साहित्यकार पेशल आचार्यसँग कुराकानी

- प्रभु विवश

(२०२३ साल साउन १५ मा मोरङ, विराटनगरमा पिता श्याम आचार्य र माता शोभा आचार्यका तीन भाइ छोराहरूमध्ये जेठा छोराका रूपमा जन्मनु भएका पेशल आचार्य रामेछाप जिल्लाका पुराना भाषा शिक्षक र क्रियाशील कवि, निबन्धकार, भूमिकाकार र कथाकार हुनुहुन्छ । कथा, कविता, निबन्ध सबै विधाका गरी करिब ३० वटा कृतिका स्रष्टा आचार्यका प्रकाशित मौलिक पुस्तक भने कविता, कथा र निबन्ध गरी ३ थान र सम्पादित कृतिहरू ८ थान रहेका छन् । आचार्यले रामेछाप जिल्लाबाट निस्कने रामेछाप नयन साप्ताहिक, रामेछाप साप्ताहिक, कर्मचारी मिलन केन्द्रका स्मारिका, शिक्षक संघसंस्थाका स्मारिका, विद्यालय तथा क्याम्पसका अभ्यास शिक्षण निर्देशिका र विभिन्न साहित्यिक पत्रपत्रिकाहरू पनि सम्पादन गर्नु भएको छ ।
अहिलेसम्मको साहित्यिक गतिविधिमा लागेबापत राष्ट्रिय स्तरका ३ वटा पुरस्कार र अब्बल शिक्षण गरेबापत २०६८ सालमा नेपाल सरकारबाट राष्ट्रिय शिक्षा पुस्कारबाट समेत विभुषित हुनु हुने युवा साहित्यकार पेशल आचार्यसँग दीपन साहित्यिक द्वैमासिकका लागि सम्पादन सहयोगी प्रभु विवशले गर्नु भएको समसामयिक साहित्यिक एवं रागात्मक कुराकानीको सार संक्षेप । –सम्पादक)

१. वर्तमान नेपाली साहित्यलाई कसरी हेर्नु भएको छ ?
उत्तर ः नेपाली साहित्यको अहिले निकै नै प्रगति र उन्नति भएको देखेको छु । यो मेरा लागि र सम्पूर्ण नेपाली साहित्यका पाठकका लागि खुसीको कुरा हो । यो माहौलमा अरू केही कुराहरू पनि आएका छन् । अहिले नेपाली साहित्यमा गजलको एक प्रकारले बाढी नै आएको छ । गजलको यो बाढीमा निकै उत्साह त छँदैछ तर यसमा माछा मात्र छैनन् । चेपागाँडा र भ्यागुताहरू पनि छन् । कथा र उपन्यास लेखनले पनि आशातीत मात्रामा गति पक्रेको छ । कविताको पनि निकै उच्च स्वर सुनिएको छ । नेपाली भूमिमा रहेर लेखिएका नेपाली साहित्यभन्दा कविताका हकमा नेपाल बाहिरबाट लेखिएका कविताहरू ‘बोल्ड’ पाराका छन् ।
२. यहाँका कति कृति प्रकाशन भएका छन् र भावी कृति प्रकाशनबारे योजना के छ ?
उत्तरः मेरा अहिलेसम्म तीनवटा कृतिमात्र प्रकाशनमा आएका छन् । प्रसङ्गले मेरा बाल साहित्यका कृतिहरू प्रकाशनमा आए पनि म बाल साहित्यकारभन्दा प्रौढ साहित्य लेख्ने ‘मेन स्ट्रिम’ को एक साहित्यकार हूँ । मलाई आफू निबन्धकार, कवि, कथाकार, गीतकार, व्यङ्ग्यकार र मुक्तककार हूँ जस्तो लाग्छ । हुन त मैले २ वर्ष अगाडि २ वटा गीतसङ्ग्रह पनि लेखेको छु । मेरा २ वटा प्रौढ कथासङ्ग्रह, ३ थान उपन्यास, ७ वटा कवितासङ्ग्रह, ४ थान निबन्धसङ्ग्रह, २ थान व्यङ्ग्यसङ्ग्रह, सबै प्रकारका बालसाहित्यका गरी ७ थान कृति, झ्याउरे खण्डकाव्य १ थान र छोक तथा अन्य कृति गरी करिब ३० वटा जति कृतिहरू प्रकाशनका प्रशवमा छन् ।
अहिले म ती कृतिको सम्पादन र पुनर्लेखनमा व्यस्त रहेको छु । चाँडै नै ती कृतिहरू बाहिर आउने पनि छन् । २०६९ मै पाँच कृति बाहिर आउने भेउ प्रकाशकले दिएका छन् । हेरौँ के हुन्छन् ? ती कोही चित्र बनाउनमा गएका र कोही प्रेसमा गैसकेका छन् ।
