मैले यसरी लेख्न सिकेँ

- पेशल आचार्य

मैले नपढी पढेँ, नसिकी सिकेँ, नजानी जानेँ, नलेखी लेखेँ भन्न त सक्तिन तर मलाई मेरो लेखनका सुरूसुरूका दिनमा कोही कसैले पनि ‘लेख्नु पर्छ । स्याबास् ।’ भनेर प्रेरणा र हौसला दिएनन –यो चाहिँ सत्यांश हो । आरम्भमा मलाई लेखनमा मेरो घरको पनि समर्थन भएन । थिएन । तर मैले सिकेपछि सिकेँ –सिकेँ । रहर छाडिनँ । कसोकसो मलाई लेखनकै मोहले मुहुनी लगायो । मलाई सुरूमा खेलकुदमा असाध्यै रूचि थियो तर जब मैले खेलमा सफलता हाँसिल गर्न सकिनँ अनि मैले साहित्यको मार्गमा आफूलाई पथिक बनाएको हूँ ।
मेरो जमानामा ‘नयाँ सन्देश’ पत्रिकाको माहौल रजगजपूर्ण थियो जस्तो अहिले मुलुकमा साप्ताहिक र शुक्रबार नामका पत्रिकाहरू उम्रेदेखि खुम्रेसम्मका मानिसहरूले हेर्ने गर्दछन् । साहित्यिक पत्रिकामा रूपरेखा रहेछ तर मैले मेसो पाएर पढ्न थालेपछि भने मधुपर्क नै अगाडि देखेँ । रूपरेखा २०३६ सालपछि बन्द पनि भएछ । म कक्षा ६ मा पढ्दादेखि नै अलिअलि लेख्न र बोल्न थालिसकेको थिएँ । मलाई मेरो अन्र्तदृष्टिले नै साहित्यिक लेखनको पथमा डो¥याएको हो । अरू कसैले पनि होइन । साँच्चै । के ढाँट्नु ?
मैले छत्तीस सालको सडक कविता क्रान्तिमा भद्रपुरमा कविवर भवानी घिमिरेज्यूले जोशपूर्वक हात हल्लाएर आन्दोलनकालीन कविता पढेको, झापामा कालीप्रसाद रिजाल, हरिभक्त कटुवाल, डा. विष्णुविभु घिमिरे, नकुल काजी, भरत भुर्तेलजस्ता स्थापित र युवाकविहरूले कविताको नादद्वारा आम जनतालाई चेतना दिन सडकमा ओर्लिएर कविता पढेको÷भनेको सुने देखेपछि मलाई के लाग्यो भने साहित्यका अन्य विधाभन्दा कविता विधा स्वतन्त्रताको बढी हिमायती हुँदो रै’छ ।
यसरी नजानीकन जानेरै सुरू भयो मेरो कवितालेखन यात्रा । मैले छत्तीस सालदेखि बयालीस सालसम्म करिब पाँच छ वर्ष केही कोरेँ र धेरै कविताहरू च्यातेँ पनि । मैले, निजी शैली निर्माणका लागि मेरो मेची क्याम्पसको विद्यार्थी कालमा त्यहाँ उपलब्ध हुनुहुने गुरुहरू सर्वश्री डा.द्रोण पौड्याल, प्रा.चिन्तामणि भट्टराई, प्रा.रामनाथ शर्मा र प्रा.होम सुवेदीहरूबाट केही सुझावसल्लाह लिँदै कविता यात्रालाई सुस्त रूपमा अगाडि बढाएँ । ती दिनहरू अब अनुल्लिखित इतिहासको गर्तमा हराएका छन् । मैले गहिरो सङ्गत गरेका सहपाठीत्रय प्रदीप तिम्सिना, राजेश श्रेष्ठ र फणीन्द्र पोखरेलजस्ता हितैशी मित्रहरूको न्यानो मायाबाट म भित्रको कवि नजानिँदो गरी पन्पिदै गयो । पछि, म आई.ए. द्वितीय वर्ष अध्ययनका क्रममा विराटनगर आएपछि मलाई त्यहाँ मिलेको क्षेत्रीय पुस्तकालयको पठन संस्कृतिको सुविधाले मेरो अध्ययनको दायरा फराकिलो पार्न ठूलो मद्दत पु¥याएको थियो ।
