साहित्यकार डा. इन्दुप्रभा देवीसँग कुराकानी

- ॠतु आसीक

“उनलाई हेर्न धुइरो लाग्छन्
मेघ र कुइरोका कण–कण
जांगरिला मान्छेहरू
प्रत्येक विहानी
हामी अल्छे उठन नभ्याउँदै
महाकाशबाट प्रसव हुन्छन्
हाम्रो निम्ति अमृत रोटी ।”

१ अप्रेल १९६९ मा गमिरि शोणितपुर असममा बुवा पुण्य दवाडी र श्रीमती राधिका दवाडीबाट जन्मनु भएकी इन्दुप्रभा देवी एम. ए. असमिया, एम. फिल. लोक संस्कृति गवेषण विभाग, गुवाहाटी विश्वविद्यालय सोही बाट पी. एच. डी. पनि गर्नु भएको छ ।
उहाँका कृतिहरू सपनाको जरो पहिल्याउँदै कविता संग्रह (२००७), शब्द शिल्पर कारु कार्य साहित्य सम्बन्धी असमीया निवन्ध सङ्ग्रह (२०१०) असमीया भाषामा माधव कादलीद्वारा लिखित रामायण अयोध्या काण्डको नेपाली अनुवाद (२००६) ।
हरिभक्त कटुवाल स्मुति पुरस्कारद्वारा २००९ मा सम्मानित, वि. वरुवा कलेज गुवाहाटीमा अध्यापन गर्दै हुनुहुन्छ । भारतको असम प्रवासकालमा प्रा. इन्दुप्रभा देवीसँग स्वतन्त्र पत्रकार ऋतु आसीकद्वारा लिइएको अन्र्तवार्ता–

१. तपाईको जन्म कहाँ र कहिले भएको हो ?
मेरो जन्म असमको शोणितपुर जिल्लाको गमिरि गाउँमा सन १९६९ मा भएको हो ।

२. तपाईको आमा बुवा र पारिवारिक पृष्ठभूमिका वारेमा संक्षेपमा बताइदिनु हुन्छ कि ?
मेरो बुवा श्री पुण्य दवाडी गमिरि एम. भी. स्कुलका अवकाश प्राप्त शिक्षक हुनुहुन्छ । असमबाट पछि वनारसवासी हुने प्रख्यात भागवतवेत्ता ज्योतिष स्वर्गीय चुडामणि उपाध्याय (काश्यप) की कान्छी छोरी, मेरी आमा श्रीमती राधिका दवाडी शान्त स्वाभाकी र शिक्षा प्रति रुचि भएकी महिला हुनुहुन्छ । ठूला दाजु...व्यवसाय गर्नु हुन्छ । सानो दाजु दीपक स्कुलमा शिक्षक हुनुहुन्छ । उहाँको अभिनयप्रति रुचि छ । एउटा टेलिफिल्म ‘आकाशको तारा’ र एउटा भि.सि.डि. ‘दशैको टीको’मा उहाँले मुख्य चरित्रमा अभिनय गर्नु भएको थियो । मेरो भाइ रमेश कलेजमा अध्यापन
गर्दैछ । उ द्वारा लिखित ‘टाउको खोज्दै’ नामको कविता संग्रह प्रकाशित भएको छ ।

३. साहित्य लेख्ने प्रेरणा कसरी पाउनु भयो ?
घर नै मान्छेको सवैभन्दा ठूलो प्रेरणास्थल हुँदो रहेछ । मैले साहित्य लेख्ने पहिलो प्रेरणा घरबाटै पाएकी हुँ । घरमा दुइ दाज्यू भाइ र म प्रायः जसो साहित्य प्रतियोगिताको एउटा मनोरञ्जनक खेल खेल्ने गथ्यौं । कविता रचना, कविता पाठ, आकस्मिक वक्तृत्वकला आदिको प्रतियोगिता पछि बुवा–आमाद्वारा सा–सानो पुरस्कार वितरण पनि हुन्थ्यो । पुरस्कारमा कहिले पैसा पाइन्थ्यो भने कहिले पोलेको वा भुटेको मकै अथवा नरिवलका टुक्रा, पाकेका मेवाका चिरा अलिक निकै मात्रामा पाइन्थ्यो । हास्यमधुर यस्तो रमाइलो साहित्यिक परिवेश पाएपछि साहित्य कसरी छोड्ने ? स्कुल र कलेजका शिक्षकहरूले पनि मलाई साहित्य लेख्न प्रशस्त पे्ररणा दिनु भएको थियो ।

