साहित्यकार दामोदर पुडासैनी ‘किशोर’सँग वार्ता

- पेशल आचार्य

(दामोदर पुडासैनी ‘किशोर’ चर्चित साहित्यकार हुनुहुन्छ । सं. २०१९ जेष्ठ १८ गते काठमाडौँको जितपुरफेदीमा जन्मिएका पुडासैनी पेसाले महालेखा परीक्षकको कार्यालय, बबरमहलका निर्देशक हुनुहुन्छ । कथा, कविता, निबन्ध, नियात्रा, गजल, हाइकुजस्ता विधाहरूमा सिद्धहस्त दामोदर पुडासैनीका ‘आफन्तका अनुहारहरू’, ‘आँखाको खोजीमा’, ‘आकारको खोजीमा’, ‘आलोकित आयाम’, र ‘समयको सहीछाप’ जस्ता कविता सङ्ग्रहहरू अत्यन्त चर्चित रहे । अझ सं. २०६५ सालमा प्रकाशित उहाँको नियात्रा सङ्ग्रह —‘यात्राका प्रेमिल तरङ्गहरू’ र सं. २०७० सालमा रत्न पुस्तक भण्डारले प्रकाशनमा ल्याएको अर्को नियात्रा संग्रह —‘नमेटिएका चित्रहरू’ ले नेपाली नियात्रा लेखनमा बिल्कुलै नयाँपन ल्याएका छन् तथा दिनानुदिन चर्चाको शिखर चढिरहेछन् । अमेरिका, बेलायत, रूस, फ्रान्स, जर्मनी, स्वीट्जरल्याण्ड, नेदरल्याण्ड, पाकिस्तान, युनाइटेड अरब इमिरेट्स्, जोर्डन, कतार, इजिप्ट, भारत, चीन, बङ्गलादेश, म्यान्मा, श्रीलङ्का, थाइल्याण्डजस्ता विश्वका दुई दर्जनभन्दा बढी मुलुकहरू र नेपालका ७१ भन्दा बढी जिल्लाहरूको भ्रमण गरिसक्नु भएका पुडासैनी अत्यन्त मिलनसार र सहयोगी स्वाभावका हुनुहुन्छ । विषय र शैली दुवैमा नयाँपन भएपछि मात्र लेखन राम्रो हुन्छ भन्ने विचार राख्नु हुने उनै साहित्यकार दामोदर पुडासैनी ‘किशोर’सँग समकालीन नेपाली साहित्यका नेपाल प्रतिनिधि कवि तथा साहित्यकार पेशल आचार्यले गर्नु भएको कुराकानीको सारसङ्क्षेप यहाँ प्रस्तुत छ —

प्रश्न १. अहिलेका आफ्ना छोराछोरीको बाल्यकाल र आफ्नो बाल्यकालमा केही समानता वा असमानता छन् कि बताइदिनुहोस् न ?
उत्तरः— समयको परिवर्तनसँग सबैको आनिबानी र चालचलनमा फरकपन आउँछ नै । अहिलेको तुलनामा हाम्रो बाल्यकालको परिस्थिति फरक थियो । त्यतिखेर समाज रुढीवादी पक्षमा बढी आश्रित थियो । विज्ञान र प्रविधिले अहिलेजस्तो उन्नति गरेको थिएन । आर्थिक क्रियाकलाप बढी संकुचित थियो । शिक्षा, स्वास्थ्य, सञ्चार सबै क्षेत्रमा अहिलेभन्दा कठिन परिस्थिति थियो । अभाव र अप्ठेराहरू बढी थिए –त्यतिखेर । तर, जीवन अहिलेजस्तो जटिल थिएन, सरल थियो । अहिले बालबच्चाको सोचाइमा धेरै परिवर्तन आएको छ । विज्ञान र प्रविधिसँग रफ्तारमा लाग्दा हतार र चिड्चिडाहट्मा छन् –बालबच्चाहरू । संसार एकै ग्राम भएकोले पनि यतिखेरका बच्चाहरू बढी चनाखो, ऊर्जाशील र प्रतिस्पर्धी देखिन्छन् । तर, यतिखेरका बालबच्चामा पारिवारिकभन्दा एक्लोपनको मात्रा बढेको जस्तो लाग्दछ ।

