बद्री सर र किताप सरको नाममा

- अबीर खालिङ

बिहानै उठेर नुहाइसकेको छु म । ह्रदयभरि एउटा व्यक्त गर्न नसकिने खुशी सल्बलाईरहेको छ। मित्र डम्बर थापा (शिक्षक , बिरपाड़ा नेपाली उच्चतर विद्द्यालय) लाई पनि मेरो हतारो खनाइदिएको छु।कुन्नि कस्तो बालकहरूको जस्तो छटपटीले मेरा पलहरू असहनीय भएका छन । घडीको काँटासँग कुदिरहेछ मेरो मनको चंचलता । कहिले गाड़ीमा चडेर हिँड्नु जस्तो विचारले तरंगित छु म । बिहानको आठ बज्दा खाजा खाई, हामी तयार भई डुवर्सेली साहित्यिक स्वनामधन्य श्री कितापसिंग राईलाई पर्खिरहेका हुन्छौं ।
यसरी डुवर्सको जून महीनाको तातो वातावरणमा बिरपाड़ामा माथि अंकित मितिको एउटा बिहान व्यग्रतामा , व्यस्ततामा र अजस्र उमङ्गमा बितिरहेको हुन्छ।
पूर्व निर्धारित कार्यक्रम अनुसार म, मित्र डम्बरसहित श्रदेय किताप सरसँग साथलागेर बाग्राकोट जान लागेका छौं । आज नै डुवर्स नेपाली साहित्य विकास समितिको एउटा सभाको आयोजना छ बाग्राकोटमा, त्यही सभामा उपस्थिति दिनु जानु हुँदैछ किताप सर भने हामी तीर्थाटनको उद्देश्यमा छौं। हाम्रो उद्देश्य किताप सरलाई राम्ररी थाहा छ । तिर्थाटन, डुवर्समा ? सोंचेर पाठक विस्मित बन्नुहोला । पृष्ठभूमि र पूर्व-स्मृतिको सानो अध्याय यहाँ थप्नु आवश्यक होला ----
तीर्थाटन ; पूर्व-स्मृति—
सन १९८१ सालको कुरा हो । म सातौ श्रेणीको विद्द्यार्थी थिएँ । हातमा जे जे आयो त्यही पद्न थालिहाल्थें । प्रकाश ‘कोविद’ र सुवासका उपन्यासहरू , चरणधुली , लगन, भ्रमर,काजी प्रधान र असित राईका उपन्यासहरू , जय धमालाका उपन्यासहरू हुँदै एकदिन रूसी लेखक गोर्कीको नेपालीमा अनूदित ‘आमा’ पनि मेरो हातमा आई पुग्यो । अनुवादक रहेछन् श्री बद्रीनारायण प्रधान ।उपन्यासको अन्तिम पातामा अनुवादकको पूर्ण ठेगाना पनि थियो। त्यस समय मेरो कलिलो मन साहित्यप्रतिको झुकावले टम्म भरिएको थियो। म लेखकलाई चिन्न चहान्थे , जान्न चहान्थे, बुज्न खोज्थें औ उनीहरूका सांवेदिक मनले हिँडेका आनुभूतिक यात्रामा सरिक हुन चहान्थे । उनीहरूसँग नजिकिन , उनीहरूको लेखकीय ऊर्जा ग्रहण गर्न लालायित रहन्थे। त्यसैले त्यस समय मैले थुप्रै साहित्यिक हस्तिहरूलाई पत्रहरू लेखें । कतिलाई लेखें, के लेखें, अब सब विस्मृतिको गर्भभित्र छन् तर जतिले माया गरेर मलाई प्रत्युत्तर पठाए, आफूतिर तान्ने कोशिष गरे , उनीहरूको माया ,प्रोत्साहन, प्रेरणाको प्रत्त्यक्ष चिन्हारी यी अक्षरहरू हुन्। मैले उनीहरूको अमूल्य समय र प्रेरणाका अक्षरहरुलाई खेरो जान दिईनँ- का प्रमाणहरू हुन् यी अक्षरहरू। यही क्रममा खरसांगबाट काजी प्रधानले, कालेबुङ्बाट जय धमालाले, बाग्राकोटबाट बद्रीनारायाण प्रधानले माया, आशिष, स्नेह,सुझाव र प्रोत्साहनले भरिएका पत्रहरू पठाउनु भएको थियो । जोरथांग सरकारी उच्च विद्द्यालय, (सिक्किम)को सातौ श्रेणीको विद्यार्थी मलाई अत्यन्त माया र स्नेह देखाएर बद्रीनारायण प्रधानज्यूले चारवटा पत्र पठाउनु भएको थियो। ती पत्रहरूमा लेखकले निर्वाह गर्नुपर्ने कर्तव्य र उत्तरदायित्व, गर्नु पर्ने अध्ययन, संवेदनशीलता र संप्रेषणीयता आदि लेखेर पठाउनु भएको थियो। कति बुझ्न सकेको थिएँ, कति नबुझेर मनमा खिलेर राखेको थिएँ । वाल्यकालको लापरवाही र अज्ञानताले ती अमूल्य निधि अब मसँग छैनन् तर ती पत्रहरूले दिएको असिम ऊर्जा मसँग छ। जहिल्यै पनि जहाँ पनि म उहाँको पावन नामबाट प्रेमित छु, दीक्षित छु र आफूलाई पोषित ठान्छु । उहाँले दिनु भएको प्रेममय प्रोत्साहनको दहमा स्नान गरेर म पवित्र र ऊर्जावान बनेको छु । मेरा यी अक्षरहरूमा उहाँको आशिष छ, उहाँले सायद पत्रहरू नलेख्नु भएको भए म साहित्यतिर उन्मुख हुन्थे कि, शंकाको तीरले अहिले पनि रोपिन्छु म। त्यसैले, उहाँ मेरा निम्ति प्रात: स्मरणीय , परमपूज्य र पावनतीर्थ हुनुहुन्छ । केदारनाथ, बद्रीनाथ र अमरनाथ यात्राको शुभफल र प्राप्ति उहाँको दर्शनमा मलाई प्राप्त हुनेछ । यही संदर्भमा माथि बाग्राकोटमा तीर्थाटन भनेको हूँ ।
स्मृतिपटमा रहेका पत्रका केही अंशहरू :
सन १९८४ मा, नामची उच्चतर माध्यमिक विद्यालयमा एघारौं श्रेणीमा अध्ययनरत हुदाँ भानु जयन्तिको दिन ‘निर्माण’ पत्रिकाका सम्पादक / प्रकाशक , तत्कालिन विधायक र वर्तमान सिक्किमका मुख्यमंत्री डा पावन चामलिंगसँग मेरो भेट भयो। उहाँले निर्माणको निम्ति रचना
पठाउने सल्लाह दिनु भयो। मैले तुरंतै ‘एउटा सीरक, एउटा स्वेटर ‘ कथा प्रकाशनार्थ पठाएँ र प्रेषण पत्रमा श्रद्धेय बद्रीनारायण प्रधानज्यले लेख्नु भएको एक दुई हरफ पनि सम्मिलित गराएँ-जो ‘निर्माण’को पातोमा सुरक्षित छ। मेरो पत्रको केही अंशलाई हुबहू ‘निर्माण’को पातोमा सम्पादक
