पब्लिक स्कुल मेरो अल्मा–मातेर

- चन्द्र घिमिरे

“अब तँ पब्लिक पढन जाने” कुनै आफन्तबाट खसेको यो भनाई भूँइमा नखस्दै मैले सुनेँ । ठुलै मान्छेमा दरिएँछु भन्ने लाग्यो । दुई वर्ष अघि मात्रै भारतबाट आएका थियौँ । बुबाले बाँग्लादेशको लडाइँको कारणले नागालैण्डबाट ल्याएर हाम्लाई एक्कासी धरानमा छाडेर फिर्नु भाको थियो । छाड्नु अघि ल्याब्रोटोरी नाम गरेको धुले स्कुलमा भर्ना गर्दिनु भो । त्यसपछि लाउरे बुबा सोही लडाईँमा कस्सिएर जानु भो । प्राथमिक विद्यालयको नयाँ सेटअपमा म मच्चिने क्रम शुरु भो ।

लरबरिँदै जाँदा चार कक्षादेखि मेरो दाखिला पब्लिक स्कुलमा भयो । पढ्न जान स्कुलतर्फ फ्याउरोेझैँ दगुर्थेँ । पूर्वाञ्चलको पुरानो र नामी स्कुल भन्थे । स्कुले बाटामा आजभोलीको जस्तो बेलायती सडक र घरहरु फिजिएका थिएनन । बरु ठूल्ठूला चौरी र मकैबारी हुने गर्थे । चार र पाँच क्लास त सुटुक्कै बितेछ मेसै नपाई । वरपरीका डाँडाकाँडा नाप्दैमा गुज्रेछ । सर्दु खोला तर्दैमा, विजयपुर उक्लँदैमा र चारकोशे जँगल धाउँदैमा चिप्लेछ ।

त्यतिखेर जँगल, खोला र विजयपुरतिर बरालिएको आरोप खेपेँ मैले । मैले अस्ति भर्खर नयाँ भेउ पाएँ । यहाँ पश्चिम बँगालमा शान्तिनिकेतन जाँदाखेरि । जहाँ गुरुदेव रविन्द्रनाथ टेगोरले गुरुकूल शिक्षा थालेथे । जहाँ उन्ले विधार्थीलाई दिवालभित्र राखेनन् । खुला आकाश मुनि पढाए । जसरी धेरै वर्ष पूर्व जीन ज्याक रुसोले ‘एमिल’ पुस्तकमा भनेथे । विद्यार्थीहरुलाई प्रकृतिसँग नजिक्याउ । सो अनुसारको शिक्षा प्रणाली बसाल भनि वकालत गरेका थिए । टेगोरले त्यो भनेर हैन, गरेरै देखाए । रुखका बोटमुनि कक्षा राखेर प्रकृतिसँग साक्षात्कार गराए । कता कता मेरो डाँडाकाँडा विचरणपनि एकप्रकारले गुरुकुल नै थियो की ! मैले धरान वरपरका डाँडाकाँडा रगरगी चाहारेकोपनि स्कुलिङ नै थियो की !

जब म छ कक्षाको जस्केलो नाघे, परेँ दारीवाला सरको फेला । उहाँ हुनुहुन्थ्यो चन्द्रमणि अधिकारी । होचो कद । मुखमा पान । गुरु भनेर के गर्नु ? थिए सप्पैलाई थर्काउने । “ऐ गोविन्दे !” उन्ले क्लासको हाम्रा डनलाई हरेक पटक लतार्थे । गोविन्देको सास्तीले सताइएका हामी सप्पै जनाले केही राहत पाउने सुदिन आयो । आखिरी फाइनल जाँचमा गोविन्द फेल भएको रिजल्ट आयो । त्यो बेला हामी आँफू पास भए भन्दा ऊ फेल भाकोमा बढी दङ्ग परियोे । ‘गोविन्द आतंक’बाट त्राण पाइने भो भन्ठानेर ।

म तिनै गुरुतिर लहसिँदै गएँ । एकदिन उन्ले बोलाएँ । “तँ लाइब्रेरी हेर्छस ?” म छक्क परेँ । पब्लिक स्कुलमा पुस्तकालयपनि रैछ । जागेश्वर शर, देवलाल शर, रेवती शरहरु मात्रै देखेथेँ पैले । “आजदेखि लाइबे्ररी तैँले सन्चालन गर्ने” भनेर ढोकाको साँचो जिम्मा लाए । त्यसपछि पुस्तकहरु मेरो जीन्दगीमा आए ।

बिस्तारै पुस्तकको लत बस्यो । म अधिकाँश समय स्कुले दिनहरुमा पुस्तककोे भूगोलभित्र घुम्न लागेँ । त्यस्ले साहित्य र विश्वतर्फको विभिन्न गोलार्धतर्फ मलाई बिस्तारै डुलाउँदै लग्यो । टेक्स्ट बुकहरुबाट निक्लेर म अरुतिर लम्कन लागेँ । हाजिर जवाफपनि खेल्न लागेँ । साहित्यिक रचनामा सल्बलाउन थालेँ । बिस्तारै मैले स्कुल र समाजमा नेतृत्व गर्न थालेँ । त्यो बास्तवमै चन्द्रमणि शरको नर्सरीबाट टिपेको गाछी थियो । पब्लिक स्कुलबाट सिकेको ।

