साहित्यकार भविलाल लामिछानेसँग कुराकानी

- ॠतु आसीक

आऊ रातभरि फाँडेर
अध्यारोको जङ्गल
विहान घाममा सल्काऊ, (
(शीर्षकहीन बाट)
असम पूर्वाेत्तर भेगका नेपाली समाजमा साहित्यकार भविलाल लामिछानेको नाम नसुन्ने सायद विरलै होलान् । असम भारतीय नेपाली साहित्यमा उनलाई हटाउने हो भने असमको समकालीन भारतीय नेपाली साहित्य “नुन विनाको तिहुन” हुन्छ भन्दा अत्युक्ति नहोला ।
ईस्वी सन् १९५० डिग्बोइ असममा जन्मिएका भविलाल लामिछाने बि.ए., बि.एड. गरेर असम तेल नगरी डिग्बोइ हायर सेकेन्डरी स्कूल (९.०.८) मा गणितको शिक्षकको रूपमा कार्यरत साहित्यकार लामिछानेका साहित्यिक यात्राको क्रम अनागत (१९८९) शब्द यी हुन् मेरा (१९९६) असमाप्त पाइलाहरू (२००२) एउटा घर यस्तो (२००५) शीर्षकहीन मुक्तक संग्रह (२००३) भविलालका लागि छानेका दुईटा नज्म केही गजल (२००६)
विभिन्न साहित्यिक पत्रिकाको सम्पादन गर्नुका साथै सदस्य नेपाली परामर्श समिति साहित्य अकादमी हरिभक्त कटवाल स्मृति पुरस्कार (१९९३) पुष्पलाल उपाध्याय स्मृति पुरस्कार २००४ बाबा अम्वेडकर साहित्य रत्न पुरस्कार (२००६) मध्य प्रदेशद्वारा पुरस्कृत हुनु भएको छ ।
भारतीय आयल निगम डिग्बोइ स्थित शान्तिपारामा निर्मित भवनमा पेशागत जीवन बिताइरहनुभएको छ । तीनै साहित्यकार भविलाल लामिछानेसँग स्वतन्त्र पत्रकार ऋतु आसीकद्वारा लिइएको अन्तर्वार्ता
(यस अन्तर्वार्तामा साहित्यकार कविरसिंह क्षेत्रीको सहयोग रहेको छ ।)

१. तपाईंंको दृष्टिमा साहित्य भनेको के हो ? साहित्य किन लेखिन्छ ? सहित्य कसका लागि लेखिन्छ ?
साहित्यको स्वरूप निराकार ब्रम्ह जस्तै यति विस्तृत छ कि साहित्य के हो ? भन्दा साहित्य यही हो भनेर कुनै परिसीमा भित्र बाँध्न खोज्नु अन्धाहरूले हात्तीलाई छामी ईश्वरको विभिन्न अंशहरूलाई बताए जत्तिकै हुन्छ । सुक्ष्म र साँघुरो अर्थमा भन्न जाँदा सृष्टिको आदिकालदेखि नै मानवीय अनुभूतिलाई उसको जिउने परिवेश, समाज र देशसँगको सापेक्षित सम्बन्धको आभास मात्र हो । त्यसैले साहित्य लेखेर लेख्न सकिने चीज होइन, यसलाई समवेदनामा छाम्न सक्नु पर्छ । त्यस अर्थमा साहित्य लेखिनु नै पर्ने हो भने उनीहरूका लागि लेखिनु पर्छ जसले यसको मर्म बुझेर आफ्नै वरिपरि जिउने सामलको आवश्यकता अनुभव गर्दछन् । ढुंगा मुढाहरूलाई साहित्यको कुनै अर्थ हुँदैन र तिनीहरूका लागि साहित्य लेखिदैन ।
२. साहित्य लेखनका लागि प्रेरणा कसरी पाउनुभयो ?
सानैदेखि मैले घरमा चण्डी पाठ गर्दथें । बुझी नबुझी सँस्कृतका श्लोकहरू कण्ठस्थ गर्दथे । राम्रो लाग्दथ्यो । मनभित्र एकप्रकारको आनन्दमय स्रोत
प्रवाहित हुन्थ्यो । पछि मेरा शिक्षा गुरु तथा नेपाली साहित्यका प्रसिद्ध कवि हरिभक्त कटवालको सानिध्य प्राप्त भयो । डिग्बोइमा उहाँले रचना गरेका प्रायः जस्तो कविताको साफी गर्ने हुँदा कविताप्रति प्रकट भएको मोहभाव नै सायद मेरा लागि प्रेरणास्वरूप हुन गयो । त्यति खेरदेखि नै मनभित्र सुप्त भावमा विद्यमान रहेको कविता भावले एउटा अर्थ प्राप्त ग¥यो औं त्यसै अर्थको खोजी नै मेरा लागि कविता लेखन बन्न पुग्यो ।
३. जीवनको उत्तरार्धमा आफूभित्र साहित्यकार हुने सपना कतै पाल्नु भएको थियो ?
कविता मेरो दुर्बलता हो र शायद बाँच्ने आवश्यकता पनि यसरी कविता वा अन्य विधाहरूलाई विचार आकारमा प्रस्तुत गर्न जाँदा साहित्यकार भइन्छ भने बेग्लै कुरा हो, तर साहित्यकार बन्नुपर्छ वा साहित्यकारको नाउँ लेखाउने इच्छाको बशीभूत कहिल्यै हुन सकिनँ ।

