लमजुङे ठाडो भाकाप्रेमी लोककवि अलि मियाँ

- रुपिन्द्र प्रभावी ‘कटु’

पृष्ठभूमिः

धर्तीमा कहिलेकाहीँ अद्वितीय व्यक्तिहरुले जन्म लिन्छन् जसले आफ्नो प्रतिभाको उज्यालोले आफू मात्र उज्यालिँदैनन् बरु समाजलाई पनि प्रकाशमय बनाउँछन् । यस्तै प्राकृतिक प्रतिभा बोकेर यस धराधाममा आएका एक उज्याला प्रतिभा हुन्– लोककवि अलिमियाँ ।

अलि मियाँ वि. सं. १९७५ फागुन १५ गते पोखराको मियाँपाटनमा माता जहुरा मियाँ र पिता दीनमोहम्मद मियाँका ३ छोराहरुमध्ये कान्छो छोराका रुपमा जन्मेका थिए भने उनका मातापिताबाट जम्मा १३ जना सन्तान जन्मेका थिए । १८ महिनाको हुँदा माता र ३ वर्षको हुँदा पिता गुमाएका लोककविले आफू जन्मिँदा पारिवारिक आर्थिक अवस्था सम्पन्न भएको किंवदन्ती सुने पनि आफू जान्ने हुँदा भने सम्पन्नता भोग्न पाएनन् । मातापिताको देहान्तपछि दाजुभाउजूको संरक्षणमा हुर्केका उनले धेरै उपेक्षा र अभावहरुबीच घाँसदाउरा र मेलापातमा लोकगीतहरु गाउँदै हिँडेः

हिजोआज किन हो किन, लाग्छ मलाई वन पनि रमाइलो ।
घरबारेलाई घरमै जाम् जाम्, वैरागीलाई वनैमा बसिरम् ।

प्रकृतिबाटै दीक्षित कैयौं प्रतिभाहरुले विश्वमा अनेकौं कीर्तिमानीहरु राखेका छन् । प्रकृतिलाई नै गुरु मानेर विकासवादको व्याख्या गरी प्राणीजगत्लाई नवीन चेतना प्रदान गर्ने चाल्र्स डार्विन होस् या प्रकृतिकै सान्निध्यबाट विश्वविख्यात बनेका ‘विश्वपुरुष’ लिओनार्दो दा भिन्ची नै किन नहोस् वा अन्य वैज्ञानिक, कलाकार तथा साहित्यकार होऊन्, प्रकृतिरुपी पाठशालाबाटै अनेकौं प्रतिभाले आफ्ना सामथ्र्यको परिचय दिए विश्वलाई । लोककवि पनि यस्तै प्रकृतिबाट दीक्षित र प्रशिक्षित एक उल्लेखनीय प्रतिभा हुन् जसले नेपाली साहित्यलाई स्तरीय र मर्मस्पर्शी लोकगीतहरु उपहारस्वरुप दिए बिनालालसा । उनको साहित्यिक पृष्ठभूमि कुनै साहित्यिक माहौल, सङ्गत वा पारिवारिक पृष्ठभूमिबाट पोषित थिएन, थियो भने केवल वेदना थिए, रनवन थिए, मियाँको भन्दा पनि अझ बढी विरह गाउने न्याउली थिए उनका सङ्गाती भने पनि, माहौल भने पनि र प्रेरणाका स्रोत भने पनि । आफ्नै वेदना पोख्दा–पोख्दै जनताका पनि प्रतिनिधि विरह पोख्दै लोकका कवि अर्थात् ‘लोककवि’ बनेका अलि मियाँ आज एक सम्मानित प्रतिभाका रुपमा स्थापित छन् नेपाली साहित्यमा ।

बाल्यकालः

जन्मेको १८ महिनामै आमा जहुराको मृत्यु भएकाले आमाको मायाको सचेत अनुभूति गर्नै नभ्याएका अलिले ३ वर्षकै उमेरमा बाबु दीनमोहम्मदको काँध पनि गुमाएकाले बाबुको प्रेरक चरित्रको पनि कुनै आभास पाउन सकेनन् । आमाबाबु दुवै गुमाएर एक पूर्ण टुहुरो बनेका मियाँको बाल्यकाल कस्तो रह्यो होला ? सहजै अनुमान गर्न सकिन्छ । त्यसपछि उनले दाजुभाउजूको दयामा बाँच्नुप¥यो । लोककविको बाल्यकाल प्रायः जङ्गलमै बितेको थियो । वनजङ्गलमै न्याउलीको विरहसँगै आफ्ना भावना साट्दै भावनाका उचाइमा लोकगीतका संरचनाका हिमाल चढेका उनी प्रकृतिका सच्चा शिष्य थिए ।

