मोदनाथ प्रश्रितको जीवन र सिर्जनाका बीचको अन्तर सम्बन्ध

- डा. यदु नन्दन उपाध्याय

१. विषय प्रवेश
कुनै पनि व्यक्तिको सिर्जनामा उसले बाँचेको आर्थिक, सामाजिक परिवेशका साथै राजनीतिक, पारिवारिक, शैक्षिक आदि क्रियाकलापको पनि भूमिका रहेको हुन्छ । समाजको आर्थिक उत्पादन प्रक्रियालाई मूल आधार मानेर विचारलाई त्यसकै जगमा उभिएको अधिरचना मानिन्छ (माक्र्स र एङ्गेल्स, २०६३ ः ३९) र सिर्जनामा स्रष्टाको विचार कलामय बनेर अभिव्यक्त हुन्छ । विचार आर्थिक जगमा उभिएको भए पनि त्यसको निर्माणमा सामाजिक, राजनीतिक, पारिवारिक परिस्थितिका साथै व्यक्तिका निजी स्वभाव र प्रवृत्तिको पनि पारस्परिक भूमिका रहेको हुन्छ । यस कारण साहित्यमा अभिव्यक्त विचार र त्यसको सांस्कृतिक मूल्य व्यक्तिको आफ्नो मात्र देन नभई समाज वा वर्गको देन पनि मानिन्छ (मुक्तिबोध, सन् १९९३ ः १४) । प्रगतिवादी साहित्यकार मोदनाथ प्रश्रितको सिर्जनात्मक विचार निर्माणको सन्दर्भ बुझ्न पनि उनैले बाँचेको र भोगेको आर्थिक, सामाजिक, राजनैतिक, शैक्षिक एवं पारिवारिक परिवेशलाई बुझ्नु पर्ने हुन्छ र ती सबै पक्षबारे जानकारी राख्नु आवश्यक देखिन्छ । यसैले प्रश्रितको साहित्य सिर्जनामा उत्प्रेरकको भूमिका खेल्ने उपर्युक्त विविध पक्षबारे प्रकाश पारी उनको सिर्जनाले प्रदान गरेको सामाजिक योगदानबारे पनि यस लेखमा प्रकाश पारिएको छ ।
२. प्रश्रितका जीवनका पक्षहरू
मोदनाथ प्रश्रितको जीवनमा उनले बाँचेको पारिवारिक एवं सामाजिक पक्षका साथै घरायसी आर्थिक स्थिति र शैक्षिक परिवेशको पनि महत्त्वपूर्ण भूमिका रहेको छ । विशेष गरी घरायसी र पाठशालाको धार्मिक परिवेशका साथै तत्कालीन समाजमा व्याप्त अन्ध संस्कार, राजनीतिक घटनाक्रम अनि कतिपय व्यक्तिसँगका कुराकानीका पक्षले पनि प्रश्रितको जीवन र सिर्जनालाई प्रभावित पारेका छन् । प्रस्तुत सन्दर्भमा प्रश्रितको जीवन र सिर्जनामा प्रमुख भूमिका खेल्ने सामाजिक, आर्थिक शैक्षिक एवं राजनीतिक पक्षबारे प्रकाश पारिएको छ ।
२.१ जन्म तथा नामकरण
मोदनाथ प्रश्रितको जन्म वि.स. १९९९ असार ६ गते अर्घाखाँची जिल्लाको खिदिम, हर्राबोट गाउँ विकास समिति वडा न. ६ मा पिता पण्डित घनश्याम पौडेल तथा माता बालिका देवी पौडेलका उनको जन्ममिति सम्बन्धमा असार ६ र ७ गते भनी फरक–फरक उल्लेख गरिएको भए पनि प्रश्रितले दिएको जानकारी अनुसार असार ६ गते शनिवारका दिन भएको हो । १२ वर्षको उमेरमा पौडेल थरका सट्टा अरूले पनि उपनाम राख्ने गरेका कारण तथा आफ्नो विनयशीलता झल्काउने उद्देश्यले पनि ‘प्रश्रित’ उपनामले चिनिन थालेका (प्रश्रित, २०१५ ः वक्तव्य) उनी मोदनाथ प्रश्रितका नामबाटै ख्यातिप्राप्त छन् । उनकै जानकारी अनुसार राजनीतिक गतिविधिमा सक्रिय हुँदा प्रश्रित राजेन्द्र थापा, सुदर्शन, सुदर्शन सार्की, राम बहादुर, राम बहादुर श्रेष्ठ, हिमाली, डाँफे हिमाली, मदन पौडेल, मदन कार्की, ज्यामी, असीम, अशनि, अरुण जस्ता उपनामले चिनिएका छन् । तिन वटी छोरीको विवाह गरि सकेका उनले आफ्नी आमा सहित पत्नी कविता पौडेल र एक एक छोरा बुहारी र तिन नाति नातिनाका साथ सुखद पारिवारिक जीवन निर्वाह गरि रहेका छन् ।
२.२ प्रश्रितको जीवनसँग सम्बद्ध आर्थिक एवं सामाजिक पक्ष
मोदनाथ प्रश्रितको सिर्जनामा तत्तत्कालीन नेपाली समाजमा विद्यमान सामाजिक आर्थिक पक्षका साथै उनको पारिवारिक एवं आर्थिक अवस्थाले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ । प्रश्रितको जन्म (वि.स.१९९९) देखि आजसम्मकै नेपाली समाजमा चेतना निर्माणका स्तरमा केही परिवर्तन भए पनि अन्ध विश्वास, जातीय भेदभाव, नारी असमानता आदि पक्षमा अनेकौँ सामन्ती संस्कार विद्यमान छन् । २००७ सालमा भएको परिवर्तनले ल्याएको खुलापन एवं शैक्षिक जागरणले जनताको चेतनामा केही परिवर्तन गरे पनि शताब्दीयौँदेखिको सामन्ती संस्कारले गाँजेको समग्र नेपाली समाजमा ठुला परिवर्तनको अपेक्षा गर्नु सम्भव पनि थिएन । यस क्रममा २०१६ सालमा नेपाली काँगे्रसले थालेका बिर्ताप्रथा र राजा रजौटा हटाउने परिवर्तकारी कार्यक्रमलाई तत्कालीन दरबारिया पुनरुत्थानवादी तत्त्व र यथास्थितिवादी शक्तिले विरोध गरी पूर्णतामा पु¥याउन दिएनन् (कार्की, २०६५क ः १५९) । त्यस्तै निरङ्कुश पञ्चायतलाई सुधारवादी देखाउन नयाँ मुलुकी ऐन (२०२०) मा बहु विवाह, बाल विवाह, छुवाछुत लगायतका सामाजिक कुरीतिहरू हटाउने भनी ल्याइएका कार्यक्रमहरू पनि स्वयं तत्कालीन राजा महेन्द्रले नै सुधारका नाममा समाजमा खलबली पैदा गराउनु हुँदैन भनी कार्यान्वयनमा लैजान दिएनन् (श्रेष्ठ, २०५३ ः २१५) । यस कारण शोषणमूलक समाजको अन्त्यको नारा दिएर जनतालाई झुक्याउन खेलिएका पञ्चायती खेलले नेपाली सामाजिक र आर्थिक क्षेत्रमा कुनै सकारात्मक परिणाम दिने कुरै भएन । यो स्थिति पञ्चायत कालभरि मात्र होइन सामाजिक चेतनामा युगान्तकारी परिवर्तन ल्याउन सक्ने २०४६ र २०६२ ६३ सालका परिवर्तनपछि पनि हट्न सकेका छैनन् । यी कुरा संविधानमा लेखेर वा कानुन बनाएर मात्र पुरा हुने नभई मान्छेका जीवन व्यवहारमा रूपान्तरण नगरी नहुने कुरा हुन् र त्यस क्षेत्रमा अझै व्यापक परिवर्तन हुनु पर्ने देखिन्छ ।
देशको सामाजिक, आर्थिक अवस्थाकै उपर्युक्त सापेक्षतामा मोदनाथ प्रश्रितले देखे भोगेको परिस्थिति पनि त्यति भिन्न छैन । अझ प्रश्रितको गाउँ स्थानीय गौतमहरूको बिर्ता अन्तर्गत पर्ने तथा बिर्तावाल गौतमका सामन्ती प्रथाबाट ग्रस्त रहेकाले उनले ती प्रथाबारे राम्रै परिचित हुन पाएका थिए । उनले गौतमकहाँ त्यहाँका रैतीहरूले ओलक (कोसेली) पु¥याउने गरेको, बिर्तावाललाई मन परेका वस्तुहरू बुझाउनु परेको, बेठी, बेगारीका रूपमा आफ्ना घरको महत्त्वपूर्ण काम छोडेर पनि बिर्तावालका घरायसी काममा जानु परेको तथा बिर्तावालका विरुद्ध कुनै काम गरे कडा सजाय भोग्नु परेको सुनेका र आफ्नै आँखाले देखेका समेत थिए (प्रश्रित, २०५८घ ः १२७–३३) । समाजका यी घटनाले प्रश्रितमा त्यतिखेर खासै प्रभाव नदेखाए पनि पछिको सिर्जनात्मक कार्य र वैज्ञानिक विचारका निम्ति उत्पे्ररणाको काम गरेका छन् । प्रश्रितको आफ्नै विवाह पनि गौतम खलककै दुर्गा प्रसाद गौतमकी छोरी रामप्यारी (पछि कविता) सँग भएको थियो र त्यस क्रममा भएका सामन्ती संस्कारगत व्यवधानका कुरा पनि उनले जानेकै थिए । त्यति मात्र होइन हरिहर गौतमले बर्दियाको आफ्नो बिर्तामा काम गर्ने र कामले जाने पाहुना समेतमा गर्ने विभेद तथा अन्याय, अत्याचार आदि कुरा आफै गएर हेरेका र सुनेका पनि थिए । उनले त्यहाँको सामन्ती गतिविधिबारे यसो भनेका छन् ः
...त्यहाँ पिट्दापिट्दै अनेकौँ मान्छे मारिन्छन् र खाल्टामा पुरिन्छन् । जमिन्दारका घरभित्र मान्छे थुन्ने र भोकभोकै मार्ने छुट्टै कोठा पनि हुन्छन् र त्यहाँभित्रै मान्छे पुर्ने कुवाहरू पनि हुन्छन् । तर सरकारको आँखा त्यहाँ पुग्दैन । यो सुनेर म झन् विचलित भएँ कि – अंशबण्डामा आफू ठगिएको कुरा उठाउँदा मेरा ससुरा दुर्गा प्रसाद गौतमले पनि त्यहींँ ज्यान गुमाउनु परेको थियो (प्रश्रित, २०५८घ ः १९९) ।
मोदनाथ प्रश्रितले रचना गरेको मानव महाकाव्यको गजानन र उसका कतिपय कार्यमा त्यस्ता घटनाको प्रभाव देख्न सकिन्छ । २०२८ सालमा प्रश्रित सहित सहलेखन गरिएको पचास रुपियाँको तमसुक मा पनि नेपाली समाजमा परिश्रमी गरिबहरू उच्च वर्गका जमिनदार र साहु महाजनबाट कसरी शोषणमा परेका छन् भन्ने कुराको यथार्थ चित्र प्रस्तुत गरिएको छ । उनले २०२७ सालमा रचेको देवासुर सङ्ग्राममा पनि सामन्तवादी सामाजिक आर्थिक संरचनालाई जोगाइ राख्न तिनका पक्षधर व्यक्ति र संस्थाहरूले के कस्ता जाल कसरी रचेका हुन्छन् भन्ने कुराको ऐतिहासिक कारण प्रस्तुत गरिएको छ । त्यति मात्र होइन त्यस अवधिका उनका अन्य कविता एवं गीतहरूमा पनि सामाजिक, आर्थिक असमानता, जातीय भेदभाव, अन्ध विश्वास लगायतका प्रचलन र परम्पराको विरोध गरिएको देखिन्छ । यस प्रकारका कवितामा “हाम्रो पानी”, “कहिले देख्न पाउँला”, “परदेशीको पत्र”, “छोरो जन्मदा”, “म ससुराल जान्न”, “हामीलाई छुट छ काली पाप गर्ने” आदि मुख्य छन् । नेपाली समाजको अन्धतालाई देखेर नै प्रश्रितले लेखेको भूतप्रेतको कथा पुस्तकको अध्ययनले समाजमा जरो गाडेर बसेका भूतप्रेत, तन्त्रमन्त्र, टुनामुना, ग्रहदशा जस्ता मध्य युगीन अन्ध विश्वास र कुसंस्कारबाट नेपाली समाजलाई मुक्त गर्न सहयोग गर्नेछ (बज्राचार्य, २०६८ ः ३२६) । यसबाट प्रश्रितको व्यक्तिगत जीवन उनको सिर्जनात्मक जीवनका निम्ति उत्प्रेरक बनेको प्रस्ट हुन्छ ।
