फरक मुद्रामा ईश्वरवल्लभ

- श्यामल

जीवन बचाइमा कवि ईश्वरवल्लभको आफ्नो भिन्नै अराजक शैली थियो। कुनै प्रकारका सामाजिक नियम र मान्यताका खिलाफ जान उनको विद्रोही चेतले उनलाई हमेसा उक्साइरहन्थ्यो। हेराइमा उनी असाधारण थिएनन्। हिउँदमा मोटो र लामो गलबन्दी अनि मोटै सुइटर, कमीज र पाइन्टमा कतै आफ्नो लक्ष्यमा हिँडिरहने मध्यमवर्गीय सहरिया अधबैंसे थिए वल्लभ मैले भेट्ता। तर उनी सबैलाई तपाईं नै भनेर सम्बोधन गर्थे। दाँतहरू कमजोर हुन थालेका थिए, र जिब्रो खाली ठाउँबाट बाहिर निस्कन हतारिएको जस्तो लाग्थ्यो। कुनै विसंगत दृश्य वा व्यवहारको चाल पायो भने हाँसेर उडाइदिने बानी थियो वल्लभ दाइको।

तर यदाकदा उनको आत्मीयता पनि विस्मयकारी लाग्थ्यो। छत्तीस या सैंतीस सालको जाडो याममा एकदिन म फसिकेवको गल्ली हु"दै नया"सडकको पीपलबोटतिर आइरहेको थिए"। कोजी होटलनिर वल्लभ दाइ भेटिए। म ऊनीको पातलो कमीजमा थिए"।
वल्लभ हलुका मुस्काए र सोधे, 'भाइ जाडो छैन?'
मैले भनें, 'जाडो त छ तर स्विटर छैन।'
-'तपाईंसँग कति पैसा छ भाइ?'
-'सत्तरी रुपैया" छ।'
-'मसँग साठी रुपैया" छ। अलि-अलि पिऊ" हुन्न?'
-'मासुका लागि पुग्दैन कि?'
-'म तारेको आलुसँग खान्छु। तपाईं एक प्लेट खसीको टाउकोसँग खानोस्। बा"कीले रक्सी पुगिहाल्छ।'
हामी फसिकेवकोे एउटा चल्तीको भट्टीमा छिर्यौंक र कुनाको एउटा टेबुलमा केन्द्रित भयौं। टेबलमा खाने कुरा आयो। उनले आलुबाट सुरु गरे र मैले टाउकोको भुटुवाबाट। सामान्य रूपमा गफ चलिरहेको थियो। हाम्रो वासः को नसा र गफगाफको नसा दुवैमा अजीबको सन्तुलन थियो। समय कति हुत्तिएर जान्छ भन्नेमा हामी उति सचेत थिएनौं।
यत्तिकैमा अर्को टेबुलबाट नीरमान नेवा हाम्रो टेबलतिर हुत्तिएर नमस्कारका साथ अट्टहास गर्दै हात मिलाउन आए। हाम्रो कुरा सुन्ने धैर्य नै नभएजस्तो गरी उनी मेरोे हातमा हात मिलाएकै आफ्नो टेबुलतिर फर्केर भन्न थाले, 'लौ गज्जब भो थापाजी।'
उनको टेबलका दुई जना काँठे शैलीका मानिसले हाम्रो टेबुलतिर गर्धन घुमाए। अनि नीरमानले भने, 'वल्लभज्यू, उहाँ भक्तबहादुर थापा, उहाँ पनि कवि हुनुहुन्छ।'
नीरमानको चर्को आवाजले मधुशालाको वातावरणलाई फरक खालले प्रभावित गर्योा। मधुशालाको सिलिङमुनि भुइँदेखि माथि आधाजति त बाक्लो धुवाँले भरिएको थियो, त्यहाँ आधा उभिनु पनि सम्भव थिएन। वरिपरिका मधुरसप्रेमी जनहरू एकोहोरिएर नीरमानले गरेको हल्लातर्फ क्रोधजन्य आँखाले हेरिरहेका थिए। माकः साहु विस्फारित आँखाले हामीतिरै हेरिरहेको थियो। यो कुरा न वल्लभलाई न मलाई नै पचिरहेको थियो।
'अलि बिस्तारै बोल्नुस् न! अरू पनि छन् नि,' माकः साहु करायो।
नीरमान आफ्नो टेबुलमा फर्केर फेरि चर्को आवाजमा कराउन लागे। 'कविज्यूहरू, वहाँ पनि कवि हो...।'
नीरमानतर्र्फ ध्यान नदिन र आफ्नै गफमा लाग्न मैले वल्लभ दाइलाई भनिरहें। तर उनी रिसाहा मुद्रामा कहिले नीरमानतिर हेर्थे, कहिले मतिर।
जब फेरि नीरमानले आफ्ना साथीहरूतिर र हामीतिर मुन्टो फेर्दै चर्को आवाजमा हाँस्न थाले, मलाई लाग्यो, नीरमानको सन्तुलन भत्कँदैछ। तर बीचैमा वल्लभले नीरमानलाई सोधे,'को छ ह्याँ अर्को कवि, हामी दुईबाहेक?'
