गीतकारका रूपमा पुरण गिरी

- नवीन पौड्याल

१. आमुख- साहित्यमा कविता विधा सबैभन्दा लोकप्रिय र बहुप्रायोगिक देखिन्छ। एक हरफेदेखि लिएर लाखौं हरफसम्मका कवितात्मक स्वरूप पाइन्छन्। कविताका विविध ढाँचा, तरिका र प्रयोगबाट लेखिने गरिन्छ। कविता एउटा ठुलो विधा हो भने हाइकु, गीत, खण्डकाव्य, महाकाव्य, गजल आदि उपविधाका रूपमा रहेका छन्। कविता विधाभित्रको एउटा उपविधाका रूपमा रहेको गीत खुबै लोकप्रिय देखिन्छ। यो कोमल अनुभूतिहरूका लयात्मक अभिव्यक्ति हो। साहित्यमा रूचि नराख्ने व्यक्तिहरूसमेत गीतमा झुम्ने गर्छन्। गीतका तीन गायन, वाद्यवादन र लेखन गरी तीन पक्ष रहेका हुन्छन् औ यी तीनै कुराहरूको कुशल र सफल संयोजनाबाट मात्र असल गीतको निर्माण हुन्छ। गीतका तीन पक्षमध्ये लेखन पक्ष कमजोर भयो भने गीत नै कमजोर भइदिन्छ। गीतकारले सुन्दर भावधाराका गीत लेखे त्यो गीत असल हुन्छ। यहाँ गीतको गायन र वाद्य-वादन पक्षलाई नछोई लेखन पक्षमाथि मात्र अध्ययन प्रस्तुत गरिन्छ।
२. गीत लेखन र पुरण गिरी- नेपाली गीतको फाँटमा दार्जीलिङका पुरण गिरी नबिर्सने र नछुट्ने नाम हो। उनको जन्म कालिम्पोङमा सन् १९६१ मा भएको हो।उनी बाबु स्व. टेकबहादुर गिरी र आमा स्व. डम्बर कुमारी गिरीका कान्छा छोरा हुन्। उनी जन्मजात गीतकार हुन्। ‘कविता लेख्न खोज्दा स्वतः गीत नै जन्मन्छ’ भन्ने स्वयम् उनको भनाई पनि चरितार्थ हुन्छ। यद्यपि हल्ला, विज्ञापन, बडप्पनदेखि अलग्ग रही एकनिष्ठ, समर्पित, आफ्नै सिर्जनाको संसारमा रमाउने सर्जक हुन् पुरण गिरी। उनी गीतभित्र डुबेका छन्, गीतमा हुनुपर्ने गुण, विशेषता र लक्षण चिनेका छन् औ गीतको मर्म बुझेका छन्। उनका गीतहरू संगीतकारहरूले संगीत दिएर तथा गायकहरूले गाएर साँच्चै न्याय दिएका छन्। सबै गीतहरू मिठा बनेका छन्। पेमा लामाले गाएका ‘तिमी जिन्दगीसित सम्झौता गर’, ‘आमाको माया बरै गंगाको पानी’, अनुपमा प्रधानले गाएकी ‘मायाका ती मीठा कुरा’, उदय–मनिलाले गाएका उनका सबै गीतहरू, हिरा रसाइलीले गाएका गीतहरूलगायत सबै गीतहरू मीठा छन्। संगीतका सन्दर्भमा भने दीप वाइबाले अधिकाङ्श गीतलाई संयोजन गरेका छन्।.