साहित्यकार के.वी. नेपालीसँग कुराकानी

- ॠतु आसीक

१६ नम्बर डिग्बोर्ड असममा जन्मनु भएका खड्बहादुर पौडेल क्षेत्री साहित्यिक नाम के.वी. नेपालीका रूपमा भारतीय नेपाली साहित्य तथा नेपाली साहित्यिक आकशमा समेत परिचित नाम हो । सन् १९६० मा बिन्दु प्रकाशनको स्थापना गरेर १९६१देखि बिन्दु त्रैमासिक रूपमा हालसम्म पनि प्रकाशन गरी रहनुभएको छ ।
उहाँका प्रकाशित कृति विभिन्न धारामा एक दर्जन भन्दा बढी पुस्तक प्रकाशित भएका छन् । नेपालीलाई विभिन्न संघ संस्थाबाट सम्मानित गरिएको छ ।
उहाँका व्यक्तित्व र कृतित्वबारे घनश्याम तिमिल्सना र उहाँका तीन उपन्यासबारे रेणु भण्डारीले सोध समेत गर्नुभएको छ ।
नेपालीलाई १९९८ मा दार्जिलिङ्ग अरूगी संस्थानले खर्साङको ‘अरूगी’ पुरस्कारले सम्मान गरेको छ । उहाँ नेपालको मदन स्मारक पुरस्कारले सन् २००५ मा सम्मानित हुनुभएको छ । त्यसैगरी साहित्य एकेडेमी दिल्लीबाट कालिदासकृत ‘मेघदूत’ अनुवादका लागि राष्ट्रिय साहित्य अकादमी पुरस्कारले २००७ सालमा सम्मानित हुनुभएको छ ।
भारतीय नेपाली साहित्यकार के.बी. नेपालीको लामाडिङ्ग स्थित उहाँको निवासमा नेपालका स्वतन्त्र पत्रकार एवम् साहित्यकार ऋतु आसीकद्वारा लिएको अन्तर्वार्ताको सारसंक्षेप यहाँ प्रस्तुत गरिएको छ–

१. तपाईंंको दृष्टिमा साहित्य भनेको के हो ? साहित्य किन लेखिन्छ ? साहित्य कसका लागि लेखिन्छ ?
साहित्य भनेको समाजको ऐना हो । साहित्य किन लेखिन्छ त भन्दा मानव समाजलाई सुन्दर बनाउने हेतुले लेखिन्छ । अर्थात् साहित्य समाजका लागि लेखिन्छ । किनभने साहित्यको प्रभाव समाजमाथि र समाजको प्रभाव साहित्यमाथि रहेको हुन्छ ।

२. साहित्य लेखनका लागि प्रेरणा कसरी पाउनुभयो ?
साहित्य लेखनका लागि प्रेरणा मैले छात्र अवस्थामा महाकवि देवकोटाज्यूको ‘मुनामदन’ काव्य शिक्षक जशु सुब्बाका मुखारविन्दबाट अद्योपान्त सुनेकाले प्रभावित भएँ । फेरि आफ्नै पनि जीवन वाल्यकालदेखि नै सौतेनी आमाको अपहेलनामा सङ्घर्षमय रहेकाले सङ्घर्षमय जीवन नै प्रेरणाको स्रोत बन्न गएकाले केही लेख्ने प्रेरणाको उत्सुकता मनमा जाग्न गएकाले सन् १९५८ मा लेखेको ‘नवअश्रु’ काव्य सन् १९६० मा प्रकाशित हुन गयो ।

३. जीवनको उत्तरार्धमा आफू भित्र साहित्यकार हुने सपना कतै पाल्नुभएको थियो ?
जीवनको उत्तरार्धमा साहित्यकार हुने सपना सायद मनमा कतै केही मात्रामा भए पनि थियो होला र नै त ‘विन्दु’ त्रैमासिक पत्रिकाको थालनी सन् १९६१ देखि गरेर मातृभाषाको सेवामा भिज्न गएको फलस्वरूप नै हो कि आज साहित्यकारका रूपमा परिचित हुन पुगेको ।

४. तपाईंंका बाल्यकाका क्षणहरूको बारे केही भन्न चाहनुहुन्छ ?
मेरा बाल्यकालका क्षणहरू सौतेनी आमाको अपहेलनामा कस्तो हुन्छ ? त्यो कुनै त्यस्तो भुक्त भोगीलाई नै थाहा हुन सक्छ । यहाँ त्यो अतीत कोट्याएर के भनौं ।

