वरिष्ठ साहित्यकार जगदीश घिमिरेसँग साहित्यिक संवार्ता

- पेशल आचार्य

(फूलबारीमा विभिन्न रङका फूलहरू भएझैँ समाजमा पनि विभिन्न विशेषताका व्यक्तित्वहरू रहेका हुन्छन् । त्यसैगरी आधुनिक नेपाली साहित्यमा पनि विविध प्रकारका प्रतिभाशाली नेपाली स्रष्टाकै उपस्थितिका कारण निकै ओजनदार र गर्विलो इतिहास रहेको तथ्य जगजाहेर छ । यहाँ नाम चलेका बहुप्रतिभाशाली लेखकहरू रहेका छन् जसमध्ये लेखक जगदीश घिमिरे पनि एक हुन् । जगदीश घिमिरे नेपाली साहित्यको आधुनिक कालका एक बहुचर्चित र स्थापित स्रष्टा हुन् । उनले कथा, कविता, उपन्यास, नाटक र निबन्ध लगायतका विधोपविधामा गतिला र चर्चित कृतिहरूको रचना गरेका छन् । पछिल्लो समयमा अन्तर्मनको यात्रा (आत्मालाप) र सकस आख्यानात्मक कृतिबाट बहुप्रशंसित रहेका घिमिरेले बीसको दसकमा साविती र तीसको दसकमा लीलाम नामका उपन्यासबाट चर्चाको शिखर नै आरोहण गरेका थिए । अग्निसूत्र नामक कवितासङ्ग्रह र बर्दी नामक कथासंग्रह र सन्तान नाटक समेत उनका प्रकाशित पुस्तकीय कृतिहरू हुन् । प्रस्तुत छ हाम्रा नेपाल प्रतिनिधि पेशल आचार्यले आजभन्दा ठीक दुई वर्षअघि (२०६८ मंसिर १५ गते) पुस्तक लेखन कार्यमा जन्मस्थल मन्थली आउनुहुँदा घिमिरेसँग वहाँको लेखन, जीवन, भोगाइ, समयसत्ता र विविध रमाइला पक्षहरूमा गर्नु भएको लामो साहित्यिक संवार्ताको रूप । – सम्पादक)

प्रश्न ः जगदीश घिमिरेकै दृष्टिमा जगदीश घिमिरेको बाल्यकाललाई कसरी चित्रण गर्दा समुचित होला ?
उत्तर ः जगदीश घिमिरेको बाल्यकाल मन्थली, बनारस, सल्यान र जनकपुरमा सुखद् वातावरणमा बितेको थियो । जागिरे पिताको जागिरमा विभिन्न स्थान र मानिसहरूसँग संगत गरेका कारण त्यो अतीव रमाइलो पनि रह्यो साथै रोमाञ्चपूर्ण पनि ।
प्रश्न ः यहाँनेर आइपुगेपछि टक्क अडिएर पछिल्तिर फर्किँदा जीवन कस्तो भोगिएछ जस्तो लाग्छ ?
उत्तर ः मैले धेरै कुरा त अन्तर्मनको यात्रामा पनि भनिसकेको छु । यहाँ (मन्थली) मा पनि बित्यो । कहाँकहाँ बित्यो ख ! सबै भनिसक्या छु । सल्यान, बनारस आदि ठाउँमा बित्यो ।
प्रश्न ः जीवनप्रति कुनै गुनासो रह्यो त ?
उत्तर ः सिङ्गै अन्तर्मनको यात्रामा जीवनप्रतिकै दृष्टिकोण नै लेखेको छु । हेर्नुस् अनि लेख्नुस् ।
प्रश्न ः जगदीश घिमिरे कुन अभीष्ट पूर्तिका लागि साहित्य लेख्छ ?
