साहित्यकार अशोक सुवेदीसँग साहित्यिक र सांस्कृतिक संवार्ता

- पेशल आचार्य

(विक्रम सम्वत् चालिसको दसकको ओसिलो यामबाट नेपाली साहित्यका कविता, कथा, निबन्ध, नाटक, समीक्षा, टिप्पणी, आलेख, भूमिका, सम्पादन र प्रकाशनमा जमेको शालीन र बहुमुखी प्रतिभासम्पन्न लेखकको जुझारू नाम नै अशोक सुवेदी हो । युवा प्रगतिवादी साहित्यकार, सम्पादक/प्रकाशक र पत्रकार अशोक सुवेदी नेपाली प्रगतिवादी साहित्यमा चम्किलो नक्षत्र समेत हो । लेखन, संगठन र साँस्कृतिक कर्ममा करिब ३० वर्षदेखि रमाएर समाज परिवर्तन गर्नका लागि लागिपरेका उद्भट् प्रतिभा श्री सुवेदीका अहिलेसम्म सबै प्रकारका गरी करिब ३ दर्जन जति मौलिक र सम्पादित कृति प्रकाशनमा आइसकेका छन् ।
साहित्यिक स्रष्टा सुवेदी ‘प्रगतिवादी नेपाली कवितामा क्रान्तिचेत’ विषयमा विद्यावारिधिरत हुनुहुन्छ । तीनवटा कथासंग्रह, चारवटा कवितासंग्रह र एउटा निबन्ध संग्रह गरी ८ वटा मौलिक र करिब ३० वटा कृतिका सम्पादक÷प्रकाशक सुवेदीसँग नेपाली साहित्यका वर्तमान परिप्रेक्ष्यमा आधुनिकता, जीवनप्रतिको सोच, प्रगतिवादी आन्दोलन, समाजमा भएको असमानता र शोषणका दूर्गहरू तथा उत्तरआधुनिकताजस्ता नेपाली समाजमा रहे भएका जल्दाबल्दा विषयका सेरोफेरोमा रहेर हाम्रा सहयोगी प्रतिनिधि कवि तथा साहित्यकार पेशल आचार्यले गर्नुभएको लिखित संवार्ताको रोचक एवम् ऐतिहासिक विस्तृत रूप ।)

٭ यहाँनेर उभिएर हेर्दा जीवनलाई कस्तो पाउनुहुन्छ ?
यो प्रश्नले धेरै विषयको माग गर्छ । मेरो स्रष्टा जीवन समग्र समाजसँगै आन्दोलित छ । जीवनका वा साढे चार दशक प्रायः तुसारे शिशिर, आँधीबेहरीपूर्ण याम, कहिले ग्रीष्म, कहिले बर्सात् त कहिले झिल्काझिल्की वसन्त पनि भएर बितेको छ । जीवन भव्य, विशाल र सुन्दर प्राप्तिका लागि हरेक वर्तमानका सार्वभौम र सामान्य असमानता, अन्याय, अन्योल, बेथिति, विसङ्गति, बेमेललाई चिर्ने सचेत, सङ्गठित यत्नका साथ अघि बढिरहेको छ । यसरी हेर्दा जीवन सङ्घर्षको एक अविरल यात्रा हो, सम्भव तर चुनौतीपूर्ण र कठिन यात्रा । महान् माक्र्सले भन्नुभएझैँ संसारलाई अध्ययन गर्ने, व्याख्या गर्ने वा बुझ्ने मात्र होइन, बदल्ने र साह्रा उत्पीडनबाट मुक्त, स्वतन्त्र, समान बन्ने÷बनाउने महान् उद्देश्यले ओतपोत यात्रा हो जीवन ।
जीवन बुझ्ने र गुजार्ने मात्र होइन, चुनौतीपूर्ण यात्राका साथ सार्थक ढङ्गले जिउने कला पनि हो । चुनौतीरहित जीवन गनाउने आहालजस्तो मात्र हो, चुनौतीसहितको जीवन छङ्छङ बग्ने खोला वा झरनाजस्तो हो । छङ्छङाउँदै बग्ने जीवन नै यत्रतत्र थुप्रिएका फोहोरका डङ्गुरहरूलाई बगाउने र रूपान्तरित गर्ने क्षमता राख्छ । निरन्तर र अविरल प्रवाहमा बग्ने जीवन नै सफा, स्वच्छ र उपयोगी हुन्छ । हाम्रोजस्तो अर्धसामन्ती र नवऔपनिवेशिक राजनीतिक–भौगोलिक–सांस्कृतिक समाजमा बाँच्ने÷बाँचेका हरेक मानिसको जीवन बढी प्रवाहमय, बढी गतिवान्, बढी उथलपुथलकारी र बढी आरोह–अवरोहपूर्ण हुनु स्वाभाविक छ । हाम्रो पुस्ताले धेरै किसिमका शोषण, दोहन, विभेद र असमानताका विरुद्ध एकैसाथ विभिन्न औजार लिएर सङ्घर्ष÷विद्रोह÷प्रतिरोध गर्नु छ । कहिलेकहीँ लाग्छ, समयले मागेको जति क्रियाशील, विद्रोही बन्न सकिएन कि ! ‘एकबारको जुनी’ मा आवश्यकताअनुसार जीवनलाई समाज रूपान्तरमा लगाउन सकिएन कि ! तर पनि निराश बन्ने, आत्तिने, भाग्ने अवस्था भने छैन । प्रश्नमा उपस्थित ‘यहाँ’ ले वर्तमान राजनीतिक, आर्थिक, सांस्कृतिक, सामाजिक समग्र परिवेशलाई सम्बोधन गर्ने हुनाले जीवनमा यहाँनेरले पारेको प्रभावलाई सापेक्षतामा बुझ्नु आवश्यक हुन्छ । जब यतिबेलाको समग्र अवस्था नै सहज जीवन अनुकूल छैन, निश्चित गतिमा छैन भने जीवन पनि उथलपुथलपूर्ण हुने नै भयो । सरदर यतिबेलाको समाजले बाँचेको समग्र जीवन नै रूढि, बेथिति, अन्धविश्वास, अत्याचार, अन्याय, शोषण, दमन र असमानताले थिल्थिलो पारेको र त्यसका विरुद्ध सचेततापूर्वक आन्दोलित जीवन हो । जीवनका समग्र रसहरूलाई निराशा, कुण्ठा र व्यभिचारले दमन गरिरहेको समयमा मालेमावादी चेतना र वीररसले नेतृत्व गरिरहेको जीवन हो । त्यसैले समग्र समाजले बाँचेको जीवनभन्दा पृथक् जीवन खोज्नु उचित पनि छैन र सम्भव पनि छैन ।
सङ्क्षेपमा, ‘यहाँनेर उभिएर हेर्दा’ देखिने जीवन निकट क्षितिजमा समानतामूलक, सुन्दर र सभ्य संसार निर्माण हुँदै गरेको प्रसवपूर्ण जीवन हो । एउटा सुन्दर शिशुको जन्म हुँदै गरेको, भयानक प्रसवपीडाभित्र असीमित खुसी र सुख बोकेर आउन लागेको समयको पूर्वसन्ध्याको जीवन, मूक बनेर होइन, क्रियाशील बनेर नयाँ समाजको प्रतीक्षा गरिरहेको जीवन ।

٭ बाल्यवय, सँगीहरू र स्कुलीय जीवन कस्तो रह्यो त ?
– अतीतमा विचरण गर्दा कहिले चरम सुखानुभूति पनि हुन्छ र कहिले कहाली पनि लाग्छ । मुलुकका निरङ्कुश शासक र स्वेच्छाचारी प्रणालीको पनि कोपभाजनमा परेको, पिछडिएको, अविकसित, अशिक्षित, अत्याचारी, रूढीग्रस्त चेतना र चिन्तनले ग्रसित समाजको एउटा सामान्य सरदर, निम्नवर्गीय किसान परिवारको सदस्यको जीवन– घरधन्दा, बाख्रावस्तु, वनजङ्गल मेलापात, धूलोहिलो, कुटोकोदालो, सेउलासोतर र टाढा रहेको ‘इस्कुल’ ओहोरदोहोरमै बित्यो । यो समाजका सरदर किसानले व्यतित गरेको दैनिकी हो ।
मन्थली भञ्ज्याङ्का घिमिरे जिम्मल र भँगेरीका नेवार साहूहरूको आँखामा परेको सानीमदौ (हाल सिर्जनानगर) स्थित खाँदबारी, बोदनेलगायतका खेत नै हाम्रा पुर्खा र हाम्रो जीवनको आधार थियो । तीन सय वर्षअगाडि गोरखा धावातान्द्राङबाट मल्ल राजाहरूलाई बक्साएर मन्थली आइपुगेका हाम्रा पुर्खाहरूले बन्जर पाखापखेराहरूमा पसिना, रगत र सीप पोखेर हराभरा बनाएका थिए । जब बुट्ट्यानमा अन्न उम्रियो, जब ढुङ्गाका कापमा मकै, गहुँ र धानका घोगा र बाला पसाए तब सामन्तहरूका गिद्देदृष्टि पर्न थाले । जाली र सामन्तहरूले परिश्रमी, सोझासादा किसानको श्रम र सीपले हराभरा भएको खेतबारी हडप्न थाले । आफ्नो जीविकोपार्जनको माध्यम खेतबालीमा सामन्तका मुसन्डहरूले नाङ्गो नाच देखाएर बाहुबल प्रयोग गर्दै किसानहरूलाई लछारपछार पारेका दृश्यले बालमस्तिष्कमा नकारात्मक प्रभाव पार्न थाल्यो, विद्रोहको र बदलाको भावना जागृत गराउन थाल्यो । ती र त्यस्ता घटनाहरू सामान्यीकरण हुँदै जीवनका नारा, कथा, नाटक, गीत र कविता बन्न थाले । हामी पनि शोषणविरोधी सांस्कृतिक कार्यक्रममा सहभागी बनेर नाटक र नृत्य प्रदर्शन गर्न थाल्यौँ ।
शोषण, दमन, अन्याय र प्रतिरोध कतिपयका लागि कथा बन्ने गर्छन् तर हामीले त्यसलाई जीवन व्यवहारमै भोग्यौँ÷बेहो¥यौँ । शोषण भोग्नु, त्यसका विरुद्ध सांस्कृतिक प्रतिरोध गर्नु हाम्रो दैनिकी बन्यो ।
सानीभदौ नयाँघरमा थियो बसाइ । दाजुको दौराको फेर समातेर मन्थली भन्ज्याङ्स्थित श्री महेन्द्रोदय निमावि (हाल मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस) मा कखरा सिक्न जान सुरू गरेकै समय दाजुको मन्थलीको पढाइ टुङ्गियो । मन्थली जाने साथी भएनन् नयाँघरबाट । गाउँमा घर हुनेहरू नेत्र दाइ, गोविन्द दाइ, नरेन्द्र दाइ अनि सहपाठीहरू मदन चापागाईं, अम्बिका काफ्ले, यादव सुवेदीहरूसँग पल्लो टेकनपुरस्थित श्री ताम्रकौशिका प्राविमा भर्ना भएर कखरा सिकियो । टेकनपुर स्कुल पुग्न नयाँघरबाट बुढाथोकी टोल, दोबाटो, काफ्लेटोल, सिरुवानीडाँडा, ढाँडावन, सामाढुङ्गो, सार्की टोल, दमाई टोल, कार्की÷रोकायाटोल हुँदै जानुपथ्र्यो, झन्डै २ घन्टाको बाटो । जाँदा सामाढुङ्गोमा अम्बा, रोटी, मकै, मेवाजस्ता खाजा लुकाइन्थ्यो र बेलुका फर्किंदा खाँदै आइन्थ्यो । कहिलेकहीँ हराउँथ्यो पनि ।
टेकनपुर स्कुलका शिक्षकहरू त्यति संवेदनशील भएजस्ता लाग्दैनथे ।
‘पढ पढ’ भन्नु, हल्ला गरे आएर मनपरी पिट्नु, कडाइ गरेको देखाउनु तर शिक्षाको गुणस्तरप्रति ध्यान नदिनु शिक्षकहरूको प्रवृत्तिजस्तै बनेको थियो । धारापानी र दमाईगाउँका सहपाठीहरू हामीभन्दा ठूला थिए । सानीमदौबाट जाने हामी धेरै साना थियौँ, अझ म र मदन । स्कुलबाट फर्किने बेला उनीहरू हामीलाई साँझ नपरून्जेल समातेर राख्थे र साँझ परेपछि मात्र छोडिदिन्थे । ढाँडावनमा दिउँसै बाघ कराउँथ्यो । सधैँ हाम्रो सातो जान्थ्यो । घरमा वा स्कुलमा कुरा लगाउने वा गुनासो गर्ने अवस्था पनि थिएन । यो क्रम गोविन्द दाइ, नेत्र दाइ र नरेन्द्र दाइहरूले स्कुल छोडेपछि सुरू भएको थियो ।
