साहित्यकार दुर्गाप्रसाद घिमिरेसँग कुराकानी

- ॠतु आसीक

२१ फ्रेब्रुवरी सन १९३७ बूढा छपडी तेजपुर असम भारतमा जन्मनु भएका दुर्गाप्रसाद घिमिरे विभागीय प्रमुख, नेपाली विभाग दरङकलेजबाट अध्यापनरत सेवा निवृत्त हुनुभएको हो । उहाँले नेपाली साहित्य परिषद् असमका कार्यकारिणी अध्यक्षको जिम्मेवारी सम्हाल्नु भएको थियो । हाल उहाँ परिषद्को सल्लाहाकार हुनुहुन्छ । उहाँका आधा दर्जन भन्दा बढी कृति विभिन्न विधामा प्रकाशित भएका छन् ।
सन् २००० तेजपुर शोणितपुरमा असम सरकारद्वारा साहित्यिक पेन्सन प्राप्त गर्नु भएको छ । अग्रज दुर्गाप्रसाद घिमिरे समक्ष उहाँका निवासमा नेपालका स्वतन्त्र पत्रकार ऋतु आसीकले लिएको अन्तर्वार्ता–

१. तपाईंंको बाल्यकालका क्षणबारे केही भन्न चाहनु हुन्छ ?
मेरो जन्म र बाल्यकाल बुढा छपडी भन्ने पशुपालन क्षेत्रमा भएको हो । बूढा छपडी एक नदी द्वीप हो । यिनै नाला खोला, वन जङ्गल, तलाउ, पानी र बालुवाका बगरमा मेरो बाल्यकाल बितेको हो । बाल्यकालमा जे पनि रमाइलो लाग्ने हुनाले बूढा छपडी मेरो लागि भू–स्वर्ग जस्तै थियो ।

२. तपाईंको दृष्टिमा साहित्य भनेको के हो ?
साहित्य समाजको दर्पण मानिएको हुनाले एउटा जातिको सुन्दर ढङ्गले विवेचना गरेर लेखिएको ग्रन्थ हो अथवा वाङ्मय हो । भनिएकै छ “साहित्य, सङ्गीत, कला विहीन, साक्षात् पशु पुच्छ विषाणहीन”ले नै अर्थ स्पष्ट हुन्छ ।

३. साहित्य किन लेखिन्छ ? साहित्य कसका लागि लेखिन्छ ?
साहित्य र समाज अङ्गाङ्गी भएर आएको हुनाले समाजको हित साधन गर्नका लागि लेखिन्छ । कुनै जातिको सिङ्गो रूप दर्शाउनका लागि साहित्य नै माध्यम हुन्छ । साहित्यले जातिको रेसा–रेसा केलाएर देखाइदिन्छ । साहित्य जनताका लागि लेखिन्छ अर्थात् मानव हितका लागि लेखिन्छ । मेरा लागि साहित्य जीवन सरिता हो र यसमा डुबुल्की मार्दा अपार आनन्द आउँछ ।

४. साहित्य लेखनका लागि प्रेरणा कसरी पाउनु भयो ?
म सन् १९४७ मा तेजपुर हाइस्कुलमा पढ्न आउनु अघि नै तेजपुर गोरखा छात्र सङ्घ स्थापना भइसकेको थियो । यो सङ्घ तेजपुरका कलेजमा पढ्ने नेपाली छात्र र हाइस्कुलका छात्रहरूमा स्थापित भएको हो । म पनि त्यस सङ्घमा सदस्य बन्न गएँ । यो संघको हस्तलिखित पत्रिका ‘प्रभात’ थियो । यो पत्रिकाद्वारा म प्रभावित हुँदै गएँ । अर्को कारण मेरो जीबा स्वरचित कविता गाउनु हुन्थ्यो । बूढा छपडीमा उहाँ विहेको जग्गेमा कविता गाउनुहुन्थ्यो । जीबाबाट म पनि प्रभावित भएको थिएँ । यिनै दुई तत्वबाट मैले प्रेरणा पाएको हुँ ।

५. जीवनको उत्तराद्र्धमा आफू भित्र साहित्यकार हुने सपना कतै पाल्नुभएको थियो ?
साहित्यकार बन्ने सपना थिएन तर परिवेशले पनि यस सन्दर्भमा धेरै सघाउ पु¥याउँछ । हाम्रो यहाँ जति साहित्यकार छन् ती सवै असमीया भाषा माध्यमबाट शिक्षा ग्रहण गरेका हुन् । यस कोणबाट विचार्दा आफ्नो साहित्यप्रतिको रुचि ज्यादै गहन बन्न जाँदो रहेछ र साहित्य साधनमा ज्यादै तीव्रता आउँदो रहेछ । साहित्यकार बन्छु भन्दैमा बनिइदैन पनि ।