यसमा जम्मा एकसय आठवटा गीत छन् भने जम्मै गाइएका छन्। नेपाली गीत रचनाको फाँटमा गीतकारको कम नाम चले तापनि गीतकारको आफ्नै महत्व हुन्छ। गीतमा रहेका शब्द माधुर्य, गेयात्मकता, कोमल वर्ण प्रयोग, लयान्विति, आक्षरिक संरचना, अनाख्यानात्मकता, एकान्विति, शब्द-शब्दगत सुशृङ्खला इत्यादि कुराहरूका तालमेल नै असल गीतका लक्षण हुन्छ। गिरीका गीत पनि यी सबै लक्षण पाइन्छन्। कल्पना माधुर्य, शाब्दिक क्रीडा-कौतुक, भावगत वैचित्र्य, संवेदनात्मक तरलता, संगीतात्मक सचेतता र अनुभूतिजन्य लालित्यले उनका गीत उत्कृष्ट बनेका छन्। एकजना संवेदनशील मान्छेको मनमा आउने कल्पनामा जे जे आउँछन् तिनलाई प्रगीतात्मक अभिव्यक्ति दिने सामर्थ्य पुरण गिरीमा पाइन्छ।
३.‘जिन्दगीको लयान्तर’को संक्षिप्त अध्ययन -आजसम्म उनको एउटै गीत-सङ्ग्रह जिन्दगीको लयान्तर सन् २००८ मा प्रकाशित भएको देखिन्छ। उक्त गीतसङ्ग्रहमा जम्मा एक सय आठवटा गीतहरू समावेश छन्। उनले रचेका गीतहरूबाट पचास प्रतिशत जति गीतहरू यसमा समाविष्ट छन् त्यही पनि ‘संगीतकारहरूका घरतिर गई सङ्कलन गरिएको हो अनि सङ्ग्रह गर्न नसकेका गीतहरू यसमा समावेश नभएकोमा उनलाई साह्रै खल्लो लागेको छ’ भनी उनी स्वीकार्छन् (पुरण गिरी, जिन्दगीको लयान्तर,आफ्ना अनुभूतिहरूबारे)। यसबाट हेर्दा पनि उनमा गीत रचनाको प्रतिभा स्वतःसिद्ध हुन्छ। यस संग्रहमा भएका समस्त गीतहरू गायन भइसकेका रहेछन्। उनका गीतहरू उदय-मनिला सोताङ, डेजी बराइली, पेमा लामा, अरूणा लामा, कुमार सुब्बा, शङ्कर गुरूङ, थुपदेन भोटिया, दुर्गा खरेल, रामकृष्ण ढकाल, अनुपमा प्रधान, बानिका प्रधान, हीरा रसाइली, महेश सेवा, लाक्पा सेर्पा, कुबेर राई आदिले गाएका छन्। यसैगरी उनका गीतहरूलाई दीप वाइबा, चन्दन लोम्जेल, मणिकमल छेत्री, बसन्त छेत्री, टासी वाङ्चुक आदिले संगीत दिएका छन्। यस हिसाबले हेर्दा उनका गीतहरूले संगीतको आलोक पाएर न्याय पाएका छन्। उनका गीतमा भावाभिव्यक्तिमा रूमानीत्व, प्रेमका कोमल भावको सहज प्रकाशन्, जातीय अस्तित्वको चिन्तन, जातीय गौरव-गान, राजनैतिक व्यङ्ग्य, जीवन-जगत्‍प्रतिको दार्शनिक चिन्तन्, सन्तुलित र मितव्ययी शब्दप्रयोग, युगीन सन्दर्भको प्रस्तुति, अनेकार्थक भावभंगी, प्रकृतिका सुन्दर चित्रणसँग मानवीय भावको एकाम्यता, एकालापीय ढाँचा, भावअनुरूप कोमल शव्द प्रयोग जस्ता अनेक विशेषता रहेका छन्। गिरीका गीतमा आशाका किरणका भाव पाइए तापनि मूलतः उनी निराशावादी नै देखिन्छन्।
