साहित्यकार महानन्द पौड्यालसँग कुराकानी

- बासुदेव पुलामी

नेपाली भाषा-साहित्यका वयोवृद्ध साहित्यकार महानन्द पौड्याल एक प्रभावशाली व्यक्तित्व हुन्। कथाकार, निबन्धकार, समीक्षक, आलोचक, अनुवादक, सम्पादक तथा अन्वेषणमूलक कृति लेखकका रूपमा उनले आफ्नो परिचयका दिएको पाइन्छ। साहित्यका यी विविध विधामा समानरूपले कलम चलाइरहने पौड्यालको जन्म १९ जनवरी सन् १९३१ को दिन कालेबुङको बमबस्ती भन्ने ठाउँमा भएको हो। उनको जन्म कालेबुङमा भए तापनि कर्मक्षेत्रले उनलाई दार्जिलिङदेखि नेपालका विभिन्न ठाउँहरू घुमाउँदै सिक्किम पुऱ्याएको देखिन्छ। जागिरको रूपमा उनले शिक्षण पेसालाई अपनाएर विभिन्न विद्यालयहरूदेखि महाविद्यालय हुँदै अन्तमा सिक्किम सरकारको शिक्षा विभागमा पाठ्य-पुस्तक शाखाका उपनिर्देशक पदमा ११ वर्ष सम्म कार्यरत रही अवकास ग्रहण गरेका छन्। उमेरले अस्सी हिउँद बिताइरहेको भए तापनि अझै पनि साहित्यका लागि केही गर्ने जाँगर उनमा झरिलो देखिन्छ। महानन्द पौड्यालले आफ्नो साहित्यिक यात्रा पचासको दशकदेखि थालेर नेपाली साहित्यका लागि आजपर्यन्त लेखिरहेका छन्। पौड्यालले छ दशकभन्दा धेर साहित्यको सेवा पुऱ्याइसकेका छन्। आज उनै व्यक्त्विसित उनका अनुभव, साहित्यिक गतिविधी, सामाजिक क्रियाकलाप र यात्राबारे यहाँ केही जानकारी पाठकहरूसित बाँड्ने जमर्को कसेको छु।

१. साहित्यमा तपाइँको पदार्पण कसरी भयो ?

एक माध्यमबाट प्रेरणा प्राप्त भई लेखनकार्य आरम्भ भयो भन्ने छैन। घरको स्वस्थ्य वातावरण, पिता धर्मशास्त्रका ज्ञाता हुन्थ्यो, घरभरि थरी-थरीका धार्मिकग्रन्थ, कल्याण हिन्दी पत्रिकाका विविध अङ्क सानैदेखि पढ्थेँ। दाइहरू सुपठित, जागिरदार भएका कारण उनीहरू पुस्तक पत्रिकाहरूले ल्याइ पढ्नुहुन्थ्यो, म पनि जानी नजानी पढ्थे। प्राथमिक पाठशालामा पारसमणी प्रधानका नेपाली पाठ्य-पुस्तकभित्र रहेका बालहृद्यलाई सोझै रसमय बनाउने कविताहरू प्रेरणाको अर्को स्रोत, ती पाठ्य-सामग्रीभित्र महानन्द सापकोटा, सिड्डिचरण श्रेष्ठ र धरणीधर शर्माजस्ता विशिष्ट कविहरूका जातिप्रेमले ओतप्रोत कविताहरू पनि मेरा प्रेरणाका स्रोतहरू हुन्। अर्को कारण समय थियो विगत शताब्दीको चतुर्थ दशकभित्र दार्जिलिङ जिल्लामा गोर्खालिग-जस्ता जातिप्रेमी राजनीतिक पार्टीको उदय। गोर्खा-ले लेख्न चाहनेहरूका उत्साहमा बल प्रदान गऱ्यो। साथी, प्रभात, उत्थान, उदय, हाम्रोकथा, भारती पत्रिकाहरूमा लेख्ने सुयोगहरू मिल्यो। सबैभन्दा ठुलो श्रेय त म आफैलाई दिन्छु। समयले प्रदान गरेको अवसरलाई मैले आत्मसात गर्न सकेँ। विद्यार्थी जीवनदेखि नै मेरा साहित्यकार गुरूहरूको विश्वास जित्न सकेँ। ठुला विद्वान, राजनीतिज्ञहरूको सङ्गत पाएँ। साहित्यिक यात्राका प्रेरणाका कारणहरू यिनै हुन् मेरा।

