साहित्यकार डा. शान्ति थापासँग कुराकानी

- ॠतु आसीक

“म त वदनाम भएँ तिम्रो माँयामा
भन यस्तो के कुरा छ हजुर
तिम्रो माँयामा”

आमा यशोदा देवी र बुवा कालु थापाबाट माधव देव पथ दुर्गा सरोवर गुवाहाटीमा जन्मनु भएकी शान्ति थापा भारतीय नेपाली साहित्यमा आफ्नो विशिष्ट ठाउँ बनाइ सक्नु भएको छ । भारतीय नेपाली महिला साहित्यमा डा. शान्ति थापालाई किनारा लाएको खण्डमा भारतीय नेपाली साहित्य लङ्गडो हुनेछ । उहाँलेChanging Values of woman's live in Ajenya's novel मा पी.एच.डी. गर्नु भएको छ ।
उहाँका मौलिक कृतिहरूमा आवर्तन कथा सग्रह (२००७) माँया गीत संग्रह (२००४), मोहनी डट कम उपन्यास (२००९) हुन् । नामघरे, अस्तराग, लोहित घाँटी को कहानियाँ आदिको अनुवाद तथा सम्पादन गरि सक्नु भएको छ । हाम्रो ध्वनी मासिक पत्रिका २००१ देखि सम्पादन गर्दै हुनु हुन्छ ।
डा. शान्ति थापाको सक्रियतामा गुवाहाटी विश्व विद्यालयमा नेपालीमा एम. ए. स्वअध्ययन सामग्री २०१०) तयारी भएका छन् । विभिन्न विधाका लागि विभिन्न क्षेत्रबाट पुरस्कारले पुरस्कृत भइसक्नु भएको छ । असम प्रवासकालमा स्वतन्त्र पत्रकार ऋतु आसीकद्वारा डा. शान्ति थापासँग लिइएको अन्र्तवार्ता–

१. तपाई जन्मिएको परिवेश, जन्मिएको सामय वारे भन्नुपर्दा कसरी भन्नुहुन्छ ?
म जन्मिएको परिवेश अति शान्त र सौहार्दपूर्ण रहेको थियो । मेरा स्व. बाबा परदेशी हुनाले हामी हजुर बा का (आमातिरका) घरमा बस्थ्यौं । पुलिस विभागबाट सेवा निवृत भएर मेरा हजुर बा स्व. नरबहादुर ठकुरी कामाख्या मन्दिरको विपरीत पहाडी भेगमा गौ पालन र खेती गर्नुहुन्थ्यो । हाम्रो घर गोठाला खेतालाले भरिएका हुन्थे–हजुर बा ‘ठकुरी महाजन’ का नाउँले चिनिन्थे–अनि त्यस्तो परिवेशमा म एकजना नातिनी–तपाई आफै महसुस गर्न सक्नुहुन्छ–म कति बढी पुल्पुलिएकी
थिएँ होला ।

२. बुबा आमाको वारेमा के भन्न चाहनु हुन्छ ?
बाबा र आमा दुवै भूतपूर्व सैनिकका सन्तान । बाबा बुढाथोकीका छोरा । उनी त्यति बेलाका न्बललयल म्गलपभचथि ऋय। बलम ीतम। मा मेकानिकल सहायक पदमा कार्यरत थिए पछि मेकानिकल ओवरसियरको पदमा सेवा निवृत भएका हुन् । उनलाई कम्पनीका ठूलासाना सवै कर्मचारीले सम्मान गर्थे । पछि उनको सीप देखेर ‘विश्वकर्मा’ भन्थे । म एकमात्र छोरी हुनाले उनको ‘आँखाको नानी’ थिएँ र उनी मलाई ‘नानु’ भनेरै डाक्ने गर्थे । आमा मेरी मल्ल ठकुरीकी छोरी, देख्नमा बिछट्टकी राम्री तर उनले स्कुली शिक्षा प्राप्त गर्न पाइनन् । पछि आफ्नै स्वअध्ययनमा रामायण, देवी भागवत स्वस्थानीको व्रत कथा पढ्न सक्ने भइन् । उनले औपचारिक अध्ययन गर्न नपाएकाले म र मेरा दुवै भाइहरूलाई स्नातोकोत्तरसम्म अध्ययन गर्न लागाएर आफ्नो धोको मेटाइन् । उनी मेरा दृष्टिमा आँटिली योद्धा हुन् । हाम्रो पढाईको मामलामा उनी कुनै पनि सम्झौंता गर्न तयार भइनन्् ।

