सुनिल दा अलविदा

- चन्द्र घिमिरे

‘यो खबर साँचो नहोस चन्द्र भाइ, तर सत्यता बुझ्नु त !’ अघिपछि गल्न नमान्ने अभि सुवेदी शर फोनमा गलेको सुनेँ । सुन्नासाथै म काँपी सकेको थिएँ ।

त्यो शुक्रवारे छब्बिस अक्टोबर मलाई बिहानै चहरायो । त्यैबेला म अपाङ्ग थिएँ नेट नपाएर । टिको लाउने एजेण्डा लिएर ससुराली पुगेको म ज्वाइँ टिको छाडेर त्यो समाचारको सत्यता खोज्न लागेँ । गुगल गर्दा मोनिटर समाचारले भरिए । सुनिल गंगोपाध्याये अर्थात सुनिल दाले धर्तीबाट त्यागपत्र दिएछन् । म भक्कानिएँ । रुन्चे–रुन्चे भाको मेरो हुलिया हुलबाट छिपाउनु जरुरी ठानेँ । लुसुक्क म छत तिर उक्लिएँ । फोनमा अभि दाइसँग लत्रेको स्वरमा स्विकारेँ । ‘हो रैछ दाइ, सुनिल दा गएछन् ।’ घट्टेकुलोको त्यो छतमा मेरा जोगी–आँसु एक्लै बर्रर ओर्ले ।

छतबाटै शेखर खरेलजीलाई मोबाइलमा सुनाएँ त्यो न्यूज । मलाई पछुतोले छोप्यो एक्कासी । शेखरजी गएको अगष्टमा कोलकाता आउँदा वहाँलाई सुनिल दासँग भेटाउन नपाएकोमा । दा त्यो बेला कोलकाता बाहिर थिए ।

कोलकाता अहिले शोकमा छ । बंगलादेश समेत मर्माहत छ । सुनिल गंगोपाध्यायेलाई गुमाएर । तर्कनाले मलाई लखेटिरहेछ । दाले मोबाइल अबदेखि उठाउने छैनन् । र मलाई भन्ने छैनन् ‘आइ एम इन अ सोलिच्यूड फर माइ न्यू राइटिङ’ । उनलाई अगष्टको कुनै दिन कल गर्दा लेखनका लागि शान्तिनिकेतनमा भूमिगत बसेको सुनाउन भ्याएका थिए । यो त्यो बेला थियो जुनबेला म सुनिल दा र बिट्स कवि एलेन गिन्सबर्गमाथि एउटा फिचर लेख्दै थिएँ । बेला–कुबेला उनलाई कोट्याउने गर्थेँ । उनको गिन्सबर्गसँगको दोस्ताना स्मरणबाट थप सर्दम पाइने आशले ।

मलाई अर्को पछुतोले पनि पोल्दैछ । ‘नागरिक’ दैनिकको २८ जुलाइ २०१२ मा छापिएको ‘कोलकाता, सुनिल दा र गिन्सबर्ग’ फिचरको बंगाली संस्करण दाको हात लाउँछु भन्ने मेरो वाचा थियो । कच्चा ठहरिएँ, त्यो दिनै भ्याइन । सिलिगुढीका चर्चित युवा कवि राजा पुनियानी यसको अनुवादमा लागेका थिए ।

सुनिल दा गत सेप्टेम्बर २०१२ मा काठमाण्डौ जान हौसिएका थिए । साहित्यिक महोत्सवमा वक्ताका हैसियतले । भनि बस्थे, ‘एनी टपिक अफ लिट्रेचर आइ विल स्पिक अन, बट नो पोलिटिक्स’ । राजनीति र विवादबाट तर्किन खोज्दै थिए । एकदिन सुनाए – म एक्लै जान नसक्ने भएँ बिमारले गर्दा । अजित बरालजीसँग काठमाण्डौमा सल्लाहा मिलाएँ । दा र स्वाती भाउजू दुवैका लागि टिकट र बसाइको व्यवस्था भो । दम्पती जाने भए । काठमाण्डौ जानु पाँच–सात दिन जति बाँकी थियो क्यार । फोनबाट दाको आवाज आयो ‘म जान नसक्ने भएँ । डाक्टरले नजा भन्यो । बोर भो ।’ नमज्जा लागेपनि स्विकार्नुको अर्को विकल्प थिएन ।