चामलिंगज्यूले प्रकाशित गरिदिनु भएको थियो। त्यही अंशमा नै उहाँको पत्रको स्मृति अक्षरहरू बाँचेका छन् । ठुल्ठुला सपाट हस्तलिपिमा ऊहाँले लेख्नु भएको थियो-“भाई, पसीनाको खोलो बगाएर पनि बहुसंख्यक जनता भोको छन, भने मुट्ठीभर मानिसहरू ऐस-आरामको जिन्दगी भोगिरहेछन् । हाम्रो साहित्यले यही विभेद देखाई निराकरणको र विद्रोहको बाटो खोज्नु पर्छ। हिजो आज कति ठुल्ठुला साहित्यिकहरू एक र एक जोड़े तीन हुन्छ भन्ने छन । यस्ता साहित्यिक र साहित्यले समाजको हीत कहिले गर्दैन । “
‘सत्यको अन्वेषन’ राजनीति निरपेक्ष साहित्यले गर्न सक्दैन कहिले उहाँ लेख्नु हुन्थ्यो त कहिले रूसी साहित्य बिषयमा ।सातौं श्रेणीको विद्यार्थीलाई ऊहाँ झैं विद्वान –प्राज्ञ व्यक्तिले निर्मल हृदयले लेख्नु भएको अभिव्यक्ति निश्चय नै ईश्वरीय वाणी झैं थियो। ती पत्रहरूको समुचित संचय गर्न नसकेकोमा अहिले अपार खेद लागिरहेको छ ।
यात्रारत संवाद :
किताप सर पुत्र पार्करलाई साथ लिएर निजी वाहनमा हामीलाई लिन आइपुग्नु भयो । उमेरले पिता समान भए पनि कर्मथलो र कर्मक्षेत्र एउटै भएपछि हामीले धेरै अंतरंग रात र साथ निभाएका छौं सरसँग । दार्जिलिंगबाट डुवर्स आउँदा उहाँ कै नाम पछ्याउँदै आए। डूवर्सेली अभिभावक मान्छु म उहाँलाई। पर्खेर बसेका हामीहरू चड़ेपछि गाड़ी गुड्न थाल्यो बिरपाड़ादेखि बिपरित दिशा बाग्राकोटलाई लक्ष्य बनाउँदै । बिरपाड़ाको बिर्बिट्टे बस्तिमा (किताप सरको गाउँ) वाङ्मयको विशिष्ट व्यक्तिले वाध्यतावस बोक्नु परेका बोझाहरू, असुविस्ताहरू सुन्दै हामी अघि बड़िरहेका छौं । मधेसको गर्मी, मच्छरको प्रकोप, संसर्ग र नव्य प्रकाशित पुस्तक –पत्रिकाको अभाव एउटा सिर्जनशील श्रष्टा साधकलाई कति खट्कदों रहेछ-अहिले यहाँ आएर अनुभव गरिरहेछु। सोच्छु- किताप सरहरूले कसरी आफूलाई बचाएर राखे होलान यो भाभरमा ? एकप्रति पत्रिका बिक्रीहुन नसक्ने अवस्था छ यहाँ । अधिकांश नेपाली जनसंख्या कमान बस्तिमा छन । नून र भुटुनको अवश्यकताले पिल्सिएको जमातलाई साहित्यको कति चासो होला ? केही शिक्षित र सम्पन्न परिवारकाहरू सुख र सुविधाको खोजमा, भविष्यको चिन्तामा, अन्य जातिको लहै लहैमा लागेर नेपाली पड्न नजान्ने छन, यस्तो स्थितिमा आफूभित्रको सिर्जनशीलताले आत्माहत्या गर्दैन? साहित्य तर्फको उदासीन मानसिकता वर्तमानको साझा रोग हो तर डुवर्सको सन्दर्भमा यो अलि बड़ी छ। ‘सक्रियताका वर्षहरू पनि थिए, गौरवशाली अतीत पनि छ तर अहिले डुवर्स डाँवाडोल छ’ ‘व्यक्तिगत बुताले भ्याएसम्म कतिले गर्दैछन तर सांगाठानिक रूपमा केही हुन सकेको छैन’ आदि कुराहरू भन्नुभयो सरले। डूवर्सेली नेपाली साहित्यको वर्तमान स्थितिमाथि निक्कै चर्चा भयो । बंद कमान, नेपालीहरूको आर्थिक र राजनैतिक स्थिति, शिक्षाको स्तर आदिमाथि पनि प्रसंगवस कुराहरू निस्के । उहाँ कति चिन्तित हुनुहुँदो रहेछ डुवर्सको नेपाली जातिको शिक्षाप्रति, सामाजिकतामाथि र अनन्य जातीय अतिक्रमण र भाषिक थिचोमिचोप्रति, म सोंच्दै थिएँ । भाषाको अनन्य सेवक, साहित्यसाधक, र शिक्षाप्रति समर्पित व्यक्तिको अनुभवले हाम्रो यो यात्रा सुगम र सुखद भईरहेको थियो। ज्ञानको रोशनीले मेरो संसार उज्यालिँदै जाँदै थियो। साथको लाभले म पुलकित थिए। हाम्रो गाड़ीले बाग्राकोट टेकिसकेछ।
गाड़ीबाट उत्रिँदै किताप सरले भन्नु भयो-“ मेरो मिटिंगको समय भयो, मिटिंग सकेपछि आरामसँग बद्री सरलाई भेट्न जौंला है, हतार नगरुँ।“ अनि उहाँ जानु भयो, हामी तीनभाई (डम्बर, पार्कर , म ) यताउति अल्मलियौं । छेवको चिया दोकानमा चिया पियौं। कथाकार ‘किरात’को कुरा पनि निस्क्यो, विरामी हुनुहुन्छ सुनेर विस्मित भयौं । भेट्न जानुपर्छ, सल्लाह गरयौं । बाग्राकोटको नेपाली विद्यालय हेर्न गयौ । विलम्ब गरेर सभामा पस्नु भएको किताप सर चाँड़ै आई पूग्नु भयो। हर्षले म रोमांचित भएँ । हाम्रो अभिष्ट र उदेश्यले बल्ल लक्ष्य प्राप्त गर्ने भो ।
साक्षात्कार: अतीत मोह ;
बद्रीनारायण सरको बैठक कोठामा छौं।
कोठाका चार देवलभरि विभिन्न सङ्घ-संस्थाले चड़ाएका अभिनन्दन पत्रहरू , विभिन्न कार्यक्रम का दुर्लभ संग्रहनीय तस्बिरहरू , हेर्दै उहाँलाई हामीले उहाँको घरको वैठक कोठामा तीन मिनट
जति पर्ख्यौ । उहाँ बिस्तारै घरको देवलको सहारा लिँदै वैठक कोठामा आउनु भयो । किताप सरलाई नियालर हेर्नु भयो , हामी सबैले एकै साथ नमस्ते गरयौ । विस्तारै सोफ़ामा बसेर हामीलाई पालो पालो हेर्नु भयो ।