गीतका केही मूलभूत तत्वमा आत्मपरक प्रस्तुति, एकान्विति, भाव, विषयवस्तु, कल्पना, आनुप्रासिक ध्वनिसंगीत, प्रतीक र बिम्ब, मानवीकरण, अर्थका तह, भाषा र भाषिक विचलन जस्ता कुराहरू पर्दछन्। यद्यपि यी तत्वहरूका समष्टीमा भाव-सम्प्रेषण र शब्द संयोजनाका आधारमा गीतको समीक्षा गर्न सकिन्छ। गीतमा हुनुपर्ने एउटा मुख्य लक्षण यसमा अन्तर्निहित सम्प्रेषण हो। यो विना गीत प्रभावकारी हुँदैन। गीतकारको हृदयभित्रको सम्वेदनाको तीब्रताले गीतको सिर्जना हुन्छ। उनका गीतमा सम्प्रेणात्मक पक्ष तीब्र छ। पुरण गिरीका गीतमा सांसारिक जीवनका वैंशालु अवस्थाका विविध भावनाका छाल छ। उनको आफ्नै सिर्जनाको संसारमा हाँसो-रोदन, सुख-दुःखसित साक्षात्कार गरिएको पाइन्छ। एक्लै आनन्दानुभूति, वैराग्यानुभूति, बिलौना र प्रेमालाप गर्छन। उनका गीतमा गाइनका निम्ति चाहिने ध्वनि, शब्द र भावका लयको प्राधान्य, कोमल वर्ण प्रयोग र कठोर वर्णको त्याग, आनुप्रासिक आनुषाङ्गिकता जस्ता तत्वहरू उनका गीतमा पाइन्छन्। शब्दहरू सिपालु शिल्पीले इँटा जोडेजस्ता समाक्षरका छन्। जस्तै-
कहाली लाग्ने जीवन यात्रा, हिँडेर सकिन्न (३+२+३+२+३+३=१६ मात्रा)
तिर्सना लाग्दा नगिचै कुवा,कहिले भेटिन्न (३+२+३+२+३+३=१६ मात्रा)
उनका गीतका पंक्तिगत संरचना छोटा र मझौला गरी प्रायः दुई प्रकारका छन्।
छोटा पंक्तिमा दोस्रो पंक्तिसँग चौथो पंक्तिको अन्त्यानुप्रास मिलाइएको हुन्छ औ प्रायः पंक्तिमा संवर्गी वर्ण पाइन्छ। गीतको स्थायीगत भावलाई अन्तराले पछ्याउँदै गएको देखिन्छ। गीतका प्रत्येक पंक्ति र शब्दहरू एकार्काका पूरक बनेका छन्। गीतमा एकप्रकारले शब्दगत र भावगत टेन्सन कायम रहेको हुन्छ। एउटा शब्द हटाइदिए सिङ्गो गीत नै भताभुङ्ग हुन्छ। गहुँबाट अति मसिनो तुल्याइएको मैदा झैं भावको अति सूक्ष्म रूप हो गीत। अतः यस्तो मसिनो भावलाई उनले कायम राखेका छन्। गिरीले मानव मुटुलाई विभिन्न उपमा, र प्रतीक दिएका छन्। यसका साथै प्रत्येक गीतमा ध्वनिलयात्मक गेयता बढी पाइन्छ। विभिन्न सुमधुर शब्द- शब्दावलीले यी तीनैजनाका गीतमा रागात्मकता सिर्जना भएको पाइन्छ। गिरीले प्रयोग गरेका सम्झौता, मनको आशा, अमृतधारा, हृदयभरि, आमाको ममता, दुखियारी, माया, पराय, सपना झस्किएर, मनको शान्त छाल, मनै भिज्यो प्रायश्चित, दिल खोलेर, घुम्ती जिन्दगीको, सुस्त नरम बोली, वैँशभरि जस्ता शब्द-शब्दावलीले रागात्मकता प्रदान गरेका छन्। गिरीले आफ्ना गीतलाई शीर्षक दिएका छन् भने ती शीर्षकले गीतको गूढार्थ सम्पादन गर्न निकै सहयोग गर्दछन्।
