असमेली नेपाली कथाकार

- लीला लुइटेल

प्राचीन कालमा कामरूप नामले प्रसिद्ध क्षेत्र अहिले असमका नामबाट चिनिन्छ । यसलाई आसाम पनि भनिएको पाइन्छ । कूल भारतीय क्षेत्रफलको ७.७ प्रतिशत भूमि ओगटेको यस क्षेत्रलाई भारतमा पूर्वाञ्चल पनि भन्ने गरिन्छ । १९४७ मा भारत अङ्ग्रेजी उपनिवेशबाट स्वतन्त्र भएपछि एउटा राज्यका रूपमा स्थापित असमको पहिलेको राजधानी सिलाङ थियो । १९५७ देखि असम राज्य टुक्रिएर विभिन्न राज्यमा विभाजित हुने क्रम सुरु भयो । १९५७ मा मणिपुर असमबाट पृथक् भई बेग्लै राज्यको रूपमा स्थापित भयो भने १९६३ मा नागाल्यान्डले पनि छुट्टै राज्यको अस्तित्व प्राप्त ग¥यो । यसपछि मेघालय, त्रिपुरा, अरुणाचल, मिजोरमजस्ता राज्यहरू पनि क्रमशः असमबाट अलग भई स्वतन्त्र राज्यका रूपमा स्थापित भए । यसरी पहिले एउटै राज्यका रूपमा रहेको बृहत्तर असम हाल प्रशासनिक दृष्टिले असम, मेघालय, नागाल्यान्ड, मणिपुर, अरुणाचल, त्रिपुरा र मिजोरम गरी सात राज्यमा विभाजित छ । अहिले यी सात राज्यको समूहलाई उत्तरपूर्वी भारत पनि भनिन्छ । प्रस्तुत लेखमा असम भन्नाले राजनैतिक÷प्रशासनिक दृष्टिले विभाजित वर्तमान असम राज्य नभएर उत्तरपूर्वी भारतमा अवस्थित सम्पूर्ण राज्यको समूहलाई समेटिएको छ ।
असम र नेपालको सम्बन्ध प्राचीन कालदेखि नै रहेको पाइन्छ । भारतमा अङ्ग्रेजी उपनिवेश सुरु भएपछि नेपाली युवाहरूलाई सेनामा भर्ती गर्न थालियो । विश्वयुद्धमा संलग्न गरिएका नेपालीहरूलाई युद्धको समाप्तिपछि भारतका विभिन्न क्षेत्रमा बसोबास गराइयो । सुगौली सन्धिपछि नेपाली भूभाग मेची र महाकालीको सिमानामा सीमित भएकाले यस क्षेत्रका नेपालीहरू स्वतः भारतीय हुन पुगे । यीबाहेक काम र मामको खोजीमा असम क्षेत्रमा प्रवेश गरेका नेपालीहरू पनि जङ्गल फा“डेर खेती तथा पशुपालन गर्दै त्यतै बस्न थाले । यसरी विभिन्न कारणबाट यस क्षेत्रमा नेपालीहरूले बसोबास बढ्दै गयो । हाल यस क्षेत्रमा निकै ठूलो सङ्ख्यामा नेपालीहरूको बसोबास रहेको छ । यस क्षेत्रका अधिकांश ठाउ“मा नेपाली भाषालाई प्रमुख भारतीय भाषाको रूपमा मान्यता दिई यसैका माध्यमबाट पठनपाठन हुने गरेको पाइन्छ । यसका अतिरिक्त हाल गौहाटी विश्वविद्यालयमा दूर शिक्षाअन्तर्गत नेपाली विषयमा एम्.ए. स्तरको कार्यक्रम पनि सञ्चालन गरिएको छ । यस क्षेत्रका विभिन्न स्थानमा नेपाली भाषासाहित्यसम्बन्धी गतिविधि सक्रिय रूपमा सञ्चालन भइरहेका छन् भने नेपाली भाषामा प्रशस्त साहित्य सिर्जना र पत्रपत्रिकाको प्रकाशन हुने क्रम पनि निरन्तर चलिरहेको छ । त्यस क्षेत्रमा विभिन्न महिला साहित्यकारहरूले पनि विभिन्न विधाका साहित्यिक कृतिको रचना गरेका छन् । असमका विभिन्न क्षेत्रमा बसोबास गरी नेपाली भाषामा कथा सिर्जना गर्ने कथाकारको कालक्रमिक विश्लेषण गर्नु प्रस्तुत लेखको अभीष्ट रहेको छ ।
हरिप्रसाद ‘गोर्खा’ राई (१९१४, नागाल्यान्ड)
नेपाली र असमिया दुवै भाषामा कलम चलाउने हरिप्रसाद ‘गोर्खा’ राईका सुरुसुरुका रचनाहरू ‘जुनुमाया राइनी’, ‘फक्करसिंह सिपाही’ जस्ता छद्म नामबाट छापिएका छन् । जुनुमाया राइनी नामबाट १९४० मा छापिएको ‘दुखमय इतिहास’ यिनको पहिलो कथा मानिन्छ । यिनका यहा“ बदनाम हुन्छ (१९७४), हरिप्रसाद ‘गोर्खा’ राईका कथाहरू (२००१) शीर्षक कथाकृति प्रकाशित छन् । छद्म नामबाट १९४० तिर देखि नै यिनका कथा छापिएको पाइए पनि पुस्तकाकार कृति भने निकै पछि मात्र प्रकाशित भएको देखिन्छ ।
हरिप्रसाद ‘गोर्खा’ राईका कथामा जीवनजगत्का सुखदुखात्मक अनुभूतिका साथै समाजमा व्याप्त अन्याय, अत्याचार, जातीय विभेद आदिलाई यथार्थमूलक ढङ्गले प्रस्तुत गरिएको छ । यिनले उत्तर पूर्वाञ्चल भारतमा बसोबास गर्ने नेपालीहरूले बेहोरेका सामाजिक, राजनैतिक, आर्थिक, शैक्षिक आदि विभिन्न समस्या र ती क्षेत्रमा देखापरेका विकृति र विसङ्गतिलाई पनि यिनका कथामा अभिव्यक्त भएका छन् । यिनले आना कथामा विशेषतः निम्नवर्गीय र मध्यमवर्गीय प्रवासी नेपालीका साथै लाहुरे जनजीवनस“ग सम्बद्ध पात्रको प्रयोग गरी तिनका माध्यमबाट कथ्यलाई प्रस्तुत गरेका छन् । यिनका कथामा बालक, युवा, युवती, विधवा, नेता, शिक्षक, लेखक, साहित्यकार, पत्रकार, निम्न वेतनभोगी कर्मचारी, डाक्टर आदि विभिन्न सहभागीको प्रयोग गरिएको छ । पात्रहरूका बीचमा बा≈यान्तरिक द्वन्द्व गराई सामाजिक, प्राकृतिक र स्थानीय परिवेशको चित्रण यिनका कथामा गरिएको पाइन्छ । भिन्न भाषा, संस्कृति र समाजका मानिसहरूस“ग नेपालीहरू आत्मीयतापूर्वक मिलेर बस्न सक्ने कुरालाई पनि यिनले आना कथामा प्रस्तुत गरेका छन् । परम्परित ढा“चामा आदि, मध्य र अन्त्यको क्रममा कथा सिर्जना गर्नु यिनको कथा शिल्पगत वैशिष्ट्य हो ।
सरल, सहज र स्वाभाविक गद्य भाषाका साथै आलङ्कारिक र काव्य भाषाको समेत प्रयोग पाइने हरिप्रसाद ‘गोर्खा’ राईका कथाको शैली अधिकांशतः वर्णनात्मक र अंशतः पत्रात्मक एवं तार्किक रहेको छ । तत्सम र तद्भव शब्दका साथै हिन्दी, अङ्ग्रेजी र असमिया भाषाका कथ्य र लेख्य दुवै रूपको स्वाभाविक प्रयोग पाइने यिनका कथामा विभिन्न उखान, टुक्का, अनुकरणात्मक शब्द आदिको पनि सहज र स्वाभाविक प्रयोग पाइन्छ । समग्रतः आञ्चलिकताको झझल्को दिने गरी सोद्देश्यपूर्ण ढङ्गबाट सरल, सहज र सुबोध भाषाशैलीमा विभिन्न विषयवस्तुलाई कथा ढा“चामा उन्नु कथाकार ‘गोर्खा’ राईको कथागत वैशिष्ट्य हो । नेपाली र असमिया दुवै भाषामा कलम चलाउने हरिप्रसाद ‘गोर्खा’ राई सामाजिक यथार्थवादी कथाकार हुन् ।
