परशु प्रधान र म

- परशु श्रेष्ठ

पत्रकारितामा सक्रिय ममा जोस, जाँगर र लगावको खाँचो थिएन । धरानबाट निस्किने एक दैनिक पत्रिकामा सम्वाददाताकोरुपमा प्रत्येक दिन सामान्यतया कम्तिमा बाह्र घण्टा खटिनुपथ्र्यो । न अहिले जस्तो मोवाइल फोन, न त मोटरसाइकल । धरानभरि जता गए नी पैदल यात्रा गर्नुपथ्र्यो । निकै टाढा जानु परे वा फर्केर कार्यालयमा अरु काम गर्नुपर्ने भए मात्र कहिले काहिँ यातायात खर्च मिल्थ्यो । न खाजाको टुंगो, न पानीको ।
तत्कालीन राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासन सुरु गरी माओवादी विरुद्ध सैनिक परिचालन गरेकाले परिस्थिति अत्यन्तै जटिल थियो । जताततै मरेको, मारेको, अपहरण गरेको, घाइते भएको, बम पड्केको जस्ता भयानक् घटनाहरुमात्र सन्चारमाध्यमहरुमा छाइरहन्थे । स्थलगत रिपोर्टिङ्को क्रममा कुन बेला दुर्घटनामा परिने हो भनेर मन सधैं त्रसित रहन्थ्यो । तै पनि युवा पत्रकार÷लेखक भनेर चिनिने चाहनाले मन पत्रकारिता छोडेर अन्य पेशा रोज्न तयार थिएन । शायद त्यसैले थाकेर शरीर क्लान्त भएको अवस्थामा पनि साहित्य सिर्जना तिर थप समय खर्चिन मन तयार रहन्थ्यो ।
वि. सं. २०६१ सालतिर मधुपर्क र कोपिलामा मेरा कथाहरु छापिन थालेका थिए? । आधा दर्जनजति लघुकथा र बालकथा छापिएपछि म उत्साहित थिएँ । यस्तैमा एकदिन (साउन महिना हुनुपर्छ) त्यतिबेलाका चर्चित कवि गोविन्द विकलले बिराटनगर जाने प्रस्ताव राख्नुभयो । उहाँ वाणी प्रकाशनले आयोजना गरेको कवि सम्मेलनमा जान लाग्नुभएको रहेछ । म पनि उहाँको पछि लागेँ ।
दिउँसो दुई बजेतिर हामी बिराटनगर उपमहानगरपालिकाको सभाहलमा पुग्दा कवि गोष्ठी जारी थियो । मन्चमा एकजना सेतो सर्ट, कालो पाइन्ट र कालो टोपी लगाएका अग्लो कद, पातलो काय र प्रभावशाली स्वर भएका कवि आपm्नो कविता पाठ गरिरहेका थिए । तिनी अहिलेका चर्चित कवि मनु मन्जिल रहेछन् ।
विकल दाइलाई देखेर वाणी प्रकाशनका अध्यक्ष तथा चर्चित कथाकार परशु प्रधान हामीतिर आउनुभयो । दुवैले नमस्ते आदान प्रदान गर्दै हात मिलाइसके पछि विकल दाइले मतिर औंलोले देखाउँदै मेरो परिचय गराउनु भयो—“उ चाहिँ परशु श्रेष्ठ । पत्रकार अनि बाल कथा लेखक । कोपिलामा कथा लेख्छ । ”
परशु प्रधानलाई मैले नमस्कार गरें । उहाँ अचम्मित हुँदै लगभग चिच्याउँदै मसित हात मिलाउन आउनुभयो । “लौ, बल्ल चोर पक्राउ पर्यो,” अँगालो मार्दै उहाँले भन्नुभयो, “यहाँ मलाई साथीहरुले मार्न आँटिसके रोयल्टी खान दुईटा नाम प्रयोग गरेर लेख्यो भनेर ।” म र विकल दाइ हाँस्यौं । त्यतिका चर्चित कवि÷लेखकहरुको बिचमा मेरो नामको चर्चा चलिरहेको थाहा पाएर मन फुरुङ् भयो । एकैछिन रोकिएर उहाँले भन्नुभयो — “तिमीले पनि कविता ल्याएका छौ? लौन, तुरुन्तै मन्चमा गएर कविता पाठ गरिहाल । साथीहरुले पनि थाहा पाउन् । मेरो टाउको दुखाइसके ।”