त्यसो त हामीपनि कम हरामी थिएनौँ । हाम्रा अघिल्ला पुस्ताका दाईहरुले हाम्लाई हस्तान्तरण गरेका थुप्रै जोकहरु थिए । गुरुहरु देवलाल श्रेष्ठ, जागेश्वर झाहरुका बारेमा । उनीहरु मिस्टर बिन जस्तै हामी रम्ने पात्र थिए । पक्कै हाम्ले वहाँहरुको ‘इमोशनल–अत्याचार’ गरेकै थियो । तथापी उहाँहरुको स्कुले उपस्थितीले हाम्लाई मनग्गे कुतकुती लाउँथ्यो । कैलेकहीं अलि प्राक्टिकल समस्या पथ्र्यो हाम्लाई । जोकको बीचैमा स्वयँप्रकाश आई दिने । हाम्रा गफ सुन्न । बिचरो ऊ थियो देवलाल शरको सहोदर छोरो । पढ्थ्यो हामीसँग एकै कक्षामा ।

एक दिन चाहीँ सत्यानाशै भो । सरस्वती पूजाको भोलीपल्ट । सबैजना मूर्ति सेलाउन जाने भन्ने उर्दी थियो । माघ फागुनको त्यो बिहान । एउटा ट्रकको जोहो भारैछ । हामी अलि जुनियर खाले पनि उक्लियौँ । सिनियर दाईहरु त छँदै थिए । गुरिल्लाझैँ हल्ला गरियो बाटो भरि । आखिर मुकाममा पुग्यौँ । चतराको कोशी किनार । मूर्ति सेलाएपछि फुर्सद मिल्यो । खाली दिमाग शैतानी बास भनेझैँ भयो । गाइड गर्ने मास्टर नभएपछि विद्यार्थीहरु रमाइलो गर्ने तिर लागे नदीमा । एउटा नाउ फेला परिगो । जम्जमाएर त्यस्मा चढन भ्याउने उक्लिए । भ्याउने ८–१० जनाको हुलमा मैपनि परेँछु ।

थुइक्क.....नाउमा प्वाल रैछ । त्यसैले पो लावारिस रैछ । बीचमा पुगेपछि “पल्ट्यो पल्ट्यो....भाग भाग” आवाज आयो । आननफाननमा केही हेरिएन । देखिएन पनि । जसोतसो हाम फालिएछ । कसो कसो गरेर म वारी हैन, पारी निक्लेँछु । मजस्तै २–४ जना रैछौँ निक्लनेमा । तर अरु ३–४ जना हराए । त्योपनि सिनियर दाइहरु । खोजि भो । पुलिस आयो । माझि झिकाईयो । आखिरमा २ जनाको लास निकालियो । केही बेहोस हालतमा निकालिए । हामी भुरा रुँदै फर्कियौँ । त्यसबेलाको राष्ट्रिय न्यूज बनेको त्यो घट्नाले मलाई पछि सम्म तर्साइ रह्यो । पब्लिकको दिनमा झेलेको ठूलो ‘सक’ त्यही थियो ।

०३६ सालको विद्यार्थी आन्दोलनले हाम्लाई पनि बाँकी राखेन । हामी भुरा नै सही । एकदिन स्कुल हडताल गरि छाड्यौँ । पब्लिक र बालिका हाइस्कुलका विद्यार्थी लिएर हिँड्यौँ । नारा लगायौँ बजारभरि । हाम्लाई राजनीतिक चेतनाको पुरियापनि सोही पब्लिक स्कुलले दिन भ्याएछ । त्यो काममा खुराक दिने खासमा गुरुबा चन्द्रमणि अधिकारी र गुरुआमा कुन्ता शर्मा हुनु हुनुहुन्थ्यो । दुवै जना पढाउँदा पढाउँदै हामीलाई माचिस लगाएर बाल्ने गर्नु हुन्थ्यो । हामीपनि सुकेको परालजस्तो सल्कन तयार थियौँ ।

अल्मा–मातेरबाट म छुट्टिएको पनि ३१ वर्ष पो भएछ । कति हावा–पानी खायो होला त्यसले ? के गर्दै होला त्यो स्कुल ? तप्कने शीतले मलाई यस्तै यस्तै गरी केरकार गर्छ । यसबीच कैयौँ शरहरु मास छर्न जानु भएछ । त्यो सुन्दा हिक्काको सुनामी उठन खोज्छ आँफैभित्र । त्यस लर्कोमा पर्ने चन्द्रमणि शर लगायत अरु सप्पैलाई सलाम....पापी समयलाई पनि सलाम । मेरो अल्मा–मातेर ‘पब्लिक’लाई पनि सलाम ।

धरान, हालः कोलकाता, पश्चिम बंगाल ।

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 23 मङ्गसीर, 2069

लेखकका अन्य रचनाहरु