काठमाण्डौमा सेप्टेम्बर २०१२ को साहित्य महोत्सव चलिरहँदा निकैले बोर माने । सुनिल दा सेड्युल्डमा थिए । तर स्टेजमा थिएनन् । नेपाली मिडियामा थिए । तर काठमाण्डौमा सशरीर थिएनन् । कसै कसैले त उनी नआउनुलाई महोत्सवका आयोजकको कमजोरीका रुपमा पनि देखे । गत २३ सेप्टेम्बरमा टुँगिएको महोत्सवको ठ्याक्कै एक महिना अर्थात २३ अक्टोबरका दिन स्वयं दा नै बिते । आएका भए उनले काठमाण्डौलाई यसबेला अझै रुवाउने रैछन् ।

‘मलाइ पनि चन्द्र भाइ यसैगरी लेख्दा लेख्दै मर्न मन छ हौ ।’ अभि शरको रहर सुनेँ । शरलाई सुनिल दा नवमीको बिहानको रात बित्नु अघि के गर्दै थिए, कथा हाल्दै थिएँ । अचम्म त, अठहत्तर वर्षे तन्नेरी दा केही घण्टा अघिसम्म गडगडाएर लेख्दै थिए रे । प्रतिष्ठित बंगाली साहित्यिक जर्नल ‘देश’ का लागि । मृत्यु पछि उनको टेबलबाट लेख्दा लेख्दैका अधूरा कथा र लेखहरु फेला परे । केटाकेटीका लागि लेख्दै गरेको ‘बाल महाभारत’ अपूरो रह्यो । मृत्युसँग लुकामारी खेल्दै दाले लेखि रहे । जबसम्म उनलाई मृत्युले पुरै रनआउट गरेन ।

‘म सारै व्यस्त छु...दुर्गापूजाका लागि लेख्न’ । पटक–पटक मलाई सुनिल दाले सुनाएको कानमा मौरीेझैँ बजिरहन्छ । उनलाई भरसक नबिथोल्न चाहन्थे । पछिल्ला बिमारी दिनहरुमा । मलाई थाहा थियो बँगालमा दुर्गापूजा साहित्यिक पर्व पनि हो । दुर्गापूजा विशेषाँकमा साहित्यिक रचना छाप्न र लेख्न सबै कस्सिन्छन् । बाबजूद यी घरिघरि सुनिल दा लेखनबाट फुत्किन्थे । र, सार्वजनिक चर्चामा तानिन्थे । कैले जादवपुर विश्वविद्यालयको प्रोफेसरलाई कार्टुन आरोपमा पक्रिएको मुद्धामा । कैले तस्लिमा नसरिनले उनीमाथि लगाएको आरोपमा । यी वृद्ध शिखर पुरुषले जीवनको उत्तरार्धमा अपमान सहनु परेकोमा पिरिन्छन सिक्किमे साहित्यकार बिरु वाँगदेल ।

एकदिन उनले मुढो जस्तो सुनिएको घुँडो देखाए । ‘दा, ठिक भइ हाल्छ ।’ उनमा आत्मबल भर्ने जमर्को गरेँ । मलाइ दशैँको लगत्तै अघि थाइलैण्ड र लाओस जानु थियो । बाह्र–चौध दिन बाहिर रहने जानकारी फोनबाटै दिएँ । दुर्गापूजाका लागि शुभकामना पठाएँ । फर्कि आएपछि जमेर बात मारौँला भने । म फर्किनु अघि उनी हिंडे ।

हालको बंग्लादेश फरीदपुरमा १९३४ मा जन्मेर सानैमा कोलकाता सरेका सुनिल दाले आफ्नो अध्ययन र लेखनभूमी कोलकातालाई बनाए । कोलकाता विश्वविद्यालयबाट स्नातकोत्तर गरेका यिनले पछिल्ला दिनहरुमा साहित्यिक प्रतिष्ठानहरुको नेतृत्व गर्दै थिए । साहित्यिक अकादमीको अध्यक्ष भएर अभिभावकत्व दिँदै थिए । ज्यादै खुला र उदार विचारका मानिने उनले मणिपुरी लगायत अन्य भारतीय भाषाहरुले एक्लिएको महसूस गर्नु नपरोस भन्थे ।

सुनिल दा सप्पै विधामा विछट्टै रोज्जा थिए । कविता, छोटा कथा, उपन्यास, नियात्रा, निबन्ध, बाल साहित्य, फिचर, नाटक के मात्रै लेखेनन उनले ! दुइ सय भन्दा बढी पुस्तक लेखेका दाले ‘पैलो पे्रम’ चाहीँ कवितैसँग भन्थे । यो पे्रमसँग उनले कैलै पारपाचुके गरेनन । बंगाली साहित्यकार राम कुमार मुखोपाध्याय उनलाई टेगोर युगपछिका सबैभन्दा ‘भर्सेटाइल म्यान’ भन्न मन पराउँछन् ।

