर फर्की आउनुहोस् मेरो हजुर.........’ नामको लोकगीतबाटै हरेक नेपालीको मनमा छाउन सकेकी हुन् । अत्यन्तै सुमधुर र कर्णप्रिय स्वरकी धनी हरिदेवी कोइरालाका हालसम्म ८१ वटाभन्दा बढी लोक तथा दोहोरी गीतका एल्बमहरु प्रकाशित छन् । साथै रेडियोमा दुईसय जति गीत रेकर्ड भैसकेका छन् । एकल लोकगीत , दोहोरीगीत , तीजगीत, भजन, चुड्का आदिमा समेत उनको स्वरलहरी फिँजिएको छ । जति स्वरमा मधुरता छ त्यति नै उनको आनिबानी पनि सभ्य, शिष्ट र शालीन छ । सबैसँग मिठो बोली बोल्ने, आदर र प्रेम भाव प्रकट गर्ने, कसैसँग नरिसाउने आदि उनका व्यवहारगत विशेषता हुन् । उनी एउटी सफल सर्जक, असल गृहिणी, मायालु पत्नी, जिम्मेवार आमा अनि यस समाजकी एउटी प्रेरणा पनि हुन् ।
एउटा पुरुष सफल हुनमा असल पत्नीको भूमिका महत्वपूर्ण भएझैँ एउटी महिला सफल हुनमा श्रीमान्को पनि उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ । हरिदेवी कोइरालाका पति रामबहादुर कोइराला पनि त्यस्तै पुरुषमा गनिन्छन् । कुनै पनि सभा समारोह उत्सव आदिमा रामबहादुरविनाकी हरिदेवी बिरलै भेटिन्छिन् । यस्तो सुमधुर सम्बन्ध शायद कुनै सर्जकको भेटिएला । हरिदेवी कोइराला सफल हुनमा उनका पति रामबहादुर कोइरालाको साथ सहयोग र सद्भाव अत्यन्तै महत्वपूर्ण रहेको छ । त्यसैले त आज हरिदेवी देश विदेशमा समेत सम्मानित र पुरस्कृत छन् । उनका १५० भन्दा बढी सम्मान, पुरस्कार, अभिनन्दन र कदरपत्रले उनको बैठक कक्ष खचाखच भरिएको छ । यिनै प्रतिभाशाली स्रष्टा हरिदेवी कोइरालाको पछिल्लो बालगीत संग्रह ‘कसका जन्ती आए?‘ भित्रका ‘जन्ती बालगीत’ को विषयमा छोटो चर्चा यहाँ गरिएको छ ।
‘कसका जन्ती आए?’ नामक बालगीत संग्रह हरिदेवी कोइरालाको २०७० जेठ महिनामा प्रकाशन भएको कृति हो । सुन्दर भविष्यको कामनासहित सम्मपूर्ण बाल बालिकप्रति समर्पित गरिएको यस कृतिमा जम्मा ३४ वटा बालगीतहरू समाविष्ट छन् । चर्चित पोखरेली कलाकार पदम घलेको सुन्दर आवरण र गीतको भाव अनुसार सजिएका चित्रहरूले यस कृतिमा थप सौन्दर्य भरेका छन् । पहिलो गीत ‘कसका जन्ती आए ? बाट नै उक्त कृतिको नामकरण भएको छ । हरिदेवी कोइराला आफू मूलतः लोकगायिका भएकाले होला यस संग्रहका लगभग सबैजसो गीतहरु लोकसँग सम्बन्धित छन् । यस कृतिलाई बाल लोकगीत अन्तर्गत राखेर अध्ययन गनुपर्ने देखिन्छ । हाम्रो समाजमा प्रचलित संस्कार रहनसहन, भाषा, बोली, आदिको सुन्दर प्रस्तुति एकातिर यस कृतिमा पाइन्छ भने अर्काेतर्फ देशप्रेम, नैतिकता र शिष्टताको पाठ सिकाउने गीतहरु पनि यसभित्र समेटिएका छन् ।
कृतिको पहिलो गीत ‘कसका जन्ती आए ?’ मा हाम्रो नेपाली समाजको विवाह संस्कारको प्रसङ्ग छ । विवाहमा पञ्चे बाजा बजाउन,े नेपाली पोशाक र दुबोको मालाले सजिएर दुलाहा दुलही लिन जाने प्रसङ्गलाई बडो सजीव तरिकाले प्रस्तुत गरिएको छ । जस्तै ः—
दुलाहाले दौरा सुरुवाल टोपी लाएका
दुबो फूलको मालाले राम्रो भएका
....................................
दुलही पनि रातो साडी रातै चोली
पछ्यौरीले मुख छोपेकी हेर डोलीमा
(कसका जन्ती आए ? पृ– .१)
वर्तमान समयमा शिक्षाको विकास र आधुनिक शहरीकरण अनि विज्ञान र प्रविधिको अधीकतम प्रयोगले सामाजिक जीवनशैलीमा ठूलो परिवर्तन देखा परेको अवस्था छ । अस्पतालमा जन्मेर शहरको साँघुरो कोठामा हुर्किएका र कोठाभित्रैबाट विश्व देखेका आजभोलिका बालबालिका यान्त्रिक जस्तै बनेका छन् । हाम्रो रीतिरिवाज, चालचलन, सामाजिक संरचना आदिको सामान्य ज्ञानसम्म पनि उनीहरुमा पाइँदैन । त्यस्ता बालबच्चालाई समय समयमा हाम्रा गाउँ, बस्ती, पाखा पखेरा, मेलापात आदिको भ्रमण गराएर सामाजिक बनाउन अत्यन्तै जरुरी छ । त्यसको लागि एउटा राम्रो सामाग्री हो यो ‘कसका जन्ती आए ?’कृति । यस कृतिमा प्रस्तुत भएका गीतहरुले बालबालिकलाई सामाजिक बन्न प्रेरित गर्छन् । हाम्रो समाज, संस्कृित, चालचलन र हाम्रा बोलीचाली, भाषा आदि सिकाउँछन् ।
आमाले गुन्द्रुक खाँद्नुभो, बाँसको लामो ढुङ्गग्रामा
दिदीले मकै पोल्नुभो अँगेनाको भुङ्ग्रामा
(आमाले गुन्द्रुक खाँद्नुभो, पृ– ३)
आजभोलिका शहरिया बच्चाले न गुन्दु्रक देखेका होलान् न बाँसको ढुङ्ग्रो र आगाको भुङ्ग्रंो । त्यसैगरी ढिकी, जाँतो, मदानी, ठेकी, आँगन, मझेरी, पिँढी, दुना टपरी, गौवा आने .....आदि कैयौँ शब्दहरु अब प्रयोगविहीन र मृतप्रायः भएका छन् । आधुनिक शिक्षाले यी सबैलाई आफ्ना पाठ्यक्रममा समावेश गर्न सकेको छैन । अनुकरणमुखी शिक्षाको परिणाम हाम्रा बाल बच्चाले भोगिरहेका छन् । यस्ता कैयौँ कैयौँ सांस्कृतिक र ठेट नेपाली शब्दहरुको प्रयोग प्रस्तुत बालगीत संग्रहमा पाउन सकिन्छ ।
जस्तैः—
पराल राख्नी टौवामा
गाई दुहुनी गौवामा
दूध तताउनी कुँडेमा
दही मथ्ने ठेकीमा
.............