'व्हाँ, व्हाँको नाम भक्तबहादुर थापा! कवि भक्तबहादुर थापा!!' थ्री पिसको इस्टकोट लगाएको खिरिलो र काँठे शैलीको साथीको ढाडमा धाप मारेर नीरमानले उत्तर फर्काए।
वल्लभलाई सही नसक्नु भयो। उनी क्रुद्ध मुद्रा देखाउन थाले। मैले उनीहरूका कुनै पनि कुरामा ध्यान नदिन वल्लभलाई आग्रह गरिरहें, तर उनी मान्नेवाला थिएनन्। उनले नीरमानतर्फ आक्रामक मुद्रामा भनें, 'मैले नेपाली भाषामा लेख्ने सबै कविलाई चिनेको छु, ओ नीरमानजी, यो मानिस कवि होइन, हुनै सक्तैन।'
वल्लभतिर हेरेर मैले भनंे, 'ऊ तपाईंले नचिनेको कवि हुन सक्छ नि, उसलाई कवि हुन पाउने अधिकार छैन र?!' तर वल्लभको चित्तमा मेरो यस्तो तर्कको कुनै प्रभाव परेन। उनी त्यस खिरिलो 'कवि' र नीरमानतर्फ एकोहोरिएर बाझ्न लागेका थिए। उनका विचारमा प्रतिष्ठित कविहरूलाई कवि नै नभएको, नामै नसुनिएको कसैलाई कवि भनेर चिनाउनु नीरमानले हेपेर गरेको व्यवहार थियो।
मैले भनें, 'छाडिदिनुस्, उसलाई तपार्इंभन्दा ठूलो कवि हुन दिनुस्।'
अब वल्लभको अनुहार दुर्वासाको जस्तो बन्न थाल्यो। मतिर हात र नीरमानको समूहतिर मुन्टो फर्काएर भने, 'छाड्नुस् भाइ, को हो यो कवि? भक्तबहादुर थापा भन्ने कोही कवि छ? वाहियात्!'