लीलबहादुर छेत्री (१९३३, गुवाहाटी)
१९५२ को युगवाणीमा प्रकाशित ‘कर्तव्य’ कथाका माध्यमबाट नेपाली कथामा प्रवेश गरेका लीलबहादुर छेत्रीका तीन दशक ः बीस अभिव्यक्ति (१९८३) तथा लीलबहादुर छेत्रीका कथाहरू (१९९७) जस्ता कथा सङ्ग्रह प्रकाशित छन् । यिनका कथामा निम्नवर्गीय समाजले गरिबीका कारण भोग्नुपर्ने अभावजन्य समस्या, जीविकोपार्जनका लागि प्रवासिनु पर्दाका पीडा आदिको मार्मिक चित्रण पाइन्छ । यौनमनोविश्लेषणलाई पनि यिनले कतिपय कथामा स्थान दिएका छन् । आर्थिक, राजनैतिक, सामाजिक समस्यालाई पनि यिनले कथाको विषयवस्तु बनाएका छन् । कथाकार गुरुप्रसाद मैनालीको कथाशिल्पबाट बढी प्रभावित छेत्रीको पहिलो सङ्ग्रहका कथामा आदर्शाेन्मुख यथार्थवादी प्रवृत्ति पाइन्छ । सामाजिक विषयवस्तुमा आधारित यिनका कथामा आदर्शवादी नैतिक सन्दर्भले विशेष महŒव पाएको छ । यिनका कतिपय कथामा तत्कालीन सामाजिक राजनैतिक गतिविधिप्रति सूक्ष्म व्यङ्ग्य प्रहार गरिएको पाइन्छ भने कतिपय कथामा मनोवैज्ञानिक प्रभावसमेत भेटिन्छ । यिनका पछिल्लो सङ्ग्रहका कथामा विषयवस्तु र प्रस्तुतीकरण केही पृथक् देखिन्छ ।
लीलबहादुर छेत्रीका कथाको भाषाशैलीय विन्यास निकै परिष्कृत र परिमार्जित खालको छ । सरल, सहज र सुबोध भाषा तथा वर्णनात्मक र संवादात्मक शैलीको प्रयोग गरी प्रायः तृतीय पुरुष दृष्टिबिन्दुमा लेखिएका यिनका कतिपय कथामा आञ्चलिकताको झझल्को पनि पाइन्छ । सहरिया र ग्रामीण दुवै परिवेशमा लेखिएका यिनका कथाहरू सोद्देश्यमूलक रहेका छन् । पूर्वेली नेपाली भाषिका तथा स्थानीय भाषिकाको सहज र स्वाभाविक प्रयोग पाइने यिनका कतिपय कथामा बिम्बप्रतीकको पनि सहज विन्यास पाइन्छ । मानवीय संवेदनास“ग गा“सिएका विभिन्न विषयवस्तुलाई पात्रको स्तरअनुरूपको भाषाशैलीका माध्यमबाट सहजतापूर्वक प्रस्तुत गर्ने कौशल यिनमा देखिन्छ । समग्रमा यिनका कथामा सामाजिकता, मनोवैज्ञानिकता, व्यङ्ग्यात्मकता, समस्यामूलकता आदि पाइए पनि यिनी मूलतः सामाजिक आदर्शाेन्मुख यथार्थवादी कित्ताका कथाकारका रूपमा देखापर्छन् ।
चन्द्रकला नेवार (वि.सं. १९९९, डिगबोई)
वि.सं. २०१८ को उषा पत्रिकामा प्रकाशित ‘एक बत्ती ः दुई पुतली’ शीर्षक कथाका माध्यमबाट नेपाली कथाका फा“टमा देखापरेकी चन्द्रकला नेवारका ममता (वि.सं. २०२२) तथा सा“घुरो धरातल (वि.सं. २०६२) शीर्षकका कथाकृति प्रकाशित छन् । असममा रह“दा कथायात्रा प्रारम्भ गर्ने नेवार हाल नेपालमा बसेर कथा सिर्जना गरिरहेकी छन् । यिनी नारी भएकाले यिनका प्रायः कथाहरू नारीका पक्षबाट प्रस्तुत भएका छन् । यिनका कथामा मूलतः नारीमाथि पुरुषले गर्ने अन्याय, अत्याचार, दुराचार, शोषण आदिलाई विषयवस्तु बनाइएको छ । विधवामाथि गिद्देदृष्टि राखेर यौनशोषण गर्ने तथा नारीलाई भोगको साधन मात्र ठान्ने पुरुषको स्वार्थी, आडम्बरी र पाखण्डी चरित्रलाई यिनका कथामा स्वाभाविक ढङ्गमा देखाइएको छ । यिनका कथामा नारीका दुरवस्था, पीडा, असन्तुष्टि, विवशता आदिको प्रस्तुतिका क्रममा पुरुषको प्रतिवूmल चरित्रलाई पनि प्रस्तुत गरिएको छ । नारीभित्र रहेको शाश्वत चीज मातृत्वको चित्रण पनि चन्द्रकलाका कथामा पाइन्छ । सन्तानविहीन नारीप्रतिको सामाजिक दृष्टिकोणलाई प्रस्तुत गरिएका यिनका कथामा पुरुषका वासनाको परिणतिले गर्दा आमा बन्न पुगेकी पीडित नारीको चित्कार र तनावलाई पनि देखाइएको छ । यसरी नारीले भोग्नुपर्ने विविध प्रकारका पीडालाई प्रस्तुत गरिएका आÇना कथाहरूमा यिनले पीडाबाट आहत भएका नारीहरूको चेतन तथा अवचेतन मनको विश्लेषण गरेकी छन् । नारी मनोविश्लेषणका क्रममा यिनले प्रवृmतिको सहारा लिई अर्थात् प्रवृmतिचित्रण गरी कथालाई थप मार्मिक, प्रभावकारी र जीवन्त तुल्याएकी छन् । यस क्रममा यिनले आÇना कतिपय कथामा जीवनसम्बन्धी आत्मदृष्टिकोणसमेत प्रस्तुत गरेकी छन् ।
चन्द्रकला नेवारका कथामा नारीका पीडा मात्र नभई प्रेमिकाको मृत्युबाट आहत हुनपुगेका युवकको व्यथालाई पनि प्रस्तुत गरिएको छ । यिनले कतिपय कथामा पत्नीबाट पीडित पतिको पनि चित्रण गरेकी छन् । नारी सहभागीको प्रधानता पाइने चन्द्रकलाका कथामा प्रयुक्त नारीहरू सङ्घर्षशील र जुझारु नभएर सहनशील प्रवृत्तिका छन् । यिनीहरू रोएरै मर्छन्, तर आपूmप्रति गरिएका अन्यायको विरुद्धमा आवाज उठाउन सक्तैनन् । यिनका सुरुसुरुका कथामा असमेली जनजीवनको परिवेश प्रतिबिम्बित भएको पाइन्छ भने पछिल्लो समयका कथाहरूमा काठमाडौको परिवेश पनि चित्रित छ । यिनले मुख्यतः पुरुषको अत्याचार भोगेर पीडायुक्त जीवन बा“च्न विवश नारीका कारुणिक यथार्थलाई प्रस्तुत गर्ने उद्देश्यले कथा लेखेकी छन् । परम्परित ढा“चामा कथा लेख्ने नेवारका कथाको भाषाशैलीय विन्यास कतिपय ठाउ“मा व्याकरणिक दृष्टिले त्रुटिपूर्ण भए पनि सरल छ । यिनले केही कथामा पूर्वदृश्यको पनि प्रयोग गरेकी छन् । बौद्धिक नभई भावुक र संवेदनशील पाराका यिनका कथाहरू सहज पठनीय छन् । पत्नी, प्रेमिका, आमा आदि नारीका विभिन्न रूपको चित्रण तथा नारीले भोग्नुपरेका विभिन्न प्रकारका पीडा र शोषणलाई सरल ढङ्गमा प्रस्तुत गर्नु कथाकार चन्द्रकला नेवारको कथात्मक प्रवृत्ति हो । समग्रमा भन्दा चन्द्रकला नेवार नारी विषयक कथा लेख्ने सामाजिक यथार्थवादी कथाकार हुन् ।
आशारानी राई (१९३५, मणिपुर)
