गीत जस्तै जीवन : अरुण थापा

- सुवास मल्ल

मुटु रेटेर गाएको गीत कति मार्मिक हुन्छ, अरुण थापाको स्वर सुन्दा थाहा हुन्छ । थोरै गीत गाएर पनि कसरी कालजयी हुन सकिन्छ भन्ने बलियो प्रमाण पनि हुन् अरुण थापा !
पोखराको माटोले अरुण थापालाई गायन क्षेत्रमा चर्चाको शिखरमा चढायो र यही पोखराको माटोले नै उनलाई कहिल्यै नभुल्ने चोटहरु पनि दियो । संयोग यो थियो कि पोखरामा बसेको पहिलो प्रेमको दुःखद अवसान भए पछि उनले कयौं कालजयी गीतहरु गाए तर दुःखद पक्ष यो पनि थियो कि यही वियोगका कारण उनी जीवनलाई कहिल्यै सकारात्मक सोँच राख्न नसक्ने गरी जीवनयात्रामा कहीँ कतै हराए । उनको बाँकी जीवन व्यवहारिक रुपमा असफल नै रह्यो । उनको पछिल्लो घरबार पनि राम्रोसँग बस्न सकेन, करोडबाट रोडपतिको यात्रा शुरु भयो र उनी लागु पदार्थको नशाको संसारमा नराम्रोसँग फँसे, निस्कनै नसक्ने गरी ! यही नशाले उनलाई जेलको चिसो छिँडी देखि मृत्युको मुखसम्म पनि पु¥यायो ।
अन्ततः २०५६ सालको श्रावण ५ गते काठमाडौं बागबजारको कान्तिपुर गेष्ट हाउसको एउटा कोठामा अरुण थापाले अन्तिम सास फेरे । हेपटाइटिस बि, कलेजोको संक्रमण र पेटको अल्सर जस्ता अनेक रोगहरुको उपचारको अभावमा एउटा इतिहासको दुःखद अन्त्य भयो । भन्नेहरु भन्छन् पैसा पाए पछि अरुण थापालाई औषधी भन्दा नशा कै बढि खोजी हुन्थ्यो । उनको लाशसँगै कान्तिपुर गेष्ट हाउसको त्यो कोठामा एउटा गितार, एउटा बोतल र तेह्र रुपैयाँ मात्र भेटिएको थियो ।

पोखराले दिएको चोट
अरुण थापा उच्च शिक्षा अध्ययन गर्न पोखराको पृथ्वी नारायण क्याम्पस भर्ना भएका थिए । संगितसँगको उनको नाता पुरानै थियो, झन् स्वर त प्रकृतिले अरुणलाई गायक बन्नैका लागि सुम्पेको थियो । क्याम्पसका सानो ठूलो जमघटमा उनी आफ्नो स्वरको जादु चलाइ हाल्थे ।
यसै क्रममा पृथ्वी नारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको वार्षिक स्वागत कार्यक्रमको स्टेजबाट उनले मोहम्मद रफिको गीत “मेरा जीवन कोरा कागज गाएर” सबैलाई मोहित पारे । क्याम्पसमा अध्ययनरत एक छात्राले उनको स्वरको मोहनीले बाँधिएर प्रेम प्रस्ताव नै राखिन् । अरुणको प्रेम यात्रा शुरु भयो उनै विमला पालिखेसँग, जो राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य सचिवकी बहिनी थिइन् । यो जोडी परिवारसँगको सहमति बेगर नै २०३४ सालमा काठमाडौंको गुह्वेश्वरी मन्दिरमा विवाह बन्धनमा बाँधियो । जुन विवाहको चाँजोपाँजो मिलाइदिएका थिए, थापाका मितज्यु तथा अर्का चर्चित गायक ओमविक्रम विष्टले । विष्ट लगायतका थापाका केही साथीहरु विवाहका साक्षी थिए ।
यस अघि नै उनी गायकका रुपमा उदाइ सकेका थिए । सानो ठूलो गायन प्रतियोगिता देखि रेडियो नेपालसम्मको गायन प्रतियोगितामा उनी पुरस्कृत भइसकेका थिए । अरुण थापाको बारेमा आधिकारिक तथ्यांकहरु त्यति धेरै नपाइए पनि २०३४ को आसपास मै उनले आफ्नो सर्वाधिक चर्चित गीत “ऋतुहरुमा तिमी ...” गाएको मगर विद्यार्थी संघका पूर्व अध्यक्ष माधव कुमार दर्लामी बताउँछन् ।
आफ्नी प्रेमिकाको सम्मानमा यस्तो गीत गाउने थापाको प्रेममा विवाहसँगै दरार आउन थाल्यो । खानदानी परिवारकी सुपुत्रीसँगको प्रेम नै थापाका लागि अफाप सिद्ध भयो । सुटुक्क विवाह गरेर विमलाको परिवारसँग भाग्दै र लुक्दै यो जोडिले केही समय त बितायो तर यसरी सधैं टिक्नेवाला थिएन । केही दिनका लागि छोरीलाई माइतीघर पठाइदिन भनेर परिवारले अनुनय विनय गरेपछि विमला पोखरा जान तयार भइन् । तर पोखरा पुगे पछि विमलाको परिवारले विमलाको विवाह अर्कै मानिससँग गराइदियो । भावुक हृदयका अरुणलाई यो घटना मुटु हजारौं टुक्रा बनाउन काफि थियो । मुटु रेटेर त्यस पछि उनले २०३६ सालमा गाए –
जति माया लाए पनि, जति कसम खाए पनि
निष्ठुरीले बाटो लाग्दा, आँखा तरी गए पछि
मनमा पिर त पर्ने नै भयो
यो मन त्यसै मर्ने नै भयो