त्यति बेला अहिले जस्तो सुलभ रुपमा विद्यालय जान पाउने अवस्था थिएन जो अलि मियाँका लागि पनि बिडम्बना बनेको थियो । केही हुनेखाने वर्गका सन्तानले मात्र अध्ययनको अवसर पाउने गर्थे । यस्तो अवस्थामा अलि मियाँले विद्यालयीय शिक्षा पाउनु त धेरै परको कुरा थियो । ‘खाने मुखलाई जँुगाले छेक्दैन’ भनेझैं उनलाई समयले मात्र निरक्षर राखिरहन सकेन; उनको अध्ययनको भित्री इच्छालाई समयले नै पूरा गरी छाड्यो । २०÷२१ वर्षको उमेरसम्म अक्षर नचिनेका लोककविलाई त्यसपछि अक्षर चिन्ने रहर लाग्यो । धेरै कठिन प्रयासपछि आफैं पढ्न र लेख्न सक्ने भएपछि उनले रामायण पढेर ज्ञान हासिल गरे । अक्षर चिन्नुभन्दा अगाडि उनले आफ्ना मनमा फुरेका भावनाका आँधीलाई अन्य व्यक्तिको सहायताले लेखाउने गर्थे । तिनलाई लिपिबद्ध गरेर उनका रचनाहरु पछि कृतिगत रुपमा पनि आउन सफल भए ।

युवावस्था, पेसा, वैवाहिक अवस्थाः

‘‘भानु भन्ने राजाका पाँच भाइ छोरा थिए, बिर्सिए छोरी ज्वाइँ
खट्टे बेच्ने मानाले माया बेची हिँड्छ्यौ नचिनेको हैन नार्इं ।’’

आफ्नो जवानी कालमै करापुटारमा शिवरात्रीको मेलामा अलि मियाँले ठाडो भाकाको यही गीत गाएर दोहोरी जोडीलाई उठेर हिँड्न बाध्य बनाएका थिए । जीवनमा अनगिन्ती लोक भाकाका गीतहरु गाउँदै र लेख्दै हिँडे पनि लमजुङे ठाडो भाकाले उनको मुटु सबैभन्दा नजिकबाट छोएको थियो त्यसैले उनी लमजुङ, तनहुँ, कास्की र गोरखाका विभिन्न ठाउँमा यही ठाडो भाका गाउन पुगेका थिए । उनले बाँचुञ्जेल त्यस क्षेत्रका संस्कृतिकर्मीहरुलाई भेट्दा ठाडो भाकाको संरक्षण गर्न सुझाव दिइरहन्थे । युवावस्थामा लोककविले पोखरा र वरिपरिका विभिन्न स्थानमा पुगेर ठाडो भाका र अन्य लोकगीतका भाकामा गीत गाएर आफ्ना जवानीका अधिकांश समय व्यतीत गरेका थिए ।

घर पनि छैन दाइ मेरो
डर पनि लाग्दैन कसैको ।

लोककविको पेसागत कुरा गर्दा दुईवटा प्रसङ्ग सधैं अघि आउँछन्, लाहुरे र चुराको व्यापार । भारतमा उपनिवेश जमाएर बसेका बेलायतीहरुको पल्टनमा भर्ती हुने कुरा उनले निकै सुनेका थिए । आफ्ना समवयीहरु लाहुरे हुन गइरहेका र आफू पनि जवान हुँदै अगाडि बढिरहेको परिप्रेक्ष्यमा उनलाई पनि भर्ती हुन जाने इच्छाले कुत्कुत्यायो । वि. सं. १९९७ मा स्याङ्जाको भीरकोटबाट पहिलो पटक विवाह गरेको श्रीमती कुलुको १ वर्ष पनि नबित्दै निधन भएपछि उनी रन्थनिँदै भर्ती हुन भारतको नौतुना पुगे, पैदलै हिँडेरः