५. जीवनको उद्देश्य, जीवनको मूल्य, जीवनको अबसान यी तीन पहलुलाई कसरी हेर्नुभएको छ ?
जीवनको उद्देश्य केही गर्ने सत्यम्को लक्ष्य र जीवनको मूल्य अमूल्य छ र मूल्याङ्कन गर्ने गोरेटो हिंड्ने हो । किनभने जीवनको अन्त नै अबसान (मृत्यु) हो । यस्तालाई पहिलेदेखि नै सत्यम् शिवम् सुन्दरम् बनाउनु पर्छ, अनन्तकालका लागि ।

६. साहित्यकारले भइरहेको विकृति र बिसङ्गती विरुद्धमा कलम चलाउनु पर्छ आदि मान्यताबारे कति अडिग हुुनुहुन्छ ?
यस प्रश्नको म यही भन्न चाहन्छु कि देशमा भइरहेको विकृति बिसङ्गतीका विरुद्धमा साहित्यकारले कलम चलाउनुपर्छ र म यसमा अडिग रहेर नै भनौं । कवि अकबर इलाहावादी ‘जीगर’को कविता भन्दैछु ।
खीचो न कमान को
न तलवार निकालो
जब तोप मुकाविल हो तो
अखबार निकालो

७. महिला वर्गको शोषण, उत्पीडनका लागि अश्लील साहित्यले झन्–झन् गहिरो प्रभाव पार्दै गरेको परिप्रेक्ष्यमा त्यसका विरुद्ध कस्तो आन्दोलनको आवश्यकता देख्नुहुन्छ ?
महिला वर्गको शोषण उत्पीडनका लागि म यहाँ यही भन्न चाहन्छु हाम्रो धर्मशास्त्रमा नारीलाई शक्तिरूपिणीको रूपमा पुज्ने चलन छँदाछँदै पनि आज नारीमाथि शोषण गर्नेहरू र उत्पीडन दिनेहरू प्रायः अश्लील साहित्यको प्रभावमा मुछिएकाहरूको काम हुन गएको छ । र यहाँ म यही भन्न चाहन्छु कि साहित्यको प्रभाव समाजमाथि र समाजको प्रभाव साहित्य भएकाले ग्रन्थहरू साहित्यको आधारमा लेखिएको होस् अनि टेलिभिजनबाट प्रसारित हुने अश्लील चित्रहरूको रोकथाम गरी साहित्यका कृतिहरूमाथि चित्रण गरिएका कृतिहरू मात्र प्रसार गर्न लगाउनु पर्छ । किनभने मनुष्य पनि त्यही बाँदर जस्तै नकलची प्राणी हो । यसैले चित्रण गरिएका सिरियल सदा–ज्ञान उपदेशले भरिएको हुनुपर्छ, जो मनुष्यले त्यसको अनुशरण
गर्न सकोस् ।

८. आफूले रचना गरेका कृतिहरूमा सबैभन्दा बढी तपाईंंलाई मनपर्ने रचना कुन होला ?
लेखक सबैलाई आफूले लेखेको कृति सबै नै मन पर्छन् । आफूले जन्माएका कृतिहरू आफ्नै सन्तान समान हुन् । अब आफ्ना सन्तान सबै नै प्यारा हुन्छन् होइन र ?
ड्ड तपाईंंलाई आफ्नो जीवनमा सबैभन्दा बढी प्रभाव पार्ने पुस्तक कुन हो ?
मलाई मेरो जीवनमा सबैभन्दा बढी प्रभाव पार्ने पुस्तक नेपालीमा ‘मुनामदन’ हो भने हिन्दीमा ‘गोदान’ र अंग्रेजीमा गोर्कीको ‘मदर’ ।

९. जीवित नेपाली साहित्यकारहरूमा तपाईंंलाई कुन साहित्यकारको रचनाले बढी हृदय छोएको छ ?
जीवित नेपली साहित्यकारहरूमा डा. इन्द्रबहादुर राई, कमल दीक्षित, ईश्वर बल्लभ र माधवप्रसाद घिमिरेका रचनाहरू ।

१०. साहित्यकारले कुनै आस्था र विश्वास गरेर कुनै जीवन्त साहित्य लेख्न सक्छ ?
साहित्यकारले समाज विश्वासलाई लिएर मात्र नै जीवन्त साहित्य लेख्न सक्छन् ।

११. यहाँ समय–समयमा बि. एल. टी. तथा अल्फाद्वारा गरिएका मानव समूहको क्षयका बारेमा के भन्नुहुन्छ ?
समय–समयमा बि. एल. टी. र अल्फाद्वारा गरिएका मानव समूहका बारेमा भन्नुपर्दा सरकार कै अवहेलनामा बेकारी समस्या बढ्दै गएकाले नै हो कि ? निरूपाय भएर यिनीहरू मानवताको प्लेटफार्मबाट अलगिए । अनि नचाहिँदा मूल्यहीन तर्कमा लागेर बिनासित्तकैको अड्को थापेर निरपराध जनताको प्राणसँग खेलवाड गरेर विस्फोट गर्दा भुमरीमा साँढेको सुधाइ बाच्छाको मिचाइ झै पराइका सात आफन्त पनि मरेका छन् । यसले नत तिनीहरूको समस्याको समाधान हुन सकेको छ न देशको विकास ।

