म सत्यको प्रतीक्षामा छु

- माधव काफ्ले

अक्टुबर महिनाको नाम सुन्नासाथ कैयौं व्यक्तिहरू श्रद्धाले शिर झुकाउँछन् किनभने अक्टुबर महिनामा नै सामन्तवादको विरुद्ध किसानहरूको हकहित संरक्षण गर्ने रुसको महान क्रान्ति सफल भएको थियो, कैयौं व्यक्ति खुसी र आनन्दले हर्ष विभोर हुँदै नाच्छन् किनभने युद्धको विभीषिकाबाट विश्वलाई मुक्त बनाउने उद्देश्य बोकेर अक्टुबर महिनामा नै संयुक्त राष्ट्र संघको स्थापना भएको थियो । अक्टुबर महिनामा नै कायरतापूर्ण किसिमले मारिएका थिए अमेरिकी साम्राज्यवादबाट ल्याटिन अमेरिकालाई मुक्त पार्ने दृढता बोकेर लडेका मुक्तियोद्धा अर्नेष्टो चे ग्वेभारालाई । अक्टुबरको नाम सुन्नासाथ भारतेलीहरू आशंका, त्रास र भयले स्तब्ध हुन्छन् किनभने यसै महिनामा सुरक्षाको आवरण ओढेका आतंककारीद्वारा इन्दिरा गान्धीको हत्या गरिएको थियो । अक्टुबर महिनामा नै सोभियत संघको विघटन भयो भने पैंतालीस वर्षदेखि राजनैतिक विभाजनले कोरेको कालो रेखाको डामलाई चुँडालेर÷विभाजित पीडालाई पुछेर एकीकरण भएको थियो जर्मनी ।
अनि गणतन्त्रको विगुल फुक्दै राजनैतिक रूपले स्वतन्त्र भएको घोषणा गर्ने चीन, टर्की, अष्ट्रिया, स्पेन, सोमालियाका साथै साइप्रस र फिजीले पनि राष्ट्रिय दिवसको खुसी मनाउँछन् अक्टुबर महिनामा । व्यक्तिगतरूपमा भन्ने हो भने अक्टुबर महिनाको नाम सुन्नासाथ म त्रसित र आशङ्काले भयभीत हुँदै छट्पटिन थाल्छु । कहिल्यै नमेटिने पीडा मुटुमा ऐंजेरु जस्तै पलाइरहन्छ । एउटा अविवेकी असुरको कायरतापूर्ण कुकृत्यले चिथोर्दै गरेको अदृश्य भयको सेसन्तरले मेरो मस्तिष्कलाई हुँडलेर हायल–कायल पारिरहन्छ ।
अक्टुबर महिनाको संस्मरण चेतनामा सल्बलाउनासाथ एकजना सिर्जनशील स्रष्टाको नृशंस हत्यात्मक सन्देशको पीडाले मेरो विवेकलाई पोल्छ प्रजातन्त्रको मुखुन्डो भिरेर आतङ्कवादलाई प्रोत्साहन गर्दै नरसंहारको माध्यमबाट विश्व साम्राज्य कायम गर्न उद्यत अमेरिका र यसका मतियारका पिछलग्गु बनेर निर्दोष नागरिकहरूको मुटु र देशभक्तिको पवित्र भावनामा मचक मचक कुल्चेर सैनिक तानाशाही शासन कायम गर्दै आफूलाई उदार मानवतावादी भएको देखाउन खोज्ने आर्थिक उदारवादको पिशाच सन्नी अवाचालाई सत्तोसराप गर्न थाल्छु ।
सन्नी अवाचा त्यही निरङ्कुश अधिनायक हो जसले बाह्र करोड नाइजेरियालीहरुको आस्था र विश्वासलाई बलत्कार गरेर सैनिक शक्तिको बलमा देशको अस्मिता र गरिमालाई च्याँखे थापेर चिथोर्दै नाइजेरियामा एकछत्र निरङ्कुश शासन चलाइरहेको छ । स्वाभिमानी स्रष्टा र देशभक्त सपूतहरूलाई अपमान, तिरस्कार र लान्छना लगाउँदै, अमेरिकी दादावादको कुटिल कर्म र घृणित चरित्रलाई मुक्तिको मसिहा ठान्दै सार्वभौम राष्ट्रमा अन्यौल अराजकता र ज्यादतीका कहरहरू लाद्न खोज्ने मलाई लाग्छ यस शताब्दीको सबभन्दा नीच, पतीत; लाछी कायर र कपटी व्यक्ति हो अवाचा ।जनताकामाझ सौहार्दको साटो शत्रुत्व निम्त्याउने शकुनी हो अबाचा ।