२. तपाइँ आफ्नो कतिपय लेखमा आफ्नो प्रथम प्रेम राजनीति र राजनीतिको मञ्चबाट साहित्यको मञ्चमा उभिएको कुरो लेख्नु भएको पढेको छु। यसबारे केही बताइदिनु हुन्छ कि ?

मैले अध्ययन गरेका पाठशाली एस. यु. एम. आई. मा गोर्खालीगका रणधीर सुब्बा, के. डी. प्रधान, टीकाराम शर्मा, शिवकुमार राई, पञ्चरत्न प्रधानजस्ता सक्रिय राजनीतिज्ञहरू काम गर्थे। हामीमध्ये अधिकांश लीगका समर्थक थियौँ र कति विद्यार्थी नेता बनिसकेका थियौँ। लीगको मुखपत्र गोर्खा-का सम्पादक थिए टीकाराम शर्मा मेरा गुरू। उनले मलाई स्कुल र प्रेसबिच माध्यम छाने। स्कुलमा बसी तयार पारेका लेख-सामग्री प्रेसमा पुऱ्याउनु र प्रेसबाट प्रुफ बोक्नुबाट सुरु भयो मेरो फाल्तु जिम्मेवारी। पछि मैले गोर्खा-का माध्यम प्रेस र पत्रिकाबारेका काम सिकेँ। चुनाव आउँदा नेताहरूसँग मैले जयगोर्खा भट्याउँदै गाउँ-गाउँ घुमे। पार्टीको कालेबुङ शाखाको सचिव बनेँ। गोर्खा-बाट लेखनकार्य सुरु गरी अघि बढाएँ। रामकृष्ण शर्मा गोर्खा-का सम्पादक रहँदा सम्पादन मण्डलीको एक सदस्य बनी काम पनि गरेँ।

३. तपाइँको प्रथम प्रकाशित रचना कविता देखिन्छ। पछि पनि धेरै कविता लेख्नु भयो। तर आजभोलि आएर कविताको विधासित पारपाचुके नै गर्नुभएको जस्तो देखिन्छ नि ?

गोर्खालीग भारतमा गोर्खा जातिलाई सौतेनी व्यवहार गर्छ भनी समान अधिकारको लागि सङ्घर्ष गर्ने पार्टी थियो। हकको लागि हिंसा गर्ने जस्ता नारा दिने यङटर्कहरू पनि थिए पार्टीभित्र। म तिनैको प्रभावमा थिएँ। सरकार विरोधी नारा दिन्थ्यौँ। उठ्दा बस्दा यी सोंच मगजमा घुमिरहन्थ्यो। यसैले होला मभित्र कविताका निम्ति आवश्यक कोमलभाव पग्लिएन र मेरो कवितामाथिको प्रेम त्यसै हरायो। तर मसँग लेख्दै राखेका पचासवटा जति कविताहरू अप्रकाशित रूपमा छन्।

४. तपाइँले साहित्यिक पत्रकारितामा पनि समय दिनुभएको थियो भन्ने कुरो केदार गुरूङले एउटा पुस्तकमा चर्चा गरेका छन्। यसबारे जान्न पाऊँ।