४. तपाईंंका बाल्यकालका क्षणहरू बारे केही भन्न चाहुनुहन्छ ?
बाल्यकाललाई कहिलेकाहीं पछि फर्केर हेर्न मन लाग्छ, अत्यास लाग्दो र प्रेरणादायी पृथ्वीमा झर्नुका साथै मेरो बाल्यकाल आरम्भ हुन्छ औं आरम्भ हुन्छ एउटा त्रासदी जन्मेको नौ महिनामै मातृशोकले दैलो उर्घाछ । शायद, त्यतैतिरबाट म भित्र प्रवेश हुन्छ समवेदनाको जो कालान्तरमा मेरो लेखनमा पुगेर बास गर्र्छ । एउटा लामो समयपछि मात्र शिक्षा अध्ययनको आरम्भ हुन्छ । बुबाले चिया बगानमा काम गर्ने हुँदा सात आठ वर्षको कलिलो उमेरका आदिवासी केटा–केटीहरूसँगै हुर्किन्छ । गाई, गोरु चराउने, दूध बेच्ने, बल्छी लिए माछा मार्ने र त्यसै माझ सावाँअक्षर घोक्ने विहान उठेर चण्डी पाठ गरेर आरती गाउने ती पलहरू आज पनि एकान्तका आत्मीय सङ्गी रहेका छन् । लाग्छ, एक उमेरसम्म मबाट टाढिएर फेरि नजिकिँदै छन् । चियाबगानमा काम गर्ने आदिवासी महिला केटा–केटीहरूले गाएका झुमुर गीतहरूले मन मस्तिष्कमा खलबली मचाउँथे । आज मलाई लाग्छ म भित्र त्यही समयदेखि नै एउटा कविको बीजारोपण भएको रहेछ ।
घरमै पढेर दश वर्षको उमेरमा कक्षा तीनमा भर्ना भएँ । त्यतिखेर कवि कटुवालको सानिध्यमा रहेर कक्षा चार (एघार वर्षको उमेरमा) मा पढ्दा बन्दी चरीप्रति ‘शीर्षक’ कविताबाट लेखन जगतमा पाइलो हालें । तर कटुवाल सरले काँटछाँट गर्दा त्यसमा मेरो दस प्रतिशत शब्दहरू पनि बाँचेनन् । पछि त्यो कविता काठमाडौंबाट प्रकाशित हुने रूपरेखा पत्रिकाको कविता विशेषाङ्कमा प्रकाशित भयो– त्यसलाई मैले मेरो पहिलो कविता मानिनँ ।
मेरो पहिलो कविता ‘बसन्तको शुभकामना’ वनारसबाट प्रकाशित हुने आमा पत्रिकामा निस्कियो । सन् १९६२ तिर, साह्रै आनन्द लागेको थियो त्यसबेला । आफूले पूर्ण रूपले लेखेर प्रकाशित भएको त्यस पत्रिकालाई लिएर एकैदिन कति घर साथीहरूलाई देखाउँदै घुमे । हिसाब छैन ।
सरस्वतीको बास सधैँ मुखमा रहेकाले पढाइमा सधैँ अब्वल रहन्थे । एकपटक कक्षामा प्रथम हुँदा मलाई थुप्रै पुस्तकहरूको पुरस्कार दिइयो । म आत्तिएँ, त्यतिका पुस्तकहरूको पैसा कसरी तिर्ने ? पछि थाहा लाग्यो ती पुस्तकहरू त पुरस्कार स्वरूप सित्तैमा दिइएका रहेछन् । स्मृतिको एउटा सागर रहेको छ । मभित्र दुईचार शब्दहरूको फड्कोले तर्न सकिँदैन । रुखबाट झर्दै गरेका पातहरू देख्दा पुराना सङ्गीसाथीहरूको सम्झना आउँछ । साह्रै उदास हुन्छ मन त्यतिबेला ।