त्यति बेला सपनामा मीत लगाएको देखेमा विपनामा पनि लगाउनैपर्ने प्रचलन वा परम्पराजस्तै बनेको थियो । एकदिन मैले मदनसँग सल्लाह गरेँ– टेकनपुरेसँग बच्न सपनामा मीत लगाएको देखेको नाटक गर्नुपर्ने भयो, मदन । उनले पनि सहमति जनाए । मैले धारापानीको कार्कीसँग र उनले दमाई गाउँका साथीसँग कापीका पाना साटेर मीत लगायौँ । त्यसपछि भने उनीहरू हामीलाई बाघ कराउने ढाँडावन कटाइदिन थाले ।
टेकनपुर छोडेर फेरि मन्थली जान थालियो । तीर्थ दाइ, यादवहरू थपिए । यो तीन कक्षा पढ्दाको कुरा हो । नयाँघरबाट बेसी, सानीटार, डिही, कोकाहा, खाँदबारी, बोदने, भन्ज्याङ्, कटहरबोट हुँदै स्कुल पुग्नुपथ्र्यो । भन्ज्याङ्को डाँडामा रहेको जिम्मल ज्ञानप्रसाद घिमिरे र सुब्बा इन्द्रप्रसादको घरमा बसेको ढ्याके माझीले आँगनबाट हामीतिर ढुङ्गा हान्थ्यो वा लडाउँथ्यो । हामी कटहरबोटनेर पुगेपछि बत्तेतोड कुद्थ्यौँ । स्कुलमा केशवप्रसाद सत्याल, माधवप्रसाद घिमिरे, नारायणप्रसाद सुवेदी, गिरिदास श्रेष्ठ र डिल्लीप्रसाद सुवेदीहरूले पढाउनुहुन्थ्यो । तुलनात्मक रूपमा माधव सर धेरै प्रिय र व्यावहारिक हुनुहुन्थ्यो । उहाँले पढाएको नेपाली, गिरि सरले घोकाएको एबीसीडी र नारायण काकाले सिकाएको गीत–नृत्य प्रायः स्मरणीय छन् । प्रजातन्त्र दिवस भनेर फागुन ७ गते गरिएको नाराजुलुस र त्यसमा सहभागी हुन घरबाट बनाएर लगिएको झन्डाको स्मृति उत्तिकै गाढा छ ।
हाम्रै खेतबाट हामीले नै उब्जाएको धानले जिम्मलका ढिकुटीहरू भरिएका थिए तर हामीलाई बाह्रै मास ‘चामलको भात’ खान धौधौ हुन्थ्यो । जिम्मलका ढिकुटीको अन्न देखेर हाम्रो बालमस्तिष्कमा मान्छेमान्छेबीच किन यस्तो विभेद भएको होला भन्ने लागिरहन्थ्यो ।
हाम्रो कक्षामा एकजना मात्र छात्रा थिइन्, इन्दिरा । अरू सबै पुरुष । टेकनपुर र सुनारपानीबाट पढ्न आउने हामीभन्दा जेठाबाठा वा ठूला भनिएकाहरूको छात्राप्रतिको व्यवहार त्यति राम्रो थिएन । तिनै ठूलो जिउडालका सहपाठीहरूको कयसमा परेर हामीले कहिल्यै भलिबल, फुटबल छुनसम्म पाएनौँ । मुस्किलले एक महिनामा रबरको रिङ भागमा पथ्र्यो खेल्नका लागि । त्यसैले हाम्रो खेलकुदमा विकास हुन सकेन भन्ने लाग्छ ।
आकासेमा हवाइजहाज बस्ने ‘ग्राउन्ड’ बनाउने बेला सकिनसकी बाबाआमासहित परिवारका सबै भएर ढुङ्गा, बालुवा, स्याउला बोकेको र हवाइजहाजको आवाज सुन्नासाथ स्कुलको कक्षा नै छाडी पिठ्युँमा झोला भिरेर धूलो उडाउँदै एअरपोर्टतर्फ दगुरेका घटनाहरू ताजै लाग्छन् । त्यस्तै तामाकोसीमा सानो र ठूलो भँगालो पौडी खेल्दै, डुब्दै पानी खाँदै तरेका घटनाहरू पनि स्मरणीय छन् । सानो भँगालो त मरीतरी तरिन्थ्यो तर ठूलो भँगालाले प्रायः हामीलाई हेप्थ्यो । त्यसैले ठूलो भँगालो तर्दा बढी नै पानी खाइन्थ्यो । दुईटा भँगालाका बीचको टापुमा बालुवाको घर बनाउनु, भत्काउनु, बालुवामुनि सुरुङ खन्नु आदि हाम्रा दैनिकी थिए । त्यस्तै टकनपुर स्कुल जाँदा ढाँडावनमा सुकेर नुहेका सल्लाका हाँगामा ढुङ्गाले हानी खेलेका र मन्थली स्कुलमा पढ्दा अमला र तित्रीका बोटमा चढेर भौँतारिएका पलहरू पनि प्रायः स्मृतिपटलमा घुमिरहन्छन् । ४ कक्षामा पढ्न फुपुको घर सिन्धुलीको मझुवा पुगियो ९ वर्षको उमेरमा । त्यहाँ एक वर्ष बस्ताका अनुभूति बेग्लै र अनगिन्ती छन् ।
फेरि ५ देखि ७ कक्षासम्म मन्थली मै र ८ कक्षा रामेछापडाँडास्थित गौरीशङ्कर हाइस्कुलमा पढेर ९–१० पढ्न सर्लाहीको परवानीपुरतर्फ लागियो । ९ मा अध्ययन सुरू गर्नासाथ बाबाको निधन भयो एउटा सामान्य ज्वरो र टाइफाइडले रामेछाप नयाँघर मै । त्यसपछि हाम्रो परिवारका अधिकांश सदस्यको जीवनमा आकाश खस्यो, पहिरो गयो । एकजना दाजुको जीवनमा बाहेक आमा र उहाँका अरू सबै सन्तान साँच्चै सहाराविहीन बन्यौँ । जीवनको समग्र खुसी लुटिएको २०३९ साल चैत २५ गते शुक्रबारको कहालीलाग्दो क्षणले जीवनमा नयाँनयाँ चुनौतीहरू थपिरह्यो र विद्रोहमा सामेल गराइरह्यो ।
८ कक्षादेखि नै सामान्य अभाव, समस्या र चुनौती सामना गर्ने अभ्यास सुरू भएको थियो । त्यसपछि त त्यसले जीवनलाई नै पछ्याइरह्यो । एउटा सिङ्गो कापी, सबै विषयका पुस्तक, कापी, कलम र पुस्तक भिर्ने झोला, नियमित स्कुल पोसाक, नियमित स्कुलको शुल्क तिर्ने अवस्था, दैनिक खाजा खाने पैसाको रहर हुँदाहुँदै स्कुले जीवन सकियो । बाल्यावस्थाको राम्रो अनुभूति नहुँदै र किशोरावस्था थाहै नपाई एकैसाथ नयाँ ‘प्रौढावस्था’ सुरू भयो । रहरहरू सबै सकिए । किनकि पूरै परिवारको लालनपालन आफ्नो काँधमा आइलाग्यो ।
यसरी साथीसँगीहरूसँगको बालापन, बालक्रीडा, मनोरञ्जन, स्वतन्त्रता सबै आकाशमा चम्किएको बिजुलीझैँ झिलिक्क आएर बिदा भए अनि कहिलै फर्किएनन् । वर्षभरिको प्रतीक्षापछि आउने दसैँ थाहै नपाई रहरैरहरमा बितेजस्तो बित्यो बालापन । सामन्तविरोधी नाटक र नृत्यहरू पनि केवल नाटकजस्ता, जीवन पनि कहालीलाग्दो कथाजस्तो, उपन्यासजस्तो, त्रासद् नाटकजस्तो भएर बित्न थाल्यो । अझै पनि स्कुल पोसाक लगाएर, झोलाभरि पुस्तक बोकेर रमाउँदै विद्यालय जान लागेका, खेल्दै घर फर्किन, खाजा खाएर रमाइरहेका बालबालिकालाई देख्दा भित्रैबाट लोभ लाग्छ । कसैले नानी वा बाबु डोहो¥याएर हिँडेको देख्दा बाबाको अभावको महसुस हुन्छ । यसरी नै बिते बाल्यकालीन दिनहरू, स्कुले दिनहरू ।
٭ साहित्य मै लाग्छु भन्ने थियो केटाकेटीमा घामकीरा लखेट्दा वा गोठालो जाँदा ?
– साँच्चै यो प्रश्नले गहिरोसँग बाल्यकालको सम्झना गरायो । घामकीरा लखेट्दै, समात्दै पुच्छरमा सिन्का घुसारेर उडाउँदा र गाईवस्तु चराउन वनपाखा जाँदाको जीवन साँच्चिकै जीवन कै स्वर्णपल हो । तर मेरो जीवनमा यो पल लामो अवधि रहन पाएन, १२÷१३ वर्षबाटै फुत्कियो ।
त्यतिबेला साहित्य थाहा थिएन तर घरमा सधैँ हूलका हूल मान्छे भेला हुन्थे, बाबाले गीतजस्तो केही भनिरहेको र अरूले सँगसँगै लोलीमा बोली मिलाएको सुनिन्थ्यो । बाबा प्रायः भान्छाका रमाउने, डोरी, दाम्लो बनाउँदा, मही पार्दा, दूध दुहुँदा, गोबर सोहोर्दा श्लोक, गजल र गीत भनिरहने । आमा मध्यरात कट्नासाथ उठेर जाँतो र ढिकीमा जोतिँदा पनि गीत गाइरहने, गाउँमा कुनै पर्व, बिहेबटुल वा मेलामा रौसीरौसी नृत्य गरिरहने । सिर्जना यही हो भन्ने थाहा नहुँदानहुँदै सधैँ कानमा गुन्जिरहे र मुटुमा झङ्कृत भइरहे । बाबाआमाले सुसेलेका सुसेली, गाईबाख्रा चराउन जाँदा दिदीबहिनी र काकीहरूले सुसेलेका स्वरहरू अनि आमा र बाबाले गाएका गीत र भजन–गजलका तानहरूले मन सिञ्चित हुँदै गएको रहेछ भन्ने अहिले अनुमान गर्छु ।
सातआठ वर्षजतिको उमेर छँदा हरेक वर्ष दसैँतिहारमा दोबाटोमा नाटकसहितको सांस्कृतिक कार्यक्रम देखाइन्थ्यो । कमरेड ऋषि देवकोटा ‘आजाद’ बाट प्रभावित हाम्रा दाजुहरूले एकडेढ साताको रिहर्सलपछि नाटक÷नृत्यको आयोजना गर्नुहुन्थ्यो भने बाबाआमा पनि आफैँ सहभागी भएर र नाचगानमा भाग लिएर हामीलाई सहभागी हुन प्रोत्साहन गर्नुहुन्थ्यो । दिदी पनि आमाको प्रभावले नृत्य गर्ने, आमा गायन, नृत्य र प्रहसनका लागि गाउँमै विख्यात, बाबा समाजमै साहित्यका लागि धुरन्धर । यस्तै वातावरणले नाटकमा नाच, गान र अभियन गर्न हामी उत्साहित हुन्थ्यौँ । गीत, नृत्य, प्रहसन र नाटक स्थापित सामन्तहरूले गरेको शोषण, दमन, अत्याचार, विभेद र जालझेलविरुद्ध लक्षित हुन्थ्यो । यसरी साहित्य, सिर्जना, कला वा सांस्कृतिक क्षेत्रमा लाग्छु भन्ने थाहा नहुँदानहुँदै वातावरण र परिवेशले नै यस क्षेत्रतर्फ डोहो¥यायो र यसको विद्यार्थी÷शिक्षार्थी बनायो । घामकीरा लखेट्दा र गोठालो जाँदा बाबाआमाले गुनगुनाएका, ठूलीआमा, दिदी र भाउजूहरूले सुसेलेका गीतका तुक्का जानीनजानी, कनीकुथी भनिन्थ्यो । तिनै टुक्राटाक्रीले सिर्जनामा पक्कै प्रभाव पारे होलान् भन्ने लाग्छ ।
राति सुत्न ओछ्यानमा जाँदा बाबाले महाभारत, रामायणलगायत ग्रन्थ र शास्त्रका कथा, नेपालकै राजनीतिमा काङ्ग्रेसले गठन गरेको रक्षा दलले राणाविरुद्ध गरेको लडाइँका साथै, वीरगन्जमा थीरबम मल्लले गरेको बलिदानका कथाहरू सुनाउनुहुन्थ्यो र बिहान सबेरै उठाउन गुणरत्नमाला, रामायण र महाभारतका अर्ती, उपदेशयुक्त श्लोकहरू सुनाउनुहुन्थ्यो ।
घामकीराका पुच्छरमा सिन्का उनेर उडाउँदा र गोठालो जाँदा अवश्य पनि यो वातावरणले असर पा¥यो होला र त्यसैको प्रभावस्वरूप सिर्जनाको विद्यार्थी बन्न प्रोत्साहित मिल्यो होला भन्ने लाग्छ ।
٭ कहिलेदेखि लेख्न थाल्नुभयो ? कुन विधाबाट ? कति विधामा लेख्नुभयो ?