भर्ती हुन हिँडेको म त
घरको माया मारेर बेलैमा ।
वि. सं. १९९९ मा उनी भर्ती हुन पुगे । उनी संलग्न फौज दोस्रो विश्व युद्धका सन्दर्भमा जापानसँग युद्ध गर्न बर्मासम्म पुगेको थियो । रङ्गुनको छेउमा भएको त्यो युद्धमा अनेकौं सहयोद्धाले ज्यान गुमाए । भावुक कवि हृदय भएका अलिलाई ती दृश्यले अति नै छोए र उनलाई मानव संहारको युद्ध मन परेन । उनी त्यो युद्धमा बाँच्न सफल भए । अर्कोतिर स्वतन्त्रताप्रेमी कविलाई त्यहाँको दवाव पनि मन परेन र केही समयपछि उनी छुट्टीमा घर फर्के । त्यसपछि कति कर गरेर बोलाउँदा पनि उनी पल्टनमा पुनः गएनन्, बरु उल्टै वि. सं. २००४ मा जवाफमा लेखी पठाएः

देश छाडी विदेशीको ढोका कुरौं भने
मरे पनि नरकबासी मलको थुप्रो हुने
चाहिएन दाइ तिम्रो छाता,
भैगो मलाई चोयाको स्याखु देऊ ।

पल्टन त्यागेपछि उनले खेतीपातीका साथै पोखराकै रामबजारमा रहेको भारतीय पेन्सन क्याम्पनजिकै घुमाउने चौतारोमा चुरा, पोते, टीको, धागो आदिको व्यापार गर्दै पेन्सन लिन आउने भूतपूर्व सैनिक र तिनका श्रीमतीहरुलाई गीत सुनाउने गर्न थाले । उनले आफ्नो भौतिक शरीरले सकेसम्म सो पेसालाई निरन्तरता दिई नै रहे । व्यापारसँगै उनको साहित्यिक प्रतिभा पनि मौलाउँदै गएको थियो । सोही समयमा उनी पोखरा र वरिपरि हुने विभिन्न साहित्यिक कार्यक्रममा पनि भाग लिँदै हिँडे र चौतारीमै बसेर पनि उनले कैयौं गीतहरु हजारौंलाई सुनाए जसले उनालाई लोककविका रुपमा अझ लोकप्रियता दिलाए ।

माथि पनि भनिया,े उनको पहिली श्रीमतीले मियाँसँग एक वर्ष पनि राम्ररी गुजार्न पाइनन् । कुलुको निधन पछि उनले वि. सं. २००३ मा आफ्नै गाउँकी नूरनिशासँग विवाह गरे । उनले पनि सातजना सन्तान जन्माएपछि वि. सं. २०१८ सालमा यस धराधामबाट बिदा लिइन् । त्यसपछि लोककविको दुःख देखेर ससुराले अर्की छोरी उमधननिशाको विवाह पनि २०२० सालमा अलि मियाँसँग गराइदिए । उनको पनि २०२९ सालमा निधन भयो । यसरी पटक–पटक पत्नी वियोग खप्नुपरेका लोककविले कतिपय ठाउँबाट गीत गाएरै श्रीमती बनाएर ल्याए । यसै सन्दर्भमा उनले तनहुँमा गीत गाउँदा–गाउँदै एक युवतीलाई दोहोरीमा जितेर श्रीमतीका रुपमा घरमा ल्याए । त्यतिबेला नूरनिशा घरमै थिइन् । सायद त्यसैले पनि जम्मा ११ दिन मात्र अलि मियाँसँग बसेर उनी आफ्नो बाटो लागिन् । त्यसै गरी मायाको अभावमा छट्टिइरहेका अलिले मायाको प्यास मेटाउने अभिप्रायले वि. सं. २०३५ मा आफ्नै टोलकी युवतीसँग विवाह गरे तर उनीसँग पनि ३ वर्षभन्दा बढी अलि मियाँको जोडी जम्न सकेन ।

यसरी जीवनमा ५ वटी श्रीमतीका पति, १४ सन्तानका पिता र ५ दर्जन नातिनातिनीका हजुरबुबा भएका लोककविले समग्र लोक संस्कृति क्षेत्रकै लागि एक कुशल अभिभावकत्व दिएर गए ।

