साहित्यकार नारायण ढकालसँग कुराकानी

- दीपक सापकोटा

नेपाली आख्यानको लेखनमा भिन्न शैली र प्रवृत्ति अँगाल्न सफल लेखक नारायण ढकाल उमेर गणनामा ६० वर्ष हाराहारीमा पुगिसके । उनले विगत ४० वर्षयता निरन्तर गरेको सिर्जनयात्रामा उनलाई कहिले वाद, कहिले समूह र कहिले कित्ताका आधारमा उभिने लेखक भनेर टिप्पणी हुने गरेको छ । बजारमा उपन्यास आएपिच्छे ठुला पुरस्कारको दाबेदार भनेर चल्ने गरेको अनाहकको चर्चाका कारण पनि लेखक ढकाल बढी नै चिनिने गरेका छन् । केही समयअघि ‘पुस्तक संसार’ मा आंशिक रुपमा प्रकाशित अन्तर्वार्ताको पूर्ण अंश यहाँ प्रकाशित गरिएको छ ।

१.तपाईंलाई हिप्पीकालको अराजक जीवनशैलीबारे निकै राम्रो अनुभव छ । वर्तमान नेपाली साहित्यचाहिँ कत्तिको आजक छ ?
हिप्पीकालमा हंग्री जेनेरेसन, बीट जेनेरेसन, एंग्री जेनेरेसन आदि धाराहरू प्रचलित थिए । तिनको विश्वव्यापी विस्तार र प्रभाव थियो । तिनले स्थापना गरेका विचार, दर्शन र काव्यिक स्थापनाले विश्व समाज, राज्य र संस्कृतिमा समेत परिर्वतनका निम्ति दबाब सिर्जना भएको थियो । नेपालमा ती आन्दोलनका प्रभाव छिपछिपे रहेपनि त्यसबाट परेको असर महत्त्वपूर्ण रूपमा मुखरित भएको थियो । अराज्यवाद, समलैंगिकता, साम्राज्यवादी युद्धको विरोध ती आन्दोलनका प्रस्तावना हुन् । वर्तमान नेपाली साहित्यमा त्यस किसिमको निरन्तरता नभए पनि सिर्जनशील अराजकताजस्तो आन्दोलन नयाँ धरातलमा उभिएको पाइन्छ । सिर्जनशील अराजकताभित्र नश्लीय चेतना, परिचयको राजनीति, जातीय मुक्तिजस्ता विषय रहेका छन् । यो उदाहरणबाट स्पष्ट हुन्छ, अराजकता कुनै न कुनै रूपमा जारि रहेको छ । यतिमात्र हो, सिर्जनशील अराजकताका जराहरू देशभित्र मात्र सीमित छन् र यसमा विशुद्ध नेपाली मौलिकता छ ।

२.तपाईं बेलाबेला मदन पुरस्कारको विपक्षमा उभिनुहुन्छ । मदन पुरस्कारलाई परम्परागत आरोप लगाउनुहुन्छ । तर, पनि यसबारे चासो किन राख्नुहुन्छ ?
म मदन पुरस्कारको विपक्षमा भएको भए मैले त्यहाँ आफ्ना पुस्तक दर्ता गराउने कुरै आउने थिएन । मेरा धेरै पुस्तकहरू प्रकाशित भएपछि या त म आफैँले या मेरा प्रकाशकले त्यहाँ पुस्तक दर्ता गराएका छन् । पुरस्कारबारे मेरो भन्नु यति मात्र हो–यो आफ्नै इतिहास भएको पुरस्कार हो । नेपाली साहित्यमा यसको इज्जत छ । तर, पुरस्कार दिँदा अपनाइने प्रक्रिया स्पष्ट र पारदर्शी नभएकाले यसको मूल्यवत्ताप्रति शंका उत्पन्न हुने गरेको छ । दर्ता भएका पुस्तकमध्ये प्रथम छनोटमा कतिवटा परे ? अन्तिममा पुरस्कृत हुने पुस्तकलाई के कारणले गर्दा पुरस्कार दिनुपरेको हो ? यस्ता प्रश्न स्पष्ट भएमा मदन पुरस्कारकै गरिमा बढ्ने भएकाले सुझाव दिएका कुरालाई आरोप लगाएको भनि कुतर्क गर्नु त भएन नि, होइन र ?