मणिपुरमा ‘गुरुमा’ तथा भारतीय नेपाली भाषा सङ्ग्रामीका बीच ‘मणिपुरकी दिदी’ का रूपमा परिचित आशारानी राईका कथाहरू निकै अगिदेखि नै पत्रपत्रिकामा प्रकाशित हुन थालेको जानकारी पाइन्छ । यिनको यम द्वितीया (सन् १९९९) नामक कथा सङ्ग्रह प्रकाशित छ । यिनका कथाको मूल विषयवस्तु पुरुषको दम्भी, हठी र स्वेच्छाचारी प्रवृत्तिबाट पीडित नेपाली नारीको कारुणिक अवस्था हो । नारीको सहनशील प्रवृत्ति, त्याग, अगाध पतिभक्तिको प्रस्तुति पाइने यिनका कथाहरूमा पुरुषका अनैतिक क्रियाकलापको विरोध साङ्केतिक ढङ्गमा गरिएको छ । नेपाली समाजमा व्याप्त विविध प्रकारका अन्धविश्वास, जातीय विभेद एवं लैङ्गिक विभेदको अन्त्य गरी समतामूलक समाजको चाहना प्रकटित यिनका कथामा समाजिक सुधारका साथै जातीय सम्मानको जगेर्ना गर्नुपर्ने भावना मुखरित छ । रक्तसम्बन्धभन्दा भावनात्मक सम्बन्ध बलियो हुने दृष्टिकोणको प्रस्तुति पाइने यिनका कतिपय कथामा आदर्शवादी स्वर पनि अभिव्यञ्जित छ । लोककथाको पुनर्लेखन गरी त्यसका माध्यमबाट जातीय एकताको पक्षमा आवाज उठाइएका यिनका कथामा युगीन समयमा नेपाली जातिमा व्याप्त जारी प्रथाको विरोध पनि गरिएको छ । भारतको सुदूरपूर्व माणिपुरको सेरोफेरोमा लेखिएका यिनका कथामा नेपाली संस्कृतिप्रति आस्था प्रकट गरिएको छ । मानक नेपाली भन्दा फरक देखिने यिनका कथामा प्रयुक्त भाषामा स्थानीय कथ्य भाषाको प्रभाव देखिनुका साथै केही कसरमसरलगायत सङ्गतिगत त्रुटि पनि पर्याप्त भेटिन्छन् । स्थानजन्य दृष्टिबाट हेर्दा यसप्रकारका कमीकमजोरीलाई सामान्य एवं स्वाभाविक रूपमा लिनुपर्छ ।
अर्जुन निरौला (१९४६, मेघालय)
अर्जुन निरौलाको कथायात्राको आरम्भ शिलाङको सेन्ट एडमन्ड कलेजको मुखपत्रमा १९६४ मा प्रकाशित ‘कामिनी म यति नै चाहन्छु’ शीर्षक कथाका माध्यमबाट भएको हो । यिनका एउटा रात बितेपछि (१९७२) तथा सा“झस“गस“गै (१९७९) जस्ता कथा सङ्ग्रह प्रकाशित छन् । यिनी मूलतः सामाजिक यथार्थवादी र अंशतः मनोवैज्ञानिक एवं अस्तित्ववादी कथाकार हुन् । यिनका कथामा समाजमा घटित हुने विविध घटनावलीका साथै मान्छेले जीवनमा भोग्नुपर्ने सुखदुख, हर्ष, पीडालगायत जीवनका विभिन्न समस्याहरूलाई कथाको विषयवस्तु बनाएको छ । युगीन जीवनका जटिलता र विसङ्गतिलाई यिनले यथार्थमूलक ढङ्गबाट प्रस्तुत गरेका छन् । लोग्नेबाट बिछोडिएकी स्वास्नीले भोग्नुपर्ने अनेक समस्यालाई पनि यिनले कथाको विषयवस्तु बनाएका छन् । यिनका कतिपय कथामा सामाजिक विसङ्गतिप्रति व्यङ्ग्य प्रहार गरिएको छ । सामाजिक विषयवस्तुलाई मनोविज्ञानस“ग जोडेर युवा मानसिकता, प्रेम, प्रणय र यौनजन्य सन्दर्भको प्रस्तुति यिनका कथामा पाइन्छ । मनपरेकी युवतीलाई फकाउने तरिका तथा बुढो लोग्नेबाट असन्तुष्ट युवतीको युवकप्रतिको आकर्षण र उसका मानसिक द्वन्द्वको चित्रण यिनले सहज ढङ्गमा गरेका छन् । यिनले सामाजिक यथार्थवादी कथामा आर्थिक सङ्कटले पिरोलिएका निम्नवर्गीय परिवारको यथार्थलाई तथा मनोवैज्ञानिक यथार्थवादी कथामा युवायुवतीबीचको आकर्षण, बुढो लोग्नेको सट्टा युवको लोग्नेको चाहनाजस्ता पक्षलाई त्यस्तै खालका पात्रको सिर्जना गरी विश्वसनीय पाराले प्रस्तुत गरेका छन् । विभिन्न उमेर समूहका वर्गीय पात्रको प्रयोग गरी भारतीय नेपाली समाजलाई परिवेशका रूपमा लिएर कारुणिक ढङ्गमा कथा सिर्जना गर्न यिनी सिपालु छन् । यिनका कतिपय कथामा जीवनका निस्सारता र निरर्थकताबाट उत्पन्न नैराश्यको चित्रण पनि पाइने हु“दा यस सन्दर्भबाट यिनलाई अस्तित्ववादी–विसङ्गतिवादी कथाकारका कित्तामा पनि राख्न सकिन्छ । पात्रहरूको कारुणिक जीवन भोगाइका माध्यमबाट सहज पठनीय र प्रभावकारी कथाको सिर्जना गर्नु यिनको वैशिष्ट्य हो ।
अर्जुन निरौलाका कथामा प्रयुक्त भाषा अत्यन्त सरल, सहज, सुकोमल र पात्रको स्तरअनुरूपको रहेको देखिन्छ । परिष्कृत, परिमार्जित एवं काव्यात्मक भाषाको समेत प्रयोग पाइने यिनका कथाको शैली वर्णनात्मकका साथै पूर्वदीप्तिमूलक पनि छ । यिनका कथामा असमिया, हिन्दी, अङ्ग्रेजी आदि भाषाका साथै स्थानीय भाषाका शब्दहरूको प्रयोग पाइए पनि तिनले कथालाई जटिल नबनाई विश्वसनीय एवं प्रभावकारी बनाएका छन् । छोटाछरिता वाक्य र उखानटुक्काको प्रयोगले यिनको भाषालाई थप प्रभावकारी र आकर्षक तुल्याएको छ । प्रायः तृतीय पुरुष दृष्टिबिन्दुमा रचिएका यिनका कथामा विभिन्न विचारको प्रस्तुुति पनि पाइन्छ । समग्रमा सामाजिक र मनोवैज्ञानिक यथार्थवादी कथाकार अर्जुन निरौलाको स्थान असमेली नेपाली कथाकारमा उल्लेख्य कथाकारका रूपमा सुरक्षित रहेको छ ।
माया ठवmुरी (वि.सं. २००४, लखनउ)
लखनउमा जन्म भए पनि माया ठकुरीको शिक्षादीक्षा असमको पहिलेको राजधानीे सिलाङमा भएको हो । यिनका कथा वि.सं. २०२६ तिरदेखि प्रकाशित हुन थालेका हुन् । यिनका नजुरेको जोडी (वि.सं. २०३०), गमलाको पूmल (वि.सं. २०३३), सा“घु तरेपछि (वि.सं. २०३९), चौतारो साक्षी छ (वि.सं. २०४६), माया ठवmुरीका कथाहरू (वि.सं. २०४८), आमा ¤ जानुहोस् (वि.