– २०३० सालको दशक चेतना आरम्भको दशक हो –मेरो जीवनमा । यही दशकमा मैले चरम सुखानुभूतिदेखि चरम दुखानुभूतिसम्म गरेँ । बाल्यकालमा एकै दशकमा पूरै विपरीत किसिमका अनुभूति सायदै धेरैले गर्न पाउँछन् वा गर्छन् । तर मैले गर्नुप¥यो । यसै दशकमा देखेका, सुनेका, जानेका, भोगेका, अनुभव गरेका कुराहरूलाई मैले चालीसको दशकको आरम्भमा एकाङ्की र पूर्णाङ्की नाटकमा उतार्ने प्रयास गरेँ । किनकि मैले मेरो परिवारका अग्रजबाट सिकेको सिर्जनाको प्रभाव अभिनयका माध्यमबाट अभिव्यक्त गर्ने आरम्भ गरेको थिएँ ।
५÷७ वटा नाटक र केही संस्मरण÷अनुभूति पनि मैले त्यही बेला लेखेँ । त्यसपछि मैले अनुभूति र विचारहरू कवितामा अभिव्यक्त गर्न थालेँ । यसो गर्दा चालीसको दशकको आरम्भ भएको थियो । तर दुःखको कुरा, २०४२÷४३ तिर सिन्धुलीबाट भूमिगत रूपमा विद्यार्थी सम्मेलनमा काठमाडौँ आएको समयमा हरि भण्डारी नामका साहित्यिक मित्रलाई नाटक देखाएपछि उहाँले सङ्ग्रहका रूपमा प्रकाशन गर्ने भन्दै लग्नुभएको थियो । ती रचना प्रकाशन भएको पनि देखिनँ र कहिल्यै फिर्ता पनि पाइनँ । मेरा प्रथम रचनाका मूल प्रति नै हराएपछि धेरै दुःखी भएँ । अझै पनि ती रचना सम्झिरहन्छु ।
त्यसपछि सिन्धुली कलेजमा अध्ययन सुरू गरेपछि केही अनुभूतिपरक संस्मरण÷लेख लेखेको थिएँ । तिनको पनि रक्षा गर्न सकिनँ । क्याम्पसमा म अखिल छैटौँको कार्यकर्ता हुँदै जिल्ला नेता भएँ । राजनीतिक जीवन आरम्भ भएपछि त्यसलाई साहित्यिक रूपान्तरण गर्नु आवश्यक थियो । हरेक शुक्रबार क्याम्पसमा साहित्यिक कार्यक्रम आरम्भ गरियो । हरेक शुक्रबार कविता, लघुकथा र संस्मरणहरू सुनाउन थालियो । आफ्नै पहलबाट आरम्भ भएको यस्तो कार्यक्रम पञ्चायती निरङ्कुशताविरुद्ध प्रगतिवादी जागरण ल्याउने सशक्त माध्यम बन्यो । त्यही समयमा ‘बसाइँ’ उपन्यासलाई नाटक बनाएर प्रदर्शन गरियो । त्यसमा मैले नाटकको नायक धनेकी पत्नी गौँथलीको भूमिका निर्वाह गरेथेँ । बाल्य अवस्थामा नाटकमा खेलेको र नृत्य गरेको अनुभवले पनि केही सहयोग पु¥यायो त्यति बेला । तर त्यतिबेलाका लेख र कविताको पनि रक्षा गर्न सकिएन ।
त्यति नै बेलाबाट अनुभूतिहरूलाई कथामा उन्न थालेँ । ०४५ सालमा स्नातक अध्ययन गर्न र राजनीतिक आन्दोलनलाई सघाउन काठमाडौँ छिरेपछि कथा लेखनलाई जोडेँ । जनआन्दोलन सम्झौतामा टुङ्ग्याइएकोमा पटक्कै चित्त बुझिरहेको थिएन । २५० रूपैयाँ तलबमा ‘अन्तर्राष्ट्रिय मञ्च’ पत्रिकामा ०४५ मा पत्रकारिता÷जागिर सुरू गरेँ । कथा लेखिए पनि सङ्ग्रह प्रकाशन गर्ने क्षमता थिएन । ०४६ पछि ‘महिमा’ साप्ताहिकमा काम गर्न थालेपछि सहकर्मी एवम् प्रिय मित्र सन्तोष थपलिया र उनका आफन्त कमल थपलियासँग सहकार्य गरी तीनैजनाका कथा मिलाएर ‘सेतो गुलाब’ कथासङ्ग्रह प्रकाशन गरियो तर दुःखको कुरा प्रेसमा पूरा भुक्तानी गर्न नसक्दा सबै बजारमा लग्न सकिएन, छापिएका प्रतिमध्ये केही मात्र वितरण भयो । संयुक्त रूपमा प्रकाशन गरिएको त्यही पुस्तक मेरो जीवनको पहिलो सङ्ग्रह बन्यो । नाटकसङ्ग्रह प्रकाशन हुनसकेको भए यो दोस्रो हुने थियो ।
त्यसपछि मसाल (नेकपा मसालको मुखपत्र), हाँक साप्ताहिक, नयाँ हाँक साप्ताहिक, महिमा साप्ताहिक, पृष्ठभूमि साप्ताहिक, जनसत्ता साप्ताहिक, विश्वमित्र पाक्षिक, हिमालय टाइम्स दैनिक, प्रतियोगितामञ्च मासिक, सगरमाथा दैनिक, प्रभातकालीन दैनिक, जनादेश साप्ताहिक, सन्ध्याकालीन दैनिकलगायत दर्जनौँ पत्रिका सम्पादन÷प्रकाशनका क्रममा कुनै रहरले, कुनै आवश्यकताले रचना गर्ने र प्रकाशन गर्ने क्रम जारी रह्यो । नाटकबाट आरम्भ भएको मेरो लेखन संस्मरण, अनुभूति, कविता, कथा, समीक्षा, शब्दचित्र, निबन्ध, नियात्रा, समालोचना, राजनीतिक÷सांस्कृतिक लेख÷टिप्पणी हुँदै अघि बढ्यो । आजसम्म आइपुग्दा नाटक फेरि लेख्न सकिनँ; केही सडकनाटक मात्र लेखेँ । प्रारम्भिक चरणका रचनाहरू हराएपछि जाँगर र रूचि पनि हरायो । कविता, कथा, संस्मरण, नियात्रा, समीक्षा, समालोचना, सांस्कृतिक÷वैचारिक तथा जीवनी एवम् कृतिपरक लेख यतिबेला रूचि र आवश्यकताका कारण पनि लेखिरहेको छु ।
٭ कति कृति आए ? सम्पादित कति ? मौलिक कति ? अब कति आउने तर्खरमा छन् ?
– २०४८ सालमा प्रकाशित ‘सेतो गुलाब’ संयुक्त कथासङ्ग्रहपछि आजसम्म मौलिक र सम्पादन गरी तीन दर्जनभन्दा केही बढी पुस्तकहरू लेख, सम्पादन र प्रकाशनमा आएका छन् । त्यसमध्ये मौलिक कृतिका रूपमा संयुक्तसमेत तीन कथासङ्ग्रह (सेतो गुलाब, मैले रोजेको बाटो र नयाँ बस्ती), चारवटा कवितासङ्ग्रह (युद्धघोष, नयाँ समयका नयाँ मानिसहरू, गाउँको रङ फेरिएको छ र चिहानमाथि ठडिएको सालिक) र एउटा समालोचना (नेपाली प्रगतिवादी कवितामा विद्रोहचेत) प्रकाशनमा आएका छन् ।
मौलिक लेखनपछि मेरो रुचि तत्कालीन आवश्यकताका आधारमा विभिन्न विधाका सामग्री सम्पादन र प्रकाशन गर्नुमा रहेको छ । ०५७ सालमा ‘नेपालमा परम्परागत राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना’ बाट आरम्भ भएको मेरो सम्पादन÷प्रकाशनको क्रम २०६० सालमा पाँचवटा छापामार डायरी, २०६२ सालमा कवि हितप्रसाद उपाध्यायको ‘चन्द्रवदन’ काव्यलगायतका कृति, २०६३ मा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का अन्तर्वार्ताहरूको सङ्ग्रह ‘राजतन्त्र एक वर्षभित्रै समाप्त हुन्छ’, सोही वर्ष ‘राजदरबार हत्याकाण्ड ः तथ्य र प्रमाणहरू’, २०६४ सालमा ‘आस्था र निष्ठाका सतिसाल ः कृष्ण सेन इच्छुक’, २०६५ मा ‘सांस्कृतिक क्रान्तिका नायक ः कृष्ण सेन इच्छुक’, २०६६ मा ‘जनगणतन्त्र र राष्ट्रियताका लागि सिर्जना अभियान’, सोही वर्ष ‘अथक साधक ः शक्ति लम्साल’, २०६७ मा ‘रामेछाप जिल्लाका साहित्यकार र कवि हितप्रसाद अपाध्याय’, २०६८ मा ‘दोरम्बा हत्याकाण्ड ः मुक्तिका लागि बलिदान’, ‘लालभूमिको यात्रा’, ‘सिर्जनानगरका सुसेलीहरू’, ‘प्रथम साहित्यिक सहिद कृष्णलाल अधिकारी र मकैको खेती’, २०६९ मा ‘सिर्जनाभूमि’, ‘क्रान्तिकारी साहित्य, संस्कृति र पत्रकारिताका स्तम्भ ः शक्ति लम्साल’ लगायत साहित्यक, सांस्कृतिक, राजनीतिक, समसामयिक विषयका पुस्तक सम्पादन÷प्रकाशन गरेँ ।
जनयुद्ध उत्कर्षमा पुगेको समयमा २०५८ सालमा डा. ऋषिराज बरालको ‘सैन्य उपहार’ कथासङ्ग्रह, २०६४ सालमा डा. बरालकै ‘समरगाथा’ उपन्यास, सोही वर्ष पूर्ण विरामको ‘ए मेरो आदरणीय लेकाली फूल’ कवितासङ्ग्रह र २०६५ मा डा. बरालकै ‘प्रियजनहरूको सम्झनामा’ शीर्षकको शब्दचित्रसङ्ग्रह प्रकाशन गरेँ । महान् जनयुद्धले सिर्जना गरेको नयाँ यथार्थका अगुवा स्रष्टा सहिद कृष्ण सेन ‘इच्छुक’ लाई पुस्तकमा उतार्ने प्रयासस्वरूप ०६४ मा उनीमाथिको पहिलो पुस्तक ‘आस्था र निष्ठाका सतिसाल ः कृष्ण सेन इच्छुक’ सम्पादन÷प्रकाशन गरेथेँ । जनयुद्धकै नेतृत्व गरेका एकथरी नेताहरूले दर्शन, सिद्धान्त, विचार, राजनीति र व्यवहार सबै क्षेत्रमा दलाली र गद्दारी गरेकाले इच्छुकको महान् आदर्शलाई स्थापित गर्नुपर्ने आवश्यकता झन् टड्कारो बनेको महसुस गर्दै उहाँका बारेमा यसअघि प्रकाशित र अप्रकाशित जीवनी र व्यक्तित्व झल्काउने एउटा र उहाँका साहित्यिक कृतिसम्बन्धी समालोचनाको एउटा गरी दुईवटा कृति सम्पादन गरेको छु, प्रकाशनको तयारीमा छन् ।
सङ्कलन गर्दा दुईटा पुस्तक तयार हुने समालोचना, एउटा पुस्तकका लागि संस्मरण, दुईवटा सङ्ग्रहका लागि कविता, एउटा सङ्ग्रहका लागि कथा, एउटा सङ्ग्रहका लागि सांस्कृतिक लेख÷टिप्पणी, एउटा सङ्ग्रहका लागि नियात्रा, एउटा सङ्ग्रहका लागि विविध विषयका लेखरचना आदि तयार छन् । नेपाली क्रान्तिका अविश्रान्त नायक एवम् वरिष्ठ माक्र्सवादी सौन्दर्यचिन्तक मोहन वैद्य ‘किरण’ को जीवनी पनि तयार पार्दैछु । सबै फुटकर रचनाहरू सङ्कलन गर्ने हो भने एक दर्जनको हाराहारीमा पुस्तक बन्ने सम्भावना छ तर यतिबेला राजनीतिक सङ्घर्ष अलि पेचिलो छ । दलाल र गद्दारहरूले सडकमा फ्याँकेको क्रान्तिको झन्डा उठाएर अघि बढाउनुपर्ने चुनौती छ । त्यसैले पुराना सामग्री सङ्कलन÷सम्पादन गर्ने समय कम छ, नयाँ सिर्जना गर्नुपर्ने अवस्था बढी छ ।
٭ तपाईं सांस्कृतिक योद्धा पनि हुनुहुन्छ । लेखन र सांस्कृतिक यात्रालाई साथसाथै कसरी लगिरहनुभएको छ ?
