कवि तुलसी दिवस व्यक्ति र बिचार

- बसन्त श्रेष्ठ

"हुल हुलमा बाँडिएर सडकमा कुद्ने
यी आवाजका भुई कुहिरोहरु
आकाशको कुन अज्ञात कुन दिशा तिर घुंडा माथि उडिरहेछन
ध्यानमग्न भै फेरी पनि आफ्नो कोठामा सोचिरहेछु
एकता, स्थिरता र मेल मिलापको बिषयमा
सहमति,शान्ति र संविधानको बिषयमा
यसरि सोच्दा सोच्दै आफ्नै आवाज पनि फुत्त निस्केर
आवाजहरुकै बाढीमा मिसिएर बगेको देखिरहेछु
र स्वयम्
म पनि आवाजहीन आवाज भएर बगिरहेछु |"
( आवाज, नदि र म )

म सानो छदाँ धेरै सुनेको नाम, ठुलो हुँदा धेरै पढेको नाम अनि लेख्न थाले पछी उ जस्तै बन्छु भन्ने चाहनाको नाम हो - कबि तुलसी दिवस

नेपाली साहित्यको कविता क्षेत्रमा सुन्दर र सरल भाषामा, राम्रो र मिठो शैलीमा अनि निर्भिक र स्पष्टका साथ कविता अभिव्यक्त गर्ने विशिष्ट मानक ( खुबी) भएका कविको नाम हो - तुलसी दिवस

नेपाली साहित्यको भाषालाई लोक भाषा संग सम्बन्ध गराउन र लोक संस्कृति लाई आम जन जीबन संग सम्बन्ध गराउनको लागि अथक र निरन्तर प्रयासरत रहने लोक सांस्कृतिक यात्रीको नाम हो - तुलसी दिवस

जिन्दगी रंगीन सपनाहरुको समुह मात्र होइन | काँडा हरु छन् दुख कष्ट हरु छन् | यथार्थ स्वीकार गरेको खण्डमा जिन्दगी सन्तोष संग भोग्न र अघि बढ्न सकिन्छ भन्ने जिन्दगी प्रति यो मान्यता राख्नु हुने कबि तुलसी दिवसको जन्म कोशी अंचलको धनकुटा बजारमा सन् १९४१ मा भएको हो | बुबा मह प्रसाद जोशी र मुमा चण्डिका जोशीको पहिलो सन्तानको रुपमा तुलसी रोप्ने दिन जन्म भएको कारणले वहाको जन्मको नाम तुलसी प्रसाद जोशी राखिएको हो | तर जिन्दगी लाई परिभाषित गर्दा वहाँ भन्ने गर्नु हुन्छ जिन्दगी जसरि बाचिन्छ त्यो बढी रहेछ, सोच्नु भन्दा भोग्नु बढी रहेछ, सोचेको भन्दा नसोचेको, भोगेको भन्दा बढी नभोगेको, खोजेको भन्दा नखोजेको, योजना भन्दा योजना भित्र नपरेको बढी देखिन्छ जिन्दगी | जस्तै प्रतिकुल परिस्थितिमा पनि जीबनलाई उत्सब र दिवसको रुपमा भोग्ने लक्ष्य लाई आत्मसात गर्नु हुने कबि दिवसले आफ्नो नाममा पनि दिवस थप्नुभै तुलसी दिवसको नाम बाट नेपाली साहित्यिक तथा सांस्कृतिक क्षेत्र बाट देश / बिदेशमा प्रख्यात बन्न पुग्नु भयो |

त्रिभुबन बिश्व बिद्यालय बाट सन् १९७० मा एम ए गर्नु भएका वहाले सन् १९७४ र १९७८ मा लोक संस्कृति बिषयमा अमेरिकाको इष्ट वेस्ट सेन्टर, हवाई राज्य बाट र सन् १९७६/१९७७ र १९९६ मा जापानको टोकियो बिश्व बिद्यालय बाट लोक साहित्य र संस्कृति सम्बन्धमा उच्च क्षिक्षा हासिल गर्नु भएको हो | त्यसरी नै वहाँले गाकुसुमन बिश्व बिद्यालय टोकियो जापान बाट लोक बार्ता शास्त्रमा पोष्ट ग्राजुएट डिप्लोमाको शिक्षा पनि हासिल गर्नु भएको छ |

एक्काइस बर्षको कलिलो उमेरमा नै धनकुटा बजारमा धनकुटा सांस्कृतिक प्रतिष्ठानको स्थापना गरि संस्थापक अध्यक्ष बन्न पुग्नु भएका कबि दिवसले चौबिस बर्षको उमेर देखि नै धनकुटा कलेज, त्रि चन्द्र कलेज, पद्मकन्या कलेज र त्रिभुबन बिश्व बिद्यालयमा लोक साहित्य सम्बन्धि प्राध्यापन शुरु गरिसक्नु भएको थियो |