कृतिगत उपस्थितिः

पूर्ण वयस्क भएपछि अर्थात् २०÷२१ वर्षको उमेरमा अक्षरारम्भ गरेका अलिले सुरुसुरुमा आफ्ना केही मित्रहरुको सहयोग लिएर आफ्ना गीत र कविताहरुलाई लिपिबद्ध गराएका थिए । जब उनी स्वयम् अक्षर पढ्न सक्ने भए उनले रामायण, महाभारतलगायतका प्रसिद्ध कृतिहरु पढे । तिनको प्रेरणाले उनलाई लेखनमा अझ बल पुगेको पाइन्छ । त्यसपछि उनी साथी र लोकका माझ अझ लोकप्रिय हुँदै अघि बढे । लोकको बोलीलाई गीत, कवितामा उन्न रुचाउने कवि मियाँ कोठामा बसेर पत्रिका पढेका भरमा लेखिएका रचनालाई साहित्य भन्न रुचाउँदैनथे; वास्तविक साहित्यमा जनताको आँसु र रगतको छाप भेटिनुपर्ने तर्क उनी गर्थे । सिर्जना सबैले बुझ्ने हुनुपर्ने मत राख्ने कवि मियाँका रचना फुटकर रुपमा प्रशस्त छरिएर रहे । कतिपय लिपिबद्ध भए, धेरै त लवजमा मात्र सीमित भए जसले गर्दा उनका भावनालाई कतिपयले त आफ्नै नाममा रेकर्ड र लिपिबद्ध पनि गरे, त्यसको आधिकारिक लेखाजोखा हुन सकेको छैन ।

अलि मियाँको पहिलो कृतिका रुपमा घाँस, दाउरा गर्न जाँदा मनमा उत्पन्न प्रेमगीतहरुलाई लिपिबद्ध गरी वि. सं. २००६ मा ‘विरक्त लहरी’ प्रकाशन गरेका स्वयम् कविकै भनाइबाट प्रस्ट हुन्थ्यो । त्यसपछि उनले वि. सं. २०११ मा १९ वटा गीतहरु समेटेर ‘नेपाली झ्याउरे गीतसङ्ग्रह’ प्रकाशन गरे । यसपछि क्रमशः न्याउलीको पुकारा (२०११), पहाडको उद्गार (२०१३), सेतीको सुस्केरा (२०२९), उज्यालो भैसक्यो (२०३९), सम्झनाको दियो (२०५१) र अलिमियाँको आवाज (२०५८) गरी ९ वटा कृतिहरु प्रकाशित छन् । नेपाली लोकजीवनका गीत र कविता लेखनका पर्याय बनेका लोककविकै बारेमा पनि थुप्रै कृतिहरु प्रकाशित भएका छन् । उनलाई २०५८ फागुन १५ गते अभिनन्दन गरिएछि उनको अभिनन्दन ग्रन्थ पनि प्रकाशित भएको छ जसमा मियाँका बारेमा विभिन्न क्षेत्रका व्यक्तिहरुले लेख लेखेका छन् । उनका बारेमा प्रा. डा. रविलाल अधिकारी, विष्णुप्रसाद शर्मा, अमृत भादगाउँले, नारायणप्रसाद ज्ञवाली, डा. कुसुमाकर न्यौपाने, माधव वियोगी, प्रकाश सायमीलगायतले अनुसन्धान र लेखन पनि गरेका पाइन्छन् । उनको व्यक्तित्वको प्रचारप्रसार र प्रकाशन हुन बाँकी रचनाहरुको प्रकाशन गर्ने अभिप्रायले उनकै पुत्ररत्न हनिफ मियाँको विशेष सक्रियतामा अलिमियाँ लोक वाङ्मय प्रतिष्ठान पनि पोखराबाट देशभर क्रियाशील छ । उनकै विषयमा हाल विभिन्न उद्देश्यले अनुसन्धान गर्ने क्रम पनि जारी नै छ । यसरी कृतिगत रुपमा अलि मियाँ स्वयम्ले र अन्यले उनका बारेमा विविध खालका कृतिहरु दिएर नेपाली साहित्यको भण्डारलाई गुन लगाइरहेका छन् ।

लमजुङे ठाडो भाकाप्रति उनको प्रेमः

लमजुङको करापुटारमा हरेक वर्ष शिवरात्रीका अवसरमा गाइने भाका नै लमजुङे ठाडो भाका हो । पञ्चसुब्बा गुरुङ, देउबहादुर दुरा हुँदै भेडीखर्के साइँलासम्म आइपुग्दा निकै लोकप्रिय बनेको यो भाका लोककविलाई पनि सबैभन्दा मन पर्ने भाका हो । किंवदन्तीअनुसार, सात रात र सात दिनसम्म गाउँदा पनि यो भाकाको दोहोरीमा हारजीत हुँदैनथ्यो र यस गीतमा ज्यानकै बाजी लगाएर कलाकारहरु गाउन तम्सिन्थे । जवानी कालमै अलि मियाँले लमजुङकै जीताकोटमा तीनजना बहिनीहरुसँग ठाडो भाका गाउँदा सबै रोएको क्षण यस पंक्तिकारसँग एक अन्तरवार्ताका क्रममा लोककविले आफू पनि रुँदै सुनाएका थिएः