समग्र असमानता, शोषण, दोहन, व्यभिचार, बेथिति र अत्याचार अन्त्य गरी मानव–मानवबीच विद्यमान विभेद मेटेर समानतामूलक वैज्ञानिक समाज निर्माण गर्ने मालेमावादी दर्शन, सिद्धान्त र राजनीति अनुसरण गर्दा सांस्कृतिक आन्दोलनको एउटा सिपाही बनियो । आमूल परिवर्तनकारी विचारलाई जीवन व्यवहार बनाउने प्रयास गर्ने क्रममा पेसाका रूपमा पत्रकारिता र रूचिका रूपमा लेखनलाई ग्रहण गर्नुपर्ने अवस्था आयो । सांस्कृतिक यात्रा (वास्तवमा आन्दोलन) र लेखनबीच गहिरो सम्बन्ध भएकाले यसका बीचमा सहकार्य गर्दै अघि बढ्न सहज बन्दै आएको छ ।
सांस्कृतिक आन्दोलन जीवन÷जगत्लाई व्यापक रूपमा प्रभावित पार्ने वृहत् आन्दोलन हो । यसले जीवन÷जगत्का राजनीतिक, आर्थिक, नैतिक, सामाजिकलगायत सबै क्षेत्र समेट्छ । सांस्कृतिक आन्दोलन मानिसका चौतर्फी रूचि, व्यवहार, आनीबानी, संस्कार, आचरण, संस्कृति, नैतिकता आदि व्यापक क्षेत्रमा फैलिएको छ । सर्वहारा मानवतावादी संस्कृतिले नै समग्र सांस्कृतिक आन्दोलनको नेतृत्व गरिरहेको छ र यो वर्गसङ्घर्षका माध्यमबाट निर्माण हुन्छ । माक्र्सवादी भाषामा श्रमजीवी र उत्पीडित÷सर्वहारावर्गको मुक्तिका लागि निर्मित संस्कृति प्रगतिवादी÷जनवादी संस्कृति हो र यो मालेमावादी दर्शन र विचारका आधारमा अघि बढेको वर्गसङ्घर्षकै बीचबाट अघि बढ्छ ।
आज पनि नेपालको अवस्था अर्धसमान्ती र नवऔपनिवेशिक छ । मुलुकको राज्यसत्ता मूलतः दलाल पुँजीपतिवर्गको हातमा छ र राज्यसत्ताको आडमा सोही किसिमको राजनीति, अर्थनीति र संस्कृति लादिएको छ । यतिबेला लडिएको र लड्ने राजनीतिक र सांस्कृतिक आन्दोलन एकअर्काका पूरक र सहयात्री छन् । सामन्ती राजनीति तथा अर्थनीति, विस्तारवादी राजनीति, अर्थनीति तथा संस्कृति र साम्राज्यवादी राजनीति, अर्थनीति र संस्कृतिले नेपाली राजनीति, अर्थनीति र सांस्कृतिक अवस्थालाई एकसाथ गाँजेका छन् । स्वाधीन, सार्वभौमसत्तासम्पन्न, सबल, सक्षम, स्वतन्त्र राजनीतिक–आर्थिक–सांस्कृतिक आधार निर्माण गर्न नेपालमा राजतन्त्रात्मक सामन्ती सत्ताको अवशेषका रूपमा विद्यमान सामन्ती संस्कार र संस्कृतिका विरुद्ध निरन्तर सङ्घर्ष चलाउनु जरुरी छ । नेपालको सामन्ती संस्कार र संस्कृति सामन्ती राजनीति र अर्थनीतिसँग जेलिएको छ र यहाँको राजनीति, अर्थनीति र संस्कृति भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको नीतिसँग जेलिएको छ । अर्थात् अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको राजनीति, संस्कृति र अर्थनीतिका विषाक्त जराहरू नेपालभित्र छिरेका छन् । यसका विरुद्धको आन्दोलन÷सङ्घर्ष वर्गसङ्घर्षका माध्यमबाट अघि बढिरहेको छ । यो कर्म भनेको राजनीतिक सङ्घर्ष, लेखकीय सङ्घर्ष, आर्थिक सङ्घर्ष, सामाजिक एवम् साहित्यिक सङ्घर्षका माध्यमबाट क्रियाशील छ । एउटा सचेत राजनीतिकर्मी, क्रान्तिकारी विचारलाई आधार बनाएको लेखक र मालेमावादी संस्कृतिकर्मी हुनुको नाताले यी तीनवटै आन्दोलन एकअर्काका परिपूरक भएर अघि बढिरहेका छन् । त्यसैले राजनीतिक आन्दोलनलाई लेखकीय आन्दोलनले, लेखकीय आन्दोलनलाई सांस्कृतिक आन्दोलनले र सारमा सबै आन्दोलनले सबै आन्दोलनलाई एकअर्काका सहयोगी र पूरकका रूपमा सहयोग पु¥याइरहेका छन् ।
सामन्ती संस्कृतिले हामीलाई विगतका विरासतका रूपमा जबर्जस्ती अन्धविश्वास, रूढी, कुसंस्कार र खराब चालचलन लादिरहेको छ । जस्तै ः धर्मकर्म, स्वर्गनर्क, जातपात, छुवाछूत, ईश्वर, दैव, भाग्य, पूर्वजुनी–पश्चजुनी, अन्धविश्वासमा लिप्त कर्मकाण्ड, पापधर्मका बनावटी कथासँग जोडिएका जात्रापर्व आदि अवैज्ञानिक, अभौतिकवादी प्रचलन र प्रथाले हाम्रो समाजलाई उन्नति, प्रगति र विकासबाट रोकिरहेका छन् । यही कमजोर अवस्थाबाट फाइदा उठाएर विस्तारवादले आफ्नो जातिवादी, धार्मिक चिन्तन लादिरहेको छ भने पाश्चात्य अश्लील, भ्रष्ट, छाडा र विकृत उपभोक्तावादी संस्कृति पनि यसैमाथि थोपरिएको छ । यी सबै खराबीका विरुद्ध द्वन्द्वात्मक भौतिकवादी, जीवनवादी, समानतामूलक, सर्वहारा मानवतावादी, स्वाधीन, स्वतन्त्रतामूलक जनसंस्कृति निर्माण गर्नु आवश्यक छ र यसका लागि सबैखाले रूढी, अन्धविश्वास, अश्लील, विभेदकारी, जालझेलपूर्ण संस्कृतिका विरुद्ध आन्दोलन गर्नु आवश्यक र अपरिहार्य छ । यसप्रकारको आन्दोलन वा सङ्घर्षको नेतृत्व वर्गसङ्घर्षबाट सम्भव छ । वर्गसङ्घर्ष मालेमावादी विश्वदृष्टिकोणलाई आधार बनाएर मात्र अघि बढ्न र सफल हुन सम्भव छ । महान् जनयुद्धले निर्माण गरेको जनसत्तामा स्थापित नवीन मूल्य, मान्यता र संस्कृतिले पनि संस्कृति सत्तासङ्ग सम्बन्धित विषय हो र सत्ता जति जनपक्षीय र वैज्ञानिक हुन्छ, संस्कृति पनि उति नै जनपक्षीय र वैज्ञानिक हुन्छ भन्ने प्रमाणित गरेको छ । त्यसैले लेखकीय आन्दोलन एक किसिमको सांस्कृतिक आन्दोलन पनि भएकाले साथसाथै लग्न सहज भएको छ । लेखन, सांस्कृतिक नीति निर्माण, अभियानहरूमा आबद्धता र गतिविधिहरूमा क्रियाशीलता जनाएर सांस्कृतिककर्मलाई जीवन बनाइरहेको छु ।
٭ जीवन के हो ?
पहिला पनि उल्लेख भइसकेको छ– जीवन सङ्घर्षपूर्ण, सार्थक, उद्देश्यमूलक जिउने कला हो । यसप्रकारको जीवन प्राणीमा मानव मात्रलाई प्राप्त छ । जीवन केवल जीवनका लागि मात्र होइन । अर्थात् जीवन बाँच्नका लागि मात्र होइन । बाँचेर के गर्ने, कसका लागि गर्ने ? किन गर्ने ? कसरी गर्ने ? कहिले र कस्तो गर्ने ? यी जीवनको परिभाषासँग अभिन्न रूपमा गाँसिएका विषय हुन् । सम्भवतः यिनै प्रश्नहरूका सन्दर्भमा हुनुपर्छ, महान् दार्शनिक कार्ल माक्र्सले भन्नुभएको थियो, ‘यो संसारको व्याख्या धेरैले गरिसकेका छन् तर मुख्य कुरा यसलाई बदल्नु हो ।’ वास्तवमै यो संसार बदल्ने यात्रामा जीवन महत्वपूर्ण साधन हो । जीवनको सार्थकता यहीँ छ, यसमै छ ।
मानिस सभ्यताको आरम्भमा जन्मनासाथ धनी र गरिब हुँदैन÷थिएन । शासक र शासित तथा माथिल्लो र तल्लो जातको थिएन । राम्रो र नराम्रो थिएन । असल र खराब थिएन । शोषक र शोषित थिएन । जब मान्छे–मान्छेबीच श्रम विभाजित भयो, सम्पत्ति विभाजित भयो, शक्ति विभाजित भयो, उत्पादनका साधन र स्रोत विभाजित भयो, त्यसपछि मान्छेको जीवनको परिभाषा, जीवन बाँच्ने कला र जीवनको उद्देश्य पनि विभाजित भयो । शासक र शोषकका लागि शासन गर्नु र शोषण गर्नु जीवनको उच्चतम परिभाषा बन्यो भने शासित र शोषितका लागि आफूमाथि शासन र शोषण गर्नेका विरुद्ध सङ्घर्ष गरी स्वतन्त्र र समानतामूलक जीवन जिउनु जीवनको सार्थक परिभाषा बन्यो । वर्गीय समाजमा जीवनको परिभाषा पनि वर्गीय बन्यो । मानिसमानिसबीच विभेदरहित, शोषणरहित, भयरहित, असमानता र खाडलरहित, समान शक्ति भएको अवस्थाको निर्माण नै श्रमजीवी, न्यायप्रेमी, सर्वहारा मानवको जीवनको सही परिभाषा हो । यस्तो जीवन निर्माणका लागि, यस्तो सुन्दर समाज बन्नका लागि, असमानता र विभेदरहित जीवन जिउनका लागि वर्गसङ्घर्ष अनिवार्य छ । त्यसैले एउटा वर्ग, सर्वहारावर्गका लागि साम्यवाद निर्माण नहोउन्जेल निरन्तर वर्गसङ्घर्ष लडिरहनु जीवन हो । दर्शन, विचार, कला, राजनीति, संस्कृति, साहित्य सबै सार्थक जीवन जिउने साधन वा माध्यम हुन् । विविध प्रतिभा, क्षमता, सीप, कला, भएका मानिसहरूबीचको स्वतन्त्र, सामूहिक, समानतामूलक जीवन नै मानवसमुदायको उच्चतम लक्ष्य रहेको र त्यो वर्गसङ्घर्षबाट मात्र प्राप्त हुने भएकाले निरन्तर सङ्घर्ष नै जीवन हो भन्ने परिभाषा नै सर्वोत्तम परिभाषा हो भन्ने लाग्छ ।
٭ कसका लागि लेख्नुहुन्छ ?