५. जीवनको उद्देश्य, जीवनको मूल्य, जीवनको अबसान यी तीन पहलुलाई कसरी हेर्नु भएको छ ?
कर्म गर्दै जाँदा स्वतः बन्दै जाँदोरहेछ । देवकोटाका शब्द ‘उद्देश्य के
लिनु उडी हुनु चन्द्र एक’ मनमा दोहोरिरहन्छन् । हिंड्दा हिंड्दै कहीं त पुगिएला ? जीवनको मूल्याङ्कन कर्मबाट हुन्छ । सायद टुंगोमा पुगेपछि नै । यसको अबसान
कर्म पद्धतिमा निर्भर गर्दछ । शारीरिक रूपमा यसको अबसान निश्चित छ, तर त्यसपछि पनि बाँचिरहने कुरो कर्ममाथि निर्भर गर्छ । ‘कर्मण्ये वाधिकारस्ते मा फलेषु कदाचनः’

६. साहित्यकारले विकृति बिसङ्गतिका विरुद्ध कलम चलाउनुपर्छ आदि मान्यता बारे आफ्ना विचार के छन् ?
परिवर्तन प्रकृतिको नियम हो । त्यसका लागि विपरीतमुखी गतिसँग जुझ्नै पर्छ । अतः थोत्रा र विकामे भएका मान्यताहरूको विरोधमा कलम चलाउनु अत्यन्त आवश्यक छ । होइन भने रातको विकृत जङ्गल नफाँडेदेखि विहान कसरी होला ? र कसरी हेरिएला भोलिपल्टको घाम ?

७. महिला वर्गको शोषण, उत्पीडनका लागि अश्लील साहित्यको झन्–झन् गहिरो प्रभाव पारेको परिप्रेक्ष्यमा त्यसका विरुद्ध जुझ्न कस्तो रणनीति आवश्यकता होला ?
सृष्टिको प्रार्दुभाव नै नारी र पुरुष दुवैको समागमले भएको हो भने दुवै माझ असमानताको रेखाचिन्ह कसरी कोरिन सक्छ ? एउटालाई लाखा र अर्कोलाई पाखा पार्नु सृष्टिको गतिरोध गर्नु हो । आरम्भदेखि नै समाज निर्माणमा नारीलाई ओझेल पारेको भेटिन्छ । यस अन्यायको विरोधमा लेखकहरूले नबोले कसले बोलिदिने ? नारीलाई शोषणयुक्त पार्नका लागि उसले पाउनु पर्ने आफ्नो सही मात्रामा दिन सक्दा पुगिहाल्छ । उनीहरूको शोषण विरुद्ध अरूले लडेर हुँदैन । उनीहरूलाई नै लड्न सिकाउनु पर्छ । त्यो कुरा इमान्दार लेखकले सटीक प्रकारले भनिदिन सक्दा हुन्छ । रचनात्मक सङ्घर्षको खाँचो दुवै पक्षलाई छ ।