प्रश्न २. यहाँनेर आइपुग्न यहाँले के कति मेहनत गर्नुभयो ?
उत्तरः— जिन्दगी नै विभिन्न क्रियाकलापहरूको गतिशील शृङ्खला रहेछ । मेहनत विना जिन्दगी चल्न र सार्थक बन्न पनि सक्ने कुरै भएन । यहाँसम्म आइपुग्न धेरै मेहनत गरियो, गरिँंदै पनि छ । मेहनत विना मान्छे एकक्षण पनि अघि बढ्न सक्तैन ।
प्रश्न ३. जीवनलाई बुझ्दै हुनुहुन्छ ? वा बुझिसक्नु भयो ?
उत्तरः— जीवन बुझिरहने हो, बुझिसक्ने कुरा होइन । क्षण क्षणमा नौलो रूपमा भोगिन्छ जीवनलाई, क्षण क्षणमा फरक रूपमा बुझिन्छ जीवनलाई । जीवन समाप्त भैसक्ता पनि जीवन पूर्णतः बुझिसक्तैन मान्छेले । जिन्दगी र ब्राहमाण्ड रहस्यको पोको नै हो, जति खोल्यो त्यो भन्दा अझ धेरै बाँकी रहन्छ बुझ्न । पूर्णतः बुझिनसकेर पो रोमाञ्चकारी छ – यो जीवन ।

प्रश्न ४. के रहेछ त वास्तवमा जिन्दगी भनेको ?
उत्तरः— जिन्दगी अमूल्य प्राप्यता होे, असीम रहस्य हो, सुखदुःख, आँसुहाँसो सबैको सङ्गम हो । जिन्दगी पाउँदा साह्रै ठूलो उपलव्धी र बिलाउँदा सबैभन्दा ठूलो दूर्घटना पनि हो ।

प्रश्न ५. यहाँका प्रकाशित कृतिहरू कति छन् ? अझै कुनकुन विधाका कति कृतिहरू लेख्ने र प्रकाशन गर्ने योजनामा हुनुहुन्छ ?
उत्तरः— अहिलेसम्म कविता, नियात्रा र निबन्ध विधाका सात कृतिहरू प्रकाशित भएका छन् –मेरा । निकट भविष्यमा अरू तीन कृतिहरू प्रकाशोन्मुख छन् । कथा, कविता, नियात्रा र निबन्ध विधाका आधा दर्जनभन्दा बढी कृतिहरू प्रकाशकको मुख ताकिरहेछन् । समयले साथ दियो भने उपन्यास लेख्ने र प्रकाशमा ल्याउने प्रयासमा छु ।

प्रश्न ६. तपाईंलाई अफ्नो मौलिक कृति निकालेपछि कस्तो अनुभूति हुनेगर्छ ?
उत्तरः— एउटी महिलाले प्रसव वेदनापछि सन्तानको अनुहार हेर्दै मुस्कुराएको जस्तो हुन्छ मलाई आफ्नो कृति प्रकाशमा आएपछि ।

प्रश्न ७. जीवनबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ? सन्तुष्ट हुने कारणहरू बताइदिनुहोस् न ।
उत्तरः— म जीवनप्रति अत्यन्त आशावादी र सन्तुष्ट छु । जीवनका हरेक अप्ठेराहरूले मलाई सहजता र सुगमताको मार्ग प्रशस्त गरिरहेछन् । जीवनका हरेक अँध्यारा पाटाहरूले उज्यालो प्रदेशको आभाष गराइरहेछन् । जीवन छ र त संसार छ मेरो लागि । जीवन एउटा भएपछि सबै नकारात्मक भनिएका कुराहरू गौण हुन्छन् –जिन्दगीमा ।