४. तपाईको दृष्टिमा साहित्य भनेको के हो ? साहित्य किन लेखिन्छ ? कसका लागि लेखिन्छ ?
मेरो दृष्टिमा मानवले आजसम्म गरेका उत्कृष्ट सृष्टिहरू मध्ये साहित्य पनि एक हो । साहित्य स्वयंमा एउटा समुद्र हो, जहाँ सत्यम् शिवम् र सुन्दरम्का छालहरू उर्लिन्छन् । समुन्द्री जीव झै कतै विचित्र अथवा भयानक परिस्थितिको वर्णन, नुृनिलो पानी झै कतै नुनिलो अभिज्ञताहरूको वर्णन भए पनि जसबाट अमृतको आशा गरिन्छ, जसको गहिराई भित्र अनुभूतिका मनीषाकामणि मुक्ताहरू छरिएका हुन्छन् ।
साहित्य रचना गर्ने कारणहरू विभिन्न जनका निम्ति विभिन्न हुन सक्लान् तर एउटा सार्वजनिक कारण हो स्रष्टाका मनभित्र जन्मिएका अनुभवहरूको आत्मप्रकाशको अभिलाषा ।
साहित्य कहिले आफ्नै लागि, आफै मनः तुष्टिका लागि लेखिन्छ भने कहिले परहितको उद्देश्य अघि राखी समाजका लागि लेखिन्छ ।

५. तपाई कस्तो किसिमको साहित्य सिर्जना गर्न चाहनुहुन्छ ?
मलाई यस्तो किसिमको साहित्य सिर्जना गर्न मनलाग्छ जसले अधिक पाठकको ह्दयलाई छोवोस र समाजलाई शुभ दिशातर्फ लान सहाय गरोस ।

६. तपाईका लागि जीवनको मूल उद्देश्य र आकांक्षा के हो ?
मेरो लागि जीवनको मूल उद्देश्य हो यसको अस्थायीत्व र निस्सारताकै बीचमा लुकेको स्थायी र सारपूर्ण अर्थ खोज्नु र जीवनको आकांक्षा हो त्यस्तो महत् अर्थ दिन सक्ने आफ्नै एउटा बाटो वनाउनु ।

७. तपाईका रचनाहरूमा जीवनप्रति लगाव÷जीवन बोध आदि कति सम्म प्रतिविम्वित
छन् ?
जीवन छ र त साहित्य पनि छ । जीवन प्रतिको लगाव÷जीवनबोध मेरा रचनाहरूमा जताततै प्रतिविम्वित भएका छन् भन्ने मलाई लाग्छ । जीवनलाई केन्द्र गरी हाम्रा कर्महरू, सपनाहरू ग्रह–उपग्रह झै घुमिरहन्छन् । त्यो केन्द्रविन्दुको आफ्नै एउटा मोहनी छ । हामी स्वतः झुक्दछौ र स्वतः त्यो झुकाव त्यो लगावले रचनाहरूलाई प्रभावित गरिरहेको हुन्छ ।