कविता उत्कृष्ट बन्नको लागि बिषयको पकड, बिम्बहरुको उत्कृष्ट समायोजन र प्रस्तुति हुनुपर्छ | त्यस्तै मानवीय समबेदना र अनुभूतिलाई प्राथमिकता दिइएर मात्र दर्शन र बिचारमा बिबिधता ल्याइयो भने कविता राम्रो र उत्कृष्ट बन्छ भन्नु हुने कबि दिवसको "हिर्दयको बालक" भन्ने कविता सन् १९६२ मा रचना साहित्यिक पत्रिकाको पहिलो अंकमा पहिलो पृष्ठमा प्रकाशित भएपछी वहांको साहित्यिक लोकप्रियता र चर्चाले शिखर चुमेको थियो | साहित्य र लोक संस्कृतिमा दिनु भएको वहाँको ठुलो देन ले गर्दा नै वहाँ नेपालको साहित्यीक गरिमामय संस्था नेपाल प्रज्ञा प्रतिष्ठानमा २९ बर्षको उमेरमा नै सदश्य मनोनित भै प्राज्ञ बन्न सफल हुनुभएको थियो | वहाको नेपाली साहित्य र लोकबार्ता संस्कृति प्रतिको अध्ययन, अन्वेषण र आफ्नो कार्य कुशलता ले गर्दा वहाँ नेपाल प्रज्ञा प्रतिष्ठानको सन् १९७४ देखि १९७८ सम्म दुई पटक सदश्य र १९९६ देखि आजीवन सदश्यमा मनोनित हुनु भएको हो | वहाँका कविता, लेख र लोक संस्कृति सम्बन्धी थुप्रै लेख र पुस्तकहरु प्रकाशित र आनुबादित पनि भएका छन् | तर समयको अभावको कारणले सबै उल्लेख गर्न असमर्थ भएकोले यहाँ केहि मात्र उल्लेख गर्न चाहन्छु | वहाँका प्रकाशित कृतिहरुमा १९७५ मा "नेपाली लोक कथा", १९७६ मा "नेपाली लोक कथा केहि अध्ययन", १९७८ मा " धिमाल प्रदर्शनकारी लोक संस्कृति", १९८३ मा धिमाल लोक धर्म र संस्कृति, १९८४ मा नेपाल प्रज्ञा प्रतिष्ठान बाट प्रकाशित "तुलसी दिवसका कविता", १९९२ मा भारतबाट अंग्रेजीमा Folk tales from Nepal र १९९७ मा भारतीय प्रकाशन न्यू देल्ही बाट "तुलसी दिवसकि कबिताएँ" प्रकाशित भएका छन् | त्यसको साथै वहाँका थुप्रै लेख रचना र कविताहरु बिभिन्न देशका प्रतिनिधि मुलुकहरु बाट २५ वटा अन्तराष्ट्रिय भाषामा अनुवादित भै प्रकाशित भएका छन् | वहांले प्रज्ञा प्रतिष्ठान बाट प्रकाशन भएको seven poets कृतिको सम्पादन पनि गर्नु भएकोछ |

अक्सफोर्ड बिश्व बिध्यालयका John Stall worthy ले भनेका छन् " A poem is a composition written for performance by the human voice". त्यसरीनै कबि तुलसी दिवस ले अब को कविताले मुलत स्वरबद्ध / तरंगित र दृष्यांकन (vocal / vibrant र visualize) भएको हुनु पर्ने तर्फ औंल्याउदै भन्नु हुन्छ "अब को कविता लिपिबद्ध मात्र नभएर ध्वनिमा उचारित भएर ध्वनिमा मन्त्रोचारण झैं तरँग बनेर कानमा ठोकिन आईपुग्नुपर्छ | कविताले तरँग उत्पादन गर्नु पर्छ" |

हिंउ ओढेर पर्बत हिमालय भएको छु
हिंउ फुकालेर हिमालय फेरी पर्बत भएको छुं
मेरो हिमालय हुनु र पर्बत हुनु
केवल हिउँ ओढ्नु र हिउँ फुकाल्नु मात्र भएको छ |
यसरि कहिले पर्बत र कहिले हिमालय भएर
अचेल किन हो म धेरै जसो कवितामा
कहिले हिमालय र कहिले पर्बत
बढी सोच्न थालेको छुं | ( कविता - हिउँ र पर्बत)

