बजेट महात्म्य

- विश्व विनोद

हरि ओम् तत्सत् विष्णु, बजेटले कर्मचारीलाई लिस्नु, सोझा साझा जनतालाई मुखमा पानी सिस्नु ! जय भोले शंकर, जय शम्भो, बजेट कतै बढी भो, कतै कम् भो । एक भारी घाँस काटेर, भुटेको मकैको गाँस मुखाँ हाल्ने बेला श्रीमतीले रेडियोको कान बटारी, रेडियोमा त शंकरजीले बजेट सुनाम्दै रहेछन् । हात्तीका जत्रा कान बनाएर हामी गरिप्का दिन फिर्छन् कि (?) भनेर बजेटसँग भेट गर्न आतुर थिएँ ।
वाह ! बजेट क्या मार्मिक रहेछ, धार्मिक रहेछ । असी प्रतिशतभन्दा बढी हिन्दू भएको देशमा हिन्दूलाईभन्दा गैर हिन्दूलाई वढावा दिएको रहेछ । कतै नगरको विकास त कतै बगरको विकासका ललिपप देखाइएका रहेछन् । जनताको पेटमा एक झुल्को सौरभ नलाग्ने बेलामा राष्ट्रिय गौरवका गुलिया सपना शंकरजीले सुुनाउँदै हुनुहुन्थ्यो । उता श्रीमती पनि आगामी वर्षको लागि हुने खर्चको फेहरिस्त तयार गर्दै थिई ।
काइँलाउ बडो चाख दिएर काखमा रेडियो लिएर अरब, अरब र लाखका कुरा सुनिरहेका थिए । उनी त किसान हुन् तर उन्लाई थाहा छ, चप्पल पसलेले चुडिएको चप्पल लगाउँछ, दूध बेच्ने कालो चिया खान्छ, पैसा जति धनीको जान्छ । धान रोप्नेले खान पाउँदैन, बोक्नेले लान पाउँदैन, यस्तो नेपाली किसानी अवस्था हाम्रा काइँलाउलाई थाहै थियो तर पनि सास रहुन्जेल आशा रहन्छ भन्दै किसानी सपनाको घिटिघिटिमा काइँलाउ सोच मग्न थिए ।
श्रीमती बजेट भाषण सुन्दाकै अवधिमा बजार पुगेर आइसकिछे, उसै त काली, महाकाली बनेर आइछ, उसै त चण्डी, उग्रचण्डी बनेर आइछे । मैले प्रश्नको झटारो हानेँ– ‘के भो ? अनुहार किन थैलीको मुखझैँ कुच्चिएको ?’ उस्ले स्वर चर्काएर उत्तर फर्काई– ‘बजेट भाषणमा तलब बढ्यो रे ! त्यसैले पसलेले पनि बजार भाउमा दाउ पारेछ, हामी गरिब जनतालाई मारेछ ...।’
काइँलाउ यो कुरा सुनेर रन्किदै भने– ‘यो व्यवस्था हो कि वेवास्ता हो ? बजेट सुनाउँदै नपाई सामानको भाउ किन बढेको ?’ काइँलाउले बजेट सुनिसके पछि यौटा गज्जबको प्रतिक्रिया दिए । उनका अनुसार– अर्थमन्त्रीले भेडीगोठ फाराम खोल्ने बजेट हाल्ने कुरा नै गरेनन् । मैले प्रश्न हुत्याई हालेँ ‘किन ?’ उनले उत्तर फर्काए– ‘किन नि ! छ सय एकलाई थुन्न ।’ उनी संविधान सभाको चुनावलाई व्यङ्ग्य हान्दै रहेछन् । हुन पनि राष्ट्रका यी भेडाहरूले तलबको पेडा खाएर संविधानलाई झन् टेडा बनाउने काम गरेकै छन् । न बाँसुरी बजेको छ, न बाँस रहेको छ ।
अब के गर्ने त ? उन्को प्रस्ताव यस्तो छ– नेपालको दुर्गम गाउँमा यौटा भेडी गोठ बनाउनु पर्छ । त्यहाँ छ सय एक भेडालाई खेदेर राख्नुपर्छ अनि नेता भनाउँदालाई त्यहाँ डाक्नु पर्छ र नेताको गोठालो नेता नै बनाउनु पर्छ । उनी सोच मग्न छन्– यहाँ नेता जन्मिए, राजनेता जन्मिएनन् । अन्त्यमा काइँलाउ फुस्फुसाए– जय शिव शंकर भोले, जन्ता भए झोले, खाने गर्छन् खोले, नेताले संविधान पोले, सगरमाथा भोले । फेरि अर्थमन्त्री शंकर सम्झेर भने ‘जय शंकर शम्भो ! जनतामुखी बजेट कम् भो ।’
पाठन वृन्द ! तपाईलाई यो लेख पढेर बस्ने फुर्सद पनि छैन, मलाई लेख्ने पनि फर्सद छैन । बजेटले हामी दुःखीलाई आश्वासनको मिठाई बाड्नु सिवाय केही छैन । त्यसैले कुमासको बजेट माहात्म्य यही बन्द गर्छु, सबैले फुलपाती स्वरुप हजार÷हजारको नोट बजारमा गएर महङ्गी देवीलाई चढाउनु होला, हरि ओम तत्सत्, बजेट महात्म्य स्वाहाः । जदौ !

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 1 भाद्र, 2070

लेखकका अन्य रचनाहरु