मोदनाथ प्रश्रितको बाल किशोर कालीन घरायसी आर्थिक अवस्था पनि जसोतसो गरी गुजारा हुने खालको मात्र थियो । घरको खेतबारीबाट मुस्किलले छ सात महिना मात्र चल्ने हुनाले पेटभरि खाने कुरामा पनि समस्या थियो (पौडेल, २०५९ ः २७) भने बाबा घनश्याम पौडेलले हरिहर संस्कृत पाठशालामा अध्यापन गरेर हुने आयका साथै गाउँघरमा हुने पण्डित्याइँबाट भएको कमाइले घरखर्च चलाउनु पथ्र्याे । प्रश्रितका माहिला पिता रुक्माङ्गदको यदाकदा हुने पण्डित्याइँको कमाइले पनि घरखर्चलाई सघाउँथ्यो । आफूले लामो समयसम्म पढाएर पनि घरको आर्थिक स्थितिमा कुनै सुधार नभएपछि आर्थिक सहयोगको आशा राखी घनश्याम पौडेलले पद्यमा निवेदन लेखी विद्यालयका सञ्चालक हरिहर गौतम समक्ष चढाएका थिए । सो निवेदनबाट प्राप्त डाँडा कटेरीको पर्ती जमिन खनजोत गरी घर समेत बनाएको अवस्थामा नेपाली काँग्रेसले सञ्चालन गरेको बिर्ताप्रथा विरोधी आन्दोलनमा घनश्याम लागेको भन्ने थाहा पाई खोसिएको थियो । त्यसपछि पुनः पुरानै घरलाई मुटु चिरे झैँ बिचबाट बाँडेर बस्नु परेको तितो यथार्थ पनि प्रश्रितको संस्मरणमा अभिव्यक्त भएको पाइन्छ (प्रश्रित, २०५८घ ः १७२) । यसबारे प्रश्रितकै त्यसै पाठशालाका सहपाठी विष्णुराज आत्रेयको विचार यस्तो छ ः
विशेषतः हरिहर पाठशालामा पढाउने दधिराम मरासिनी तथा धनञ्जय मरासिनीको सम्पन्न जीवन तथा अझ राम्रो गरी पढाउने आफ्ना पिता घनश्याम पौडेलको विपन्न जीवनको मूल कारण पनि सामन्ती संस्कार र समाजको आर्थिक असमानता नै हो भन्ने बुझेका प्रश्रितले पछि आफ्ना कवितामा त्यसै विभेदका विरुद्ध तिखो अभिव्यक्ति प्रस्तुत गरेका छन् । अझ २०२४ सालपछि माक्र्सवादी विचारधारातर्फ आकर्षित भएका प्रश्रितलाई उपर्युक्त आर्थिक विभेदको पीडालाई व्यक्त गर्ने सैद्धान्तिक आधार नै प्राप्त हुन्छ । मानव तथा देवासुर सङ्ग्राम त्यही आफूले भोग्नु परेका विभेदको अभिव्यक्ति हो (विष्णुराज आत्रेयबाट २०६७ मा प्राप्त जानकारी) ।
प्रश्रितको बाल्यावस्थाले भोगेका यस्ता सामन्ती क्रियाकलापका अनुभवले त्यसता विकृति विरुद्धको विचार निर्माण गर्न तथा तिनलाई सिर्जनात्मक कार्यमा उपयोग गर्ने उत्प्रेरण मिलेको पाइन्छ । प्रश्रितका कविताहरूका साथै अन्य रचनामा नेपाली समाजको आर्थिक विभेदको जुन चित्र छ त्यसमा उनको यही पारिवारिक एवं सामाजिक अनुभवको उत्प्रेरणा रहेको देखिन्छ ।
मोदनाथ प्रश्रितले २०११ सालमा पिताका मृत्युको दुखदायी परिस्थितिको सामना गरेपछि घरायसी आर्थिक समस्या झन् जटिल बनेको थियो । उनी र भाइ हरिले पाठशालामै खाने बस्ने गरेकाले केही बोझ हल्का भए पनि २०१३ सालमा उनको विवाह भएपछि आर्थिक समस्याका कारण पनि कतिपय पारिवारिक कचिङ्गल उत्पन्न भएका देखिन्छन् । उनले बनारस पढ्न गएका बेला पनि घरबाट आवश्यक खर्च लैजान नसकेका कारण टाढा–टाढा पुगेर अन्धा विद्यार्थीलाई पढाएर खर्च चलाउनु परेको थियो । त्यहाँ खानपिनमा गडबडी भएका कारण विरामी हुनु परेको मार्मिक सन्दर्भ पनि प्रश्रितले उल्लेख गरेका छन् (प्रश्रित, २०५८घ ः २०१) । बनारसको पढाइ पुरा गरी फर्केर लुम्बिनी सन्देश पत्रिकाको सम्पादक, लुम्बिनी कलेजको प्राध्यापक, जनता माध्यमिक विद्यालयको प्रधानाध्यापकका साथै मानव महाकाव्यमा मदन पुरस्कार समेत प्राप्त गरेपछि प्रश्रितका परिवारको आर्थिक स्थितिमा सुधार आउन थाले पनि वाम राजनीतिमा सक्रिय र भूमिगत भएपछि पुनः अप्ठेरो स्थिति उत्पन्न भएको थियो । यस्ता घरायसी आर्थिक समस्याको कठोर अनुभवले प्रश्रितको मानसिकतामा आर्थिक अभावको समस्याले छटपटिने सामाजिक अनुभवको बोध गराउने काम पनि ग¥यो । यसो भए पनि पारिवारिक सन्दर्भमा घरको आर्थिक चाँजोपाँजो आमा र श्रीमतीले नै सञ्चालन गरेकाले उनी आफ्नो राजनैतिक काममै व्यस्त हुन पाएका देखिन्छन् । यसै क्रममा प्रश्रितको पारिवारिक बसाइ २०३५ सालयता कपिलवस्तुको थरौली, गुगौली, गैरा हुँदै रुपन्देहीको भैरहवा र २०४२ पछि पोखरभिंडवामा सर्छ (पौडेल, २०५९ ः १५२) । प्रश्रित २०४९ सालदेखि आफ्नो परिवार सहित काठमाडौंको स्वयम्भू हुँदै अहिले थानकोट, वाणस्थलीमा सामान्यतया सुविधायुक्त जीवन व्यतीत गरि रहेका देखिन्छन् ।
मोदनाथ प्रश्रितको जीवन भोगाइ अनेकौँ उकाली–ओराली अनि समस्या र चुनौतीहरूले भरिपूर्ण रहेको छ । यस क्रममा पत्नी कविताको भरोसापूर्ण र समानान्तर सहकारितामा उक्त बसाइँ सरेका ठाउँहरूमा कठोर तरिकाले रातदिन मेहेनत गरेर घर बनाउने, तराईको बसाइका क्रममा कहिले डाँका र कहिले राजनीतिक कारणले प्रहरीसँग लुकामारी खेल्ने, कहिले टुकटुके मिल चलाएर गुजारा चलाउने, कहिले पसल राखेर आर्थिक जोहो गर्ने गरी निकै कष्ट, हन्डर र ठक्कर खानु परेको छ (पौडेल, २०५९ ः १४७) । करिब दुई दशकयताका पछिल्ला वर्षहरूमा भने प्रश्रित विभिन्न पत्रिकामा स्तम्भ लेख्ने, लेख रचनाहरू प्रकाशित गर्ने, पुस्तकहरू प्रकाशनका साथै पुराना कृतिहरूका आवश्यकता बमोजिमका नयाँ संस्करणहरू प्रकाशित गर्ने कार्यमा जुटेका छन् । आर्थिक सङ्कट र राजनैतिक चुनौतीका साथ झेलिएका कष्ट र भोगिएका ती अनुभवले प्रश्रितलाई नेपाली समाजको अर्ध सामन्ती र अर्ध औपनिवेशिक चरित्रबोध गर्न, सामाजिक, आर्थिक समस्याहरूलाई सूक्ष्मताका साथ महसुस गर्न र परिवर्तनको प्रक्रियालाई गति प्रदान गर्न सजिलो भएको छ । त्यसले उनको वैचारिक परिपक्वता र परिष्कारका निम्ति पनि महत्त्वपूर्ण अनुभव सञ्चयको काम गरेको देखिन्छ र यही अनुभव भण्डार नै उनका ५३ वटा पुस्तकाकार कृति सिर्जनाको आधार पनि बनेको छ ।
मोदनाथ प्रश्रितले विशेष गरी नेपाली ग्रामीण समाजका निम्न वर्गीय जनता, सहरिया मजदुर, सुकुम्बासीका साथै उपेक्षित एवं उत्पीडित समूह, नारी जीवनका सामाजिक, आर्थिक आदि समस्या र असमानताहरूलाई नजिकैबाट महसुस गरी तिनको स्थितिमा परिवर्तनको अपेक्षा राखेका छन् । विशेषतः जीवनका प्रारम्भिक चरणमा देखे भोगेका नेपाली समाजका सामाजिक, आर्थिक एवं सांस्कृतिक विभेदका पक्षहरूको समाधानको बाटो प्रश्रितले चरित्र सुधारमा देखेका थिए । यो कुरा उनका करिब २०१९ भन्दा पहिले रचिएका आमाका आँसु र अन्य कविता एवं गीतहरूमा पाउन सकिन्छ । २०२२ २३ तिरका कवितामा उनी विकृति र विसङ्गतिका आलोचक बनेर प्रस्तुत भएका छन् । उनको मानव महाकाव्य यसको ज्वलन्त उदाहरण हो । त्यसमा प्रश्रितले सामन्तवादी समाजमा हुने आर्थिक तथा श्रम शोषण, जातीय एवं लैङ्गिक विभेद अनि नारीमाथि हुने पुरुष अत्याचारका विरुद्ध आक्रोश व्यक्त गरेका छन् । तर पनि उनमा त्यतिखेर उच्च तहको अध्यात्मवाद (रूढि, अन्धता एवं धामी झाँक्रीमा विश्वास नगर्ने) प्रतिको आसक्ति हटेको देखिन्न (प्रश्रित, २०२२ ः १७–३०) । उनको त्यतिखेरको वैचारिक सङ्क्रमणबारे जीवराज आश्रित (२०५८ ः १२३) यसो भन्छन् –“त्यस कालमा अध्यात्मवादी विचारप्रति उहाँको आस्था टुट्दो र वर्ग निरपेक्ष मानवतावादी विचारप्रति आस्था प्रबल भएको पाइन्छ ।”
मोदनाथ प्रश्रितमा २०२४ सालपछि बिस्तारै माक्र्सवादप्रति झुकाव बढेको देखिन्छ र त्यसपछि उनले सबै प्रकारका विकृतिको समाधानको बाटो द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी मान्यतामा देखेका छन् । उनका देवासुर सङ्ग्राम(२०३१), पचास रुपियाँको तमसुक (२०२८) लगायत नयाँ जनवादी संस्कृति(२०२८) नारी बन्धन र मुक्ति (२०३३), मिल्क्याउनु पर्ने केही सांस्कृतिक आवशेषहरू (२०४२), भूतप्रेतको कथा (२०४१), अतीतका पाइलाहरू, गोलघरको सन्देश, शहीदको रगत, आस्था र प्रथा एक विवेचना, जन संस्कृतिको नयाँ दिशा, जब चल्छ हुरी आदि रचनामा यही प्रवृत्ति प्रकट भएको छ । यसरी नेपाली सामाजिक, सांस्कृतिक एवं आर्थिक अवस्थाका यिनै असङ्गति र बेमेलहरू अनि परिवारिक भोगाइका सङ्घर्षमय आर्थिक परिस्थितिबाट उन्मुक्तिको खोजका क्रममा प्रश्रितमा प्रगतिशील तथा प्रगतिवादी वैचारिक धरातलको निर्माण भएको छ र तिनै पक्षहरू साहित्यिक अभिव्यक्ति मार्फत प्रस्तुत भएका छन् ।