३. तपाईको वाल्यकाल र त्यसवेलाको परिवेशको स्थिति वनौट वारे संक्षिप्तमा वताइ दिनोसन् ?
मेरो बाल्यकाल हजुरबा र हजुर आमाको पुलपुल र आमाको हिटलरे व्यवस्थामा बितेको हो । ३ वर्षको उमेरबाटै विहान एकजना र बेलुकी एकजना गुरुको तत्वाधानमा घरमै अध्ययनको क्रम थालिएको हो । उति बेला ७ वर्ष तलका बालक बालिकालाई औपचारिक अध्ययनको सुविधा थिएन । त्यतिञ्जेल हजुर बा देखि दन्त्य कथा, हजुरआमादेखि लोकगीत, संस्कार गीत, रामायण सुनिसकेकी थिएँ । मेरा हजुरबाले वर्षमा एकपल्ट बडो धूमधामसित सत्य नारायणको पूजा गर्नुहुन्थ्यो । रातभरी जाग्राम बस्दा भजन कित्र्तन हुन्थ्यो, नाचगान हुन्थ्यो । हजुर बा झाक्री हुनाले घरमा हेराउने–उपचार गराउनेहरू प्रायः जसो आइरहन्थे ।

४. वाल्यकालका सम्झिन लायक क्षणहरू केही छन् ?
वाल्यकालमा मलाई ‘टम ब्याय’ भन्थे । स्कुलको खेलकुदमा म भाग लिने
गर्थे । स्कूल ‘गाइड’ को टीम लिडर थिएँ । को एजुकेसन थियो हाम्रो स्कुलमा–उस्तै पर्दा म केटा सहपाठीहरूलाई कुटिदिन्थें । पछि सरहरूले मलाई ‘विद्यालय प्रार्थना’मा राखेका थिए ।

५.वाल्यकालका तपाईका केही साथीहरूसँगको समेत चर्चा गर्न चाहनुहुन्छ ? ती संगतले आफूलाई गर्वानुभूति महसुस गर्नु भएको छ ?
वाल्यकालका मेरा धेरै संगीसाथीहरूसित अहिले पनि सम्पर्क छ– टिफिन टाइममा हामी एकआर्काका टिफिन बाँडी खान्थ्यौं अनि कि त कब्बडी खेल्थ्यौं कि साइकल कुदाउन जान्थ्यौं । ती क्षणहरू स्वर्णिम क्षण थिए, मलाई अहिले सम्झदा गर्व लाग्ने गर्छ कारण मेरा सहपाठीहरूमा सवै जातजाति र भिन्न भाषा भाषीहरू थिए र मलाई धेरै भाषा, संस्कृति र संस्कार जान्ने बुझने मौका मिलेको थियो ।

६. तपाईले विद्यावारिधी गर्नु भएको विषय के होला ?
Changing Values of woman's live in Ajenya's novel

७. तपाईको जीवन दर्शन वारे वताउन चाहनु हुन्छ ?
जिन्दगी जिसे कहते हैं जादूका खिलौना है
मिल जाए तो मिट्टी है खो जाए तो सोना है ।

