वरिष्ठ साहित्यकार एवम् संस्कृतिविद् सत्यमोहन जोशीसँग भेटवार्ता

- होमशंकर बास्तोला

वरिष्ठ साहित्यकार एवम् संस्कृतिविद् सत्यमोहन जोशीको जन्म वि. सं. १९७७ साल बैशाख ३० गते बखुंबहाल, ललितपुरमा भएको हो । उहाँले हाम्रो लोक संस्कृति–२०१४, नेपाली राष्ट्रिय मुद्रा–२०१९, कर्णाली लोक संस्कृति–२०२८ गरी तीनपटक मदन पुरस्कार प्राप्त गरिसक्नु भएका साधक हुनुहुन्छ । उहाँका नेपाल भाषाका १८ वटा र नेपाली भाषाका १९ वटा गरी ३७ वटा पुस्तकहरु प्रकाशित भइसकेका छन् । उहाँले संस्कृति तथा साहित्यको श्रीवृद्धिमा उल्लेखनीय काम गरे बापत श्रेष्ठ सिरपा पुरस्कार, लाकौल सिरपा पुरस्कार, मदन पुरस्कार, आदिकवि भानुभक्त पुरस्कार, त्रिभुवन प्रज्ञा पुरस्कार, भुपालमान सिंह कार्की
पुरस्कार, लुनकरणदास गंगादेवी चौधरी पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार तथा सुप्रवल गोरखा दक्षिणबाहु, विख्यात त्रिशक्तिपट्ट, प्रसिद्धप्रवल गोरखा दक्षिणबाहु, उज्ज्वल कीर्तिमय राष्ट्रदीपजस्ता पुरस्कार तथा सम्मानबाट सम्मानित भइसक्नुभएको छ । उहाँ ९४ वर्षको उमेरमा समेत जोश र जाँगरका साथ साहित्य र सांस्कृतिक कार्यमा क्रियाशील स्रष्टा हुनुहुन्छ ।)

१. यहाँ संस्कृतिविद् हुनुहुन्छ । इतिहास र संस्कृतिबीचको सम्बन्ध कस्तो रहन्छ ?

वास्तवमा मैले सोसोलोजी, इन्थ्रोपोलोजी पढेको पनि होइन । त्यसबेला व्यवस्थापन इतिहास, अर्थशासत्र पढाउने व्यवस्था रहेको र मैले सांस्कृतिक अध्ययन नगरेको भए पनि यसप्रति केही गरौँ भन्ने इच्छा जागृति भयो । इतिहासबाट नै सँस्कृतिको थाहा पाउन सकिने हुँदा कल्चरसँग इतिहासको ठूलो सम्बन्ध छ । यसको उदाहरणको रुपमा कर्णाली अंचलको सिञ्जा खोला र सो क्षेत्र वरिपरि ठाउँठाँउमा १८ वटा ढुंगामा कुँदिएका अभिलेखहरु इतिहासको रुपमा रहेका हुँदा इतिहास र सँस्कृतिबीच सम्बन्ध रहन्छ ।

२. दशवर्षे युद्धमा सांस्कृतिक क्रान्ति गरिएको उद्घोष गरिएको थियो । के त्यस अवस्थामा भएको सांस्कृतिक प्रहारलाई सांस्कृतिक परिवर्तन भन्न सकिन्छ ?

कल्चर रोभोलिसन भन्नाले हाम्रा चलनचल्तीमा रहेका सांस्कृतिक बिक्रिति र विसङ्गतिलाई हटाउने विषय हो, संस्कृति नै निमिट्यान्न पार्ने होइन । त्यस क्रान्तिले छाउपडी प्रथा त हटाउन नसकेको अवस्थामा त्यसलाई के सांस्कृतिक क्रान्ति भन्ने र ! त्यो त पावर क्याप्चरको लागि मात्र हो ।

३. यहाँको विचारमा सांस्कृतिक परिवर्तन कसरी हुन्छजस्तो लाग्छ ?