मैले त्यतिबेला थाहा पाएँ — परशु प्रधानको खास नाम परशुराम श्रेष्ठ रहेछ, मेरो जस्तै । उनी भोजपुरमा जन्मे हुर्केका रहेछन् । तर दार्जीलिङ्मा बस्दा परशु प्रधान नामबाट लेख्न थालेछन् । पछि यहि नामबाट उनी चिनिए ।
मैले कविता लेखेको थिइनँ । त्यसैले मसँग कविता थिएन । परशुदाइले अरुकै कविता भएपनि एकपटक पाठ गरिदेऊ भनेर ढिपी गर्नुभयो । तर मैले मानिनँ । मलाई आफ्नो घरको ठेगाना बताएर फोन नम्बर पनि दिनुभयो बिराटनगर आउँदा भेट्न नबिर्सनू भनेर ।
त्यसपछि दुईपटक भेट भयो मेरो परशु प्रधानसँग । म बिराटनगरमा ठूलो बुवाको घर गइरहन्थें । एक बिहान –मंसीर महिना) पिचराबाट फर्कने क्रममा बाटोमै मर्निङ् वाक्बाट फिर्दै गरेको अवस्थामा उहाँलाई भेटें । मैले नमस्ते गरेर परिचय दिएपछि मेरो घर जाऊँ भन्नुभयो । म उहाँको पछि लागेर गएँ ।
उहाँको घर नजीकै रहेछ । भर्खर बनाइँदै गरेको घरको गेट खोलेर हामी भित्र पस्यौं । बैठकमा पत्रपत्रिकाहरु थुप्रै थिए । एकछिन सरसरती पत्रिकामा आँखा डुलाएर उहाँ भित्र पस्नुभयो मलाई पर्खाएर । भित्रबाट कल्पना प्रधान (बाल साहित्यकार तथा परशुदाइकी अधाङर््गिनी) चिया लिएर आउनु भयो र छक्क परेर मलाई निकैबेर हेर्नुभयो । परशु दाइले पहिले नै उहाँलाई मेरोबारेमा जानकारी गराइसक्नु भएको अनुमान मैले गरें ।
चिया खाँदै पत्रिका पढिरहेको मलाई एकछिनमा लुगा फेरेर बाहिर आउँदा परशु दाइले करिब आधा दर्जन पुस्तकहरु (वाणी प्रकाशनले छापेका) ल्याएर दिनुभयो उपहार भन्दै । त्यसमा उहाँको उत्तराद्र्ध कथा संग्रह पनि थियो । अरु कृतिहरु अन्य लेखकका थिए ।
म त्यतिबेला बि ए दोस्रो वर्षमा अध्ययनरत थिएँ । उहाँले बि ए प्रथम वर्षको अनिवार्य अंग्रेजीको पाठ्यपुस्तकमा समावेश भएको आफ्नो कथा द टेलिग्राम अन द टेबल को बारेमा मलाई सोध्नुभयो कस्तो लाग्छ भनेर । मैले आफूलाई उत्त कथा मन परेको बताएँ । त्यसपछि उहाँले मलाई भन्नुभयो— ”अब अंग्रेजीमा कथा लेख्नु राम्रो हुन्छ । नेपालीमा जति लेखेपनि नाम र दाम खासै कमाउन सकिन्न । अंग्रेजीमा लेख्दा दुबै मिल्छ ।”
म अंग्रेजी साहित्यको विद्यार्थी । केहि अघिमात्र नेपाल नामक एउटा पाक्षिक पत्रिकामा ताना शर्माको लेख पढेको थिएँ । त्यसमा उनले नेपाली साहित्यलाई १३७ वटा ग्रन्थ दिएको भएपनि चित्त बुझ्दो नाम र दाम कमाउन नसकेको गुनासो गर्दै बरm अंग्रजीमा त्यतिका पुस्तक लेखेको भए इज्जत, प्रतिष्ठा र इनाम सबै मिल्ने थियो भन्ने आशय ब्यक्त गरेका थिए । त्यसमाथि अजित बराल (हाल