८. तपाईंं आफूले रचना गरेका कृतिहरूमा सबैभन्दा बढी तपाईंंलाई मनपर्ने रचना कुन होला ?
आरम्भमा रचना गर्दै कुनै पनि कृति मलाई असल लाग्छ, तर त्यो भन्दा पनि असल लाग्छ त्यसपछि रचिएको कृति, त्यति धेरै कृति पो कहाँ रचिएका छन्
र ? शायद मेरो सबैभन्दा राम्रो रचना हुने कृति बाँकी नै छ ।

९. तपाईंंलाई आफ्नो जीवनमा सबभन्दा बढी प्रभाव पार्ने पुस्तक कुन हो ?
दिदी गीता उपाध्यायले नेपाली अनुवाद गर्नु भएको “एन फ्रैङ्कको डायरी” यो पुस्तक पढ्दा म मात्रै होइन, शायद धेरै पाठकहरू प्रभावित भएको हुनुपर्छ ।

१०. नेपाली साहित्यकारहरूमा तपाईंंलाई कुन साहित्यकारको रचनाले बढी हृदय छोएको छ ?
त्यस्तो कुनै रचना आफैं पढ्न पाएको छैन जसले पढ्दाखेरि मनलाई उद्देलित पार्न सकोस् । भवानी भिक्षुको ‘त्यो फेरि फर्कला’ ? र रमेश विकलको ‘नयाँ सडकको गीत’ जस्ता कथाहरूको छाप भने मनमा अमेट छ ।

११. साहित्यकारले कुनै आस्था र विश्वास बेगर जीवन्त साहित्य लेख्न सक्छ ?
आस्था र विश्वासको आधारशीला स्थापित गर्न नसक्ने साहित्यले समाजलाई विथोल्छ । त्यस्तो साहित्य लेख्ने बारेमा सोच्न सकिन्न । स्वस्थ समाज निर्माणका लागि साहित्य सिर्जनाको मूलभूत आधार आस्था र विश्वास नै हुनुपर्छ ।

१२. भारतीय नेपाली समाजमा गोरखा भाषा र नेपाली भाषाको साँध लगाएर कतै धमिलो पानीमा माछा मार्ने कुरा सुनिएको छ नि ?
कतै पत्तोफाँट नपाएका कछुवारूपी नेता कहलाइने कतिपय मानिसहरूको बठ्याँइ मात्र हो त्यो । धमिलो पानीमा हात धुन खोज्ने यस्ता मानिसहरूले एउटा जातिलाई नै सखाप पार्न बेर लाउँदैन तर एकसय गाई खाएपछि बाघको पनि मृत्यु हुन्छ– त्यो सत्य हो ।

१३. गोरखा भन्नाले गोरखा स्थान विशेषको मात्र इङ्गित गर्ने बुझिदैन र ? या यसका भित्र लुकेका अन्य कुराहरू पनि छन् ?
गोरखा भाषा भन्ने कुनै पनि भाषा छैन । लडाकुप्रवृत्तिका साहसी मानिसहरू जो नेपालको गोरखा इलाकामा बस्तथे । उनीहरूलाई ध्यानमा राखेर अङ्ग्रेजहरूले नेपाली सैनिकहरूलाई गोरखा नामाङ्कन गरे । सङ्क्षिप्तमा गोरखाको धारणा त्यसरी नै बनेको हुनुपर्छ । राजनीतिका दलालहरूले निर्माण गरेको आधारमा गोरखा भाषाको कुनै पनि अस्तित्वलाई मानिलिन सकिँदैन । संसारको कुनै पनि ठाउँमा बस्ने नेपालीले बोल्ने भाषा हो नेपाली न कि गोरखा भाषा ?