३.१.३ प्रश्रितको जीवनसँग सम्बद्ध शैक्षिक परिवेशगत पक्ष
मोदनाथ प्रश्रितको विचार निर्माणमा उनले शिक्षा हासिल गर्दाखेरिको शैक्षिक परिवेशले पनि अहं भूमिका खेलेको छ । प्रश्रितको अक्षरारम्भ घरमै भएको थियो र पाँच वर्षको कलिलो उमेरमै उनी घरबाट एक कोस टाढा पर्ने पोखराथोकको हरिहर संस्कृत पाठशालामा भित्रिएका थिए (न्यौपाने, २०५४ ः ८) । हरिहर संस्कृत पाठशाला स्थानीय बिर्तावाल हरिहर गौतमको आर्थिक सहयोग तथा संस्कृत र नेपालीका विद्वान् दधिराम मरासिनीको शैक्षिक नेतृत्वमा सञ्चालित थियो । प्रश्रितका बाबा घनश्याम पौडेल त्यसै पाठशालाका अध्यापक थिए भने दधिराम मरासिनी घनश्यामका गुरु हुनुका साथै नाताले ससुरा पर्थे । यसैले आफ्ना बाबा घनश्याम पौडेल र मावली हजुरबा दधिराम मरासिनीको अभिभावकत्व र निकटतामा प्रश्रितको बाल्य कालीन शैक्षिक परिवेश अघि बढेको छ र त्यस निकटताको प्रभाव उनको वैचारिक जीवनमा पनि राम्ररी परेको देखिन्छ ।
मोदनाथ प्रश्रितले पाठशालामा भर्ना भएकोे दुई महिनामै पहिलो किताब पास गरेर पढाइमा आफ्नो क्षमता राम्रो भएको परिचय दिई हरिहर गौतमकी राइली आमाबाट स्याबासी र पुरस्कार समेत पाएका थिए (प्रश्रित, २०५८घ ः १३६) । त्यस पाठशालामा प्रश्रितले संस्कृतका रामायण, चण्डी, वेद र व्याकरणका साथै साहित्यको अध्ययन पनि गरेका थिए । उनलाई साहित्यको पढाइमा सामान्य रुचि लागे पनि त्यहाँका अरू विषयको पढाइमा रुचि लाग्दैनथ्यो र त्यसै कारण बेलाबेलामा पाठशालाको बसाइलाई जेल जस्तो बन्दी जीवन मानी भागेर घरमा पुग्थे (लुइटेल, २०६१ ः ९) । कुरै नबुझी घनघोटी बन्चरोको तरिकाले पाठ मुखाग्र पार्ने त्यहाँको पढाइको शैली र विषय दुवै मन नपरेकै कारण प्रश्रितले सुरुमा राम्रो नतिजा ल्याउन पनि सकेनन् । उक्त पाठशालाको शैक्षिक परिवेश र त्यसबाट विकसित हुन सक्ने चेतनाबारे प्रश्रितको भनाइ यस्तो छ ः
एकादशी र पूर्णिमाजस्ता ब्रतका दिनहरूमा र अघिपछि पनि प्रतिदिन पाँच बजेपछि दर्शन गर्न जाँदा हेडगुरुबाट प्रायः केही न केही प्रवचन सुन्न पाइन्थ्यो । ती प्रवचन शिवभक्ति, एकादशी उपवासको महात्म्य, तुलसी, पीपल, गोपी चन्दन, रुद्राक्ष र विभूतिको महत्त्व, प्रह्लादको भक्ति, वेदको महिमा, सत्य युग र रामराज्यको कथा, गुरु र मातापिताको सेवा, ब्रह्मचर्यको प्रभाव, तीर्थयात्राबाट पाइने पुण्य, स्वर्ग र नरकको वर्णन आदि हुन्थे । तिनमा उस जमानाका हिरण्यकशिपु र रावणदेखि लिएर यस जमानामा अङ्ग्रेजी पढ्ने विद्यार्थी र नास्तिक विचारधाराका युवकसम्मको निन्दा, आलोचना र खण्डन हुन्थ्यो । अनि सात्विक भोजनको महत्त्व, तमोगुण बढाउने चिजबाट हुने हानी, गाई, बाहुन र राजाको प्रशंसा, शूद्र र म्लेच्छहरूप्रति घृणा आदिआदि विषय सामेल हुन्थे । यस्तै यस्ता कुरा सुनेर जेजस्तो दृष्टिकोण बन्न सक्थ्यो त्यस्तै थियो हाम्रो बुद्धि, त्यस्तै थियो सांस्कृतिक चेतना (प्रश्रित, २०५८घ ः १४०) ।
वास्तवमा हरिहर पाठशालामा संस्कृत शिक्षाको उद्देश्य अनुसार शिक्षकहरूले सारा विद्यार्थीहरूमा पनि त्यसै अनुसारको धार्मिक निष्ठा र अनुशासनको आशा राख्थे । त्यसैले त्यहाँ वेदको अध्ययन गर्ने अधिकार बाहुनलाई मात्र हुने, छेत्री र वैश्यले सुन्न सक्ने भए पनि कामी, दमै, सार्की आदि शूद्र भनिएकालाई सुनाउन नहुने मानिन्थ्यो । त्यसैले सुगा रटाइको तरिकाले पढ्दा पढ्दा दिक्क लागेका बेला कामी, दमाई वा सार्की आएको देखी पढ्ने विद्यार्थीहरू एकछिन नपढी बस्न पाइने भयो भनी खुसी हुन्थे । यस्तो परिवेशभित्र पाठशालामा नवीन एवं आधुनिक विचारको प्रवेश सम्भव थिएन । नेपाली काँग्रेसका नेता काशीनाथ गौतम राजनीतिक अभियान सहित आएर राणा शासन र सामन्ती शोषण विरुद्ध भाषण गर्दा प्रश्रितलाई तिनका कुरा ठिक लागे पनि उनी फर्किएपछि गुरुहरूका बिच “काँग्रेस लुटेरा हुन् रे ! यिनीहरूले धर्मकर्म, जातपात केही मान्दैनन्, नयाँ मुलुकमा हरिहरको घर पनि लुटे रे ! हामीले हाम्रो सनातन धर्म जोगाउने हो भने काँग्रेसबाट जोगिनै पर्छ” भन्ने कुराहरू चल्थे । त्यति मात्र होइन “काँग्रेसले गाई खान्छ, बाहुन मान्दैन, संस्कृत विद्यालाई खतम पार्छ र म्लेच्छहरूको राज चलाउँछ” (प्रश्रित, २०५८घ ः १३५–५३) भनी नयाँ विचारप्रति घृणा जगाउने प्रयत्न गर्थे । यसका साथै २००७ सालको राजनीतिक परिवर्तन र देशव्यापी आधुनिक शिक्षाको चहलपहल बढ्ने सन्दर्भमा संस्कृत पाठशालाकै नजिक खोलिएको नयाँ प्राइमरी स्कूलमा चलेका छुवाछुत विरोधी गतिविधिप्रति पनि त्यहाँका गुरुहरू क्रुद्ध थिए । त्यस नयाँ स्कुलका मास्टरहरूले “हामीले जातपातको भेदभाव गर्नुहुन्न, यसले नेपालीको एकता टुटाउँछ, कुनै जात सानाठुला हुँदैनन् ” भनेर समान जीवन पद्धतिका कुरा सिकाउँदा पाठशालाका गुरुहरू अछुतलाई पढाउने कुराका विरुद्ध प्रचार गरी “नशूद्राय मतिं दद्यात््” भनेर मनुस्मृतिले भनेको तथा “स्त्री र शूद्रलाई नपढाउनू” भनेर शास्त्रमा लेखिएको भनी प्रवचन गर्थे । गुरुहरूकै सक्रियतामा ‘सनातन धर्म सङ्घ’ भन्ने संस्था गठन गरी विद्यार्थीहरूलाई ‘सनातन धर्मको जय होस् ’ ‘अधर्मको नाश होस्’ भन्ने नारा लगाउन पनि लगाइन्थ्यो (प्रश्रित, २०५८घ ः १८८) । यस्तो परिवेशको पाठशालामा पढ्दाताक प्रश्रित लगायतका साथीहरू आफ्ना भविष्यका बारेमा यस्ता कुराको परिकल्पना गर्थे ः
स्वभावतः हामी गुरुहरूजस्तै पण्डित बन्ने, कर्मकाण्ड आदिबाट पैसा कमाउने, विद्वान्हरूका बिच पुराण हाँक्ने र दुनियालाई जिल्लाराम पारेर सामाजिक प्रतिष्ठा र नाम कमाउने भविष्यले लोभिन्थ्यौँ (प्रश्रित, २०५८घ ः १४१) ।
उपर्युक्त परिवेशमा विकसित भएको मोदनाथ प्रश्रितको तत्कालीन चेतना खुला समाजतर्फ र वैज्ञानिक जीवन पद्धतितर्फ अकर्षित हुनु सम्भव थिएन । प्रश्रितले त्यस पाठशालामा व्याकरण र साहित्यका विषय केही रुचि मानेर पढी आठ कक्षा सरहको प्रथमा परीक्षा २०१५ सालमा प्रथम श्रेणीमा उत्तीर्ण गरे (न्यौपाने, २०५४ ः ८) । यस प्रकारका नवीन ज्ञान र चेतना विरोधी कार्यलाई आफ्ना शैक्षिक जीवनका क्रममा भोगेका उनले तत्कालीन परिवेशमा गुरुहरूकै आज्ञानुसार चल्नु बाहेक अर्को विकल्प थिएन । तर नयाँ कुराप्रति उत्सुक भएर लाग्ने प्रश्रितले पाठशालाको त्यस साँघुरो अन्ध धार्मिक परिवेशबाट मुक्त भएपछि भने तिनै कुराको अनुभव भण्डारलाई उपयोगमा ल्याई साहित्य सिर्जना गरेका छन् र अन्ध रूढिवादमाथि तिखो आक्रमण गरेका छन् । यसको अभिव्यक्ति मूलतः देवासुर सङ्ग्रामका साथै मानव, जातपात र छुवाछुतको संक्षिप्त इतिहास, मानवताको कलङ्क जातपात तथा छुवाछुत प्रथा, जन संस्कृतिको नयाँ दिशा लगायत प्रश्रितका समग्र लेखनमा परेको छ । यस क्रममा विचारको विकासका सन्दर्भमा प्रश्रितको बनारसको पढाइ अर्घाखाँचीका तुलनामा केही खुला र अनुकूल पनि रह्यो । हरिहर पाठशालाकै शाखा रहेको बनारस गएर उनले पाठशालाबाटै प्राप्त हुने मासिक १५ रुपियाँको सीमित छात्रवृत्तिबाट लगन र मेहेनतका साथ पढी उत्तरमध्यमा तहको परीक्षामा विश्वविद्यालयमै सर्वप्रथम भएर भारत सरकारले प्रदान गर्ने छात्रवृत्ति प्राप्त गर्न पनि सफल भए (ढुङ्गेल, २०५५ ः १०) । उनले संस्कृतका साथै व्यावसायिक विषय पनि पढ्ने इच्छाले आयुर्वेदतर्फको अध्ययन पनि सँगसँगै अघि बढाई २०२० सालमा साहित्यतर्फ शास्त्री तह तथा २०२१ सालमा आयुर्वेदतर्फ आचार्य तहको पढाइ पुरा गरे (न्यौपाने, २०५४ ः ९) ।