प्रश्न ८. मोफसलीय साहित्यिक गतिविधिलाई कसरी मूल्याङ्कन गर्नु भएको छ ?
उत्तरः— मेरो विचारमा साहित्यलाई फसल र मोफसलको कित्तामा विभाजन गर्नु ठीक होइन । नजिक र टाढा भन्ने सापेक्षिक कुराहरू हुन् । कसैले अरूलाई टाढा मान्छ भने ऊ पनि कसैबाट टाढा हुन्छ नै । अहिलेको समयमा विद्युतीय संजालको कारण जुनसुकै कुना पनि सुगम भएको छ । फेरि राजधानीमा वा सहरमा बस्नेको चेतनाको स्तर पनि ठूलो र फ¥याक हुने तर गाउँमा बस्नेको चेतनाको स्तर कम आँक्न पनि मिल्दैन । फसल र मोफसलमा विभाजन गर्नु भनेको स्रष्टाहरूलाई विभाजन गरेर धमिलो पानीमा माछा मार्नु सरह मात्र हो

प्रश्न ९. साहित्यमा यौनको उपस्थिति कत्तिको आवश्यक ठान्नुहुन्छ ? सार्थक वा निरर्थक ?
उत्तरः— जीवन यौनबाट सुुरूहुन्छ र यौनको स्पर्शले नै रमाई रहन्छ । जीवनबाट यौन अलग गर्नु भनेको जीवननै निमिट्यान्न पार्नु हो । साहित्य जीवन र जगत्लाई मिहिन रूपमा विश्लेषण गरेर यी दुवैका रहस्यहरू उजागर गर्दै अझ उचाइमा उँभो लगाउन तयार गरिने सिर्जना हो । त्यसैले साहित्यमा प्रत्यक्ष वा परोक्ष रूपमा यौनको उपस्थिति हुनै पर्दछ । साहित्यमा यौन नहुनु भनेको नून विनाको अचार तयार गर्नुजस्तै हो ।

प्रश्न १०. सम्वत् २०४६ अगाडिका साहित्यिक कृतिहरू र समकालीन साहित्यिक कृतिहरूमा गुणवत्ता र प्रभावकारिताका हिसाबले कत्तिको फरक पाउनु भएको छ त ?
उत्तरः— समय परिवर्तन हुँदैमा कृति लेखनमा आफसेआफ ठूलो परिवर्तन आउने होइन । सं. २०४६ पूर्वका पनि कतिपय कृतिहरू स्तरीय थिए, त्यसपछिका पनि सबै कृतिहरू उम्दा नै छन् भन्न सकिन्न । तर, सम्वत् २०४६ पछि देशमा चेतनाको स्तर तीव्र रूपमा बढेको छ, विश्वपरिस्थिति र विश्व साहित्यको जगजगी बढेको परिप्रेक्ष्यमा सिर्जनाको स्तर पनि सापेक्षिक रूपमा अघि बढिरहेको देखिन्छ ।
प्रश्न ११. तपाईंलाई वर्तमान समयमा निस्केका आख्यान÷अनाख्यान कृतिहरूमध्ये कसकसका कुनकुन कृतिहरू कुन हदसम्म मन पर्दछन् ?
उत्तरः— वर्तमान समयमा निस्केका आख्यान÷अनाख्यान कृतिहरूमध्ये कतिपय कृतिहरू मलाई मन परेका छन् । विषय र शैली पक्षमा नयाँपन भएका कृतिहरू मलाई मन पर्दछन् । विषय र शैलीले नयाँपन बोक्न नसकेका कृतिहरूले खासै उत्साही पार्न सक्तैनन् ।