"साहित्यको जीबन र समाज संग घनिष्ठ सम्बन्ध रहन्छ | साहित्यले समाजको परम्पराको निर्बाह भन्दा परम्परा लाई अगाडी बढाउने काम मात्र गर्दैन परम्परा तोडेर नया आयाम, नया क्षितिज र नया क्षेत्रको उद्घाटन गर्ने बढी काम गर्दछ | यदि त्यसो गरेन भने साहित्य पछाडी पर्दछ |" भनेर आफ्नो बिचार राख्नु हुने कबि दिवस १९८२ मा सिर्जनशिल लेखक समाजको संस्थापक अध्यक्ष, १९८७ देखि १९९१ सम्म भारत को सांस्कृतिक काउन्सिलर, १९९५ मा नेपाली लोकबार्ता तथा संस्कृति समाजको संस्थापक अध्यक्ष, १९९९मा International committee of world congress of Poets, USA अमेरिका को सदश्य, १९९९मा फिनल्याण्डको दुताबासमा संस्कृति सल्लाहकार, २००५ मा नेपाली लोक साहित्य तथा लोकजीबन आयोजनाका सभापति तथा कार्यकारी निर्देशक अनी २०१२ मा राष्ट्रिय मानब जीबन संग्राहलयमा सलाहकार बनेर आफ्नो कार्यकुशलता र कार्यक्षमता प्रदर्शन गरि सक्नु भएको छ | जापान, कोरिया आदिका बिश्व बिद्यालयमा भिजिटिंग प्रोफेसर रही सक्नु भएका उहाँ प्रष्ट तथा निर्भिक बक्ताको रुपमा पनि परिचित हुनुहुन्छ |
त्यसरी नै वहाँले नेपालको बिभिन्न भूभागमा रहेका बिभिन्न जात जातिका जस्तै धिमाल, गोपाली, गान्धर्ब, थारु, दनुवार, आठपहरिया र मेचे जातिका रहन सहन र उनका जन जीबन माथि बनेको दृश्य चित्र ( documentary) को लेखन तथा निर्देशन गरेर प्रचार प्रसार पनि गर्नु भएको छ |

श्रष्टा र सिर्जनाको सम्बन्धमा कबि दिवस भन्नु हुन्छ "श्रष्टा लाई हेर्ने दृष्टिकोण अब फेरिनु पर्छ | श्रष्टा संधै असहाय र सहानुभूतिको पात्र मात्र बन्न सक्दैन | श्रष्टा अँधेरो मै बिउझन्छन् श्रष्टा ब्युँझन लाई भाले बासिरहनु पर्दैन | श्रष्टाले समाजलाई चेतनाको प्रबाह गर्ने गर्दछ | जति हामी सिर्जना लाई महत्व दिन्छौ त्यति नै हामीले श्रष्टा लाई पनि महत्व दिनु पर्दछ | श्रष्टा जीवित सास्कृतिक सम्पदा हुन् | श्रष्टा लाई संरक्षण गरिएन भने सिर्जना नै हुदैन |"

जीबनमा थुप्रै राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्मान, पुरस्कार र विभूषणबाट सुशोभन भैसक्नु भएका कबि तुलसी दिवस यसै बर्षको गत मार्च महिनामा भारतको अन्तराष्ट्रिय साहित्यिक पुरस्कारको रुपमा "साहित्य शिरोमणि"को पद बाट विभूषित हुनुभएको छ | त्यसको लागि म वहाँ लाई हार्दिक बधाई ज्ञापन पनि गर्न चाहन्छु | वहाँले प्राप्त गर्नु भएका केहि महत्वपूर्ण पुरस्कारहरुको नाम लिनुपर्दा सन् १९६१ मा कवितामा उत्कृष्ट तथा सुबर्ण पदक, १९६२ मा लोकगीतमा स्वर्ण पदक, १९६४ मा लोक नृत्यमा सुबर्ण पदक, लोक संस्कृति साझा पुरस्कार, १९८३ मा सुप्रबल गोरखा दक्षिण बाहु पुरस्कार, १९८८ मा न्यु देल्ही, भारतमा दिनकर अन्तराष्ट्रिय साहित्य पुरस्कार, १९८९ मा मद्रास, भारतमा सर्बश्रेष्ठ अन्तराष्ट्रिय कबि पुरस्कार बाट पुरस्कृत, सम्मानित तथा विभूषित भैसक्नु भएको छ | त्यसरी नै सन् १९६८ साल देखि त्रिभुबन बिश्व बिद्यालयमा लोकगीत, लोकबाजा र लोक संगीत तथा नृत्य शिक्षाको औपचारिक रुपमा अध्ययनगर्नको लागि पाठ्यक्रममा समाबेश गराई अध्यापनको शुरुवात वहाँ ले नै गर्नु भएको हो | यसै बिषयको पढाई त्रिभुवन बिश्व विद्यालयको स्नातकोत्तर तहमा सन् १९७१ साल देखि शुरु भएको हो |

हिड्दा हिड्दै मोडमा
हिडेको बाटोनै मोडिए पछी
हिड्नेको पनि केहि लाग्दो रहेनछ|

तेर्सिदा तेर्सिदै तेर्सोमा
तेर्सिएको बाटोनै उक्ले पछी
तेर्सिनेको पनि केहि लाग्दो रहेनछ |

उक्लदा उक्लदै उकालोमा
उक्लेको बाटोनै ओर्लिए पछी
उक्लनेको पनि केहि लाग्दो रहेनछ |

ओर्लदा ओर्लदै फेरी
ओर्लेको बाटो नै उक्ले पछी
ओर्लनेको पनि केहि लाग्दो रहेनछ |

हिड्दा हिड्दै मोडमा
हिडेको बाटो नै मोडिए पछी
हिड्नेको पनि केहि लाग्दो रहेनछ |

यो सुन्दर कविता कबि तथा लोकसंस्कृतिका अन्वेषक तुलसी दिवसका हुन |

भर्जिनिया, अमेरिका

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 17 श्रावण, 2070

लेखकका अन्य रचनाहरु