थारो मकै गाई मेरौ लैनी सुन्नुहोला बैनी
तापेर मात्रै पवित्र हुँला विश्वको धुनीमा
म मरे पनि भेटौंला बैनी अर्को जुनीमा ।

जीवनमा अनेकौं खालका लोकगीतहरु गाए पनि आफूलाई सबैभन्दा मन पर्ने भाका चाहिँ लमजुङे ठाडो भाका नै भएको उनी बताउँथे । उनी कुनै साहित्यकार, कलाकार, पत्रकार वा लमजुङे व्यक्तित्वहरुलाई भेट्दा धाराप्रवाह ठाडो भाका गाउँदै यसको संरक्षणमा लाग्न आग्रह गर्थे । यसबाट पनि उनको लमजुङे ठाडो भाकाप्रतिको प्रेम बुझ्न सकिन्थ्यो ।

सम्मान÷पुरस्कारः

लोककविले जस्तै दुःखमा पनि आफ्नो स्वाभिमान बेचेनन् । उनी पुरस्कारका लागि लेख्ने काममा कहिल्यै पनि लागेनन् । उनी उपेक्षाहरुका माझ पनि निःस्वार्थ आफ्ना र आफ्ना समाजका विरहहरुलाई लोकगीत र कविताका माध्यमबाट प्रस्तुत गर्दै हिँडे । उनलाई पुरस्कारको भन्दा बढी तिरस्कारको ओइरो लागेको थियो । राणाहरुले ‘देश खाए’ भन्दै उनी तिनको जहानीयाँ शासनको विरोध गीत कविताबाटै गर्थे । उनलाई कतिपय राजनीतिक दल र नेताहरुले आफ्नो अनुकूल प्रयोग पनि गरे तर कुनै राजनीतिक दलको सदस्यता लिएनन् । नेपालको राजनीतिक दलको हालत ‘उस्तै’ नै हो; प्रतिभा चिन्नु उनीहरुका लागि फलामको चिउरा चपाउनुजस्तै हुन्छ । लोककवि पनि लामो समयसम्म सरकारी वा संस्थागत पुरस्कारबाट उपेक्षित नै रहे; हुन त उनले त्यसका लागि लेखेका पनि थिएनन् ।

जब देशमा २००७ सालमा प्रजातन्त्र आयो, त्यसपछि अलि मियाँ खुसी भए । २०१७ सालमा कवि राजा महेन्द्रले सत्ता हातमा लिएर निर्दलीय शासन चलाएपछि उनलाई केही आशा पनि थियो देशमा केही भइहाल्छ कि ! त्यही बेला ‘बाठा राजा’ महेन्द्रले उनलाई केही जग्गा लिएर बस्न अनुरोध गरे तर उनले त्यसलाई नकारे । केही सम्मान भने महेन्द्रले उनलाई गरेका पनि थिए । उनी भन्थे, “मैले कुनै पनि राजनीतिक दल वा नेताको एक कप चिया पनि सित्तैमा खाएको छैन ।” उनलाई २०४२ सालमा बौद्धिक परिचर्चा क्लबले अभिनन्दन गरेपछि उनको सार्वजनिक सम्मानको शृङ्खला निर्माण भएको देखिन्छ । वि. सं. २०४७ सालमा तात्कालीन नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानले इन्द्रराज्यलक्ष्मी प्रज्ञा पुरस्कार उनलाई दिइएको सबैभन्दा पहिलो ठूलो पुरस्कार थियो । रु. ५० हजार राशिको सो पुरस्कार अलि मियाँले आफ्ना लागि प्रजातन्त्रले दिएको महत्वपूर्ण पुरस्कार मानेका थिए । त्यसपछि उनलाई २०५० सालमा पोखरेली युवा सांस्कृतिक परिवारले शिरोमणि पुरस्कार, २०५३ मा कुमुदिनी होम्सले कुमुदिनी साहित्य तथा कला पुरस्कार, लूनकरणदास गंगादेवी चौधरी साहित्य कला मन्दिरले २०५८ मा नारायणगोपाल सङ्गीत सम्मानबाट सम्मान गरे । साथै, उनले २०५७ मा प्रबल गोरखा दक्षिण बाहु पनि पाए र मदन पुरस्कार गुठीले २०६० को जगदम्बा पुरस्कार पनि उनलाई प्रदान गरेको थियो भने २०६० मै पोखरामा सार्वजनिक रथारोहण तथा अभिनन्दन समेत गरिएको थियो ।