बयालीस सालमा आएर मैले विराटनगरमा विद्यार्थी जीवनमा केही कोरेँ । केही छपाएँ । त्यो विराटनगरको बसाइमा मेरा केही कविता र मुक्तक स्थानीय पत्रिकामा छापिएका छन् । रहदाँबस्दा इनरुवाका स्थानीय मित्रहरू सर्वश्री सुविद गुरागाईँ, गोविन्द बुइँपाली, गीतनारायण चौधरी, भेषराज पोखरेल, राजन निरौला, रवीन्द्र कोइराला, अग्रज मित्रहरू कविराज पोखरेल, विष्णु थापा मगर, अर्जुन पोखरेल, अग्रज कविहरू गोपाल कोइराला, रवीन्द्र चक्रवर्ती, नारायण राजभण्डारी, पुरुषोत्तम घिमिरे, उपेन्द्र पागल, छविनाथ रिजाल, केशव सुवेदी, पं.टीकादत्त सुवेदीजस्ता विविध क्षेत्रका स्वनामधन्य विद्वानहरूसँगको संगत र सानिध्यता क्रमशः गाढा भएपछि मेरो लेखन यात्रा लगभग राजमार्गमा आएर ‘फुल स्पिड’ मा दौडियो । तिनताका मैले धरानबाट निस्कने टुटुल्को र इनरुवाकै खुल्दुलीजस्ता हास्यव्यङ्गप्रधान पत्रिकाहरूमा निकै मुक्तकहरू प्रकाशित गरेँ । त्यसबीच मैले समाचार जगत साप्ताहिकमा प्रत्येक हप्ता केही न केही लेख्दै गएँ । मित्र सुविदजीसँगको प्रगाढ मित्रतालाई गहिराइमा पु¥याउँदापु¥याउँदै मैले इटहरी र धरानबाट निस्कने क्रमशः सप्तकोसी साप्ताहिक र आरसी साप्ताहिकमा पनि धेरै रचनाहरू प्रकाशित गर्ने मौका पाएँ । त्यो बेलाको मेरो लेखन सिकारू अवस्थाको थियो ।
छयालीस सालमा मेरो यात्रा राजमार्गको बाटो हुइँकिदै राजधानीसम्म आइपुग्यो । मलाई सुरूका दिनमा समीक्षा र चक्षु साप्ताहिकले निकै हौसला दिए । त्यसपछि मैले चोमोलुङ्मा र छहरा साप्ताहिकमा फरकफरक खालका गद्य र पद्य विधाका रचनाहरू छपाएँ । काठमाडौँ बसाइलाई आर्थिक रूपमा केही सहजता प्रदान गर्न मैले लेख्नै पर्ने र सोको पारिश्रमिकबाट मेरो पकेट मनि र पत्रिकामा नाम आउँने लोभले म छुपेरुस्तम नै सही केही न केही लेखी नै रहेँ । त्यसबीचमा मलाई रेडियो नेपालमा टिकाउँने समाचारवाचक माधव घिमिरे हुनुहुन्थ्यो । वहाँको सदासयता मिश्रित माया र अग्रज दाजुहरू पाण्डव सुनुवार, बासुदेव मुनाल, साहित्यसंसार कार्यक्रमका अमोददेव भट्टराई र महिला कार्यक्रम सञ्चालिका दिदी सूर्यकुमारी पन्तसमेतका सद्भावले मलाई बाँच्नका लागि मात्र नभएर नामका लागि पनि रेडियोको मञ्च उपलब्ध भयो । त्यसबेला म लेखेरै राजधानीमा बाँचेको थिएँ । कथा, गजल, मुक्तक, लेख, निबन्ध, कथा, बालकविता र समाचार म सबै लेख्थेँ । छपाउँथे । प्रशारण पनि गर्थें ।
एक प्रकारले मैले सबै लेखनलाई शारीरिक पेटको भोकको ओखतीका रूपमा देखेको थिएँ । जीवनमा अहिलेजति सुखमय वातावरणमा सुसाङ्ख्यमा सररररर गरेर साहित्य लेखिएला र इमेलमा क्लिक गरेर प्रकाशनका निम्ति पठाइएला भन्ने त सय मनमा एक मनमा पनि सोचेको थिइनँ । त्यसबेलाका रचना सबै यतिखेर मसँग जोगार छैनन् तर मैले त्यसै बेलामा कमाएका साथीभाइहरू अहिले पनि मेरो पूँजीभने बनेका छन् । गोरखापत्रका अग्रज सम्पादक तथा साहित्यकार लक्ष्मी गुरागाईं, झङ्कारका अतिथि सम्पादक ज्ञानुवाकर पौडेल, समष्टिका कार्यकारी सम्पादक अनिल पौडेल, गोरखापत्रकै सहसम्पादक मित्र वसन्तप्रकाश उपाध्याय, स्वतन्त्र लेखकहरू सर्वश्री शान्तिप्रिय, प्रमोद स्नेही, श्याम स्मृत, व्याकुल पाठक, विमल