सप्तरीका आशिन मियाँ: यस युगका जयपृथ्वीबहादुर

- नन्दलाल आचार्य

‘मेरो प्रत्येक श्वासमा नेपाली सुवास छ । मेरो नशा–नशामा स्वाभिमानी खुन दगुरी रहेको छ । मेरो आस्था र विश्वास आजको युगलाई झलमल पार्ने छ । मैले भोगेको अज्ञानता, अभाव र अन्यायको दुर्दिन यस पिढीँले भोग्न नपरोस् भन्ने दृढ चाहना छ । कर्ममा विश्वस्त छु । म आफूले सुरुआत गरेको शिक्षामन्दिरलाई उच्च मा.वि. नबनाई अल्लाहको प्यारो बन्दिनँ । मैले जे कुरामा आजसम्म विश्वास गरेँ, त्यो कहिल्यै विफल भएको छैन । कतै कसैको मजबुत हात पाएको छु, कतै सह्राहना गर्न लायक साथ भेटेको छु । म एक्लो पनि छैन । जम्माजम्मी १४७ जना विद्यार्थी बच्चाहरू मेरो अभियानमा पंक्तिबद्ध भएर जुटेका छन् । तिनीहरूमार्फत् नै म ज्ञानको उज्यालो समाजभरि छर्दै बाँचेको छु । श्वास रहेसम्म यसरी नै बाँच्ने धोको छ । श्वास सिद्धेका दिन पनि यसै शिक्षा–मन्दिर वरपरकै धर्तीमुनि बस्ने मन छ ।’ राजविराज–२, सप्तरी निवासी ६४ बर्षिय आशिन मियाँका यी शब्दहरू जति मार्मिक छन् त्यत्ति नै व्यवहारिक छन् ।
उनले मदरसा आशिनियाँ दारुल उलुम राजविराज–२, चनौरा नामक शिक्षा मन्दिर निर्माण गरेका छन् । नगरपालिका क्षेत्रभित्र भए पनि शिक्षा लिनु भनेको समय बर्वाद गर्नु मात्र हो भन्ने सामाजिक सोचले जरा गाडेको राजविराज–२, चनौरा गाउँका पिछडिएका समुदायमा शिक्षाको ज्योति छर्न तन, मन र धनले समर्पित शैक्षिकयोद्धाका रूपमा मियाँ परिचित छन् । मदरसा भए पनि सबैको जनसहभागिता जुटाउन प्रयत्नरत् मियाँले अहिलेसम्म आफ्नै लगानी र अगुवाईमा भवन निर्माण गरेर शिक्षादीक्षा दिँदै आएका छन् । सरकारी स्तरबाट शिक्षक व्यवस्थापनका लागि एक लाख अठसठ्ठी हजार वर्षेनी प्राप्त हुन थालेपछि भने उनले केही सहज अनुभूति गरेका छन् । हाल सरकारबाट प्राप्त रकममा थपथाप पारेर तीन शिक्षक र एक पियनलाई जागिर दिलाएका छन् । एक जना मुस्लिम समुदायका र बाँकी हिन्दू समुदायका शिक्षकहरू कार्यरत् छन् ।
त्यसमा उर्दू र फारसी १००÷१०० पूर्णाङ्कको समेत पढाइ हुन्छ । बुढेसकालमा अहिले पनि उनी रातोदिन विद्यालयको पछि लागेका छन् । जिल्ला शिक्षा कार्यालय सप्तरीले ट्वाइलेट बनाउने खर्च दियो । आफैं खटेर मजबुत किसिमको दुई कोठे ट्वाइलेट निर्माण गरे । अहिले विद्यार्थीहरूको चापलाई ख्याल गर्दै नयाँ पक्की भवन बनाइरहेका छन् । उनको उक्त मदरसा आशिनियाँ दारुल उलुम स्कूललाई उच्च मा.वि. बनाउने धोको छ । अहिलेसम्ममा उनले विद्यालयको नाममा दुई कठ्ठा आधा घूर जग्गा दिएका छन् । पछि आवश्यकता परेमा अरू थप्ने योजनामा छन् । बाँचुञ्जेल विद्यालय विकासमा समर्पित हुने र मरेपछि पनि विद्यालय सेरोफेरोमा नै समाधिस्त हुने उनको भित्री इच्छा छ ।