सं. २०६४) जस्ता कथा सङ्ग्रह प्रकाशित छन् । सिलाङमा रह“दै कथायात्रा प्रारम्भ गरी प्रसिद्धि कमाइसकेकी ठकुरी हाल नेपालमै रही सक्रिय ढङ्गले कथा सिर्जना गरिरहेकी छन् । समाजमा व्याप्त रोग, भोक, गरिबी, अन्धविश्वास, शोषण, प्रणय जस्ता विविध व्यक्तिगत, पारिवारिक र सामाजिक पक्षहरूको यथार्थमूलक प्रस्तुति पाइने यिनका अगिल्ला समयका कथामा नारीका विभिन्न समस्याहरूलाई विशेष स्थान दिएको पाइन्छ । विभिन्न उमेर, अवस्था र वर्गका नारीहरूले भोग्नुपरेका दुरवस्था, अन्याय, अत्याचार, दुराचार, पीडा, अभाव, असन्तुष्टि, विवशता, वmुण्ठा, निराशा, तनाउ, विसङ्गति आदि अनेक पक्षहरूको चित्रण यिनका कथामा गरिएको छ । यिनले यस्ता शोषण विरुद्ध आवाज उठाउनाको सट्टा नारीको दुख सहनसक्ने क्षमतालाई प्रस्तुत गरेकी छन् । मूलतः नारीसुलभ सरल, कोमल, करुण एवं भावुक पक्षहरूको प्रस्तुति पाइने यिनका केही कथामा युगीन परिस्थितिअनुसार नारीहरू आÇनो अस्मिताप्रति केही मात्रामा सचेत भए पनि अधिकांशतः सहनशील प्रवृत्तितर्फ बढी झुकाव रहेको देखिन्छ भने कतिपय कथाहरू त पलायनतर्फ समेत उन्मुख भएका छन् । यिनका कथामा नारीप्रति घृणा र अपमान नभएर सम्मान र श्रद्धा प्रकट गर्नुपर्ने दृष्टिकोण अगि सारिएको छ । यिनका पछिल्ला समयका केही कथामा चाहि“ नारीको सहनशीलभन्दा विद्रोही रूपलाई प्रस्तुत गरिएको छ । यिनका केही कथाहरूमा आÇनो जन्मभूमि, संस्कार आदिप्रति सम्मानभाव प्रकट गर्नुपर्ने धारणा अभिव्यक्त भएको छ । यिनले कतिपय कथामा जीवनसम्बन्धी आत्मधारणाको प्रत्यक्ष अभिव्यक्ति गर्नाका साथै विचार वाक्यको पनि प्रयोग गरेकी छन् । यिनका कथामा सामाजिक यथार्थका अतिरिक्त मानवीय प्रेमप्रणयलाई पनि स्थान दिइएको छ । हार्दिक पक्षको प्रबलता पाइने यिनका कतिपय कथाहरूमा रहस्यको सिर्जना गरिनाका साथै प्रवृmतिका सुन्दर र कोमल पक्षको चित्रण पाइन्छ । यस आधारमा यिनलाई स्वच्छन्दतावादी कथाकार पनि मान्न सकिन्छ ।
माया ठवmुरीका कथामा विविध प्रकारका द्वन्द्वको आयोजन प्रत्यक्ष रूपमा नभएर सङ्केतात्मक र कलात्मक रूपमा गरिएको देखिन्छ । नारी र पुरुषका बीच, पुरानो पुस्ता र नया“ पुस्ताका बीच, ग्रामीण र सहरी जीवनशैलीका बीच, प्राचीन र नवीन मूल्य र मान्यताका बीच, व्यक्ति र परिस्थितिका बीच जस्ता विविध सन्दर्भ र प्रसङ्गहरूमा द्वन्द्व पाइने यिनका कथाहरूमा द्वन्द्वको चर्को रूपलाई प्रस्तुत नगरेर सङ्केत मात्र गरिएको छ । शिक्षित, अशिक्षित, स्थिर, गतिशील, व्यक्ति, वर्गीय जस्ता विविध प्रकारका पात्रको प्रतिनिधित्व पाइने यिनका कथाहरूमा सत्भन्दा असत् पात्रको बाहुल्य रहेको छ । यिनका सुरुसुरुका कथामा मुख्य रूपमा बृहत्तर असमको नेपाली समाज र पछिका कथाहरूमा नेपालभित्रकै नेपाली समाजको मध्यमवर्गीय सहरिया परिवेशको चित्रण पाइन्छ भने केही कथा ग्रामीण परिवेशमा पनि लेखिएका छन् । यिनले पूर्वदृश्यको प्रयोग गर्नाका साथै कथामा रहस्यको सिर्जना गरेर कथालाई वmुतूहलमय बनाएकी छन् । समाजमा घट्न सक्ने विविध प्रकारका घटना र नारीका विविध समस्यालाई विषयवस्तुको रूपमा ग्रहण गरी स्वच्छन्दतावादी र यथार्थवादी ढङ्गले सहज पठनीय कथाहरूको सिर्जना गर्नु कथाकार माया ठवmुरीको कथात्मक वैशिष्ट्य हो ।
खड्गबहादुर कौशिक (१९५९, शोणितपुर)
१९८० को खुकुरी पत्रिकामा प्रकाशित ‘यात्रा’ शीर्षक कथाका माध्यमबाट नेपाली कथाका क्षेत्रमा प्रवेश गरेका खड्गबहादुर कौशिक (बुढाथोकी) को रिमालनी घाट (२००२) शीर्षक कथा सङ्ग्रह प्रकाशित छ । प्रायः परम्परित ढा“चामा कथा सिर्जना गर्ने खड्गबहादुर कौशिकका कथाको मुख्य विषयवस्तु असम क्षेत्रमा बसोबास गर्ने ग्रामीण नेपाली जनजीवनको चित्रण रहेको छ । ब्र≈मपुत्रको आसपास बसोबास गर्ने नेपाली जातिका दैनन्दिन समस्या, पीडा, सकस, आर्तनाद, गरिबी, अशिक्षा आदिलाई यिनले आना कथामा विशेष महŒवका साथ प्रस्तुत गरेका छन् । ब्र≈मपुत्रको छेउछाउमा अधिकांशतः नेपालीहरूको बसोबास रहेको र तिनीहरू बाढीबाट हुने कटान वा प्राकृतिक प्रकोपबाट आक्रान्त रहेको र त्यसबाट उत्पन्न समस्याहरूलाई अत्यन्त मार्मिक रूपमा यिनले चित्रण गरेका छन् । एकातिर बाढीजस्तो प्राकृतिक प्रकोपबाट आइपर्ने समस्या वा धनजनको क्षति र अर्कातिर बाढी आएका बखत सरकारी व्यवस्थापनले खानसम्म पाइने भन्ने सोचाइजस्तो चरम गरिबीको मार्मिक चित्रण यिनका कथामा पाइन्छ । यिनले निम्नवर्गीय ग्रामीण जनजीवनका साथै श्रमिक, गोठाला, खेताला आदि सहभागीहरूका माध्यमबाट कथ्यलाई प्रस्तुत गरेका छन् । यिनका कथामा आर्थिक, सामाजिक, राजनैतिक क्षेत्रमा व्याप्त विभिन्न समस्याहरूको सूक्ष्म र गम्भीर चित्रण गरिएको छ । भौगोलिकताको सूक्ष्म चित्रणसमेत पाइने यिनका कथामा आञ्चलिकताको स्पष्ट झझल्को पाइन्छ । यसरी हेर्दा यिनी असमेली नेपाली ग्रामीण जनजीवनको मार्मिक र हृदयविदारक चित्रण गर्ने कथाकारका रूपमा देखापर्छन् । यिनका कथामा प्रयुक्त सहभागीहरू लुरिकान्ते र का“तर नभई प्रतिकूल परिस्थितिको समेत सामना गर्न सक्ने जुझारु, सङ्घर्षशील र कर्मठ छन् ।
खड्गबहादुर कौशिकका कथामा सरल नेपाली भाषाको प्रयोग पाइन्छ । असमिया भाषाबाट प्रभावित नेपाली भाषीहरूले बोल्ने नेपाली भाषालाई यिनले स्वाभाविक रूपमा प्रस्तुत गरेका छन् । यसप्रकारको प्रयोग शब्द, पदावली, क्रिया आदिका तहमा मात्र नभई वाक्यका तहमा पनि रहेको छ । यसरी असमकै सेरोफेरो र त्यसमा पनि ब्र≈मपुत्रको छेउछाउ बसोबास गर्ने नेपालीहरूका पीडालाई असमेली ढा“चाको नेपाली भाषामा चित्रण गर्ने कथाकार कौशिक मूलतः आञ्चलिक कथाकार हुन् ।
डम्बर दाहाल (१९५८, दार्जिलिङ)