म आफूलाई एक पत्रकारका रूपमा लिन तयार छैनँ। सम्पादक भने हुँ, छु अहिलेसम्म । मैले मेरो प्रतिभाको दुरूप्रयोग गरी लतारेको छु। आफनो भविष्यको म आफै रामु थिएँ। सन् १९५५ सालदेखि ७० सम्म मैले एक यायावर जीवन व्यतित गरेँ। सन् १९५५-५६ तिर बी.ए. को अध्ययन गर्दा दुई वर्ष स्थिर भई एकठाउँमा बसेँ हुँला अन्यथा कालेबुङ, सिक्किम तथा नेपालको चक्कर काटिरहेँ। एक वर्ष पुरा कुनै ठाउँमा बिताएको रेकर्ड छैन। तर जहाँ गए पनि सक्रिय भई बसे। साहित्यिक पत्रिकाहरू धेरै सम्पादन गरे, तर दार्जिलिङमा छँदा मेरो नेतृत्वमा गठित अखिल सिक्किम विद्यार्थी संगठनको पक्षमा दुई वटा साहित्यिक बुलेटिन पत्रिका सम्पादन गरेँ, अरू मसिना पत्रिकाहरू पनि सम्पादन गरेको छु कतिको नाम भूले। तब म कसरी पत्रकार भएँ । सन् १९८८ मा जागिरबाट अवकाश ग्रहण गरेपछि भने जनपुकार नाउँमा एक समाचार पत्रका २४ अङ्क प्रकाशित गरे। तर पछि गएर सिक्किमबाट बासै उठ्ला जस्तो भयो, मलामी पनि नपाइने जस्तो लाग्दा त्यस कामबाट हातै धोइ दिएँ।
मैले भनेँ, सम्पादक भने म पक्का हुँ। मैले धेरै पुस्तक सम्पादन गरिसकेको छु। सिक्किममा जागिर नै पाठ्यपुस्तक कार्यालयमा खाएको हुँदा पुस्तक सम्पादन गर्नु मेरो प्रतिबद्धता थियो। मैले आफनो पदको उपभोग गरी आफैले निजी तौरमा पुस्तक सम्पादन गरी केन्द्रीय माध्यमिक परिषद्, नयाँ दिल्लीको माध्यामिक एवम् उच्च माध्यामिक कोर्समा चलाएको पनि छु। यस उमेरमा पनि म दुई सहयोगी सम्पादकद्वय डा. आनन्द खडका अनि प्रा. नवीन पौड्यालका भरमा सन्धान नाउँ गरेका एक शोधमूलक पत्रिकाको सम्पादन गरिरहेको छु।

५. तपाइँको साहित्य-यात्रा एक अर्द्ध-शताब्दी भन्दा उँभो भए पनि कृतित्वले भने त्यस अवधिलाई थामेको पाइन्न । यसमा तपाइँ के भन्नु हुन्छ।
प्रथम कारण त मेरो यायावरीय जीवन बनेको छ। अर्को कारण बनेको मेरो राजनीतिक चेत जसले मलाई एक समय जेल-जीवनको रसास्वादन गर्न पनि सहायक बनेको थियो। सिक्किम पसी मैले जागिर खाएर मात्र चित्त बुझाइनँ, मनले खाएका राजनीतिक पार्टी सँगको सम्पर्कमा रही निन्तर राजनीतिक कार्य गर्नमा धेरै समय त्यतातिर खर्च गरे। दाबी छ मेरो , मैले कति कमजोर राजनीतिज्ञको जीवनलाई पूर्ण विराम दिलाएको छु। भूताह सम्पादक( Ghost Editor)बनी राजनीतिक प्रचार-पत्रिका, राजनीतिक प्रचार-पत्र, चुनाव घोषणा-पत्र तयार गरेको छु। कति कुरामा चित्त नबुझ्दा त्यसताक सिक्किममा भोट लड्न पसेको जी.एन. एल. एफ्. पार्टीको प्रचार-सचिव भई काम पनि गरेका थिए। कालिम्पोङ छँदा होस् अथवा सिक्किमभित्र साहित्यिक गतिविधिको केन्द्रबिन्दुमा रही अनेक वर्ष खटेको छु। साहित्यसेवा पुस्तकको गणनाबाट मात्र हुँदैन, साहित्यिक रूपमा सक्रिय भई काम गर्नु पनि साहित्यसेवाको एउटा प्रकार हो। एउटै पुस्तक त के, एउटै रचना सम्म नलेख्ने व्यक्तिहरूबाट पनि ठुला ठुला साहित्यिकसेवा र काम भएको हुनसक्छ। तर जब म साहित्यमा सक्रिय भागेदारी लिनछाडेँ, त्यसपछि भने ममा साहित्यिक लेखनमा कमी आएको कुरा म स्वीकार्छु। तर कलमले विश्राम भने लिएको छैन। धेरै प्रकाशित गरी हाल्नु पर्नेजस्ता पुस्तक मसित अझै छन्।

