देवकोटाको राँचीबास किन ?

- नरेन्द्रराज प्रसाई

महाकवि देवकोटा पटकपटक विविध किसिमका बिमारीले थला पर्दैे गए । उनको जीवनमा मानसिक तनाव पनि अर्को बिमारी भएर थपियो । मानसिक तनावले घेर्न थालेपछि उनी चिच्च्याउने, कराउने र नर्भस हुने गर्थे । त्यसपछि उनी सुरविहीन भएर हिँड्न थाले । उनको मानसिक स्थिति दिनप्रतिदिन असजिलो अवस्थामा गइरहेको थियो । उनी बेसुरा अवस्थामा प्रायः घर छाडेर बाहिर जाने गर्थे । उनको त्यस स्थितिका बारे चूडामणि बन्धुले लेखेका छन् “घरका मान्छेहरूले उनलाई बौलाहा भनेको र त्यस्तै व्यवहार गरेको महाकविले धेरै पटक अनुभव गरेका थिए ।” देवकोटाको यस विषयमा धेरैको धेरै निष्कर्ष पनि आयो । यसै प्रसङ्गमा गोविन्द भट्टले चाहिँ उनका बारे लेखे, “देख्ता लापरवाह,
सनकी, आत्मकेन्द्रित र लहडी भए पनि देवकोटा भित्रबाट चौबीसै घण्टा जागृत, सक्रिय र राष्ट्रिय औ अन्तर्राष्ट्रिय समस्याहरूबाट सचेत हुनुहुन्थ्यो ।”
देवकोटा दिनप्रतिदिन आपैmँभित्र हराउने गर्थे । उनको मगज कहाँ छ उनी आपैmँ चाल पाउँदैनथे । उनको असामान्य अवस्थाबारे उनकी पत्नी मनदेवी देवकोटाले भनेकी थिइन्, “एकपल्टको कुरा हो, हाम्रो छोरो सिकिस्त थियो । म बिरामी छोरालाई लिएर अर्कै कोठामा बसेकी थिएँ । उहाँ निदाउनुभएकाले ओछ्यानको झुल टम्म मिलाई ढोका ढप्काएर म छोराको हेरविचारमा लागेकी थिएँ । त्यस बखत उहाँ भख्खर बिरामीबाट उठ्नुभएकाले ज्यादै कमजोर हुनुहुन्थ्यो र हिँड्दा पनि हुर्रिनुहुन्थ्यो । एक छिनपछि बिरामी छोरालाई सुची गर्न उठाउँदा मैले कुन्नि के शङ्का लागेर हो उहाँको कोठामा चियाएर हेरेँ । झुल जस्ताको तस्तै टम्म लागेकै थियो तर उहाँ त्यसभित्र हुनुहुन्थेन । उहाँलाई त्यसरी नदेख्दा मैले जहानपरिवारलाई पनि उठाएँ र हामी सबैले उहाँलाई धुइँधुइँती खोज्न थाल्यौँ । उहाँ सरासर त्यहाँबाट हुर्रिंदै चूडाप्रसादजीको घरको ढोकानिर पुगेर त्यसै टुक्रुक्क बसिरहनुभएको रहेछ । पछि हामी सबैले उहाँलाई समाती घर लिएर आयौँ । त्यस्तो बिरामी मानिसलाई पनि हेरचाह नगरेर त्यसै छोड्ने भनी मानिसले मलाई गाली पनि गरे । हुन त म अखण्ड होसियारीमा बस्थेँ । तैपनि त्यो दिन के भो के भो म झुक्किएँ ।”