उत्तर ः लत हो । बानी लाग्यो । आफ्नै खुसीका लागि र मेरो दायित्व पनि छ । जीवनी लेखिसकेपछि भन्ने कुरा नै हुँदो रहेनछ । कुरो बुझ्ने भो । आफ्नै सन्तुष्टिका लागि हो । बेसिकल्ली ‘स्वान्त सुखाय’ नै हो ।
प्रश्न ः तपाईंको साहित्य लेखनबाट समाजले खासमा के पाएजस्तो लाग्छ ?
उत्तर ः पाउनेले केही पाए होला । नपाउनेले केही पाएनन् होला । मसँग केही लेख्ने कुरा लागेरै लेखेको हो ।
प्रश्न ः लेख्ने कुरा सकिएको छ्रैन ?
उत्तर ः लेख्ने कुरा सकिएको एउटा लेखकले भन्छ जस्तो लाग्दैन । म तुरिएजस्तो लाग्दैन । एउटा लेखकले म सकिएँ भन्छ होला जस्तो लाग्दैन । त्यसैले म लेखिराख्या छु ।
प्रश्न ः जीवनको पछिल्लो चरणमा यति धेरै चर्चा बटुल्नुभयो लेखनबाट, आफ्नै लेखनबाट कतिको सन्तुष्ट हुनुहुन्छ ?
उत्तर ः जीवन र चर्चा बेग्लै कुरा हो । जीवनका आफ्नै र चर्चाका आफ्नै सुखदुख छन् ।
प्रश्न ः देवकोटापछि यति धेरै चर्चा जगदीश घिमिरेको भयो, भनियो ? किन होला ?
उत्तर ः पारिजातले पनि ‘शीरीषको फूल’ मा धेरै चर्चा पाइन् । अरू लेखकको पनि चर्चा भएको छ । ‘अन्तर्मनको यात्रा’ किताब निस्किएपछि धेरै फोन, इमेल र सन्देशहरू आए ।
प्रश्न ः अघिल्ला कृति र पछिल्ला कृतिले कसरी चर्चा पायो ?
उत्तर ः ‘लीलाम’ (२०२७) ले अलि धेरै चर्चा पाउनु पथ्र्यो । भैरव अर्याल, नारायणबहादुर सिँह र मदनमणि दीक्षितजस्ताले धेरै चर्चा गर्नुभयो । राम्रै चर्चा पाउनु पथ्र्यो तर पाएन । ‘साविती’ (२०३२) ले राम्रै चर्चा पायो । जो रूपरेखामा छापिएको थियो । सन्तान (रूपरेखा) ले पनि पाउनु पर्ने जति चर्चा पाएन ।
प्रश्न ः ‘अन्तर्मनको यात्रा’ जस्ता औधी चर्चित कृतिको रचनागर्भ बारे बताइदिनुहोस् न ?
उत्तर ः म धेरै मिहिनेत नगरी पुस्तक लेख्दै लेख्दिनँ । मिहिनेतले मात्र पनि चर्चित हुँदैन तर म जे लेखे पनि अति मिहिनेत गर्छु । म कुनै कुरा पनि अति गम्भीरतापूर्वक गर्छु । कि गर्दै गर्दिनँ ।
प्रश्न ः यहाँ साहित्यिक कृति लेख्दा हृदयले लेख्नुहुन्छ कि मस्तिष्कले ?
उत्तर ः कहाँबाट हृदय सुरु हुन्छ कहाँबाट मस्तिष्क सुरु हुन्छ ? छुट्याउन गारो हुन्छ । सजिलो भए हृदय र गारो भए मस्तिष्क भन्छन् । जेले लेखे पनि राम्रो हुनु प¥यो ।
प्रश्न ः संसारमा यति धेरै साहित्यकारहरूले साहित्य लेखिरहेका छन् । यस माहौलमा तपाईंले नै साहित्य किन लेख्नुप¥यो ?