मोदनाथ प्रश्रितमा अध्यात्मवादी चेतनाको विकास गराउनमा शैक्षिक सान्निध्यबाट प्राप्त गरेको दधिराम मरासिनीको भूमिका महत्त्वपूर्ण छ । अर्घाखाँचीमा मात्र होइन प्रश्रितले मरासिनीको सान्निध्य र अभिभावकत्व बनारसमा पनि प्राप्त गरेका थिए । शास्त्री पढ्दाको उपविषयमा ‘पुराण–इतिहास’ लिएका र मरासिनी पनि काशीवास गएकाले प्रश्रितले अध्यात्मतर्फको अध्ययनलाई अझ गहिरो बनाउने शैक्षिक वातावरण प्राप्त गर्दछन् (प्रश्रित, २०५८घ ः २२२) । उक्त अध्ययनको उपयोग उनले देवासुर सङ्ग्राम का साथै विभिन्न कृतिहरू र पछिल्ला लेख रचनाहरूमा पनि गरेका छन् र ती ज्ञानको प्रयोगबाट उनले द्वन्द्वात्मक भौतिकवादी दृष्टि अनुरूपको अन्तर्वस्तुको निर्माण गरेको पाइन्छ । उनले आफ्ना व्यावहारिक जीवनका अनुभव तथा अध्यात्मवादको गहिरो ज्ञानका क्रममा त्यतिखेर अध्यात्मलाई नै आड बनाएर प्रयोगमा ल्याइने अन्ध विश्वास, रूढि, धामी, कर्मकाण्डी र पुरेत्याइँका साथै पेट पाल्ने आडम्बरी कुराबाट परिचित भई तिनप्रति घृणा पनि गर्थे । यसैले उनले २०२० सालतिरकै सन्दर्भलाई उल्लेख गर्दै अध्यात्मवादको नाममा चल्ने तल्लो तहका पाखण्डबाट वाक्क भए पनि माथिल्लो तहको ब्रह्मवादप्रति आफ्नो आस्था घटि नसकेको टिप्पणी गरेका छन् (प्रश्रित, २०५८घ ः २२३) । उनमा अध्यात्मतर्फको रुझान गहिरो थियो भन्ने कुरा “अध्यात्म जगतमा एक विहङ्गम दृष्टि” शीर्षकमा प्रकाशित लेखले पनि बझाउँछ (प्रश्रित, २०२२ ः १७–३०) । उनले हजुरबा मरासिनीको दुखद निधनबाट मर्माहत भई बुबा खै ? खण्डकाव्यको रचना गरेका छन् र उनलाई आफ्नो जीवनका सबभन्दा सुपरिचित उत्प्रेरक र जाज्वल्यमान आध्यात्मिक नक्षत्रका रूपमा चित्रित गरेका पनि छन् ( प्रश्रित, २०५८घ ः २२४) ।
मोदनाथ प्रश्रितको वैचारिक परिवर्तनमा २०१८ सालमा बनारसमा पढ्दाकै सन्दर्भको एउटा प्रसङ्ग पनि महत्त्वपूर्ण छ । उनले त्यहाँ अर्घाखाँची, पणेनामा घर भएका र पाणिनि तपोभूमि शीर्षकको पुस्तक प्रकाशित पनि गरेका शालिग्राम पोखरेल भन्ने व्यक्तिले कवितात्मक प्रतिभा भएका प्रश्रितलाई राजा महेन्द्रको प्रशंसा गरेर एउटा अभिनन्दन पत्र लेखिदिन आग्रह गर्दछन् । राजाप्रतिका दृष्टिकोणमा त्यति प्रस्ट नभएका प्रश्रितले निकै मेहेनत गरी राजाको प्रशंसा गरेर अभिनन्दन–पत्र तयार पनि पार्दछन् । पछि त्यही पत्र भारतीय रेलवेका कर्मचारी तिवारी भन्ने व्यक्तिलाई देखाउँदा सुरुमा व्यङ्ग्यात्मक प्रशंसा गरे पनि पछि तिनै तिवारीले प्रश्रितलाई एक्लै बोलाई जनतालाई दास बनाउने सामन्ती राजा महाराजाका विषयमा त्यस्तो प्रशस्ति लेखेर विद्या र सरस्वतीको अपमान नगर्न आग्रह गर्दछन् (प्रश्रित, २०५८घ ः २११) । उनले राजाहरूलाई युग विरोधी र अन्धकारका प्रतीक मान्दै तिनको प्रशंसा गाउनु दास मनोवृत्तिको परिचायक हो भनी बरु प्रशंसा नै गर्ने हो भने देश र जनताका निम्ति आत्म बलिदान गर्ने बहादुर सहिदहरू, सभ्यताका सर्जक मजदुरहरू, नयाँ आविस्कार गर्ने वैज्ञानिकहरू, सबैका लागि अन्न उत्पादन गर्ने किसान आदिको गर्नुस् भन्छन् । तिवारीका ती कुराले प्रश्रितमा एकातिर राजाको प्रशस्ति गाएकोप्रति आत्मग्लानि र हीन भावनाको अनुभूति हुन्छ भने अर्कातिर नयाँ ज्ञानको आलोक पनि फिँजिन्छ । त्यस प्रसङ्गपछि प्रश्रित (२०५८घ ः २१२) “आधा घण्टाका जीवन गुरु” भन्ने लेखमा भन्छन् –“मलाई लाग्यो उनले (तिवारीले) मेरो जीवनको बाटो नै फेरिदिएका छन् र म कुनै महान् मुक्त विश्वविद्यालयको ज्ञानको आलोक लिएर निस्कँदै छु ।” प्रश्रितको जीवनलाई वैज्ञानिक विचारतर्फ अभिमुख गराउनमा उक्त तिवारीसँगको कुराकानी महत्त्वपूर्ण बनेको छ ।
मोदनाथ प्रश्रितको औपचारिक अध्ययन २०२० सालमा वाराणसेय संस्कृत विश्व विद्यालय, वनारसबाट साहित्यमा शास्त्री, २०२१ सालमा निखिल भारत वर्षीय आयुर्वेद विद्यापीठ, दिल्लीबाट आयुर्वेदाचार्य तथा पछि प्राइवेट विद्यार्थीका रूपमा २०२५ सालमा त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा स्नातकोत्तर पूरा गरेपछि सम्पन्न भएको छ । यसरी ज्ञानप्राप्तिको अत्यन्त उर्वर समय मानिने प्रश्रितको बाल, किशोर र पूर्वयुवा काल आधुनिक चेतना र वैज्ञानिक जीवन पद्धतिबाट विमुख रहेको देखिन्छ र पनि त्यही परिवेश र अनुभव भण्डार पछिको उनको विचार निर्माण र सिर्जनकर्मको मुख्य उत्प्रेरक बनेको पनि देखा पर्छ । साथै त्यसले प्रश्रितलाई माक्र्सवादी विचार ग्रहणपछि समाजभित्रका सामन्ती अन्धता र तिनले मानवीय जीवनमा पारेका नकारात्मक असरको चित्रण गर्ने आधार पनि प्रदान गर्दछ । यसरी प्रश्रितको औपचारिक अध्ययनका साथै माक्र्सवादको अनौपचारिक अध्ययन तथा अझ बढी जीवन भोगाइका क्रममा हासिल गरेका नेपाली समाज र जीवन पद्धतिका अनेकौँ पक्षहरूको अनुभव भण्डार नै यथार्थ एवं वैज्ञानिक विचार निर्माणको तथा सिर्जनाको मुख्य उत्प्रेरक बनेको देखिन्छ ।
३.१.४ प्रश्रितको जीवनसँग सम्बद्ध राजनैतिक पक्ष
मोदनाथ प्रश्रितको सिर्जनात्मक विचारको निर्माणमा उनका राजनीतिक जीवनको पनि उल्लेख्य भूमिका रहेको छ । उनको जन्म (१९९९) ताक नेपालमा वि. स. १९०३ मा जङ्गबहादुर राणाद्वारा कोतपर्व मच्चाएर सत्ता हत्याएपछिको १०४ वर्षे सामन्ती राणा शासनका अन्त्यको राजनीतिक परिवेश व्याप्त थियो । लामो समयदेखि सामन्ती अर्थतन्त्रले निर्माण गरेका उत्पादन सम्बन्धमा उकुस मुकुस भइ रहेको नेपाल स्वतन्त्रता र मानवीय मौलिक अधिकारको प्रत्याभूतिका निम्ति दिनानुदिन अग्रसर भइ रहेको थियो । नेपाली जनतालाई अशिक्षा र अन्धकारमा राखि रहने शासकीय खेल पनि अनिच्छापूर्वक त्रिचन्द्र कलेजको स्थापना (१९७६) पछि असफल भएको थियो (रावल, २०४७ ः १५) । भारतमा जागि रहेको ‘अङ्ग्रेज भगाओ’ अभियानमा नेपाली युवाहरूको प्रत्यक्ष संलग्नताको कुरा मात्र होइन उत्तरतिरको छिमेकी चीन पनि सामन्तीतन्त्रबाट मुक्तिको अभियानमा माओको नेतृत्वमा अघि बढि रहेको थियो । यस सन्दर्भमा नेपाल छिमेकी मुलुुकका साथै प्रथम विश्वयुद्धमा सहभागी हुँदै र अन्य अन्तर्राष्ट्रिय चेतनाका लहरबाट पनि प्रभावित हुँदै राजनीतिक अधिकारप्राप्तिको अभियानमा अग्रसर भइ रहेको थियो । त्यसै उद्देश्यले विभिन्न राजनीतिक अभियान अघि बढाउने सन्दर्भमा प्रचण्ड गोर्खा (१९८८) र नेपाल प्रजा परिषद (१९९३) को स्थापना भई १९९७ सालमा प्रजा परिषदका नेता कार्यकर्ता पक्राउ परी गंगालाल, धर्मभक्त, दशरथ चन्द र शुक्रराज शास्त्रीलाई सर्वस्व हरण सहित मृत्युदण्ड दिइएको थियो (पाण्डेय, २०५६ ः १२७) । त्यतिखेरको बौद्धिक वर्गले पनि मकै पर्व (१९७७) देखि लाइब्रेरी पर्व (१९८७) पनि भोगि सकेको थियो । विद्यार्थीहरू पनि ‘जयतु संस्कृतम् (२००४) को नारा सहित अधिकारप्राप्तिको आन्दोलनमा होमिएका थिए भने अखिल भारतीय नेपाली राष्ट्रिय काँग्रेस (२००३) र पछि नेपाली काँग्रेस (२००६) को गठन हुनाका साथै नेपाल कम्युनिस्ट पार्टीको स्थापना पनि २००६ सालमा नै भएको थियो । जनताको सामन्तीतन्त्रबाट उन्मुक्ति र प्रजातन्त्रप्रतिको तीव्र चाहनाका परिप्रेक्ष्यमा नेपालमा २००७ को आन्दोलन सम्पन्न भई राणाशाहीको अन्त्य भएको थियो । सानै उमेरबाट नयाँ कुराप्रति उत्सुक र जिज्ञासु स्वभावका प्रश्रित २००७ सालको राणाशाहीको अन्त्य भइ रहेका अवस्थामा जम्मा ८ वर्षका बालक भएकाले प्रत्यक्ष प्रभाव नभोगे पनि पछिका परिणामबाट भने परिचित भएका देखिन्छन् ।
मोदनाथ प्रश्रितको सिर्जनात्मक विचारको बीजाधान सामान्यतया २००७ सालको राजनीतिक परिवर्तनकै सेरोफेरोबाट थालिएर अघि बढेको देखिन्छ । त्यतिखेर देशमा आएको राजनीतिक परिवर्तनको लहरलाई प्रश्रितको गाउँ अर्घाखाँचीको खिदिममा सर्व प्रथम नेपाली काँग्रेसका तत्कालीन नेता काशीनाथ गौतमले भित्र्याएका थिए । गौतमले चारतारे झण्डा सहितको जुलुस लिएर २००७ सालकै अन्त्यतिर खिदिम पुग्दा पाठशालामा पढि रहेका प्रश्रित र अरू साथीहरू अचम्म मानी मानी रमाएका थिए (प्रश्रित, २०५८घ ः १५०) । त्यतिबेला काशीनाथ गौतम (प्रश्रित, २०५८घ ः १५२)ले आफ्नो भाषणमा “नेपालमा राणा शासन पल्टेर प्रजातन्त्र आएको, अब धनीले गरिबलाई हेप्न–चुस्न नपाउने, साना र अछुत जात भनेर कसैले हेप्न नपाउने, भोकै नाङ्गै बस्नु नपर्ने, औषधि उपचार नपाएर मर्नु नपर्ने, कारखाना खुल्ने” भनेका थिए । त्यसको केही समयपछि खिदिममै डा. के. आई. सिंहको राजनीतिक टोली पुग्दा सिंहले काशीनाथ गौतमले भनेभन्दा बेग्लै “काँङ्गेसका नेताहरूले दिल्लीमा गएर क्रान्तिलाई धोका दिएका, तिनीहरू भारतको इसारामा नाचिरहेका र राणाहरूसँग मिलेका भन्ने आरोप लागाउँदै दिल्लीमा गरिएको सम्झौता नमान्ने” (प्रश्रित, २०५८घ ः १५४) घोषणा गरेको प्रश्रितले सुनेका थिए । साथै बालक प्रश्रित (२०५८घ ः १५४) ले सिंहले क्रान्ति जारी रहेको, जमिन्दारको जमिन मोही र गरिब किसानलाई बाँड्नु पर्छ भनेको पनि सुनेका थिए ।