३.पछिल्लो १० वर्षमा मदन पुरस्कार पाएका झूर किताबको नाम दिनुस् न ।
कुनै किताबलाई झूर वा असल भनेर ठप्पा लगाउने योग्यता ममा छैन । यस्तो काम उदयीमान, जाज्वल्यमान, ज्ञान, सौर्य, उष्मा भएका पाठक र समालोचकको काम हो । म त यति मात्र भन्छु, पुरस्कार कुनै भिखारीलाई गर्ने दानजस्तो हुनु हँदैन । हुन त, धर्ममा दानको आफ्नै गरिमा र मूल्य हुन्छ । तर, लेखकलाई दान थाप्न लगाउनुचाहिँ ज्यादै नमिल्ने कुरा हो । मदन पुरस्कारको राम्रो गरिमा र इतिहास हुँदाहुँदै पनि त्यसले मूर्त मापदण्ड बनाएर, स्पष्ट आधार बनाएर र पारदर्शी व्यवहार नगरेका कारण विवादमा तानिनुपरेको छ । पुरस्कार छनोट गर्ने जुरी को–को हुन् ? तिनको योग्यता समाजले बुझ्न पाउनुपर्ने होइन र ? यी प्रश्नको हल भएपछि स्वत: कुन किताब झूर र कुन किताब उत्कृष्ट भन्ने समस्या समाधान भइहाल्छ नि ।

४.२०६६ मा तपाईंको उपन्यास ‘प्रेतकल्प’ले मदन पुरस्कार पाउने व्यापक चर्चा थियो । तर, प्रेतकल्पलाई पन्छाउँदै युवराज नयाँघरेको ‘एक हातको ताली’लाई पुरस्कार दिइयो । नेपाली साहित्यमा त्यस किताबको मूल्यवत्ताचाहिँ कति हो ?
‘प्रेतकल्प’ले मदन पुरस्कार पाउनुपर्छ भन्ने चर्चा मदन पुरस्कार गुठीभन्दा बाहिरको कुरा थियो । धेरै पाठकहरूले त्यो पुस्तक पढेपछि त्यस्तो अनुमान गरेका थिए । कतिपय पाठकले त त्यस्तो प्रतिक्रिया मलाई पनि सुनाएका थिए । केहि अखबारमा अग्रिम शुभकामनास्वरूप पुरस्कार ‘प्रेतकल्प’कै हो भनि छापिएको पनि थियो । तर, त्यसको अर्थ रहँदैन । गुठीका आफ्ना आग्रह र मान्यता हुन्छन् । पुरस्कार दिइने क्रममा पाठकको एसएमएस भोटिङजस्तो प्रक्रिया हुँदैन । त्यसैले बाहिरको चर्चाबारे सकारात्मक वा नकारात्मक टिप्पणीको कुनै अर्थ हुँदैन । जहाँसम्म ‘एक हातको ताली’ निबन्धसंग्रहको कुरा छ, त्यसको मूल्यवत्ता कत्ति छ भन्ने कुरा मैले ठहर गर्ने विषय होइन । मलाई यत्ति थाहा छ, युवराज नयाँघरे सज्जन मानिस हुन् । यस्तै यसपाली मदन पुरस्कार पाउने अमर न्यौपानेलाई पनि सज्जनताको ‘रोलमोडेल’ नै भन्दा पनि हुन्छ । दुर्जनले पुरस्कार पाउनुभन्दा सज्जनले पाएको तुलनात्मक रूपमा राम्रै हो भन्ने मलाई लाग्छ ।

५.कत्तिले त तपाईंलाई मदन पुरस्कार नपाएको कुण्ठा छ, त्यसैले यसको विरुद्धमा बोल्नुहुन्छ भन्छन् नि !
मानौँ पुरस्कार नपाएर म कुण्ठित नै भएँ रे । तर, त्यस्तो कुण्ठाको साहित्यिक इतिहासमा के अर्थ हुन्छ ? बोर्खेसले योग्य हुँदाहुँदै नोबेल पुरस्कार पाएनन् । सलमान रुस्दी उहिल्यै परिपक्व भइसकेका हुन्, उनले पनि पाएनन् । विश्वको नाम र दाम धेरै भएको पुरस्कार नपाउने सुयोग्य लेखकहरूको लामो सूची बनाउन सकिन्छ । अब उनीहरूमा कुण्ठा छ भनेर शंका गर्ने ? मैले कमलबाबु (मदन पुरस्कार गुठी संरक्षक)लाई केवल यतिमात्र अनुरोध गरेको हुँ, ‘अब पञ्चायतको युग गयो, लोकतन्त्र आएको छ मुलुकमा, मदन पुरस्कारलाई पनि लोकतान्त्रिक संस्कृतिअनुरूप परिमार्जन गर्दै चलाउने हो कि ?’ यसको विरुद्धमा मैले न कतै बोलेको हुँ, न लेखेको नै छु ।

६.मदन पुरस्कारमा दर्खास्त हाल्नेदेखि पहुँच पुर्‍याउनेसम्मका प्रक्रिया निकै विवादित छन् । उत्कृष्ट कृति पन्छाइन्छन् र निकम्मा लेखकहरू पुरस्कृत भइरहेका छन् भन्ने मेरो आरोपलाई के भन्नुहुन्छ ?
यो प्रश्न तपाईंले मलाईभन्दा कमलबाबुलाई सोध्नु भए बढी बेस हुन्थ्यो । त्यहाँको प्रक्रिया रहस्यमय भएकाले के–के हुन्छ, म कसरी भनूँ ? हो कि होइन ? तपार्इं नै विचार गर्नुहोस् न !

