रामराज्य

- डा.रुपक श्रेष्ठ

एकादेशमा राजाको पालादेखि जनताको पालासम्म पटकपटक बनेका संबिधानहरुले जातपात र छुवाछुत प्रथाको अन्त्य गरेको धेरै भैसकेको थियो । सबै जातजाति समान थिए, कोहि जातले उचनीच थिएन । सबैले यस्तो कुरो बिर्सिसकेका थिए । धनि र गरिबबिचको खाल्डो बिस्तारै पुरिंदै थियो ।

राणा र राजाका छोराका ठाउँमा अब जनताका छोराछोरीले राज्य सम्हालेपछि देश रामराज्यमा
फर्केर आङ्गमा न्यानो घाम लाग्ला भन्ने ठूलो आशा लिएका थिए जनताले । समयको अन्तरालसंगै संयोगवश राष्ट्रपति र प्रधानमन्त्री दुबैजना उच्च शिक्षित र 'राम' नामधारी नै बने । रावणलार्इ परास्त गरेर अाफू सो पदमा पुगेको भनेर बेला बेलामा उनीहरू रेडियो टीभीमा कुर्लन्थे ।

'दुवैजना सामान्य परिवारमा जन्मेर भैँसी र बाख्रो चराएर हुर्केका; दुखजेलो गरि स्कूल पढेका जनताकै छोराहरु हुन्; गरिबका दुःख देखेबुझेका छन् बाबै ! अब निमुखा जनताको पनि पालो आयो है ।' चिया पसलमा चियाको सुर्कोदेखि विश्वविद्यालयको टोपीको फूर्कोसम्म यस्तै बहस चलन थाल्यो ।

यस्तैमा एकाबिहानै रेडियोबाट देशबासीको नाममा प्रधानमन्त्रीको सन्देश आयो "अब म हरेक महिना एक अछुतको घरमा वास बस्ने निर्णय गरेको छु !"

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 16 मङ्गसीर, 2069

लेखकका अन्य रचनाहरु