अघिल्ला सन्दर्भहरूबाट पनि केही प्रस्ट भइसकेको छ– यो धरती साझा हो । यसका स्रोत र साधनहरू साझा हुन् । कसैको शक्ति हत्याएर शोषणदमन गरेकाले नै विभेद निम्तिएको हो । यही साझा धरतीलाई सुन्दर र हराभरा बनाउन अर्बौं मानिस आफ्नो श्रम, सीप, रगत र पसिना लगाइरहेका छन् । यहाँ काम गरेर खाने मानिसको सङ्ख्या अत्यधिक छ । जो कडा परिश्रम गरेर चट्टान फुटाइरहेछन्, बाटो, बगैँचा, महल, जहाज, रकेट निर्माण गर्छन, उनीहरू नै त्यसको उपयोग गर्नबाट वञ्चित छन् । जो कठोर परिश्रम गरेर अन्न उब्जाउँछन्, उनीहरू नै त्यो प्रयोग गर्नबाट वञ्चित छन् वा भोकै बस्न विवश छन् । यो धर्तीमा जो धेरै छ, जसको पसिना र रगतले परिवर्तन र सुन्दरताको लदाबदी भएको छ, उसैले सत्ता, शक्ति र सुखसुविधा उपभोग गर्नबाट वञ्चित हुनुजत्तिको अन्याय, अत्याचार, विभेद, अपमान, दुराचार, लूट अरू के हुनसक्छ ? त्यसैले हामीले गर्ने सिर्जना तिनै सीप भएर पनि अपहेलित, शक्ति भएर पनि अपमानित, श्रम पोखेर पनि उपभोग गनएबाट वञ्चित, अन्न उब्जाएर पनि भोका, महल बनाएर पनि सडकपेटीमा गुजारा गरिरहेका, कपडा बुनेर पनि नाङ्गै बस्न विवश यस धर्तीका सबैभन्दा परिश्रमी तथा सुन्दर मान्छे र तिनको समूह वा वर्गका पक्षमा हुन्छ, हुनुपर्छ र छ ।
जनपक्षीय लेखनले जनताको आजीविका, स्वतन्त्रता र मुक्तिको पक्षपोषण गर्छ । यसले राष्ट्रियता र देशभक्तिका पक्षमा जनमत निर्माण गर्छ । यसले मुक्त मानवजातिको सुन्दर समाजको निर्माणका लागि निरन्तर लडिरहेको सर्वहारावर्गको आन्दोलनमा ऊर्जा भर्छ । यो निरन्तर सङ्घर्ष वा वर्गसङ्घर्षका पक्षधर मजदुर, किसान, महिला, दलित, उपेक्षित, आदिवासी जनजाति, दुर्गम क्षेत्रका उत्पीडित बासिन्दाहरूको कुल योग सर्वहारावर्ग हो र यो मालेमावादलाई पथप्रदर्शक सिद्धान्त मानेर निरन्तर वर्गसङ्घर्षमा छ । यसले कहिले शान्तिपूर्ण वा निःशस्त्र त कहिले सशस्त्र चरित्रका साथ आफूलाई प्रदर्शन÷अभिव्यक्त गरेको छ । दुवैखाले सङ्घर्षको र विशेषगरी हतियारसहितको शासनसत्तासँग हतियारसहितको सङ्घर्षले यसलाई अझ झरिलो र उद्देश्यपूर्ण बनाएको छ ।
नेपालको उदाहरण लिँदा ०७, ०२८, ०३६, ०४६, ०५२, ०६२ र त्यसयताका निःशस्त्र र सशस्त्र सङ्घर्षहरू यस्ता ज्वलन्त उदाहरण छन् । ०५२–०६२ सम्म सञ्चालित जनयुद्धले नेपालको इतिहासमा सबैभन्दा बढी जनतालाई अधिकार दिलाएको छ, जागृत पारेको छ र शासकको अधिकार कटौती गरेको छ । यस सङ्घर्षका क्रममा नेपालको इतिहासमै सबैभन्दा महत्वपूर्ण सिर्जनाहरू भएका छन् ।
यसरी सङ्क्षेपमा भन्न सकिन्छ– प्रगतिवादी लेखन, माक्र्सवादी लेखन, सर्वहारावर्गीय लेखन शोषित उत्पीडित तथा श्रमजीवी जनताका पक्षमा हुन्छ र हुनुपर्छ । म आफू पनि विश्व सर्वहारावर्गको टुकडी नेकपा–माओवादीको सदस्य र सोही आन्दोलनको संस्कृतिकर्मी भएकाले मेरो लेखन मालेमावादलाई आधार र आदर्श बनाएर सञ्चालित आन्दोलनलाई सहयोग पुग्ने गरी प्रगतिवादी धाराबाट निर्देशित छ र रहनेछ । यो धारले सधैँ सबैखाले शोषण, अन्याय, अत्याचार, विभेद, असमानतालाई समाप्त पारेर समानतामूलक समाज निर्माण गर्ने महान् लक्ष्यमा साथ दिनेछ÷दिइरहेको छ ।

٭ लेखेर के पाउनुभयो ? के गुमाउनुभयो ?
एउटा प्रगतिवादी संस्कृतिकर्मीको जीवनमा आन्दोलनमा सहभागी हुनु, बहस र छलफल सञ्चालन गर्नु, श्रमजीवी सर्वहारावर्गको जीवन र उद्देश्य प्रष्ट पार्ने गरी लेख्नु, शब्द र कर्मबीच तालमेल मिल्ने गरी लेख्नु र सुसंस्कृत, वैज्ञानिक, जीवनवादी सभ्य समाज निर्माणका लागि हरप्रयत्न गर्नु नियमित दैनिकी वा रुटिनभित्र पर्ने काम र कर्तव्य हुन् । मेरो सन्दर्भमा भन्ने हो भने मैले कथा, कविता, संस्मरण, समालोचना, लेख, नियात्रा जे सिर्जना गर्दा पनि आपूmले भोगेका, जानेका, देखेका र सुनेका विषयहरूलाई सामान्यीकरण गर्ने गरेको छु । मेरो समाजले, मेरो पुस्ताले, मेरो वर्गले भोगेका समस्या र सपनाहरू उस्तै हुन् । यी तमाम खाले समस्या समाधान गर्न गरिने सङ्घर्ष उस्तैउस्तै छन् । मेरो लेखन यिनै सङ्घर्षका साधन बनेको महसुस गरेको छु ।
लेखनबाट हुने प्राप्ति आय, मुद्रा वा हाताहाती ठोस उपलब्धिमा मापन गर्न सकिन्न । वैचारिक र सिर्जनात्मक लेखन गाइड, गेसपेपर वा समाचारपत्रजस्तो हाताहाती नाफाघाटामा हरहिसाब गर्न सकिने विषय होइन । यसलाई द्रव्यको नाफाघाटामा हेरिन्न । समाज रूपान्तरणमा यसले पार्ने प्रभाव, जनमनमा यसले ल्याएको उथलपुथल, खराब चिन्तन र प्रवृत्तिमाथि यसको आक्रामक (मार हान्ने) क्षमताले ल्याएको असर र लक्षित वर्गमा ल्याएको हलचलमा नै वैचारिक लेखनको मापन हुन्छ । यसरी हेर्दा आजसम्मको मेरो लेखन÷सम्पादन÷प्रकाशन अभियानले यो शोषणप्रधान, रूढ, जड र विकृत राज्यव्यवस्था र परिपाटीमा केही प्रभाव अवश्य पारेको छ र त्यो सकारात्मक र प्रभावकारी छ । यसको प्रभाव कपडाको नापजस्तो नभएर पानीमा चिनीको घोलजस्तो दृश्यमा भन्दा गुणमा आउने परिवर्तनमा पर्छ ।
करिब तीन दशकको लेखकीय आन्दोलनका क्रममा मैले हजारौँको सङ्ख्यामा पाठक, शुभेच्छुक, मित्र, सहयोद्धा र सहयात्रीहरू पाएको छु, जो मेरो आमूल परिवर्तनको लक्ष्य÷उद्देश्यसँग सामीप्य राख्छन् । वर्गसङ्घर्षको उच्चतम् स्वरूप महान् जनयुद्धमा लामबद्ध भएका हजारौँ योद्धा, नेता, जनता र कार्यकर्ताहरूले मेरो लेखन÷सम्पादन÷प्रकाशन सामग्रीबाट प्रभावित÷आकर्षित भएर वर्गयुद्धमा सामेल भएको सुनाएका छन् । यस्तो सुन्दा र अन्याय एवम् शोषणमा परेका समाजका हरेक तह र तप्कामा आएको जागरण देख्दा यसमा मैले रोजेको विचार र मेरो लेखनीको पनि केही प्रभाव परेको महसुस गरेको छु ।
सचेततापूर्वक सञ्चालन गरिएको प्रगतिवादी सांस्कृतिक आन्दोलनमा व्यावसायिक नाफाघाटाको हिसाब हुँदैन । त्यसैले यसबाट भएको प्राप्ति वा समाप्तिलाई पनि आन्दोलनमा भएको लगानीका रूपमा बुझ्नुपर्छ । लेखेर गुमाउनु परेको कुराको चर्चा गर्नैपर्ने हो भने मेरा प्रकाशनमा कुनै नाफाखोर व्यवसायीको जस्तो चर्को मूल्य हुँदैन । १८ घन्टा परिश्रम गरेर आर्जेको र आफ्नो र परिवारको मुख मोसेर जोगाएको रकमले पुस्तकहरू प्रकाशन गर्ने गरेको छु । त्यसमा आमसर्वसाधारण वा न्यून आय भएका पाठकले किन्न सक्ने गरी लागत मूल्यमा बिक्रेताको कमिसन जोडेर र कुनैकुनैमा त लागतभन्दा पनि कम मूल्य राखेर बजारमा पठाउने गरेको छु । आफ्नो सबै आम्दानी प्रकाशनमै खर्च हुने हुनाले परिवारका सदस्यहरूको केही खुसी, केही सुख र केही आनन्द गुम्ने गरेको छ र आर्थिक अभावका कारण परिवारका सदस्यहरूको न्यानो मायासमेत गुम्ने गरेको छ । तर सिङ्गो समाजको रूपान्तरण अभियानका क्रममा मेरो लगानी र त्याग एउटा सानो अंश पात्र हो । मुक्तिमार्गमा निरन्तर लागेको सर्वहारा वर्गको मुहारमा आएको खुसीलाई मैले मेरो र परिवारको खुसी सम्झिएको छु । म मेरा कथा र पात्रहरूलाई समाजका जीवन्त पात्र र घटनाहरूमा खोज्ने र पाउने गर्छु । नायक र खलनायकहरू यत्रतत्र घुमिरहेको देख्दा मेरो मन प्रफुल्लित हुन्छ ।
मेरा हजारौँ पाठक छन्, शुभचिन्तक छन्, सहयात्री र सहयोद्धा छन्, तिनको सही प्रतिक्रियाले लेखन÷प्रकाशनमा भएको मेरो लगानीको पूरापूर सदुपयोग भएको ठानेको छु ।

٭ उत्तरआधुनिकतावाद भनेको के हो ? नेपालमा यसको कस्तो प्रभाव छ ?