७.हाम्रा लेखकहरू लेखनको गुणमा ध्यान दिँदैनन् । तर, मदन पुरस्कार पाउन मरिहत्ते गर्छन् र व्यापक चाकडीमा लाग्छन् । यसबारे केही अनुभव गर्नुभएको छ ?
त्यस्तो त मलाई थाहा छैन । यो कुरा मदन पुरस्कार गुठीका प्रधान अभिभावक कमलबाबुलाई सोध्नु भए नै स्पष्ट होला कि ? जहाँसम्म नेपाली साहित्यको कुरा छ, हामी अझै कमजोर अवस्थामै छौँ ।

८.अब तपाईंको व्यक्तिगत र साहित्यिक कुराकानीतर्फ लागौँ । कम्युनिस्टको अनुदार घेराभित्र तपाईंहरूको छुट्टै झून्ड छ । कम्युनिस्टहरू समाजलाई संकुचित दायरामा मात्र बुझ्छन् र व्यवहारमा चाहिँ निकै भ्रष्ट हुन्छन् । तपाईं यसबाट अछुतो हुनुहुन्छ ?
म कम्युनिस्ट आन्दोलनमा जडसूत्रवादको विपक्षमा छु । मैले जडसूत्रवादीहरूलाई ‘सरकारी कम्युनिस्ट’ भन्दै आएको छु । तर, मेरो अलग झून्डचाहिँ छैन । म अहिले कुनै पनि दल, सांस्कृतिक संस्था वा लेखक संगठनमा आबद्ध छैन । एक प्रकारले म एक्लै छु– एकलव्यजस्तै † एक्लो हुनुबाट मलाई चरम सुखबोध हुन्छ । अब जहाँसम्म कम्युनिस्टहरू समाजलाई संकुचित तरिकाले बुझ्छन् भन्ने प्रश्न छ– जडसूत्रवादीको विशेषता नै त्यही हो । यस्तो संकीर्णता गैरकम्युनिस्टहरूमा पनि उत्तिकै छ । त्यस्तै भ्रष्ट आचरणमा नेपालमा कम्युनिस्ट र गैरकम्युनिस्टबीच निकै कडा होडबाजी चलेको छ । म त्यो होडबाजीमा पर्न नचाहेकोले नै संगठित र सत्ता राजनीतिबाट टाढा रहेको हुँ । अब तपाईं नै मूल्यांकन गर्नुहोस्, म अछुतो छु या मुछिएको छु ?

९.कम्युनिस्टहरू जीवनको सिद्धान्त र व्यवहारमा अन्तरविरोधी भएर बाँचेका हुन्छन् । तपाईं नि ?
म सकभर पाखण्डबाट मुक्त भएर बाँच्ने प्रयास गर्छु । द्वैधचरित्र नहोस् मेरो भनेर सचेत पनि हुन्छु । तर, समाजको चरित्र पाखण्डपर्वले आक्रान्त छ । दिनको उज्यालोमा साधु भनी चिनिएकाहरू अँध्यारोमा सैतानको व्यवहार गर्छन् । यो आरोप तपाईंले किन कम्युनिस्टलाई मात्र लगाउनुभएको ? यस्तो चरित्र त गैरकम्युनिस्टहरूमा पनि उत्तिकै पाइन्छ नि ।

१०.तपाईं पूर्वसोभियत मोडेलको वकालत गर्नुहुन्छ । तर, परम्पराको पर्दाबाट जीवनमा कहिल्यै उम्किनुहुन्न !
त्यो मोडेल हाम्रो इतिहास हो । त्यसको ऐतिहासिक महत्व छ । तर, त्यसले वर्तमानमा दिशानिर्देश गर्नचाहिँ सक्दैन । क्रान्तिको नयाँ मोडेल नखोज्ने हो भने सबैको एकमात्र नियति पतनमात्र हो । एमाले र एकीकृत माओवादीको पतन मेरो भनाइको निकट दृष्टान्त हो । अब ड्यास माओवादी पनि त्यही कालातीत भइसकेको मोडेल बेचेर राजनीति गर्न उद्धत छ । यसबाट सिसिफसको वियोगान्तबाहेक हात पर्ने अरू कुरा हुँदैनन् ।

