लोकदोहोरी सम्राट : प्रजापति पराजुली

- तुलसी प्रवास

लोक साहित्यका विभिन्न विधा, उपविधामध्ये लोकगीत एउटा महत्वपूर्ण विधा हो । जन साधारणले मौखिक परम्पराबाट रच्दै र हुर्काउँदै ल्याएको सहज अभिव्यक्ति जहाँ शास्त्रीय बन्धन र कलात्मक सचेतता हुँदैन, त्यो नै लोकसाहित्य हो । लोकका कुनै एक दुई प्रतिभाद्वारा लोकजीवनका हाँसो ,आँसु, दर्द, पीडा , स्थिति, परिस्थितिजन्य भावनाहरूलाई आफ्नो मधुर स्वर लहरीद्वारा अभिव्यक्त गरेपछि त्यही लहरीलाई पछ्याउँदै त्यहाँको लोकजीवन झुम्न थाल्दछ । त्यो लहरी अनेकौं डाँडा–पाखा, भञ्ज्याङ चाहार्दै सबैको हृदयलाई आल्हादित तुल्याउँदै जान्छ त्यही नै लोकगीत हो । वास्तवमा लोकगीत झरना जस्तै हुन्छ । हजारौं वर्ष पुरानो भएर पनि झरनाको पानी नित्य र नयाँ हुन्छ, न कहिल्यै सुक्छ, न कहिल्यै रोकिन्छ बरु उसका जल कल्लोलमा नयाँ–नयाँ संगीत र नव–नव नृत्यहरू थपिंदै जान्छन् ,लोकगीत पनि त्यही हो । लोकगीत पनि विभिन्न तरिकाले प्रस्तुत गरिन्छ । त्यसमध्येको एउटा प्रकार दोहोरी गीत हो जहाँ गीतमै सवाल र जवाफ हुने गर्दछ । दोहोरी गीत गाउने गायकलाई आशुगायक पनि भन्न सकिन्छ किनभने तत्काल रचना गरेर उनीहरू घण्टौँसम्म गाीत गाउन सक्छन् । यस्तो क्षमता कमै व्यक्तिमा पाउन सकिन्छ । यहाँ दोहोरी गीतका यस्तै अद्भूत प्रतिभा प्रजापति पराजुलीको विषयमा चर्चा गर्न लागिएको छ ।
वि.सं. २०२० साल फाल्गुण १० गतेका दिन कास्की जिल्लाको भदौरे तामागी गा.वि.स. वडा नं. ५ स्थित चैनपुरमा पिता स्व.गंगाधर पराजुली र माता चन्द्रकली पराजुलीको गर्भबाट जन्मिएका लोक तथा दोहोरी गायक प्रजापति पराजुली आफैमा नेपाली दोहोरी गीतको एउटा सिङ्गो इतिहास हो । हाल पोखरा नदीपुरमा बसोबास गर्दै आएका पराजुलीले अध्ययनमा आइ.ए. सम्म मात्र उत्तीर्ण गरेका छन् । उनी त्रि.वि. चिकित्साशाष्त्र अध्ययन संस्था, रामघाट पोखरामा कर्मचारीको रूपमा कार्यरत छन् तर उनी साना बालकदेखि वृद्धसम्म लोक तथा दोहोरी गायकका रूपमा नै सर्वपरिचित छन् । उनी जव स्टेजमा गएर माइक समात्छन् तब दर्शकहरू एकोहोरो भएर उनीप्रति नै केन्द्रित रहन्छन् । उनीसँग यस्तो सम्मोहन र वाक कला छ जो कमै व्यक्तिमा पाउन सकिन्छ ।
प्रजापति पराजुली आफू प्रतियोगीको रूपमा सहभागी हुँदाको बखत कहिल्यै पनि रित्तो हात फर्केनन् । यो उनको अर्को महत्वपूर्ण इतिहास हो । दोहोरीका प्रतियोगिताहरूमा बसेपछि कहिल्यै पनि पदक विना रित्तो हात नफर्केका उनी प्रतियोगितात्मक दोहोरीका एकजना अम्बल गायक भनेर चिनिन्छन् र उनीसँग भएका प्रमाणपत्रहरूले यो कुराको पुष्टि पनि गर्दछन् । यस पँक्तिकारले लोकगीतको अनुसन्धान गर्दै जाने सिलसिलामा जब उनको घरमा पुग्यो तब नेपालको प्रतियोगितात्मक दोहोरी गीतको सिङ्गो इतिहास उनीसँगबाट प्राप्त गर्यो । उनी आफैले यस विषयमा पुस्तकाकार कृति पनि तयार गर्दे गरेको उनीबाटै जानकारी भयो । घरको माथिल्लो तलामा उनको एउटा भिन्नै व्यक्तिगत कार्यकक्ष÷सिर्जनाकक्ष छ । त्यहीँ छ हामीले खोज्ने दोहोरीको सिङ्गो इतिहास ।
उनको कार्यालय व्यवस्थान गर्ने कला पनि अत्यन्तै प्रभावकारी छ । अहिलेसम्म प्रतियोगितात्मक रूपमा कहाँ–कहाँ र कहिले—कहिले दोहोरी गीतहरू भए, उनी त्यहाँ के भए ? र कस्ता गीतहरू गाए भन्ने कुराको सम्पूर्ण नालीबेली प्रमाण सहित उनको व्यक्तिगत कार्यालयबाट प्राप्त गर्न सकिन्छ । सम्भवतः अन्य कोही गायकमा पनि यो किसिमको सचेतना र लगाव पाउन सकिएला ।