उत्तर ः यतिका मान्छे बाँचिरहेका छन् मैले किन बाँच्नु प¥यो भनेजस्तै हो । ७ अरब मानिस बाँचिरहेका छन् मैले किन बाँच्नु प¥यो । ७ अरब १ हुन भनेजस्तै हो – यो प्रश्न । यतिका अन्तर्वार्ता दिइसकेँ अब किन दिनु प¥यो भनेजस्तै हो –यो प्रश्न । आत्मकथा लेख्नेलाई नयाँ प्रश्न नआइकन उत्तर दिन गाह्रो हुन्छ ।
प्रश्न ः नेपाली आम साहित्यकार र साहित्यकार जगदीश घिमिरेमा तात्विक अन्तरचाहिँ के छ त ?
उत्तर ः आम नै साहित्यकार हूँ । अरू र ममा के फरक छ त्यो समीक्षक, पाठक र समालोचकले भन्ने कुरा हो । मैले त खासै फरक देख्या छैन ।
प्रश्न ः खासमा लेखकहरूको आफ्नै काल्पनिक मनोलोक हुन्छ, लेखकहरू अव्यावहारिक, एकहोरा र घमण्डी हुन्छन्, भन्छन्, तपाईं पनि यस्तै हुनुहुन्छ कि ?
उत्तर ः लेखक मात्रै होइन सबै हुन्छन् तीमध्ये सबै लेखक हुँदैनन् । कोही हुन्छन् । कोही पेन्टर, कोही खेलाडी, कोही जागिरे, कोही पुलिस सबै हुन्छन् । जाति र वर्गमा यो भन्ने नै हुँदैन । यो मानवको गुण हो ।
प्रश्न ः लेखनको लागि विषयको छनोट कसरी गर्नुहुन्छ ? अथवा केके असर भएपछि लेखनमा व्यस्त हुनुहुन्छ ?
उत्तर ः समाजको सुख–दुख । प्राप्ति, पीडा, अप्राप्ति र मान्छेका सुखदुख ।
प्रश्न ः यी कुराहरू मनन गर्ने क्रममा केलाई आधार मान्नु पर्छ ? प्रकृति र पुस्तक ?
उत्तर ः समाज प्रकृति निरप्रेक्ष्य छैन । समाज देश मान्छे जुन वातावरणमा भनेको छु । त्यसको चित्रण बेग्लै कुरा हो ।
प्रश्न ः यो जुनीमा लेखक नभएको भए के बन्ने (हुने) सपना सँगाल्नु भएको थियो ?
उत्तर ः म यस्तो हाइपोथेटिकल कुरा गर्न सक्दिनँ । मैले पचासौँ रोल प्ले गरिरहेको छु । यहाँ लेखिरहेका मानिसहरू केवल लेखक छन् । मानिस बाँधिएको छ –समाजमा । म यस्तो प्रश्न या कल्पना नै रुचाउन्न । म यहाँ नभएको भए कहाँ हुन्थे भन्ने नै मन पर्दैन ।
प्रश्न ः अर्को जीवन पाउनु भयो भने कहाँ जन्मेर के हुने इच्छा सँगाल्नु भएको छ ?
उत्तर ः यस्तो प्रश्न पट्टि नलागौंँ ।
प्रश्न ः आख्यानमा यौन को अपरिहार्यता कस्तो देख्नुहुन्छ ? तपाईंले यौनलाई साहित्यमा कत्तिको महत्व दिएर प्रस्तुत गर्नु भएको छ ?
उत्तर ः यो फाल्तु कुरा हो । कहिले यौनै यौनको कथा लेख्छ मानिसले । आख्यान (उपन्यास) मा अलि बढी यौन हुन्छ । कथामा अलि कम हुन्छ । संसारमा १०१ रचनामा १०१ यौनैयौन छ्रैनन् । कहीँ यौन छन् । जो होस् जे होस् वा नहोस् त्यो राम्रो छ कि छैन परिणाम हेर्ने हो । यौन सहित पनि हुन्छ । रहित पनि हुन्छ । त्यो फर्मूला छैन । मेरो लागि छैन ।
प्रश्न ः लेखनमा तपाईंको दुःख के हो ? अर्थात् प्लटहरू रचनामा अवतरण नहँुदा कस्तो अनुभूति हुन्छ ?