दार्जिलिङमा जन्मिए पनि डम्बर दाहालको कर्मथलो असमको कार्बिआङलङ हो । यिनी १९८० को बिन्दु पत्रिकामा प्रकाशित ‘यसरी दुखीको दिन गुज्रन्छ’ शीर्षक कथाका माध्यमबाट नेपाली कथाका क्षेत्रमा प्रवेश गरेका हुन् । नेपाली र असमिया दुवै भाषामा समान रूपले कलम चलाउने दाहालका आविष्कार (१९८६) एवं यात्राक्रममा (२००८) शीर्षक कथाकृति प्रकाशित छन् । कथ्य र शिल्प दुवैमा केही नवीनताका साथ कथात्मक ढा“चा तयार गर्न रुचि राख्ने डम्बर दाहालका कथामा कतै यथार्थ, कतै भावुकता, कतै कल्पना र कतै यी सबैको सम्मिश्रण पाइन्छ । लघु आयामका साथै केही लामा आयामका समेत कथा सिर्जना गर्ने दाहालका कतिपय कथामा वर्णनको आधिक्य पाइन्छ । सामाजिक अन्धविश्वासको विरोध, जातीय चेतनाको अभिवृद्धि र स्वस्थ एवं सभ्य समाजको परिकल्पना यिनका कथामा अभिव्यञ्जित भएको देखिन्छ । असम क्षेत्रमा बसोबास गर्ने नेपालीहरूको जीवन सङ्घर्ष र जीवन भोगाइका पीडालाई यथार्थमूलक ढङ्गमा मार्मिक रूपले प्रस्तुत गरिएका यिनका कथामा जीवन भोगाइ र ब“चाइका अनेक कारुणिक सन्दर्भहरूलाई जीवन्त ढङ्गमा चित्रण गरिएको छ । यथार्थ सामाजिक घटना र पात्रलाई काल्पनिकताको रङ्गमा रङ्गाएर यथार्थ र कल्पनाको दोसा“धबाट प्रस्तुत गर्ने कला यिनमा पाइन्छ । वर्गीय समाजमा हुनेखाने वर्ग र हु“दाखाने वर्गका बीचको खाडललाई सहज ढङ्गमा प्रस्तुत गर्ने दाहालका कथामा ठाउ“ठाउ“ प्रगतिशील चिन्तनको समेत अभिव्यञ्जना भएको देखिन्छ । अरू बेला त के कुरा विशेष चाडपर्वमा समेत खान नपाई जीवन गुजार्नु पर्ने गरिबहरूको दयनीय अवस्थालाई यिनले अत्यन्त मार्मिक रूपमा प्रस्तुत गरेका छन् । यिनका कतिपय कथामा यात्रावृत्तान्तको झझल्को पनि पाइन्छ । सरल भाषा र छोटाछोटा वाक्यमा गहन भावलाई प्रभावकारी ढङ्गबाट प्रस्तुत गर्नु यिनको कथाशिल्पगत खास वैशिष्ट्य र पहिचान हो ।
खडकराज गिरी (१९५८, तिनसुकिया)
खडकराज गिरीको कथा यात्राको सुरुआत १९८४ को साहित्य प्रवाहमा प्रकाशित ‘कटुसत्य’ शीर्षक कथाका माध्यमबाट भएको हो । यिनका रूप–प्रतिरूप (१९८७), अभाव (१९९२), कथादेखि पर (१९९८), शून्य विकल्प (२००६) जस्ता कथा सङ्ग्रह प्रकाशित छन् । प्रयोगशील ढङ्गबाट प्रायः छोटा आयामका कथा लेख्ने खडकराज गिरीका कथामा युगीन जनजीवनका विविध सन्दर्भहरूलाई विविधताका साथ कथात्मक ढा“चामा आबद्ध गरिएको छ । यिनले दिनानुदिन गिर्र्दै गएको मानवीय अस्तित्वको चित्रणका साथै मानवीय मूल्य विघटनबाट उत्पन्न पीडा, घृणा, आक्रोश आदिलाई पनि प्रस्तुत गरेका छन् । वर्तमान युगीन मानव जीवनका जटिलतालाई सूक्ष्म ढङ्गबाट नियालिएका यिनका कथामा मानवले भोगेका सुख–दुख, आ“सु–हा“सो, हर्ष–विस्मात, जय–पराजय आदिलाई स्वाभाविक ढङ्गमा प्रस्तुत गरिएको छ । यिनका कथाको मुख्य विषयवस्तु वर्तमान युग र यसै युगले उत्पन्न गरेका अनेक समस्याहरूको प्रस्तुति रहेको देखिन्छ । युगीन विसङ्गति र विकृतिप्रति व्यङ्ग्य प्रहार गरिएका यिनका कथामा वर्तमानका सङ्कटापन्न मानवजीवनको अस्तित्वको जगेर्नासम्बन्धी अभिव्यक्ति पाइन्छ । वर्तमान जीवनमा व्याप्त अन्याय, अत्याचार, दुराचार, भ्रष्टाचार, अनाचार, व्यभिचार, शोषण, दमन, उत्पीडन, षड्यन्त्र, जालझेल आदिको चित्रणकै वृत्तमा यिनका कथाहरू घुमेका देखिन्छन् ।
युगीन राजनीतिका क्षेत्रमा देखिएका विकृति र विसङ्गतिका साथै राजनैतिक अराजकता र त्यसबाट उत्पन्न अशान्त परिस्थितिलाई चित्रण गरिएका खडकराज गिरीका कथामा शान्तिप्रतिको आग्रह विशेष ढङ्गमा मुखरित गरिएको छ । कथालाई नवीन ढङ्गमा प्रस्तुत गर्न रुचि राख्ने यिनका कथाको केन्द्रीय विषयवस्तु वर्तमान युगीन मानवजाति र मानवीय प्रवृत्ति रहेको छ । थोरै पात्रका माध्यमबाट कथ्यलाई प्रस्तुत गर्ने कौशल यिनमा रहेको देखिन्छ । मान्छेले जिउनका लागि निरन्तर सङ्घर्ष गरिरहनु पर्ने बाध्यात्मक परिस्थिति रहेको र सङ्घर्षको विकल्प शून्यता मात्र भएको अभिव्यञ्जना यिनका कथामा पाइन्छ । नारीहरूका पीडाहरूलाई पनि यिनले मार्मिक ढङ्गमा प्रस्तुत गरेका छन् । मानवीय संवेदनशीलता र पुस्तान्तरबाट उत्पन्न समस्याको अभिव्यक्ति गरिएका यिनका कतिपय कथामा अमूर्ततावादी र शून्यवादी दर्शनको प्रभाव पनि पाइन्छ । समसामयिक युगीन सन्दर्भबाट मानवीय र जातीय अस्तित्वका विविध पाटाहरू खोतल्ने प्रयत्न गरिएका यिनका कथाको परिवेश पनि वर्तमानकालीन नै रहेको छ । प्रथम र तृतीय पुरुष दुवै दृष्टिबिन्दुको प्रयोग गरी सीमित परिवेशलाई लिएर लेखिएका यिनका कथाको भाषाशैलीय विन्यास मानक र मितव्ययी प्रकारको छ । सम्रगतः यिनी समसामयिक पुस्ताका प्रयोगशील असमेली नेपाली कथाकार हुन् । यिनी असमेली नेपाली कथाको समसामयिक कित्ताका उल्लेख्य कथाकारका रूपमा देखापर्छन् ।
नयादेवी (१९४२, बिहाली)
सन् १९९४ को हाम्रो ध्वनिमा प्रकाशित ‘हरिहरको व्यथा’ शीर्षक कथाको प्रकाशनपश्चात् नयादेवीको कथायात्रा आरम्भ भएको हो । यिनको कथामञ्जरी (सन् २०११) नामक कथा सङ्ग्रह प्रकाशित छ । यिनका कथामा असमेली नेपाली समाजमा देखापर्ने आर्थिक, सामाजिक आदि विविध पक्षस“ग गा“सिएका विविध प्रकारका नारी समस्याको प्रस्तुति पाइन्छ । विधवाले भोग्नुपरेका पीडाको प्रस्तुति पाइने यिनका कथामा विधवाले पुनर्विवाह गर्न पाउनु पर्छ भन्ने भाव अभिव्यञ्जित छ । घरभित्र र बाहिरको दोहोरो जिम्मेवारीका कारण पीडित युगीन नारीका पीडाको अभिव्यक्ति पाइने यिनका कथामा लोग्नेबाट पीडित नारीका पीडा पनि चित्रित छन् । यिनले आÇना गौरवमय संस्कृतिलाई बेवास्ता गरी आयातीत संस्कृतिमा रमाउन खोज्ने वर्तमान पुस्ताप्रति व्यङ्ग्य प्रहार गरकी छन् । बढ्दो विद्युतीय सञ्चारले समाजमा सकारात्मकभन्दा नकारात्मक प्रभाव पारेको भाव अभिव्यञ्जित यिनका कतिपय कथामा अहिलेको पुस्ताले सामना गर्नुपरेको पर्यावरणीय समस्यालाई गम्भीर ढङ्गमा देखाइएको छ । असमेली नेपाली सामाजिक परिवेशको चित्रण पाइने यिनका कथाको वातावरण प्रायः दुखद एवं निराशाजनक रहेको छ । असमेली नेपाली कथ्य भाषिकाको प्रभाव पाइने यिनका कथाको भाषा सरल, सुबोध र सहज पठनीय छ ।