मकै भुट्नी हाँडीमा
रोटी हाँल्नी तावामा
भैँसी बाँध्ने दाम्लाले
भारी बोक्ने नाम्लाले
(हजुरबाले भनेर बल्ल मैले जानेको, पृ– ६)
त्यसैगरी यस कृतिमा देशप्रेमका भावहरु, पोखराको वर्णन गरिएको गीत, बाह्रै महिनाको नामसहितका गीतहरु लगायत बालबालिकाको खानपान, विद्यालयको महत्व, पढाइ लेखाइको महत्व, साथभिाइको सम्बन्ध, कक्षाकोठाको सरसफाइ, सरुवा रोगहरुको जानकारी, बानीबेहोरा जस्ता विषयहरु समेटिएको छ । यी सबै सामग्रीहरु बालबालिकाका लागि अमृत सरह सावित हुनेछन् ।
अन्तमा, हरिदेवी कोइरालाद्वारा रचित प्रस्तुत ‘कस्का जन्ती आए ?’ एउटा उत्कृष्ट बाललोकगीतहरुको संग्रह हो । यसमा नेपाली लोकजीवन प्रतिबिम्बित भएको छ । शिक्षाको आधुनिकीकरणसँगै विकृति र विसङ्गतिको शिकार भएका आजका बालबालिकालाई धर्म, संस्कार, नैतिकता, देशप्रेम, सकारात्मक बानीबहोरा लगायत ठेट नेपाली शब्दहरुको ज्ञान दिलाउन प्रस्तुत कृति सफल छ । हरेक बालबालिकाको झोलामा, हातमा र घरघरमा हुनैपर्ने कृतिको रुपमा यस बालगीत संग्रह रहेको छ । प्रेरणादायी, लयात्मक र सन्देशमूलक शब्द यस कृति भित्रका गीतहरुमा पाइने प्रमुख बिशेषता हुन् । लोकगीतबाट उदाएकी एउटी जीवन्त स्रष्टाको कलमले बालबालिकाको लागि पस्केको यो सङ्ग्रह आफैमा पूर्ण र प्रेरक छ । आगामी दिनमा पनि स्रष्टा हरिदेवी कोइरालाको कलमले यस्तै सुन्दर कृतिको रचना गर्दै जाऊन् । कोकिलकण्ठी आवाजसँगै प्रेरणादायी शब्द रचनाका लागि लाख लाख शुभकामना !
हिमालको हाँसो राम्रो पहाडको लाली
गण्डकीको जल राम्रो तराइको बाली
परेवाको आँखा राम्रो सोरठीको भाका
सबैभन्दा अझै राम्रो आफ्नै देशको भाका ।।।
(सारङ्गीको सुर राम्रो, पृ–४)
(लेखक नेपाली लोकगीतमा पिएच.डी. अनुसन्धानरत छन् )

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 16 पौष, 2070

लेखकका अन्य रचनाहरु