जाति र धर्मको आडमा अडेसो लगाएर अडिन खोज्ने अहङ्कारी अजिङ्गर हो अवाचा । आत्मनिर्णयको नागरिक अधिकारलाई गलत ढङ्गले परिभाषा गर्दै व्यक्तिगत महत्वाकाङ्क्षाको उन्मादमा उर्लंदो राष्ट्रको विखण्डन र साम्प्रदायिकताको आगो भड्काउने भष्मासुर हो अवाचा । हो, अवाचा त्यही व्यक्ति हो जसले नाइजेरियामा शान्तिका नाउँमा गृहयुद्ध र कलहको बीउ छरिरहेको छ, शान्ति सुरक्षा संरक्षणको नाउँमा नरसंहारको बाटो रोजिरहेको छ, विकासको नाउँमा आज पनि बर्बरता बाँडिरहेको छ ।
यहाँ मात्रै होइन, विश्वको कुनै पनि मुलुकमा जब प्रजातन्त्र शासकतन्त्रमा, शोषणतन्त्रमा, सङ्कीर्णतन्त्रमा परिणत हुन्छ अनि राष्ट्रप्रेमलाई तमासा र व्यवसाय बनाएर विज्ञापन गर्न खोज्ने बगरेहरू जन्मिन्छन् तब अपमान र तिरस्कारलाई पचाएरै भएपनि, घृणा र ज्यादतीलाई अचाएरै भएपनि मातृभूमि अस्तित्वको संरक्षणका लागि सनयात्सेन, गान्धी, मार्टिन लुथर किङ, जर्ज वासिङ्टन, होचिमिन्ह,रोमाँरोला, नेल्सन मण्डेला, शुक्रराज शास्त्री र केन सारो विवा प्रवृत्ति राष्ट्रवादी सपूतहरू जन्मने गर्दछन् र राष्ट्रिय अस्मितामाथि खेलवाड गर्न खोज्ने ब्वाँसा र बाजहरूलाई इतिहासको कालोे खाडलमा खाँदेर नून चुक लगाउनेछन् भन्ने कुरा त हामीलाई इतिहासले नै देखाइसकेको छ भने सन्नी अवाचा त एउटा दुष्ट मदारीको इसारामा नाच्ने नौटङ्कीको बाँदर न हो जसले अर्काको इसारामा हत्या सिवाय अर्थोक गर्नै पो के जानेको छ र ?
जनसङ्ख्याको दृष्टिकोणले पहिलो र भौगोलिक दृष्टिकोणले बारौं स्थान ओगटेको अफ्रिकी मुलुक हो नाइजेरिया । तेल नै यहाँको मुख्य राष्ट्रिय उत्पादन हो । देशको अर्थव्यवस्थाको मेरुदण्ड मानिने तेलको उत्पादन नाइजेरियाली सरकार प्रमुखले विदेशी दलाल र बहुराष्ट्रिय कम्पनीका ठेकेदारहरूलाई पट्टामा दिने गरेका छन् र यसको नेतृत्व मानवाधिकारको मखुन्डो भिरेर निर्बल र निसहाय राष्ट्रमाथि निरङ्कुशताको पुठ दिन र नरसंहारको जाल हान्न अलिकति पनि नहिच्किचाउने दादाहरूको नाइके अमेरिकाले गरिरहेको छ । अधिनायकवादको छत्रछायाँमा देशको आर्थिक सन्तुलन समुन्नत बनाउन खोज्ने पट्टावालाहरूको मनपरीतन्त्रले गर्दा तेल उद्योगले उत्पादनमा उत्साहवर्धक उन्नति गरेता पनि औसरवादका अविवेकी पंजाले नाइजेरियाली संस्कृतिलाई मात्र नभएर परिवेश