उत्तर ः पहिले हातले लेख्थेँ । तर क्रियाशील थिएँ । अहिले कम्प्युटरमा लेख्छु । मलाई सजिलो लाग्छ । मेरा समकालीन या कान्छा लेखकहरू गाह्रो हुन्छ कम्प्युटरमा लेख्न भन्छन् तर मलाई सजिलो लाग्छ । हातले लेखिएको भए अन्तर्मनको यात्रा लेखिँदैन थियो । किनकि त्यतिबेला मेरो हात काम्थ्यो । त्यति मोटो किताब लेखिसकिँदैनथ्यो ।
प्रश्न ः कस्ताकस्ता पुस्तक पढ्न रुचि लाग्छ ? अहिले कुन किताब पढिरहनु भएको छ ?
उत्तर ः अठार बीस वर्षको उमेरदेखि जस्ता पनि पढियो । यस्तै भन्ने केही छैन । विश्व साहित्य र रुसी साहित्य । कतिपय राम्रा पनि लागे । कतिपय नराम्रा पनि लागे । अहिले लेखिरहेको छु । अहिले चाहिँ लेख्ने हिसाबले लेख्नैका लागि मन्थलीमा आएको हूँ ।
प्रश्न ः अहिले नयाँ कृति ? आख्यान–उपाख्यान के लेखिरहनु भएको छ ?
उत्तर ः आख्यान–उपाख्यान भनेको छु । अहिले नै भन्न सकिन्न । दुई चार महिना लाग्छ । अहिलेसम्म त्यसको स्वर आख्यान छ । (वहाँ त्यतिखेर सकस आख्यान लेखिरहनु भएको थियो तर त्यतिबेला त्यसको नामाकरण भैसकेको थिएन । –वार्ताकार )
प्रश्न ः जीवनमा पढिएको पुस्तकमध्ये आफूलाई सबैभन्दा उत्कृष्ठ लागेको स्वदेशी र विदेशी एकएकवटा किताबको नामै तोकेर लिनुपर्दा कुन कुनलाई लिनुहुन्छ ?
उत्तर ः भन्न गाह्रो छ । एकसयएक कृति पढियो । हिमालका यति धेरै चुचुरामा उचाइ नाप्न सकिन्छ तर सुन्दरता कुनको राम्रो भन्न र नाप्न सकिन्न । पहिला राम्रो लागेको कृति अहिले नराम्रो लागेको छ । पहिला नराम्रो लागेको अहिले राम्रो लागेको पनि छ ।
प्रश्न ः मन पर्ने नेपाली र विश्व स्तरका लेखकहरू कोको हुन् र किन ?
उत्तर ः विश्व स्तरका हजारौँ छन् । अंगे्रजीले जसलाई नामी र नोबेल पुरस्कार पहि¥याइदियो त्यो मात्र राम्रा छैनन् । नेपाली देवकोटा विश्व स्तरका छन् । यति धेरै छन् कि भनेरै साध्य छैन । देवकोटा महान् हुन् तर देवकोटाका दोस्रो दर्जाका रचना पनि छन् । कनिष्ट, समकालीन र वरिष्ठ थुपै्र छन् ।
प्रश्न ः को हो समकालीन भनेको ?
उत्तर ः मेरो ‘लीलाम’ उपन्यास सत्ताइस सालमा निस्कियो । बीपीको ‘सुम्निमा’ उपन्यास छब्बीस सालमा निस्कियो । मदनमणि दीक्षितज्यूको उनन्चालिस सालमा ‘माधवी’ उपन्यास निस्कियो । केकसरी छुट्याउने समकालीन ? यो छुट्याउन गाह्रो छ ।
प्रश्न ः एउटा लेखकका नाताले आख्यान लेख्न सजिलो छ या गैरआख्यान ?