'छ,' टेबुलको अर्को करायो।
'कविहरूलाई मार्ने देश हो यो? हुँ...? जसले पनि म कवि भनेर दावी गर्न पाइन्छ? हुँ!!' लौ आइज, को हो कवि ह्याँ!' वल्लभ जुरुक्क उठेर पाखुरा सुर्कन लागे।
बडो अनिष्ट हुन लाग्यो। वरिपरिका सारा शाकीहरूको ध्यान हामीतिरै जान थाल्यो। म वल्लभको हात खिचेर बसाउन प्रयास गर्दै थिएँ, वल्लभ मच्चिँदै थिए। रमाइलौं गरौंला भनी आएको, हात हालाहाल हुने भो। यत्तिकैमा माकःसाउ आएर नीरमानलाई तपाईं जानोस्, पैसा चाहिएन मलाई भनेर कर्कर् गर्न थाल्यो।
बेञ्चीबाट नीरमान उठे। हामीसँग क्षमा मागे। हाम्रो पैसा आफैं तिर्छु भन्न थाले। तर मैले पैसा हामी नै तिर्छौं भनेर तिर्न दिइनँ। मैले स्वयं तिरें। अनि हामीलाई अघि अघि लगाएर उनी माकःको भट्टीबाट बाहिर निस्के।
माकको भट्टीबाट निस्केपछि हामीलाई नीरमानले बाहिरसम्म पुर्याईउन ल्याए र हात मिलाएर विदाइ गरे। हामी वटु र भोसिको हुँदै, गफैगफमा मानिसहरूसँग ठोक्किनबाट जोगिँदैं वीर अस्पताल र लक्ष्मी ब्लड बैंक बीचको गल्लीबाट महांकाल मन्दिरतिर लाग्यौं। शवगृहको ठीक अगाडि दुईतले लामो र विशाल पुरानो इँटाको घर थियो जहाँ अहिले त्रासजन्य पीडा (ट्रोमा) उपचार केन्द्र बनाइएको छ। त्यहीँनिरको पहिलो ढोकाको छेउमा पुगेपछि वल्लभ दाइलाई पिसाबले च्यापेछ। बत्ती नभएको काठमाडौंको निवीड अन्धकारमा कसैले टर्च बाल्यो भने शवगृह बाहिरपट्टिको भित्तामा मानिसहरु पिसाब गरिरहेको देख्नु सामान्य थियो त्यति बेला।
वल्लभ ढोकैनिर भवनतिर फर्केर पाइन्टको फस्नर झार्न थाले। मैले उनलाई दाइ यो कसैको घर हो, यहाँ पिसाब गर्न मिल्दैन भनें। उनले भने, 'भाइ तपाईं चुप लाग्नोस्, म यहीँ पिसाब गर्छु।'
यस विषयमा वल्लभसंग विवाद गर्नुभन्दा मैले उनलाई छाडेर अलि अघि बढ्नुपर्ने भयो। म केही गज अघि बढें। भित्रबाट बत्तीको रुग्ण प्रकाश ढोकाको च्याप हुँदै सडकतिर चियाइरहेको थियो र वल्लभको छातीमुनि हल्का प्रकाश छाएको थियो। ढोकाको संघार रातो माटोले लिपिएको थियो। वल्लभले त्यसैमा लघुशंका गरिदिए। माथिल्लो तल्लाको झ्यालतिर मुन्टो सोझ्याएर लघुशंकाको आनन्द लिइरहेका वल्लभलाई एक्कासी माथिल्लो तल्लाको ढोकाबाट एक प्रौढा नेवार्नीले नेवारी भाषामै गाली गर्न थालिन्।
वल्लभले आफ्नो कृत्य रोकेनन्। पिसाब गर्दै ती महिलासँग नेवारीमै बाझ्न थाले उनी। महिला उनले पिसाब गरेको हेर्दै जथाभावी बोल्दै थिइन्। मलाई छट्पटी सुरु हुन थाल्यो। म कहिले तीन पाइला अघि कहिले तीन पाइला पछि गर्न थालें। मैले भनें, 'दाइ तिनले गाली गरेको ठीकै हो, अर्काको ढोकामा गएर मुत्नुहुन्छ? मैले अघि नै तपाईंलाई त्यसो नगर्न भन्या होइन?'