सुनिल दा तिनै थिए जसले युवाहरुका लागि ‘कृतिबास’ काव्य जर्नल शुरु गरेका थिए । पचासको दशकको शुरुवाती दिनदेखि । सँधै संस्थापनाको विरुद्धमा भिड्यो यो बंगाली साहित्यिक जर्नल । त्यसैले नयाँ प्रयोगवादी पुस्ताको प्लेटफर्मका रुपमा चर्चित बन्यो यो जर्नल । बाँग्ला साहित्य टेगोरको रिजीमबाट प्रयोगवादतर्फ उन्मुख भयो । यो प्रयोगवादी मुहिम साठीको दशकदेखि सुनिल दा, शक्ति चट्टोपाध्याय र बुद्धदेव बसुहरुले चलाएका थिए । आफ्नै विशिष्ट अर्थोडक्समा रमेको बाँग्ला साहित्यमा आँटका साथ यो टिमले आक्रमकता, लज्जाविहिनता र प्रदर्शनवाद (एक्जीविष्निष्ट) लाई हुल्यो । यो जर्बजस्त परिवर्तन ऐलेपनि शक्ति–सुनिल फेनोमेनाका रुपमा सम्झिइन्छ ।

‘निरा’ र ‘निखिलेस’ सिरिजमा दाले लेखेका कविताहरु युवा–युवतीमाझ उत्पातै हिट रह्यो । उनको शवयात्रामा शोकमग्न युवा युवतीहरुले बाटाभरि कविता गाएर उनको महाप्रस्थानको पीर बिसाए । ‘आनन्दलोके...(सुखीसंसार)’, ‘आगुनेर पोरोशमोनी (प्रकाशको स्पर्श)’ र ‘तुमी निर्मलो कोरो (मलाई पवित्र बनाउ)’ जस्ता लोकप्रिय रविन्द्रगीत शवयात्राभरि शोकाकुल भीडले गाइरह्यो ।

सुनिल दा बाँग्ला साहित्यमा जीवनको अन्तिम घडिसम्म सुपरस्टार बनि रहे । कैयन गनिएका लेखकहरु जीवनको उत्तरार्ध कालतिर उमेरमा लेखेको भरमा मात्र बाँच्छन् । दालाई भने छ दशक लामो साहित्यिक यात्राले लोकप्रियताको बिलबोर्डबाट कहिलै ओरालेन । एलेन गिन्सबर्गको गहिरो दोस्त दालाई गिन्सबर्गले कविताहरुमा प्रेमपूर्वक उभ्याएका छन् । ‘सेप्टेम्बर अन जेस्सोर रोड’ र ‘थिङ्स आइ विल नट डुु’ मा उनी वर्णित छन् ।

भनिन्छ, सुनिल दासँग अनेकन सुन्दर विरोधाभासहरु थिए । ‘निरा’ र ‘निखिलेश’ काव्य सिरिज लेखेर उनले प्रेमको नथाकि बयान गरे । ती सिरिजबाट प्रभावित भएर स्थापित कवि भएको लर्को बांग्ला साहित्यमा निकै लामो छ । प्रेमका यी हरफनमौला कविको राजनीतिक चेतना माक्र्सवादी पट्टी कोल्टेको थियो । त्यसैगरी, उनले एक नामले हैन अनेकन नामले लेखे । कैले निल लोहित, कैले सनातन पाठक त कैले निल उपाध्यायका नामले लेखे । रैपनि पाठकले उनलाई प्रेम गरि छाडे । विरोधाभाषको अर्को पाटो थियो उनको जीवनशैली । पछिल्लो पन्ध्र वर्ष गहिरो सँगत गरेका लेखक राम कुमार मुखोपाध्याय थप्छन् दा बाहिरबाट हेर्दा बोहेमेयनिष्ट (अर्थात सबै सामाजिक मूल्य र परम्परा अस्विकार्ने) थिए । तर दैनन्दिन जीवनमा यीनी ज्यादै अनुशासित थिए ।