उत्तर ः कुनै पनि लेख्न सजिलो छैन । कुनै सजिलो छ । गतिलो लेख्न सबै गाह्रो छ । कविता, आख्यान र गैर आख्यान सजिलोसँग लेखेको सजिलोसँग बिलाउँछ ।
प्रश्न ः आफूचाहिँ आख्यान र गैर आख्यानमा कुन विधा प्रिय मानेर पढ्नुहुन्छ ?
उत्तर ः खै ! पछि म म्यानेजमेन्ट लिटरेचर बढी पढ्न थालेँ । राजनीतिक टिप्पणी लेखियो । त्यसैले राजनीति बढी पढ्न थालेँ । राम्रो जे देखियो सो चाख मानेर पढिायो ।
प्रश्न ः नेपाली साहित्यमा तपाईंलाई असाध्यै मन पर्ने कथा र उपन्यासहरू कुनकुन हुन् ?
उत्तर ः मनु ब्राजाकीका कथाहरू मन पर्छन् । नारायण ढकालका उपन्यास मन पर्छ ।
प्रश्न ः पछिल्लो चरणमा शेरगुल मच्चाएको ? केही छ कि ?
उत्तर ः ठिकै छन् । केही गुदी भाका पनि छन् –बुद्धिसागरको कर्णाली ब्लुज र नारायण वाग्लेको मयुर टाइम्समा ।
प्रश्न ः तपाईंको दृष्टिमा आवश्यकताभन्दा बढी चर्चा पाएको कुन लेखकको कुन चाहिँ कृति हो र चर्चा पाउनै पर्ने कुन चाहिँ कृतिले कम चर्चा पाएजस्तो लाग्छ ? किन ?
उत्तर ः थाहै छैन । त्यो मिहीन लेख्ने कार्यमा म हिँडेकै छैन । मेरो चाखको विषय होइन । कतिपय कुराहरू ‘दस वर्षे जनयुद्ध’ गंगाबहादुर लामाको चर्चा खासै पाएन । अंग्रेजीमा लेखिएको ‘फ्राजिल माउन्टेन्स’ एम् के लिम्बूले लेखेको किताब छ । त्यसले पनि पाउने जति चर्चा पाएन । निस्केजति सबै पुस्तक पढेको छैन । त्यसकारण पाउने जति पाएजस्तो लाग्दैन ।
प्रश्न ः कुनकुन किताबहरू दोहो¥याएर पढ्नु भएको छ ? आफ्ना रचनामध्ये आख्यान (कथा–उपन्यास) कुन चाहिँ औधी मन पर्छन् ?
उत्तर ः एक छिन है ! त्यो त सम्झिनु पर्छ । देवकोटाका धेरै कविताहरू । ए ! किताबै त ठ्याक्कै भन्न सकिन्न । नारायण ढकालको ‘प्रेत कल्प’ दोहो¥याएर पढेँ । देवकोटा, लेखनाथका केही कविताहरू । पढेको छु । केही दोहो¥याएरै पढेको छु । आफ्ना कथा ‘मान्छेको छाउरो’ र ‘बर्दी’ । आआफ्नै किसिमले दुवै (लीलाम र साविती) मन पर्छन् । आफ्नै आफ्नै प्रकृति हुन्छ । तुलना गर्न गाह्रो हुन्छ ।
प्रश्न ः लेखन जीवनका कुनै रोचक घटना परिघटनाहरू छन् कि ?