६. तपाइँको समकालीन साहित्यकारहरू को –को हुन् ?

भारतीय नपाली साहित्यको इतिहासमा सन् १९५० को दशकदेखि अहिलेसम्म जो जति लेखिरहेका छन्, ती जम्मै मेरा समकालीन साहित्यकार हुन्। म सँगै एकै मञ्चमा रही काम गरेका साहित्यकारहरूका नाउँ लिँदा नरबहादुर दाहाल, अगमसिँह गिरी, बीरविक्रम गुरूङ, मनबहादुर गुरूङ, गणेशबहादुर प्रसाइँ, सी. बी. प्रधान, जी. छिरीङ आदिका नाउँ आउँछन्। कवि धरणीधर शर्मा, रामकृष्ण शर्मा, टीकाराम शर्माजस्ता दिग्गज साहित्यकारहरूको सङ्गत प्राप्त गरेको छु। नेपालमा हुँदा कवि सिद्धिचरण श्रेष्ठ र माधवप्रसाद घिमिरेसित काम गरेको छु। कमल दीक्षितलाई पनि म बिर्सन सक्तिनँ।

७. तपाइँले केही ओझेलमा रहेका साहित्यकार तथा सामाजिकहरू बारे पनि पुस्तक लेख्नु भएको छ। यसबारे तपाइँ के भन्न चाहनुहुन्छ।

