साहित्यकार भूपेन्द्र अधिकारीसँग कुराकानी

- ॠतु आसीक

बुवा प्रेम अधिकारी तथा आमा वुद्धिमाया अधिकारीको कोखबाट २००३ साल भाद्र ३ गतेका दिन जम्मनु भएका भूपेन्द्र अधिकारीले आफ्नो कर्मथलोको रूपमा भारतको उत्तराञ्चलको देहरादूनलाई बनाउनु भएको छ । उहाँ स्नातक गरेर शिक्षण पेशामा आवद्ध हुनुहुन्छ । उहाँ उत्तराञ्चल प्रेस क्लवको सदस्य पनि हुनुहुन्छ ।
अधिकारीले आफ्नै सम्पादनमा ‘दुन सम्बाद’ साप्ताहिक नेपाली पत्रिका निरन्तर प्रकाशित गरिरहनु भएको छ । नेपाली परिषद् देहरादूनको अध्यक्ष हुनुहुन्छ । उहाँ देहरादूनका नेपालीहरू माझ लोकप्रिय हुनुहुन्छ ।
नागरिक स्वर्ण सम्मान काठमाडौं, दियालो पुरस्कार साहित्य सम्मेलन दार्जिलिङ, श्रष्टा पुरस्कार गेजिङ्ग सिक्किम, राष्ट्रपति पुरस्कार नयाँ दिल्लीबाट सम्मानित भइसक्नु भएको छ ।
उहाँको हामी दुइका मुक्तक, सम्झनाका कृति आदि प्रकाशित छन् । उत्तराञ्चलको देहरादूनमा नेपाली भाषा साहित्यको सम्बन्धी संरक्षण र विकासमा निरन्तर लागि परिरहनु भएको छ । देहरादूनका साहित्यकार, पत्रकार भूपेन्द्र अधिकारीसँग विराट साहित्य सङ्गम टोलीको नेतृत्व गर्दै देहरादूनको जैन धर्मशाला भवन पुग्नु भएका साहित्यकार एवम् पत्रकार ऋतु आसीकले लिनु भएको अन्तर्वार्ता–

१. तपाईंंको दृष्टिमा साहित्य भनेको के हो ? साहित्य किन लेखिन्छ ? साहित्य कसका लागि लेखिन्छ ?
मानवले अभिव्यक्त गरेका सृजित सृजनालाई म साहित्य मान्छु, जसमा कुनै वाद भौगोलिक सीमाको स्थान हुँदैन । साहित्य लेखिँदैन । साहित्य सृजित हुनुपर्छ, जसको कुनै नाप, तौल या आयु हुँदैन । यो अमर हुन्छ– कालजयी ।

२. साहित्य लेखनका लागि प्रेरणा कसरी पाउनुभयो ?
साहित्य सेवाको लागि मैले प्रेरणा पाएँ । प्रथम मेरी दिवङ्गत आमा बुद्धिमाया अधिकारी, जोसित मैले मेरो जीवनको प्रथम एक वर्ष तीन महिना मात्र साथ पाएँ र वहाँका बारेमा उनको थुप्रै–थुप्रै साथीबाट सुन्न पाए । ती वाक्यहरूले नै मलाई साहित्य सेवापट्टि लगायो । म आमालाई नै प्रेरणाको स्रोत मान्छु ।

३. तपाईंंका बाल्यकालका क्षणहरू केही भन्न चाहनुहुन्छ ?
आफ्नो बाल्यकाल बारे प्रत्येक मानिसले एक मिठो साहस बोकेर हिंडेको हुन्छ र मैले मेरा बाल्यकालमा मातृभाषा नेपालीमा स्कुली शिक्षा नभए ता पनि घरमा नेपाली सिके । केही सिकेर, केही सृजना गरेर परिवारजन अनि साथीहरूलाई सुनाएका साथै टोलमा कहिले काहीं गोष्ठितिर जानी नजानी सुनाएका अनि आफन्तहरूबाट नै स्यावासी पाएका क्षणहरू मेरा स्मरणीय पलहरू हुन् । जो सदा स्मरणीय छन्, अन्तिमसँगै लिएर पनि जाने छन् ।

४. जीवनको उद्देश्य, जीवनको मूल्य, जीवनका असवान यी तीन पहलुलाई कसरी हेर्नुभएको छ ?
जीवनका अवसान–जीवन अप्राप्तिहरूको एउटा पुलिन्दा हो र जीवन यसरी नै आफ्नो अन्ततिर लम्कन्छ । जसलाई आजका धेरै मानिसले सन्तुष्टि पाएका छैनन् । तर मेरो जीवन ती अप्राप्तिहरू बीच पनि सन्तुष्ट छ अनि त्यही नै हो मेरो जीवनको अबसान ।