बिट्स पुस्ताका अग्ला उपन्यासकार ज्याक केरुआकबाट प्रभावित भएर उनले पैलो उपन्यास लेखे । १९६६ मा लेखेको त्यो उपन्यास थियो ‘आत्मोप्रकाश’ । निकै विवाद झेलेको सो उपन्यास प्रकाशन हुनासाथ दा कोलकाता छाडेर अन्तै लागेका थिए रे । सो उपन्यास कम्तिमा हल्लिएको टेबल अड्याउन उपयोगी हुनेछ भन्थे अरे । सबै आशंकालाई चिर्दै सो उपन्यासले उनलाई ठूलो नाम दिलायो । उत्साही दाले त्यसपछि लगालगी उपन्यास बजारमा ओइराए । प्रसिद्ध फिल्म निर्देशक सत्यजीत रे र मृणाल सेनले उनका उपन्यासमाथि फिल्म बनाए । सो मध्ये रेले बनाएको ‘प्रतिद्वन्दी’ फिल्म निकै विवादमा तानियो । एउटी नर्सको यौन जीवनको कथावस्तु बोकेको यो फिल्मले अदालत पनि धाउनु प¥यो ।

सुनिल दा मले रोय चौधरीहरुले चलाएको भोकवाद (हँग्रीइज्म) लाई सघाउन पनि अघि सरे । साठीको दशकको शुरुवातमा चम्केको यो साहित्यिक आन्दोलन १९६५ सम्म निकै जमेको थियो । पछि जब यसका अभियन्ताहरुले मुद्धा बेहोर्नु पर्ने दुर्दिन आयो । लेखकिय स्वतन्त्रताका पक्षपाती सुनिल दा बचावका लागि गवाहीका रुपमा अदालतमा उभिए ।

सुनिल दाले उपन्यास सिरिज मार्फत एक सजीव र लोकप्रिय पात्र दिलाए । त्यो हो ‘काकाबाबु’ । यसले दालाई प्रसिद्धिको अर्को सगरमाथा आरोहण गरायो । असीको दशकमा छापिएको ‘सेइ सोमोय’ (ती दिनहरु) उपन्यासले लोकप्रियताको थुप्रै रेकर्ड भत्कायो । बिस–बिस वर्षसम्म यो उपन्यास वेष्ट सेलर रह्यो र यो श्रंखला जारी छ । ‘पूर्वो पश्चिम’ उपन्यासले विभाजन पश्चातको भारतलाई तीन पुस्ताको नजरबाट केलाइ दियो ।

समय र समाजले मागेको साहित्य पस्कने खूबी सुनिल दामा बेहिसाब थियो । बाबरी मस्जिदको घट्नापछि चिरा परेको भारतीय समाजमा केही समाजिक अभियन्ताहरु सकारात्मक सोच बढाउन लम्किए । यसै मेसोमा फिल्म निर्माता गौतम घोषलाई बढ्दो असहिष्णुतामाथि कुनै फिल्म बनाउने सोच फु¥यो । ठ्याक्कै सोही बेला ‘ललन फकिर’ पात्रलाई अघिल्तिर राखेर सुनिल दाले नयाँ उपन्यास लेखि दिए । घोषले सोही कथालाई टिपेर समाजिक सहिष्णुता र एकताको सन्देशमूलक फिल्म पस्किए । यो देख्दा, थिलथिलो भाको संक्रमणकालीन ऐलेको नेपाली समाजले सृजकहरुबाट त्यस्तै खाल्को पथप्रदर्शक साहित्य र फिल्महरु कुरे जस्तो लाग्छ ।

सुनिल दा कविका रुपमा जन्मे, कविकै रुपमा बाँचे र कविकै रुपमै विश्रान्ति लिए । चिसिएको कोलकाताको मेरो खिड्कीबाट बाहिर शारदीय घाममा टल्केको आँपको रुख हेर्दै तरङ्गिन्छु । यसबेला सुनिल दाको निरा कहाँ होली ? निखिलेश के गर्दै होला ? दाको गरियाहाट कोलकाता स्थित नीजि निवासको बैठककक्षमा टाँगिएकोे पेन्टिङ ‘गितारवादक’ केटीले अब कस्लाई गितार सुनाउँदी हो ?

सुनिल दाको कविता ‘देख्छु मृत्यु’ को एक सान्दर्भिक अंशले मलाई कन््याउँछ–
“...मृत्युको नगिच म गाको थिइन, एकपल्ट नि
र पनि ऊ किन छद्मभेषमा
घरि–घरि देखा पर्छ...”









प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 2 मङ्गसीर, 2069

लेखकका अन्य रचनाहरु