यस क्षेत्रमा यो गरेँ र त्यो भनी देखाउने ठाउँ उति धेर छैन र पनि कति यस्ता काम अवश्य गरेको छु, जसले हराएर गएका, हराउन लागेका कति कुरालाई खोतली बाहिर निकालेको छु। सन् १९८८ मा गान्तोकको भानुपरस्कारले विभूषित हुने कृपाशल्यान राईको आज निक्कै चर्चा छ। उनका नाममा प्रक्रिया सम्पादक वीरभद्र कार्कीढोलीले विशेषाङ्क पनि प्रकाशित गरेको छ, केदार गुरूङले सिङ्गै पुस्तक नै प्रकाशित गरेका छन्। तर सन् १९८८ भन्दा पहिले सिक्किमका कुनै साहित्यकारले उनलाई चिनेका थिएनन्। जब गाउँको एक दीन-हीन दुखिया पुरस्कार लिन गान्तोक आइपुगेथ्यो, सबै छक्क परेका थिए। उनीबारे म जान्दथेँ, क्षेत्रमा उतारेँ। अहिले उनको नाउँमा स्याबासी लिनेहरूको तानातान र हानाहान चलिरहेको छ। म चुपचाप बसेको छु।
सिक्किमा साहित्य युगको सूत्रपात सन् १९४०को दशकबाट धर्मशास्त्र एवं नीतिशास्त्रका कति कविहरूबाट भएको कुरो इतिहाससम्मत छ। यता आधुनिक साहित्यको जग बसाल्ने व्यक्ति थिए सन्तबीर लिम्बु। उनी कृपाशल्यानसरी विस्मृत भएका थिए। कतिले मात्रै बेला-बेला कुरा गर्थे। सन् १९४४ देखि उदय मासिक (बनारस) मा देखापरेका लिम्बुले उदय, गोर्खा, हाम्रो कथा, भारती आदि पत्रिकामा मनग्गे कविता एवं कथा लेखेका थिए। तर ती लुप्तप्राय थिए, खोजी निकाल्ने कोही थिएन। खोज्ने दृष्टि कसैको थिएन। ‘थिए अरे’ बनेका थिए उनी। मैले उनको गोहो देखेका थिए। उनीबारे प्रथम रचना मैले आफूले सम्पादन गरेको आकाशदीपमा उनका कविता प्रस्तुत गर्दै लेखेँ। बनारसका उदय पत्रिकाको सम्पादकसँग बोलबिन्ती गरी कविता झिकाएँ। काठमाडौं गई पुराना पत्रिका खोजी,रहल रचना खोजेँ। एउटा रचनाको निम्ति धाएर गई बटुलेँ। भेटेजति समपादन गरी प्रकाशित गरेँ मैले नगरेको भए अरूले पनि सायदै गर्ने थिए होलान्। उनका रचनाका गाडधन कहाँ-कहाँ थिए, त्यो कसैलाई थाह थिएन। थाह हुने हुने एक-दुई भए, जाँगर थिएन। आज धेरै साहित्यकार उनीबारे उल्टापुल्टा बोल्न थालेका छन्।
सन्तबीर जस्तै अर्का अझ बेजोङ कवि थिए कालिम्पोङका नरेन्द्रप्रसाद कुमाई। उनका कृति खोजी प्रकाशित गर्ने जाँगर भएका कोही थिएनन्। त्यो काम मैले नै गरी देखाएँ। उपलब्ध भएजति उनका कृति अहिले प्रकाशित भइसकेको छ।
अच्छा राई ‘रसिक’को निधन भएपछि उनी उपयुर्क्त कविहरू सरह विस्मृत भएनन्। उनका कृतिहरू प्रकाशित भइरहे। विभिन्न पत्रिकाका कलेवरभित्र माऊकिराको शिकार भई रहेका फुटकर रचनाहरूका सङ्कलन पनि निस्किए। तर उनो जीवनकालमा प्रकाशित हुन नपाएका रचनाहरूको खोज भएको थिएन तथा उनको जीवनीसँग रहेका अनेक रहस्यको उद्घाटन भएको थिएन। मैले दार्जिलिङ गई उनको टीनको एक कन्तुर उठाई कालिम्पोङ ल्याई अध्ययन गरेर उनका कति अप्रकाशित कृति फेला पारेँ तथा उनको जीवनसँग सम्बन्धित अनेक रहस्य उद्घाटित गरेँ। त्यहीँ अध्ययनको निचोड आकाशदीप एक अङ्क रसिक स्मृति अङ्कका रूपमा प्रकाशित गरेँ र प्राप्त कविता, कथा, हाँस्य-व्यङ्ग्यको सङ्कलन रसिकका केही अप्रकाशित रचना नाममा प्रकाशित गरेँ। अरूलाई हँसाई आफू रूने भन्ने निर्क्यौललाई बदर गरी उनी आफ्नै गल्तीको शिकार भइ रोएका थिए भनी देखाएँ। इटरी नेपालमा जुन रसिक साहित्य प्रतिष्ठान स्थापित गरी रसिक माथि धेरै काम भएको छ, त्यसको इतिहासमा मेरो ठुलो भूमिका रहेको छ। रेडियो नेपालबाट मैले रसिकबारे धेरै पहिले बोलेको पनि छु।
८. कुन साहित्यकारबाट ज्यादै प्रभावित हुनुहुन्छ ? किन ?
पारसमणि प्रधान र रामकृष्ण शर्मा। दुवै अलग – अलग व्यक्तित्वका धुरन्धर विद्वान थिए। उनीहरू जस्ता साहित्यिक व्यक्ति आजसम्म मैले देखेको छैन।

