'मेजर अर्जुनको औंठी' कसी र बान्कीमा

- डा.रुपक श्रेष्ठ

'मेजर अर्जुनको औंठी' (२०१३) बिबिध दश कथाहरुको संग्रह हो / प्रकाशनको हिसाबले सुमल कुमार गुरुङ्गको यो दोश्रो कृति हो / 'युरोप यात्राको अनुभूति' (२०११) नियात्रा प्रकाशन मार्फत गर्विलो परिचय दिंदै लेखन यात्रामा होमिएका बेलायती-नेपाली साहित्यिक यात्री हुन् सुमल कुमार /

उनको यस'मेजर अर्जुनको औंठी'मा उनले आफ्नो जीवन कालमा भूगोलका बिभिन्न खण्डमा पुग्दा आफैले उत्खनन गरेका बिभिन्न रत्नहरु र धातुहरु खनिजको रुपमा प्रयोग गरेका छन्, जुन यसको शुद्दताको द्योतक हुन् / नेपाल, भारत, हँगकँग, बेलायत, जर्मनी, फ्रान्स, स्विजरल्याण्ड, नेदरल्याण्ड, बेल्जियम, ईटली गर्दै विभिन्न देशहरुमा पढाईको होस् वा जागिरको; भेटघाटको होस् वा यात्राको शिलशिलामा; लामो-छोटो समय बिताएर हिंडेका मात्र छैनन्, आफु जहाँ-जहाँ पुगे ति-ती ठाउँहरुमा मानबिय समबेदना, बिचार, संस्कार, रितिरिवाज, प्रेम, कर्तब्य जस्ता मानबिय मूल्य र मान्यताहरु कसरि परिभाषित भईरहेछन् भन्ने कुरामा सँधै नै सचेत रहि हरेक प्रसंगको सुक्ष्म अध्ययन गर्दै हरेक प्रेरक प्रसंगलाई कहिले नियात्रामा त कहिले कथामा, कहिले कवितामा त कहिले गीतमा उतार्छन र यस कथा संग्रह त्यसैको प्रतिफल हो /

पर्बत जिल्लाको चित्रेमा जन्मिएर सौन्दर्यकी खानी पोखरा हुँदै आसामको सुरम्य प्रकृतिसंगै खेल्दै, हुर्कंदै, सिक्दै गरेका कथाकार सुमल कुमारका कथाहरु साँच्चैनै प्रकृतिजस्तै सौम्य र सुन्दर छन् / प्रेम, संस्कार, बलिदान, मातृत्व, सामाजिक प्रतिष्ठा, युद्द, जागिर, मानबिय आधारभूत आबस्यकता, राज्यको दायित्व जस्ता बिषयबस्तु बोकेका यी दश कथाहरु कथाकारले टेकेका बिभिन्न देशहरुको पृष्ठभूमिबाट उठेका छन् / तसर्थ प्रस्तुत संग्रह बेलायतबाट प्रकाशित भएतापनि कथाहरु केवल बेलायती-नेपाली डायस्पोरिक नभई यसले नेपाल लगायत, भारत, हंगकंग आदि देशहरुको फराकिलो भूभाग ओगट्न पुग्दछ / यसैले यो संग्रह कुनै एक देशको एकजना कथाकारको जस्तो नलागी अन्तरराष्ट्रिय कथा संग्रह पढिरहेको अनुभूति हुन्छ; जुन यसको बिशिष्टता हो भने यहि नै यसको बान्की पनि हो /

यी दश कथाहरुमा हामीले बाँचिरहेको संसारको यथार्थताको बिभिन्न पाटोहरुलाई फरक-फरक आँखीझ्यालबाट चियाउन पाईन्छ / सिद्धान्त र वादहरुको घेराबाट पृथक रहँदै कथाकारले पात्रहरूप्रति न्याय गर्न सचेत रहन भन्दापनि समाजमा भईरहेका घटनाहरुलाई प्रतिनिधित्व गर्ने घटनाहरु जसका तस भित्र्याएका भेटिन्छन / कथाका पात्रहरु निर्माण गरिएका होईनन्, बरु समाजबाटै चयन गरिएका हुन् भन्ने बोध हुन आउँछ भने कथाहरु पनि समाजमा भए घटेका घटनाहरुबाटै लिईएका हुन्, भन्ने लाग्दछ जुन कथाकारको सबल पक्ष हो /

यदाकदा प्रकृति र प्रेमको बर्णनमा कथाकार केहि बढी नै रुमानी भएका पाईएता पनि बिषयबस्तु र सन्दर्भले गर्दा पाच्य नै लाग्छन / समग्रमा, सरल, सरस र स्वाभिमानी व्यक्तित्वका धनि सुमल कुमारका कथाहरु पनि सरस र सुबोध्य नै छन् /

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 9 चैत्र, 2069

लेखकका अन्य रचनाहरु