उनले आफ्ना गीतमा अनियमित वा मुक्त लयव्यवस्था गरेका छन्। भावको प्रभावअनुसार अक्षरहरू घटीबढी किसिमले वितरित भएका छन्। संगीत-चेतनाका आधारमा हेर्दा यस्ता मुक्तलयात्मक गीतहरू पद्यलयका भन्दा केही कमजोर हुन्छन् तापनि भावगत आत्मपरकता, अनुप्रास प्रयोग तथा संक्षिप्तताका कारण सबल गीत बनेका छन्। भावसम्प्रेषणका लागि एक-दुईवटा गीतमा लोकलयलाई पनि अंगीकार गरेका छन्। हाम्रा चुड्के, झ्याउरे,सेलो भाकालाई गीतमा प्रयोग गरिएको पाइन्छ। एकान्विति निर्वाहका क्षेत्रमा उनी सचेत छन्। एकान्विति भन्नाले गीतमा एउटै विषयवस्तुमा केन्द्रित हुनुपर्छ। एउटै विषयलाई चारैतिरबाट बाँध्दै लगी निष्कर्षमा पुर्‍‍याएको हुनुपर्छ। उनले गीतमा आफ्नो प्रतिपाद्य विषयलाई विभिन्न सन्दर्भ, उपमा, प्रतीक, बिम्ब, अलङ्कार आदिको सहायताले पुष्टी गर्दै लगी एकोन्मुख बनाइएका छन्। संग्रहको पहिलो गीतमा नै बोलीलाई मूल विषय बनाई त्यसको महत्व र विशेषताबारे पुष्टी गरेका छन्। उनका निम्ति बोली

बोली रस रिस अमृतधारा कर्द छुरा घात दिने
साथ छुटाउने साथ जोड्ने तारा खसाउने फँसाउने जीवनभर रूवाइदिने

यसैगरी मान्छेका जीवनमा सम्झौता गर्नुपर्ने ठाउँहरू-
बाध्यतासित ।
भूलहरूसित ।
आवेगहरूसित ।
यौवनसित । सम्झौता गर्नुपर्छ।
हारसित ।
ईश्वरसित ।
चाहनासित ।
जूनेलीसित ।

समय= उडिजाने चरी, सर्ने क्षितिज, नरोकिने पाइला, भाग्ने माछा।
मायामा = खोट हुन्छ, चोट हुन्छ, विश्वासको बोट मर्छ, स्वर्ग, नर्क, श्राप, बरदान, सन्तान छुट्छ, दानी, हानी हुन्छन्। यसरी अधिकाङ्श गीतहरूमा एउटा विषयलाई विभिन्न वस्तुसँग सादृश्य तुल्याई एकान्विति कायम गरेका छन्।

४.उनका गीतको अर्थगत तह- गिरीका अधिकांश गीतमा अभिधार्थ रहे तापनि अर्थका विभिन्न तह देखिन सक्छन्। धेरै अर्थहरू बिम्बको सहायताले गीतमा बहु अर्थ तेर्सिन सक्छन्। जस्तो एउटा गीत-
जिन्दगी जिउने एउटै छ बाटो
उसलाई सम्झेर
थाह छ मलाई आउँदैन कोही
गएमा मरेर
तर आशाको किरण मनको कुनामा
किन हो झुल्केर
जिन्दगी जिउने एउटै छ बाटो
उसलाई सम्झेर। (जिन्दगीको लयान्तर,गीत सङ्ख्या ८०)।
यसमा जीवन जिउने आधार प्रेयसी र मायाको मीठो कल्पनाबाट हुन्छ भन्ने अभिधार्थभन्दा माथिल्लो तहमा हेर्दा यहाँ ईश्वर र ईश्वरभक्ति बुझिन्छ। जीवनमा एउटै सहारा ईश्वर हो भन्ने आशय स्पष्ट हुन्छ। यसरी हेर्दै गए प्रायः सबै गीतमा यस्ता बहुबिध अर्थ झल्किन सक्छन्।