मतिर हेर्न छाडेर वल्लभ तिनै महिलासँग बाझ्दै आफ्नो काम समाप्त गर्दै थिए। यस्तो बेला मानिसको पिसाब रोकिनुपर्ने हो, तर वल्लभको मामलामा त्यो ग्रन्थिले काम नगर्ने रहेछ। उनी भन्दै थिए, 'मेरो देशमा मैले पिसाब गर्न पनि नपाउने?' पञ्चायतकालमा यस प्रकारको असामाजिक मानसिकतालाई पनि विद्रोहको जामा पहिर्यापएर त्यसको बचाउ गर्नु राम्रो हुन्थ्यो।
महिलासँग मुखमुखै लागेर उनले जननेन्द्रियलाई पुनः गुप्तीमा राखे र उसलाई पनि बेस्सरी गाली गरे। आमा नेवार्नी भएकोले होला, उनको नेवारी बोली निकै राम्रो थियो। एक प्रकारले यो झगडा नौलो विषयवस्तुमा थियो, अझ नेवारीमा यसप्रकारको झगडा मैले कहिल्यै देख्नुपरेको थिएन। यो आफैंमा लज्जाको विषय त छँदै थियो, ईश्वरवल्लभजस्ता गनिएका कविको यस्तोेे बेहोरा चकित पार्ने खालको समेत थियो। उनी अब म भएतिर आउँदै थिए, र विकृत अनुहारमा त्यस महिलालाई 'आफ्नो देशमा पिसाब गर्न पनि नदिएकोमा' कस्तो आइमाई रै'छ भन्दै आलोचना गरिरहेका थिए। बेला-बेला मलाई पनि सोध्थे, 'के मैले आफ्नो देशमा पिसाब गर्न पनि पाउँदिन? कस्तो देश हो यो?'
मैले उनलाई भनें, 'पाउनुहुन्छ, तर अर्काको दैलोमा वा ओछ्यानमा गर्नु त भएन नि!'
'तपाईं पनि त्यो आइमाईजस्तो र छ! मेरो देशले के मलाई पिसाब गर्ने अधिकार समेत दिएको छैन। थुक्क...!' यसो भन्दै गर्दा हामी बाटो काटेर महाकालस्थानको मन्दिरनिर पुगिसकेका थियौं। म उनको क्रोधलाई मत्थर पारेर अघि बढाउन चाहन्थें। उनलाई थापाथलीसम्म पुर्या एर म नक्सालतिर लाग्ने विचारले उनको हात समातेर शहीद गेटतिर डोर्याीइरहेको थिएँ। उनी कहिलेकाहीँ बी-बीचमा त्यो महिलालाई सम्झँदै भन्थे, 'त्यो आइमाई नै होइन भाइ, त्यसले पिसाब गरिरहेको पुरुषतिर किन हेरी?'
म भन्थें, 'तपाईंले उसका आँखा पर्ने गरी उसकै दैलोमा किन पिसाब गर्नुभो?'
उनी भन्थे, 'मैले मेरो देशमा किन पिसाब गर्न नपाउनु?'
म भन्थें 'त्यो तपाईंको घरको ट्वाइलेटमा आएकी त थिइन। तपाईंको ट्वाइलेट पनि त तपाईंकै देशमा छ।'
उनी भन्थे, 'होइन, मैले जहाँ पिसाब गरे पनि त्यसले हेर्नुपर्ने?'
म भन्थें, 'तपाईंले नै उसलाई जबर्जस्ती देखाउने काम गर्नुभो।'
उनी भन्थे, 'तपाईंले मेरो कुरै बुझ्नु भएन।'
म भन्थें, 'हो तपाईंका कुरा बुझ्नभन्दा तपाईंका कविता बुझ्न सजिलो, तपाईंका कविताभन्दा तपाईंका गीत बुझ्न सजिलो।'
उनी अब गीततर्फ मोडिन्थे। जति बेला गीततर्फ मोडिन्थे, अघिको प्रसंग चटक्कै बिर्सन्थे।
हनुमानथाननिर आइपुग्दा, दरबारको गेटनिर दर्जनौं कुकुर आए र हामीलाई झम्टिन थाले। म उभिएँ र चुपचाप उभिइरहें। वल्लभ कुकुरहरूसँग बाझ्न थाले। मैले यस्तो बेला उभिइरह्हयो भने कुकुर आक्रामक हुन छाड्ने र कम जोखिम हुने बताएँ। तर वल्लभ मेरो कुरा सुनिरहेका थिएनन्, कुकुरसँग बाझिरहेका थिए।
उनी कुकुरहरूतिर हेरेर भन्दै थिए, 'स्साला, हामीहरू कवि हो, कविलाई चिन्नु पर्दैन? टोक्न आउने हो? कस्ता कुकुरहरू नेपालका... नेपाल हाम्रो देश होइन! स्साला छाड् बाटो!'