देवकोटा कहिलेकाहीँ आपैmँभित्र हराउने गर्थे । त्यति बेला देवकोटालाई केहीले छोपे जस्तो, उनीभित्र केही धुन चढे जस्तो र उनीसँग होसै नभए जस्तो देखिन्थे । गणेशकवि पं.श्यामदास वैष्णवका अनुसार त्यति बेला देवकोटाको मुख पनि कालोनिलो देखिन्थ्यो । अनि थुथुथुथु गर्दै “यो समस्त ब्रह्माण्डलाई नै क्वाराम्म चपाऊँ जस्तो लाग्छ” भन्नुहुन्थ्यो । वास्तवमा देवकोटाको चेतना बेलाबेलामा असामान्य स्थितिमा परिणत हुन्थ्यो । कतिसम्म भने उनले एक पटक सुरेन्द्रबहादुर शाहालाई भनेका थिए, ‘‘यो टाउको गह«ुङ्गो भयो । त्यो अगाडिको पर्खालमा हानेर यो टाउको पट्ट फुटालूँजस्तो लाग्छ ।’’ उनको यस्तै मनस्थितिका बारे नित्यराज पाण्डेले पनि लेखेका छन्— ‘‘धोबीधाराको आफ्नो जन्मगृहको कुमारीस्थानको धारामा आएर ‘यही पानीले पहिले मेरो दिल ठन्डा पारेको थियो’ भनेर कपालमा पानी हालेर मगज ठण्डा पार्थे ।’’ देवकोटा आफू प्रतिकूल वातावरणमा भएको पनि महसुस गर्थे । तर पनि उनी आफ्नो भावना आफ्नो मन बुझ्नेसँग खन्याउन छाड्दैन थिए । यसै परिवेशमा उनले एक दिन बालकृष्ण समलाई पनि भनेका थिए ‘‘समजी ! मलाई कहिलेकहिले यो आकाश आफ्नै खप्परमा खसेको जस्तो लाग्छ ।’’ वास्तवमा देवकोटा ब्रह्माण्डलाई नै आफ्नो मगजमा राख्न खोज्थे । अथवा भनौँ उनी अनेक विचारमा उडेर आफ्नो दिमागमा थपमाथि थप भारी थुपार्थे । त्यसैले कहिलेकाहीँ उनी असहज हुन्थे । त्यति बेला उनको मस्तिष्क असन्तुलित भएको चर्चा सर्वत्र पैmलिएको थियो । देवकोटासँग ट्युसन पढ्न जानेमध्ये एक जना तेजबहादुर प्रसाईले भनेका छन्, “देवकोटालाई प्रायःले पागल भन्थे; तर म उहाँसँग पढ्न जान थालेपछि उहाँको विचारबाट प्रभावित भएँ । उहाँ समाजको परिवर्तनका लागि क्रान्तिका अग्रदूत र अद्वितीय विद्वान् नै हुनुहुन्थ्यो । हामी नेपालीका लागि देवकोटा त्यति बेलै गौरवशाली मानिनुहुन्थ्यो ।”
देवकोटा एकपल्ट १२ बजे राति नै उठेर बाहिर लागे । यो कुरा थाहा पाएपछि त्यस रात उनका भान्जा कोमलनाथ पौड्याल र भाइ गोपीमाधव उनलाई खोज्न हिँडे । देवकोटालाई उनीहरूले रानीपोखरीको छेउछाउमा भेटे । तर त्यसै बेला पुलिसले यी तीनै भाइलाई रानीपोखरीको डिलमा समात्यो र तत्कालै थाना पु¥यायो । त्यति बेला पुलिसचौकीमा उनीहरूलाई भूइँमा राखियो । त्यस घडी तीनै जना जाडोले लुगलुग कामिरहेका थिए । यसै प्रसङ्गको कुरा गर्दै देवकोटाका भान्जा कोमलनाथ पौड्यालले भने “प्रहरीलाई हामीले पैसा दिन्छौँ, एउटा सुकुल त देओे भन्यौँ । तर पुलिसले दिएनन् र उल्टै हामीलाई झपार्दै भने, ‘कुन रण्डीकोठीबाट आयौ ? तिमीहरूलाई चाहियो सुकुल !” त्यस बेला यी तीन भाइले पनि अरू कैदीसँगै गाँजा खाएर उक्त रात कटाएका थिए । भोलिपल्ट देवकोटाका जेठा दाजु लेखनाथले श्री ३ जुद्धशमशेरका अङ्गरक्षकलाई चिठी लेखेर यी तीन भाइलाई थुनाबाट छुटाएका थिए । देवकोटाले त्यस रात एउटा धोती मात्र लगाएका थिए । यसै प्रसङ्गलाई लिएर देवकोटाकी पत्नी मनदेवी भन्छिन् “कति बिन्तीभाउ गर्दा पनि निकै रात बितेको हुँदा पुलिसहरूले उहाँलाई छोडेनन् ।’’