भौकाजी, रमेश केसी, नवीन सुब्बा र उत्तम भौकाजीहरूको वर्ग छाडेर जब म जीजिविषाको खोजीमा रामेछाप पसेँ एक किसिमले मेरो लेखनयात्रा अनन्त यात्रामा हिँडेकी पयश्वीनीझैँ मूल धार छोडेर भँगालामा चरक्क चिरियो । तर मैले हरेश खाइनँ । रामेछापबाटै पनि मैले राष्ट्रिय स्तरका पत्रिकामा आफूलाई कुनैबेला समाचारदाता र कुनैबेला लेखकका रूपमा उभ्याइ नै रहेँ । त्यसै सन्दर्भमा मलाई २०५४ सालमा सम्पन्न अन्तर्राष्ट्रिय कविता प्रतियोगितमा बी.बी.सी.ले उत्कृष्ट कविको सम्मान दियो । मैले धरानस्थित विमल स्मृति पुस्तकालयबाट आयोजित युवा कविता महोत्सवमा बाउन्नमा तृतीय र पचपन्नमा प्रथम स्थान हासिल गरेँ । त्यो निष्पक्ष पुरस्कारले पनि मेरो लेखन जीवनमा मलजलको काम ग¥यो ।
यसरी मेरो लेखनयात्रा कहिले फूलको कालिन भएर अगाडि बढ्यो भने कहिले मरुभूमिको क्याक्टस टेक्दै अभावका खिलहरूलाई अन्यमनस्क भावले खेलाउँदै यहाँसम्म आइपुगेको छु –म । ‘नयाँ रहर ः पुराना खण्डहर’ मा मैले रोजेका÷खोजेका मुक्तकहरू तिनताक आफ्ना पत्रिकामा प्रकाशित गरिदिएर हौसला दिने ती सम्पूर्ण सबैखाले पत्रिका र सम्पादकहरूमा हार्दिक आभार प्रकट गर्नु मेरो पहिलो कर्तव्य ठान्दछु ।
मैले जीवनमा कहिले वकालत सिक्दै, कहिले सानु प्रशासनिक कर्मचारी भएर काम गर्दै, कहिले पत्रकारिता गरेर कलम चलाउँदै र अहिले मास्टर भएर चकडस्टर समाउँदै लेखेका मुक्तकलगायत अन्य सबै प्रकारका रचनाहरूमा अवश्य पनि कालचिन्तन, भावचिन्तन र कलाचिन्तनमा थोरबहुत पृथकपनाको अनुभूति पाएको छु । बेमिसालसँग मैले सबै कामकुरा छाडेर साहित्य त लेखिनँ तर मलाई के चाहिँ गौरव छ भने मैले लेखिरहेँ । कसैलाई भनिनँ । न गुनासो गरेँ । न फुइँ नै छाँटेँ । मेरो राम्रँे छ छापिदिनुस्न पनि भनिनँ । मेरो नराम्रो छ । नछाप्नुस् पनि मैले भनिनँ । आजका कतिपय लेखकहरू आफ्नो विज्ञापन आफैँ गर्छन् । त्यो मैले कहिल्यै पनि गरिनँ । मैले अहिलेसम्म छापिएका रचनामा देउताका कानमा नपरोस् मैले कसैलाई पनि एक शब्द भनेको छैन । रचना आफैँले आफ्नो कहिरन गरेर सुनाएका छन् र प्रकाशित एवम् प्रशारित भएका छन् । यही नै मेरो जीवनको सबैभन्दा ठूलो पुरस्कार हो । म मेरो पुरस्कारलाई नमन गर्छु र गौरवको श्वास फेर्छु ।
अहिले मसँग करिब सबै विधाका गरी दुई दर्जनजति कृतिहरू रहेकाले यो अघि र त्यो पछि भन्नुभन्दा पनि जुन प्रकाशित गर्न सजिलो पर्छ त्यही नै प्रकाशित गर्दै जाने चाँजोपाँजो मिलाएको कुरा सविनय यहाँ राख्न चाहन्छु ।
त्यसैले अहिले मलाई मैले साहित्य लेख्न सिकेकोमा कुनै प्रकारको पछुतो पनि छैन । न त कुनै प्रकारको महत्वाकांक्षा नै छ । जीवनलाई बुझ्ने यो निःशुल्क, विश्वविद्यालय अहिले मेरो ऐकान्तिक क्षणपलको प्रिय साथी भएको छ । कहिले मैले गहभरि आँसु पार्दा मलाई मेरो दुःखमा मलम लगाउने कुराको माध्यम साहित्य भएको छ । कहिले आफ्नो मन फुर्फुर् गरेर फुर्किएका बेलामा पनि यही भाव र शब्दहरूको खेलमा आफूलाई हेलिन बाध्य पारेको छु । यसरी मेरो अभिव्यक्तिको माध्यम बनेको कलममा म कुनै किसिमको दम्भ र निरासा व्यक्त गर्ने स्थितिमा छैन ।