८. तपाईको वाल्यकाल कसरी व्यतित भयो ? संझिन योग्य क्षण वारे केही भन्नुहुन्छ कि ?
मेरो वाल्यकाल व्यतित भयो असमको एउटा गाउँको रमाइलो मुक्त परिवेशमा । म जहाँ हुर्किए त्यो एउटा ठूलो नेपाली गाउँ हो । हाम्रो त्यो गाउँका एकातिर भिरि मिसिङ (एउटा जनजाति) हरूको गाउँ छ भने अर्कोतिर छ असमीया गाउँ । मिसिङ असमीया र नेपाली साथीहरूसँग असमीया माध्यमकै स्कुलमा पढेर सम्प्रीतिको पाठ पढ्दै बाल्यकाल व्यतीत गरें मैले । इच्छा लाग्दा कहिले खेतमा गएर रोपाहार सित ‘धान पनि रोपें, साँदेको भोगटे खानको निम्ति अरुसित घाँस काट्न गएर कतिखेप हसियाले हात काटे, परालभित्र लुकामारी खेलेर राति हातखुट्टा चहर्याउदा ऐंया ऐया गरेर उफ्रिए कहिले, कहिले बीउ रुड्डा बनाएको चाङमा बसेर हा–हा गर्दै चरा धपाए, सिमलको फूल बटुले, गट्टी खेले, धुर खेले, तिहारमा भैलो र लिड्डो पिङ खेले, स्कुलबाट झोलामा भराएर पुरस्कारहरू ओसारे, भूमेपाथिका पैसाले हाटमा गएर इच्छा लागेको के के किनें .मुक्त गाउँमा मुक्त हावामा मुक्त मनले हुर्किएको त्यो समयलाई अझै समातिराख्न मन लाग्छ ।
स्मरण योग्य क्षण कति छन् कति । एउटा हास्यमधुर क्षणको चाँह् िउल्लेख गरौं । त्यतिखेर गाउँमा अहिलेको झै ग्यास चुल्हो पुगेको थिएन । भात चुल्होमा पाक्थ्यो । विवाह नगरेका छोरीले र वर्तमन नगरेका छोराले छोएको भात आमा बुवाहरूले खाने चलन थिएन । सानो दाजु दीपक मार्वल खेलमा सिपालु हुनुहुन्थ्यो । गाउँभरि जितेका मार्वल लिएर हिंडेपिछे गोजीमा छन्छन् बज्थे । वर्तमान पछि दाजुको अधिकारको क्षेत्र मेरो भन्दा बढी भयो । नुवाइसकेपछि जतिखेर पनि चुल्हामा चढन सक्ने । मैले एकदिन दाजुसित मार्वल माग्दा फुटेको मार्वलमात्र दिनुभयो । म माग्न गए दाजुले दिन्न भन्दै प्याट्ट पिटेर भान्साघरतिर दगुर्नु भयो । म पनि पछि–पछि लागे । चुल्हामा जलिरहेको वाँसको दाउरालाई परैवाट खुट्टाका बुढी औलाले छोएर दाजु निस्फिक्रि उभिइरहनु भयो । अरुवेला थियो भने म पनि प्याट्ट पिटने थिएँ । त्यो दिन सकिन । दाजुले बुढी औलाले झिक्दै मलाई पिटदै फेरि दाउरो छुँदै गरिरहेको बेला मलाई पनि वर्तमन गर्न सकिने छोरो हुन मन लागेको थियो । हिजो आज जनैको खोइ त्यो महन्व ?

९. साहित्यमा तपाईलाई मनपर्ने विधा कुन हो ?
साहित्यमा मलाई मनपर्ने विद्या कविता हो । कथा र उपन्यास पनि मलाई मनपर्छ ।

१०. आफू भित्र साहित्यकारर हुने सपना पाल्नु भएको थियो ? सुरु–सुरुमा साहित्य लेखन तर्फ अभिप्रेरित गर्ने प्रसङ्गहरू के थिए ?
साहित्यकार भए भन्ने मलाई अझै लाग्दैन । सपना पनि थिएन । रहरले त्यसै के के लेख्ने गर्थे–त्यति नै ।
सुरु–सुरुमा साहित्य लेख्न अभिप्रेरित ग¥यो घरले, स्कुलले । मेरो बुवा मलाई तर्क प्रतियोगितामा कसरी वोल्नु पर्छ सिकाउनु हुन्थ्यो । ठूला दाजु कविता आवृत्ति गर्न उत्साह दिनु हुन्थ्यो, केही लेख्दा संशोधन गरिदिनु हुन्थ्यो । स्कुलमा भएका विभिन्न साहित्य प्रतियोगितामा तेस्रो कारण पुरस्कृत हुन्थे । घरमा हुने प्रतियोगिताको कुरा त पहिलै उल्लेख गरिसकेकी छु । त्यही समय मै मैले घरमा अगमसिंह गिरीको युद्ध र योद्वा काव्य पढन पांए । म र भाइ दिनमा एकखेप भए पनि त्यो किताव पढ्थ्यौं । कुनै कविको (नाम भुलें) अहंकार नामको एउटा कविता सानामा प्राय नै कण्ठस्थ गाउँने गर्थे “ठेस लाग्ला अलि विस्तारै हिंड, आफ्नै खुट्टा पनि शत्रु हुन्छन्, कहिले त” पछि थाहै नपाई म आफै पनि कविता लेख्न थालेछु । पहिले असमीयामा र पछि नेपालीमा ।