फाइनप्रिन्टका प्रकाशक) ले कान्तिपुर दैनिक, द काठमान्डु पोष्ट लगायतमा नेपालमा अंग्रेजी जान्ने मानिसको संख्या ठूलो भएपनि अंग्रजीमा पुस्तक लेख्ने मानिसको अभाव रहेको छ भन्ने आशयका लेखहरm लेखिरहेका थिए । म तिनबाट पनि प्रभावित थिएँ । त्यसैले बिस्तारै अंग्रेजीमै लेख्न शुरm गर्नुपर्छ भन्ने विचार मनमा पलाउँदै थियो । त्यसमाथि परशु प्रधान जस्तो कथाकारले पनि अंग्रेजीमा नलेखेकोमा पछुतो मानेको देखे सुने पछि म झन् दृढ भएँ अंग्रेजी भाषा सिक्न र लेख्न ।
केहिछिन पछि परशु दाइको जाडीलाई उहाँहरुकै घरको अघिल्तिर उभ्याएर एउटा फोटो खिचिदिएँ र आफ्नो बाटो लागेँ । मसँग त्यतिबेला पुरानो मोडेलको हाते जापानिज यासिका क्यामेरा थियो । ब्याट्री बिनापनि फोटो राम्रो खिच्ने तर टुंगो चाहिँ नहुने ।
दोस्रो पटक बिराटनगर जाँदा म एकजना भर्खरै चिनजान भएका आफन्तकोमा निस्किएको थिएँ । उनको घरको छतबाट कल्पना भाउजुलाई अर्को घरको छतमा देखें । सोधखोज गर्दा थाहा भयो म त परशु दाइको घर नजीकै रहेछु । पुन एकपटक उहाँलाई भेट्न गएँ ।
फागुन महिनामा पनि बिराटनगर चिसो थियो । तर दिउँसो ११ बजेतिर हुनाले घाम पारिलो थियो । कल्पना भाउजु आएर ढोका खोल्नुभयो र मलाई घरको छतमा लिएर जानुभयो । परशु दाइ छतमा घाम ताप्दै पुस्तक पढिरहनु भएको थियो । म छेउमा बस्नासाथ परशु दाइले सोध्नुभयो—“अस्ति नै खिचेको फोटो ल्याएका छौ?” मैले छैन भनें । त्यसरी अचानक् परशु दाइको घर पुगिएला भन्ने मलाई लागेको थिएन । फोटो राम्रो आएको थियो तर घरमै छोडिएको थियो ।
पुन करिब आधा दर्जन पुस्तकहरु मैले पाएँ उपहारस्वरुप । परशु दाइको कथा र रचनागर्भ पनि त्यसमा सामेल थियो । कुरै कुरामा फेरि द टेलिग्राम अन द टेबुल को प्रसङ्ग उठ्यो । परशु दाइले पुन उस्तै निराशा ब्यक्त गर्नुभयो नेपालीमा लेखिएका साहित्यप्रति । मलाई लाग्यो— “साँच्चै नेपालीमा लेख्दा यो उचाइमा पुगेपछि पनि यस्तो निराशा हुन्छ भने अब अंग्रेजीमै थाल्नु पर्ला ।” अहिले मलाई यो गलत विचार रहेछ भन्ने लाग्छ ।
अंग्रेजीमा एम. ए. अध्ययन थालेपछि एकाएक मेरो पत्रकारितामा सक्रियता रोकियो । पढाइमा राम्रो नतिजा ल्याउन प्राप्ताङ्क प्रतिशत बढाउनुपर्ने दबाब र तनावले गर्दा सिर्जनात्मक लेखन पनि ठप्प भयो । अंग्रेजीमा साहित्यको सिर्जना पर्याप्त भाषिक दक्षता अभावमा हुन पाएन ।
अहिले पछुतो लाग्छ—अंग्रेजी सिक्दै गर्दाको बखत पनि लेखनकार्य नबिसाएको भए शायद नेपाली साहित्यमा एउटा परिचय बनिसक्थ्यो कि? तर बितिसकेको समय फर्काउन अब सम्भव छैन ।

इटहरी—५, सुनसरी

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 23 कार्तिक, 2070

लेखकका अन्य रचनाहरु