ज्ञानको उज्यालो छर्नुको अर्थ उज्यालोको खेती गर्नु हो भन्ने उनले बुझेका छन् । समतामूलक समाज निर्माणमा सानो इँट थप्न सकेँछु भने म आफ्नो जन्मलाई सफल ठान्दछु भन्ने अभिव्यक्ति दिने मियाँको बाहिरी भौतिकरूप जति सुकिलोमुकिलो देखिन्छ, भित्री मन पनि उत्तिकै कञ्चन भेटिन्छ । जयपृथ्वीबहादुर सिंहले राणा शासक चन्द्रशमसेरबाट तिरस्कार पाएझैं मियाँले पनि कतिपय विद्वान् कहलिएका समाजका महापुरुषबाट अविश्वास पाएका छन् । त्यसबाट हत्तोत्साहित भएर हैन, खबरदारी सम्झेर अझ दृढताका साथ कर्मपथमा एकोहोरिएका छन् । हर्दम शैक्षिक संस्थाकै चिन्तामा व्यग्र हुने गर्दछन् । अरू नाफाका लागि दिलोज्यान दिन्छन्, उनी भने गुणात्मक वृद्धिका लागि कटिबद्ध छन् । निस्वार्थ समाजसेवा नै उनको एक मात्र अभीष्ट देखिएको छ ।
धनविनाको परिवारमा एकएक गर्दै सदस्यहरू थपिँदा आर्थिक दुरावस्थाले गाँज्नु स्वभाविकै थियो । आशिनको परिवारमा पनि त्यही भयो । दुःखले चारैतिरबाट गाँज्न थाल्यो । कमाउने हात कम र खाने मुख धेरै भए पछि आर्थिक दुरुवस्थाले गाँज्नु स्वभाविक थियो । उमेर पुगेपछि उनले गाउँकै मदरसामा मौलवी (शिक्षक) राखेर पढे । प.वि.मा.वि., राजविराजबाट कक्षा ८ उत्तीर्ण गरे । भाइबहिनीको लालनपोषणमा ध्यान पु¥याउन वाध्य हुनु परेकोले पढाइलाई अधुरो छाडेर उनी सलाई कारखानामा मजदुरी गर्न थालेँ । त्यसले पनि नपुगेर मिल मजदुर भए । पछि गाडीको खलासी हुँदै गुरुजी कहलाउन पनि सफल भए । ट्याक्टर, ट्रक, दिवा बस हुँदै उनको गुरुजी कर्म नाइट बस चालकसम्म पुग्यो । जाँड–रक्सी नखाने र होसियारीका साथ गाडी हाँक्ने बानी भएकाले उनी चालक भएको गाडीमा नै यात्रुहरू यात्रा गर्न रुचाउँथे । उनी सम्झँदै भन्छन्–‘मैले गाडी चेन्ज गरिरहनु परेको तीतो अनुभव छ । म जहाँ पुग्थेँ, सबैको भलो हुन्थ्यो । मैले जागिर छाड्न विवश भए पछि भने मालिकहरूको जययात्रामा विराम लागेको पाएको छु । म लोलोपोतो गरेर मालिक रिझाउने पात्र नभई स्वाभिमानी शिर उच्च पारिरहने नेपाली मुसलमानको बच्चो भएकोले म कसैले दबाउँदैमा दबिन मान्दिनथेँ । जीवनको उतारचढावलाई मैले सहर्ष पचाउँदै दुईचार पैसा कमाउँदै गएँ । अल्छी कुन चराको नाम हो भन्ने मलाई थाहा थिएन । गरिवीको रापले सेकिएर मलाई इस्पात बनाएको थियो ।’