१२. भारतीय नेपाली समाजमा गोर्खा भाषा र नेपाली भाषाको साँध लगाएर कतै धमिलो पानीमा माछा मार्ने कुरा सुनिएको छ नि ?
भारतीय नेपाली समाजमा गोर्खा भाषा र नेपाली भाषाको साँध लगाएर धमिलो पानीमा माछा मार्ने कुरा उही आ–अफ्नो राजनीतिक दूनो सोझ्याउने फाइदाको अबसर लिनलाई अंकुश लगाउन खोजेका हुन् कि जस्तो लाग्छ । नत्र त ‘गोर्खा’ र ‘नेपाली’ मा नेपाली विशाल छ । विश्वमा नेपाली भाषा बोलिन्छ । यदि यहाँकाले ‘गोर्खा’ भाषा मानेर बोल्न खोज्छ भने विश्वका नेपालीले बोल्ने नेपाली भाषा कता जाने ? फेरि ‘गोर्खा’ त नेपालको एउटा थुम्को (एक टुक्रा जमिन) मात्र हो ।

१३. गोर्खा भाषा भन्नाले ‘गोर्खा’ स्थान विशेषको मात्र इङ्गित गर्ने बुझिदैन र ? या यसका भित्र लुकेका अन्य कुराहरू पनि छन् ?
हो गोर्खा भाषा भन्नाले ‘गोर्खा’ स्थान विशेषलाई इङ्गित गरेर बुझाउने जस्तो नै लाग्छ र यो ‘गोर्खा’ नेपालको एक थुम्को मात्र हो । समस्त नेपाली बोली नै नेपाली भाषाको परिचय होइन र ? यस विषयमा धेर बुझ्न खोज्नेले सेटिलमा छापिएको मेरो लेख जि. एन. एल. एफ. को आखिर गोर्खा भाषा से ही क्यो प्यार
है ? खोजेर पढे बेश होला कि ?

१४. संसारका जुनसुकै भेगमा बसेका नेपालीहरूको पहिचान नेपाली जातिले बोलेका भेषभाषाप्रति गर्ब गर्नु पर्नेमा कतै अवरोध खडा गरिनु कतिको न्यायसंगत लाग्छ ?
संसारको जुनसुकै भेगमा बसेका नेपालीहरूको पहिचान नेपाली जातिले बोलेका भेषभाषा सँस्कृति हामीले बचाईराखेका छौं । यो हाम्रो निम्ति बढी गर्वको विषय हो, यसमा अवरोध खडा गर्नु एकरत्ति पनि न्यायसंगत जस्तो मलाई लाग्दैन ।

१५. जीवनको यो दौडमा आइपुग्दा आफूले लेखेका साहित्यिबारे आत्मनिरीक्षण गर्नुपर्ने महसुस गर्नुभएको छ ?
जीवनको यस दौडमा आइपुग्दा आफूले लेखेको साहित्यबारे आत्मनिरीक्षण हुनुपर्ने महसुस त गरेकै छु । हेरौं कहिले सम्भव हुने हो ।

१६. साहित्यमा प्रेम र यौनको महत्वका बारेमा कसरी ब्याख्या गर्नुहुन्छ ?
साहित्यमा प्रेम र यौनको महत्वका बारेमा ब्याख्या गर्नुपर्दा प्रेम एउटा पवित्र शब्द हो र यसलाई साहित्यमा गंगा जत्तिकै शुद्ध र पवित्रताको प्रवाहमा बग्न दिनु
पर्छ । अनि यौन योनीसम्बन्धी लेखिएको योनीको व्याख्या हुन जाँदा यसमा अश्लीलता आउन सक्छ । यसलाई मनोवैज्ञानिकताको साहित्यले छोपेर अर्थात् नग्न केटीलाई वस्त्र पै¥याइदिएर लाज छोपेजस्तै छोपेर लेखिनुपर्छ यौनका विषय साहित्यमा ।

१७. तपाईंं जहाँ बस्नुहुन्छ त्यस परिवेशमा असमीया बङ्गाली साहित्यको भारतीय नेपाली साहित्यमा परेको प्रभाव बारे केही भन्न चाहनुहुन्छ ?
हामी बसेको परिवेशमा, बङ्गाली साहित्यको प्रभाव भारतीय नेपाली साहित्यमा परेको छ । सायद समन्वय साहित्यको आवश्यकता पर्न गएकोले त्यसको प्रभाव पर्न गएकोमा उचित नै होला । अनि असमीया, बङ्गाली भाषाको केही शब्दहरू नेपाली साहित्यमा यदि नङ र मासुझैं मिलेर बस्न खोजेकामा ती शब्दहरूमा पनि लिँदा युक्तिसंगत नै होला, किनभने नेपाल शहरमै बोलिने अन्य भाषीहरू नङ र मासुझैं मिलेर बस्न गएका छन् होइन र ?