हुन त देवकोटा १९९० सालतिर नै पहिलोपल्ट मानसिक आघातका सिकार भएका थिए । त्यस बेला उनी पटनामा बीएल पढेताका नै बिरामी भएका थिए । यसै प्रसङ्गमा उनकी भतिजी मिट्ठू अर्यालले भनिन्, ‘‘मेरा साइँला बाको पटनामा पढ्दै गर्दा मानसिक असन्तुलन हुन थाल्यो भन्ने खबर आयो । त्यो खबर पाउनासाथ मेरा बुबा (लेखनाथ देवकोटा) आफैँ पटना जानुभयो । त्यति बेला मेरा साइँला बाको बीएलको परीक्षा नजिकै आउँदै थियो । मेरा बुबा परीक्षा नसकिन्जेल त्यहीँ साइँला बाकै हेरचाह गरेर बस्नुभयो र परीक्षा सक्नेबित्तिकै उहाँले साइँला बालाई लिएर नेपाल आउनुभयो ।’’
देवकोटाका बुबाआमाको एकपछि अर्काको लगातार निधन हुनाले उनको मानसिक तनावमा झन् तनावमाथि तनाव थपिन गयो । त्यस बेला पनि उनलाई जोगाउन घरपरिवारलाई निक्कै गाहारो भएको थियो ।
देवकोटा १९९३–९४ सालतिर बम्बै गएका थिए । त्यसैताक त्यहाँबाट उनी कोलकातामा गीत रेकर्ड गर्न पनि पुगेका थिए । त्यहाँ हिन्दू र मुसलमानको रक्तपातपूर्ण युद्ध देखेर देवकोटा तर्सेका थिए । त्यस घटनाले उनको मन र मस्तिष्कमा अर्को ठूलो चोट परेको थियो । त्यस चोटको नतीजा उनले त्यहाँ जुत्ता सिउने एउटा सार्कीमाथि प्रस्तुत गरे । कुरा के भो भने, उनी र उनका भाइ मित्रनाथ एक समय कोलकाताको एउटा बाटोमा हिँड्दै थिए । त्यहाँ बाटामा थोत्रा जुत्ता सिउँदै गरेको सार्कीलाई देवकोटाले पनि आफ्नो फाटेको जुत्ता सिउन दिए । जुत्ता सिउने क्रममा देवकोटा र सार्कीको सुमधुर वार्तालाप भइरहेको थियो । तर केही समयपछि सामान्य प्रसङ्गैमा देवकोटा सार्कीमाथि खनिन पुगे । त्यसपछि देवकोटा र जुत्ता सिउने सार्कीमाझ हात हालाहाल भयो । त्यस घडी त्यो झगडालाई साम्य पार्न उनका भाइ मित्रनाथले निक्कै पसिना काढ्नुपरेको थियो ।
देवकोटा कोलकाता गएका बेला मित्रनाथ देवकोटा त्यहीँको सेन्ट जेबियर्स कलेजमा अध्ययन गर्दै थिए । उनले त्यसै बेलादेखि नै आफ्नो दाजुको मानसिक सन्तुलन गुमेको बेहोरा चाल पाएका थिए । खास गरेर जुत्ता सिउने सार्कीेसँग देवकोटाले कुटाकुट गरेको घटनापछि देवकोटाको मगज ठीक ठाउँमा नभएको अडकल काटियो । अनि उनलाई चाँडोभन्दा चाँडो नेपाल फर्काउनुपर्ने निष्कर्ष निकालियो ।
