सुन्तला चोर

- परशु श्रेष्ठ

एउटा तेह्र—चौध वर्षको केटोले सकी नसकी पाइडल घुमाउदै ठेला गुडाउँदै ल्यायो । ठेलामा तीनवटा ठूल्ठूला राता सुन्तलाहरmले भरिएको प्लाष्टिकका बास्केट थिए ।अर्को अलिक ठूलो केटो ठेलाको पछाडि बसेकोे थियो । शायद उनीहरु सुन्तला बेच्न कतै लैजाँदै थिए ।
नजिकैको ट्राफिक प्रहरीे कार्यालयको गेट खोलेर तीन युवा बाहिर आए । उनीहरुको लुगा र कपालको ढाँचा हेर्दा ती अपेक्षाकृत भलाद्मी थिएनन् । एउटा निदाइरहेको जस्तो गरी हिंड्दै थियो । कपाल लामो पालेर बाटेको, भुँडी भ्यात्त अगाडि निस्केको, टिनिक्क कसिएको टि—सर्ट र जिन्स लगाएको त्यो युवकको भुक्क फुलेको अनुहार हेर्दा भर्खरै गाँजा तानेर बाहिर निस्किएको गजँडी जस्तो देखिन्थ्यो ।
अर्को युवकले आफ्नो झ्याप्ले कपाल हेयरजेल लगाएर ठाडो पारेको थियो । जिङ्रिङ्ग परेको उसको लामो कपाल र कम्मरबाट खस्न लागेको उसको जिन्स पाइन्टले उ सरल जीवनशैलीको प्रतीक होइन भन्ने स्पष्ट देखिन्थ्यो । तेस्रो युवकले दुबै कानमा कुण्डल लगाएको थियो । लेदरको जस्तो देखिने खैरो ज्याकेट लगाएको उ पनि असामान्य नै देखिन्थ्यो ।
ती तीनै जना सडक पार गरेर एउटा होटलतिर लाग्दै गर्दा त्यो सुन्तला बोकेको ठेला उनीहरुको अघिल्तिरबाट गयो । तीनै जनाले लोभिएर त्यसलाई हेरे । अनि एक्कासी “ओइ रोक्” भनेर कराए । रिक्शा तान्ने केटोले सुनेको नसुन्यै गरेर रिक्शा अगाडि बढाइरह्यो । तर रिक्शा चालकले आफूभन्दा ठूलो भारी तान्नु परेकोले होला उसको गति एउटा सामान्य मानिस हिंडेको भन्दा अलिकति मात्र चाँडो थियो । त्यसैले ज्याकेट लगाएको चाहिँ युवकले दौडिएर गई चारवटा सुन्तला टिप्न भ्यायो । रिक्शा अगाडि बढ्यो । न त रिक्शा चालकले कुनै प्रतिक्रिया जनाउन सक्यो, न रिक्शामाथि बसेको केटोले । विजयी मुस्कानका साथमा त्यो युवक हातमा सुन्तला लिएर हिंड्दै आयो ।
सडक छेउमा अघि देखि नै एकजना जनपद र अर्का ट्राफिक प्रहरी सवारी साधनहरmको गतिविधि नियाल्न उभिइरहेका थिए । तर उनीहरुको आँखै अघिल्तिर कसैको सुन्तला चोरिंदा पनि उनीहरु मूर्तिवत् उभिएर हेरिरहे । नदेखे झैं गरेर ।
सुन्तला टिपेर युवक हाँस्दै आयो । र, उनीहरुलाई पनि एउटा “अफर” गर्यो । भुँडे प्रहरीले च्याप्प सुन्तला समात्यो र मुसुक्क हाँस्यो । शायद चोरले आफूलाई सम्मान प्रकट गरेकोमा उसको मन प्रशन्न भयो । त्यो युवक त्यहाँबाट आयो र आफ्ना साथीहरुलाई एक—एक वटा सुन्तला दियो । उनीहरु सबै सुन्तला छोडाएर खाँदै बाटो पार गरेर एउटा होटलमा पसे । ती दुई प्रहरीहरु पनि सुन्तला छोडाएर खाँदै पूर्ववत् आफ्नो ड्यूटीमा खटिरहे ।

इटहरी ५, सुनसरी

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 26 श्रावण, 2070

लेखकका अन्य रचनाहरु