मोदनाथ प्रश्रितले त्यतिखेर काँग्रेसको विरोध त्यहीँंका बिर्तावालहरूबाट पनि सुनेका थिए । उनले स्थानीय बिर्ताबालमध्येका धैर्यराज गौतमले नयाँ खुलेको पार्टी गोर्खा परिषद्को “काँग्रेस पार्टी देश बेचुवा हो, विदेशीको दलाल हो, धर्मको शत्रु हो, हुल्याहा, डाँका हो र नेपालको विकास गर्ने, धर्मको रक्षा गर्ने राष्ट्रवादी पार्टी गोर्खा परिषद् हो” (प्रश्रित, २०५८घ ः १९०) भन्ने पर्चा बाँडेको पनि देखेका थिए । यसरी बालक प्रश्रित २००७ सालको परिवर्तन लगत्तेै विकसित भएका तत्कालीन राजनीतिका मुख्य प्रवृत्तिहरू ः (१) परिवर्तन भएको मान्ने नेपाली काँङ्गेस, (२) परिवर्तन अपूर्ण रहेको मान्ने के. आई. सिंह तथा (३) परिवर्तनलाई उल्ट्याउन चाहने गोर्खा परिषद्बाट छिपछिपे रूपमा भए पनि परिचित भएका देखिन्छन् । उक्त तिन थरी विचारमध्ये कुन ठिक हो र कुन बेठिक भनी छुट्याउने परिपक्व अवस्था प्रश्रितमा त्यतिखेर नभएकाले ती नेता त्यहाँबाट फर्केसँगै राजनीतिक कुराकानी पनि सेलाए । यस क्रममा आफ्ना पाठशालाका सञ्चालक हरिहर गौतम र त्यहाँका गुरुहरू पुरानै विचारको गोर्खा परिषद्का समर्थक भएर काँग्रेस विरोधी कुरा गरे पनि प्रश्रितले सही कुरा कसको हो भन्ने उत्सुकता र शङ्का भने लिइ नै रहे (प्रश्रित, २०५८घ ः १५३) ।
मोदनाथ प्रश्रितको राजनीतिक चेतनाको झुकाव २०१५ सालको चुनावताक नेपाली काँग्रेसतर्फ रहेको देखिन्छ । सो कुरा उनी समेतका साथीहरूले त्यहाँ अध्यापन गर्ने गुरुहरूको भावना विरुद्ध र छात्रावासबाट निकालिन सक्ने चुनौतीलाई समेत स्वीकार गरी प्रश्रित सहितको सम्पादनमा पाठशालाबाट प्रकाशित किरण पत्रिकामा काँग्रेसलाई भोट दिन भनी नारायण गौतमको कविता छपाएबाट बुझ्न सकिन्छ । प्रश्रित आफ्नो उच्च अध्ययनका निम्ति बनारस गएपछि त्यहाँ रगतको सही छाप लगाई नेपाली काँग्रेस पार्टीको सदस्यता ग्रहण गर्दछन् (प्रश्रित, २०५८घ ः १९४–२०२) । उनी पार्टी कामकै सन्दर्भमा काँग्रेसी साथीहरूसँग कलकत्तास्थित तत्कालीन नेता सुवर्ण सम्सेरका कनक महलमा पनि पुग्छन् । पछि नेताको सामन्ती रबाफ एवं कार्यकर्ताको स्वार्थी एवं छली व्यवहार देखेपछि काँगे्रसबाट निस्क्रिय हुन पुग्छन् (प्रश्रित, २०५८घ ः २१९–२१) । उनलाई सुवर्ण सम्सेरको ठाँटबाठ पनि मन पर्दैन भने अर्थिक एवं औद्योगिक विकासमा नेपाल ज्यादै कमजोर रहेको अवस्थामा पनि विभिन्न भारतीय उद्योगमा काँग्रेसी नेता सुवर्णले गरेको आर्थिक लगानी पनि मन पर्दैन । यसका साथै काँग्रेसी जिम्मेवार कार्यकर्ताले सक्रिय रूपले काम गर्दा पार्टीबाट प्राप्त गर्ने रकम आफै खाइ दिने गरेको कुरा पनि चित्त बुझ्दैन । पछि यिनै विभिन्न कारणले उनको काँग्रेसप्रतिको मोहभङ्ग हुन्छ र नेपाली काँग्रेसभित्रका विकृतिको परिचयले पछिल्लो अवधिको सिर्जनामा सो काँगे्रस विरोधको आधार सामग्री प्राप्त हुन्छ । त्यतिखेर नेपालको निरङ्कुश पञ्चायती व्यवस्थाका बारेमा केही रचना बाहेक प्रश्रितले खासै चर्चा गरेको देखिदैन । बरु प्रश्रित आफ्ना कवितामा गान्धीवादको अहिंसात्मक मानवतावादी विचारलाई प्रस्तुत गर्दछन् । प्रश्रितको आमाका आँसु कविता सङ्ग्रहमा यही मानवतावादी चेतना मुख्य भई प्रकट हुनाका साथै विद्यार्थीको चरित्रमा सुधार, परोपकारी भावनाको विकास आदिबारे विचारहरू प्रस्तुत गरिएको देखिन्छ । बनारसमा पढ्दैदेखि काँग्रेसबाट र राजनीतिबाट समेत निस्क्रिय भएका प्रश्रितलाई नेपाल फर्केर जगिर खोज्दा भने पुरानो काँग्रेसी संलग्नताले सताउँछ । उनले त्यसै संलग्नताका कारण शिक्षक पदमा नियुक्ति नपाई तम्घासमा साइन बोर्ड लेख्ने र आयुर्वेद अध्ययन गरेको ज्ञान र सिपको उपयोग गरी औषधि उपचारको काममा लागेको कुरा आफ्नो संस्मरणमा उल्लेख गरेका छन् (प्रश्रित, २०५८घ ः २२५–२६) ।
मोदनाथ प्रश्रित २०२४ सालपूर्व राजनीतिक एवं वैचारिक गतिविधिमा त्यति सक्रिय नरहे पनि समाजको परम्परागत चिन्तनभन्दा नवीनतातर्फ उन्मुख थिए र पुरानो विचारको पक्ष लिने ‘गोर्खा परिषद्’ तथा पछिको निरङ्कुश पञ्चायती शासनका क्रियाकलापबाट परिचित र असन्तुष्ट पनि थिए भन्ने देखिन्छ । उनी नेपाली समाजमा व्याप्त अन्ध विश्वास, जातीय विभेद आदि पक्षबाट परिचित थिए र शैक्षिक परिवेश र घरायसी आर्थिक परिस्थितिको प्रतिकूलताका कारणले र कतिपय वैचारिक एवं राजनीतिक क्रियाकलापमा सक्रिय हुन नसके पनि मानवता विरोधी क्रियाकलापप्रति तीव्र असहमति र विद्रोहको भावना पनि राख्दथे । यो कुरा प्रश्रितको मानव महाकाव्य र अन्य कतिपय रचनाहरूले व्यक्त गरेको आर्थिक शोषण, नारी दमन र अत्याचार, जातीय विभेद, मानवहिंसा आदिको तीव्र विरोध तथा मानवता र न्यायको पक्ष पोषण गरेको सन्दर्भले बुझाउँछ । यही क्रममा प्रश्रितले बुटवल गएर पत्रकारिता, प्राध्यापन तथा सामाजिक जागरणका काम गर्ने परिवेश प्राप्त गरेपछि उनमा रहेको मानवमाथिको अन्याय तथा अत्याचार विरोधी विचारले माक्र्सवादी वैचारिक आधार प्राप्त गर्दछ र राजनीतिक एवं वैचारिक क्रियाशीलता पनि बढाएको देखिन्छ । यसबाट प्रश्रितको जीवनगत सन्दर्भले नै उनको सिर्जनात्मक जीवन अभिप्रेरित छ भन्ने देखिन पनि आउँछ । यस सन्दर्भमा नेपाली राजनीति र साहित्यका दुई व्यक्तित्वबारे सुरेन्द्र के.सी. (२०६८ ः १११८) लेख्छन् “वी. पी. साहित्य र राजनीतिलाई बेग्लाबेग्लै मान्ने र व्याख्या गर्ने तर प्रश्रित दुवै एकअर्काका परिपूरक भएको मान्ने ।” यसरी प्रश्रितको राजनीतिक जीवन उनको सिर्जनात्मक जीवनको मुख्य उत्प्रेरक रहेको छ भने उनको सिर्जनात्मक जीवनले पनि उनको राजनीतिक जीवनलाई परिपुष्ट पारेको देखिन्छ ।
(क) माक्र्सवादी विचारप्रतिको झुकाव र राजनीतिक काममा सक्रियता
मोदनाथ प्रश्रितको जीवन २०२४ सालपछि नेपाली राजनीतिको साम्यवादी आन्दोलनसँग सम्बद्ध बन्न पुग्यो र उनले मूल रूपमा सोही क्षेत्रमै सक्रिय रही–रही माक्र्सवादी विचारधाराको क्रमिक अध्ययन, चिन्तन मनन एवं व्यावहारिक प्रयोगद्वारा आफ्नो चिन्तनशील सृजनात्मक व्यक्तित्वको निर्माण गरेका छन् (अवस्थी, २०५७ ः ५०) । यस सन्दर्भमा प्रश्रितले आफ्नो “जँड्याहा गुरु” शीर्षकको लेखमा गुल्मीका पुराना राजनीतिक कार्यकर्ता प्रयागलाल श्रेष्ठसित मानव महाकाव्यको मानवतावादबारे बहस भएपछि आफू माक्र्सवादको अध्ययनतर्फ बढी प्रेरित भएको उल्लेख गरेका छन् (प्रश्रित, २०५८घ ः २३३) । त्यसपूर्व प्रश्रितले व्यापक अध्ययन र वैचारिक आदान– प्रदान नहुँदा आफूमा प्राचीनता र आधुनिकता, आध्यात्मवाद र भौतिकवाद, गान्धी र लेनिन, पुँजीवाद र समाजवाद जस्ता कुरालाई समन्वयवादी ढङ्गले हेर्ने धारणा विकसित भएको मानी मानवमा पनि त्यही दृष्टिकोण रहेको स्वीकार गरेका छन् (प्रश्रित, २०५८घ ः २३१) । माक्र्सवादको अध्ययनले प्रश्रितमा प्रत्येक वस्तुलाई गति र द्वन्द्वका आधारमा हेर्ने तथा वस्तुलाई सापेक्षतामा र समग्रतामा बुझ्ने वैज्ञानिक दृष्टिको विकास हुन्छ । राजनीतिक क्षेत्रमा पनि प्रश्रित उक्त द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दृष्टि अनुरूप वामपन्थी राजनीतिमा क्रियाशील हुन पुग्छन् ( नेबुप..., २०४८ ः ३) । त्यसै बेला प्रश्रित जीवराज आश्रित, बुद्धि बहादुर थकाली, राम प्रसाद प्रदीप, गोविन्द ज्ञवाली लगायतका साथीहरूको सहभागितामा बुटवलमा ‘रेलिमै सांस्कृतिक मण्डल’ गठन गरी सामाजिक जागरण र माक्र्सवादी अध्ययनतर्फ गहिरिँदै जान्छन् । तत्कालीन पञ्चायती सरकारले प्रश्रितका गतिविधिमाथि दृष्टि पु¥याइ रहेको हुन्छ । यसै क्रममा प्रश्रित माक्र्सवादी अध्ययनतिर केन्द्रित हुन थालेका, लुम्बिनी सन्देश पत्रिकामा पनि प्रशासनलाई नटेरी नटेरी विभिन्न लेखहरू प्रकाशित गरि रहेका अनि सांस्कृतिक जागरणका काममा पनि सक्रिय रहेकाले त्यति नै बेला देशमा नयाँ खुलेका अठार वटा कलेजलाई मान्यता दिनु पर्ने भनी छरिएका विद्यार्थीका पर्चाका अभियोगमा पक्राउ परी राजकाज मुद्दामा तिन वर्षका लागि जेल चलानमा पर्छन् (प्रश्रित, २०५८घ ः २४८) । यसरी २०२६ सालमा सर्वप्रथम जेल परेका तथा एकवर्षमै थुनामुक्त भएका प्रश्रितको सक्रिय राजनीतिक जीवन पनि त्यति नै बेलाबाट थालिन्छ ।