मैले भनें, 'दाइ कुकुरले कविलाई कसरी चिन्छ?'
उनले भने, 'राज्यले नचिने पनि समाजले चिन्नुपर्छ। कुकुरले आफ्नो मालिक चिन्छ। कि होइन? कुकुर पनि मानिसजस्तै सोसल एनिमल हो नि भाइ। स्साला, नेपालमा कविको केही काम छैन। कविलाई मार्ने? हुँ? हुँँ?? यस्तो पनि देश हुन्छ?'
वल्लभ बोलिरहेपछि कुकुरहरू झन् थामिने छाँट थिएन, मलाई छाडेर दुई-तीन वटा कुकुरले वल्लभका पाइन्ट तानिरहेका थिए। उनको शरीरमा कुकुरले टोकिहाल्छन् कि भनेर म उनलाई नबोल्न आग्रह गरिरहेको थिएँ। निकै लामो समयपछि उनी ठिंग उभिए। र करिब तीन मिनेटमा कुकुरहरू आ-आफ्ना पुच्छर हल्लाउँदै अँध्यारो मार्गमा विलीन भए। कुकुरहरूको त्यस आक्रामक हुलबाट वल्लभका भाषामा कुकुरले नचिनेका कवि वल्लभ र म आफ्नै रंगीन सुरमा कुरिया गाउँतर्फ लाग्यौं, जहाँ वल्लभको घर थियो।
उत्तम कुँवरको निधनपछि किशोर कुँवरले रूप-रेखा कार्यालयबाटै परिवेश भन्ने साप्ताहिक प्रकाशन गर्न थाले। त्यस टोलीमा स्वाभाविक रूपमा म हुने नै भएँ। मुख्य सल्लाहकार र लेखकमा उनले वल्लभलाई राखेका रहेछन्। मैले भनें, 'वल्लभ दाइ ठूला कवि त होलान् तर पत्रकारिता जानेका छन् भन्ने मलाई लाग्दैन। यसरी पनि कतै पत्रिका चल्छ?'
'तपाईंलाई के थाहा?' उनले बडो थाहा पाएझैं गरी मलाई ठाडो उत्तर दिए।
मैले यस मनुष्यसँग चुप लाग्नु नै उचित हुने ठानी आफूलाई अर्कै काममा मोडिदिएँ। हत्तेरिका, भन्नु नै के! उनका लागि वल्लभभन्दा जान्ने कुनै पत्रकार नै थिएन, अरूमा भरोसा पनि थिएन। उनका लागि मोहन कोइराला जत्तिको उचाइ भएको कुनै कवि नै थिएन। उनका लागि जगदीशशमशेर जत्तिको विद्वान् यस ब्रह्माण्डमै थिएन।
वल्लभ दाइ हप्ताको चार दिनजसो रूप-रेखा अफिस आउँथे र परिवेशका लागि केही लेख्थे। त्यसताका चल्तीको एक स्तम्भ हुन्थ्यो 'तपाईंको प्रश्न सम्पादकको उत्तर'। मातृभूमि, समीक्षा र नयाँ सन्देशजस्ता सयौं पाठक भएका पत्रिकामा यदाकदा पाठकहरुले प्रश्न पठाउँथे। तर सबै साप्ताहिकहरूका लागि पाठकको चिठी पाउनु दुर्लभ थियो। पाठकका नाममा आफैं चिठी बनाएर बाँगाटिंगा प्रश्न सोध्ने र आफैं उत्तर दिने अनौठो संस्कार बसेको थियो नेपाली साप्ताहिकहरूमा। यो, सम्पादकहरूका विचारमा, पाठकलाई आकर्षित गर्ने अद्भूत जादु हुन्थ्यो। यसको असरमा परिवेश राम्रै परेको थियो, किनभने किशोरले पत्रकारितामा सबैभन्दा बढी मान्नेमध्येका एक मदनमणि दीक्षितको पत्रिकाको त्यो स्तम्भ निकै आकर्षक स्तम्भ थियो। फलतः वल्लभलाई यस्तो गर्नमा मजा आउने त भयो नै, यदाकदा आफैंले चिनेका मानिसका नाममा उनी प्रश्न बनाएर उत्तर दिन थालेका थिए।
एक दिन, प्रुफ हेर्ने बेलामा प्रश्नमा मैले मेरो नाम ठेगाना फेला पारें, र मुर्मुरिएर वल्लभलाई देखाउँदै भनेँ, 'के तपाईंले मलाई बेवकुफ बनाउन खोजेको हो?'