१४. संसारका जुनसुकै भेगमा बसेका नेपालीहरूको पहिचान नेपाली जातिले बोलेका भाषा भेषप्रति गर्व गर्नुपर्नेमा कतै अवरोध खडा गरिनु कतिको न्याय सङ्गत लाग्छ ?
न्याय अन्यायको प्रश्न आउँदा आफ्नो जाति भाषा र सँस्कृतिप्रति सहृदयता राख्नेहरूको क्षेत्रमा मान्य हुन्छ । जसलाई आफ्नो हुनु नहुनुको बोध हुँदैन । उनीहरूले जाति, भाषा र सँस्कृति जस्ता चीजहरूलाई लुगा फेरे जसरी फेर्न खोज्छन् । त्यस्ता अपराधीहरूका अघि न्याय अन्यायको कुनै अर्थ रहँदैन ।

१५. जीवनको यो दौडमा आइपुग्दा आफूले लेखेको साहित्य बारे कतै आत्मनिरीक्षण गर्दा के महसुस गर्नु भएको छ ?
लेख्दाखेरि राम्रो लेखें जस्तो लाग्छ र लेखिसकेपछि अझै राम्रो लेख्न सकिने र सबभन्दा राम्रो लेख्न सायद सम्भव हुन सक्दैन कि जस्तो लाग्छ । साँचो भनौं भने ४७ वर्षको परिश्रमपछि बल्ल लेख्न बसे जस्तो लाग्छ ।

१६. साहित्यमा प्रेम र यौनको महत्वको बारेमा कसरी व्याख्या गर्नुहुन्छ ?
यौन र प्रेम जीवनका अभिन्न अङ्ग हुन् र साहित्यमा तिनको प्रस्तुति स्वतः आवश्यक हुन सक्छ तर पनि तिनको स्थान आफ्नो परिप्रेक्ष्यमा भिन्न छ उनीहरूको स्थानभन्दा प्रस्तुतिकरण र तिनीहरूप्रति राखिने स्वास्थ्य दृष्टिकोण माथि यी दुई तत्वको प्रासाङ्गिकता निर्भर गर्छ । तिनको कलात्मक रूप जति निर्मल र स्वच्छ हुन्छ । नग्न रूप त्यति नै वीभत्स । अवश्य यौन तृप्तिका लागि मात्र प्रेमको कुनै अर्थ रहँदैन भने प्रेम पछिको सुखान्त अनुभव यौन हुन सक्छ । साहित्यमा तिनीहरूको स्थान निर्धारण त्यसै अनुसार हुनु उचित ठहरिन्छ ।

१७. तपाईं जहाँ जुन परिवेशमा हुनुहुन्छ त्यहाँ त्यस क्षेत्रमा कुनै भाषाले नेपाली साहित्यमा परेको प्रभाव बारे भनिदिनुहुन्छ कि ?
कुनै पनि भाषा साहित्यमा आञ्चलिकताको प्रभाव पर्नु स्वाभाविक हो । असममा त्यस दृष्टिकोणले असमीया र हिन्दी साहित्यको प्रभाव नेपाली साहित्य लेखनमा परिलक्षित हुन्छ ।

१८. तपाईंंको दृष्टिमा अश्लील साहित्य र श्लील साहित्यको मापदण्ड के हो ?
अश्लील साहित्यले समाजमा विकृति ल्याउँछ र पाठकलाई विभ्रान्त पार्दछ भने श्लील साहित्यले स्वस्थ्य समाज गठनमा सहयोग पु¥याउँछ । अश्लील साहित्य विकृतिको पूरक हो भने श्लील साहित्य जीवनको आधारशिला ।

१९. भारतीय नेपाली साहित्यमा मानव अधिकार पक्षपोषणको उद्घोषले ल्याएका सन्देशहरू र विकसित राष्ट्रहरूद्वारा मानव अधिकारका दोहन विरुद्धमा भएका क्रियाकलापलाई कसरी हेर्नुभएको छ ?
मानव अधिकारको शङ्खघोषमा स्वच्छता र इमान्दारी भेटिदैन । हजारौं लाखौं निर्दोष मानिसहरूलाई मार्ने नारी जातिको शोषणको विरोधमा बोल्ने, भोका नाङ्गाहरूलाई सताउनेहरूको विरोधमा बोल्न साहस जुटाउन नसक्ने मानव अधिकार जस्तो संस्थाले कुनै आतङ्कीलाई मार्दाखेरि मात्र आवाज उठाएको भेटिन्छ । आतङ्कीहरूको पक्ष लिएर बोल्न खोज्ने मानव अधिकार संस्थाले कुन मानवताको रक्षा गर्न खोजेको हो– शङ्काको घेरोमा पर्दछ ।

२०. भारतीय नेपाली साहित्य विधामा आफूले आफैंलाई मूल्याङ्कन गर्नुपर्ने स्थितिमा आफूलाई के भन्नु हुन्छ ?
मलाई धेरै गर्नु छ । ठूलो सङ्घर्ष सामुन्ने छ । सङ्घर्ष गर्नतिर लाग्नु कि मूल्याङ्कनतिर ?

