न पुस्तक भेटियो न लेखक

- लीला लुइटेल

अहिले नेपाली साहित्यमा इतिहास लेख्न रहर गर्ने थुप्रै छन् । यसरी इतिहास लेख्दा लेखक र तिनका सिर्जनासम्बन्धी सत्यतथ्यमूलक सूचना र प्रस्तुतिको अभावका कारण नेपाली साहित्यको इतिहास नै अन्योलग्रस्त हुनपुगेको छ । अनुमान गरेका र सुनेका भरमा साहित्यको इतिहास तयार पारी टोपल्दा अनेक प्रकारका त्रुटिहरू भेटिएका छन् । पुरुष साहित्यकारलाई महिला साहित्यकारको सूचीमा उल्लेख गरिदिनेजस्ता बिडम्बनापूर्ण स्थिति पनि नेपाली साहित्यको इतिहास लेखनका क्रममा भएका छन् । यसका साथै सम्बन्धित लेखकको नामै गल्ती लेखिदिने, तिनका कृतिको शीर्षक गल्ती लेखिदिने, लेखक एवं कृतिका बारेमा हावादारी कुरा लेखिदिने, एउटा विधाको कृतिलाई अर्काे विधाको सूचीमा समावेश गरिदिनेजस्ता प्रवृत्तिले पनि नेपाली महिला लेखनको इतिहास नै भ्रमपूर्ण एवं अस्तव्यस्त हुनपुगेको छ । अझ आÇनो एउटै लेखमा व्यतिरेकी भएको कुरा थाहा नपाउने समालोचक पनि थुप्रै देखापरेका छन् । यस्ता त्रुटिमध्ये अत्यन्त हास्यास्पद त्रुटिका रूपमा देखापरेको एउटा त्रुटि प्रकाशितै नभएका पुस्तकहरूको उल्लेख गरिनु पनि हो । नेपाली साहित्यमा प्रकाशितै नभएका तर विभिन्न व्यक्तिले साहित्यको इतिहासमा दर्ता गरिदिएका पुस्तकहरूको चर्चा तल क्रमशः गरिन्छ ।
मोहनराज शर्मा र राजेन्द्र सुवेदीद्वारा सम्पादित समसामयिक साझा कथा नामक कृतिको पृ. २१ मा माया ठकुरीको कोपिला र चट्टान शीर्षक कथा सङ्ग्रह प्रकाशित भएको कुरा उल्लेख गरिएको छ भने लक्ष्मणप्रसाद गौतमद्वारा सम्पादित नेपाली यौनकथा भाग को पृ. १६९ मा भागीरथी श्रेष्ठको समय कुन्द समय प्रवाह (२०६१) शीर्षक कथा सङ्ग्रह तथा पृ. १६८ मा पद्मावती सिंहको सम्बद्ध (२०६१) शीर्षक नारीवादी उपन्यास प्रकाशित भएको कुरा उल्लेख गरिएको छ । यसैगरी नेत्र एटमको ‘उत्तरवती नेपाली कथा ः पृष्ठभूमि र प्रवृत्ति’, सम्प्रेषण (६÷६, २०६६), पृ. १५६) शीर्षक लेखमा पनि भागीरथी श्रेष्ठको समय कुन्द समय प्रवाह (२०६१) तथा पद्मावती सिंहको सम्बद्ध (२०६१) शीर्षक कथा सङ्ग्रह प्रकाशन भएको जानकारी दिइएको छ ।
विष्णुराज आत्रेयद्वारा लिखित नेपाली साहित्यकी प्रतिभा भारती खरेल शीर्षक कृतिको पृ. ४९ मा सुशीला द्विवेदीको श्रद्धाञ्जली तथा औँठी नामका दुई उपन्यास तथा नरेन्द्रराज प्रसाईंको नारीचुलीको पृ. ५०१ मा कविता पौडेलको धर्मपुत्र शीर्षक उपन्यास प्रकाशित भएको उल्लेख पाइन्छ ।