५. साहित्यकारले विकृति र बिसङ्गतिका विरुद्ध कलम चलाउनुपर्छ भन्ने बारे तपाईंंका विचार के छन् ?
साहित्यसेवी निष्पक्ष हुनुपर्छ । समाज र सामाजिक गतिविधिमा विकृति एवं बिसङ्गति आउनु स्वभाविक हो र साहित्यसेवीले आफ्नो कलममा तिनीहरूको सही रूप दर्शाउन पर्छ । सही मार्ग पनि देखाउनु पर्छ ।

६. महिलावर्गको शोषण उत्पीडनका लागि अश्लील साहित्यको गहिरो प्रभाव पर्दै गरेको अवस्थामा त्यसका विरुद्ध के सोच्नु भएको छ ?
महिलावर्गको पुरुषको शोषण उत्पीडन मानव जीवनको सभ्यतादेखि नै चलि आएको छ । पुरुषप्रधान समाजले आफ्नो वर्चस्व बनाइ राख्न महिला वर्गको शोषण गर्न लागे र समाजमा विकृति विचारका पाठकहरूलाई पस्किन थाले । यसरी गरिएको शोषण उत्पीडन र लेखन यो सभ्य समाजको सद्व्यवहार होइन । महिला पुरुषको घातक हो, बाँच्ने प्रेरणा हो । नारीलाई सद्भावको दृष्टिले नहेरी भाव र कुदृष्टि राख्ने मानिस सभ्य मानिसको लहरमा बस्ने योग्य म मान्दिन । यसै सन्दर्भमा आज लेखिदै गएको अश्लील लेखनलाई म साहित्य मान्दिन ।

७. तपाईंं आफूले रचना गरेका कृतिहरूमा सबैभन्दा बढी तपाईंंलाई मनपर्ने रचना कुन हो ?
मैले जन्माएका सबै कृतिहरू मेरो जीवन जत्तिकै प्रिय छन् । त्यसैले कुनै रचनालाई पनि मैले राम्रो नराम्रो भनि छुट्याएको छैन ।

८. तपाईंंलाई आफ्नो जीवनमा सबभन्दा बढी प्रभाव पार्ने पुस्तक कुन हो ?
मैले जीवनमा यति पुस्तकहरू पढें, जसको हिसाब राखिनँ र सबै पुस्तकहरूले मलाई केही केही प्रभाव पारेको छ । जसलाई मैले तौलिएर कम बेसी प्रभाव पार्ने पुस्तकको सूची बनाएको छैन ।

९. नेपाली साहित्यकारहरूमा तपाईंंलाई कुन साहित्यकारको रचनाले बढी ह्दय छोएको छ ?
मैले साहित्यको सेवकको नाताले कविता विधालाई धेरै मन पराए र भारतका स्वर्गीय अगमसिंह गिरीका रचनाहरूमा “तिमी त नचिनिने भएछौ”
र महाकवि लक्ष्मीप्रसाद देवकोटाका अमर पुस्तक “मुना मदन” ले मेरो ह्दय छुन सकेको छ ।

१०. साहित्यकारले कुनै आस्था र विश्वास बेगर कुनै जीवन्त साहित्य लेख्न सक्छ ?
यो असम्भव प्राय छ, विना आस्था र विश्वासमा कुनै पनि काम हुनै
सक्दैन । विश्व नै आज आस्था अनि विश्वासको धुरीमा उभिएको छ । त्यसमाथि पनि साहित्य आस्थाको प्रतीक हो र साहित्यसेवी विश्वासको द्योतक

११. भारतीय नेपाली समाजमा गोरखा भाषा र नेपाली भाषाको साँध लगाएर कतै धमिलो पानीमा माछा मार्ने कुरा सुनिएको छ नि ?
गोरखा भाषा र नेपाली भाषामा अन्तर मात्र सोचाइको छ । भारतमा गोरखा भन्दा नेपाली पनि बुझिन्छ तर गोरखा भाषा भन्ने छैन । नेपाली गोरखालीको भाषा नेपाली हो, जो भारतको संविधानको आठौं अनुसूचिमा सन् १९९२ मा अन्र्तभुक्त भइसकेको छ ।