९. भारतीय नेपाली साहित्यको गोरेटो कतातिर बग्दो देखिन्छ ?
भारतेली नेपाली साहित्य विकासतिर नै बग्दो देख्छु म त। हाम्रा साहित्य पनि विकासतिर गढगढाएर बगिरहेछ। बढदै गई धेरै अघाडि पुगिसक्ने पनि थियो, यदि बिचतिर असाहित्यिक तथा स्वार्थी तत्त्वहरू आफना क्षमता नहुँदा गुटबाजी गरी साहित्य र साहित्यकारहरूका गला रेट्ने कुतत्त्वबाट साहित्य अछुतो रहँदो हो। साहित्यको विकासमा साहित्यिक सङ्घ र समितिको पनि मुख्य जिम्मेवारी हुन्छ, तर तिनमा असाहित्यिक एवम् रहरमानहरूको कब्जा हुन्छ। मरिमरी काम पनि गर्छन् उनीहरू, तर उत्साहले मात्र हुँदैन, दृष्टि तथा अनुभव सबभन्दा ठुलो कुरो हो। कुनै पनि साहित्य समितिले दर्बिलो पत्रिका ठिक ठिक समयमा निकाल्न नसक्नु अर्को अडचन छ। तथापि भारतेली नेपाली साहित्य विकासतिरै लम्किरहेको देख्छु।
१०. सिर्जनात्मक लेखन, समीक्षा, समालोचना, सम्पादन मध्ये कुनमा तपाइँ रमाउन सक्नुहुन्छ ?
यी जम्मै विधामा मेरो चाख छ र गरिरहेको पनि छु। यद्यपि साहित्यमा सिर्जनात्मक लेखनको बढी महत्व छ।
११. नेपालको नेपाली साहित्य र भारतको नेपाली साहित्यमा केही अन्तर पाइन्छ कि ?
नेपाल एउटा देश हो, भारतीय नेपालीको संसार साना - साना परिधिभित्र छरिएर बसको छ। बिचमा धेरै कठिनाईका तगारा छन्। एकसँग अर्काको सम्पर्क छैन। नेपाल अहिले साहित्यको सन्दर्भमा महासमुद्र हो, भारतीय नेपाली साहित्य एउटा साना - साना पोखरी जस्तो भएको छ। यसैले दुईबिच अन्तरै अन्तर छन्। जुन साहित्यलाई सरकारको प्रत्यक्ष रूपमा बरद हात प्राप्त छ, त्यो त्यसै पनि सगर छुन पुग्छ।
१२. तपाइँले केही पुस्तकहरू अनुवाद पनि गर्नु भएको जस्तो लाग्छ। अनुवाद कतिको आवश्यक छ साहित्यमा ?
मैले धेरै त गरेको छैन, तर एकदुई पुस्तकहरू गरेको छु। धेरै अरूले पनि गरेको छ। बढता काम त अनुवादमा पनि नेपाल मै भएको छ, यता थोरै मात्र। साहित्यमा अनुवादको स्थान महत्त्वपूर्ण छ। अरू भाषा र साहित्यमा अनुवाद साहित्यको धेरै ठुलो क्षेत्र छ। भारतबाट प्रकाशित नेपाली भाषाका कृतिहरू भारतीय अन्य भाषाहरूमा मात्रै अनुवाद भए पनि राम्रो काम हुनेथ्यो।
१३. नेपाली साहित्यिक पत्रिकाको सम्पादन र प्रकाशनमा तपाइँको अनुभव ?
अनुभव कटुभन्दा पनि कटुतम् छ। गर्छु भन्दा लेखक–कविहरूबाट सहयोग नपाउनु, जति नै स्तरीय पत्रिका तयार पार्दा पनि बिक्री नहुनु, बिक्रेताबाट भनेजस्तो बिक्री रकम नपाउनु जस्ता कटु अनुभव छन् ममा र पनि त्यस गोरेटोलाई पछ्याउन अझ पनि छाडेको छुइनँ।
१४. भारतीय नेपाली साहित्यिक पत्र – पत्रिकाको वर्तमान स्थितिप्रति यहाँको मनतब्य ?