उनी आफ्नो सीपको सदुपयोगबाट नै नौलो संसार रचना गर्न चाहन्थे । दु.खको स्वाद चाखिसकेकोले सुखको सुवास लिन रुचाउथे । सबै खाले चाहना पूरा हुन सम्भव पनि छैन । धर्मपत्नीलाई पित्तमा पत्थरी भएको थाहा पाए पछि भने उनी साह्रै विचलित भए । पत्नीविनाको जीवनको कल्पना नै गर्न नसक्ने अवस्थामा पुगेका उनी बनेपा हस्पिटलमा पत्थरीको इलाज हुन्छ भन्ने थाहा भएपछि भने ठूलो छाती पार्न सके । धर्मपत्नीको उपचारार्थ बस मालिकसँग पकाइसकेको तलब मागे । मालिकले आलटाल गरेको देखेर आवेगमा आएर उनले भनेका थिए– ‘हेर्नुस् मालिक ! तपाईंको कारणले मेरी पत्नीको ज्यान तलमाथि भयो भने म गाडीसहित त्रिशुलीमा आत्मदाह गर्दिन्छु । उनीविनाको जीवन मैले कल्पना गरेको छैन ।’ आवेशमा जे भने पनि जीवनका लागि जुध्नु नै थियो । उनले जुधे पनि । र, जिते पनि । पत्नीलाई मृत्युको मुखबाट बचाए तर खाइपाई आएको जागिर भने चट भयो । सुखमा हाईहाई, दुःखमा बाईबाई गर्ने मालिकहरूको रवैयाबाट हुनसम्म वाक्कदिक्क भए ।
बुढ्यौलीले छुँदै गए पछि एक दिन उनी मुस्लिम धर्मको इस्तमा (प्रवचन) सुन्न गए । त्यहाँ जीवन जिउने नौलो उपाय थाहा पाए । मान्छे मरेर केही लिएर जाँदैन । मात्र आफ्नो इमान, आफ्नो धर्म, अल्लाहको भक्ति लिएर जान्छ भन्ने कुरा थाहा पाए । भैंसी बेचेर खर्च जुटाई चार महिने इस्लाम ज्ञान सिकाइ मार्गमा भारततिर लागे । चार महिनाको भारत बसाइमा उनले धेरै ज्ञानगुनका कुरा सिके । त्यसपछि भने उनी मान्छे गुडाउने चालक नबन्ने निर्णयमा पुगे । शिक्षा आर्जन गर्न सकिएको भए आफ्नो जन्म÷कर्म धर्ती नेपालको समुन्नतिमा केही योगदान गर्न सकिन्थ्यो कि भन्ठानेका मियाँको मनमा शिक्षाप्रति अनुराग बढेर गयो । फलतः आफ्नै निजी लगानीमा वि.सं. २०६६ सालमा सरकारी स्कूल खोले जसको नाम जुराइयो– मदरसा आशिनियाँ दारुल उलुम राजविराज–२, चनौरा ।
त्यस विद्यालयमा भवन, फर्निचर, बाटोघाटो, पुस्तक, पोशाक आदिको व्यवस्थापनमा कमी छ । विद्यार्थी चापलाई समेट्न जनशक्ति व्यवस्थापनमा अभाव छ । शैक्षिक जागरणलाई सफल पार्न हिन्दू–मुस्लिम–बौद्ध–क्रिस्चियन आदि सबै समूदायलाई एक साथ समेट्न खोजेका छन् । सबै वर्ग÷समुदाय अट्न सक्ने र अटिरहेको पवित्र थलोको रूपमा विकास गरिरहने उनको सपना छ । समयको माग र समाजको आवश्यकताअनुसार जन्मिसकेका विद्यालयलाई हुर्काउनु, फुलाउनु र फलाउनु सबैको कर्तव्य हुन गएको छ ।
सेतै फुलेको वयोवृद्ध काया लिएर आसिन मियाँ लोकोपकारी कार्यमा जुट्छन् । नेपाली मुसलमान भन्न रुचाउने उनी मैथिली कलासंस्कृति र भाषा–भेषभूषामा गर्व गर्दछन् । मैथिली भाषीप्रेमी मात्र नभई उनी मैथिली जनजागरण मञ्चका केन्द्रीय अध्यक्ष समेत हुन् । आफ्नै वरबुताले खुलेको नजिकको विद्यालयका विद्यार्थीलाई नास्ता खुवाउन प्रत्येक शुक्रबार आफैं जुट्छन् । आफ्नो आम्दानीको केही अंश दीनहिन असहाय बालबालिका, वृद्धवृद्धाका लागि समर्पण गर्नु आफ्नो सनातन धर्म ठान्दछन् । रातोदिन कर्मपथमा सरिक भइरहने