आँखामा बाक्लो पावरवाला चस्मा, कानमा श्रव्यसहायक यन्त्र, झण्डै छ फिट अग्ला र बुडेशकालमा पनि बलियो सुगठित काया । चौड़ादार निधारले भाग्यशाली र विद्वत्ताको परिचय पस्किरहेको, तर त्यही वैभवशाली व्यक्तित्वमा सेतो दुबी रोगले केही खोट लाएको, एक झलकमा लेखक होइन, कुनै कुस्तीबाज योद्धासँग भेटिरहेछु भन्ने भ्रमले म टोल्हाएँ ।
किताप सरले अलिक जोडले भन्नु भयो,-“ यहाँ अबीर भाई, तपाईंलाई भेट्न आको, ।अहिले मसँग नै मेरै स्कूलमा छ नि । चिन्नु हुन्छ ?”
उहाँले राम्ररी सुन्न र चिन्न सकनु भएन ।
“ को ह’ रे ? बुड़ेशकालले यस्तो पो भाको छु , न त सुन्न सक्छु राम्ररी, न देख्न सक्छु । “ अनि मपट्टि घोरिएर, ध्यान दिएर हेर्नु भयो।
“कवि अबीर खालिङ भाई, पड्नु भएको होला कतैतिर ?” किताप सरले मेरो सानो साहित्यिक व्यक्तित्वलाई चिनाउने प्रयत्न गर्नु भयो ।
“ओ! ‘सुनचरी’ मा लेख लेख्ने अबीर खालिङ ? पडेको छु , पडेको छु । “ भन्दै हात मिलाएर अंगालो हाल्नु भयो। म हर्ष र असीम आनन्दले मात्तिएँ । मेरो आराधना सफलीभूत भएको थियो। मैले वरदान पाए सदृश भएको थियो र मोक्ष प्राप्त भए झैं लागिरहेको थियो।
मौका छोपेर मैले अतीतको कुरा कोट्याएँ,-“ सर , तपाईंलाई मैले चिट्ठी लेखेको थिएँ ,तपाईंले पनि प्रत्युतर पठाउनु भएको थियो, थाहा छ कि छैन सरलाई ?”
“ मैले पनि चिट्ठी पठाएँ ? के के लेखे ? केही थाहा छैन । “ अलि हाँसेर उहाँले भन्नु भयो।
“अहिले होइन सर, सन् १९८१ सालको कुरा हो, म सात क्लासको छात्र थिएँ , जोरथांग स्कूलको स्टुडेन्टले चिट्ठी लेखेको सरलाई थाहा छ ?” मैले स्मृतिलाई हूबहू वर्णन गरेर याद दिलाउने चेष्टा गरें।
म मेरो उद्देश्यमा सफल भएछु ।