२१. गोरखाल्याण्ड आन्दोलनको गन्तव्य बारे तपाईंंको जिज्ञासा के होला ?
गोरखाल्याण्ड आन्दोलन भारतीय नेपालीहरूको अस्मिताको लडाई हो । यसमा भएका बिसङ्गतिहरूलाई पन्छाएर यो लडाई लामो लड्नु पर्ने हुन्छ ।

२२. नेपालको दक्षिणी भेगमा सम्पूर्ण मधेश एक प्रदेशको स्वरहरू आउनुलाई के
भन्नुहुन्छ ?
अझै नेपालको निर्माणको स्थापना सम्पूर्ण भएकै छैन । मधेश नेपालको एउटा भूभाग हो त्यसमा बस्ने सबै नेपाली हुन् । फेरि बेग्लै मधेश भन्ने प्रश्न कहाँबाट आउँछ ? नेपाललाई यस्तो एउटा षडयन्त्रबाट सतर्क हुनु आवश्यक छ, होइन भने पिलो घाउ भोलि गएर क्यान्सर पनि हुन सक्छ । यस्तो एउटा संवेदनशील विषयमा राजनीतिका ठेकेदारहरूले कुनै बाघचाल नखेल्नु उचित होला ?

२३. जीवनमा भोग्नु भएको आनन्दको क्षणबारे भनिदिनु हुन्छ कि ?
लक्ष्य प्राप्तिको दिन नै मेरो आनन्दको दिन हुनेछ ।

२४. तपाईंंले भोग्नु भएको जीवनमा दुःखदायी क्षणबारे बताउन चाहनुहुन्छ ?
जीवनमा धेरै कष्ट भोगेको छु । तिनीहरूमा सम्भव खोज्दिन ।

२५. तपाईंंका तर्फबाट थप कुराहरू भए अभिव्यक्तका लागि अनुरोध गर्दछु ।
तपाईंंहरू भारतीय नेपालीहरूका धेरै नजिक हुनुहुन्छ । हाम्रो मर्म र पीडा बुझिदिनु होला ।

२६. नेपाली साहित्य परिषद असम र असम नेपाली साहित्यसभा हुँदै नेपाल छात्रसङ्घ र गोरखा छात्र सङ्घको विभाजनले असमका नेपाली जातिको अस्तित्वको सवालमा प्रश्न चिन्ह उठिरहकाले यी सबै बीचको एकीकरण के कतिको सम्भव छ ?
नाइके हुन नपाएर नाइके हुन खोज्ने परिप्रेक्ष्यमा यो विघटन चाहिँ नेपालीहरूका लागि अत्यन्त घातक हुनेछ । यसको एकीकरण माउसंस्था परिषद्को वर्चस्वलाई हानी नपु¥याइकन हुनु आवश्यक छ ।

२७. नेपाली साहित्यकारहरूलाई के सन्देश दिन चाहुनुहुन्छ ?
साहित्यकार भविष्यद्रष्टा र पथप्रदर्शक दुबै हुन्छन् । आज नेपाली जाति नेपाल भित्र र बाहिर दुबै ठाउँमा एउटा विपन्न सन्धिस्थलमा उभिएको छ । यसमा लेखकहरूको सकारात्मक पटाक्षेपको अत्यन्त खाँचो मात्र होइन, उनीहरूमाथि एउटा ठूलो अभिभारा पनि आइलागेको छ । सतर्क भएर त्यसको निर्वाह गर्नु जरुरी छ ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 29 मङ्गसीर, 2069

लेखकका अन्य रचनाहरु