त्यतिखेर देवकोटाका भाइ मित्रनाथले उनलाई डो¥याएर वीरगन्ज ल्याइपु¥याए । उनको त्यस यात्रामा उदयलाल श्रेष्ठले पनि गतिलो साथ दिएका थिए । त्यस अवस्थामा देवकोटालाई कोलकाताबाट वीरगन्जसम्म ल्याउन पनि साह«ै कठिन भएको थियो । वीरगन्ज आएपछि त्यहाँ उनलाई थाम्न नै कठिन भयो । अनि केही सीप नलागेपछि उदयलाल श्रेष्ठले देवकोटाका घरमा आकाशवाणी गरे । त्यसको बेहोरा थियो— “लक्ष्मीप्रसादको मगज ठीक छैन, तुरुन्तै लिन आउनू ।” त्यो आकाशवाणी पढेपछि देवकोटाका भाइ मधुसूदन रातारात काठमाडौँबाट वीरगन्ज पुगे । त्यहाँ देवकोटाले आफ्ना भाइ मधुसूदनलाई भेट्नेबित्तिकै “जेहाद (धर्मयुद्ध) र हलाल (छाला कढाइ) भनेको के हो भाइ ?” भनेर सोधेका थिए ।
काठमाडौं भित्रिएपछि देवकोटाको दिमागले आधा काम गर्न थाल्यो । तैपनि उनी बराबर नर्भस हुन्थे, आत्तिन्थे र तर्सन्थे । अनेक झारपूmक र धामीझाँक्रीले पनि निको पार्न नसकेपछि उनलाई राँची लाने कुरामा घरपरिवारको सहमति भएको थियो । तर त्यस बेला तुरुन्तै पैसा जुटाउन नसकेपछि एक वर्षजतिको समय सरसल्लाहमा बितेको थियो । अनि उनी मानसिक चिन्ता निवारण गर्ने उद्देश्यले राँची पु¥याइएका थिए । देवकोटाको राँचीयात्राको सम्पूर्ण खर्च मृगेन्द्रशमशेर र ब्रह्मशमशेर जबराले बेहोरेका थिए ।
देवकोटालाई पागल भए भन्ने विश्वासमा भारतको राँची पु¥याएपछि १९९५ साल पुस २० गते राँची नर्सिङ होममा भर्ना गरियो । उनलाई भर्ना गरिएपछि लेफ्टिनेन्ट कर्णेल डा.बर्कले हिलले देवकोटालाई खुशी पार्न उनलाई लिएर जानेहरूलाई “तिमीहरूलाई पो यस अस्पतालमा राख्नुपर्ला जस्तो छ” भनेको कुरा पछि मधुसूदन देवकोटाले आफ्ना भान्जा केशवचन्द्र गौतमलाई बताएका थिए । देवकोटा १९९६ साल जेठ २५ गतेसम्म १५५ दिन राँची नर्सिङ होममा बसे । त्यस बेला उनलाई त्यहाँ उपचार गर्ने अमेरिकन मानसिक रोगविशेषज्ञ डा. बर्कले हिल विश्वका सातौँ मनोवैज्ञानिकका रूपमा चिनिन्थे । उनले देवकोटालाई महात्मा बुझेर खूबै आदर पनि गरेर भने “देवकोटा जस्तो मान्छे नेपालमा जन्मने नै होइन; उनी त्यहाँ जन्मेर नै पागलको गन्तीमा आए । उनी नेपालमा जन्मनु भूगोलको गल्ती ९न्भयनचबउजथअब िःष्कतबपभ० हो ।”
देवकोटासँग राँची जाने उनका काहिँला भाइ मधुसूदन देवकोटा थिए । केही समयपछि उनका अन्तरे भाइ मित्रनाथ देवकोटा पनि उनको सेवा, सुसार र सहयोग गर्न राँची पुगे । देवकोटाका भाइका अनुसार राँचीमा एकपटक देवकोटा एक सेर गोलभेडा लिई हराएका र बेलुका आपैmँ आएका थिए ।