उनले 'होइन, यसो गर्दा के बिग्रिहाल्छ र' भन्ने प्रकारको उत्तर दिए। उनलाई प्रश्न गरें 'म तपाईंकै नाममा तपाईंको गीतको फर्माइसमा रेडियोमा चिठी पठाइदिऊँ त? तपाईंलाई कस्तो लाग्ला?' मेरो प्रश्नको उत्तरमा उनले उनले केही सोचेझैं गरे। र, अन्ततः प्रश्नकर्ताबाट तत्कालै मेरो नाम हटाए।
वल्लभ दाइले रूप-रेखामा 'वल्लभ र नयाँ प्रतिभा' नामको एक नियमित स्तम्भ चलाएका थिए र उदीयमान कविहरूका अन्तर्वार्ता छाप्ने गरेका थिए। त्यसमा सोधिने प्रश्नमध्ये एउटा हुन्थ्यो, कम्पुटरले कविता लेख्न थालेपछि कविलाई खतरा आइलागेको छ भन्ने। अन्तर्वार्ता दिने कविहरूको कुरा त बेग्लै थियो, तर मैले एक दिन रूप-रेखा कार्यालयबाट यट्खातर्फ लाग्दै गरेका वल्लभसँग हिँड्दै गर्दा सोधें, 'कम्प्युटरले मानिसले जस्तै अनुभूतिका कविता कसरी लेख्न सक्ला र तपाईंले यस प्रकारको प्रश्न गर्नुभो?'
वास्तवमा नेपालमा भर्खरै कम्प्युटर आउन थालेको युग थियो त्यो र कम्प्युटरको बारेमा थरीथरीका अनुमान गर्ने गरिन्थ्यो। यस्तैमा उनलाई कम्प्युटरको क्षमता कविताका लागि जोखिम लागेछ। कविता पनि लेख्न सक्ने कम्प्युटर कविका लागि चुनौती लागेछ। यो एक प्रकारको यन्त्र हो र यसलाई मानिसले प्रोग्रामिङ नगरेको कुनै कुरा पनि गर्न आउँदैन भन्ने वल्लभलाई थाहा थियो जस्तो लाग्छ। तर, त्यति थाहा भएको जस्तो गरेर उनी प्रश्न गर्थे।
मेरो प्रश्न सुनेपछि उनले मलाई नै सोधे, 'लौ तपाईं नै भन्नुस्।'
'कम्प्युटर कविका लागि चुनौती बन्न सक्तैन। किनभने यसले मानिसको जस्तो प्राकृतिक संवेदनशीलता पाएको हुन्न, न मेरो जस्तो अनुभव गर्न सक्छ, न मलाई विस्थापित गर्ने गरी कविता लेख्नै सक्छ। यसको उत्तर म किन दिऊँ? तपाईंको प्रश्न नै भ्रान्तिपूर्ण छ।' मैले उनलाई यति भनिदिएँ।
'आज म तपाईंलाई खुवाउँछु,' वल्लभले कुरा मोडे। हामी कोतको बाटो हुँदै मखन प्रवेश गरिसकेका थियौं। यो जाडोको समय थियो र जाडोले न्याना पदार्थतिर ध्यान मोडिरहेको थियो। मैले आफूसँग होटल गएर मद्यपान गर्ने सामर्थ्य नभएको बताएँ। तर उनले भने, 'म ख्वाउँछु।'
सम्भवतः रूपायन प्रेसबाट उनले केही पैसा मागेर ल्याएका थिए। र, मसँग आत्मीय बातचीत गर्न चाहन्थे, मेरो साथ चाहेका थिए उनले। त्यसैले उनले मलाई श्वेतभैरव रेस्टुरेन्टतिर लगे।
करिब डेढ घन्टाको बसाइपछि छुट्टिने बेला मेरा चिसा हातमा हात राखेर वल्लभ दाइले भने, 'भोलि मेरोमा आउनूस् न भाइ।'
'कति बेला?'