अनामिका (१९६२, दार्जिलिङ)
दार्जिलिङमा जन्मिएकी अनामिकाको हालको बसोबास मेघालयमा रहेको छ । सन् १९९८ को सुमन पत्रिकामा प्रकाशित ‘भत्केको मान्छे’ कथा लिएर नेपाली कथामा देखापरेकी अनामिकाको कथायात्रा (सन् २००२) शीर्षक कथा सङ्ग्रह प्रकाशित छ । यिनका कथामा पाइने मूल प्रवृत्ति परालौकिक विषयको प्रस्तुति हो । भौतिक जगत्मा असम्भव लाग्ने एवं अविश्वसनीय विभिन्न प्रकारका अलौकिक घटनाहरू समाजमा यदाकदा घटिरहेका हुन्छन् र मान्छे तिनलाई विश्मयकारी भावले देखिभोगिरहेका हुन्छन् । बादलपारिबाट कसैले बोलाएजस्तो लाग्नु, पहिले नै मृत्यु भइसकेको व्यक्तिस“ग प्रत्यक्ष भेटी कुराकानी गरेको भान हुनु, स्वजनको मृत्युको पूर्वाभास दिलाउने विभिन्न गतिविधि हुनुजस्ता अविश्वसनीय एवं असम्भव अलौकिक घटना र विषयलाई यिनले कथात्मक संरचनामा आबद्ध गरेकी छन् । भूतप्रेत एवं पूर्वजन्म र पुनजन्मप्रति मानिसमा रहेका जिज्ञासाको प्रस्तुति पाइने यिनका कथामा मानिसले स्वेच्छाले आत्महत्या गर्न पाउने कि नपाउने भन्नेजस्ता सन्दर्भ पनि अभिव्यक्त छ । विविध प्रकारका अलौकिक÷परालौकि विषयका अतिरिक्त अनामिकाका कथामा सामाजिक विषयलाई पनि प्रस्तुत गरिएको छ । पुरुषको स्वेच्छाचारितालाई देखाइएका यिनका कथामा नेपाली नारीले जन्मदेखि मृत्युसम्म भोग्नुपर्ने यावत् क्रियाकलापलाई देखाउ“दै उनीहरूले भोग्नुपर्ने सामाजिक एवं मनोवैज्ञानिक उत्पीडनलाई प्रस्तुत गरिएको छ । यसका अतिरिक्त यिनले नारीका नकारात्मक पाटालाई पनि केलाएकी छन् । प्राकृतिक अपवादको रूपमा रहेको तेस्रो लिङ्गीका बा≈य क्रियाकलाप एवं ऊप्रतिको सामाजिक दृष्टिकोणको प्रस्तुति पाइने यिनका कथामा यस्ता व्यक्तिको मनोविश्लेषण पनि गरिएको छ । वर्तमानमा व्याप्त बेरोजगारी समस्यालाई यिनका कथाले अत्यन्त कारुणिक ढङ्गमा समेटेका छन् । मूलतः वर्णनात्मक शैली तथा आंशिक रूपमा पत्रात्मक एवं संवादात्मक शैलीमा संरचित यिनका कथामा दार्जिलिङ क्षेत्रमा बोलिने नेपाली भाषिकाको प्रभाव रहेको छ ।
शान्ति थापा (१९६८, गुवाहाटी)
सन् १९९९ मा प्रकाशित ‘अलमल’ शीर्षक कथाका माध्यमबाट आनो कथायात्रा आरम्भ गरेकी शान्ति थापाको आवर्तन (२००७) कथा सङ्ग्रह प्रकाशित छ । यिनका कथामा युगीन जनजीवनका विभिन्न विषयवस्तुको प्रस्तुति पाइन्छ । यिनी विभिन्न वर्ग र अवस्थाका नारीहरूले सम–विषम तथा विसङ्गत परिस्थितिमा भोग्नुपरेका मानसिक सङ्कटबाट उत्पन्न संवेदनालाई विविध सन्दर्भका माध्यमबाट विषयवस्तु बनाएर कथा सिर्जना गर्ने कथाकार हुन् । यिनले मूलतः नारीका दुर्दशा, वेदना, छटपटी, उकुसमुकुस, सन्तानप्रतिको मोह, सङ्कटमा परेको मातृत्व आदिलाई कथावस्तुको रूपमा आना कथामा समेटेकी छन् । यस दृष्टिले हेर्दा यिनका कथामा अभिव्यक्त मूल स्वर नारी संवेदना हो । सामाजिक क्षेत्रमा देखापरेका विकृति तथा विसङ्गतिलाई पनि औंल्याइएका यिनका कथामा तथाकथित इज्जतका लागि यौनदुव्र्यवहारलाई दबाउनु पर्ने बाध्यतामा परेको मातृत्वको पीडादायी अवस्थाको चित्रण पनि पाइन्छ । पुरुषले नारीप्रति गरेको शोषण देखेर विद्रोही हुनपुगेको मानसिकतालाई पनि यिनले आना कथामा स्थान दिएकी छन् । सामाजिक संस्कार, रीतिथिति पनि पैसाका आधारमा मूल्याङ्न हुने सामाजिक परिपाटीप्रति व्यङ्ग्य प्रहार गरिएका यिनका कथामा कतिपय परम्परित बिम्बका माध्यमबाट व्यक्तिको क्षणिक मनोवेगको प्रस्तुति गरिएको छ । तत्सम शब्दको अत्यधिक प्रयोग तथा प्रतीकात्मक भाषिक प्रयोगका कारण बौद्धिक हुन गई यिनका केही कथा सामान्य पाठककका लागि क्लिष्ट एवं दुरुह पनि देखिन्छन् । कतिपय ठाउ“मा क्रियापदविहीन वाक्य प्रयोगका कारण यिनको भाषामा गद्यकविताको झल्को पनि पाइन्छ ।
जीतबहादुर सुनार (१९५९, तिनसुकिया)
२००० को हाम्रो ध्वनिमा प्रकाशित ‘आनै अनुहारहरू’ शीर्षक कथाका माध्यमबाट आनो कथायात्रा आरम्भ गरेका जीतबहादुर सुनारका कस्तुरी मृग (२००५) तथा एकमुठी नींद (२०१०) नामक कथा सङ्ग्रह प्रकाशित छन् । यिनका कथामा युगीन विसङ्गति, विकृति र अस्तव्यस्तताप्रति आक्रोश र विद्रोहका स्वर प्रकटित छन् । वर्गीय विभेदको चित्रण पनि यिनका कथामा पाइन्छ । यिनी सघन द्वन्द्वको आयोजन गरी कथ्यलाई प्रस्तुत गर्ने कथाकारका रूपमा देखापर्छन् । यिनका कतिपय कथामा नारीका कारुणिक र दयनीय अवस्थाको चित्रण र त्यसप्रति सहानुभूतिको स्वर मुखरित भएको पाइन्छ । यौन र मातृत्वको विरोधाभासपूर्ण अभिव्यक्ति पनि यिनका कथामा पाइन्छ । सन्तान मोहका कारण बाध्यतापूर्वक यौनक्रिया गर्न विवश नारीका दुर्दशाको चित्रणसमेत पाइने यिनका कथामा नारीप्रतिको सामाजिक कुदृष्टिसमेत मुखरित भएको छ । यिनका कतिपय कथामा लोककथात्मक ढा“चामा संरचित छन् भने कतिपय कथामा परम्परित ढा“चाकै अनुसरण गरिएको छ । यथार्थ र कल्पनाको मिश्रित रूप पाइने यिनका कथा मूलतः सामाजिक यथार्थवादी कित्तामै दर्न सकिने खालका छन् । सरल, सहज र सुबोध भाषाशैलीमा संरचित यिनका कथामा खासै भाषिक नौल्याइ“ देखिन्न । सामाजिक विसङ्गति, वर्गीय विभेद र नारी पीडालाई सहज ढङ्गमा कथात्मक बान्कीमा उन्ने जीतबहादुर सुनार असम क्षेत्रका समसामयिक पुस्ताका उल्लेखनीय सामाजिक यथार्थवादी कथाकार हुन् ।