कल्चर डाइनामिक हुन्छ । श्रोत नबिग्रने गरी आफ्नो आधार टेकेर समयको परिर्वतन अनुसार संस्कृति सकारात्मक रुपमा परिवर्तन हुनुपर्दछ । मानिस सरकारको कानुन बमोजिम, सरकारी सांस्कृतिक नीति वमोजिम विस्तारी परिवर्तन गर्न सक्छ । तर सांस्कृतिक
परिवर्तन सकारात्मक रुपमा हुनुपर्दछ । मानिसको स्वतन्त्रतालाई प्रजातान्त्रिक व्यवस्थामा स्वीकार गर्नु नै पर्छ । जस्तो कि भ्यालेन्टाइन डे नेपाली माटो अनुसार भए स्वीकार गर्नुपर्दछ । जंगलमा फुलेको फूल दिएर पनि आफ्नो प्रेमी–प्रेमिकालाई सम्मान गर्न सकिन्छ । तर आफ्नो आइडिन्टिटी बिर्सनु हुँदैन ।

४. तपाईंले निजी क्षेत्रको ठूलो पुरस्कार मदन पुरस्कार तीन पटक प्राप्त गर्नुभयो । त्यति ठूलो पुरस्कार प्राप्त गर्दाको तपार्इंको अनुभव के छ ?

मैले त्यति ठूलो पुरस्कार पाउँदा केही गरौँ भन्ने प्रेरणा प्राप्त भयो र फेरि मैले गरेको कार्यले पुरस्कृत हुने अवसर पायो । म जागिरदार थिएँ साहित्यकार भएँ । म जागिरदार भएर होइन साहित्यकार बनेकाले तपार्इं यहाँ आउनुभयो । मैले तीन पटककै मदन पुरस्कार कृतिको आधारमा पाएको हुँ । पहिलो पटक हाम्रो लोक सँस्कृति–२०१४ साल, दोश्रो नेपाली राष्ट्रिय मुद्रा–२०१९ साल र तेश्रो कर्णाली लोक सँस्कृति–२०२८ सालमा मदन पुरस्कार पाएको हुँ ।

५. निजी क्षेत्रको त्यति ठूलो पुरस्कार प्राप्त गर्नुुभयो । सरकारी स्तरबाट तपार्इंलाई उचित सम्मान गरेजस्तो लाग्छ ?

मदन पुरस्कार प्राप्त भएपछि सरकारी स्तरबाट पनि पुरस्कार प्राप्त हुन थाले । मैले त्रिभुवन प्रज्ञा पुरस्कार, आदिकवि भानुभक्त पुरस्कार लगायत अन्य पुरस्कार पाएँ । प्रज्ञा पतिष्ठानको म २०३१ सालमा सदस्य सचिव भएको हुँ । सरकारी स्तरबाट उचित सम्मान पाएकै
छु । सरकारले कति ग¥यो गरेन भन्ने मलाई असन्तोष छैन । सन्तोष मानेको छु । अरुको जस्तो असन्तोष छैन । मान्नु पनि ठीक होइन ।
६. लेखनमा सफलता प्राप्त गर्नको लागि वर्तमान लेखकहरुलाई कस्तो सल्लाह दिन चाहनुहुन्छ ?
कुनै पनि साहित्य, सँस्कृति, अनुसन्धान लेखनको लागि अध्ययन र अन्वेषण चाहिन्छ । राष्ट्रिय जीवन र जनजीवनको बारेमा अध्ययन गरी लेख्न सक्नुपर्दछ । आफँै जान्ने र सर्वेसर्वा नठानी विषयको गहन अध्ययन गरी लेखन कार्य गर्नुपर्दछ ।

७. तपार्इं ९३ वर्ष हुनुभयो । यो उमेरमा पनि साहित्य, संस्कृतिको अध्ययनमा क्रियाशील हुनुहुन्छ । यस्तो उर्जा कसरी प्राप्त होला ?