११. तपाईको दृष्टिमा नेपाली साहित्यको स्थिति यसवेला कस्तो देखिरहनु भएको छ ?
नेपाली साहित्यको स्थिति मध्यम छ जस्तो लाग्छ । टी. भी.का अनगन्ती च्यानल, मोवाइल, कम्प्युटर, इन्टरनेट आदिका सुविधाले नयाँ पीढीलाई साहित्यबाट निकै पर हटाएको सत्यतालाई स्वीकार्दा स्वीकार्दै पनि प्रवीणको साथ–साथै एकमुठी उत्साही नवीन साहित्यकारहरूले साहित्यिक उत्ररणको बाटो पहिलाउँदै एक शुभ इङ्गित दिइरहेको आशाजनक स्थिति देखिदैछ । विश्व साहित्यमा त्यति चर्चित हुन नसके पनि केही मात्रामा स्तरीय साहित्यको सिर्जना भइरहेको छ ।

१२. महिला साहित्यकारका नाताले पारिजातका कृतिहरूले तपाईलाई कस्तो प्रभाव पारेको छ ?
पारिजातका प्रशंसनीय कृतिहरू छन् । सवै पढने सौभाग्य मेरो भएको छैन । शिरीषको फूल, वैंशको मान्छे र पर्खालभित्र र वाहिर पढेकी थिएँ निकै वर्ष अघि पारङ्गत कथन, व्यवस्थित र सम्वद्व वर्णन, पात्र निर्मिति आदि सवै मन पर्दा–पर्दै पनि उनले दर्शाएका जीवनको निस्सारता र अस्तित्वता भन्दा माथि चढन मन लाग्यो । कतिको प्रभावित छु म उनीद्वारा मलाई आफैलाई थाहा छैन ।

१३. पारिजातप्रति तपाईको लगाव÷झुकाव नकारात्मक आदि वारे भन्नु पर्दा के भन्नु हुन्छ ?
एउटा स्वाभाविक श्रदापूर्ण झुकाव छ पारिजातप्रति ।

१४. तपाईको दृष्टिमा अश्लील साहित्य र श्लील साहित्यको मापदण्ड के हो ?
जुन साहित्यमा वर्णनाहरू, शब्दले उतारेका दृश्यहरू लज्जास्पद हुने गर्छन्, अशिव र असुन्दरका नङ्ग्राहरूले पन्नामा कोरेका हुन्छन त्यो साहित्यलाई अश्लील मानिन्छ । सम्य समाजले जुन कुराहरू कामहरू शिष्टताको आवरणले छोप्नु मङ्गगलमय मान्दछन् । ती विषयहरू उन्मुक्त शब्दद्वारा साहित्यमा परिवेशित भए भने अश्लील साहित्यको सिर्जना हुन्छ । दुवै साहित्यलाई शिष्टताको आवरणले माप्न सकिन्छ । शिष्टताको आवरण रहुञ्जेल साहित्य श्लील र आवरण हटे अश्लील हुन्छ । तर यो मापदण्ड सवै देश वा समाजमा एउटै हुँदैन । पाश्चात्य समाजमा जुन विषयहरू श्लील भित्रै गनिन्छन् । पूर्वी देशहरूमा ती कतिपय अश्लील विषयान्तर्गत छन् ।