८. साहित्यतिर कसरी आकर्षित हुनु भयो ?
वाल्यकालदेखि नै चन्दामामा ‘नंदन’ पत्रिकाहरू पढ्ने गर्थे । सन् १९७० मा कवि नवसापकोटा हाम्रो परिवारमा ज्वाइँ बन्न आइपुगे । उनको घरमा जाँदा कितावहरूको आलमारीले मलाई आकर्षित पा¥यो र मैले भिनाज्यूसित ती किताव पढेने अनुमति मागें । उनले मलाई एन फ्रेन्कको डायरी (नेपालीमा अनूदित–अनुवाद–गीता उापाध्याय) पढ्न दिनुभयो । त्यसरी किताप पढ्ने वानी बस्यो र सहित्यप्रति आकर्षित भएँ । पछि गीत गाउने सिलसिलामा गीत लेखन प्रारम्भ भयो र सुस्त सुस्त साहित्यका अन्य विधातिर अकार्षित बन्दै गएँ ।

९. साहित्यतिर अघि बढ्न प्रेरित गर्ने व्यक्ति प्रति दुइशब्द भन्नुहोस न ?
साहित्यतिर अघि बढ्न प्रेरित गर्ने व्यक्तिहरूमा कवि नव सापकोटा, अविनाश श्रेष्ठ स्व अनुराग प्रधान (सम्पादक, हाम्रो ध्वनि) र भीमलाल सापकोटा हुनुहुन्छ ।

१०. तपार्इंलाई मन पर्ने विधा कुन हो ?
मलाई मन पर्ने विधा भनेको कविता हो ।

११. कविता विधालाई कसरी हेर्नुभएको छ ?
कवितालाई हेर्न बुझ्न त्यति सजिलो कहाँ छ र ? तापनि मेरो दृष्टिमा कविता कतै कोमल अनुभूतिको बाहक, कतै खुकुरीको धारझैं धारिलो, कतै रगतझैं प्राणवन्त, कतै बाँसुरीको मीठो धून त कतै विस्तीर्ण फाँटझैं गम्भीर हुन्छ ।

१२. तपाईंको विचारमा साहित्य भनेको के हो ? साहित्य किन लेख्नुहुन्छ ? साहित्य कसका लागि लेख्नुहुन्छ ?
साहित्य भनेको हित साधन गर्नु हो । सामाजिक दायित्वबद्धता पूरा गर्न नै लेखिन्छ अनि जीवनका लागि लेखिन्छ ।

१३. नेपाली साहित्यको सुदूर भविष्य कस्तो देख्नुहुन्छ ?
सुनिश्चित परिकल्पना अनुरूप अघि बढ्दा नेपाली साहित्यको भविष्य
उज्ज्वल छ ।

१४. गोर्खाल्याण्ड राज्य भनेर आन्दोलन घनिभूत भएर अगाडि बढिरहेको छ आखिर भारतीय नेपालीको हैसियतले के भन्न चाहनुहुन्छ ?
माग कायम गर्न सके सबैलाईझैं निश्चित रूपमा मलाई पनि खुसी लाग्नेछ ।

१५. भारतको आठौं अनुसूचीमा नेपाली भाषाले मान्यता पाएको सन्दर्भ एकातिर छ भने अर्कोतिर गोर्खाभाषाको स्वर अलाप्नुलाई के भन्न चाहनुहुन्छ ?
भारतको संविधानको आठौं अनुसूचीमा नेपाली भाषा अन्तर्भूक्त हुनु गर्वको कुरो हो । गोर्खा भाषाको माग कतिको जायज हो यसबारे म अन्योलमै छु ।

१६. गोर्खा भाषा र नेपाली भाषाको साध लगाउनुको तात्पर्य के होला ?
क्षुद्रः कतिपयका स्वार्थमा निम्ति जाति दुई फ्याक पार्नु ।