यस्ता अप्रकाशित कृतिको विवरण दिने क्रममा सुधा त्रिपाठीको कलम निकै सक्रिय देखिन्छ । यिनको ‘साहित्यमा महिला लेखनको इतिहास’ (अस्तिता शब्दशिल्प, १÷१, २०६३, पृ. २३) शीर्षक लेखमा बुलु शर्माको प्रिया तथा पुण्यरश्मि खतिवडाको ज्योतिको विवाह शीर्षक उपन्यासको उल्लेख पाइन्छ भने नारीवादको कठघरामा नेपाली साहित्य नामक कृतिको पृ. १८० मा मनकुमारी थापाको मेरो स्कटल्यान्ड यात्रा, राधिका रायाको मेरो पहिलो समुद्रयात्रा तथा मधुमालती प्रधानको मेरो बनारस यात्रा शीर्षक पुस्तक प्रकाशन भएको उल्लेख छ ।
कृष्ण अविरलले ‘उपन्यासलेखनमा देखिएको प्रयोगवादी धार र स्तरीयताको प्रश्न’ (मधुपर्क, ३१÷११, २०६३, पृ. ७) मा सरला जोशीको विवशता शीर्षक उपन्यास तथा सावित्री मल्लले ‘आधुनिक नेपाली कथाको विकासमा महिला कथाकारको योगदान’, (गुञ्जन, ७÷४, २०६१, पृ. ६३) शीर्षक लेखमा भारती खरेलको पछुतो शीर्षक कथा सङ्ग्रह प्रकाशित भएको उल्लेख गरेका छन् ।
अध्ययनका सिलसिलामा माथि उल्लेख गरिएका कृतिकारलाई प्रत्यक्ष भेटेर यसबारे जानकारी माग्दा कसैले हाँसेर टारे भने कसैले आश्चर्य व्यक्त गरे अनि कसैले मेरा कुरामा विश्वास नगरेर सम्बन्धित सामग्री नै हेर्नसमेत उत्सुकता देखाए ।
माथि उल्लेख गरिएका कृतिहरू साहित्यमा कलम चलाउने व्यक्तिका नाममा दर्ता गरिएका छन् । यसभन्दा पनि अझ एक पाइला अगि बढेर साहित्यमा कहिल्यै कलम नचलाएका व्यक्तिका पुस्तकहरू सगर्व उल्लेख गर्ने अनुसन्धानकर्ताहरू पनि नेपाली साहित्यमा भेटिएका छन् ।
लक्ष्मी उप्रेतीको नेपालका नारी कथाकार ः प्रवृत्ति र प्रतिनिधि कथा (२०६८) नामक कृतिको पृ. ५७ मा देउती पराजुलीको आघात सहने मुटु (२०५५) र पद्मा सिंहको धरमराएका पाइलाहरू ( २०५४) तथा पृ. ५८ मा लीला आचार्यको बीसौँ शताब्दीकी द्रौपदी (२०५८)¬ र रत्न बाबा मल्लको विरह वेदना (२०६०) जस्ता कथा सङ्ग्रह प्रकाशित भएको कुरा उल्लिखित छ । यसैगरी डा. ज्ञानू पाण्डेद्वारा लिखित विकीर्ण अनुशीलन (२०६८) को पृ. ६२ मा देउकी पराजुली र रत्नबाबा मल्ललाई कथाकारको रूपमा उल्लेख गरिएको र नेपाल प्रज्ञा प्रतिष्ठानको परियोजनाअन्तर्गत तयार पारिएको नेपाली नारी कथाकारहरू (२०४० पछिका) को प्रतिवेदन (२०६८) नामक अप्रकाशित प्रतिवेदनको पृ. ५० मा देउकी पराजुलीको आघात सहने मुटु (२०६५) र रत्नबाबा मल्लको विरह वेदना (२०६०) नामक कथा सङ्ग्रह प्रकाशित भएको कुरा उल्लेख गरिएको छ ।
लक्ष्मी उप्रेती र ज्ञानू पाण्डे दुवैका कृतिमा उल्लिखित देउती (देउकी) पराजुली, पद्मा सिंह, रत्नबाबा मल्ल र लीला आचार्य कुनै साहित्यिक व्यक्ति होइनन् र यिनका आजसम्म कुनै पनि पुस्तक प्रकाशित भएको जानकारी मलाई छैन । यदि यी नाम भएका साहित्यकार कतै भए र उहाँहरूले साँच्चै यिनका कृति देख्नु भएको भए त्यो कहाँ देख्नु भएको हो ? यसको यथार्थ जानकारी नेपाली साहित्यका पाठकलाई अवश्यै दिनुहुनेछ भन्ने कुरामा म पूर्ण