गीता उपाध्याय (१९३९, तेजपुर)
निकै अगिदेखि नै विविध क्रियाकलापका माध्यमबाट साहित्य सेवामा सक्रिय देखिए पनि गीता उपाध्यायले नेपाली भाषामा कथा लेख्न थालेको पछि आएर मात्र हो । सन् २००३ को हाम्रो ध्वनिमा प्रकाशित ‘जन्मदिन’ शीर्षक कथाका माध्यमबाट नेपाली कथाका क्षेत्रमा प्रवेश गरेकी गीता उपाध्यायको कथाञ्जली (२००५) नामक कथा सङ्ग्रह प्रकाशित छ । जीविकोपार्जनका क्रममा सन्तान विभिन्न ठाउ“मा जान बाध्य भएपछि बृद्ध आमाबाबुले तिनको सम्झना गर्दै एकाङ्गी जीवन बिताउनु पर्ने बाध्यात्मक परिस्थितिको चित्रण पाइने यिनका कथामा परम्परागत परिवारिक संरचना क्रमशः विघटित हु“दै गएको युगीन यथार्थलाई देखाइएको छ । वर्तमानमा विकराल रूपमा रहेको बेरोजगारी समस्या तथा यसबाट उत्पन्न हुनसक्ने हिंसा, हत्या एवं आतङ्कको स्थिति, देहव्यापार तथा चेलीबेटी बेचबिखन, विधवा समस्याजस्ता पारिवारिक तथा सामाजिक क्षेत्रमा देखापर्ने सन्दर्भहरूलाई प्रस्तुत गरिएका यिनका कथामा शिक्षितहरूले काम गर्नु हु“दैन, जागिर खानैपर्छ भन्ने परम्परागत सङ्कीर्ण सोचाइको खण्डन गर्न खोजिएको छ । ‘प्रकृतितर्पm फर्क’ भन्ने अवधारणाको प्रस्तुति पाइने यिनका कथामा प्रकृति र मानवको तादात्म्यलाई देखाइएको छ । यिनका कथामा परिआएका समस्यालाई सहज ढङ्गमा लिई जीवनप्रति सकारात्मक दृष्टिकोण राखेर अगि बढ्नु पर्ने भाव अभिव्यञ्जित छ । चरम गरिबीबाट उत्पन्न हुनसक्ने विविध प्रकारका सन्दर्भ पनि यिनका कथामा अभिव्यञ्जित छन् । यिनका कथामा पुरुषको स्वेच्छाचारी वृत्तिलाई देखाउ“दै नारी अस्मिताको खोजीका साथ नारीवादी अवधारणालाई पनि प्रस्तुत गरिएको छ । अर्काको गर्भ भाडामा लिएर आÇनो सन्तान जन्माउन लगाउने प्रक्रिया अर्थात् वर्तमानमा प्रचलित ‘सरोगेट मदर’ र सन्तान जन्माउन चाहने आमाका बीचको द्वन्द्वलाई यिनका कथामा सटीक ढङ्गले प्रस्तुत गरिएको छ । दमित यौनेच्छाको अभिव्यक्ति भएका यिनका कथामा यदाकदा मनोविज्ञानको स्पर्श पनि पाइन्छ । सरल भाषिक विन्यासमा संरचित यिनका कथामा प्रयुक्त वाक्य गठनमा असमेली नेपाली भाषिकाको प्रभाव रहेको देखिन्छ ।
गीता लिम्बू (१९६४, गोलाघाट)
गीता लिम्बूको बुढाबाको छाता (सन् २००३) शीर्षक कथा सङ्ग्रह प्रकाशित छ । सन्तानको आमाप्रति आदर र आमाको सन्तानप्रतिको ममताको प्रस्तुति पाइने यिनका कथामा पुरुषको स्वेच्छाचारिताको विरोधका साथ नेपाली जुनसुकै जाति, वर्ग, स्थानका नारीहरू शोषणको मारमा परेको भाव अभिव्यञ्जित छ । पुरुषको स्वेच्छारितालाई नियति सम्झेर बस्न बाध्य नारीका पीडाको प्रस्तुति पाइने यिनका कथामा नारीको सहनशील रूपलाई देखाइएको छ । गर्भैदेखि गरिने लैङ्गिक विभेदको विरो गरिएको यिनका कथामा नारीको सकारात्मक चरित्रलाई मात्र प्रस्तुत नगरी नकारात्मक एवं व्यभिचारिणी रूपलाई पनि देखाइएका यिनका कथामा जातीय विभेद, वर्गीय विभेद, लैङ्गिक विभेदजस्ता नकारात्मक पक्षलाई हटाई आदर्श समाजको स्थापना हुनुपर्ने भाव मुखरित छ । धार्मिक सङ्कीर्णताको जालोभित्र चेपिएर रहन बाध्य मानसिकताको प्रस्तुति पाइने यिनका कथामा जस्तोसुकै सङ्घर्ष र निराशाका क्षणमा पनि जीवनप्रति सकारात्मक एवं आशावादी दृष्टिकोण राख्नु पर्ने भाव अभिव्यञ्जित छ । युद्धको विरोध र शान्तिको चाहना मुखरित यिनका कथामा प्राकृतिक सम्पदा र प्रतिभाको दुरुपयोग नगरी सदुपयोग गर्नुपर्ने दृष्टिकोण अगि सारिएको छ । सरल कथ्य भाषामा संरचित यिनका कथामा अङ्ग्रेजी, हिन्दी आदि भाषाका शब्द एवं वाक्यको प्रयोग पाइने यिनका कथामा सामान्य भाषिक कसरमसर पनि भेटिन्छ ।
रिजु देवी (१९७८, तेजपुर)
रिजु देवीको औ“शीको चन्द्रमा (सन् २००७) नामक कथा सङ्ग्रह प्रकाशित छ । प्रायः छोटा संरचनामा आबद्ध यिनका कथामा वर्तमान मान्छेका विवशता, बाध्यता, रूढिवादी सङ्कीर्णताले ग्रस्त समाजको यथार्थ चित्रित छ । लैङ्गिक विभेदको विरोेधात्मक प्रस्तुति भएका यिनका कथामा मातृत्वको महिमागान गर्र्दै मातृत्वका विविध रूपलाई देखाइएको छ । नारीलाई वासनाको पुतली ठान्ने सङ्कीर्ण मानसिकताको विरोध गरिएका यिनका कथामा नारीको आदर्शवादी चरित्र प्रस्तुत गर्दै विविध प्रकारका नारी समस्याको समाधान आदर्शवादी एवं सुधारवादी ढङ्गले गरिनुपर्ने भाव अभिव्यञ्जित छ । मानवीय सद्भावलाई प्रस्तुत गरिएका यिनका कथामा मानव एवं श्रमको सम्मान हुनुपर्ने दृष्टिकोण अव्यिञ्जित छ । ‘कुकर्मको फल अवश्य पाइन्छ’ भन्ने नीतिवादी भाव अभिव्यक्त यिनका कतिपय कथामा एकअर्काको संवेदना र संस्कृतिलाई कदर गनुपर्ने भावको प्रकटीकरण पनि भएको छ । समाजमा व्याप्त जातीय एवं वर्गीय विभेदलाई समझदारीपूर्ण ढङ्गले अन्त्य गरिनु पर्ने भाव प्रकटित यिनका कथामा अन्धविश्वास, कुरीति, जातीय एवं वर्गीय विभेद समाजको चाहना अभिव्यञ्जित छ । असमेली नेपाली परिवेशको चित्रण पाइने यिनका कथामा प्रयुक्त भाषामा सामान्य कसरमसर रहेको देखिन्छ । प्रायः छोटा वाक्य प्रयुक्त यिनका कथामा हिन्दीका शब्दहरू यथेष्ट रूपमा प्रयुक्त छन् ।
माथि उल्लेख गरिएबाहेक असमका विभिन्न क्षेत्रमा बसोबास गर्ने अन्य थुप्रै कथाकारका कथाकृति प्रकाशित छन् । तीमध्ये केहीको उल्लेख तल गरिन्छ ः
हरिप्रसाद शर्मा खनाल प्रेममा धोका या प्रेमपत्र (१९६०)
मेरो जीवन (१९६७)
के.बी. नेपाली कल्पना (१९७०)
दिल साहनी युग पुरुष (१९७१)
खरानी गाउ“ (२०००)
विष्णु शर्मा न्यौपाने कलङ्किनी मोती (१९७२)
रहर (२००१)
