वरिष्ठ प्रगतिवादी साहित्यकार मोदनाथ प्रश्रितसँग भलाकुसारी

- होमशंकर बास्तोला

(वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितको जन्म वि.सं. १९९९ साल असार ६ गते अर्घाखा“ची जिल्लाको खिदिम हर्राबोटमा भएको हो । उहाँ बहुआयामिक व्यत्तित्व हुनुका साथै प्रगतिवादी साहित्यकार हुनुहुन्छ । उहाँका साहित्य, संस्कृति, विज्ञान, आयुर्वेद आदि गरेर ५४ वटाभन्दा बढी पुस्तकहरू प्रकाशित भइसकेका छन् । उहाँले प्रजातन्त्रको पक्षमा लड्दा पञ्चायतकालमा जेल जीवनसमेत बिताउनुभएको थियो । त्यही राजनीतिका कारण उहाँ २०५१ सालमा शिक्षा मन्त्री हुनुभयो । उहाँले मानव महाकाव्यका लागि वि.सं. २०२३ सालमा मदन पुरस्कार पाउनुका साथै हालसम्म थुप्रै पुरस्कार र सम्मानबाट सम्मानित भइसक्नुभएको छ ।)

१.तपाईंले विभिन्न विधाका ५४ वटा पुस्तकहरू लेखिसक्नुभयो । यति धेरै लेखन कार्य कसरी गर्न सक्नुभयो ?
– मेरो जीवनको रुचि र प्रवृत्ति नै साहित्यिक क्षेत्रतिर भयो । त्यसैले अधिकांश समय त्यसै निम्ति अर्पण गरेँ । म राजनीतिमा नलागेको भए साहित्यिक क्षेत्रमा अझ धेरै योगदान गर्न सक्थेँजस्तो लाग्छ ।

२.तपाईंको साहित्यले नेपाली राजनीतिको परिवर्तनको कामसमेत ग¥यो । यस सम्बन्धमा केही बताइदिनोस् न ?
– म उद्देश्यमूलक ढङ्गले साहित्य वा अन्य विविध विषयमा कलम चलाउने लेखक हुँ । राष्ट्र सामन्ती युगको पीडाबाट उम्कन चाहन्थ्यो । त्यसै उद्देश्यमा केन्द्रित भएर नै मैले अधिकांश कृति रचेँ । त्यसबाट राजनीति परिवर्तनमा केही सहयोग पुग्यो भन्ने लाग्छ । महिला, दलित, सुकुम्बासी, श्रमजिवीहरूको जागरणमा पनि सहयोग पुग्यो होला ।

३.तपाईंले प्रजातन्त्रको निम्ति लड्दा जेलजीवन भोग्नुभयो । पञ्चायतकालमा पाएको दुःख र सजायको बारेमा के भन्नुहुन्छ, अहिलेको राजनीति के भइरहेछ ?
– देशका हजारौँ युवाहरू लोकतन्त्र र समाजवादी ध्ययले संघर्षमा लागे । धेरै शहीद भए । निरङ्कुश व्यवस्था विरुद्ध संघर्ष गर्दा जेल पर्नु स्वाभाविक र सामान्य कुरा हो । त्यसबारे मेरो कुनै गुनासो छैन र दुःखको अनुभव पनि गरेको छैन । अहिलेको राजनीति कुहिरोमा हराएको कागजस्ता नेताहरूको कोलाहलमा परिणत भएको छ । नेताहरू दिशाविहीन गति र लक्ष्यविहीन प्रहारको स्थितिमा रहेकाले देश र जनता ठूलो कष्ट भोग्न बाध्य भएका छन् । देशको विखण्डन र सार्वभौमसत्ताको संकट अहिले भइरहेको छ ।

४.नबोके पनि खुकुरी, खु“डा, बन्दुक, तरवार
कलमबाटै भत्काइदिन्छु अन्यायी संसार
यसखाले तपाईंको साहित्यले पञ्चायती व्यवस्था ढाल्न ठूलै काम ग¥यो भनिन्छ । साहित्यमा त्यति धेरै तागत हु“दोरहेछ ?
– जनमुखि साहित्यमा जनतालाई देशभक्तिको निम्ति र विकास निर्माण निम्ति भावनात्मक रुपले प्रेरित गर्ने र वैचारिकरुपले जीवनमा सँधैभरि सकारात्मकरुपले अघि बढ्न उत्साहित गर्ने सामथ्र्य हुन्छ । मेरा रचनाले पनि निरङ्कुश पञ्चायती व्यवस्था भत्काएर लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न जनतालाई केही मात्रामा अवस्य पनि पे्ररित गरेको हुनुपर्छ । समीक्षकहरूले पनि त्यस्तै विचार व्यक्त गरेका छन् ।

५.वर्तमान नेपाली साहित्य कस्तो छ र कस्तो हुनुपर्दछ ?
– थरीथरी विचारका सयौँ या हजारौँ साहित्यकारहरूले आआफ्नो भावना र विचार अनुसार साहित्य सृजना गरिरहेकाले साहित्य यस्तै छ भनी किटान गर्न सकिदैन । धेरै साहित्यकार साहित्यलाई समाजको अग्रगतिको उत्प्रेरक र नयाँनयाँ विचार र सभावनाको सम्वाहक हुनुपर्छ भन्ने स्पष्ट विचार राख्दछन् । म पनि त्यसै धारणाको लेखक हुँ । तर नेपाली साहित्यकारहरू साहित्यलाई मनोरञ्जन प्रदान हुनुपर्ने विचार राख्दछन् र प्रगतिवादी साहित्यको कटु आलोचना पनि गर्छन् । इतिहास हेर्दा समाजलाई अग्रगति दिन प्रेरित गर्ने साहित्य नै बढी लोकप्रिय भएको देखिन्छ । त्यसपछिको प्रभाव देखिन्छ मनोबैज्ञानिक साहित्यको ।