पर्यावरणलाई चिथोर्दै दिन प्रतिदिन देशलाई “पोलुसन”को राजमार्गतिर तारन्तर धकेलिरहेको हुनाले “मुभमेन्ट फर सरवाइवल अफ अगोनी पिपल्स” नामक संस्था तमासा हेरेर बस्न सकेन । देशमा पर्यावरण सन्तुलन र सम्बर्धनको माग राख्दै सरकारको अनियन्त्रित अधिकारमाथि व्यापक जन समर्थन जुटाएर अङ्कुश लगाउन थाल्यो । यसले गर्दा सरकार झन् क्रूर हुँदै कायरतापूर्वक कपटी चाल चल्न थाल्यो र “मुभमेन्ट फर सरवाइवल अफ अगोनी पिपल्स” का अध्यक्ष केन सारो विवालाई बिनाअपराध बलीको बोको बनाएर अत्याचारको जिलेटिनमा लगेर झुन्ड्याइदियो ।
भनिन्छ नोवेल पुरस्कारद्वारा सम्मानित नाइजेरियाका निर्वासित जनकवि वोल सोयन्निका भन्दा पनि ख्यातिप्राप्त चर्चित बहुमुखी प्रतिभासम्पन्न सरस्वतीका वरद पुत्र हुन् केन सारो विवा । उनी अक्टुबर महिनामा नै जन्मिएका थिए र त्यो अक्टुबर थियो १९४१ को र तारिख थियो दस । नाइजेरियाको बोरिक नामक ठाउंमा पहिलो चोटि आंखा उघारेका हुन्,उनले यस धर्तीमा ।अनुसूचित जनजातिमा जन्मेका विवाले विश्वलाई नै प्रतिभाको बलले प्रभावित पार्छन् होला भन्ने त्यतिबेला कसैले पनि सोचेका थिएनन् । उनीहरूको समुदायको धारणा त विवाले धेरै प्रगति गरे जमिन्दारहरूको हलो कोदालोबाट मुक्त भएर केही सानु स्वतन्त्र पेसा अपनाउलान् भन्ने थियो तर उनले गरिबीको भीषण भासबाट माथि उक्लेर संसारलाई नै चकित तुल्याउँदै मानवसभ्यतामै प्रेरणादायी सत्कार्य गरी श्रध्दाका अग्ला स्रोत बन्न पुगे । भौतिक सुविधासम्पन्न प्रतिष्ठित नागरिक हुनु कुनै सम्पन्न जातिको जातीय अथवा वपौती अधिकार होइन । मनमा उत्साह, आँट र ईख हुने कुनै पनि मान्छेले पुरुषार्थ गर्न सके सभ्य र सम्पत्तिवाल नागरिक बन्न सक्छन् भन्ने कुरा त उनले गरेरै देखाइदिए ।
अध्ययन, अध्यापन र लेखनलाई नै मूल पेसाको रूपमा अपनाएका विवाको बाल्यकाल ज्यादै नै कष्टकर र त्रासदीपूर्ण किसिमले व्यतित हुन्छ । सँधै हलो, कोदालो र ज्याला मजदुरीबाट छाक टार्ने परिवारमा हुर्केका विवा बनीमा बेरिनुको साटो पारिवारिक पृष्टभूमि र परम्परासँग विद्रोह गरेर कलम कापी च्यापी अन्यौल, अभाव र अस्तव्यस्ततासँग सिँगौरी खेलेरै भएपनि उच्च शिक्षा हासिल गरेरै छोड्छन् । मैले बिबाको सम्पूर्ण योगदानको अध्ययन गर्न सकेको छैन । जति पढेको छु त्यसबाट अत्यधिक प्रभावित भएको छु । नाइजेरिया र नेपालबीचको भौगोलिक दूरी निकै नै रहेता पनि उनका रचनामा अन्तरनिहित भाव भूगोल र युगीन कथावस्तुले मेरो मुटु छेडेको छ । पढ्दा यस्तो लाग्छ, जति टाढा रहे पनि अनुभूति र भोगाइमा सामञ्जस्य छ हामीबीच । कृतिमा वर्णित महादुर्भिक्षले