५. गीतको आनुप्रसिक आनुषांगिकता- गीतमा लयका साथै एउटै पंक्ति वा पंक्तिबिच दोहोरिएर आउने एउटै वा एकै प्रकारको वर्ण वा पद-पदावलीले पनि संगीतको सृष्टि गर्छन्। गीतमा वर्ण तथा शब्दहरूको काव्यात्मक व्यवस्थापन हुन्छ र यसको अभावमा गीतले आफ्नो स्वरूप धारण गर्न सक्तैन्। पङ्ति-पङ्तिका बीच वर्णहरूको समानुपातिक वितरण हुनुपर्ने कुरा महत्वपूर्ण हुन्छ। लय निर्माणका लागि ध्वनिसंगीतको संयोजनका लागि व्यवस्थापन अनिवार्य हुन्छ।(बराल, पूर्ववत्, पृष्ठ-५३) गीतका सन्दर्भमा यस्ता अनुप्रासहरूमा अन्त्यानुप्रास, मध्यानुप्रास, आद्यानुप्रास र आन्तरिक अनुप्रास हुन्छन्।
बाबरीको फूल फूल्यो मनभरि छात्तीमा
बतासले उडाइदिँदा चोट पर्योह छात्तीमा। (गिरी, पूर्ववत्, गीत संख्या २३)
...................................................................................................................
आमाको ममता बरै गंगाको पानी
ईश्वरको रूप बरै दयाको खानी
पैसाले किन्न नसक्ने
गुमाए खोजी नपाउने
आमाको काख बरै मीठो बिसाउनी। (गिरी, पूर्ववत्, गीत संख्या ७)
................................................ ............................... ..........................
जिन्दगी बुझ्दा घाम-छायाँ लाग्छ
अचेल आफ्नै धेरै माया लाग्छ
दुनियाँ सारा साथी र सङ्गी
अचेल सबै नै पराया लाग्छ। (गिरी, पूर्ववत्, गीत संख्या ८)
यसैगरी उनका गीतमा तीन पात्रको भूमिका पाइन्छ। यी तीन पात्रमा म, तिमी र उ वा कुनै विषयलाई सम्बोधन गरी गीत लेखिएका छन्।
प्रायश्चित गर्न आएको छु म
भेट्ने मौका देऊ
----- ---- ------ ------------
तिमी बाध्यतासँग सम्झौता गर
मायाले छोपेर भूलहरूलाई
जिन्दगीसित सम्झौता गर
यद्यपि प्रथमपुरूषभन्दा अन्यपुरूष नै बढ़ी मात्रामा पाइन्छ। प्रत्यक्ष रूपमा विभिन्न पुरूषको प्रयोग नगरी गीतलाई सार्वजनीन मूल्य प्रदान गर्न गर्न सकिन्छ। यसमा जीवन जीवन-जगत्‌को शाश्वत पक्षको उद्घाटन गरिएको पाइन्छ। जस्तै-
कोइ बोलीमा रस हुन्छ
कोई बोलीमा रिस
यै बोलीले गर्दा पिउँछन्
मानिसले विष
--- --- --- ---
आमाको ममता बरै गंगाको पानी
ईश्वरको रूप बरै दयाकी खानी।
यहाँ तटस्थ भएर गीतकारले शाश्वत भावनाको अभिव्यक्ति दिएको पाइन्छ। यसैगरी उनका सबै गीतमा स्थायीले गीतको केन्द्रीय भाव उठान गरेको छ भने अन्तराहरूले स्थायीको भावलाई समर्थन र पुष्टी गर्दैलगेको पाइन्छ। हुन गीत यस्तो हुनु अनिवार्य नै हुन्छ तथा गिरीले यस्ता पक्षमा पालन गरेका छन्।

६. गीतमा वैयक्तिकता- गिरीका गीतमा आत्मकेन्द्रित अनुभूतिको भावनात्मक उद्‌गार भएको वैयक्तिक आधारभूमि बढी मात्रामा पाइन्छ। यसमा आफ्ना अनुभूतिलाई श्रोता-पाठकसामु प्रस्तुत गरिएको हुन्छ।जस्तै---