१७. असमका विभिन्न भेगमा नेपाली जातिको हत्या प्रसङ्गलाई कसरी हेर्नु भएको छ ?
असमका विभिन्न भेगमा नेपाली जातिको मात्रै हत्या भएको होइन, यसमा अरु जाति पनि उतिकै परेका छन् । कुनै पनि हत्या अमानवीय हो । हाम्रो क्षेत्रमा हाम्रो जनसङ्ख्या कम हुनु हो । यस प्रसङ्गमा हाम्रा प्रतिनिधिहरूले हत्याकाण्ड क्षेत्रमा पुगेर सहाय सहयोग गर्नका साथ सरकार समक्ष तीव्र प्रतिवादको स्वर उराल्नुका साथै उनीहरूको सुरक्षाको माग गरिसकेका छन् ।

१८. भारतीय नेपाली साहित्यकारको काँधमा भारतीय नेपाली जातिको पहिचानलई उजिल्याउनका लागि अझ बडी मिहिनत गर्नुपर्ने कतिको महसुस गर्नुभएको छ ?
अहिलेको घडी कुनै भौगोलिक अथवा राजनैतिक दृष्टिले सीमाङकन नगरी सर्वप्रथम वृहत् इतिहास लेख्नेतिर अघि बढ्दा बढी राम्रो हुन्छ होलाझैं लाग्दछ मलाई । हुन त यस सन्दर्भलाई हेर्ने आ–आफ्नै दृष्टिकोण छन् ।

१९. नेपाली भाषालाई मान्यता दिएपछिको स्थिति यसबेला भारतीय नेपाली जातिले कस्तो महसुस गरिरहेका छन् ?
मान्यता प्राप्त गर्नु भनेको आफ्नो स्थान सुरक्षित पार्नु हो तर आफ्नो स्थान यथावत छ कि निम्नगामी हुँदैछ– यसबारे सचेत रहनु पनि हरेक नेपाली भाषीको कर्तव्य हो ।

२०. नेपाली भाषालाई आठौं सूचीमा सूचीकृत गरिएकोमा हिनताबोध गरिएको कुरा पनि प्रकाशमा आएका छन् नि त ?
आफ्नो मातृभाषामा भारतको संविधानको आठौं अनुसूचीमा अन्तर्भूक्त हुँदा यदि कसैले हिनताबोध गर्छ भने ऊ नेपाली भाषी मातापिताको सन्तान हुनै सक्दैन । जसले आफ्नो मातृभाषाको सम्मान गर्न जान्दैन, उसले कुनै पनि भाषाको सम्मान गर्न सक्दैन, यदि गरिहालेछ भने पनि त्यो देखावटी ठहरिनेछ ।

२१. नेपाली भाषालाई विश्वका अन्य भाषा सरह उन्नत गर्नका लागि के के गर्नु
पर्छ ?
नेपाली भाषा एउटा उन्नत भाषा हो । यस भाषालाई अझै विकसित बनाउन तकनीकी प्रविधिमा बढी काम गर्नु पर्छ । नत्र हाम्रो भाषा पछि पर्नेछ । भारतमा ऋक्ष्क्ष्ी ले यसबारे काम गरिरहेको छ । नेपालमा के कस्तो छ त्यसको जानकारी मलाई छैन ।

२२. नेपाली भाषा साहित्यसम्बन्द्र्धन र प्रवद्र्धनका लागि असमको माटो उर्वर छ यो भनाइप्रति कत्तिको सच्चाइ छ ?
नेपाली भाषा साहित्य र सम्बर्धन र प्रवद्र्धनका लागि असमको माटो उर्वर छ– भन्ने कुरामा म सहमत छु । तर यस उर्वर माटोको उब्जनीहरू नेपालले मोहनी लगाएर तानिहाल्छ । कवि हरिभक्त कटवाल, चन्द्रकला नेवार, माया ठकुरी, अविनाश श्रेष्ठ आदि यसका दृष्टान्त हुन् ।