मोदनाथ प्रश्रितको राजनीतिक काममा सक्रियता २०२५ सालमा पुष्पलालसित सम्पर्क भएपछि बढ्छ र उनी भैरहवा नगर कमिटीको सचिव (न्यौपाने, २०५४ ः ११) भई काम गर्न थल्छन् । त्यसछिका दिनहरूमा उनले बनारसमै गएर पार्टीको सांस्कृतिक क्षेत्रमा काम सुरु गर्छन् । उनी युद्ध प्रसाद मिश्र अध्यक्ष र मदन भण्डारी, जीवराज आश्रित, रामचन्द्र भट्टराई, दिल साहनी, बोधराज काफ्ले सदस्य रहेको ‘नेपाली जनवादी क्रान्तिकारी सांस्कृतिक सङ्घ’मा महासचिव भई बुद्धिजीवी, लेखक कलाकारहरूसित भेटघाटको काममा व्यस्त रहन थाल्छन् (प्रश्रित, २०५८घ ः २७७–७८) । यसै क्रममा २०२९ सालमा नेकपा (पुष्पलाल समूह) को केन्द्रीय सदस्य भएका प्रश्रित (ढुङ्गेल, २०५५ ः १३) पार्टी नेतृत्व सङ्घर्षशील कामहरूमा शिथिल हुँदै गएपछि त्यस समूहसँग असहमत भई बेग्लै मुक्तिमोर्चा समूह स्थापना गरी त्यसमा सक्रिय हुन्छन् । पछि २०३४ सालमा मुक्तिमोर्चा समूह पनि कोअर्डिनेसन केन्द्रमा विलय हुन्छ (तिमल्सेना, २०६५ ः ४९) । यही क्रममा २०३५ सालमा बनेको नेकपा मालेको वैकल्पिक केन्द्रीय सदस्य बनेका (मिश्र, २०५८ ः ७२) प्रश्रित निरन्तर रूपमा सक्रिय भई २०४७ सालमा नेकपा माक्र्सवादी र नेकपा मालेको एकीकरणपछि बनेको नेकपा एमालेको पनि केन्द्रीय सदस्यकै रूपमा काम गर्दछन् । उनी २०५४ सालदेखि सोही पार्टीको स्थायी कमिटीको जिम्मेवारी पुरा गर्दै २०६५ सालको बुटवल महाधिवेशनपछि पार्टी नेतृत्वबाट अवकाश लिएर लेखनकार्यमा व्यस्त भइ रहेका छन् । यस क्रममा उनले २०५१ सालमा बनेको नेकपा एमालेद्वारा गठित नेपालको पहिलो कम्युनिस्ट सरकारको शिक्षा, संस्कृति तथा समाज कल्याण मन्त्रीको जिम्मेवारी पनि पुरा गरेका हुन् ।
मोदनाथ प्रश्रितले कम्युनिस्ट पार्टीको नेतृत्वमा रहँदा सुरुदेखि नै विशेष गरी सांस्कृतिक एवं वैचारिक क्षेत्रकै जिम्मेवारी बहन गरेका छन् । पुष्पलाल समूहमा रहँदा पनि उनले सांस्कृतिक विभागलाई नै हेरेका थिए भने त्यसछि माले समूहको नेतृत्वमा रहँदा पनि उनी पार्टीको वर्ग सङ्घर्ष र मुक्तिमोर्चा पत्रिका प्रकाशनको जिम्मेवारी लगायतका काममा रहन्छन् । उनी २०३७ सालमा पार्टीका यिनै सामग्री बनारसबाट प्रकाशित गरी ल्याउने क्रममा भैरहवामा पक्राउ पर्दछन् र अरू साथीहरू समेत मिली तिन महिनामै जेलबाट फरार हुन्छन् । जेलबाट फरार हुँदा प्रश्रितले “ज्युँदो म सर्वहारा” शीर्षकको गीत रचना गरेर जेलको भित्तामा टाँसेर छोडेको कुरा पनि उल्लेख गरेका छन् (प्रश्रित, २०४९ ः ३४) । पुनः २०३७ साल मङ्सिरमा पक्राउ परेका प्रश्रित लगातार सात वर्षसम्म कठोर यातना सहित बन्दी जीवन बिताउन बाध्य हुन्छन् । पटक पटक गरी साढे आठ वर्षभन्दा बढी जेल जीवन बिताएका प्रश्रितको पञ्चायती सरकारबाट सर्वस्वहरण (पौडेल, २०५९ ः ६१) पनि गरियो । प्रश्रितले जेलमा रहँदा विभिन्न कविताहरूको रचना पनि गरेका छन् । गोलघरको सन्देश उनको जेल जीवनकै बेलाको महत्त्वपूर्ण कृति हो । त्यस्तै उनले पार्टीको स्कुल विभाग (वैचारिक प्रशिक्षणको काम गर्ने) मा रहेर पनि माक्र्सवादी विचारलाई नेपाली समाज र जीवन पद्धतिमा कसरी समायोजन गर्ने भन्ने कुरामा केन्द्रित भएर वैचारिक कामलाई अघि बढाएका देखिन्छन् । उनले पार्टीकै जन वर्गीय सङ्गठनका रूपमा रहेको ‘जन सांस्कृतिक मञ्च नेपाल’को संस्थापक अध्यक्ष (२०४४–२०५१) तथा सम्पूर्ण वामपन्थी लेखकहरूको साझा संस्था ‘प्रगतिशील लेखक सङ्घ’को महासचिव (२०४४–२०४९) भएर आफ्नो सांस्कृतिक एवं वैचारिक कामको जिम्मेवारी पनि पुरा गरेका छन् ।
मोदनाथ प्रश्रितको विचारको विकासमा उनले देखे र भोगेको राजनीतिक परिवेश बढी महत्त्वपूर्ण रहेको पाउन सकिन्छ । उनी पार्टीको केन्द्रीय नेतृत्वमा सैँतिस वर्ष काम गरेर स्थापित भएका राजनीतिक नेता तथा प्रखर वक्ताका रूपमा परिचित भए पनि पार्टीभित्रको उनको काम सांस्कृतिक एवं वैचारिक फाँटतिर नै केन्द्रित रहेको देखिन्छ । यसले उनलाई विचारमा सशक्त एवं प्रखर हुन सघाएको देखिन्छ । उनी २०२३ पूर्व गान्धीको अहिंसात्मक मानवतावादप्रति आस्था प्रकट गर्ने रूपमा पनि देखिन्छन् तर उनको वैचारिक आधार अध्यात्मवादी आदर्शवादकै वृत्तभित्र घुमि रहेको देखिन्छ । उनले त्यतिखेरको नेपाली समाजको आर्थिक शोषण, जातीय भेदभाव, धार्मिक पाखण्ड लगायतका तमाम गलत मान्यताको विरोध गर्ने प्रगतिशील मानवतावादी भावना अभिव्यक्त गरेका थिए र त्यसै भावनाले पछिल्लो प्रगतिवादी विचार निर्माणको जग बसेको देख्न सकिन्छ । उनले २०२३ सालमा अर्घाखाँचीमै ‘बाहुन हलो सञ्चालन अभियान’ सुरू गरेका (पौडेल, २०५९ ः ६७) र समाजमा विद्यमान छुवाछुत र जातीय विभेद हटाउन २०२३ सालमै त्यहीँका कामी, दमाई, सार्कीहरूलाई सक्रिय गराई सामूहिक ‘वनभोज’ को कार्यक्रम सञ्चालन गरेको (रिमाल, २०४९ ः १४) कुरालाई पनि लिन सकिन्छ । यसो भए पनि उनी त्यतिखेरसम्म जीवन र समाजलाई द्वन्द्ववादी मान्यतामा आधारित रही हेर्न सक्ने तहमा पुगि सकेका थिएनन् । २०२४ सालपछि मात्र उनको यात्रा वामपन्थी राजनीतितिर केन्द्रित हुन्छ (ढुङ्गेल, २०५५ ः १३) र उनले समाजको विकासलाई द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी विचारबाट बुझ्न थाल्दछन् । उनी आफूले निकालेका पुराना निष्कर्षको पनि सिंहावलोकन गर्दै (प्रश्रित, २०५८छ ः १०७) माक्र्सवादको वैज्ञानिक विचारप्रति केन्द्रित हुन थाल्छन् । त्यसयता मोदनाथ प्रश्रित द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी विचारप्रति आस्थावान् हुँदै सामाजिक रूपान्तरणप्रतिको प्रतिबद्धता, निम्न वर्गीय पक्षधरता, शोषण र अन्धताको विरोध, आमूल परिवर्तनप्रतिको अटुट आस्था एवं सर्वहारावादी मानवतावादप्रतिको प्रतिबद्धताको वैचारिक निष्ठा व्यक्त गरि रहेका छन् । उनले सिर्जना गरेका त्यसपछिका सम्पूर्ण कृतिहरूले त्यही समाज परिवर्तनको विचारलाई अभिव्यक्त गरेका छन् । पछिल्ला अवधिमा उनमा केही वैचारिक विवादहरू देखा परे पनि उनी सामाजिक परिवर्तनप्रति अटल निष्ठा राख्छन् तर युवावस्थाको जस्तो जोस देखाई समाज रूपान्तरणका निम्ति पहिले जस्तो सशस्त्र सङ्घर्षको अनिवार्यता भने देखि रहेका छैनन् ।
(ख) वैचारिक विवाद र प्रश्रितको दृष्टिकोण
मोदनाथ प्रश्रितसँग सम्बन्धित वैचारिक विवादबारे कुरा गर्दा कतिपय समीक्षकहरू उनमा विशेष गरी २०४० पछि प्रगतिवादी मान्यतामा विचलन देखा परेको कुरा उल्लेख गर्दछन् (ढकाल, २०४६ ः २९– ३७) । यस क्रममा निनु चापागाईंले प्रश्रितले समाजवादी यथार्थवादको सट्टा आदर्शोन्मुख यथार्थवादलाई स्थापित गर्न खोजेको, साहित्यको वर्गीय प्रकृतिमाथि आक्रमण गरेको र फ्रायडीय मनोविश्लेषणको प्रशंसा गरेको जस्ता कुराहरू उठाएका छन् ( चापागाईं, २०५४ ः १५९) । त्यसै गरी प्रलेस (२०५० ः ज) मा पनि २०४६ सालपछि अमूर्त मानवताको मात्र होइन फ्रायडको यौन सम्बन्धी मान्यताको पुनर्मूल्याङ्कनको माग गरी साहित्यमा वर्गीयताको मान्यतालाई नै उपेक्षा गरेको भनी प्रश्रितको प्रसङ्ग उल्लेख गरिएको छ । यसका साथै चैतन्य (२०६४ ः ५३–६७) ले प्रश्रितकै “मानवीय भावना र वर्गीय भावना” (प्रश्रित, २०६२क ः १५५–६२) तथा “प्रगतिवादी गीत सङ्गीत क्षेत्रका केही समस्याबारे” (प्रश्रित, २०६२क ः १०२ –१०८) का साथै “बहुलवाद नेपालको ऐतिहासिक र सामाजिक विशेषता”(प्रश्रित, २०६२क ः १७७–८०) लगायतका लेखहरूमा प्रश्रितले व्यक्त गरेका विचार तथा तिनमध्ये पहिलो लेखमा समीक्षक दिल साहनीले व्यक्त गरेका विचारप्रति आफ्नो सहमति रहेको जनाउँदै प्रश्रितको वैचारिकतामा बहुदलीय जनवादी संशोधनवादको अभिव्यक्ति भएको उल्लेख गरेका छन् । उनले प्रश्रितको लेखनमा अमूर्त मानवता, वर्ग समन्वय र बहुलवादको सैद्धान्तिक आग्रह रहेको निष्कर्ष पनि निकालेका छन् ।
प्रगतिवादी विचारसँग सम्बद्ध मोदनाथ प्रश्रितका उपर्युक्त अभिव्यक्ति र तिनै अभिव्यक्तिमा आधारित भई विभिन्न समीक्षकहरूले अभिव्यक्त गरेका टिप्पणीहरू निश्चय नै महत्त्वपूर्ण र विचारणीय देखा पर्छन् । समीक्षकका ती टिप्पणीहरूले मुख्यतः प्रश्रितका अभिव्यक्तिहरूबाट उनमा निर्वगीय चिन्तन विकसित भएको, फ्रायडीय मनोविश्लेषणको प्रशंसा गरिएको तथा बहुलवाद र अमूर्त मानवताको पक्षपोषण गरिएको भन्दै उनकै पूर्ववर्ती विचारमा विचलन आएको भन्ने कुरा परेका छन् ।