अहिलेसम्म मेरा ‘कमिलाको ताँती’ नामक बालकवितासङ्ग्रह, ‘विद्यालय स्तरीय निबन्धहरू’ र ‘किस्ताको कम्प्युटर’ नामक बालकथासंग्रह गरी तीनवटा कृतिहरू प्रकाशित भएका छन् । ‘कमिलाको ताँती’ २०६० मा शिष्य नवीन केसीले र बाँकी दुईवटा कृतिहरू ‘विद्यालय स्तरीय निबन्धहरू’ र ‘किस्ताको कम्प्युटर’ क्रमशः २०६५ र २०६६ मा काठमाडौँस्थित विवेक सिर्जनशील प्रकाशनले प्रकाशित गरेको हो । ‘किस्ताको कम्प्युटर’ कथासङ्ग्रहमा परेको ‘डुसी बाछी र भाइटीका’ कथा कक्षा ५ को बोर्डिङ् स्कुलको कोर्समा पाठ्यपुस्तकमा छापिएको छ । त्यहाँ सो कथा नेपाली विषयमा पढाइ हुन्छ । अर्को ‘विद्यालय स्तरीय निबन्धहरू’ पनि मध्यमाञ्चल र मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा कक्षा ६ देखि १० सम्म सन्दर्भ सामग्रीमा चयन भएका छन् । यो मेरो लागि ज्यादै खुसीको कुरा हो ।
म अझै पनि केही न केही कृतिहरू रचना गरिरहेको छु । बाल साहित्यमा पनि मैले अघिल्लो वर्ष एउटा कथाको किताब लेखेको छु । बाल उपन्यासको पनि लेखनी भइरहेको छ । सकेँ भने म शिक्षकबाट रिटायर्ड नहुँदै सबै किताबहरू निकाल्छु । सकिनँ भने पनि दुईचार कृति म अवश्यै निकाल्छु । त्यसमा कविता, कथा, निबन्ध र उपन्यासचाहिँ पक्कै पर्छन् ।
३. साहित्य लेखन कहिलेदेखि भएको हो ? लेख्ने प्रेरणा कहाँबाट पाउनु भएको हो ?
उत्तरः मैले नजानीकन कक्षा ६ मा पढ्दादेखि नै साहित्य लेख्न थालेको हूँ । अलिअलि जानेर चाहिँ मैले कक्षा ८ देखि लेखेको रहेछु । झापामा भएको २०३६ सालको ‘सडक कविता क्रान्ति’ बाट मैले लेख्न सिकेको रहेछु । मेरा साहित्यिक गुरु यही नै भनेर त ठ्याक्कै छैनन् तर मैले भवानी घिमिरे, नकुल काजी, भरत भुर्तेल र अन्य झापाली कविकवयत्रीहरू ‘सडक कविता क्रान्ति’ मा लागेको देखेर कविता लेखेको रहेछु । सिकारू अवस्था पार गर्न र कवितामा आफ्नो निजी शैली निर्माण गर्न मलाई ठ्याम्मै पाँच वर्ष लाग्यो ।
कलेज जीवनमा मैले साथीभाइबाट पाएको प्रेरणाले मलाई धेरै काम गरेको थियो ।
४. राम्रो साहित्य लेख्नलाई के कुराको आवश्यकता पर्दो रहेछ ? नयाँ पुस्तालाई केही सन्देश केही छ कि ?
उत्तरः साहित्य राम्रो र कालजयी लेख्नु पर्छ भन्ने मान्यता म राख्छु । समकालीन साहित्यले मानिसको तात्कालिक मानसिकतालाई छोला तर कालक्रमिक कृति लेख्न सकियो भने एउटै कृतिबाट लेखक अजर अमर हुन्छ । लेखनमा सबैभन्दा ठूलो अभीष्टताको खोजी भनेकै त्यो अमरत्व हो । जसले इतिहासको प्रचुर अध्ययन, चिन्तन र मनन गर्दैन त्यसले केही पनि लेख्न सक्दैन । अनि समकालीन साहित्यको पनि तुलनात्मक र गहिरो विश्लेषणमूलक अध्ययन गर्नुपर्छ । ममा त्यो चेत करिब चालिसको दसकदेखि नै पलाएको हो । मैले नेपाली, हिन्दी, उर्दू, बंगाली र अङ्ग्रेजीका केही नाम चलेका कृतिहरू विद्यार्थी कालमै पढिसकेको हूँ । त्यसैले कहाँ, कस्तो र कसरी पढ्ने भन्ने ज्ञान मलाई छ । तर म आख्यान बढी पढ्ने गर्छु ।
अचेल नेपाली साहित्यमा आख्यानका तुलनमा अनाख्यान कृति निकैै निस्कन लागेकाले सो पनि हामीले पढ्नु आवश्यक छ । कालजयी लेख्न सकियो भने त्यो राम्रो तर पछिल्लो रचना या कृतिलाई टपेर लेख्न मन लागिरहन्छ त्यसैले मेरो लेखनको अन्त्य भैसकेको छैन । पछिल्लो समयमा म भूमिकामा बढी आएको छु । शिक्षण र प्रशिक्षण पेसाले गर्दा अति व्यस्त भइन्छ । त्यसैले भनेजस्तो गरी लेख्न पाइएको छैन । तर पनि म लेखिरहेको छु । पढिरहेको छु । चर्चा र विवाद्मा आएका सबै नेपाली साहित्यका पुस्तक म पढिरहन्छु । त्यो मेरो सोखको विषय पनि हो । दिनहुँ केही न केही नपढी नसुत्ने मेरो बानी अहिले संसारलाई बुझ्न र विश्लेषण गर्न कामयाब भएको छ ।
नयाँ भाइबहिनीलाई पनि अध्ययनमा प्रचुरता आएपछि मात्रै कलम चलाउने सल्लाह दिन चाहन्छु ।
५. यहाँसम्म आइपुग्दा बास्तवमा जिन्दगी के रहेछ ?