६.नेपाली लेखक र पाठकप्रति तपाईंको प्रतिकृया के छ ?
– जुन लेखनले आआफ्नो समयमा जनतालाई भाषिक, सामाजिक, सांकृतिक, राजनीतिक र मनोबैज्ञानिक आदि रुपमा जागरुक पार्न र प्रेरित गर्न आफ्नो प्रतिभा अर्पने त्यस्ता लेखक र पाठकलाई म हार्दिक सम्मान व्यक्त गर्दछु । प्रतिगामी, यथास्थितिवादी, पूर्वजुनी र परलोका काल्पनिक कुरा प्रचार गर्न समय खर्चनेहरूप्रति मेरो कलम बक्रदृष्टि राख्दछ ।

७.विदेशी र नेपाली साहित्यबीच कस्तो फरक पाउनुभएको छ र विदेशी साहित्यको दा“जोमा पुग्न के गर्नुपर्ला ?
– नेपाल भर्खर कृषि युगबाट औद्योगिक युगतिर अग्रसर हुँदैछ । विदेशका कतिपय मुलुक हाम्रोजस्तो स्थितिमा छन् भने केही मुलुक विकास र विज्ञानको चरम शिखरमा पुगेका छन् । समाजको त्यो भिन्न स्थितिको प्रतिबिम्व ती देशका साहित्यकारहरूको सिर्जनामा परेको हुन्छ । साहित्यलाई कलात्मक, भावनात्मक र बैचारिकदृष्टिले तुलना गर्दा हाम्रो देशका आआफ्नो समयका साहित्यकार भानुभक्त, मोतीराम लेखनाथ, लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण, बालकृष्ण सम, ह्दयचन्द्र, भवानी भिक्षु, युद्धप्रसाद मिश्र, गोपालप्रसाद रिमाल, गोकुल जोशी, भूपि शेरचन, अलि मिया, पारिजात आदिका सिर्जनाले समाजका अविस्मरणीयरुपमा ठूलो प्रभाव पारेका छन् । यी सबै हाम्रो देशको सामन्तवादी युगका लेखक हुन् । तर यिनीहरूले आफ्नो समयमा समाजलाई अग्रगति दिने भूमिका खेलेका छन् । विकसित देशका लेखकहरूले आआफ्नो देशको परिस्थिति, समय, विज्ञान, प्रविधि र समाजको चेतना अनुरुपको साहित्य सिर्जेका छन् र सिर्जदै छन् । यी कुराको सापेक्षतामा हामीले देश र विदेशमा साहित्यको कमजोर, समकक्षता या विशेषताको तुलना गर्नेपर्छ ।

८.तपाईं आयुर्वेदको उपचार पद्धतिमा जनातलाई के सल्लाह दिन सक्ुहुन्छ । ?
– आयुर्वेद आफ्नो समयको अत्यन्त विकसित चिकित्सा पद्धति थियो । त्यसले अहिले पनि अधिकांश रोगमा सफलताको जस पाइरहेको छ । तर आधुनिक चिकित्सा पद्धति विभिन्न विज्ञानको समकक्ष हुँदै अघि बढिरहेको छ । विशेष गरी शल्यकृयाको आधुनिक विधिमा यो धेरै अघि बढिसकेको छ । त्यसैले रोगको प्रकृति अनुसार आयुर्वेद सफल भएका रोगहरूमा त्यतै जानु उचित हुन्छ । आधुनिक जटिल शल्यचिकित्सामा आयुर्वेदको भूमिका कमजोर छ ।

९.तपाईंले लामो समयसम्म राजनीति पनि गर्नुभयो । राजनीति र साहित्यबीच कस्तो सम्बन्ध देख्नुहुन्छ ?
– राजनीति समाजको प्रत्यक्ष व्यवस्थापनको क्षेत्र हो भने साहित्य मानसिक जगतको सिर्जनात्मक क्षेत्र हो । यी दुई एकअर्काका प्रेरक र पूरक पनि हुन् । यिनमा उत्कृष्ट र अपकृष्टको तुलना गर्न मिल्दैन । दुबै क्षेत्रमा उत्कृष्ट प्रतिभा सम्मानित हुन्छन् । निकृष्ट राजनीति र साहित्य दुबै समाजको अपकर्षणका कारक बन्छन् ।

१०.सिर्जनाशक्ति कसरी प्राप्त हुन्छ ?

– समाज र प्रकृतिको गहन अध्ययन र त्यसको निरन्तर तुलनात्मक चिन्तनले मानिसलाई सिर्जनातिर प्रेरित र प्रोत्साहित गर्छ ।

११.नेपालमा लेखकहरूको बृद्धि दु्रत गतिमा छ । उनीहरूलाई तपाईंको केही सुझाव छ ?

– आफ्नो अध्ययन, चिन्तन र सिर्जनालाई मानवीय संवेदना, मन, विवेक र समाजको अग्रगति निम्ति अधिकतम प्रयोग गर्न सामथ्र्य हुनुहोस् । ज्यादै सतही वियषमा समय नखर्चनु राम्रो हो ।

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 7 पौष, 2069

लेखकका अन्य रचनाहरु