मेरो मनको आँगनमा
फूल चोखो फूल्यो
यही मनभित्र कहिँ
आँधी हुरी चल्यो।
---- --- ------- ----- -----
भुल्न कसरी सक्छु म बैगुनी तिम्रो नाम
माया होइन घाउ दिने कस्तो तिम्रो काम। (गीत संख्या ४७)
यसैगरी आफ्ना वैयक्तिक अनुभूतिबाहेक उनका गीतमा समसायिक मानवीय जीवन र समाजका मार्मिक पक्षको उद्‌घाटन गरिएको पाइन्छ। बहिर्मुखी अभिव्यक्ति रहने यस्ता गीतमा संसारको विराट सत्य र शाश्वततालाई अँगाल्ने भाव व्यक्त गरिएको छ-
ठूलोभन्दा ठूलो अस्त्र एकता नै हो
दुश्मनको शीर टेकाउने शस्त्र नै हो। (गीत संख्या ५८)।
उडिजाने चरी हो समय
थाहै नपाई उडिदिन्छ समय
समाउन खोज्दा हातै नपर्ने समय
क्षितिज नी सरिदिन्छ समय। (गीत संख्या ११)
यसरी नै उनका प्रायः जम्मै गीतमा भावको विस्तार केन्द्रीय विन्दुको पुनरावृत्तिद्वारा गरिने वृत्त्यात्मक ढाँचामा भएको पाउँछौं। यसर्थ, उनका गीतहरू एउटै विन्दुमा अडान लिन आइपुगेका पाइन्छन्।
खस्यो खस्यो केही त खस्यो
ए पानीमा छायाँ भई जून खस्यो। गीत संख्या १४)
एक शब्द मायाले बोलिदिए पुग्छ
यौवनको वर्षासितै भिज्न पाए पुग्छ। (गीत संख्या २४)
प्रस्तुतिका आधारमा गिरीका गीतमा सम्बोधनात्मक र वक्तब्य़परक प्रस्तुति गरी दुई भेद पाइन्छन्। उनका केही गीतमा कुनै पात्रलाई वा विषयलाई सङ्केत गरेर सम्बोधन गरिएको छ-
मेरो विश्वासको कदर गरी हेर
मेरो मायाको नजर परि हेर
प्रतीक्षाले पोलेका आँखाहरूमा
शीत बनी आँखैमा झरी हेर। (गीत संख्या ४३)
यद्यपि उनका अधिकांश गीतमा बाह्य वा आन्तरिक अनुभूतिको बयान व वक्तव्यका रूपमा अभिव्यक्त भएको वक्तव्यपरक प्रस्तुति पाइन्छ।
७.गीतको विषयवस्तु- गीतको विषयवस्तु रागात्मक वा रागेतर कुनै पनि हुनसक्छ। रागात्मक विषयवस्तुमा प्रेमतत्व बढी हुन्छन् भने प्रेमेतर विषय पनि हुनसक्छ। यसरी नै रागेतर विषयमा सामाजिक यथार्थको अंकन गरिएको हुनसक्छ। गिरीले पनि आफ्ना गीतमा सामाजिक यथार्थ, जीवन अनुभव, दार्शनिकता प्रस्तुत गरेका छन्-
मानिसले पैसालाई खोज्यो डाँड़ासम्म
बनपाखा रूखै ऱूख देख्यो क्षितिजसम्म
लोभ बढेर आकाश छोयो मानवता हराउञ्जेलसम्म
हरियाली मास्न थाल्यो उजाड नहुञ्जेलसम्म।
------------------ -----------------
उडिजाने चरी हो समय
थाहै नपाई उडिदिन्छ समय
समाउन खोज्दा हातै नपर्ने समय
क्षितिज बनी सरिदिन्छ समय।