प्रजापति पराजुली एउटा यस्ता आशुगायक हुन् जो गीतमै बात मार्न र कुराकानी गर्न सक्छन् । गीतमै धाराप्रवाह घण्टौँसम्म स्टेजमा गएर कुराकानी गर्न सक्छन् । लोकदोहोरीमा प्रतियोगिता सञ्चालनका नियमहरू, मूल्याङ्कनका आधारहरू सबै उनीसँग कण्ठस्थ छन् । अर्काे रमाइलो कुरा के छ भने बर्षौँ पहिले आफूले दोहोरी गाउँदाका प्रत्येक गीतका टृक्काहरू उनलाई अहिले पनि कण्ठस्थ छन् । मिति २०४१ साल चैत्र २७ देखि ३० सम्म काठमाडौँको दशरथ रङ्गशालामा भएको दोहोरी गीत प्रतियोगितामा गायिका इन्दिरा चालिसेसँग गाएको दोहोरीको एक अंश ः
प्रजापति — तिम्लाई माछी बनाउँदै हेर
फेवातालमा जाल हान्छु एकफेर
इन्दिरा— हान हान जाल दाइले हान
तालको माछा कम्तीको नठान
प्रजापति — तालमा माछी छ भन्ने सुनेर
ल्याएँ मैले नयाँ जाल बुनेर
इन्दिरा — माछाको स्वाद गुन्दु्रकले मेटौला
ठूलो तालमा जाल के भेटौला
प्रजापति — साथी भाइलाई डाकेर तान्नेछु
तालभरिको माहाजाल हान्नेछु
इन्दिरा – माछी लुक्छ हरियो लेउ लेउमा
जाल बोकेर हिँडौला छेउछेउमा
.........................................................
यसरी माझी र माछी बनेर प्रतीकात्मक रूपमा दोहोरी गाउँदा सारा दर्शकहरू उत्तेजित भएर उफ्रन्थे, अनि प्रजापति पराजुली कहिले प्रथम त कहिले द्वितीय भएर निस्कन्थे । यस्तो अद्भूत प्रतिभाको खानी उनीभित्र अहिले पनि कायमै छ । अहिले प्रजापति बिनाका महोत्सवहरू र दोहोरी गीतका कुनै पनि कार्यक्रमहरू अधुरो, अपुरो र अलिनो हुने गर्दछन् । सम्पूर्ण लोक कलाकारहरूका सर्वश्रेष्ठ बनेर उनी दर्शकहरूमाझ चिनिएका छन् ।
केही संघसंस्थाहरूले दोहोरी गायक प्रजापति पराजुलीलाई ‘लोकदोहोरी सम्राट’ भनेर सम्मान गर्दै आइरहेका छन् । कसै—कसैले यसलाई विरोध पनि जनाइरहेका छन् । नारायण गोपालले आफ्नो स्वरको जादूद्वारा सबैलाई मोहित पार्थे । त्यसैले उनलाई स्वर सम्राट भनियो । अन्य व्यक्तिलाई पनि अनेक उपाधिहरू दिइएको छ । एउटा सर्जक भूइँबाट उठेर गीत गाउँदै र गीत बचाउँदै सारा दर्शकहरूको मन मुटुमा बास गरेको छ । ‘के खान्छ्यौ कमला, सुन्तला कि अमला ?’ भन्दै स— साना केटाकेटीदेखि दोहोरीले युवावर्गलाई, तीजे गीत र रत्यौली गीतले महिला वर्गलाई र भजन÷चुड्का गाएर वृद्घ,वृद्घालाई समेत गरी के बालक, के युवा, के वृद्घ सबैको मनमा एकछत्र बास गरेको यस्तो महान् दोहोरी गायकलाई लोकदोहोरी सम्राटले विभूषित गर्दा कसलाई के घाटा हुन्छ ?
यहाँ लोक दोहोरी गायक प्रजापति पराजुलीलाई नै दोहोरी सम्राटको उपाधि दिनु उपयुक्त छ भनी केही तर्कहरू प्रस्तुत गरिएको छ । ती यसप्रकार छन् ः—
तर्क नं १
नेपालमा दोहोरी गीतको प्रतियोगिता सुरु हुँदाको पहिलो प्रतियागिताबाटै उनी दोहोरीमा प्रवेश गरे र निरन्तर रूपमा पुरस्कृत हुँदै गए । अहिले कोही पनि जीवित व्यक्ति उनी सरह निरन्तर साधनारत छैनन् ।
तर्क नं २
प्रजापति पराजुली गायकमात्र नभै लोकदोहोरी गीतको समग्र इतिहासका ज्ञाता पनि हुन् । लोकसाहित्यको अध्ययन गर्ने, अनुसन्धान गर्ने व्यक्तिले उनीबाट धेरै भन्दा धेरै खुराक प्राप्त गर्न सक्छ ।
तर्क नं ३
दोहोरी गीतको सञ्चालन, निर्णायक र टाइसिटको निर्माणदेखि लिएर सम्पूर्ण दोहोरी गीत प्रतियोगिताहरूमा प्रजापति पराजुली एकमात्र यस्तो नाम हो जसलाई दोहोरी सञ्चालनका प्राविधिक पक्षको पूर्ण जानकारी छ र सजिलै प्रतियोगिता सम्पन्न गर्ने खुबी राख्दछन् ।
तर्क नं ४
राष्ट्रिय लोक तथ दोहोरी गीत प्रतिष्ठानको स्थापनादेखि लिएर हालसम्म त्यस संस्थाको अभिभावकीय भूमिका निर्वाह गर्दै वर्तमान अवस्थामा संरक्षकको रूपमा रहेका र देशैभरि लोक तथा दोहोरी गीतलाई संस्थागत बनाउनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका ।