१५. असमेली साहित्यले भारतीय नेपाली साहित्यकमा के कस्तो प्रभाव पारेको छ ? अन्य भाषिक साहित्यको दाँजोमा असमेली साहित्यको स्थित कस्तो छ ?
असमेली साहित्य भनेर असमीया साहित्यलाई कि असमको नेपाली साहित्यलाई बुझाउन खोज्नु भएको हो स्पष्ट भएन । असमीया साहित्यको कुरा गर्नु भएको हो भने यस साहित्यको प्रभाव भारतीय नेपाली साहित्यमा निकै परेको छ भन्न खोज्छु म । विशेष गरी असमेली नेपाली साहित्यमा यसको प्रमुख प्रशस्त मात्रामा परेको छ । उल्लेखनीय केही असमीया साहित्यहरू नेपाली भाषामा अनुदित भएका
छन् । असमीया साहित्यको प्रभाव यहाँका नेपाली मौलिक साहित्यमा पनि परेको छ । भारतीय अन्य भाषिक साहित्य सित दाँज्नु हो भने असमीया साहित्य कुनै गुणा कम्ती छैन । असम भाषिक साहित्य सभा जस्तो विशाल संगठनको साथ–साथै असम लेखिका संस्था, असम लेखिका समारोह, शिशु साहित्य, ब्यास आदि अनेक साहित्यिक संगठनहरूले आ–आफ्ना शाखाहरूद्वारा साहित्य सिर्जनामा योगदान पु¥याइरहेका छन् । असमका विभिन्न पुरस्कारहरूका साथ–साथै भारतीय साहित्य एकाडेमी, ज्ञानपीठ सरस्वती आदि पुरस्कारले सम्मानित भएका छन् । यहाँका असमीया साहित्यकारहरू दुई÷चार वर्ष अघिदेखि त पुस्तक छपाउने र किन्ने होडवाजी चलेको छ । गतवर्षको र यस वर्षको उत्तर–पूर्व ग्रन्थमेला ९ल्यचतज(भ्बकत द्यययप ँबष्च० र गुवाहाटी ग्रन्थमेलामा अभूतपूर्व रूपमा पुस्तकहरू विक्रि भएका तथ्य छन् । कविता, कथा, उपन्यास निवन्ध आदि हरेक विधामा असमीया साहित्यको श्री वृद्धि भइरहेको छ ।

१६. तपाईंको लेखन ध्येय र तपाईको जीवन दर्शन वारे संक्षेपमा भनि दिनु हुन्छ कि ?
मेरो लेखनको ध्येय हो जनसेवा र साहित्य सेवा । मेरो जीवन दर्शनलाई यसरी कविता झैं लेख्न चाहन्छु ः
कुराले होइन कामले वाँचौ
अहमले होइन स्वाभिमानले वाँचौ
अनीतिमा होइन नीतिमा वाँचौ
हिंसामा होइन प्रीतिमा वाँचौ

१७. भारतीय नेपाली महिला साहित्यकारहरूमा नाम लिनुपर्दा कसको नाम लिन चाहनुहुन्छ ?
पारिजातकै नाम लिन चाहन्छु । कालात्मक श्रेष्ठता र वैचारिक उच्चता लिएको पारिजातको पारङ्गत कलम यसको मुख्य कारण हो ।

१८. महिला वर्गको शोषण उत्पीडनका लागि अश्लील साहित्यले झन्–झन् प्रभाव पार्दै गरेको परिप्रेक्षमा त्यसका विरुद्ध महिलालाई कसरी सचेत गर्दै लानुपर्ला ?
महिला वर्गको अझै पनि पिछडिएको वर्ग हो । महिलामाथि युगौंदेखि चलिरहेको शोषण उत्पीडनलाई झन् वढाउन मद्धत गरेको अश्लील साहित्यले । यसको विरुद्ध महिलाहरूलाई सचेत पार्ने दायित्व शिक्षित सजग महिलाहरूकै हो । महिला वर्गलाई उनीहरूको आत्ममर्यादा, आत्म सम्मानको वारेमा सचेत गराई उनीहरूको आत्म विश्वास जगाउने, कुनै पनि अनैतिक कार्य र शोषणका विरुद्धमा उभिन ऊर्जा दिने र युवाहरूलाई अमर्यादित भेषभुषाको परिणामवारे सजग गराउने जिम्मेवारी गाउँ–गाउँका शाहर–शहरका महिला समितिहरूले जिम्मा लिएको खण्डमा महिलाहरू शोषण, योैन उत्पीडन आदिबाट निकै मुक्त हुने थिए ।