देवकोटा राँचीबाट काठमाडौँ फर्कने तरखरमा वीरगन्ज आइपुगे । त्यहाँ उनीहरू केशवराज पिँडालीका डेरामा बसे । त्यस बखत पिँडाली वारलेसको जागिरेका रूपमा वीरगन्जमै कार्यरत थिए । पिँडाली र देवकोटामाझ नाता पनि थियो । देवकोटाकी पत्नी मनदेवी पिँडालीकी मामाकी छोरी थिइन् । साथै देवकोटा र पिँडालीको बीच आत्मीयताको सम्बन्ध पनि थियो । पिँडाली देवकोटाका मन परेका साला पनि हुनाले वीरगन्जमा पिँडालीलाई भेट्नेबित्तिकै देवकोटाले आफ्नो मन पिँडालीसमक्ष खन्याएका थिए, “म मेरो मानसिक रोग निदान गर्न राँची गएको थिएँ, निको भएर आएँ ।” त्यस बेला पिँडालीलाई उनले स्वर्ग र नर्क अनि पाप र धर्मको बारेमा पनि धाराप्रवाह प्रवचन दिएका थिए । पिँडालीकी पत्नी राज शर्माका अनुसार देवकोटा त्यहाँ एक हप्ता बसेका थिए । त्यतिखेर पिँडालीका आवासमा देवकोटालाई भेट्नेको कुँडुलो लागेको थियो । उनले वीरगन्ज बस्ता पनि आफ्नो काव्यिक यात्रा यथावत् राखेका थिए । सो समय उनी मानसिक तनावबाट आफू ढुक्क भएको ठान्थे । त्यसैले काठमाडौँ आएर पनि उनले चिनेजानेका सबैका घरघरमा गएर गर्वसाथ भन्ने गरे, “राँचीबाट म निको भएर आएँ नि !”
देवकोटा आपूmलाई राँची पु¥याएकोमा त्यति सन्तुष्ट थिएनन् । उदाहरणका लागि भन्ने हो भने त्यस बेलाको प्रसङ्गमा उनले जनकलाल शर्मालाई भनेका थिए, “भान्जा ! म पागल होइन । म गरिबचाहिँ हुँ ।” देवकोटाले शर्मालाई अझ थप भनेका थिए “तपाईंलाई थाहा छ, त्यस समय म आर्थिक सङ्कटमा थिएँ । मलाई जताततै लघुताभासको बोध हुन्थ्यो । म आपूmलाई संसारमा सबभन्दा सानो प्राणी ठान्दथेँ । अरूलाई म पहाडजस्तो देख्तथेँ । आर्थिक कारणले गर्दा मेरो इच्छा कतै पनि पूरा हुन्नथ्यो । त्यस समय मेरो मनको बह कसैले बुझेन । म चौबीसै घण्टा यस्तै चिन्तामा रुमल्लिएर बस्थेँ । त्यसै कारण त कुरै नबुझी उल्लूहरूले सिल्ली भनेर मलाई राँचीतिर डो¥याएर हिँडे ।” देवकोटाले ‘पागल’ कवितामा उल्लेख गरेको विषयलाई अङ्गीकार गरेर भन्ने हो भने एकपटक उनलाई कहीँकतै ठिङ्गुरामा हालेर पनि राखिएको थियो ।
(दुई)
देवकोटाको मन असन्तुलित नभए पनि मस्तिष्क असन्तुलित नै थियो । उदाहरणका लागि भन्ने हो भने उनका भाइ मधुसूदन देवकोटाले १९९७ सालमा भवानी भिक्षुलाई भनेका थिए, “दाइको मानसिक अवस्था अलि ठीक छैन ।” त्यसपछि भिक्षुले देवकोटासँग जिज्ञासा राखेका थिए, “कविजी ! तपाईं अहिले अस्वस्थ हुनुहुन्छ भन्ने सुनेको छु । तपाईंलाई केको व्यथा छ ?” त्यसको प्रत्युत्तरमा देवकोटा बोलेका थिए “कहिलेकाहीँ मेरो मनमा वज्रको प्रवेश हुन्छ । सारा संसारलाई च्यातेर चकनाचूर पारिदिने मेरो प्रबल इच्छा हुन्छ । तर संसार मभन्दा धेरै दृढ छ, चाम्रिएको छ, के गर्नु ?” एकपटक परिचय गर्ने क्रममा मदनमणि दीक्षित २००४ सालतिर देवकोटालाई भेट्न उनका घरमा पुगेका थिए । त्यस बेला उनले दीक्षितलाई भने, “मदनमणि ! भेडो बन्ने मन छ ?” दीक्षितले “मलाई भेडाको मासुसमेत मन पर्दैन” भन्ने प्रत्युत्तर देवकोटालाई दिए । त्यसपछि देवकोटाले फेरि भने, “भेडाको मासु नखाऊ तर भेडो बन, सबैले तिम्रो मासु खानेछन् । मलाई त भेडो बन्न मन लागिरहेछ अचेल ।” देवकोटाले ‘प्रभुजी ! मलाई भेडो बनाऊ !’ भन्ने कविता दीक्षितलाई भेट्नुभन्दा केही दिनअघि मात्र लेखेका थिए ।
देवकोटा २००५ सालमा कोलकाता जाँदा पनि उनको व्यवहार धेरै असन्तुलित थियो । त्यति बेला देवकोटा कोलकाताको पार्कसर्कसको स्लामक्यासलमा रामहरि जोशी र जयनारायण गिरीको डेरामा साँगी लागेका थिए । त्यति बेला जोशी आफ्नो बेतको खाटमा देवकोटालाई सुताएर आपूm भूइँमा ओछ्यान लगाएर सुत्थे । त्यहाँ जोशीसँग भूइँमा सुत्नेहरूमा ईश्वर बराल, जयनारायण गिरी र नारायणप्रसाद भट्टराई पनि थिए । एक रात सबै जना सुतिरहेको बेला राति अकस्मात् देवकोटा जुरुक्कै उठे र कराउँदै झ्यालतिर लागे । अनि तीन तलाको त्यो झ्यालबाट उनले हामफाल्न खोजे । त्यति बेला थाहा पाएर बराल र भट्टराईले समाएर देवकोटालाई ओछ्यानमा राखे । अनि त्यति बेला देवकोटाले लामो सुस्केरामा भने, ‘‘क्ष् धबलत तय कभभ न्यम । क्ष् धबलत तय मष्भ। (अर्थात् म ईश्वरलाई हेर्न चाहन्छु । म मर्न चाहन्छु ।)” त्यसपछि उनले आफ्ना दुवै हातले टाउकोमा छिट्टोछिट्टो मुड्की हान्न थाले र केही बेरमा उनी ओछ्यानमै लडे । उनी भोलिपल्टको बिहान फेरि सधैँ झैँ सामान्य अवस्थामा देखिएका थिए ।
देवकोटाको कोलकाताको बसाइमा उनी प्रायः एकान्त खोजेर बस्न पुग्थे र झोक्राइरहन्थे । उनी समारोहस्थलमा होस् या ट्राममा बसेको बेला होस् आँखा झिमझिम गरेर अङ्ग्रेजीमा बरबराइरहन्थे । उनी मान्छेका माझमा हुँदा पनि हराएका जस्ता देखिन्थे । रामहरि जोशीका अनुसार त्यति बेलै नेपालबाट उनका जेठा ज्वाइँ कोलकाता पुगेका थिए । त्यस घडी देवकोटाले आफ्ना ज्वाइँ कल्याणनाथ रेग्मीका खुट्टा ढोगे र ग्वाँग्वाँ रुन थाले । त्यति बेला उनले आफ्ना छोरा कृष्णप्रसादलाई सम्झेर भनेका थिए, ‘‘मेरो कृष्ण म¥यो । म ठूलो अपराधी हुँ, मैले मेरा छोराको औषधि गर्न पनि पाइन ।’’ देवकोटाका भाइ मधुसूदनका अनुसार देवकोटा रुन थाल्दा रोएको रोयै गर्थे र चारपाँच घण्टासम्म पनि रोइरहन्थे ।