प्रश्न १२. यतिका मान्छे साहित्य लेख्छन् । तपाईंलेनै परिश्रमपूर्वक साहित्य किन लेख्नु प¥यो होला ?
उत्तरः— संसारका सबै मान्छे अरू भन्दा फरक छन् — रूप र सोचाइमा । जन्मनुको अर्थ हरेकले संसारको फरक जिम्मेवारी सम्हाल्नु पनि हो र फरक योगदान दिनु पनि हो । संसारमा पदार्पण गरिसकेपछि हरेकले संसार र जीवनको मर्म यथाशक्य सत्यतापूर्ण ढङ्गले बुझ्नु र त्यसलाई समाजको लागि प्रकाश पार्नु अत्यावश्यक हुन्छ । राम्रो काम जो सुकैले जत्ति बढी गरेपनि आफूले गर्न पछि पर्नु हुँदैन । त्यसै भएर मैले परिश्रमपूर्वक साहित्य लेख्नु पर्दछ ।

प्रश्न १३. उत्तरआधुनिकता भनेको के हो ? तपाईंका विचारमा नेपालमा यसको प्रयोग के कसरी भैरहेको छ ?
उत्तरः— उत्तरआधुनिकता र यसको विवाद पनि एक पक्ष हो तर यसैमा मात्र संपूर्णता छैन । उत्तरआधुनिकताको परिभाषा पढेर मात्र सिर्जनामा लाग्नुपर्छ भन्ने पक्षमा पनि म छैन । नेपालमा उत्तरआधुनिकता भनेर हुरुक्क हुने र त्यसको विरुद्ध सत्तोसराप गर्नेहरूको छुट्टाछुट्टै जमात छ । सिद्धान्तहरू जे सुकै पनि प्रतिपादन गर्नु, बुझनु र प्रयोग गर्नु राम्रै हो तर त्यसको मतलब त्यसैलाई आधार बनाएर ठूलो विवाद्को घेरामा पारिरहनु उचित होइन जस्तो लाग्दछ ।

प्रश्न १४. अव जीवनको धोको के रहेको छ ?
उत्तरः— जीवन धेरै जटिल नहोस् जस्तो लाग्छ । बाँचुञ्जेल कसैसँग धमिलोपन नसिर्जियोस् जस्तो लाग्छ । बाँचुञ्जेल साहित्य सिर्जना र अध्ययनमा स्वस्थ्य र खुसीपूर्वक लागिरहन पाए राम्रो हुन्थ्यो जस्तो लाग्छ ।

प्रश्न १५. विदेशी भूमिबाट अहिले विभिन्न मानिसहरूले लेखिरहेका साहित्यलाई तपाईंको विचारबाट कसरी मूल्याङ्कन गर्नु भएको छ ?
उत्तरः— संसार व्यापक छ । संसारका कुना कुनाबाट असंख्य साहित्यिक कृतिहरू जन्मिरहनेछन् । ती मध्ये कयौं कृतिहरू शैली, भाषा र विषयको दृष्टिकोणले स्तरीय छन् । कतिपय कृतिहरूमा ती पक्ष फितला पनि छन् । विदेशी भनेपछि सबै कृतिहरू स्तरीय र उम्दा नै छन् , हाम्रा भने गणनायोग्य छैनन् भन्ने हाम्रा केही साहित्यकार मित्रहरूको सोचाइ पाइन्छ । हाम्रा कृतिहरू पनि विश्व साहित्यसँग कुम जोडेर हिँड्न सक्षम छन् भन्ने हामीले बिर्सनु हुँदैन । तर, विश्व साहित्य अध्ययन गर्ने र त्यसबाट सिक्ने पक्षमा भने हामी पछि पर्नु हुँदैन ।

प्रश्न १६. अन्त्यमा, नयाँ लेखकहरूलाई के सल्लाह दिन चाहनुहुन्छ ?
उत्तरः— नयाँ लेखकहरू ऊर्जा बोकेर उदाउनु भएको छ । प्रतिभा, अध्ययन र लेखनमा निरन्तरताले निश्चय नै निखार ल्याउँछ जस्तो मलाई लाग्छ । उहाँहरूले युगलाई बोक्ने मात्र होइन सिर्जना मार्फत् डो¥याउनु पनि पर्दछ ।

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 1 मङ्गसीर, 2070

लेखकका अन्य रचनाहरु