तर्क नं ५
विभिन्न डिस्को, गजल आदि रेष्टुरेन्टहरू सञ्चालन हुँदै आएको नेपालमा पहिलोपटक आफ्नै घरमा दोहोरी रेष्टुरेन्ट सञ्चालन गरी गाउँमा र रोदीघरमा मात्र सीमित दोहोरी गीतलाई शहर, बजार र धनीमानीको कोठा , चोटासम्म पु¥याउनमा योगदान गरेका ।

तर्क नं ६
बालक, युवा, वृद्घ, महिला, पुरुष सबैका लागि मन छुने गीतहरू गाउन सक्न,े धाराप्रवाह गीतमै कुराकानी गर्न सक्ने, नाच्न गाउन र उद्घोषण गर्नमा अम्बल अनि आशुगायकको रूपमा समेत परिचित ।
तर्क नं ७
लोकगीतका विभिन्न भेदहरू जस्तै ः रत्यौलीमा दोहोरी, तीजे गीतमा दोहोरी, भजनमा दोहोरी, पञ्चे बाजा प्रदर्शन आदि जस्ता प्रतियोगिताहरू सञ्चालन गरी लोक साहित्यको संरक्षणमा अहम् भूमिका निर्वाह गरेका र लोकदोहोरीको पर्यायवाची नाम प्रजापति पराजुली भनी सबैसामु परिचय बनाउन सफल ।
प्रजापति पराजुलीलाई दोहोरी सम्राटको उपाधि दिन सकिने अन्य धेरै तर्कहरू प्रस्तुत गर्न सकिन्छ । आफ्नै घरमा लोक तथा दोहोरी प्रतिष्ठानको कार्यालय, भजन, चुड्का संरक्षण मञ्चको कार्यालय आदि निःशुल्क उपलब्ध गराएर लोकगीतलाई आर्थिक रूपमा र अभिभावकको रूपमा समेत उनले योगदान पु¥याइरहेका छन् । कलाकारहरूलाई आफ्नै घरमा राखेर दोहोरी गीत गाउने कला सिकाउँछन् उनी । वर्तमान समयमा नेपाली लोकगीतहरू विकृत बन्दै गएको अवस्थामा प्रजापति पराजुलीले रत्यौली, तीजे गीत, भजन, चुड्का, खेली आदि गीतका वास्तविक स्वरूप दर्शक÷स्रोतामाझ प्रस्तुत गर्दै आएका छन् र केही नयाँ कलाकारहरूले गीतहरूमा विकृति भित्र्याउने काम गरेकोमा उनी चिन्तित छन् ।
यी विविध कारण र तर्कहरूको आधारमा उनी लोकदोहोरी सम्राट हुन् । धेरै संस्थाहरूले उनलाई लोकदोहोरी सम्राट भनेर सम्मान गरिसकेका छन् । यी सबै कुराका प्रमाणहरू चाहिएमा उनको कार्यकक्षमा उपलब्ध छन् । लोकगीतको अध्ययन गर्न चाहने हरेकलाई प्रजापति एउटा महत्वपूर्ण स्रोत हुन् । मरेपछि मात्र सम्मान गर्ने हाम्रो नेपाली परम्परालाई तोडेर जीवीत अवस्थामै उनलाई सम्मान गर्न सक्यो राज्यले भने उनीबाट लोकदोहोरी गीतको क्षेत्रमा अझै धेरै आशा गर्न सकिन्छ । सम्बन्धित पक्षले यसलाई समयमै ध्यान पु¥याउनु जरुरी छ ।

(लेखक नेपाली लोकगीतमा पि.एच.डी. अनुसन्धानरत छन् )

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 8 भाद्र, 2070

लेखकका अन्य रचनाहरु