मियाँ मुखले भन्नुभन्दा बढी कार्य गरेर देखाइदिन्छन् । मियाँ थप्छन्– ‘हामी मिले स्वर्गीय सुख कसैले छिन्न सक्दैन । हामी नाडी हौं । काम गर्ने थरीथरीका औंला छन् । ती औंला दर्बिला हुन नाडी दह्रो हुुनुपर्छ । व्यक्तिभन्दा माथि उठेर समाजको सर्वाङ्गीण पक्षलाई नियाल्ने हो भने हामी सगरमाथाझैं अग्लिन सक्छौं । ईश्वर–अल्लाह आफ्ना ठाउँमा छन् । मानव कल्याणको धर्म गर्नु नै ईश्वर–अल्लाह प्राप्तिको श्रेष्ठ उपाय हो । हामी जतासुकै भौतारिए पनि गन्तव्यको राजमार्ग एकै छ । संसारको यस सृष्टिको एक उदाहरण बन्न मान्छे आतुर हुनुपर्छ । यसका लागि लोकोपकारी कार्यमा समय र साधन लगाउनुपर्छ । हाम्रो सानो योगदानले अरूले प्रोत्साहन भेट्छन् भने किन हामी नजुट्ने !’
जीवनको पूर्वाद्धमा वैयक्तिक जीवन विताउनमा व्यस्त मियाँले मजदुर, चालक भएर जीवनरथ हाक्दाहाक्दै अहिले आएर विभिन्न संस्थामा आबद्ध भएर सप्तरीको भूमिबाट समाजसुधारको महाअभियानमा आफूलाई व्यस्त पारेका छन् । अहिले फुलटाइमर समाजसेवामा समर्पित मियाँको क्षेत्र निक्कै फराकिलो छ । उनी मदरसा समन्वय समिति सप्तरी जिल्लाका अध्यक्ष, मैथिली जागरण मञ्चका केन्द्रीय अध्यक्ष, मैथिली साहित्य परिषद्का केन्द्रीय सदस्य, मदरसा व्यवस्थापन समितिका जिल्ला अध्यक्ष, मदरसा बोर्डको शिक्षा विभागका केन्द्रीय सदस्यजस्ता सार्वजनिक सरोकारका विविध पदमा बसेर समाजको चौतर्फी सेवामा समर्पित छन् । उनी जहाँ बसे पनि हामी नेपाली हौँ र भौगोलिक पहिचानस्वरूप चिनिएका नागरिक हाँै भन्ने ठान्दछन् । उनको मधेसमा बस्ने सबै मधेसी, पहाडमा रहने सबै पहाडी र समग्रमा सबै नेपाली भन्ने र सोच्ने अनि व्यवहारमा लागू गर्ने बानी छ । नयाँ पुस्तालाई जीवनबोधका पाठहरू पढाइरहेका छन् ।
राणा शासनको अध्यारो युगमा जन्मेर र उज्यालो छर्दै नेपालीहरूलाई राणाहरूको कर्तुत विरुद्ध सङ्घर्ष गर्न परोक्षरूपले प्रेरित गर्ने जयपृथ्वीबहादुर सिंह नेपाल र नेपालीका लागि शिक्षाका ज्योति हुन् । न्याय र प्रजातन्त्रका हिमायती हुन् । सगरमाथा मन भएका युगपुरुष हुन् । संस्कारगत हिसावले सामन्ती भए पनि व्यवहारमा लेस जति पनि नदेखाउने महान् व्यक्ति हुन् । जनताकै सुखमा खुशी हुने अलौकिक महापुरुष हुन् । उनीजस्ता सर्वस्व जनतालाई सुम्पने मानिस यस युगमै दुर्लभ हुन्छन् । बझाङले त्यस्ता दुर्लभ मानिसलाई जन्म दियो र नेपालीलाई धन्य तुल्यायो । उनकै जस्तै शिक्षा क्षेत्रमा अतुलनीय काम गरेर आशिन मियाँ सप्तरीका जयपृथ्वीबहादुर बनेका छन् ।

तपेश्वरी–१, गल्फडिया, उदयपुर

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 22 आसाढ, 2070

लेखकका अन्य रचनाहरु