निश्चय पनि मोदनाथ प्रश्रित प्रगतिवादका स्थापित सिद्धान्तलाई सीमित र यन्त्रवत् रूपमा ग्रहण गर्ने पक्षमा छैनन् । उनले वर्गीय समाजमा सबै कुरा वर्गीय हुन्छन् भन्ने कम्युनिस्टहरूका बिच प्रचलित धारणालाई आधारभूत रूपमा स्वीकार गरे पनि थेगो झैँ मानेर स्वीकार्ने यान्त्रिक कार्यले समाजवादी आन्दोलनमै समेत क्षति पु¥याएको उल्लेख गरेका छन् । त्यस कारण उनले वर्गीय र मानवीय सङ्घर्ष र सिर्जनाका विविध पक्षमा अझ सूक्ष्म र व्यापक ढङ्गले ध्यान पु¥याएर अघि बढ्नु पर्ने मान्यता छलफलका निम्ति प्रस्तुत गरेका छन् (प्रश्रित, २०६२क ः १५५–६२) । त्यसमा उनले आधारभूत रूपमा समाज सम्पन्न वर्ग–गरिब वर्ग, शोषक वर्ग–शोषित वर्ग, उत्पीडक वर्ग–उत्पीडित वर्ग, परजीवी वर्ग–श्रमजीवी वर्ग, मालिक र दास, जमिनदार र मोही, पुँजीपति र मजदुर आदिमा विभाजित रहेको माक्र्सवादी मान्यतालाई स्वीकार गरे पनि सबै मान्छेमा पाइने भोक, तिर्खा, माया, मातृ वात्सल्य, रिस, घृणा, निद्रा, थकाइ, यौन भावना, चिकित्सकको कार्य, सङ्गीत, राष्ट्रियताको भावना जस्ता पक्षमा समग्र रूपमा वर्गीयता नरहने विचार पनि व्यक्त गरेका छन् । प्रश्रितको यस मान्यताले निःसन्देह उनको पूर्वस्थापित प्रगतिवादी मान्यतामा परिमार्जनको अपेक्षालाई नै अभिव्यक्त गरेको छ । उनको यो मान्यता वर्ग सङ्घर्ष र सर्वहारा अधिनायकत्व सम्बन्धी प्रगतिवादी मान्यता सम्मत पनि देखिँदैन । यति हुँदाहुँदै पनि प्रश्रित(२०६२क ः १६२)का चिन्तनको मूल तात्पर्य “वर्गीय समाजभित्र वर्गीय र अवर्गीय कुरा र विशेषता के के छन् भनेर छुट्याउनु र ती सबैलाई कुशलता पूर्वक शोषक वर्गीय शिविरका विरुद्ध संयोजित गरेर सङ्घर्ष र सिर्जनामा अघि बढ्न सक्नु नै द्वन्द्ववादको सही समझ र प्रयोगको विशेषता हो” भन्नेमा केन्द्रित रहेको देखिन्छ । यसो हुनाले प्रश्रितलाई वर्ग समन्वयवादी भएको आरोपण गर्नु पनि प्रगतिवादी सिद्धान्त सम्मत देखिदैन ।
विवादकै सन्दर्भमा मोदनाथ प्रश्रितले आफ्नो भाषणमा समाजवादी यथार्थवादका सट्टा आदर्शोन्मुख यथार्थवादलाई स्थापित गर्न खोजेको भन्ने चापागाईंका भनाइको त्यहाँ कुनै प्रस्ट प्रमाण उल्लेख गरिएको देखिन्न । साथै फ्रायडीय मनोविश्लेषणको प्रशंसा गरिएको भन्ने कुरा पनि चापागाईं तथा प्रलेसको “सम्पादकीय”का साथै अन्य कतिपय सन्दर्भमा पनि उठाइएको देखिन्छ । निश्चितै रूपमा प्रश्रितले अन्तर्वार्ताकार घनश्याम पौडेलसँगको उत्साहको अन्तर्वार्ता (प्रश्रित, २०५८छ ः २५६–७०) मा “साँचो जनवादी साहित्यले प्रेम र यौनलाई सस्तो, रुग्ण, उच्छृङ्खल र व्यापारिक वस्तुका रूपमा होइन जीवनको मूल्यवान्, स्वस्थ, गहन र अनिवार्य आवश्यकताका रूपमा हेर्छ र तिनलाई त्यत्तिकै महत्त्वपूर्ण ठाउँ दिन्छ” भनेका छन् । त्यसै अन्तर्वार्तामा प्रश्रितले त्यस्ता कुरा पनि समय सापेक्ष हुने उल्लेख गरी “क्रान्ति कालीन साहित्यले मधुरात्रिका गीत गाउने फुर्सद पाउँदैन र कुनै क्रन्तिकारीले विवाह मण्डपमा युद्धका गीत मात्र गाउँदैन” भन्ने अभिव्यक्ति पनि दिएका छन् । प्रश्रितका यी अभिव्यक्तिमा पनि विचलन आएको र यौनलाई आवश्यकताभन्दा अलि बढी महत्त्व प्रदान गरेको नै देखिन्छ । यसो भए पनि प्रश्रितको सो अन्तर्वार्ताको आशय समाजका समस्त जैविक प्रक्रियामा यौनको पूर्ण उपेक्षा नै गर्न मिल्दैन भन्ने रहेको देखिन्छ र महत्त्व दिने कुरामा त प्रश्रितले आर्थिक वा श्रम प्रक्रियालाई महत्त्व प्रदान गरेका छन् भन्ने कुरा पनि पूर्णतः बिर्सनु युक्ति सङ्गत हुँदैन । प्रश्रितको २०६२ सालको अन्तर्वार्तामा पनि प्रेम र यौनबारे यसो भनिएको छ ः
यौन वा प्रेमलाई पनि दुई दृष्टिकोणले हेर्नु प¥यो– परम्परागत आदर्शवादी तथा यथार्थवादी । पूर्वीय दृष्टिले हेर्दा व्यवहारमा ल्याउने तर चर्चा नगर्ने अनि पाश्चात्यमा जे गरे पनि हुने दुवै अतिवादी पक्ष हुन् । यो मानव जीवनमा घनीभूत रूपले आउँछ । जीवनमा अति महत्त्वपूर्ण भएकाले त्यसलाई गुपचुप र निषिद्ध पनि बनाउनु हुन्न र ल्याङफ्याङ पनि पार्नु हुन्न (प्रश्रित, २०६२ख ः २०९) ।

प्रश्रितको यस धारणाले प्रगतिवादको यौन सम्बन्धी मान्यतामा पनि केही लचिलोपनको आवश्यकता महसुस गरेको छ र त्यसले व्यावहारिक थप व्याख्याको माग पनि गरेको देखिन्छ ।
विवादित विषयकै सन्दर्भमा प्रश्रितभित्रको राष्ट्रिय स्वाधीनता र वैदेशिक हस्तक्षेप विरुद्धको भावनाको कुरो पनि प्रासङ्गिक छ । यसमा उनले तत्कालीन सामन्त राजा पृथ्वी नारायण शाहप्रति बढी नै भक्तिभाव प्रदर्शन गरेको भन्ने आरोपको कुरो जोडिएको छ । यस सन्दर्भमा प्रश्रित २०१५ सालबाट आफ्नो जन्मभूमि छोडेर पढाइका सिलसिलामा भारत गएका हुन् र त्यहाँ उनले मातृभूमि छोडेर जाँदाको अप्ठेरो र आफ्नो राष्ट्रिय भावना एवं राष्ट्रिय गौरवको कुरो पनि महसुस गरेको देखिन्छ । उनले आफ्नो पहिलो प्रकाशित कविता “छात्र जीवन” मा पनि राष्ट्रप्रेमको गहिरो भाव व्यक्त गरेका छन् । उनका कवितामा २०२४ सालपूर्व पनि राष्ट्रप्रेमको भाव प्रमुख प्रवृत्तिका रूपमा अभिव्यक्त भएको थियो जसको टड्कारो अभिव्यक्ति मानव महाकाव्यको काले चरित्र मार्फत पनि प्रकट भएको छ । त्यसपछिका कविता तथा अन्य साहित्यिक रचनामा भने माक्र्सवादी चेतनाका साथ यो भावना अभिव्यक्त भएको छ । उनले पाछिल्ला रचना एवं लेखहरूमा निम्न वर्गका जनताको सुख समृद्धि, अधिकार प्राप्ति तथा समाजबाट शोषण उत्पीडनको अन्त्यका सन्दर्भमा राष्ट्रप्रेमको सन्दर्भलाई हेरेका छन् र त्यसको दीर्घ कालीन गन्तव्य अन्तर्राष्ट्रिय सर्वहारा जातिको निर्माणको माक्र्सवादी मान्यतासँग जोडेका छन् । यस क्रममा उनले नेपाल र नेपालीमाथि हुने वैदेशिक हस्तक्षेपको तिखो विरोध गरेका छन् र त्यसमा भारतीय थिचोमिचोका विरुद्धको भावना मुख्य रूपमा नै प्रकट भएको देखिन्छ । प्रश्रितमा देखिएको पृथ्वीप्रतिको श्रद्धाभाव यही राष्ट्रप्रेमको भावनासँग नै सम्बन्धित हुन पुगेको छ ।
यस सन्दर्भमा मोदनाथ प्रश्रितलाई पृथ्वी नारायण शाहप्रति अति नै भक्ति देखाएको र उनले पृथ्वीको सामन्ती शोषणको कुरालाई बेवास्ता गरेको भन्ने आरोपको सन्दर्भ पनि विचारणीय छ । यसमा कतिपय प्रश्रितका अभिव्यक्ति र कार्य पनि विशेष खालका लाग्छन् र त्यो चाहिँ त नगरेका भए हुन्थ्यो भन्ने ठाउँ पनि नपाइने होइनन् । यस सन्दर्भमा उनले पृथ्वी नारायणले टुक्रा टुक्रामा विभाजित नेपाललाई एउटै सूत्रमा एकताबद्ध गर्नु तत्कालीन नेपालको ऐतिहासिक आवश्यकता रहेको र त्यसले नेपालको सामाजिक, आर्थिक एवं सांस्कृतिक विकासका निम्ति पनि महत्त्वपूर्ण काम गरेको मानेका छन् । उनले त्यस कार्यले अङ्ग्रेजी साम्राज्यवादका विरुद्ध नेपाललाई शक्तिशाली बनाउने सकारात्मक काम नै गरेको भनी पृथ्वीको प्रशंसा नै गरेका छन् । वस्तुतः प्रश्रित पृथ्वी नारायणको सामन्ती राज र उनको आवश्यकता नै मान्दछन् र त्यसमा प्रश्रितको अन्तस्तलमा रहेको पहिलैदेखिको राष्ट्रिय भावनाले नै काम गरेको देखिन्छ । प्रश्रित देशीय सामन्तवाद भन्दा पनि ठुलो शत्रु स्वाधीन देशमाथि साम्राज्य कायम गर्न हिँडेको अन्तर्राष्ट्रिय साम्राज्यवाद रहेको मान्दछन् र त्यसै अर्थमा उनले अङ्ग्रेजी साम्राज्यवादका विरुद्ध पृथ्वी नारायणले तत्कालीन आवस्थामा नेपाललाई एकीकृत र शक्तिशाली बनाएर सही भूमिका निर्वाह गरेको मानेका छन् । उनको यो अभिव्यक्ति देशभक्त लक्ष्मी बाई उपन्यासका साथै अन्य रचनामा पनि प्रकट भएको छ । भारतीय स्वतन्त्रताका निम्ति बहादुरीका साथ लडेकी वीराङ्गना लक्ष्मी वाईलाई प्रमुख पात्र बनाई रचिएको सो उपन्यासमा उनले भारतको स्वाधीनता जोगाउन र अङ्ग्रेजी साम्राज्यका विरुद्ध जनमत निर्माण गर्न त्यहाँको स्थानीय सामन्तवाद पनि समर्थन लायक रहेको मान्यता प्रस्तुत गरेका छन् । यस कारण तत्कालीन केन्द्रीय सामन्त राजा पृथ्वीप्रतिको प्रश्रितको श्रद्धा राष्ट्रप्रेमको भावनात्मक प्रबलताकै अभिव्यक्ति हो, सामन्तवादप्रतिको उनको उदारता किमार्थ होइन भन्ने कुरा बुझ्नु जरुरी छ ।