विश्वस्त छु । होइन भने हुँदैनभएका व्यक्तिको नाम र तिनका कृतिको यसरी उल्लेख गर्नुको अभिप्राय र वास्तविकता के हो ? यस्ता हुँदै नभएका गल्तीहरूको चाङ लगाएर फाइदा कसलाई हुन्छ ? यथातथ्य खोज्दैनखोजी अनुमानका भरमा जताततै त्रुटि नै त्रुटिको चाङ लगाएर पाठकलाई भ्रमित तुल्याउने कार्य गर्नुभन्दा सके ठीक लेख्नु र नसके नलेखी चुप लागेर बस्नु नै कल्याणकारी हुन्छ भन्नेतर्पm सम्बद्ध सबै सचेत हुनु आवश्यक छ ।
माथि उल्लेख गरिएका तथ्याङ्कहरू व्यक्तिविशेषसँगको आग्रह–पूर्वाग्रहले प्रेरित भई कसैलाई उचाल्ने–पछार्ने ध्येयबाट कसैका त्रुटि एवं कमजोरी देखाई गलत आक्षेप लगाउने उद्देश्यले नभएर पाठकलाई सही सूचना प्रवाह गर्ने र गलत व्यक्ति इतिहासमा दर्ता हुने स्थितिलाई रोक्ने उद्देश्यले प्रस्तुत गरिएको कुरा नेपाली साहित्यका सम्पूर्ण पाठकसमक्ष विनम्रतापूर्वक अनुरोध गर्दछु । यसप्रकारका त्रुटि र तिनबाट उत्पन्न समस्यालाई एउटा सामान्य पाठकले कुन रूपमा लिने र साहित्यको गम्भीर अध्येताले कुन रूपमा लिने भन्ने प्रश्न आजका चेतनशील पाठकसामु विकराल रूपमा उभिएको देखिन्छ । कसैका कृतिमा यस्ता त्रुटिपूर्ण तथ्याङ्क उल्लेख भएपछि पछि लेख्ने व्यक्तिले तिनलाई आधिकारिक सामग्रीको रूपमा प्रयोग गर्नसक्ने स्थिति रहन्छ । यसर्थ साहित्यिक इतिहास लेख्न रहर गर्ने तथा रुचि राख्ने व्यक्तिहरूले सुनेका भरमा र अनुमानका आधारमा मनचिन्ते, हावादारी एवं त्रुटिपूर्ण इतिहास लेखिटोपलेर पाठकीय भ्रम सिर्जना गर्नेतर्फ लाग्नु हुँदैन । यसप्रकारको लेखनले सम्बन्धित लेखकलाई क्षणिक रूपमा त केही लाभ होला तर यस्ता त्रुटिपूर्ण र हावादारी लेखनले साहित्यको इतिहास निर्माण हुनाका सट्टा लथालिङ्ग र भताभुङ्ग हुन पुग्छ । त्रुटिपूर्ण कार्य क्षणिक तुष्टि दिनेभन्दा बढी फलदायी नहुने भएकाले नेपाली साहित्यको इतिहास लेखनमा देखिएका यसप्रकारका विडम्बनापूर्ण दुष्वृत्तिको अन्त्य अपरिहार्य छ ।
साहित्यको इतिहास लेखन सकेसम्म त्रुटिरहित हुनुपर्छ, कथंकदाचित् त्रुटि भइहाले यथार्थ जानकारी उपलब्ध हुनेबित्तिकै त्यसलाई सच्च्याउनु पर्छ । आपूmद्वारा कारणवश कुनै बेला भएका गल्तीलाई समयक्रममा सुधार गर्न हिच्किचाउनु हुँदैन । इतिहास लेखक सदैव सम्बद्ध विषयमा अद्यावधिक हुनुपर्छ । खासमा इतिहास लेखनगत गल्ती सामान्य सिकारु लेखकदेखि स्थापित वरिष्ठ लेखकसम्म कसैले गर्नु राम्रो होइन, त्यसमा पनि स्थापित एवं वरिष्ठ भनिएका लेखकका रचनालाई धेरैले आधिकारिक मानेर चर्चा र उद्धरणसमेत गर्ने हुँदा तिनमा त झनै गल्ती हुनु हुँदैन ।

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 4 जेठ, 2070

लेखकका अन्य रचनाहरु