पुरण गिरीका अधिकांश गीतहरू निश्चित रागरागिनीअनुरूपमा निर्मित स्वरतालात्मक गेयताभन्दा ध्वनिलयात्मक गेयतामा निर्मित छन्। गीतका पंक्तिहरू प्रयुक्त शब्दको ध्वनिमा अन्तर्निहित आन्तरिक लयमा आधारित छऩ्। यसो हुँदा संगीत संयोजकलाई गीतको धुन संयोजन गर्न स्वतञ्त्रता हुन्छ।
जिन्दगी बुझ्दा घाम- छायाँ लाग्छ
अचेल आफ्नै धेरै माया लाग्छ।
यहाँ जिन्दगी घाम छाय़ाँ लाग्नु र आफ्नै माया लाग्नुमा आन्तरिक ध्वन्यात्मक लयविधान पाइन्छ। यद्यपि उनका प्रायः गीतपरू एकालापीय र कसैलाई एकल सम्बोधित छन् भने कुनै कुनै सम्वादात्मक वर्णन शैलीमा आवद्ध छन्। जस्तै-
केटा – यो नयाँ नयाँ भेट हो
केही बोल दिल खोल
खोल मायालु
केटी- यो सादा सादा मुटुमा
केही कोर दाग भर
भर मायालु। (गीत संख्या ४५)
------ ------- ---- ------ ------ ------- ----- ---- ----- -
अन्धो- तिमीलाई सुनाउन कति गीत गाएँ
तिमी त वधिर के सुन्न सक्थ्यौ
वधिर- तिमीलाई रूझाउन कति ऩृत्य देखाएँ
तिमी त अन्धो के देख्‌न सक्थ्यौ।
गिरीका गीतमा छोटो छरितो संरचना र वैचारिक सघनता र तीब्रता रहेकाले गायन र सम्प्रेषण पक्षमा निकै प्रभावकारी बनेका छन्। उनले विशेषगरी प्रथमपुरूष र द्वितीयपुरूषमा रची कथयिका र संबोधित ब्यक्तिलाई समावेश गरी गीत लेखेका छन्। यसर्थ, उनका गीतमा कतै तिमी संबोधित र कतै आफ्नै विविध मनोदशा र संवेदनाको आत्माभिव्यञ्जना पाइन्छ।
८. उपसंहार-
समग्रमा, पुरण गिरी एक कुशल र गीति संचेतनाका सचेत गीतकार हुन्। उनी गीतका कोमलता, एकोन्मुखता, गेयात्मकता, सरलता, शालीनतालाई अपनाई गीत लेख्ने एक योग्य र सफल गीतकार हुन्। उनका गीतलाई सफल र चर्चित गायकहरूले गायनमा उतारेका हुनाले उनी आफैं पनि लोकप्रिय बनेका छन्। उनले गीतमा आन्तरिक पक्षको रूपमा संवेदनशील पक्षलाई जोड़ दिएका छन्। यसका साथै बाह्य पक्षको रूपमा लय र तालको सफल निर्वाहमा पनि ध्यान दिएका छन्।
सन्दर्भ सूची –
१. पुरण गिरी, जिन्दगीको लयान्तर, नाम्ची, निर्माण प्रकाशन,,२००९।
२. कृष्णहरि बराल, गीत, सिद्धान्त र इतिहास, काठमाडौं, विद्यार्थी पुस्तक भण्डार, वि सं २०६०।
३. मोहनराज शर्मा, समकालीन समालोचना, सिद्धान्त र प्रयोग, काठमाडौं, ने रा. प्र. प्र., वि. सं. २०५५
४. हिमाङ्शु थापा, साहित्य परिचय, काठमाजौं, साझा प्रकाशन, चौ.सं.२०५०।
५.सम्पा. विकास कार्की, परदेशी, अङ्क १३-१४, वर्ष १५, अगस्ट, २०१२, अगमसिंह गिरी संस्थान, सलुवा।

दार्जीलिङ सरकारी महाविद्यालय, दार्जीलिङ

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 6 पौष, 2070

लेखकका अन्य रचनाहरु