म जागिरे थिएँ । तनहुँ र लमजुङमा जागिरको काम गरेँ । २००१ सालमा म ठिटो थिएँ । त्यहाँ काम गर्दा गाँउमा भएको एउटा कार्यक्रमा ‘के खायो के लायो होला, वनको जुरेली चरीले’ भन्ने लोक गीतले मेरो मन छोयो । सामान्य काम र उच्च सोचाइले गर्दा सोही गीतको संकलनबाट मैले कार्य सुरु गरेँ । सो कार्यले पनि उर्जा दियो । मान्छेमा मोटर, कार, घर, सम्पत्तिको चिन्ताले आयु छोटिरहेको छ । चिन्ताबाट मुक्त भएपछि त्यसै उमेर लम्बिन्छ । चिन्तन गर्ने तर चिन्ता नगर्नु नै उर्जा हो ।

८. तपाईं जहिले पनि राष्ट्रिय पोशाक लगाउनुहुन्छ । वर्तमान अवस्थामा सरकारले राष्ट्रिय पोशाकका रुपमा जे लगाए पनि हुने व्यवस्था गरेको अवस्था छ । तपाईं के भन्नु हुन्छ ?

जसले जे भने÷गरे पनि कल्चर, आइडिन्टिटी आफ्नो हुनुपर्दछ । हाम्रो आइडिन्टिटी विदेशीलाई के थाहा । टाइसुट लगाएर विदेश भ्रमण गर्दा न अंग्रेज हो न अमेरिकी कसरी थाहा हुन्छ । विदेशीले नेपाली भए पनि अंग्रेज वा अमेरिकी ठान्छ । आफ्नो पहिचानको लागि भाषा र पोशाक आफ्नो हुनुपर्दछ । नत्र नेपालीको पहिचान कसरी देखिन्छ ? त्यसर्थ राष्ट्रिय पोशाकले राष्ट्रिय पहिचान झल्काउने हुँदा म राष्ट्रिय पोशाक लगाउँदछु ।

९. भाषा, साहित्य, संस्कृतिको बारेमा हाल के गरिरहनुभएको छ ?

साहित्यिक कार्यक्रमहरुमा जाने, पुस्तकहरुको भूमिका लेखिदिने कार्य गरिरहेको छु । केही दिन अघि मेरो सुनकेसरी नामक नाटक देखाएको÷प्रदर्शन गरिएको थियो । उक्त नाटक सिञ्जा खोलाको नेपाली भाषाको व्युत्पत्ति थलो सम्बन्धी विषयको नाटक हो ।

१०. तपाईं नेपाली लेखक र पाठकलाई भाषा, साहित्य, संस्कृतिको बारेमा के सुझाव दिन चाहनुहुन्छ ।

आफ्नो आइडिन्टिटी देखाउनुपर्दछ । विदेशी, सँस्कृति, विचार लिनुभन्दा आफ्नै देशको विचार, सँस्कृति रीतिस्थिति अनुरुप कार्य गर्नुपर्दछ । हामीले गर्ने कार्य नेपाली अनुहार आउने हिसाबको होस् । वर्तमान अवस्थामा साहित्य सृजना विदेशी विषयमा भइरहेको छ । नेपाली जनजीवन नसमेटिएका तर विदेशी जीवनका बारेमा लेखिएका कथा, उपन्यास लगायतका साहित्य हुँदा आफ्नो माटो अनुरुप लेख्नु उपयुक्त हुन्छ । पाठकले पनि आफ्नो माटो सुहाउँदो विचार स्वीकार गर्नु नै राम्रो हुन्छ ।

११. अन्त्यमा केही भन्न बाँकी छ ?

नेपाल र नेपालीलाई चिनौँ । नेपाल मेरो देश हो, म नेपाली हुँ भन्ने भावना सबैले राखौँ ।

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 22 आसाढ, 2070

लेखकका अन्य रचनाहरु