दशैंको खोजीमा कोलम्बस

- गोपाल झापाली

एउटा कोलम्बसले फेरी अर्को दशैंको खोजीमा,
एक मुट्ठी उल्लास र एक पाथी औपचारीकताले भरिएको
त्यहि दशैंमा निधार बाध्यताको अक्षताले लिपिएला,
कानमा लोकाचारको जमरा सिउरिएला ।
तर
मेरो दशै र उसको दशैं उस्तै छैन ।
मेरो दशैंमा लिङ्गे पीङ् हुन्छ कुण्ठा उडाउने,
चचहुईमा पीडा ओकल्ने ।
पहेंलपुर जमराले समृद्धी बोक्छन,
लालिम्य अक्षतामा आस्था र आलोक बोक्छन् ।
उहिले
जंगबहादुरले पनि एउटा दशैं पत्तो लगाए,
जाग्यो, चक्यो र निध्यो त्यो दशैंको दियो
भो कोलम्बस जंगबहादुर नबन,
खोज्छौ भने कहिल्यै नभेटिएको पर्व खोज
मेरै, हाम्रै दशैंमा रमाउन सिक......
जंगबहादुरको जस्तै निभ्ने दियो नबाल
के थाहा,
तिम्रो दियोको झिल्को तिम्रो र मेरो
संसार जलाउन काफि हुन सक्दैन र ?

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 25 आश्वीन, 2070

लेखकका अन्य रचनाहरु