गुन्यूचोली (२००४)
शान्ति सन्देश (२००७)
हरिभक्त कटुवाल स्पष्टीकरण (१९७२)
शान्ति सन्देश (२००८)
दुर्गाप्रसाद अधिकारी रातो पानी (१९७५)
मौन बसेको मेरो गाउ“ (२०००)
बुद्धिमान प्रधान अर्घेलो (१९८०)
लोकनाथ उपाध्याय साइत (सन् १९८२)
लक्ष्मण बोहोरा एक बिहान एक बेलुकी (१९८४)
शेरमान थापा इन्द्रेणी (१९८५)
लहर (१९९५)
मोतीसिंह क्षेत्री सपना (१९८९)
भोक–मृत्यु–सङ्घर्ष (१९९१)
विष्णुलाल उपाध्याय उत्सर्ग (१९९४)
मोहन सुवेदी माटो मान्छे र माया (१९९८)
लक्ष्मण बोहोरा एक विहान एक बेलुकी (१९८४)
टीकाराम उपाध्याय ‘नीर्भिक’ चम्पा (१९७३)
भ्रान्ति (१९७६)
शशि शर्मा विस्थापन (१९९४)
घातप्रतिघात (१९९६)
विक्रमवीर थापा बीसौँ शताब्दीकी मोनालिसा (१९९७)
गोपालचन्द्र कौशिक आसामे ज्वाइ“ (१९९८)
मोहन सुवेदी माटो, मान्छ र माया (१९९८)
भविलाल लामिछाने कसका लागि (२०००)
प्रदीप राई ब्यु“झाइ (२००१)
गुरुभक्त धिताल डेजी ः एउटा अधूरो सपना (२००२)
रतनकुमार पाण्डे मादी (२००२)
चन्द्रकुमार शर्मा छिमेकी (२००३)
तारानिधि उपाध्याय नीतिकथा (२००५)
राजेन्द्र ढकाल गान्धीको स्वराजमा (२००५)
राम भट्टराई हेरौँ के हुन्छ ? (२००५)
रेवतीमोहन तिम्सिना जुनकिरी (२००५)
मन्दाकिनी (२००६)
देवीचरण सेढाईं औ“सीदेखि पूर्णिमासम्म (२००६)
होमबहादुर क्षेत्री क्षितिज हराएको छैन (२००६)
युद्धान्त (२००७)
पद्मबहादुर राई सिमाना (२००७)
बोगे नेवार जीवनचक्र (२००८)
रेवतीरमण सापकोटा बोर्डर (२००८)
डिल्लीराम खनाल अभिशप्त युगको आत्मकथा (२००९)
पीताम्बर गुरुङ कुन्तला बा“च्न चाहन्छे (२००९)
देवी थापा ‘मामा’ आमा (२०११)
भीम धमला साथी (२०११)
माथि चर्चा गरिएका कथाकारहरूमा दिल साहनी र दुर्गाप्रसाद अधिकारीको बसोबास हाल नेपालमा नै भएको जानकारी पाइन्छ । यिनमा दिल साहनीका रचना वर्तमानमा पनि विभिन्न पत्रपत्रिकामा प्रकाशित भएको देखिन्छ भने दुर्गाप्रसाद अधिकारीका रचना त्यति देखिएका छैनन् । यसैगरी अविनाश श्रेष्ठको जन्म, शिक्षादीक्षा एवं कथायात्राको सुरुआत असममै भए तापनि यिनको कथा सङ्ग्रह तान्या इन्द्रकमल र अन्धकार (वि.सं. २०६३) यिनी नेपालमा स्थायी रूपले बसोबास गर्न थालेपछि मात्र भएको हो ।
३. उपसंहार
बहुभाषी तथा बहुधर्मी क्षेत्र असमका विभिन्न स्थानमा अन्य भाषी, धर्मी तथा जातिस“ग मिलेर बसोबास गरिरहेका असमेली नेपालीले बेलाबेला विभिन्न समस्यास“ग जुध्दै साहित्य सिर्जनालाई निरन्तरता दिइरहेका छन् । यस क्षेत्रमा बसोबास गर्ने कतिपय साहित्यकारको कलम नेपालीका अतिरिक्त असमिया, हिन्दी, बङ्गाली, मिजो, अङ्ग्रेजीलगायत विभिन्न स्थानीय भाषामा पनि चलेको पाइन्छ । यस क्षेत्रका प्रायः सबै नेपाली कथाकारहरूले विविध प्रकारका स्थानीय समस्यालाई प्रमुखता दिएर कथा सिर्जना गरेका छन् । यति हु“दाहु“दै पनि असमेली नेपाली कथाकारका कथाको विषय र परिवेश असमभित्र मात्र सीमित नरही असमबाहिर पनि विस्तार भएको पाइन्छ । भारत–पाक् युद्धलगायत अन्य विदेशी सन्दर्भ पनि यिनका कथामा वस्तुको रूपमा समेटिएका छन् । कतिपय असमेली नेपाली कथाकारका कथामा पितृभूमि नेपालप्रति श्रद्धा र आस्था पनि प्रकट गरिएको छ । नेपाली भाषा एवं नेपाली साहित्य र साहित्यकारप्रति अगाध श्रद्धा पाइने यिनका कथामा नेपालबाहिरका नेपालीले आदिकवि भानुभक्त आचार्यप्रति देखाउने आदर सम्मानको प्रस्तुति पनि भएको छ । पारिवारिक सम्बन्ध र तिनबाट उत्पन्न समस्या, नारीप्रति हुने गरेका सामाजिक, मानसिक र यौनगत शोषणहरूलाई देखाउ“दै नारीले पुरुषबाट भोग्नुपरेका अनेक प्रकारका भुक्तमान र पीडाहरूका साथै नारीका नकारात्मक रूपको चित्रण पनि यिनीहरूका कथामा भएको छ । नारी समानता र स्वतन्त्रताको खोजीगर्दै आपसी सहयोग, सद्भाव एवं सम्मानको वातावरण सिर्जना हुनुपर्ने युगानुकूल धारणा यिनीहरूका कथामा अभिव्यञ्जित छ । बहुभाषी तथा बहुधर्मी समाजमा बसोबास गरेका कारण यिनीहरूका कथामा विभिन्न जातजाती एवं भाषाभाषी मिलेर अगि बढ्नुपर्ने भावको प्रस्तुतिका साथै विभिन्न भाषा तथा संस्कृतिको स्पर्श पनि पाइन्छ ।
जातीय अस्तित्वका लागि सङ्घर्ष गर्दै कथा क्षेत्रमा देखा परेका असमेली नेपाली कथाकारको प्रयास र सक्रियता अत्यन्त अनुकरणीय र सराहनीय छ । असमेली नेपाली कथाकारहरूको अवस्थिति र सिर्जनधर्मितालाई हेर्दा सिङ्गो नेपाली कथाका क्षेत्रमा यिनीहरूको उपस्थिति र योगदान परिमाणात्मक र गुणात्मक दुवै दृष्टिले उल्लेख्य रहेको छ । यिनमा अधिकांशतः जीवितै भएका र सिर्जनरतसमेत रहेकाले नेपाली कथाको विकासमा यिनले थप योगदान पु¥याउने स्थिति बलियो रहेको छ ।

सन्दर्भसूची:-

थापा, शान्ति, सम्पा., असमेली नेपाली कथा यात्रा, असम ः नेपाली साहित्य परिषद्, २००८ ।
लुइटेल, लीला, नेपाली महिला कथाकार, काठमाडौ“ ः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, २०६० ।
.............., नेपाली कथा, असम ः गौहाटी विश्वविद्यालय, सन् २०१० ।
.............., ‘असमका नेपाली महिला साहित्यकार’, रचना, (वर्ष ५१ पूर्णाङ्क ११२, २०६८ वैशाख–जेठ), पृ. ९२–१०३ ।
.............., ‘भारतीय नेपाली महिला कथाकार’, गरिमा, (वर्ष २४ अङ्क ७, २०६८ असार), पृ. ३०५–३१० ।
.............., ‘असमेली नेपाली महिला साहित्यकार शान्ति थापा’, अभिव्यक्ति, (वर्ष ४२ पूर्णाङ्क १५४, २०६८ असार–साउन), पृ. ४७–५१ ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 30 चैत्र, 2069

लेखकका अन्य रचनाहरु