२३. नेपालमा व्याकरणको एकरूपता सम्बन्धी कुरा उठिरहेको सन्दर्भमा आफ्ना भनाइ के छ ?
व्याकरणको एकरूपतासम्बन्धी कुरा नेपालमा मात्रै हैन भारतमा पनि उठिरहेको छ र संगोष्ठी, कार्यशाला आदि आयोजित भइरहेका छन् । स्थूल रूपमा हाम्रो व्याकरणले कतै अप्ठ्यारो पारेको देखिंदैन कारण भारत र नेपालका विश्वविद्यालयहरूमा शोध प्रबन्धहरू जाँचिरहेकै छन्, आदानप्रदान भई नै रहेका छन् । अहिले जो कुरो सोचिंदै छ त्यो त सूक्ष्म अध्ययनको कुरो हो र यस्ताखाले कुरा प्रत्येक चार÷पाँच वर्षमा उठिनै रहने छन् । किनकि यसबारे जति–जति सूक्ष्म अध्ययनको
कार्य भनौ अथवा शोध कार्य हुँदै जानेछ नयाँ–नयाँ सम्भावना र समस्याहरू देखापर्दै जानेछन् ।

२४. असमीया साहित्यले भारतीय नेपाली साहित्यकारहरूलाई के कस्तो प्रभाव पारेको छ ?
मानिस जुन प्रान्तमा बस्छ, ऊ त्यसको भूगोल, इतिहास, धर्म, संस्कृति, राजनीति सबैबाट केही न केही रूपमा प्रभावित भएकै हुन्छ । असमीया साहित्य एउटा धनी साहित्यमा गनिने साहित्य हो । यसमा नित्य नयाँ प्रयोगहरू भई नै रहेको पाइन्छ । असमीया माध्यममा पढेका हाम्रा धेरैजसो असमेली नेपाली असमीया साहित्यबाट प्रभावित हुनु स्वाभाविक कुरो हो । हाम्रा धेरैजना नेपाली भाषीहरू असमीया साहित्यमा पनि कलम चलाएका देखिन्छन् ।

२५. तपाईं आफूलाई साहित्यको कुन विधामा चिनाउन चाहनु हुन्छ ?
खै, चिनिनु पर्ने काम गरेजस्तो लाग्दैन ।

२६. नेपाली भाषा साहित्य संस्कृतिको विकासका लागि के कस्ता संरक्षणका उपायलाई दीर्घकालीनरूपमा निराकरण गर्न सकिन्छ ?
नेपाली भाषासाहित्य र सँस्कृतिको विकास र संरक्षण अन्य भाषाीले आएर गरिदिने कुरै आएन । हामी भाषासाहित्य र संस्कृतिको विकास र संरक्षणको नारा मात्र लगाउँछौं । उस्तै परे एकआपसमा अंग्रेजीमा पड्किन्छौं, सभा समारोहमा प्रायः अरुका लुगा लगाएर रवाफ देखाउँछौं । घरमा छोराछोरीलाई ‘फाष्ट फुड’ खुवाउँछौं । नानीहरूले अंग्रेजीमा बोल्दा नाक ठाडो पार्छौं अनि हाम्रा छोराछोरी नेपाली बोल्न जान्दैनन् भन्दै छाती फुलाउँछौं । अनि कसरी हुन्छ विकास र संरक्षण ? यदि दीर्घकालीन तवरमा भाषासाहित्य र संस्कृतिको विकास र संरक्षण गर्ने हो भने पहिला घरमा माहौल बनाऊँ । सभासमिति उत्सव पर्वमा आफ्ना जातीय पहिरन लगाउँ– छोराछोरीलाई पनि लगाउन सिकाउँ । साहित्यका विभिन्न विधामा प्रतियोगिता राखेर बच्चाहरूलाई भाग लिन प्रोत्साहित गरौं । नयाँ कृति प्रकाशित हुने बित्तिकै चर्चा परिचर्चा गरौं । प्रत्येक घरमा पुस्तकालय बनाऊँ । अहिले क्ष्लायचmबतष्यल ७ तभअजलययिनथ को जमाना हो हाम्रो भाषा साहित्य र संस्कृतिलाई त्यहाँ पु¥याऔं ।