'बिहान, चिया प्युने गरी।'
'हस्, ल म आउने भएँ,' भनेर उनीसँग छुट्टिएँ।
भोलिपल्ट बिहान म वल्लभको घर कुरियागाउँ गएँ। उनी विस्तरामै थिए। केही समयपछि भाउजूको हातबाट चिया आइपुग्यो। चियाको चुस्कीसँगै वल्लभ दाइले भने, 'भाइ म तपाईंलाई यौटा सानो उपहार दिन्छु, लगिदिनोस्। नाईं भन्न पाउनुहुन्न नि!'
म विस्मित भएँ। एक जना अग्रज कविको उपहार कुनै नामी पुस्तक नै हुनुपर्छ भनेर अनुमान लगाएँ र पुलकित पनि भएँ म, र स्वीकृतिसूचक मुन्टो हल्लाएँ मैले।
करिब आधा घन्टाको बसाइपछि मैले भनें, 'दाइ म आज उत्तम दाइको घरमा खाना खान जानु छ। अब म गएँ। चियाको लागि धन्यवाद।'
उठ्नै लागेको थिएँ, वल्लभ दाइले एक ठूलै पोको पो मेरो हातमा थमाए। त्यो लिएँ। लिन इन्कार गर्ने अधिकार मैले अघि नै गुमाइसकेको थिएँ। उनले भने, 'घरमा गएर मात्र खोल्नुहोला।'
उनको घरबाट निस्केर म बबरमहलतिर उक्लिएँ। घर गएर खोल्ने धैर्य गुमाएँ मैले र त्यहीँ बाटैमा खोलिहेरें। त्यो एक राम्रो स्विटर थियो।
माघ महिना थियो, मैले त्यसलाई टाउकोभित्र छिराइहालें। त्यो स्विटर यति न्यानो र राम्रो थियो कि मलाई तुरुन्त त्यसको गुणवत्ता र ताजापनको अनुभव भइहाल्यो। मैजुबहाल उत्तम कुँवरको घर पुग्दा म त्यही स्विटरमा थिएँ। त्यही स्विटरले मैले आठ हिउँद काटें। त्यही स्विटर लगाएर म नेपालका करिब तीस जिल्ला घुमें। त्यो झुत्रो र काम नलाग्ने हुन्जेलसम्म मेरो झोलाको अनिवार्य वस्तु बनेको थियो। मलाई बेला-बेला अनुदार देखिने इश्वरवल्लभभित्र रहेको विपुल मानवीय संवेदनशीलताको गहिरो अनुभव भयो। तर धेरै वर्षपछि उनी बित्दा म भने नेपालगन्जमा थिएँ। त्यति बेला एक महिनामा त्यस्ता हजार स्विटर किन्ने क्षमता मसँग थियो। तर मलाई त्यही स्विटर प्यारो थियो। मलाई उनको स्विटरले जति न्यानो दिइरहेको थियो, जीवनको अन्त्यतिर उनले सिर्जेको नर्भिक गाथाले उत्तिकै पोलेको थियो। त्यो स्विटर, मेरो आमाले आत्महत्या गरेको देश, र केही गीतले उनलाई सम्झने गर्छु। हिजै मात्र मैले उनको क्यासेट कविता सुन्दा त्यो स्विटर दिँदाको उनको आत्मीयताको न्यानो अनुभव गरेको थिएँ।
उनको तेस्रो आयामको मानिसलाई एक पाखे दृष्टिले हेर्न हुन्न, सोलोडोलो हेर्नुपर्छ भन्ने सिद्धान्त र त्यो स्विटरसँग गाँसिएको उनको स्मृतिमा तादात्म्य खोज्दैछु म।

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 7 बैशाख, 2070

लेखकका अन्य रचनाहरु