जीवनका अघिल्ला चरणहरुमा कुनै पनि क्षेत्रले उनको प्रतिभाको उचित कदर गर्न सकेनन् यद्यपि उत्तराद्र्धका केही वर्ष उनले राम्रै सम्मान पाएका थिए । मृत्युपश्चात् भने उनको चर्चा कसैले बाध्यताले त कसैले रहरले पनि गर्ने गरेकै छन् ।

सबैभन्दा ठूलो पुरस्कार त उनले लोकबाटै पाए जसले उनलाई ‘लोककवि’को निर्विवादित उपमा दियो । लोककवि मियाँका गीतहरु हरिदेवी कोइराला, पद्मराज ढकाल, प्रेमराजा महत, पुरुषोत्तम न्यौपाने, ठाकुरप्रसाद सिग्देललगायतले गाएर जनजिब्रोमा बस्न अझ सघाएका छन् । माथि पनि भनियो, उनकै सम्मानमा, उनकै नाममा अलिमियाँ लोक वाङ्मय प्रतिष्ठान पनि वि. सं. २०५९ सालदेखि नै क्रियाशील छ । लोकजीवनलाई उनका रचनाले एक खालका उर्जा दिने गर्दछन् । उनका बारेमा अझ थप अनुसन्धान हुनु जरुरी छ, उनका रचनागत मूल्यलाई बुझेर तिनका मर्मलाई नयाँ पुस्तासम्म पु¥याउन सकिए अझ उनको सम्मान गरेको ठहरिन्छ ।

उपसंहारः

नेपाली लोक साहित्यलाई विशिष्ट योगदान दिएर वि. सं २०६३ साउन १८ बेलुकी ८ बजे गते यस धराधामबाट विदा लिएका लोककवि एक धार्मिक सहिष्णुताका समेत प्रतीक थिए । कतिपयले अन्तर्राष्ट्रिय व्यक्तित्वका रुपमा समेत चर्चा गरेका लोककवि मियाँ नेपाली साहित्यका एक इमानदार कवि हुन् जसले सधैं लोक जीवनका गीत गायो, जसले सधैं माटोको सुगन्धमा आफूलाई आनन्दित तुल्यायो । सरल भाषा र उखान टुक्काको सार्थक प्रयोग गरेर गम्भीर भाव प्रवाह गर्ने कवि मियाँलाई शासक र सत्ताले नचिने पनि समयले चिनेको छ । समय जति घर्किँदै गएको छ, त्यति नै मियाँका रचनाका मूल्य बढेका छन् । यसले पनि सच्चा स्रष्टा आत्तिनुहुँदैन भन्ने कुराको प्रमाण जुटाउँछ । माधव घिमिरेले भनेझैं, ढुङ्गाको काप फोरेर उम्रेका पीपल हुन् लोककवि अलि मियाँ । उनको प्रतिभाबाट समाज सधैं लाभान्वित भइरहनेछ ।

छैन के यो वनमा चरी
भए त बोल्दो हो क्यै गरी ।

सन्दर्भ ग्रन्थ सूचीः
- अधिकारी, रविलाल, अलि मियाँः व्यक्तित्व र कृतित्व, पोखरा, अलि मियाँ लोक वाङ्मय प्रतिष्ठानः २०६० ।
- अधिकारी, रविलाल र अन्य (सम्पा.), अलि मियाँ अभिनन्दन ग्रन्थ, पोखरा, अलि मियाँ अभिनन्दन ग्रन्थः २०६१ ।
- कटु, रुपिन्द्र प्रभावी, “सेरोफेरो भ्रष्टाचारकोः विचार साहित्यकारको”(अलि मियाँको अन्तरवार्ता), कायापलट असल शासन साहित्यिक पत्रिका, लमजुङ, कायापलट असल शासन क्लबः २०६१ ।
- भादगाउँल,े अमृत, लोककवि अलि मियाँ, पोखरा, कुमदिनी होम्स्ः २०५९ ।
- शर्मा, विष्णुप्रसाद, अलि मियाँका लोकगीतको अध्ययन, पोखरा, अलि मियाँ लोक वाङ्मय प्रतिष्ठानः २०६६ ।

समिभञ्ज्याङ–५, लमजुङ, हालः पोखरा

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 16 भाद्र, 2070

लेखकका अन्य रचनाहरु