११.नेकपा एमालेमा पार्टी फुटाउने अगुवा हुनुहुन्थ्यो । पछि ‘मैले गल्ति गरेँ’ भनेर आत्मसर्मपण गर्नुभयो । तपाईंलाई अस्थिर प्रकृतिको मानिस भन्छन् नि !
हो, त्यस्तो अस्थिरता मबाट प्रकट भएको थियो । म मालेबाट एमालेमा फर्किनुमा मेरो जति दोष छ, सबभन्दा ठूलो भाग मेरै कमजोरीमा पर्छ । तर, अरू केही वस्तुगत कारण पनि थिए । मेरा केही अनन्य मित्रहरूले धोका दिएपछि म त्यो नरकयात्राको अनुगामी भएको थिएँ । तर, पछि मैले आफैँलाई ठीक ठाउँमा ल्याउन संघर्ष पनि गरेँ । अहिले म आफैँ आफ्नो कमजोरीप्रति निर्मम भएको छु ।

१२.राजनीतिक मान्यतासँग गाँसिएका झगडालाई तपाईं साहित्यिक लेखनमा जोड्नुहुन्छ । त्यसले समाजलाई के फाइदा ?
लेखनमा मेले कुनै व्यक्तिको इज्जत र प्रतिष्ठालाई खण्डित वा भत्र्सना गर्ने काम गरेको छैन । तर, पात्रहरू टिप्दा कतिपय जिवीत मानिसका विम्बचाहिँ परेका छन् । साहित्य आखिर समाज र यसमा रहेका मानिसको वृत्तान्त नै हो । यो समस्या गाब्रियल गार्सिया मार्खेजले पनि सामना गरेका थिए । उनी आफ्ना आमाका साथीहरूबारे लेख्न चाहन्थे । तर, यसका निम्ति उनलाई १७ वर्ष कुर्नुपरेको थियो । ‘क्रोनिकल अफ डेथ फर्टोल्ड’ उपन्यास लेख्दा उनलाई यस्तो समस्या परेको थियो । उनले त्यो कृति तब लेखे जब उनको आमाका साथीहरू दिवंगत भइसकेका थिए ।

१३.एकपटक तपाईंले ‘प्रज्ञा प्रतिष्ठानमा साहित्यकार जानु भनेको एउटा लगाममा बाँधिनु हो, प्रज्ञा नै चाहिँदैन’ भन्नुभएको थियो । प्रज्ञामा साहित्यकार नगए को गइरहेका छन् त ? तपाईंलाईं कुलपतिको अफर आयो भने के गर्नुहुन्छ ?
मैले भनेको कुरा अलि अर्कै हो । मैले केही वर्षअगाडि एउटा दैनिक पत्रिकामा अन्तर्वार्ता दिँदै भनेको थिएँ–प्रज्ञा प्रतिष्ठान मेरानिम्ति असान्दर्भिक छ । त्यसले नेपाली साहित्यको श्रीवृद्धिमा खासै योगदान दिने काम गरेको छैन । तर, मलाई त्यो संस्था चाहिँदैन भन्दैमा हुन्छ र ? अरूलाई चाहिन सक्छ नि ।
कुलपतिको अफर मलाई आयो भने नेपाल अर्कै युगमा प्रवेश गर्‍यो भन्ने बुझ्नुपर्छ । राजनीतिक भागबन्डाको नांगो अभ्यास भइरहेको देशमा मजस्तो पार्टीबाहिरको मान्छेलाई कुलपति बनाउने कुरा सोम शर्माको पिताको कथाजस्तै हो ।
१४.तपाईंलाई एक वर्षसम्म कुनै मानवविहीन ठाउँमा कैद गरियो र त्यस अवधिमा अनुभूतिजन्य कृति लेख्न लगाइयो भने तपाईंको कृति कस्तो होला ?
जहाँ रहे पनि स्रष्टाको आत्मबोध नष्ट हुँदैन । समयसँग संवाद निरन्तर रहिरहन्छ । स्मृतिको सर्वोत्तम उपयोगद्वारा नै कलाको सिर्जना हुने हो । त्यसैले मलाई जहाँ लगे पनि फरक पर्दैन । म बिहानीपख चराहरूले नयाँ दिनलाई सुन्दर पार्न चिरबिर चिरबिर गरेझैँ आफ्नो कर्ममा लागिरहनेछु ।

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 7 बैशाख, 2070

लेखकका अन्य रचनाहरु