जुत्ता

- शारदा पराजुली

शिवसरलाई भानु देवकोटाले फोन गरेर भने – “सर हजुर आज दुईबजे रत्नपार्क आउनुहोला । म हजुरलाई आज सरप्राइज दिन चाहन्छु ।”
“ए हो ...........ल ल म पक्कै आउँछु । शिवसर खुसीका साथ बोले । भानु देवकोटाले के सरप्राइज देलान् ? पक्कै मैले अस्ति उनको कवितासङ्ग्रहको शुद्धाशुद्धी हेरिदिएको पारिश्रमिक दिन्छन् होला ।
उनले सुरुमै भनेका थिए– “म हजुरलाई मेरो यस सङ्ग्रहको शुद्धीकरण गरिदिए बापत् केही न केही त दिन्छु नै ।”
त्यही दिन्छन् होला । बरु पैसा पो कति दिने हुन् ? पाँच हजार दिए त एक जोर नयाँ जुत्ता किन्थँे । पोहोर किनेको यो जुत्ता फाटिसक्यो । नयाँ किन्ने किन्ने भन्दा भन्दै किन्नै सकिएन । तलब पनि घरखर्च चलाउन र छोराछोरी पढाउन नै पुग्दैन । उनले लामो सुस्केरा हाले । आज पैसा पाएँ भने त नयाँ जुत्ता किन्छु, किन्छु । उनी आफ्ना खुट्टातिर हेरेर खिसिक्क हाँसे ।
शिवसर २ बजे रत्नपार्क पुग्दा भानु देवकोटा आइसकेका रहेछन् । उनले शिवसरलाई धाप मार्दै भने– “हजुरले मेरो लागि त्यत्रो सहयोग गरिदिनुभएको छ । म हजुरलाई त्यसबापत् गुरुदक्षिणा चढाउँदै छु । हजुरका लागि यो भेटी भन्दै पैसाको पोको अगाडि तेस्र्याए ।
शिवसरलाई पैसाको त्यो पोको निकै गरुङ्गो लाग्यो । उनलाई कति पैसा रहेछ हेरौँ हेरौँ लागिहाल्यो । कागजमा पोको पारेर प्लास्टिकको झोलामा हलिएको उक्त पैसाको पोको हेर्न उनी भानुसँग बिदा लिएर रत्नपार्कको सार्वजनिक सौचालयमा छिरे । पैसाको पोको खोले । त्यहाँ त ५ पैसे, १० पैसे, २० पैसे, सुका, मोहोर, एक रुपैया, दुई रुपैया, पाँच रुपैया आदिका सिक्का गोडा पचासेक थिए । उनी पार्कबाट बाहिर आए । पार्कको ढोकामा दुवैतिर माग्ने बसिरहेका थिए । उनले ती सिक्काहरू त्यहीँ दान गरे र घरतिर जान गाडी चढे । गाडीमा घुइँचो थियो । कसैले उनको खुट्टामा किल्चिदियो । उनले निहुरिएर हेरे जुत्ता च्यातिएर औँलो बाहिर निस्किरहेको थियो ।

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 8 भाद्र, 2070

लेखकका अन्य रचनाहरु