पीडित निर्वल मानिसहरुको मर्मान्त कथा र भातृत्व र ममत्वको महत्वगान गर्नेे मार्मिक र हार्दिक प्रस्तुतिको मिठासले गर्दा नाइजेरिया अन्यत्र महादेश नभएर मेरै छिमेकी मुलुक हो जस्तो लाग्छ । म को हुँ र ! तर परचक्री र टाढापनको गन्ध अलिकति पनि पाउँदिनँ उनका रचनाहरूमा । विषयवस्तु, मलाई लाग्छ मेरै वरिपरिका हुन् जसलाई मैले सँधै देखेको, सुनेको र अनुभव गर्ने गरेको छु ।
छोटो समयमा धेरै लेख्ने, स्तरीय लेख्ने र छोटै समयमा विश्व साहित्यमा आफ्नू अधिपत्य जमाउनेहरूको जमातमा अग्रपङ्क्तिमा रहेका विवाको योगदान अतुलनीय, अविष्मरणीय, अक्षय र अति उच्च रही आएको देखिन्छ । मान्छेले खेप्नु परेको कठिनाइ, भोग्दै आएका विवशता, काट्दै आएका कहर, सहँदै आएका ज्यादतीका दारुण कथालाई विषयवस्तु बनाएर उच्च मानवीय दृष्टिकोणले आफ्ना रचनालाई सिँगारेका हुनाले नै उनको ‘द स्काइ फर अस’लाई मात्र नभएर ‘वासी एण्ड कम्पनी’ ‘सोजन ब्वाय’ ‘प्रिब्जनर अफ जेब्स्’ ‘द स्टोरी अफ ब्ल्याक ब्वाई’ ‘द ब्युटिफिकेशन अफ एरिया वाई’ जस्ता कृतिहरूलाई शाश्वत कृतिको रूपमा स्विकारिएको छ । उनी राष्ट्रवादी पर्यावरणविद् भन्दा पनि विशुद्ध मानवतावादी साहित्यकार भएका हुनाले उनको ख्याति र प्रसिद्धिलाई सरकार प्रमुखले पचाउन सकेन । एउटा मामुली नागरिकको सम्मान राष्ट्राध्यक्षको भन्दा पनि बेसी भएको हुँदा सत्ताको उम्मादमा मत्त भएको शकुनीले एउटा निष्कलङ्क व्यक्तिलाई कैंयौं राष्ट्रको विरोधको बाबजुद पनि निर्लज्जतापूर्वक निरङ्कुशताको नङ्ग्राले चिथोरिदियो । निस्वार्थ भावनाले राष्ट्रोन्नतिमा उल्लेखनीय भूमिका खेल्दै सत्यको पक्ष लिएकोमा दण्डित हुनु प¥यो विवाले । सत्य कुरा लेखेकोमा ज्यान गुमाउनु प¥यो विवाले, सत्य कुरा बोलेकोमा अकालमै यस संसारबाट विदा भए विवा । त्यो पनि अक्टुबर महिनामा नै हो । यतिबेर विवाको पार्थिव शरीर यस धर्तीमा छैन तर उनी करोडौं साहित्यप्रेमीको धुक्धुकीमा धड्किरहेका छन् । उत्पीडित जनजातिले मुक्तिको मसिहा मानेका हुनाले गरिब र दीन दुःखीको आँखामा आस्थाका बिन्दु बनेर चम्किरहेका छन् उनी, विश्वका तमाम सिर्जनशील स्रष्टाहरूको हृदयको स्पन्दनमा छन् उनी र विश्व साहित्यका अमूल्य निधिका रूपमा थाती रहनेछन् यस विश्व ब्रह्माण्डमा ।