१९. आफूले रचना गरेका कृतिमा कुन कृतिलाई सवभन्दा वढी मनपराउनु हुन्छ ?
मेरा रचना कृति नै पो कति छन् ? ती भित्रमा मलाई मेरो कविता संग्रह “सपनाको जरो पहिल्याउँदै” नै वढी मन पर्छ ।

२०. नेपाली साहित्यकारहरूमा कुन साहित्यकारको रचनाले वढी ह्दय छोएको छ ?
युद्ध र योद्धाद्वारा अगमसिंह गिरीले सानैमा यसरी ह््दयमा छाप वसाए, अझै त्यो छाप जस्ताको त्यस्तै छ । त्यही छाप माथि उपन्यासकार लीलबहादुर क्षेत्री र कवि अविनाश श्रेष्ठका छापाहरू छन् ।

२१. आफ्नो जीवनमा सवभन्दा वढी प्रभाव पार्ने पुस्तक कुन हो ? प्रभावका कारण के हुन सक्छ ?
सवभन्दा वढी मलाई प्रभावित गर्ने पुस्तक युद्ध र योद्धा हो । काव्य विषयलाई आकर्षणीय काव्यिक शैलीद्वारा सुन्दर उपस्थापना गरिएको हुनाले नै होला नेपाली भाषा र साहित्यप्रति यस पुस्तकले मलाई सानैमा अभिप्रेरित गरेको हो ।

२२. एक थरिका मान्छे साहित्यबाट वाद मुक्त हुनपर्दछ भन्छन कोही साहित्यलाई जीवनसँग गाँसेर लान सक्रिय छन् । तपाई के भन्नु हुन्छ ?
वादमा विश्वस्तहरूले जीवनलाई अलग्गै छोडेका छन् र ? मलाई लाग्छ, साहित्यकारहरूका निम्ति वाद मुक्त हुनु वा नहुनु भन्दा बढी महत्वपूर्ण कुरा हो साहित्यलाई वास्तव पृष्ठभूमिमा जीवनसँग गास्नु र दुवैको गुणात्मक श्रीवृद्धि गराउनु ।

२३. साहित्य र कलाले वर्गीय स्वरूपको प्रतिनिधित्व गरिरहेको हुन्छ कि हुँदैन ? संक्षेपमा भन्नुपर्दा कसरी भन्नु हुन्छ ?
साहित्यकार कलाकार कुनै वर्ग वा समाजबाट पृथक सत्ता होइनन् । तसर्थ साहित्य वा कला सार्वजनिक विषय भएता पनि वर्गीय स्वरूपलाई कता न कता प्रतिनिधित्व गरि रहेकै हुन्छन् ।

२४. असमीया साहित्यकारहरूसँगको सामीप्यता वारे आफ्ना अनुभवहरू संक्षेपमा बताइदिनु हुन्छ कि ?
असमीया साहित्यकारहरूसित एउटा सु–सम्पर्क छ । म असमिया विभाग मै अध्यापन गर्दछु । धेरैजना साहित्यिक र भाषाविद् मेरा शिक्षागुरु नै हुनुहुन्थ्यो । प्रख्यात कवि साहित्यिक दिवगंत निर्मलप्रभा वरदलै भाषाविद् डा. प्रमोदचन्द्र भट्टाचार्य, डा. नगेन ठाकुर, लोक संस्कृतिविद डा. वीरेन्द्रनाथ दत्त, डा. नलिनीधर भट्टाचार्य, नीलमणी फुकन, मीरा ठाकुर, कथाकार उपन्यासकार निरूपमा वरदलै, डा. लक्ष्मीनन्दन वरा, अध्यापिका अरूपा पटङ्गीया कलिता आदि अनेक जेष्ठ वर्गका साथ साथै आफ्ना सामसामयिक अनेक असमीया साहित्यकाहरूसितको घनिष्ठ सम्पर्कले असम लेखिका संस्था, साहित्य भारती शिपा (अर्थ जरो) आदि असमीया साहित्य संगठनसित रहेको सदस्यताको नाताले र यहाँ प्राय भइरहने असमीया कवि सम्मिलन वा वहुभाषिक कवि सम्मिलनले साहित्य विषयका विभिन्न संगोष्ठिहरूले असमीया र नेपाली दुवै भाषाको साहित्य रचनामा पनि अभिप्रेरित गरि रहेको छ ।