समग्रमा मोदनाथ प्रश्रित प्रगतिवादका मूलभूत सिद्धान्तप्रति प्रतिबद्ध भए पनि कतिपय पक्षमा परम्परागत चिन्तनका परिधिमा मात्र सीमित नभई समय सापेक्ष सन्दर्भबाट जीवन जगत्का पक्षहरूको व्याख्या गर्न चाहन्छन् । उनले माक्र्सवादका सौन्दर्यशास्त्रीय मान्यताहरूलाई आजका सन्दर्भमा सूक्ष्म व्याख्या र विश्लेषण गर्नु पर्ने भनेका (प्रश्रित, २०४९ ः ४०) र वर्गीय दृष्टिकोणलाई नछोडीकन सिङ्गो मानवीय दृष्टिकोणलाई समेत अँगालेर मात्र हामी बलिया हुन्छौँ (प्रश्रित, २०४९ ः ४२) भन्ने अभिव्यक्ति दिएकाले पनि उनको प्रगतिवादी चिन्तनमा नवीन व्याख्याको अपेक्षा प्रकट भएको देखिन्छ । उनको सो नवीन व्याख्याले नेपाली समाज परम्परादेखि बहुविचार, बहुदर्शन, बहुजाति, भाषा, धर्म र संस्कृतिको विविधतायुक्त बहुलवादी परम्पराबाट हुर्केको र त्यसलाई अझ समृद्ध एवं समुन्नत बनाउन प्रचलित प्रगतिवादी मान्यतामा मात्र सीमित रहन नहुने दृष्टि अघि सारेको छ (प्रश्रित, २०६२क ः १७७–१८०) । प्रश्रितको यस विचारले नेपाली सामाजिक विशिष्टतामा माक्र्सवादलाई सिर्जनात्मक रूपले प्रयोग गर्ने मान्यतालाई नै हृदयङ्गम गरेको बुझिन्छ । साथै प्रश्रितको सो विचार व्यापक छलफल र विचार मन्थनको विषय बन्न सक्ने पनि देखिन्छ । यसर्थ सामाजिक समुन्नति र निम्न वर्गीय जीवनको समृद्धिको माक्र्सवादी यात्रामा प्रश्रितको आस्था विद्यमान नै छ र त्यस आस्थाले नेपाली समाजको ऐतिहासिक विकासको विशिष्ठता, संस्कृति र परम्पराको राष्ट्रिय अनुकूलनको माग गरेको देखिन्छ ।
४.निष्कर्ष
मोदनाथ प्रश्रितको जीवनगत यात्रा र समग्र साहित्यिक सिर्जन यात्राका बिच गहिरो सम्बन्ध रहेको देखिन आएको छ । विशेषतः २०२३ सालपूर्व प्रश्रितमा आध्यात्मवादी आदर्शवाद र क्षमाशील मानवतावाद तथा राष्ट्रप्रेमको गहिरो अभिव्यक्ति प्रकट भएको देखिन्छ । त्यस विचारका उत्प्रेरक तत्त्वमा प्रश्रितको पारिवरिक परिस्थितिका साथै तत्कालीन सामाजिक, आर्थिक, राजनीतिक एवं शैक्षिक परिवेश रहेका छन् । उनले त्यतिखेर समाजको आर्थिक असमानता, निम्न तह (धामी, झाँक्री, छुवाछुत प्रथा आदि) को धार्मिक पाखण्ड, जातीय भेदभाव जस्ता बाह्य यथार्थमा सुधारको अपेक्षा गर्नुका साथै व्यक्तिले आफ्नो जीवनको क्षणिकतालाई सम्झेर आत्मानुशासनमा रहँदै सामाजिक एवं राष्ट्रिय कर्तव्यबोध गरी क्रियाशील रहेमा सामाजिक समुन्नति र मानवीय आदर्श स्थापित हुन सक्ने अभिव्यक्ति प्रस्तुत गरेका छन् । यी सबैको वैचारिक मार्ग अध्यात्मवादी आदर्शवाद नै हो भन्ने निष्कर्ष त्यतिखेरका प्रश्रितमा पाइन्छ । प्रश्रितका २०२४ सालपछिका साहित्यिक कृतिमा र विशेषतः २०५० सालसम्मको अवधिका कविता रचनामा सशक्त प्रगतिवादी चेतना प्रकट भएको छ र कवितात्मक सम्प्राप्तिका दृष्टिले पनि यही अवधि उर्वर एवं उपलब्धिपूर्ण बनेको छ । उनले २०५० सालपछि केही कविता रचेका भए पनि तिनमा पूर्ववर्ती अवधिको जस्तो शोषक वर्गप्रतिको तीव्र घृणाबोधको प्रगतिवादी प्रवृत्तिमा निरन्तरता र सशक्तता प्रदान गर्न सकेका छैनन् यद्यपि ती कवितामा पनि समाजका उपेक्षित, शोषित, दलित एवं श्रमजीवी किसान र मजदुर लगायतका सर्वहारावर्गप्रतिकै पक्षधरता प्रकट भएको छ र उनीहरूमा समाज रूपान्तरणको चेतना जागृत गराउने कार्यकै निरन्तरता पाइन्छ । सामान्यतः प्रश्रित २०४० सालपछि निबन्ध, प्रबन्ध एवं संस्मरणात्मक लेख रचनातर्फ केन्द्रित भएका छन् र उनको पछिल्लो अवधि पनि तिनै विधातर्फ केन्द्रित रहेको छ । उनका प्रगतिवादी कविता एवं गीतका साथै समग्र लेखनमा नेपाली समाजभित्रका राजनीतिक सङ्घर्ष, आर्थिक द्वन्द्व, जातीय विभेद, सामाजिक अन्ध विश्वास, राष्ट्रिय स्वाभिमानको रक्षा आदि विषयलाई प्रस्तुत गरिएको छ र द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी मान्यता अनुरूपको समाज निर्माणको आकाङ्क्षा नै प्रस्तुत गरिएको छ । पछिल्लो अवधिमा प्रश्रितका कतिपय अभिव्यक्तिमा मतभेद देखिए पनि नेपाली समाजको सामन्तवादी राजनीति, संस्कृति र वैदेशिक प्रभुत्वको समाप्ति र समुन्नत एवं प्रगतिशील समाज निर्माणको कार्यलाई उनको लेखन एवं कर्मले सबलता नै प्रदान गरेको छ र उनी समग्रतः नेपाली प्रगतिवादी साहित्यिक आन्दोलनका अग्रणी अभियन्ताका रूपमै स्थापित भएका छन् । यसरी प्रश्रितले व्यक्तिगत जीवनमा भोगेका अनुभव एवं अर्जित विचारलाई नै आफ्ना साहित्य रचनामा अभिव्यक्त गरेका हुनाले उनको जीवन र सिर्जनाका बिच गहिरो सम्बन्ध देखिएको छ र त्यस सिर्जनाले नेपाली समाजको अग्रगामी रूपान्तरणका निम्ति उच्च र महत्त्वपूर्ण योगदान पु¥याएको छ ।
सन्दर्भ सामग्री
अधिकारी, रविलाल (२०६२), “काव्य साधनामा मोदनाथ प्रश्रित”, यथार्थवादी नेपाली समालोचना, सम्पा.
घनश्याम ढकाल, पोखरा ः गण्डकी साहित्य सङ्गम ।
अवस्थी, महादेव (२०५७), “देवासुर सङ्ग्रामको विषयवस्तुगत सेरोफेरो र विधागत स्वरूप”, कुञ्जिनी, (वर्ष ८, अङ्क ५), पृ. ५०–५८ ।
आश्रित, जीवराज (२०५८), “अतीतका पाइलाहरूबारे केही कुरा”, सङ्कलित रचना भाग ४, काठमाडौः
पैरवी बुक्स एण्ड स्टेसनरी सेन्टर ।
उपाध्याय, यदु नन्दन (२०६८), “कवि मोदनाथ प्रश्रितका प्रगतिवादी प्रवृत्ति”, अप्रकाशित विद्यावारिधि
शोधप्रबन्ध, त्रि.वि., काठमाडौँ ।
कार्की, ज्ञान बहादुर (२०६५), नेपालमा प्रजातन्त्रिक आन्दोलन, काठमाडौं ः निर्मला कार्की र किरण कार्की ।
के.सी., सुरेन्द्र (२०६८), “मोदनाथ प्रश्रित हाम्रो मनभित्रको”,जुही, (वर्ष ३१, अङ्क १,मोदनाथ प्रश्रित
विशेषाङ्क), पृ. १११८–११२३ ।
चापागार्इँ, निनु (२०५४), माक्र्सवादी चिन्तनमा सौन्दर्य, ललितपुर ः मृदुल महिम चापागार्इं ।
चैतन्य (२०६४), क्रान्ति र सौन्दर्य, काठमाडौंः प्रगतिशील अध्ययन केन्द्र ।
ढकाल, घनश्याम (२०४६), “मोदनाथ प्रश्रित ः चिन्तन र सिर्जनाका सन्दर्भमा”, उत्साह, (वर्ष ११, अङ्क ४९), पृ. २९–३७ ।
ढुङ्गेल, डिल्लीराम (२०५५), “मोदनाथ प्रश्रितका फुटकर कविता तथा गीतहरूको अध्ययन”, अप्रकाशित
स्नातकोत्तर शोधपत्र, त्रि.वि.,काठमाडौं ।
तिमल्सेना, पशुपतिनाथ (२०६५), युद्धप्रसाद मिश्रका र उनका कविता, काठमाडौं ः एसिया पब्लिकेसन्स प्रा.
लि. ।
नेबुप (नेपाल बुद्धिजीवी परिषद्) (२०४८), मोदनाथ प्रश्रित ः छोटो चिनारी, अर्घाखाँची ः नेपाल बुद्धिजीवी परिषद्, जिल्ला समिति ।
न्यौपाने, श्रीराम (२०५४), “मोदनाथ प्रश्रितको महाकाव्यकारिता”, अप्रकाशित स्नातकोत्तर शोधपत्र, त्रि.वि., काठमाडौं ।
पाण्डेय, ताराकान्त (२०५६), प्रगतिवाद र कविता, काठमाडौं ः शिला योगी ।
पौडेल, कविता (२०५९), काँडेघारीको यात्रा, कठमाडौं ः पसिना प्रकाशन ।
प्रलेस (२०५०), “सम्पादकीय”, प्रलेस, (वर्ष १, अङ्क २), पृ.क–ज ।
प्रश्रित, मोदनाथ (२०१५), नेपाली हितोपदेश मित्रलाभ, गुल्मी ः टेकराज शर्मा अधिकारी ।
(२०२२), “अध्यात्म जगत्मा एक दृष्टि”, गुराँस, (वर्ष १, अङ्क १), पृ. १७–३० ।
(२०४९), जब चल्छ हुरी, नेपाल ः पसिना प्रकाशन ।
(२०५८घ), सङ्कलित रचनाहरू (भाग ४), काठमाडौँ ः पैरवी बुक्स एण्ड स्टेसनरी सेन्टर ।
(२०५८छ), सङ्कलित रचनाहरू (भाग ७), काठमाडौँ ः पैरवी बुक्स एण्ड स्टेसनरी सेन्टर ।
(२०६२क), विचार र अन्तर्सम्बन्ध, नेपाल ः बगर फाउन्डेसन ।
(२०६२ख), “वैचारिकता र कलात्मकताका संयोजक”, सीमान्त आकाश, अन्तर्वार्ता. नेत्र एटम, काठमाडौं ः तन्नेरी प्रकाशन ।
बज्राचार्य, दयानन्द (२०६८), “प्रश्रितको भूतप्रेतको कथाबारे”,जुही, (वर्ष ३१, अङ्क १,मोदनाथ प्रश्रित
विशेषाङ्क), पृ.३२५–३२६ ।
माक्र्स, कार्ल र फ्रेडरिक एङ्गेल्स (२०६३), साहित्य र कला, दो.सं., अनुः राजेन्द्र मास्के, सूर्य प्रसाद पौडेल, काठमाडौं ः विवेक सिर्जनशील प्रकाशन ।
मिश्र, बालचन्द्र (२०५८), झापा आन्दोलनदेखि एमाले विभाजनसम्म, काठमाडौं ः विद्यार्थी पुस्तक भण्डार ।
मुक्तिबोध, गजानन माधव (सन् १९९३), नये साहित्य का सौन्दर्यशास्त्र, दो.सं., दिल्ली ः राधाकृष्ण प्रकाशन ।
रावल, भीम (२०४७), नेपालमा साम्यवादी आन्दोलन ः उद्भव र विकास, दो.सं., काठमाडौं ः पैरवी प्रकाशन ।
रिमाल, केदारनाथ (२०४९), “मोदनाथ प्रश्रितको निबन्धकारिता”, अप्रकाशित स्नातकोत्तर शोधपत्र त्रि.वि., काठमाडौं ।
श्रेष्ठ, पुष्पलाल (२०५३), सङ्कलित रचनाहरू (भाग १), सम्पा. विष्णु प्रभात, नेपाल ः मदन आश्रित
स्मृति प्रतिष्ठान ।

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 5 श्रावण, 2070

लेखकका अन्य रचनाहरु