उत्तर ः रोचक, दुखान्त कति छन् कति छन् । भावावेश मै लेखिन्छ । कथा छोटो सिटिङ् मै पनि लेखिन्छ । त्यसैले त्यसमा छुट्टै किसिमले लेखिन्छ । जीवनी लेखेपछि लेख्ने कुराहरू बाँकी रहँदैनन् ।
प्रश्न ः साहित्य लोकका मनपर्ने पात्रहरू कोको हुन् ? एक दिन बिताउनु पर्दा कुन कुन लेखकको कुनकुन पात्रसँग दिन बिताउन चाहनु हुन्छ ?
उत्तर ः आफ्नो पनि छ्रैन । अरुको पनि छ्रैन । लीलामका पात्र अब छैनन् होला । सिद्धिइसके । मै पात्र मात्र बाँकी छु । लेख्ने मात्र ।
प्रश्न ः आफ्ना समकालीन कवि, कथाकार, उपन्यासकार, निबन्धकार र टिप्पणीकारहरूमा कस्को लेखनबाट औधी सन्तुष्ट हुनुहुन्छ ?
उत्तर ः म लगायत कसैबाट पनि सन्तुष्ट छैन । सबैले परिमार्जन गर्नुपर्छ । गाल्नु पर्छ । चाल्नु पर्छ । भविष्यले बताउँछ ।
प्रश्न ः प्रेम के हो ? प्रेम र वासनामा के फरक पाउनुहुन्छ ?
उत्तर ः त्यो थाह छैन । अन्तर्मनको यात्रा पुस्तकमा सिङ्गै च्याप्टर नै लेखेको छु । प्रेम हुँदैन भनेको छु । एउटा समीक्षक जिल प¥यो । प्रेम हुन्छ भनेर पनि लेखेको छु । यस्तै हो । विरोधाभास छ ।
प्रश्न ः युवापुस्तालाई कुनकुन पुस्तकहरू पढ्न सल्लाह दिनुहुन्छ ?
उत्तर ः अहिलेका क्रियेटिभ युवाले मलाई पो सल्लाह दिनुपर्छ । युवाले मैलेभन्दा धेरै पढेका छन् तर म पाउलो कोहेल्लोजस्ता पढ्ने सल्लाह दिन्न । डेल कार्नोगीका क्लासिक किताब, हो त्यो पढ्ने सल्लाह दिन्छु । त्यो ‘सेल्फ डेभलपमेन्ट’ को किताब हो ।
प्रश्न ः किन पढ्नु हुन्छ ? पढ्न मन पर्ने स्थान कहाँ हो ?
उत्तर ः सन्तुष्टिका लागि । नपढ्दा के हुन्छ ? के हुन्छ ? न पढिन्छ । जो पढिन्छ त्यसबाट पढिन्छ । त्यस्तो मन पर्ने स्थान छैन । कम्फर्ट चाहिन्छ । प्लेन, रेल र बेड भनौँ आरामदायी स्थानमा पढ्न मन लाग्छ ।
प्रश्न ः अन्त्यमा, भर्खर लेख्दै गरेकाहरूलाई केकस्तो सल्लाह दिनुहुन्छ ?
उत्तर ः लेख्न सिक्नु प¥यो । लेखन खेलाँची होइन । लेखनका लागि प्रचुर चिन्तन, मनन र अध्ययन गर्नुपर्छ । रहर गर्दैमा लेखन गाह्रो छ । साधना गर्नुपर्छ । आफ्नो र अरूलाई एउटै सल्लाह हो । सबैमा चेताना भया ।

(संवार्ताकारको टिप्पणी – प्रस्तुत संवार्ता २०६८ मंसिर १५ गते वरिष्ठ साहित्यकार जगदीश घिमिरे मन्थलीमा लेखन कार्यका लागि पाल्नुहुँदा युवा साहित्यकार पेशल आचार्यले लिनु भएको हो । यो संवार्ता पहिलोपटक समकालीन साहित्य वेभ पत्रिकामा अहिले प्रथम पटक प्रकाशित भएको छ । )

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 15 कार्तिक, 2070

लेखकका अन्य रचनाहरु