देवकोटाको कोलकाता बसाइका क्रममा उनलाई जोगाउन रामहरि जोशी र देवेन्द्रराज उपाध्यायले साह«ै सङ्घर्ष गर्नुपरेको थियो । उनी भाग्ने, हराउने र लड्ने डरले प्रायः जोशीहरू थर्कमान रहन्थे । त्यसैले उनलाई एउटा रजिस्टर छाडेर यस कापीमा “कविता लेख्नु है गुरु” भनेर उनीहरू बाहिर जान्थे । त्यति बेला उनीहरू देवकोटालाई कोठामा एक्लै थुनेर दैलोमा साँचो लगाउँथे र अनि मात्र आआफ्नो काममा जाने गर्थे ।
देवकोटालाई राँचीको उपचारले दीर्घकालीन सुधार दिन सकेन । बराबर परिवर्तन भइरहने उनको चालचलनबाट उनका आफन्तजति आक्रान्त थिए । उनको आनीबानी प्रायः असामान्य स्थितिमा नै मौजुद हुन्थ्यो । वसन्त लोहनीका शब्दमा भन्नुपर्दा ‘‘साधारण भाषामा देवकोटा पागल थिए । तर उनको हेड एन्ड हार्टको संयोजन असाधारण थियो । सिर्जनाको गङ्गालाई धारण गर्नुपर्दा उनको दिमागमा उठेको फिलिङ्गो देखेर साधरण मान्छेहरू डराउने नै भए ।’’ त्यसैले उनको विषयमा सोच्न उनको घरपरिवार झनै बाध्य भयो । फलतः उनका दाजु लेखनाथले उनलाई काठमाडौँको प्रसिद्ध तीर्थस्थल गोसाइँकुण्ड पनि लगे । त्यहाँ पुग्न उकालो धेरै हिँड्नुपथ्र्यो । उनलाई त्यो बाटो पार लगाउन ठूलै युद्ध लड्नुपरेको थियो । तर त्यहाँ पनि उनको मन राम्ररी बुझेन र उनीहरू फेरि घर आए । उनलाई कहिले सीतापाइलाको भित्तामा पु¥याइयो, कहिले टोखा पु¥याइयो, अनि कहिले साँखु वज्रयोगिनी पनि पु¥याइयो । उनी जहाँजहाँ गएर बसे तापनि उनको मनमा हरियाली आउन सकेन । यति हुँदाहुँदै पनि उनको मनमस्तिष्कले राम्राराम्रा रचना गर्नचाहिँ छाडेन । खोलो झैँ गडगडाएर कुद्ने उनका रचनाले नै उनलाई अद्वितीय स्रष्टामा विराजमान गराए ।
वास्तवमा भौतिक रूपमा यसै धर्तीमा बाँचेर पनि अधिकांश समय देवकोटाको मनमष्तिष्क भने अर्कै दुनियाँमा पुगेको हुन्थ्यो । देवकोटा विशिष्ट साहित्यिक सृजनाका कारखानाका रूपमा अवतरित भएका थिए । तर खासगरेर घरपरिवार, समाज र राष्ट्रले उनको यथोचित संरक्षण गर्न सकेन । सामान्य आँखाले ती विशाल प्रतिभाको आवश्यक, सहज र सही मूल्याङ्कन हुन नसक्नु पनि अनौठो कुरा होइन । त्यसैले नै नेपाली धराका एक अतुलनीय, असामान्य एवम् अद्भुत स्रष्टालाई पागलको पगरीसमेत भिराइएको थियो ।

सौजन्य ः देवकोटाको जीवनशैली

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 15 कार्तिक, 2070

लेखकका अन्य रचनाहरु