सरले हाँस्दै भन्नु भयो,- “एउटो केटोले चिट्ठी लेख्थ्यो जोरथांगबाट , तर मैले उत्तर पठाएँ कि पठाइनँ, थाहा भएन ।“
सरले केही सम्झनु भएपछि मैले भने,-“ सर , त्यो चिट्ठी लेख्ने केटो मै हूँ । तपाईंले मायासहित पठाउनु भएको चिट्ठीहरूकै ओतमा म अहिले केही लेख्ने भएको छु । “
मज्जा मानेर सर हाँसिरहनु भयो। कल्पनातीत र अनपेक्षित खुशीले मानिसलाई वाक-वर्ध्यक्यको स्थितिमा पुरयाउँदो रहेछ , सरको मुहारमा असीम संतुष्टिको खोलो बगिरहेको थियो। सत्कर्मको सुद्दी कर्तालाई हुँदैन तर प्रापक जाहिले पनि लाभान्वित भइरहेको हुन्छ ।
त्यसपछि चिया पिउँदै यताउताका कुराहरू भए, साहित्य एकाडेमीको ‘मिट द अथर’ कार्यक्रम अन्तर्गत उहाँसँग लेखकहरूको भेटघाटको कार्यक्रमबारे चर्चा भयो। उहाँ निक्कै उत्साहित हुनुहुन्थ्यो।
समयले हाम्रो साथको अन्त्य गराईदिएको थियो, विदा माँगेर हिड्नेबेलामा उहाँको मौलिक उपन्यास ‘मौली’को एकप्रति ‘कबि श्री अबिर खालिङकै समर्पणमा’, त्यसपछि आफ्नो सही नेपालीमा ‘बद्री’ गरेर मिति ३-६-०७ हरियो मसीले लेखेर मलाई उपहारस्वरूप दिनु भयो।
त्यो स्वर्गीय साथको हेंगओभरमा हाम्रो फिर्ती यात्रा सुगम भएको थियो।

डुवर्स

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 23 आसाढ, 2070

लेखकका अन्य रचनाहरु