उत्तरआधुनिकतावाद कुनै एउटा खास र सही विचारमा, जग वा आधारमा बलियोसँग उभिएको विचार वा धारा होइन, यो ऐंजेरू धारा हो । जसरी एउटा रूखमा टाँसिएको ऐंजेरूको कुनै जग, अस्तित्व, पहिचान वा आधार हुँदैन र आधार भत्किानासाथ समाप्त हुन्छ, उत्तरआधुनिकतावादको अवस्था संसारका अन्य मुलुक र नेपालको अवस्था पनि त्यही हो तर यसले प्रकारान्तरले विचार र दर्शनमा माक्र्सवाद, साहित्यमा प्रगतिवाद, सर्वहारावादी सांस्कृतिक आन्दोलनका विरुद्ध भँडुवा, अराजक, पलायनवादी, वितृष्णवादी, विखण्डनवादी, प्रयोगवादी चिन्तनलाई सहयोग पु¥याइरहेको छ । इतिहासको अन्त्य, विचारको अन्त्य, महाकथा–महानायकको अन्त्यको घोषणा, अध्यात्मवाद र साम्राज्यवादको पक्षपोषण, विचार र वर्गसङ्घर्षको विरोध, नयाँ जनवादी–समाजवादी–साम्यवादी समाजव्यवस्थाको विरोध यसको खेती हो । यो जीवनबाट, आन्दोलनबाट, सङ्घर्ष–क्रान्ति–जनयुद्ध अर्थात् वर्गसङ्घर्षबाट भागेका, थाकेका, गलेका, सही जीवनवादी दृष्टिकोणबाट च्यूत भएकोहरूको भँडुवा चिन्तन र होहल्ला मात्र हो ।
आधुकिताको जामा र मुखुन्डो भिरे पनि यसले राज्यसत्ताको शोषण, अन्याय, अत्याचार, विभेद् र वर्गीय दोहनका विरुद्ध मालेमावादी वैचारिक संघर्ष अर्थात् वर्गसंघर्षको निषेधका लागि योजनाबाद्ध गतिविधि सञ्चालन गर्छ । टेरी इगल्टनका अनुसार यथार्थतः उत्तरआधुनिकतावादी साहित्यिक सिद्धान्त घोषित रूपबाटै अध्यात्मवादको शरणमा पुगेको छ । वरिष्ठ माक्र्सवादी सौन्दर्यचिन्तक मोहन वैद्य ‘चैतन्य’ का शब्दमा उत्तरआधुनिकतावादी धारा माक्र्सवाद–लेनिनवाद–माओवाद, द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी विश्वदृष्टिकोण, साम्यवाद एवम् सामाजिक क्रान्तिको समुज्वल भविष्यका विरुद्ध खडा छ । यसले बहुलवाद, शङ्कावाद, विसङ्घटनवाद र निराशावादको पक्षपोषण गर्छ । साम्राज्यवादी आर्थिक भूमण्डलीकरणमा आधारित उपभोक्तावादी संस्कृतिको प्रचारप्रसार यसको सारभूत विशेषता हो । उत्तरआधुनिकतावाद साम्राज्यवादी राजनीतिको सेवामा समर्पित रहिआएको छ ।
अर्का वरिष्ठ माक्र्सवादी सौन्दर्यचिन्तक डा. ऋषिराज बराल भन्छन्– सबै कुरा भ्रम र लीला हो । यथार्थ भन्ने कुरा केही छैन । कुनै पनि रचनाको सही पठन सम्भव छैन । विपठन, विबुझाइ रचनाको उत्तमताको परिचायक हो । जीवन लीला–खेल हो भन्ने कुरामा नै विनिर्माणको साहित्यिक सिद्धान्त केन्द्रित छ । सोझै हेर्दा पनि र विनिर्माणवादीहरू आफैँले घोषणा गरेअनुसार पनि विनिर्माणको केन्द्रमा रहस्यवाद अवस्थित छ । उत्तरआधुनिकतावादले समाज र साहित्यबीचको सम्बन्धको पूर्ण निषेध गरेको, रहस्यवाद, भाववाद र व्यक्तिवादमा साहित्यलाई केन्द्रित गरेको, लेखक, पाठक र कृतिबीचको सम्बन्ध मृत घोषणा गरेको, साहित्यको सिर्जनशील र रचनात्मक परम्पराप्रति अनास्था रहेको, भाषाको सामाजिक र रचनात्मक क्षमतामा भन्दा भाषावाद र शैलीवादप्रति विशेष जोड दिएको, वस्तु र विचारभन्दा सङ्केत र न्हिमा जोड दिएको र भ्रम र अयथार्थको दार्शनिक पर्खाल खडा गरी साहित्यकै पनि अपहरण गरेको प्रमाणित हुन्छ । यो घोर भाषावादी, रूपवादी, व्यक्तिवादी, भ्रमवादी, समाजविरोधी, मानवविरोधी र यथास्थितिवादी साहित्यसिद्धान्त हो भन्ने प्रमाणित हुन्छ ।
अर्का माक्र्सवादी सौन्दर्यशास्त्री डा. ताराकान्त पाण्डेयका अनुसार समाजबाट पृथक् रहेर समाजविच्छेदित व्यक्तिको वैयक्तिक महत्ता, अस्तित्व र अनुभूतिलाई प्राथमिकता दिनु उत्तरआधुनिकतावादको वैशिष्ट्य हो र त्यो पश्चिमी उत्तरआधुनिकतावादका– फ्रेन्च अस्तित्ववाद–, शून्यवाद, अङ्ग्रेजी रूपवाद तथा अमेरिकी नयाँ समीक्षा तीनै मूल संस्करणहरूमा उपलब्ध रहेको छ ।
संसारमा वर्गसंघर्षले झन्झन् विकास गर्दै गइरहेको र झन् नेपालमा २०५२ साल फागुन १ गतेबाट आरम्भ भएर २०६२ सम्म प्रत्यक्ष रूपमा सञ्चालन भएको जनयुद्ध, जनयुद्धले सयौँ–हजारौँको सङ्ख्यामा महाकथा, महागाथा, महाख्यान, महानायकहरूको निर्माण गरेको र समग्र मुलुकका जनताको चेतनास्तरमा भएको विकास, जनयुद्धका कथाहरूलाई आधार बनाएर नवीन यथार्थबोध गराउने साहित्यको उहापोह भइरहेको र प्रगतिवादी साहित्यिक धारा नै मुलुकको समग्र साहित्यको प्रमुख धारा बनिरहेको अवस्थामा जीवनविरोधी उत्तरआधुनिकतावाद एउटा कलाविहीन र यथार्थविरोधी मृत्युन्मुखी चिन्तन र सस्तो प्रहसनमात्र प्रमाणित भएको छ । यसले योजनाबद्धतामा विचारविहीन अराजक जमातहरू तयार पार्दै रहे पनि त्यो वर्गसंघर्षले तयार पारेको विचारका अघिल्तिर पानीको फोकासरह उठ्दै फुट्दै गरेको अवस्था हो । यो धाराले नेपाल र नेपाली संघर्षशील जनताको वास्तविक जीवनसंघर्षको प्रतिनिधित्व गर्दैन र विश्वसमाजकै स्तरमा पनि यही कुरा शाश्वत् हो ।
٭ साहित्यमा यौन कत्तिको आवश्यक छ ?
यौन प्राकृतिक वा जैविक आवश्यकता हो । साहित्यमा जीवन जुन रूपमा आउँछ, स्वाभाविक रूपमा यौन पनि आउँछ नै । तर जीवनलाई, जगत्लाई हेर्ने विश्वदृष्टिकोण पृथक्पृथक् भएजस्तै यौनलाई हेर्ने, बुझ्ने र उपयोग गर्ने दृष्टिकोण पनि पृथक्पृथक् नै छन् । यौन र यौनवाद फरक कुरा हुन् । समाजको रूपान्तरणसँगै यौनसम्बन्धी बुझाइ पनि परिवर्तन हुन्छन् ।
समाज वर्गसंघर्षमा हेलिएको छ । वर्गसंघर्षमा समाजका अन्तरविरोध, जटिलता तथा समस्याहरूको सूक्ष्म अध्ययन र त्यसको सही निकासका लागि संघर्ष प्रधान हुने भएकाले यौन गौण हुन्छ । सामन्तवादी चिन्तनले यौनलाई धर्म र रुढीगत चिन्तनका आधारमा उपभोग ग¥यो भने पश्चिमा अत्याधुनिकताले छाडावादका रूपमा । यौनलाई केन्द्रमा राखेर जीवनको परिभाषा गर्ने यौनवादी साहित्यकारहरू पूर्वी र पश्चिमा दुवै चिन्तनमा देखिए तर माक्र्सवादी साहित्यमा यौन कहिल्यै प्रधान हुँदैन, विचार प्रधान हुन्छ ।
माक्र्सवादी साहित्यमा वर्गसंघर्षजस्तै वर्गप्रेमले जीवनलाई डोहो¥याउँछ र लक्ष्यसम्म पु¥याउँछ । अस्वाभाविक यौन गतिविधिलाई माक्र्सवादले अराजकताको संज्ञा दिएको छ । वर्गप्रेम, वर्गसंघर्ष, चेतनास्तर उठेको सर्वहारा वर्गको उच्चस्तरको सामूहिक जीवनयापनमा यौन गौण हुन्छ वा आवश्यकतामा मात्र सीमित ।
उपभोक्तावादीहरू मानिसलाई केवल यौनद्वारा सञ्चालित यन्त्रका रूपमा परिभाषा गर्न उद्यत्त हुन्छन् । अराजकतावादीहरू यौनलाई केन्द्रमा राखेर जीवनको अर्थ र महत्वको व्याख्या गर्छन् तर यी चिन्तन र प्रवृत्तिहरू एकाङ्गी, अप्राकृतिक, अस्वाभाविक र गलत हुन् । वैज्ञानिक विचार र व्यवहारले ओतप्रोत, शिष्ट, सभ्य, उच्च संस्कारले वेष्ठित मानवसमुदायमा यौन कहिल्यै प्रधान विषय बन्दैन । जैविक र प्राकृतिक आवश्यकता भएकाले स्वाभाविक विषय हो तर हरेक विचार, चिन्तन र प्रवृत्तिको केन्द्र होइन । त्यसैले सभ्य, अनुशासित, निष्ठा र समर्पणले ओतप्रोत यौन माक्र्सवादी साहित्यको विषय हो । सामन्ती र साम्राज्यवादी चिन्तन र प्रवृत्तिमा भने यो केन्द्र बनेका पाइन्छ किनकि जहाँ समानता हुँदैन, जहाँ सभ्यता र अनुशासन हुँदैन, त्यहाँ यो व्यापार, सोख, विलास र विजयको माध्यम बन्छ । अझ पुरुषप्रधान पुँजीवादी वा सामन्ती दुवैखाले समाजमा महिलाहरू यौनदासी बन्छन्÷बनाइन्छन् र साहित्यमा मात्र होइन, समग्र जीवनमै यो केन्द्रमा रहन्छ । त्यसैले साहित्यमा यौनको प्रयोग भनेको यौन विकृतिको छेलोखेलोको भद्दा सिँगार पटारमा होइन, स्वाभाविक सन्दर्भमा हो । जीवनको प्रमुख उद्देश्य के हो भन्ने कुरासँग पनि यो सन्बन्धित छ । एउटा सामान्य उदाहरणका रूपमा भन्न सकिन्छ (यो शाश्वत भने नहुन पनि सक्छ) अचार भान्छाको एउटा अङ्ग वा परिकार हो तर अचारैअचारको भान्छा सही भान्छा होइन ।


٭ प्रगतिवादी नेपाली साहित्यमा स्थापित हुनुभयो । आफ्नो परिचय आफैँले दिँदा कसरी दिनुहुन्छ ?
यो अलि कठिन प्रश्न –हो मेरा लागि । प्रगतिवादी साहित्य यतिबेला नेपालको अग्रगामी र नेतृत्वकर्ता धारा हो । यो अग्रगामी र आमूल परिवर्तनकारी धारा पनि हो । यसले आम श्रमजीवी÷सर्वहारा नेपाली जनसमुदायको प्रतिनिधित्व गर्छ । ९५ प्रतिशतभन्दा बढी मेहनतकश वर्गको प्रतिनिधित्व गर्ने भएकाले यसको क्षेत्र पनि व्यापक र विशाल छ । यो विश्व सर्वहारावर्गको मुक्तिका लागि सञ्चालित आन्दोलनको एक अङ्ग हो । त्यसैले यसको सम्बन्ध संसारकै प्रगतिवादी साहित्यसँग छ । यति व्यापक र विशाल क्षेत्र ओगटेको प्रगतिवादी साहित्यिक आन्दोलनमा म एउटा सानो अंश हुँ, समग्र आन्दोलनको एउटा अङ्ग । त्यसैले मैले आफूलाई स्थापित प्रगतिवादी स्रष्टाभन्दा एउटा जज्ञासु र सिकारू विद्यार्थी ठानेको छु ।
प्रगतिवाद माक्र्सवादी साहित्यिक धारा हो । दर्शन र राजनीतिमा माक्र्सवादले सम्बोधन हुने आन्दोलन साहित्य, सिर्जना, कला अर्थात् संस्कृतिका क्षेत्रमा प्रगतिवादले चिनिन्छ । यसले द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादलाई आधार र स्रोत मान्दछ । त्यसैले यो विज्ञान र सिर्जनशील सामाजिक विज्ञान हो । सबैखाले रूढी, अन्धविश्वास, अध्यात्म, अस्तित्वका, धर्म, सम्प्रदाय, आदर्शवाद, अन्धता, जडता, शोषण, दोहन, असमानता र विभेदका विरुद्ध सङ्घर्षशील प्रगतिवाद मालेमावादमा आधारित छ । समाजमा जारी वर्गसङ्घर्षबाट ऊर्जा लिएर सिर्जनाका माध्यमबाट फेरि वर्गसङ्घर्षलाई शक्ति प्रदान गर्नु प्रगतिवादको धर्म वा उद्देश्य हो । समग्र वर्गसङ्घर्षको एक अङ्ग बनेको प्रगतिवादी साहित्यिक आन्दोलनको एक हिस्सा हुनुका नाताले, वर्गसङ्घर्षमा हेलिएको एक सांस्कृतिक सिपाहीका नाताले, प्रगतिवादी साहित्यको एक सचेत शिक्षार्थी हुनुको नाताले समाजमा विद्यमान सबैखाले असमानता, शोषण, दोहन, अत्याचार, अन्याय, विभेद र विकृति÷विसङ्गतिका विरुद्ध सिर्जनाका माध्यमद्वारा, विचारका माध्यमद्वारा, सङ्गठित र प्रतिबद्ध आन्दोलनका माध्यमद्वारा अभिव्यक्त हुनु, परिवर्तनका बाधक फोहोरका डङ्गुर बगाउनु, अत्याचारका पहाड र ढिस्का भत्काउनु मेरो कर्तव्य हो । त्यसैले वर्गसङ्घर्षको सिपाहीभन्दा बेग्लै र विशिष्ट म केही होइन । मैले आफूलाई अझै अध्ययनशील, क्रियाशील र जुझारू बनाउनु आवश्यक छ र वर्गयुद्धमा बारुद बनेर पड्कन जरुरी छ । म जे छु, वर्गसङ्घर्षले बनाएको हो । यसलाई अलग राखेर म केही होइन र हुनु हुँदैन ।
٭ प्रकाशन ‘बिग हाउस’ हरूले धनाढ्यको साहित्य बनाएर स्तर खस्काएको अभिमत स्वीकार्नुहुन्छ ?