६. साहित्यकारले कुनै आस्था र विश्वास बेगर कुनै जीवन्त साहित्य लेख्न सक्छ ?
जीवनका पोषक तत्व हुन् विश्वास र आस्था । यी विना जीवन काटेर निकालिएको नीति हो ।

७. भारतीय नेपाली साहित्यमा असमीया, वङ्गाली साहित्यले कस्तो प्रभाव पारेको छ ?
भारतीय नेपाली साहित्यमा असमीया वङ्गाली साहित्यले कस्तो प्रभाव पारेको छ भन्ने कुरा समालोचक माथि छाडौं । असममा भने असमीया साहित्यको प्रभाव निश्चय नै छ । आफ्ना भाषाका पत्र–पत्रिका भन्दा असमीया भाषाका पत्र–पत्रिका ज्यादा पढिन्छन् । जब शिक्षाको माध्यम नै असमीया छ भने प्रश्नको उत्तर स्वतः मिल्छ ।

८. तपाईं आफूले रचना गरेका कृतिहरूमा सबैभन्दा बढी तपाईंलाई मनपर्ने रचनाको बारेमा सङ्क्षिप्तमा अभिव्यक्त गरिदिनु हुन्छ कि ?
मैले रचना गरेका कृतिहरू मेरा लागि सवै राम्रा छन् तर साधनामा प्रकाशित ‘पूर्वाञ्चलीय नेपाली साहित्यको विकास’ सम्बन्धको लेख ज्यादै कष्टसाध्य बनेको थियो । त्यस उसले ‘साधना’ मा अन्तर्भुक्त यो लेख नै मेरा रचनाहरूको सर्वोपरि हो ।

९. तपाईंको आफ्नो जीवनमा बढी प्रभावित पुस्तक कुन होला ?
पश्चिमी उपन्यासकारहरूमा पर्ल एस बक, गाष्टेभ फ्लोवार्ट, मोपाँसा, थामेस हार्डी, डस्टो ए भस्की आदिका उपन्यासहरूले मलाई ज्यादै प्रभावित पारेका थिए भने नेपालीमा महानन्द सापकोटा, ताना शर्मा, बालकृष्ण पोखरेल, लक्ष्मीप्रसाद देवकोटा र लेखनाथ पौडेल अनि दार्जिलिङबाट इन्द्रबहादुर राई, असमबाट लीलाबहादुर क्षेत्रीहरूका लेखन शैलीबाट म प्रभावित भएको छु ।

१०. भारतीय नेपाली समाजमा गोरखा जाति र नेपाली जातिको जलपका तानावुना बारे केही भन्नु हुन्छ कि ?
भारतीय नेपाली समाजमा गोरखा जाति र नेपाली जातिको प्रश्न चिन्ह बनाउन खूद केन्द्रीय सरकार जिम्मेवार छ । भाषा मान्यताको माग लिएर गएको शिष्ट मण्डललाई नेपाली त विदेशी भाषा हो भन्ने तत्कालीन प्रधानमन्त्रीद्वयले आरोप लगाएको हुनाले यो आवाज दार्जीलिङबाट घन्किन सुरु भयो । अनि त नेपाली र गोरखा दुई फब्ल्याँटा बन्न गए । आखिरमा गोरखा र नेपाली एउटै जाति हो । राजनीतिमा ‘गोरखा’ धर्तीको भालु बनाएर ल्याएको मात्र हो ।

११. साहित्यमा प्रेम र यौनको महत्वको बारेमा कसरी व्याख्या गर्नु हुन्छ ?
साहित्यमा पुरुष र महिलालाई पात्र बनाइन्छ भने प्रेम र यौन स्वतः आउँछ । साहित्यमा प्लेटनिक लभको के आवश्यक छ र ? तसर्थ यो प्राकृतिक हुनाले सही मात्राको खुराक दिंदा भइहाल्यो ।

१२. तपाईंको दृष्टिमा अश्लील साहित्य र श्लील साहित्यको मापदण्ड के हो ?
यो त साइको एनालिसिसले पत्ता लगाउने विषय हुनाले मैले भन्नु पर्ने केही छैन । यो विषयमा सिगमण्ड फ्रायडले राम्रो प्रयोग गरेका पनि छन् ।

१३. भारतका विभिन्न प्रान्तमा छरिएका नेपालीहरूको खास–खास समस्या के
होलान् ? ती समस्या निराकरणका लागि के उपाय उचित होलान् ?
भारतीय नेपालीहरूको खास समस्या त अस्मिताको भावना नै प्रवल भएको देखिन्छ । यस सन्दर्भमा कवि अगमसिह गिरीको कविता ‘हाम्रो आकाश पनि हुन्छ उज्यालो’ले राम्रो छलफल गरेको छ । जातीय चेतनाको अभाव अथवा अस्तित्वबोध नै मूलभूत विषय बन्न गएको छ । यसरी नै होला यस प्रश्नको सही उत्तर ।