पत्र-पत्रिकाको विकास होस् भनी सरकार तथा कति साहित्यप्रति अभिरूचि राख्ने सङ्घ-संस्थानहरूलाई लाख-लाख सहयोग राशी प्रदान गरिँदा पनि स्वार्थ र गुटबाजीमा लाग्ने कार्यकर्ताले यस दिशामा काम गर्ने समय नै पाउँदैनन्। स्थिति कतै पनि सन्तोषजनक छैन। म त सदैव साहित्यिक संस्थाहरूलाई साहित्यिक-समाजमा पुरस्कार वितरण गरी उपद्रो सिर्जना गर्नुभन्दा सुचारू रूपले स्तरीय पत्रिका चलाउने सल्लाह दिइरहन्छु। निर्माण प्रकाशन र स्रष्टा बाहेक अरु काम भएको देखिँदैन।
१५. तपाइँको बहुचर्चित र विवादित कथा ‘पाँडेकाजी’बारे केही बताइदिनु हुन्छ कि ?
म यस कथालाई मेरा उत्कृष्ठ कथाहरू मध्ये एक ठान्दिनँ र पनि यो कथाको पृष्ठभूमि अरुबाट नछोइएको र यसभित्र बीर गोर्खाजातिको अभिमानको बास हुनाले यो केही हदसम्म चर्चित बनेको छ। सिक्किममा खाँदै गरेके जागिर खोसिनुमा अनेक कारण मध्ये यो पनि एउटा कारण बनेकाले मेरा निम्ति यो एक अभिमानको प्रतीक बनेको छ। यसको ऐतिहासिकता तथा घटना कथाभित्रै नै उपलब्ध छ।
१६. साहित्यमा देखापर्ने विभिन्न वाद अथवा नौला नौला सिद्धान्तहरूबारे तपाइँको दृष्टिकोण कस्तो छ?
कवि लेखकको काम लेख्नु, लेखिरहनु हो। वाद र सिद्धान्त भन्ने कुरा समालोचक, समीक्षक, साहित्यका इतिहासकारहरूको हो। तर आफूले सोचेको वादको अन्धाधुन्धा प्रचार गर्नु जस्ता कामको उपादेयता मैले बुझ्न सकेको छैन। सोझा सरल कुरालाई चल्तीको भाषा, व्याकरणको उपेक्षा गरी जब्बरजस्ती जटिल बनाउनु जस्ता कुराको आवश्यक्ताको औचित्य छ भनेर म भन्न सक्तिनँ। मेरो विचारमा पाठकवर्गले बुझ्न नसक्ने साहित्यलाई त म कृतिम साहित्य मान्दछु। आज नबुझ्ने साहित्य पचास वर्षपछि बुझेर के गर्नु। कति कवि कथाकार यस्ता नयाँ प्रयोग गर्न खोज्छन्, तर पाठकले घोर निन्दा गरेको र कति त निन्दा खप्न नसकेर कालकवलित भएको पनि देखेको छु। कुरा साँचो पनि हो। तर मेरा लागि म हिँडिरहेको गोरेटो नै मनपर्छ। यस्ता वाद र सिद्धान्तलाई म नमस्कार गर्छु, स्वागत चाहिँ गर्दिनँ। हुनसक्छ यो मेरो सिमीत योग्यताको परिचायक हो।
१७. अन्तमा वर्तमान साहित्यका युवा पिँढीलाई तपाइँ के भन्नु हुन्छ ?
गम्भीर अध्ययनबिना कुशल साहित्यकार बन्न सकिन्न। अध्ययनप्रति बढी ध्यान दिई लेख्ने गर्नु उचित हो, कुशल कार्य गर्नलाई अध्ययन बिना हुँदैन। नत्र भने ढटेँढुटेँ साहित्यकार बनिन्छ। श्रम खेर जान्छ। वर्तमान पिँढी अझ सचेत हुन आवश्यक छ।

(उप-प्राध्यपक, नेपाली विभाग, कालिपद घोष तराई महाविद्यालय, बागडोगरा, दार्जिलिङ।)

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 15 मङ्गसीर, 2070

लेखकका अन्य रचनाहरु