मैले अहिले साहित्यमा अनेकौं भावहरू पोखेको छु । अनेक विषयमा लेखेको छु । थुप्र्रै रचना गर्भमा रमाएको छु । अनि त्यसैगरी नानाथरिका कल्पनामा समेत हराएको छु । मेरा आफ्ना कुरामात्र होइन समाज विज्ञानका सापेक्ष र निरपेक्ष कुराहरूलाई पनि मैले विविध विधाका आयामहरूमा समेटेको रहेछु । कहिलेकाहीँँ मेरा पत्रपत्रिकामा प्रकाशित रचनाहरू पढेर वा वेभ साइटमा प्रकाशित रचनाहरूका बारेमा लिखित र मौखिक प्रतिक्रियाहरू समेत आइरहन्छन् । यो देख्दा र सुन्दा मलाई निकै आनन्द लाग्छ । यो सन्दर्भलाई मैले निकै अगाडिदेखि नै लेख्ने कुरा बनाउन चाहेको थिएँ तर समय र परिस्थिति मिलिरहेको थिएन । आज त्यो काम पनि पूरा भएको छ ।
जीवनमा सबै प्रकारका आलेखहरू लेख्नु पर्ने रहेछ । मैले करिब १२ वर्ष अगाडि पनि रामेछापबाट प्रकाशित हुने एउटा नुम्बुर साप्ताहिकमा एक वर्षजति ‘मैले यसरी लेख्न सिकेँ’ भन्ने स्तम्भ नै चलाएँ । त्यो स्तम्भ लेख्दा मलाई के लाग्यो भने हरेक लेखकले आफूले लेखेको समय र परिस्थितिलाई लेख्न सक्नु पर्ने रहेछ । त्यसपछि नै नेपालमा ‘रचना गर्भ’ लेख्ने चलन नै चल्यो । नेपालीमा यो चलनलाई प्रसिद्ध साहित्यिक पत्रिका गरिमाले प्रचलनमा ल्याएको थियो तर अचेल त्यो हरायो । किन ? मैले गरिमाका सम्पादकलाई प्रश्न गरेथेँ तर चित्तबुझ्दो जवाफ पाउन सकिनँ ।
कवितामा भने मैले विगत् ३२ वर्षदेखि आराधना गर्दै आएको छु । अब त कविता कर्ममा एकप्रकारको आत्मविश्वास पनि पलाइसकेको छ । यसबीचमा करिब २ हजार विविध विषय र शैलीका कविताहरू लेखियो होला तर जीवनवादी कविताका स्वाद् भने मैले अग्रज कवि महेश प्रसाईंको संगतबाट सिक्ने मौका पाएको हूँ । वहाँको कवितामा प्रविष्ट हुने निजी शैली र कथ्यको नित्य नवीनता मलाई सधैँ रौसाउने खालको छ । प्रेम र जीवनवादी कविताहरूको लेखनमा मैले वहाँलाई निक्कै पछ्याएको पनि छु । अतः वहाँ पनि मेरो पथप्रदर्शक हुनुहुन्छ ।
जसले कलम चलाएको छ । जीवनमा केही न केही लेखेको छ । प्रकाशन गरेको छ । लेखनका माध्यमबाट समाज र देशलाई केही न केही दिएको छ उसले आफ्नो समयको घटना, मूल्य मान्यता र परिस्थितिलाई इमान्दारीपूर्वक आँट गरेर मसक्क लिपिबद्ध गरिदिने हो भने पछिल्ला पुस्ताले निकै ‘गाइड लाइन’ पाउने थिए । भनाइ नै पनि छ –‘आगो ताप्नु मूढाको, कुरा सुन्नु बूढाको ।’ पछि समयको सदुपयोग गर्दै अवकाशीय जीवनमा यही शीर्षकमा पूरै पुस्तक नै लेख्ने जमर्को पनि गरौंला । अहिलेलाई भने यति । विज्ञेषु किम्धिकम् । अस्तु ।।

हाल ः उपप्राध्यापक, मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस, मन्थली, रामेछाप

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 22 मङ्गसीर, 2070

लेखकका अन्य रचनाहरु