१४. तपाईंको दृष्टिमा दाम्पत्य जीवन के हो ? दाम्पत्य जीवनप्रति भोगाइका क्षणहरू बारे केही भन्न चाहनु हुन्छ ?
मिलीजुली जीवन बिताउनु नै दाम्पत्य जीवनका सार्थकता हो । यसमा बिसङ्गति आएछ भने जीवन तुहिएर जाने सम्भावना बढी हुन्छ । जीवन नै भोगको लागि हो । शोकको लागि होइन । सुख–दुःख, घडीको पेण्डुलम सरी चलेको हुन्छ, आत्मसात् गर्न सक्नु पर्छ ।

१५. विश्व साहित्यमा भारतीय नेपाली साहित्यले के कस्तो प्रभाव बढाइरहेको छ ? नेपाली साहित्यमा सिर्जित प्रकाशित हुँदै गरेका रचनाको स्तरमा केही भन्न चहानु हुन्छ ?
तकनिकी विकासले विश्व साँघुरिएर गएको छ, एउटा गाउँमा परिणत
हुँदैछ । तसर्थ नेपाली साहित्य विश्व साहित्यको घेरामा आइसकेको छ । हामी धेरै पछि परे पनि चिप्ले कीराको गति जस्तो भए पनि अघि बढ्दैछ । नेपाली भाषाले भारतीय संविधानको अष्टम अनुुसूचीमा स्थान पाएकाले नेपाली साहित्यका विभिन्न विधाहरू अनेपाली साहित्यमा अनुवाद हुँदैछन् र यिनको प्रचार प्रसार भइरहेकाले आशावादी बन्न सकिन्छ ।

१६. साहित्यकारले देशमा चलिरहेको विकृति बिसंगतिका विरुद्धमा कलम चलाइनु पर्छ आदि मान्यतामा कति अडिग हुनुहुन्छ ?
साहित्यकार शिल्पी हो । स्रष्टा पनि हो । भौतिक जगतबाट आत्मसात गरिएका विषय वस्तु नै साहित्य सृजनाका खुराकहरू हुन् । विकृति बिसंगतिको बारेमा कलम चलाउनु अति आवश्यक छ । विकृति बिसंगतिका वियाँ केलाउनु पर्छ, छिन्केर, निफनेर सग्ला तत्व निकाल्नु र अवाञ्छित तत्व पोगटा फ्याँक्ता झै फ्याँक्न सक्नु पर्छ तब मात्र स्वच्छ समाज निर्माण हुन्छ ।

१७. यहाँ समय–समयमा वी एल टी तथा अल्फाद्वारा गरिएका मानव समूल क्षयका बारेमा के भन्न चाहनु हुन्छ ?
हो वास्तवमा नरसंहार कुनै पनि समस्याको समाधान हुन सक्दैन । २०–२५ वर्षदेखि यता उत्तर पूर्वाञ्चलमा विशेष गरी असमवासीहरू उग्रवादको समस्याबाट साह्रै पीडित छन् । अल्फा, वी. एल. टी. तथा एन. एफ. बी. असमका प्रमुख उग्रवादी सङ्गठन मानिन्छन् । सुरुमा यी तीनैवटा सङ्गठनको माग एउटै अर्थात् अल्फाको स्वाधीन असम हो भने बी. एल. टी. तथा एम. डी. एफ. वी. को स्वाधीन वोडोल्याण्ड तर हाल वी. एल. टी. को सन्दर्भ अलि छुट्टै देखिन्छ । किन भने यस सङ्गठनले केही वर्ष अघि भारत सरकार समक्ष आत्मसर्मपण गरी बोडो स्वायत्त शासित परिषद् हासिल गरेर बोडोल्याण्डको प्रगतिमा आफूलाई आत्म नियोग गरी सफल भएका
छन् । भने अल्फा तथा एन. डी. एफ. बी. आफ्नो पूर्वकै मागमा अडिग छन् । यिनीहरूले पनि वी. एल. टी. कै सिद्धान्तको अनुकरण गरे भने निश्चय नै यहाँका जनताको प्रिय पात्र बन्ने छन् भन्ने कुरामा म विश्वास राख्छु ।

१८. नेपाली साहित्यकारहरूलाई यहाँको तर्फबाट के भन्न चाहनुहुन्छ ?
नेपाली साहित्यकारहरूलाई मेरो भन्नु पर्ने के छ भने समाज, जाति, राष्ट्र र मानव हितका बारेमा ग्रन्थ रचना गरिनुपर्छ । मपाईबादलाई त्यागेर सार्वजानिक विषयवस्तुका बारेमा कलम चलाउन बेस हुनेछ । जातीय जीवनको सही चित्रणले विश्व साहित्यकारको दृष्टि आकर्षण गर्न सके मात्र हाम्रो श्रेय रहने छ भन्छु म ता ।

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 9 मङ्गसीर, 2069

लेखकका अन्य रचनाहरु