उत्तरः एक शब्दमा भन्दा ‘भ्रम’ । यो जिन्दगी मलाई त बोर र फोहोर लागेको छ । आनन्दका लागि संसारमा धेरै कामहरू भए पनि मैले कविता लेखेर जति आनन्द पाएँ त्यो अरू कुनै कुरामा पनि पाइन । कहिलेकाहीँको कविता लेखन र सेक्सको आनन्द उस्तैउस्तै लाग्छ –मलाई । तर म तयारी गरेर र योजना बनाएर कविता लेख्ने कवि भने होइन है ! मुडी कवि हूँ । कहिले लेखेको लेख्यै गर्छु । कहिले छ महिना वर्षदिन पनि लेख्दिनँ । पछिल्लो समयमा म छोटाछोटा प्रेम विषयक कविताको लेखनमा मस्त छु । मैले यो जुनीमा कविताका माध्यमबाट मेरो समाजलाई केही दिन सकेँ भने म मेरो जीवनलाई सफल भएको ठान्ने थिएँ ।
समग्रमा, भन्दा म मेरो सिर्जनात्मक जीवनबाट सन्तुष्ट छैन । हुन्न पनि । जीवनको शिक्षण पाटोका बारेमा अहिले नभनौं । त्यो बेग्लै छ ।
६. संसारमा यतिका मानिसले साहित्य लेखिरहेका छन् ? तपाईँले नै साहित्य लेख्नुको कारण के होला ?
उत्तर ः बडो मजाको प्रश्न सोध्नुभयो । संसारमा यतिका मानिसहरू बाँचिरहेका छन् तपाईंले नै किन बाँच्नु प¥यो भन्ने प्रश्न पनि त उब्जिन सक्छ । हो, अरूले अरूको एङ्गलले लेख्ने हो । मैलेचाहिँ मेरो एङ्गलले लेख्ने हो । म स्वच्छन्दतावादी भाव धारामा बहेर लेख्ने साहित्यकार हूँ । सोझो लेख्यो नारा हुने, धेरै घुमाउरो लेख्यो कहिले त्यो अमूर्त हुने अनि कहिले आयामेली हुने । म ती दुवैको विरोधी हूँ । जीवनलाई बुझिने खालका रचनाले सम्बोधन गर्नुपर्छ । आफूले लेखेको अरूले त परै जाओस् आफू नै नबुझ्ने मानिसहरू पनि छन् । त्यो पनि राम्रो भएन । आफूले लेखेको अरूले नारा भनी गाली गर्नेहरू पनि छन् । त्यो पनि भएन । यो लेखन भनेको चाहिँ ठिक्कको हुनुपर्दो रहेछ । चियामा लागेको चिनीजस्तै वा तरकारीमा हालेको नुनजस्तै । बढी भए पनि गाह्रो कम भए पनि खल्लो ।
७. धेरै नेपाली लेखकहरूको ‘गरिब छु, अभाव छ, यो छैन, त्यो छैन’ भनेर लल्लरी गाउँने शैली यहाँलाई कस्तो लाग्छ ?