१८. माक्र्सवादी साहित्यप्रति तपाईंंको धारणा के छ ?
वास्तवमा माक्र्सवादी साहित्यको दृष्टिकोणले हेर्ने हो भने संसार समाजलाई परिवर्तनशील बनाउन यथार्थवादी भएर कला साहित्यको सृष्टि गर्नु नै माक्र्सवादी साहित्यको रूप हो र यसमा मेरो भनाइ के छ भने लेखक–साहित्यकारहरूले यसको मनन गरेर आफूले लेखिने साहित्यमा कतै न कतै यथार्थवादी कला साहित्यको रूपमा प्रगतिवाद अर्थात् माक्र्सवादी साहित्यलाई पनि स्पर्श गर्दै जाँदा सुनमा सुगन्ध नै थपिएजस्तो लाग्छ ।

१९. तपाईंंको दृष्टिकोणमा अश्लील साहित्य र श्लील साहित्यको मापदण्ड के हो ?
यस प्रश्नको उत्तर सायद माथि नै खुलासा गरेजस्तो लाग्छ । अश्लील
र श्लील साहित्यबारे छोटोमा भनौं भने अश्लील–अश्लील नै हो । त्यसले
समाजलाई रसातलतिर नै लान्छ भने श्लीलले समाजलाई आदर्शवादको गोरेटोमा हिंडाउँछ ।

२०. भारतीय नेपाली साहित्यमा मानवअधिकार पक्षपोषणको उद्घोषणले ल्याएका सन्देशहरू र विकसित राष्ट्रहरूमा मानव अधिकारको हनन विरुद्धमा भएका क्रियाकलापलाई कसरी हेर्नुभएको छ ?
मानव अधिकारका लागि ल्याइएका सन्देशहरूको परिप्रेक्ष्यमा बोल्न पर्दा भारतीय नेपाली साहित्यका साहित्यकारहरूले आफ्ना साहित्यमार्फत् मानव अधिकारको हनन गर्नेहरूको विरुद्धमा लेखिनुपर्छ, त्यसरी जथाभावी मानव अधिकारको हनन गर्नेहरूको भत्र्सना हुने गर्दछ ।

२१. भारतीय नेपाली साहित्य बिधामा आफूले आफैलाई मूल्याङन गर्दा कुन स्थानमा पाउनुहुन्छ ?
भारतीय नेपाली साहित्य विधामा आफूले आफूलाई मूल्याङन गर्नु अलिक हास्यास्पद लाग्यो र यहाँ म बरु महाकावि देवकोटाजीकै कविता राख्छु–‘साहित्यमा सर्वश्रेष्ठ पुरुष त्यही हो जो राष्ट्रको हृदयमा सबैभन्दा तीब्र भएर बस्न सक्छ’ ।

२२. तपाईंका तर्फबाट केही जिज्ञासा भए अभिव्यक्तिका लागि अनुरोध गर्दछु ?
मेरो तर्फबाट त्यस्ता केही जिज्ञासा छैनन् । तै पनि नेपाल तर्फका साहित्यकारहरूले नेपाल बाहिरका साहित्यकाररुसँग साहित्यको आदान प्रदान हुन सक्ने एउटा मधुर सेतु स्थायी रूपले बनाउनमा सदा अग्रसर रहे असल हुन्थ्यो कि !

२३. नेपाली साहित्यकारहरूलाई के सन्देश दिन चाहनुहुन्छ ?
मानवताले भरिएको संसार बनाउने परिपक्वतामा हाम्रा नेपाली साहित्यकारहरूले प्रयत्न गरिरहनुहुनेछ भन्ने अपेक्षा गरेको छु । देवकोटाज्यूको कविताले भनेजस्तै ‘मानिसको आँसु मानिसले पुछ्नु मानिसको धर्म हो’को भावनामा प्रेरित भएर लेख्ने भावना नै बसाए सायद उत्तम होला कि भन्ने सानो सन्देश मात्र हो ।

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 4 कार्तिक, 2069

लेखकका अन्य रचनाहरु