२७. नेपाली साहित्यमा तपाईंले गरेका योगदानलाई चिरस्थायी बनाउनका लागि के कस्ता कार्यको अपेक्षा राख्नेभएको छ ?
काम ठीक छ भने आफैं चिरस्थायी बन्नेछ ।

२८. तपाईंका अनुदित होमेन बरगोहाइँज्यूको लिखित अस्तराग र सुवास घिसिङ्गका लिखित नीलो चोलीलाई हेर्ने दृष्टिकोण के छ ?
सुवास घिसिङ्गज्यूको नीलो चोली पढ्ने सौभाग्य भएको छैन– पढ्ने इच्छा
छ । होमेन बरगोहाइँज्यूको अस्तरागमा जरादेखि काटिनुको पीडा छ । सबै व्यक्ति अमेरिका र युरोपको सपना देख्ने व्यक्ति हुँदैनन् । तथाकथित ‘बुबा’ यहाँ आफ्नो गाउँ ठाउँ, रीतिथिति, उत्सवपर्व प्रति चासो राख्नेहरूका प्रतिनिधि हुन् ।

२९. नेपाली भाषाको विरोधमा गोर्खा भाषाको रटान तेर्साएर आपसी लडाइने कार्यलाई के भन्नुहुन्छ ?
बिडम्बना ।

३०. साहित्य र कलाले वर्गीय स्वरूपको प्रतिनिधित्व गरिरहेको हुन्छ कि हुँदैन ?
हुन्छ नै । समाजमा वर्गीय स्वरूप छ जब साहित्य र कलामा त्यो प्रतिफलित हुन्छ ।

३१. संसारका विभिन्न भेगमा छरिएका नेपाली वाङ्मय साहित्यकारहरूको एउटा अन्तर्राष्ट्रिय स्तरको सङ्गठन आवश्यकता कत्तिको महसुस गर्नुभएको छ ?
बडो तीब्रताका साथ महसुस गर्ने गर्छ ।
मायाको साइनो कति गहिरो हुन्छ
सोध कसैले माया गर्नेलाई
चुडाउन खोज्दा चुडिदंैन यो
झन् गहिरो भइदिन्छ । – डा. शान्ति थापा

३२. कसैले तपाईलाई प्रेममा चोट पु¥याएको कारणबाट नै यस उमेरमा आइपुग्दा पनि विवाह बन्धन नबाँधिएको कुरा सुन्नमा आएका छन् नि त ?
यहाँले माँयामा चोट खानु भाको छैन क्यार ! जीवनको यो पक्षबाट को गुज्रिएको छैन र ? अर्थात् यो त मानव जीवनको अपरिहार्य अङ्ग हो । मेरा सामु दुईवटा विकल्प थिए त्यतिबेला– प्रेम र कर्तव्य । मैले कर्तव्य चुने कुरो त्यति मात्र हो ।

३३. नेपाली वाङ्मय साहित्यकारहरूलाई के सन्देश दिन चाहुनुहन्छ ?
नेपाली वाङ्मयका साहित्यकारहरूलाई सन्देश दिने मेरो हैसियत छैन ।
‘धन्यवाद’ आदरणीय डा. शान्ति जी ! यहाँको व्यस्तता बाबजुद अन्तर्वार्ताका लागि अमूल्य समय प्रदान गर्नु भएकोमा आभार व्यक्त गर्दछु ।

(यो अन्तर्वार्ताका लागि साहित्यकार कवीरसिंह क्षेत्रीको सहयोग रहेको छ) ।

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 19 कार्तिक, 2069

लेखकका अन्य रचनाहरु