उत्तर ः हो, मलाई राम्रो लाग्दैन किनकि म त्यो कुराको सख्त विरोधी हूँ । नेपालमा पत्रकारिता गरेर पेसा लेखन बनाएको छ भने देखिबाहेक लेखेर आफू र आफ्नो परिवार पाल्न सक्ने अवस्था आएकै छैन । नेपालका अधिकांश लेखकहरू जो नाम र दाम कमाएका छन् ती कुस्त गाँठ कमाउछन् । राम्रो लेख्ने र सडक पेटीको बास भएका एक जना पनि साहित्यकार छैनन् भन्दा पनि हुन्छ । जो लालीको पित्र गाएर हिँड्छन् ती लोभी हुन् । पापी हुन् । आखिर ती पनि मर्छन् । मरेर जाँदा ती केही पनि लाँदैनन् । म पनि लेखेर बाँचेको छैन । जीवन बाँच्ने मेरो पनि पेसा छ । तपाईंको पनि छ । यस्तो स्थितिमा ढाँट्नै नमिल्ने परिस्थितिलाई ‘ओपन सेक्रेट’ भनिन्छ भने किन ढाँट्ने ? हैन त । अनि अर्को पाटो नेपालमा फुल टायम लेख्ने लेखकहरू धेरै कम छन् । जो छन् ती माहिर छन् –लेखनमा । जमेका छन् । कमाएका छन् । अनि किन तिनीहरूले गरिबीको गीता गाउँदै हिँड्नु ।
८. लेखेर कतिको पारिश्रमिक पाउनु भएको छ त यहाँले ?
उत्तर ः म त सानोतिनो लेखक हूँ । यिने गिनेको लेखक हैन । मलाई पहिले त पढ्न मन लाग्छ । पढेपछि विचारले झिँगल्छ अनि लेख्ने हो । मलाई पढेर र लेखेर कुन बढी आनन्द आउँछ भन्यो भने म भुलिन्छु होला । खै ! कहिले पढ्दा आनन्द । कहिले लेख्दा आनन्द । त्यो पढिने र लेखिने विषयवस्तु र परिवेशका कुरा हुन् । म पत्रिका चाहिँ भेटेजति पढ्छु तर पुस्तक चाहिँ छानेर पढ्छु । मैले पढेका राम्रा थिम भएका पुस्तक छन् भने म आफूभन्दा जुनियरलाई ती पढ्न सिफारिस पनि गर्छु ।
जहाँसम्म पारिश्रमिकको कुरा छ । त्यो मैले पारिश्रमिकबाट ठूलोठूलो काम गरेकै छैन । विद्यालयस्तरीय निबन्धहरूबाट एकमुष्ट बीस हजार पाउँदा मलाई २०६५ तिर केके न पाएजस्तो भएको थियो । अब त त्यो पनि छैन । म अहिले आफूले पाएको परिश्रमिकबाट राम्रा पुस्तकहरू किन्ने गर्छु । मजाले पढ्छु । सुका आठआना पारिश्रमिकले मानिसको जीवन चल्ने भए किन यसरी पेसामा घिसिपिटी हुनु प¥थ्यो होला र ?
९. लेखेर अघाउनु भएको छैन ? कि अझै लेख्ने लोभ छ ?
उत्तर ः आम्मै के भन्नु भएको । जीवन जिएर पनि कोही अघाउँछ । हा,े त्यस्तै हो लेखन भनेको पनि । पछिल्लोपटक लेखेको रचनालाई उछिनेर लेख्ने भोक सबैजसो लेखकमा हुन्छ । हा,े मलाई पनि त्यही हुन्छ । त्यसैले म कसैसँग पनि प्रतिस्पर्धा गर्दिनँ । मेरो प्रतिस्पर्धा मसँगै हुन्छ । मेरा रचनासँगै हुन्छन् । मलाई हातखुट्टा चलुन्जेल र दिमागले काम गरून्जेल लेखिरहने इच्छा छ । म लेख्दालेख्दै र कल्पना गर्दागर्दै मर्न चाहन्छु । मलाई सिर्जनात्मक कार्यमा रिटायर्ड हुनै मन लाग्दैन ।
१०. अन्त्यमा, केही भन्न चाहनु हुन्छ कि ?
उत्तर ः अन्तर्वार्ता लिएर मनमा भएका हुँडलाहरूलाई शान्त पार्ने अवसर दिनु भयो । सारै खुसी लाग्यो । कहिलेकाहीँ लेखकलाई म पनि प्रश्नका बाँणले गिजोल्छु । आज तपाईँले मलाई त्यसैगरी गिजोल्नु भयो । अब ममा पनि लेख्ने ऊर्जा पलाउने छ । यस्ता वार्ता र संवार्ताले कहिलेकाहीँ प्वाक्क इतिहास पनि बोल्छन् । म त सारै खुसी हुन्छु । आज सारै मजा लाग्यो । त्यो अवसर जुटाइदिनु भएकोमा ‘दीपन’ पत्रिका र त्यसका सम्पादकज्यूलाई मुरीमुरी हार्दिक धन्यवाद छ । फेरि फेरि पनि आउनोस् न बसेर यस्तै वार्ता गरौं र मनलाई हलुङ्गो बनाऊँ । 𞉀𞉀

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 9 कार्तिक, 2070

लेखकका अन्य रचनाहरु