पुँजीबजारले कमसल वा खोटा मालहरूलाई विज्ञापनको भारीभर्कम गरेर समाजमा बिछ्याउने र बेच्ने गर्छन् । यो योजना बद्धतामा हुन्छ । पेप्सी, कोक वा फ्यान्टा र फेयर एन्ड लभ्लीझैँ भड्किला विज्ञापन, उत्ताउला र अतिरञ्जनापूर्ण विज्ञापनका माध्यमद्वारा सत्ता र शक्ति हातमा लिएको वर्गले जहिले पनि त्यसको दुरूपयोग गर्ने गर्छ । किसान खान नपाएर मर्छन् । कयौँ महिला सुरक्षित सुत्केरी हुन नपाएर मर्छन् । हजारौँ बालक पढ्ने उमेरमा अर्काकोमा बिनाज्याला काम गरेर जीवन काट्न विवश हुन्छन् । हजारौँ किशोरी÷युवती दलालको षड्यन्त्रमा फसाइन्छन् र वेश्यालयमा बेचिएर नारकीय जीवन बिताउन बाध्य हुन्छन् । उपचार नपाएर विकलाङ्ग बनेका, साहू–सामन्त र पुँजीपतिले सताएर आजीवन भीखमङ्गा बनेका हजारौँ मानिसका कहालीलाग्दा कथाहरू अलपत्र छन् । मानवमुक्तिका लागि मानवले सञ्चालन गरेका भीषण सङ्घर्षहरूमा उच्च वीरता देखाएका, शासकहरूलाई हायलकायल पारेका, शासकहरूबाट बलात्कृत भएका, ठूलाठूला प्रतिरोध र विजय हासिल गरेका कथाहरू यत्रतत्र छन् तर उपभोक्तावादले श्रमजीवी÷सर्वहारा जनताका पीडा, त्याग र बलिदानका गाथाहरूलाई सचेततापूर्वक नियोजन वा निषेध गर्छ । उसले आफ्नै वर्गका सडेगलेका, कुहेर दुर्गन्ध फैलाएका पीडकहरूलाई अत्तर छर्केर र जलप लगाएर बजारमा बिक्रीका लागि लैजान्छ । यतिबेला अधिकांश ‘बिग हाउस’ प्रकाशन गृहहरूले अजीर्ण रोगले थलिएका खलनायकहरूका दुष्कर्म ढाक्ने र समाजमा भ्रम पार्ने गरी उनीहरूलाई नायक बनाएर बेचिरहेका छन् । आमजनताका दृष्टिमा कुरूप पात्रहरू, श्रमिकहरूलाई शोषण गरेर रातारात धनाढ्य बनेका खलपात्रहरूलाई नायक बनाएर सर्वसाधारणको मथिङ्गल बिगार्नमा र भ्रम पार्नमा यस्ता प्रकाशनगृहहरूको ठूलो हात छ । यो अत्यन्त खराब परिपाटी हो । पुँजी र वैभवले मैमत्त पात्रहरूका डकार र खकारलाई ‘उच्च’ र ‘महान्’ वाणी भन्दै भाटहरू जन्माएर तिनका मालश्री गाउनाले समाजमा फाइदा होइन, घाटा नै हुन्छ । समाजको शोषण गरेर हरिकङ्गाल बनाउने चुसकहरूका अपराधका काला कथाहरूलाई ढाकछोप र महिमामण्डित गरिनाले वर्गसङ्घर्षमा समेत असर पर्छ । सामान्य र सरदर जीवनसमेत बाँच्न नपाएका÷नदिइएका किसान, मजदुर, महिला, ज्यामी, दलित, उपेक्षित, उत्पीडित वर्ग, तह र तप्काले भोगेको हरेक जीवनमा उपन्यास, महाकाव्य र कथाहरू छन्, संस्मरण, गीत र कविताहरू छन् । समाजका प्रतिनिधि पात्र उनीहरू नै हुन्, जसले जीवन जिउन अहोरात्र सङ्घर्ष गरिरहेका छन् । सञ्चारमाध्यम अर्थात् प्रचारसंयन्त्र कब्जा जमाएर बसेका धनाढ्य वर्गद्वारा सञ्चालिन ‘बिग हाउस’ र भाट सम्पादकहरूकै कारण असली जनपक्षीय स्रष्टा ओझेलमा पर्नुपर्ने अवस्था आउने हो कि भन्ने चिन्ता गर्नुपर्ने अवस्था उत्पन्न भएको छ । यसो गर्दा समाजको इतिहासको पनि भ्रष्टीकरण हुने खतरा छ ।
उदाहरणकै रूपमा भन्ने हो भने माओवादी जनयुद्धको समर्थक बनेर एक महिनाजति सांस्कृतिक टिममा हिँडेकी तारा राईलाई ‘छापामार युवती’ भन्दै छापामार वा जनमुक्ति सेनाको बदनाम गर्ने गरी ल्याइएको डायरी होस् वा रामेछापकै सन्र्दभमा कुरा गर्दा पञ्चायती नेता नवराज सुवेदीको संस्मरणात्मक÷जीवनीपरक पुस्तकको सम्पादन÷प्रकाशन र प्रचारको सन्दर्भ होस्, यी दुवैले यथार्थको पूर्ण रूपमा भ्रष्टीकरण गरेको पाइन्छ । यस्ता उदाहरण समाजमा पर्याप्त छन् । जगदीश घिमिरेको ‘अन्तर्मनको यात्रा’ पनि कुनै साहित्यिक कृति नभएर एउटा धनाढ्य व्यक्तिको रोदन र प्रलाप हो । यसलाई जति महत्व दिइयो, यसमा प्रतिध्रुवीय वर्गको नियोजित प्रचारयुद्धका रूपमा हेर्न सकिन्छ ।
यसरी यो उपभोक्तावादी बजारमा हल्ला गरेर ‘बिग हाउस’ हरूले खोटा सिक्का बेचेका छन् र असली कथा ओझेलमा पारेका छन् । जनपक्षीय स्रष्टा र पाठकहरू यसबाट सावधान हुनुपर्छ ।
٭ यतिका मान्छेका बीचमा अशोक सुवेदीको साहित्य लेखनको अभीष्ट के हो ?
अघिल्ला सन्दर्भहरूले पनि मोटामोटी रूपमा अशोक सुवेदी अर्थात् एउटा प्रगतिवादी स्रष्टा÷सर्जकको साहित्य लेखनको अभीष्ट के हो भन्ने कुराप्रति पर्याप्त सङ्केत गर्छन् भन्ने लाग्छ । तैपनि यसलाई सङ्क्षेपमा यसरी उल्लेख गर्न सकिन्छ ः साहित्य बजार पनि वर्गजस्तै विभाजित छ । एउटा वर्गले शासकको, शोषकको, ठगको, हुनेखानेको, लुटपाट र बलात्कारमा रमाउनेको, समाजमा रूढी, अन्धविश्वास र कुप्रथा लादेर शासन गरिरहेकाहरूले भ्रम र आश्वासनका खोक्रा पुलिन्दा बाँडेर समानता, प्रजातन्त्र र स्वतन्त्रताका नारा अलापिरहेकाहरूको स्तुति गान गर्छ भने अर्को वर्गले त्यसको ठीक विपरीत श्रम, सीप र विचारका माध्यमबाट संसारलाई हराभरा बनाएर पनि सधैँ शोषित, शासित, अपहेलित र दमित जीवन बिताइरहेको सर्वहारावर्गको मुक्तिको पक्षपोषण गरिरहेको हुन्छ । अघिल्लो तप्काका स्रष्टा शासनसत्ताबाट, दाताबाट, मालिकबाट, शोषक र जालीझेलीबाट कलो वा दयाका रूपमा केही भेटी प्राप्त गर्न स्तुति गान गरिरहेका हुन्छन् । यसमा शासकवर्गको सत्ता रक्षाको कामना गरिएको हुन्छ । समाजका खराब पात्रलाई महिमामण्डित गरी असल र श्रमिक वर्गलाई हेय पात्रका रूपमा अपव्याख्या गरिएको हुन्छ । पछिल्लो वा श्रमिक वर्गका पक्षमा सिर्जना गर्ने स्रष्टाले जीवनभर बाँच्न र समाज बदल्नका लागि गरेका सङ्घर्षका, दुःखका, वेदनाका, अवहेलनाका, वीरता र बलिदानका गाथाहरूको चर्चा गरेका हुन्छन् । उदाहरणकै रूपमा भन्ने हो भने समाजमा एक दिन जनतन्त्र आउँछ भन्ने कविता लेख्ने र जहानीया राणा शासकलाई बेलायती कुकुरसँग तुलना गर्दै दुत्कार्ने नेपालका प्रथम साहित्यिक सहिद कृष्णलाल अधिकारीको जीवनी लेख्नेलाई दुत्कार्नु र कृष्णलालाई मार्ने चन्द्रशमशेर राणाको प्रशस्ती गाउने भोजराज काफ्लेको गुन गाउनु अर्थात् उद्योगपति विनोद चौधरीको महिमागान गाउनु वा कृष्णलालको हत्या गर्ने चन्द्रशमशेरको भजन गाउनु यी दुई वर्गका स्रष्टाका बीचको अन्तर हो ।
मैले प्रथमतः ‘नेपालमा परम्परागत राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना’ शीर्षकमा ०५८ मा एउटा पुस्तक सम्पादन गरेँ । त्यसले मलाई ठूलो चुनौती र विशाल अवसर पनि दियो । लाखौँ जनता समाहित जनयुद्धको एउटा अभीष्ट राजतन्त्रको अन्त्य र जनतन्त्र स्थापना पनि थियो । नेपाली जनताले शोषक वर्गको हतियार खोसेर वर्गयुद्ध लडेको यथार्थमा आधारित डा. ऋषिराज बरालको ‘सैन्य उपहार’ कथासङ्ग्रह पनि मैले ०५८ मै प्रकाशन गरेँ । त्यसले जनताको तहमा ठूलो प्रभाव पा¥यो । मेरो सम्पादन÷प्रकाशनको नौलो बिहानी मासिक २० हजार प्रति छापिन्थ्यो र गाउँगाउँमा जनताले लुकाईलुकाई अध्ययन गर्ने र छापामार÷जनमुक्ति सेनाको हातसम्म पु¥याइन्थ्यो । गाउँगाउँ, देशविदेश र विशेषगरी आधारइलाका र नयाँ सत्ताबाट प्राप्त पत्र र विचार मेरा लागि ऊर्जा बने । ०५५ सालमै प्रकाशित मेरो ‘युद्धघोष’ कवितासङ्ग्रहबाट मलाई जनताका पक्षमा सिर्जित रचनाहरू आन्दोलन÷सङ्घर्षका लागि ऊर्जा हुन्छन् भन्ने अनुभव प्राप्त भइसकेको थियो । यिनै अनुभवहरूबाट मैले ०६० सालमा एकैसाथ सयौँ छापामार र जनमुक्ति सेनाका अनुभूतिहरू समेटेर दुश्मनका किल्लाहरू कब्जा गर्दालगायत पाँचवटा छापामार डायरी सम्पादन÷प्रकाशन गरेँ । कुनै खण्ड दुश्मनले कब्जा गरे पनि कतिपय खण्ड जनताको हातमा पुगे । तिनले आन्दोलनमा सघाए ।
युद्धकै क्रममा लेखिएका कथा, कविता र समालोचनाहरूका साथै बाबाको ६० वर्षअघि लेखिएको काव्य ‘चन्द्रवदन’ को समेत सम्पादन गरी ०६२ सालमा एकैसाथ आधा दर्जनभन्दा बढी पुस्तक प्रकाशन गरेँ । निरङ्कुशताविरोधी आन्दोलन सञ्चालन भइरहेको समयमा त्यसले पनि आन्दोलनलाई सघाउ नै पु¥यायो भने बाबाको पुस्तकले उहाँले निरङ्कुश राणा शासनविरुद्ध पु¥याएको योगदान र साहित्यका बारेमा चर्चा गर्न पर्याप्त सामग्री प्रदान ग¥यो । महान् जनयुद्धले स्थापित गरेका स्रष्टा सहिद कृष्ण सेन ‘इच्छुक’ का योगदानहरूलाई आस्था र निष्ठाका सतिसाल कृष्ण सेन ‘इच्छुक’ र सांस्कृतिक क्रान्तिका नायक कृष्ण सेन ‘इच्छुक’ पुस्तकले स्थापित गर्न सघाउ पु¥याए भने जनयुद्ध सिर्जित नयाँ यथार्थलाई आख्यानका माध्यमबाट स्थापित गर्ने डा. ऋषिराज बरालका समरगाथा (उपन्यास) र प्रियजनहरूको सम्झनामा (शब्दचित्र), कविताका माध्यमबाट स्थापित गर्न सहयोग पु¥याउने पूर्ण विरामको ए ! मेरो आदरणीय लेकाली फूल (कवितासङ्ग्रह), जनयुद्धका क्रममा दुश्मनको षड्यन्त्रबाट मारिएका दोरम्बाका महान् सहिद र दोरम्बा हत्याकाण्डबारे दोरम्बा हत्याकाण्ड ः मुक्तिका लागि बलिदान, रामेछाप जिल्लाको साहित्यको इतिहास र अवस्थाबारे रामेछाप जिल्लाका साहित्यकार र कवि हितप्रसाद उपाध्याय, मकैपर्व र प्रथम साहित्यिक सहिद कृष्णलाल अधिकारीबारे कृष्णलालसम्बन्धी पुस्तक, आफूले सञ्चालन गरेको सांस्कृतिक÷साहित्यिक अभियानबारे राष्ट्रियता र जनगणतन्त्रका लागि सिर्जना अभियान, लालभूमिको यात्रा, सिर्जना नगरका सुसेलीहरू, अथक् साधक शक्ति लम्साललगायत पुस्तकको सम्पादन÷प्रकाशनबाट सहयोग पुग्यो । मैले गर्व गर्नसक्ने विषय भनेको सम्पादन गरेका पुस्तकको आफैँले प्रकाशन गर्ने गरेको सन्दर्भ पनि हो । प्रकाशकका खुट्टा मोल्दै घरघर चहार्नुभन्दा दुःखसुख र ऋणपान गरेर आफैँले प्रकाशन गर्नुमा मलाई बढी सुखानुभूति र गौरव हुने गर्छ । यहाँले जान्न खोजेको सन्दर्भ वा प्रसङ्ग यही हो भने म गर्वसाथ भन्छु– म आफैँ विषयवस्तु निर्माण गर्छु र त्यसलाई आकार दिन्छु । मलाई सांस्कृतिक अभियान सञ्चालन गर्न कसैको मुख ताकिरहनु पर्दैन, आफ्नै सापेक्षतामा निर्माण हुन्छन् र चल्छन् । रामेछाप साहित्य प्रतिष्ठान, माक्र्सवादी साहित्य प्रतिष्ठान, हितप्रसाद उपाध्याय जूनमाया साहित्य प्रतिष्ठानलगायत संस्था यस्तै आवश्यकताले जन्मिएका हुन् र स्थापित बनेका हुन् । प्रलेस रामेछापलगायत संस्थाको अवस्था पनि यस्तै हो ।
٭ नेपाली साहित्य विश्वसाहित्यको दाँजोमा कहाँनेर छ ?