स्रष्टा र उसको सिर्जनालाई कुल्चेर तत्कालीन फाइदा सत्ता र सरकार प्रमुखले लिन खोजेता पनि इतिहास साक्षी छ सत्ता र सरकार प्रमुखले सँधै स्रष्टाका सुन्दर सिर्जनाका अगाडि धुलो चाटेको छ । सत्यलाई अस्विकार्दै सत्ताको उन्मादमा अन्धो भएको शासकले सुकरातलाई वीष पिउन बाध्य तुल्याएता पनि शासकको चिनु चपेटो छैन सुकरात आज पनि विश्व ज्ञानका भण्डार छन्, ध्रुवतारा जस्तै चम्किरहेका छन् । ग्यालिलियोका वाङ्मय र विचारलाई लत्याएर उनलाई मृत्युदण्ड घोषणा गर्ने चर्च र गियानोज आज लाज पचाएरै भएपनि उनी निर्दोष थिए भनेर पश्चातापका आँसु चुहाउँदै छन् । खुस परेको बेलामा प्रधानमन्त्री बनाउने र खुस उडेको बेलामा गलहत्याउने शासकको अत्तोपत्तोे छैन तर गेटे उत्तिकै सम्मानित र पूजनीय छन् जति उनी जीवित छँदा थिए । खुरसान प्रान्तका तत्कालीन शासक महमद गजनवीले फारसी भाषाका भीष्म पितामह अवुअल कासिम हसन वीन अली तूसी अर्थात् फिरदौसीलाई अनेकौं किसिमले अपमानित गर्दै अन्त्यमा मृत्युदण्डको फरमान जारी गरेता पनि फिरदौसीको साहस इमान्दारी र साहित्यिक योगदानको अगाडि राजा गजनवीले घुँडा टेकेर पश्चात्ताप गर्नैप¥यो । अरस्तुका अगाडि विश्वविजयी सम्राट् सिकन्दर कति पटक नतमस्तक भएका छन् । धर्मको आडमा अन्धो भएको आयातुल्ला खुमैनीले एउटा सिर्जनशील स्रष्टालाई आजीवन भूमिगत जीवन बिताउन बाध्य बनाउँदा के–के न लछार्छु भनेर कुवाको भ्यागुतो जस्तै कुर्लंदै उफ्र्यो तर त्यो कस्सेर उफ्रन नपाउँदै धुलो चाट्नुप¥यो; उसले प्रतिबन्धित लगाएर लतार्न खोजेको पुस्तक ‘द सटेनिक भर्सेज’ विश्व साहित्यको अमर कृति हुन पुग्यो । मानवताको वकालत गरेवापत तसलिमा नसरिनले निर्वासित जीवन बिताउनु परे तापनि बङ्गलादेशको पर्यावाची शब्दमात्र बनिनन् बरू बङ्गलादेशका सत्तासीन शासकभन्दा हज्जारौं गुना लोकप्रिय पनि छिन् र सम्मानित पनि छिन् । कवि बनेका राजा ्रकै कर्म हेरौं न ! राजनीतिलाई हत्केलामा नचाएर सरस्वतीका उपासकहरूको उपलब्धिलाई अपमानित गर्दै भोग लिप्साको श्रीखण्ड लेपन गरी सत्ताका सामु चिरञ्जीवी बन्न खोजेका थिए तर उनको कट्मिरो दर्शनको प्रेरणादायी आदर्शको लक्ष्मण रेखालाई इतिहासले तीसको घेरो पनि काट्न दिएन तर जनहृदयका स्रस्टाहरू आज पनि जीवित छन् करोडौं धुक्धुकीमा धड्केर, साहित्यप्रेमीहरूको सम्मानमा अड्केर भने अवाचा कुन खेतको मुला हो र ? समयले अहिले उसलाई साथ दिए पनि यही समयले एकदिन उसलाई किलकिलेमा समातेर पछार्नेछ र केन सारो विवाको चुलिएको बहुमुखी प्रतिभाको पैंतालामुनि कुल्चेर पुर्नेछ । ढिलो चाँडो मात्रै हो, सत्य सबैको सामु उषाको लालिमा धरती पोखिए झैं छर्लड्. भएर उदाउनेछ र मलाई विश्वास छ सत्य कहिल्यै पनि हार्दैन; हारेको पनि छैन, विद्वान्हरूले ‘सत्यमेव जयते’भनेका छन् । म त्यही सत्यको प्रतीक्षामा छु ।

चन्द्रनिगाहपुर, रौतहट ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 15 कार्तिक, 2070

लेखकका अन्य रचनाहरु