२५. साहित्यमा प्रेम र यौनका वारेमा कसरी व्याख्या गर्नु हुन्छ ?
प्रेम छ र त जीवन छ, जीवन छ र त साहित्य छ । स्वच्छन्दतावादी प्रख्यात असमीया कवि लक्ष्मीनाथ वेजवरुवाले प्रेमको सर्वव्यापी प्रभावलाई व्यक्त गर्दै लेखेका थिएः
“प्रेम त घुरिसे भूमण्डल
प्रेम त फुलि से शतदल” अर्थात प्रेममा भूमण्डल घुमेको छ । प्रेम मै शतदल फूलेको छ । साहित्यमा प्रेमको स्थान हुनु नै स्वाभाविक मानिन्छ । स्वच्छन्दतावादी कविहरूका निम्ति प्रेम साहित्यको एउटा मुख्य उपादानै हो ।
प्रेम जस्तै जीवनसित जडित एउटा विषय हो यौन विषय यथार्थवादी धेरै साहित्यकारहरूले फ्रायडको यौन मनस्तत्वलाई अघि राखेर प्रेमको नाममा लुकेको यौन दिशालाई झलकाएको देखिन्छ । साहित्यमा तर यौनको वर्णनलाई त्यहाँसम्म मात्र स्वीकार्न सकिन्छ जहाँ सम्म त्यस वर्णन श्लीलताको लक्ष्मण रेखाभित्र हुन्छ ।

२६. संसारका विभिन्न भेगमा छरिएका नेपाली वाङमय साहित्यकारहरूको एउटा अन्तराष्ट्रिय स्तरको संगठनको आवश्यकता कतिको महसुस गर्नु भएको छ ?
यथेष्ट महसुस गर्दछु । नेपाली वाङमय साहित्यकारहरूको एउटा अन्तर्राष्ट्रिय स्तरको संगठन भए सवैतिरका नेपाली साहित्य र साहित्यकारसित परिचय सम्भव पर हुने थियो र एकजुट भएर नेपाली भाषा साहित्यलाई विश्वस्तरमा पु¥याउने कोशिस गर्न पनि सहज हुने थियो ।

२७. नेपाली वाङमय साहित्यकारहरूलाई के सन्देश दिन चाहनु हुन्छ ?
साहित्यको समुन्द्रमा भरखरै पौडने प्रयास गर्दैछु । के सन्देश दिनु मैले ? त्यही पनि लाग्छ समाज पक्षीय गुणत्मक स्तरीय साहित्यको अभाव मेटाउने दायित्व वाङमय साहित्यकारहरूको हो । गहन अध्ययन चिन्तन, मनन र लेखनद्वारा साहित्यको सेवा गुर्नका साथ–साथै समाजको मार्ग दर्शक बन्नु उनीहरूको कर्तव्य हो ।
आदरणीय डा. इन्दुप्रभा देवी जी ! यहाँको व्यस्तता वावजुद पनि अन्र्तवार्ताका लागि अमूल्य समय प्रदान गर्नु भएकोमा आभार व्यक्त गर्दछु ।
धन्यवाद । म जस्ती साधारण साहित्यकारको अन्र्तवार्ता लिएर मलाई प्रत्यक्ष प्रेरणा दिएकोमा म पनि तपाईप्रति आभारी छु ।

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 2 मङ्गसीर, 2069

लेखकका अन्य रचनाहरु