पीडाहरुको एक दशक
अरुण थापाको जीन्दगीमा २०३४ सालबाट शुरु भएको यो पीडाको श्रृंखला त्यत्तिकैमा सकिँदैन । वियोगको यो घडीले विक्षिप्त बनेका थापा नशाको संसारमा रमाउन थाले । मुटुको भित्री पत्रबाट निस्केका उनका गीतहरुले एकपछि अर्काे गर्दै बजार पिट्न थालिसकेको थियो । उनका प्रशंसकहरु बढिरहेका थिए । यस्तैमा उनको पीडाहरुमा सहकार्य गर्ने बाचा कसम खाएर थापाको जीवनमा आइन् ललितपुरकी मुना केसी । यो प्रेमलाई परिवारको असहमतिका बीच पनि थापाले विवाहको रुप दिए ।
मुनासँगको सहयात्रा पनि थापाको जीवनमा राम्रो जम्न सकेन । थापा त अघिल्लो प्रेमको असफलता पछि अर्कै धातुमा परिणत भइसकेका रहेछन् । नशाको संसारबाट उनलाई बाहिर निकाल्ने मुनाको प्रयासले पनि सफलता पाउन सकेन । गायनमा त थापाले सफलताको शिखरमा पुग्न थालेका थिए तर व्यवहारिक जीन्दगीमा उनी निरन्तर असफलत साबित हुँदै थिए । नशाको संसारमा सम्पत्तिको विनाश भइ रहँदा पनि उनले गायनलाई कहिल्यै पनि व्यवसायिक बनाउन सकेनन् । फलतः नेपाल बैंकका वरिष्ठ अधिकृत उनका पीता गञ्जु थापाले झम्सिखेलमा जोडिदिएको घर, जग्गा, गाडी सबै स्वाहा भयो । एक समय त्यत्रो सम्पत्तिको मालिक थापा परिवारले डेराको जीन्दगी शुरु ग¥यो ।
२०३७ सालमा उनै पीताको देहान्त भयो र त्यसको दुई वर्ष पछि २०३९ मा माता शान्ति थापाले पनि यो संसारबाट बिदा दिइन् । अरुणको अव्यवहारिक जीन्दगीका कारण दाम्पत्य जीवनमा दरार आउन थाल्यो र अन्ततः २०४४ सालमा मुनाले पनि अरुणलाई छाडेर गइन् । माइतीघरको जीन्दगी केही समय बिताएपछि मुनाले पनि अर्काे विवाह गरिन् ।
अरुणको जीन्दगीमा अब छेकबार गर्ने कोही भएन । लागु पदार्थ प्रयोगको दुव्र्यसनीको अभियोगमा २०४५ सालमा त उनी पक्राउ नै परे र एक वर्ष भन्दा बढि जेल जीवन पनि बिताए । तर उनले यो कुलतलाई छाड्नै सकेनन् । सायद संगित र नशा अब उनको लागि पर्यायवाची भइसकेको थियो, जसलाई छाड्नु भन्दा उनी घर, परिवार, पत्नी सबै सबै त्याग्न तयार भए । जीवनको अन्तिम काल खण्ड चरम आर्थिक संकट र एकान्तवासमा बिताउँदै अन्ततः सबैलाई छाडेर गए । यी दिनहरुमा अरुणलाई मित्रहरु अमृत गुरुङ्ग, ईश्वर गुरुङ्ग र बहिनी मिना थापाको सहयोग मिलेको थियो तर पनि उनलाई अल्पायुको मृत्युबाट कसैले रोक्न सकेन ।

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 5 श्रावण, 2070

लेखकका अन्य रचनाहरु