नेपालको वर्गसङ्घर्षको सापेक्षतामा अघि बढिरहेको नेपाली साहित्य विश्वसाहित्यको दाँजोमा स्थापित छ । नेपाली शासकहरूले भाषामा, धर्ममा, वर्णमा, वर्गमा, लिङ्गमा, जातमा, क्षेत्रमा गर्दै आएको थिचोमिचो र शोषणका कारण जनताको राजनीतिक स्वतन्त्रताजस्तै लेखन, पठन र प्रकाशनको स्वतन्त्रता पनि कुण्ठित थियो । विश्वसाहित्यले गति नलिँदै स्थापित संस्कृत साहित्य, मैथिली साहित्य, नेपाल भाषाको साहित्य, भोजपुरी, अबधी साहित्य मल्ल, राणा–शाह शासकहरूको एकाधिकारवादी, अनुदार र विभेदकारी नीतिका कारण गर्भमै मर्ने अवस्था उत्पन्न भयो । उदाहरणका लागि धरणीधर कोइरालाहरूले जागरण कविता लेख्न भारत पस्नुप¥यो, कृष्णलाल अधिकारीहरूले मृत्युवरण गर्नुप¥यो, लक्ष्मीप्रसाद देवकोटा र सिद्धिचरण श्रेष्ठहरूले जेल र निर्वासन भोग्नुप¥यो । ०७ सालको आन्दोलन, खुला परिवेश, नेकपाको स्थापना, प्रलेस स्थापना र त्यसपछिका राजनीतिक– सामाजिक–सांस्कृतिक आन्दोलनहरूले नेपाली लेखक÷पाठकहरूको पनि चेतनास्तर वृद्धि हुँदै गयो भने लेख्ने÷छाप्ने वातावरण पनि तुलनात्मक रूपमा राम्रो बन्दै गयो । ०१७ सालको शाही कू पछिका निरङ्कुश पञ्चायतकालीन ३० वर्ष पनि स्वतन्त्र लेखनका लागि बाधक बने भने त्यसपछि पनि शासकहरूले पटकपटक लेखकहरूलाई बन्दी बनाउने र तर्साउने काम गरिरहे । यद्यपि लक्ष्मीप्रसाद देवकोटा, गोपालप्रसाद रिमाल, भूपी शेरचन, पारिजात, कृष्ण सेन ‘इच्छुक’, युद्धप्रसाद मिश्रलगायत स्रष्टाका सिर्जनाले प्रत्येक युगलाई अघि बढाए र जागरण ल्याए ।
पछिल्लोपटक, २०५२ साल फागुन १ गतेबाट नेकपा माओवादीको पहल र नेतृत्वमा आरम्भ भएको जनयुद्धका आँधीबेहरीमय ११ वर्षमा नेपाली जनताको चेतनास्तर ह्वात्तै बढ्यो र साहित्यका विविध विधाले विषय, शैली, विचार र सङ्ख्याको उर्वरता प्राप्त ग¥यो । बुर्जुवा साहित्यले नेतृत्व गरिरहेको स्थानमा प्रगतिवादी÷जनपक्षीय साहित्यले नेतृत्व ग¥यो । जनविरोधी÷यथास्थितिवादी शक्तिहरू प्नि नयाँ विचार, नयाँ शक्ति, नयाँ सिर्जना, नयाँ स्रष्टालाई स्वीकार्न बाध्य भए । यति बेला नेपाली जनताले नेपाली मात्र होइन, संसारकै अग्रगामी स्रष्टाहरूलाई सिर्जनाका लागि महान् विषयहरू अघि सारिदिएका छन् । यस क्रममा हजारौँको सङ्ख्यामा नयाँ गीत, नयाँ कविता, नयाँ कथा, नयाँ उपन्यास, नयाँ संस्मरण, नयाँ डायरीका पुस्तकहरू, स्तरीय र कलात्मक सिर्जनाहरू रचना र प्रकाशन भएका छन् । यतिबेला नेपाली जनजीवन र नेपाली साहित्य अन्तर्राष्ट्रिय क्षेत्रमा अध्ययनको विषय बनेको छ । नेपाली प्रगतिवादी साहित्य नेपालको नेतृत्वदायी धारामात्र होइन, विश्वसाहित्यकै स्तरमा विकसित भएको छ । नेपाली भाषामा लिखित नेपाली साहित्यलाई विश्वका विभिन्न भाषामा अनुवाद गरी यसलाई अन्तर्राष्ट्रियकरण गर्नु आवश्यक छ । नेपालीजस्तै नेपालका अन्य राष्ट्रभाषामा लेखिएका साहित्यको पनि प्रचार आवश्यक छ । धेरै भाषामा साहित्य लेखिएको छैन, राज्यले नै लेखन र प्रकाशनका लागि प्रोत्साहन गर्नुपर्छ । जनताको भलो गर्ने राज्यसत्ता स्थापना नभएसम्म त्यसको पूर्ण अपेक्षा गर्न भने सकिन्न ।
٭ नयाँ स्रष्टालाई के सल्लाह दिनुहुन्छ ?
पहिलो कुरा त म आफैँ पनि नयाँ स्रष्टा नै हुँ । साहित्य, कला र संस्कृतिका क्षेत्रमा झुकाव राख्ने, सिर्जनारत र स्थापित सबै स्रष्टाहरूलाई मेरो एउटै सल्लाह छ– जीवनका लागि, परिवर्तनका लागि, स्वतन्त्रता र समानताका लागि लेख्नुहोस्, सिर्जना गर्नुहोस् । जीवनभन्दा टाढा, समाजभन्दा अलग, श्रम–सीप–पसिनाभन्दा भिन्न, बदल्ने आकाङ्क्षाभन्दा फरक सिर्जनाका विषय हुन सक्तैनन् र कसैले हुन्छन् भन्छ भने त्यो बकवास र पाखण्डमात्र हो । सस्ता र छाडा मायाप्रीतिका, हावादारी कल्पनाका, संसारलाई दिनदहाडै लुट्ने, ठग्ने, व्यभिचार गर्ने वर्ग र पात्र एवम् घटनाका बारेमा सिर्जना गर्नु आफ्नो मात्र होइन, दुनियाँको समय बरबाद गर्नु हो र आफैँलाई पनि धोका दिनु हो । नेपाली समाजमा सिर्जनाका लागि गम्भीर, गहन, विशाल र महत्वपूर्ण विषयहरू छन् । श्रमका, त्यागका, उदात्तताका, वीरता, प्रेम र बलिदानका कथाहरू नेपालमा पनि धेरै नै छन् । सिर्जनाका लागि कलम र कुची लिएर तयार हुँदा आफ्नै परिवारको सदस्य समाज, परिवार वा वर्गघाती, पीडक र अपराधी छ भने पनि निर्धक्क साथ प्रस्तुत गर्नु एउटा सच्चा र लेखनीप्रति इमानदार स्रष्टाको कर्तव्य हो । सत्यवादी, निडर, अथक् र जुझारू स्रष्टाले मात्र समाज र परिवर्तनका लागि सिर्जना गर्न सक्छ ।
٭ अन्त्यमा ?
विचारप्रवाह र सिर्जनाको अन्त्य हुँदैन, हरेकपल्ट नयाँको आरम्भ हुन्छ । कुनै पनि सिर्जनात्मक काम गर्नुअघि म कसका लागि, किन र के गर्दैछु भनेर सोच्नु आवश्यक छ । सिर्जना त सार्वजनीन विषय हो, मनबाट बाहिर निस्किएपछि त्यो साझा हुन्छ । समाजमा कसैले पारिजातको बिरुवा रोप्यो भने त्यसको सुगन्धले सबैलाई मोहित बनाउँछ । कसैले दुर्गन्ध फैलाउने बिरुवा पनि रोप्न सक्छ, त्यो समाजविरोधी र घातक प्रवृत्ति हो । विचार, सही विचार र अझ खासमा भन्ने हो भने माक्र्सवादी विचार सही मानवतावादको अगुवा विचार हो । यो संसार सबैको साझा हो । यो संसार श्रमिकहरूको श्रम र पसिनाले सिर्जिएको हो । विज्ञानका हरेक चमत्कारमा कुनै पनि सामन्त वा पुँजीपतिको मस्तिष्क र पसिना खर्चिएको हुँदैन, उसले त सत्ता, शक्ति र सम्पत्तिको आडमा, धाकरबाफमा त्यसमा स्वामित्व दावी गरिरहेको छ । एकछिन कल्पना गरौँ– यो संसारमा मानिस मानिसबीच कुनै पनि किसिमका असमानता, विभेद्, खाडल र अग्लोहोचो अवस्था नहुने हो भने समाज कति सुखी, सम्पन्न र वैभवशाली हुन्थ्यो होला ! यो कल्पना मात्र होइन, यथार्थ हो । यसका लागि असमानताका कारकहरूका विरुद्ध, मानिस मानिसबीच विभेद गर्ने विचार, प्रवृत्ति र व्यवहारका विरुद्ध निर्मम संघर्ष गर्न जरुरी छ । त्यो प्रवृत्ति आफैँसँग, आफ्नै घरपरिवारसँग छ भने पनि त्यसका विरुद्ध सम्झौताहीन संघर्ष गर्नुपर्छ । तपाईंलाई लाग्ला, के त्यो सम्भव छ ? म ठोकेरै भन्छु– त्यो सम्भव छ । म त त्यही बाटोमा छु । म त संघर्षरत छु । सत्यका विरुद्ध वा अन्यायका पक्षमा अमेरिकी राष्ट्रपति बाराक ओबामा भए पनि र मेरै घरपरिवारको सदस्य भए पनि ऊ एउटै वर्गको हो । त्यसैले मानिसलाई शोषण, दोहन, अन्याय र अत्याचार गर्ने मानिसको शत्रु जो र जहाँ भए पनि एउटा इमानदार स्रष्टाले त्यसलाई सिर्जनाको विषय बनाउनुपर्छ र समानता र न्यायमूलक समाजको स्थापनाका लागि निरन्तर साधना गरिरहनुपर्छ । माक्र्सले भन्नुभएको छ नि– यो समाजलाई बुझ्ने र व्याख्या गर्ने काम धेरैले गरेका छन्, तर मुख्य कुरा यसलाई बदल्नु हो । हामी त्यही यात्रा र आन्दोलनमा छौँ । धन्यवाद ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 15 कार्तिक, 2070

लेखकका अन्य रचनाहरु