१२. गोरखा भाषा भन्नाले गोरखा स्थान विशेषको मात्र इङ्कित गर्ने बुझिदैन र ? या यसका भित्र लुकेको अन्य कुराहरू पनि छन् ?
भारतमा न गोरखा भाषा छ न गोरखा स्थान । त्यसकारण यो प्रश्न भित्र कुनै तत्व लुकेको छैन ।

१३. संसारका जुन सुकै भेगमा बसेका नेपालीहरूको पहिचान भेष भाषाप्रति गर्व गर्नु पर्नेमा कतै अवरोध खडा गरिएको छ नि ?
संसारभरि नै नेपालीहरू बसेका छन् । त्यहाँ तिनीहरू कुनै पनि पेशामा जीविका टार्ने आ–आफ्नो जाति, धर्म, भाषा, सँस्कृति, सभ्यता र भेषलाई बिर्सिएका छैनन् तर स्थानीय प्रभावले गर्दा उनीहरू केही अल्मलिएका मात्र छन् । त्यसलाई अवरोध खडा भएको मान्नु उचित होइन ।

१४. जीवनको यो दौडमा आइपुग्दा आफूले लेखेको साहित्यबारे कुनै आत्मनिरीक्षण गर्नु कुनै महसुस गर्नु भएको छ ?
जीवन एक रफ्तारले दुगुरिरहेको छ र त्यही रफ्तारमा साहित्य सेवामा केही समय व्यतित भएको छ । जसलाई मैले अनुभव गर्न सकेको छु । ती क्षणहरूको आत्मनिरीक्षण गर्न पर्ने प्रयोजन परेको छैन ।

१५. साहित्यमा प्रेम र यौनका महत्वका बारे कसरी व्याख्या गर्नुहुन्छ ?
प्रेम र यौनका महत्वलाई आफ्नै परिचयभित्र राखेर स्वस्थ साहित्य सिर्जना गरे पोषिलो हुनेछ ।

१६. तपाईंंको दृष्टिमा अश्लील साहित्य र श्लील साहित्यको मापदण्ड के हो ?
म साहित्यमा अश्लीलता पस्केको रुचाउँदिन, त्यो पठनीय साहित्य मान्दिन र श्लील साहित्य नै सृजित हुनुपर्छ ।

१७. भारतीय नेपाली साहित्यमा आफूले आफैंलाई मूल्याङ्कन गर्नु पर्ने स्थितिमा आफूलाई के भन्न चाहनु हुन्छ ?
मैले साहित्यलाई कुनै देशको भौगोलिक परिधिमा बाँधेर राखेको छैन । त्यसैले गर्दा म साहित्यको सेवकको रूपमा आफूलाई राखेको छु । म केवल जान्दछु मातृभाषा नेपाली । जसको नेपाली साहित्यमा कविता विधाको करेसोमा आफूलाई उभ्याएको छु ।

१८. नेपाली साहित्यकारहरूलाई के सन्देश दिन चाहनुहुन्छ ?
मेरो व्यक्तिगत तुच्छ विचारमा कुनै पनि व्यक्तिले साहित्यकार बन्छु भनेर प्रशिक्षण केन्द्रतिर जान कतिसम्म राम्रो हो । मेरो नजरमा साहित्यकार अभ्यासले पनि बन्दैन । प्रशिक्षणले पनि बन्दैन । साहित्यकार वास्तवमा मैले प्रयोग गर्ने शब्द होइन, म साहित्यलाई लेख्ने काम गर्दिन ।
म सिर्जना भएको सम्झन्छु । साहित्य सिर्जित हुुनुपर्छ । साथै सर्जकले एउटै विधालाई अपनाए मात्र उसले त्यस विधामाथि न्याय गरेको बुझिन्छ । आजका कलमकारहरूले सबै किसिमका कलम चलाएर आफूलाई श्रेष्ठ तुल्याएकोमा मलाई कहिले हाँसौं–हाँसौं लाग्छ । मैले भेटेका कतिपय कलमकारहरू आफै स्वघोषित भएर एकैचोटि कवि, उपन्यासकार, कथाकार, निबन्धकार एवम् समालोचक पनि भएको देखेको छु । ती कलमकारहरूलाई मैले पचाउन सकिनँ । त्यसैले म केवल यति भन्छु, साहित्यको नाममा आफैंलाई अन्योलमा नराखौं र पाठकलाई भ्रममा नपारौं ।


प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 7 पौष, 2069

लेखकका अन्य रचनाहरु